Main Menu

मेरो स्मृतिमा पदम खड्का

  • लीलामणि पोख्रेल

padma-khadka-in-memory-lilamaniविगतका केही अप्रिय घटनाहरुको कारण राति १० बजेपछि हामीले मोबाइल बन्द गरेर राख्ने गरेका थियौं । त्यो दिन पनि त्यस्तै भयो । तारफोन अर्थात् ल्यान्डलाइन खुल्ला भए पनि अपरिचित फोन राति ११ बजेपछि नउठाउने प्रचलन नै भइसकेको थियो । साढे ११ बजेतिर तारफानको घन्टी बज्यो, उठाएनौं । राति ३ बजेतिर फेरि त्यही फोनको घण्टी लगातार बज्न थाल्यो । अवश्य पनि केही घटना भएछ भनी आशंका सहित फोनको कलर आइ.डी.मा हेर्यौं । फोन पाटनबाट आएको रहेछ, उठायौं । सुशिल साहको थियो । उहाँले एकै सासमा भन्नुभयो—‘पदम खड्का सिकिस्त भएर नर्भिक अस्पतालमा लगिएको छ रे ।’  हिजो मात्र भेटेको अचानक के भयो भनेर झस्कियौं । मनमा धेरै कुरा खेल्न थाले । रातिको समय, सुनसान; तुरुन्तै अस्पताल जाने साधन थिएन । केही छटपटी भयो । हामी दुवैजना (शशी श्रेष्ठ र म) सुत्ने कुरा भएन । बिहान करिब ५ बजे अस्पतालको बाटो लाग्यौं । अस्पताल नपुग्दै मोबाइलको घण्टी बज्यो । उहाँको मृत्यु भइसकेको खबरले स्तब्ध भयौं । पदमजीको भतिजो गोविन्दलाई फोन गर्यौं । उनी अस्पतालमै थिए । मृत्यु राति ११ः१५ तिर भइसकेको रहेछ । हृदयघातको कठोर झट्काले अस्पताल पुग्नु पनि धेरै टाढा भइसकेको रहेछ । अस्पतालले मृत्युको औपचारिक घोषणा मात्र गर्न पुग्यो ।

गह्रुंगो पाइलाका साथ अस्पताल पुगेका हामी भावक हुँदै उहाँको शव राखेको ठाउँमा हेर्न पुग्यौं । मौनताको त्यो क्षण एकैछिन भावुकताले सगरमाथा छुँदा दुखेको मनको अभिव्यत्ति रोक्दारोक्दै पनि आँसुमा परिणत भएछ । मन रोयो । आवाज निस्केन । मनले नै स्नेह गरेको मान्छे, विचार—भावनाहरु साट्न सहज मान्छे, मित्रताको औपचारिक सीमा बाहिर निस्केको व्यक्तिको वियोगले एकैछिन निष्पट्ट अन्धकारको अनुभूति भयो । हजारौं वर्षदेखिको आदर्शको प्रभावको सूक्ष्म अवशेषले मनभित्र वैराग्यको झस्को दिनु आम मानिसमा हुने सहज स्वाभाव होला जस्तो लाग्छ । यस्तै भयो ।

अघिल्लो दिन बेलुका हामी उहाँकै घरमा उहाँको सम्पूर्ण परिवारका साथ सँगै बसेर चिया रोटी खाएका थियौं । भोलिपल्ट त्यो दृश्य मनको कुनै कुनाबाट अचेत मनले पनि कल्पना गर्न सक्ने थिएन । सायद यसको पूर्वाभास भएको भए जिन्दगीको अन्तिम भेट भनेर मृत्युपर्यन्त सँगै बसिने हुन्थ्यो कि या सम्भावित दुर्घटनाका विरुद्ध दह्रो प्रतिवादका निम्ति मोर्चाबन्दीको उपायहरु खोजिने थिए । त्यो केही भएन । हामीसँग त्यस्तो क्षमता राख्ने सूक्ष्म चेतनाको कुनै हैसियत नै थिएन । केवल आकस्मिकतालाई आत्मसात गर्नु बाहेक अर्को उपाय पनि त भएन ।

मृत्युपछिका कथित कर्मकाण्डबारे खड्का आफैले हल गरिदिनुभएको थियो । हाम्रो समाजमा देखिने मृत्युपछिको लोकप्रियता, सहानुभूति र मलामी बटुल्ने होडबाजीबाट मुक्त गर्दै विचार र जीवन शैलीबीचको सामञ्जस्यता कायम गर्दै मृत्युपछि पनि शरीर काम लाग्ने भए उडाएर खरानी पार्नुभन्दा भावी सन्ततिले चिकित्सा विज्ञानमा व्यवहारिक ज्ञान हासिल गरुन् भनेर शरीर दान गर्नुभयो । फेरि पनि पार्थिव शरीरमा उहाँको आदर्शको सम्मान गर्न शैक्षिक सहयात्री र गुरुचेलाको सम्बन्धको प्रतिक श्रद्धासुमन व्यक्त गर्न गरिएको कार्यक्रम र वैचारिक राजनीतिक आस्थाको थलो पार्टी, पार्टी कार्यालयमा पुर्याउँदा अनपेक्षित आकस्मिकतालाई स्वीकार गर्न उहाँप्रति श्रद्धा व्यक्त गर्ने प्रायः कसैलाई पनि कठिन भइरहेको भान हुन्थ्यो । ‘ज्युँदाको जन्ती र मर्दाको मलामी’ यो सामाजिक सम्बन्धको विधि हो । 

काभ्रे जिल्ला, फलाँटेमा निम्नमध्यम परिवारमा जन्मनुभएका आफ्नो मेहनत र प्रयत्नबाट जिल्लामै एसएलसीसम्म अध्ययन गरेर थप शिक्षाको भोकले काठमाडौं आउनुभएका खड्का इन्जिनियरिङमा प्रविणता पास गरेपछि केही काल जागिर खाएर छात्रवृत्ति प्राप्त गरी तत्कालीन सोभियत संघको मिन्स्कस्थित बेलारसियन पोलिटेक्निकल इन्स्टिच्यूटबाट मास्टर अफ साइन्स इन इन्जिनियरिङको उच्चशिक्षा हासिल गर्नुभयो । शारदा मा.वि. फलाँटेमा स्कूलमा पढ्दादेखि नै वामपन्थी राजनीतिमा आकृष्ट खड्का इन्जिनियरिङ क्याम्पस पुल्चोक पढ्दा अनेरास्वयवियु छैठौं सम्मेलन पक्षको सदस्य रहनुभएको थियो । उहाँसँग मेरो सम्पर्क २०३७ सालमा इन्जिनियरिङ क्याम्पसमा रहँदा भएको हो । त्यतिबेला उहाँको स्वाभाव निकै फरक थियो—अल्पभाषी, विचारले एकनिष्ट तर सार्वजनिक रुपमा आउन अलि नरुचाउने । पढाइमा व्यग्र, पार्टीका निम्ति साइलेन्ट वर्करको रुपमा रहनुहुन्थ्यो । उच्चशिक्षा हासिल गर्न सोभियत संघ गएपछि हाम्रो सम्पर्क टुटेजस्तो भयो । तत्कालीन सोभियत संघ ‘समाजवादी’ राज्य व्यवस्थाबाट पूँजीवादमा रुपान्तरण भइरहेको थियो । शिक्षा व्यवस्थामा मार्क्सवादको अध्ययन निषेध भइसकेको थिएन । ‘रुसमा संशोधनवाद र चीनमा प्रतिक्रान्ति भएको’ भन्ने निष्कर्ष चौथो महाधिवेशनको थियो । रुसमा अध्ययन गर्दाको बसाइमा मार्क्सवादको अनिवार्य सैद्धान्तिक कोर्स गर्दा विश्व कम्युनिष्ट आन्दोलनको अभ्यासबारे तुलनात्मक अध्ययन गर्ने अवसरले मार्क्सवादी ज्ञानको भण्डारलाई विस्तृत गर्ने अवसर पद्म खड्कालाई प्राप्त भएको थियो । उच्चशिक्षा प्राप्त गरेर फर्कंदा एउटा परिपक्व प्राज्ञ (प्राविधिज्ञ) मार्क्सवादको सचेत ज्ञाता, नेपाली सामाजिक परिवर्तनको आन्दोलनको कर्मठ चिन्तकको रुपमा उहाँको उपस्थितिको भनुभव गरिएको थियो । सोवियत संघबाट फर्केपछि हाम्रो सम्पर्क फेरि पनि हुन थाल्यो । त्यतिन्जेलमा राजनीतिक आन्दोलनमा हाम्रा भूमिकाहरु फेरिइसकेका थिए । उहाँ उच्च शिक्षा हासिल गरिसकेर सरकारी ओभरसियर जागिरमा फर्कनुभयो । त्यसपछि जागिर पेशागत आन्दोलन, राजनीतिक संगठन र सामाजिक सम्बन्धका भूमिका निर्वाह गर्न थाल्नुभयो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनले ल्याएको परिवर्तन निरंकुश पञ्चायती व्यवस्थाको अन्त, संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्थाको स्थापनापछि संगठन स्वतन्त्रता र पेसागत हितको निम्ति आन्दोलन गर्दा पद्म खड्काले केही समय जेलयात्रा र जागिरबाट हात धुनुपर्यो । त्यसपछि उहाँ इन्जिनियरिङ क्याम्पस पुल्चोकमा प्राध्यापनको पेसामा संलग्न हुनुभयो । मृत्युपर्यन्त त्यही पेसामै हुनुहुन्थ्यो । राजनीतिक आन्दोलनमा भूमिगत रुपमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएका खड्का ०६२—६३ को संयुक्त आन्दोलनपछि गणतन्त्रको स्थापनापश्चात् राजनीतिक आन्दोलनमा खुला रुपमा काम गर्नु थाल्नुभएको थियो । प्रगतिशील बुद्धिजीवी संगठनको अध्यक्ष, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य (एकीकृत नेकपा माओवादी), प्रगतिशील प्राध्यापक संगठनको सचिवालय सदस्य समेत रहनुभयो साथै पार्टीको जलस्रोत तथा ऊर्जा विभागको सदस्य समेत रहनुभयो ।

सत्ता, शक्ति र साधन (पद, पैसा, प्रतिष्ठा)को बिगबिगी भइरहेको आजको प्रदूषित राजनीतिक तथा सामाजिक माहोलमा नेपाली कम्युनिष्ट आन्दोलन तथा राष्ट्रियता र राष्ट्रिय समृद्धिको अभियानमा स्वाभिमानका साथ अविचलित रहँदै आवश्यक परे एक्लो यात्रु बन्ने आदर्श र उहाँको विचार निष्ठा जीवनको यथार्थका केही विशेषताहरु थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा देखापर्दै गएको वैचारिक विचलन, आदर्श, अनुशासन र निष्ठामा स्खलित वातावरण, आधुनिक संशोधनवाद र पूँजीवादले पारेको प्रभाव, व्यवहारवादको हमला, नीजि आचरणअनुसार सिद्धान्तको व्याख्या आदिले उहाँलाई पार्टी नेतृत्व र आन्दोलनप्रति अलि आलोचनात्मक बनाएको थियो । त्यो कुरु सही पनि थियो । मेहनती, सरल जीवन शैली, हंसमुख, मीठो बोली, मिलनसार उहाँको विशेषता थियो । काम, समय र अनुशासन उहाँको जीवनका अमूल्य पक्ष थिए । देशभक्ति र स्वाभिमान साँच्चै नै उहाँका बहुमूल्य सम्पति थिए । चिन्तन र व्यवहारबीचको एकरुपता विरलै मान्छेका गुणहरु हुनसक्छन्, जुन पदममा थियो । चाकरी र लालोपोतोसँग कहिल्यै संगत गरेनन् । यी सबै क्षमता गुणहरु हाम्रा बीचमा नितान्त अनौपचारिक एवम् पारिवारिक सम्बन्धले उजागर गरेको कुरा हुन् । पदमसँग भेट भएदेखि मृत्युसम्मका स्मृतिका पानाहरु र पाटा पक्षहरु गुण—अवगुणहरु, क्षमता र प्रतिभा, ज्ञान र विवेक, सिद्धान्त र व्यवहार बारेका आयामहरु बुझ्नेसम्मको निकटता र मित्रताको साइनो नै महत्वपूर्ण पक्ष थियो ।

मैले यो आलेखमा पदम खड्काका उज्याला तथा जीवनका अंशहरु छुने मात्र प्रयत्न गरेको छु । तिनीहरुलाई खोल्ने र उजागर गर्ने कतै गरिँन । जीवनको गहिराइमा पुग्ने त झन् के हुन सक्थ्यो । एउटा असल मित्र, देशको असल नागरिक परिवारको असल अभिभावक, असल शिक्षक, सामाजिक परिवर्तनको संगतका कैयन् घटनाका कथावस्तु पनि छन् तिनलाई समेत जोड्ने कोसिस गरिएन । ती कुराहरु जीवनवृतान्तले समेट्ने छ भनेर जिम्मा लगाएको छु ।

साभार : पद्म खड्का स्मृति पुस्तक

(Visited 118 times, 1 visits today)

टिप्पणी

comments