Main Menu

समालोचना

साहित्यमा अवसरवादी बादल छाउँनुको आर्थिक-सामाजिक कारण

(कविता कृष्ण पल्लवी भारतकी चिनेजानेका कवि एवं समालोचक हुन् । भारतमा मार्क्सवादी वामधाराको साहित्य सिर्जना विसौं शताव्दीको पूर्वार्ध्दमा सुरुभएको अङ्ग्रेज औपनिवेशिक शासनविरुध्दको स्वतन्त्र सङ्ग्रामको समयदेखि नै सुरु भएको हो । त्यस हिसाबले वामधाराको साहित्यिक इतिहास पुरानो छ । तर, जसरी राजनीतिमा अवसरवादले सुरुदेखि नै गाँज्न थाल्यो, त्यसरी नै साहित्यमा पनि त्यसले निरन्तर आक्रमण गर्यो । वर्तमानको भारतीय मार्क्सवादी वामधाराको साहित्यिक आन्दोलनमा पनि अवसरवाद एउटा प्रमुख विचलनको रुपमा विद्यमान छ । यसै यथार्थलाई समालोचक पल्लवीले यो लेखमा उजागर गरेका छन् । नेपाली मार्क्सवादी वामधारा साहित्यिक आन्दोलन पनि अवसरवादबाट संकटग्रस्त अवस्थामा रहेको अहिलेको घडीमा यो रचना सान्दर्भिक नै देखिन्छ ।- सम्पादक)

कवि एवं समालोचक कविता कृष्णपल्लवी

नब्बेको दशको सुरुवातमा कवि केदारनाथ सिंहले सारा वामपन्थी साहित्यकारहरू र ज.ने.बि.का विद्यार्थीहरूको विरोधको बाबजूद सहिद संकर गुहा नियोगीको हत्याको षडयन्त्रको आरोप लागेका पूँजीपतिहरूको प्रतिष्ठानबाट सम्मान ग्रहण गरे / यो कुरालाई छिट्टै बिर्सियो र केदारनाथ सिंह वाम कित्तामा पनि उस्तै आदरणीय मानिन थालिए / त्यसपछि त लाज सरमका सवै पर्दा हट्दै गए /

कथित वामपन्थी धाराको साहित्यिक परिदृश्यमा अवसरवादको अद्भूत लाजमर्दो विचलन छाएको छ / केही दशकपहिले केही थोरै मान्छे हुने गर्थे जो रातको अँध्यारोमा लुकेर सत्तासँग लहसिन पुग्थे र कुरा खुलेपछि केही दिन लजाउँदै लजाउँदै घुम्थे / अव परिस्थिति बदलिएको छ / डोमाजी उस्तादको जुलुसमा साहित्यिक-वौध्दिकहरू पहिले रातको अँध्यारोमा जम्मा हुन्थे / अब यस्तो जुलुस दिउँसै निस्कन्छ / सत्ता र पूँजीको सांस्कृतिक प्रतिष्ठानसँग दिउँसै मोलमोलाई हुन्छ / चौतर्फी रुपमा पद-पीठ-पुरस्कारको हानाथाप मच्चिरहन्छ / “वैचारिक लोकतन्त्र”को बहसलाई यति खुकुलो बनाइदिइएको छ कि बच्चाहरू, मानवताको भविष्य र युध्दको विभीषिकालाई लिएर कवितामा चिन्तातुर अनुहार बनाउने मानिस हिन्दूत्ववादी फासिष्ट सरकारको आयोजनामा लाज नमानी बोलाइन्छन् र समूह बनाएर आफ्नो बचाऊ गर्छन् / पोखरीमा नाङ्गाहरूको संख्या यति धेरै छ कि लजाउनुको सट्टा एकजूट भएर ती कपडा लगाएका मानिसहरूतिर होहल्ला गर्न थाल्छन् / अब थोरै मात्र मानिस छन् जो मुक्त कण्ठले मुक्तिवोधले जस्तै यस्तो प्रश्न सोध्छन् – “साथी तिम्रो राजनीति के हो ?”
अवसरवादको ओरालोतिर हिँडेको यो यात्रामा रायपुरमा रमनसिंह सरकारको साहित्यिक महोत्सवमा कैयन जाने मानेका प्रगतिशील-स्वतन्त्र-वामपन्थी साहित्यकारहरूको सहभागिताको घटना नयाँ कोसे ढुङ्गा हो / रमन सिंह त्यही राजनीतिका एउटा मुख्य मान्छे हुन् जसले आडवाणीको रथयात्रापछि पूरै देशमा भीषण रक्तपातको कुचक्र रचे / यही राजनीतिका बाहक नै गुजरात -२००२ को अमानवीय रक्तपातको सूत्राधार थिए / यही सरकार हो, जसले माओवादी निर्मूल गर्ने नाममा बस्तरका सयौं गाउँका हजारौं आदिवासी परिवारहरूलाई उजाडीसकेको छ र लगातार त्यहाँ बर्बर अत्याचारका नयाँनयाँ किर्तिमान रचिरहेको छ / त्यही सरकारलाई लोकतान्त्रिक र सहिष्णुसिध्द गर्दै उसको आयोजनामा वामपन्थीलाई दिनहुँ पानी पिइपिईकन गाली गर्ने अशोक बाजपेयी र ऊजस्तैसँग प्रगतिशीलताको दोसल्ला ओढिरहने जगदीश्वर चतुर्वेदी, पुरुषोत्तम अग्रवाल, नरेश सक्सेना, आदिवाशीहरू, दलितहरूका स्वयम्भू साहित्यिक मसीहा रमणिका गुप्ता, प्रभात रंजन र हिजो आजै साहित्यको आकासमा आग-पुतलीजस्तै फुरफुर गर्ने दर्जनौं गफाडी खालका गाउँले मानिस “युवा तुर्क” शोभायमान भए /

एउटा जमाना थियो, जव फोर्ड फाउन्डेशनद्वारा आर्थिक सहयोग प्राप्त भारत भवनमा अर्जुन सिंहका प्रिय नोकरशाह साहित्यकार अशोक बाजपेयी एउटा कुशल शिकारीले जस्तै कैयन वामपन्थी साहित्यकारहरूलाई थरिथरिका लोभ देखाएर फसाउन सफल भएका थिए / त्यो समयमा पनि भारत भवनको कुचक्रका आलोचकहरूको संख्या राम्रै हुने गर्थ्यो / पछि भारत भवनबाट लाभ लिनेहरूको कारणले असाध्यै लाजमर्नु पनि भयो, अलगावको शिकार पनि भयो , कहिले पश्चाताप पनि गरे र कहिले पाप-मोचनका केही उपक्रम पनि गरे / अब देशमा केन्द्र र राज्य सरकारहरूका सांस्कृतिक प्रतिष्ठानहरू तथा एकेडेमीको रुपमा कैयन “भारत भवन” छन्, पूँजीपति घरानाका कैयन पुरस्कार र सम्मान छन्, एनजीओवालाहरू पनि साहित्यकारहरूलाई भाउ दिइरहेका छन्, विश्वविद्यालयहरूमा तिनका लागि कैयन पदहरू सिर्जित हुँदै छन् / जुन समयमा समाजमा जनवादी स्थान बढीभन्दा बढी नष्ट र साँघुरो भैरहेको छ, त्यही समयमा सत्ताले साहित्यकारहरू, वुध्दिजीविहरू र कलाकारहरूलाई पहिले सोचेभन्दा बढी भाउ दिइरहेको छ, किनकि विचारको धरातलमा “सहमतिको निर्माण” गर्न र व्यवस्थाको चौकिल्लाभित्र “सहमति”को लोकतान्त्रिक भ्रम सिर्जना गर्न व्यवस्थाद्वारा विलय गराइएका प्रगतिशील मुखुन्डाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ भन्ने कुरा उसलाई थाहा छ /

वैचारिक स्तरमा हठी अपढ़, कुपढ़ अधकल्चा “चिन्तक” आलोचकहरूद्वारा मार्क्सवादमाथि उत्तर आधुनिकतावाद, उत्तर औपनिवेशिकता, उत्तर मार्क्सवाद, “सवाल्टर्न अध्ययन”, “पहिचान राजनीति” आदिका साथमा मिसाएर विचित्रको खिचडी पस्किदै छन् / जीवन तथा लेखन दुवैमा प्रगतिशीलता र प्रतिगामिताको विभाजन रेखा झन्डै मेटाइ दिएका छन् /

पूँजीवादी सत्ताको नीतिमा आएको परिवर्तनमा भन्दा ती आर्थिक सामाजिक कारणहरूको अध्ययन महत्वपूर्ण छ, जसको कारणले बुध्दिजीबीहरूको ठूलो हिस्सा आज सजिलैसँग व्यवस्थाद्वारा किनबेच, मोलमोलाई, तथा संयोजनको सहर्ष शिकार हुन थालेका छन् / यो कुरा आकस्मिक नभएर सन् १९९० पछिको दशकको नवउदारवादको चौतर्फी लहरपछि यस्तो घटना ठूलो स्तरमा एउटा आमा प्रवृति भएर आएको छ / नब्बेको दशको सुरुवातमा कवि केदारनाथ सिंहले सारा वामपन्थी साहित्यकारहरू र ज.ने.बि.का विद्यार्थीहरूको विरोधको बाबजूद सहिद संकर गुहा नियोगीको हत्याको षडयन्त्रको आरोप लागेका पूँजीपतिहरूको प्रतिष्ठानबाट सम्मान ग्रहण गरे / यो कुरालाई छिट्टै बिर्सियो र केदारनाथ सिंह वाम कित्तामा पनि उस्तै आदरणीय मानिन थालिए / त्यसपछि त लाज सरमका सवै पर्दा हट्दै गए / फासिष्ट योगी आदित्यनाथबाट सम्मान ग्रहण गर्ने उदय प्रकाश, पहिले भाजपा मुख्यमन्त्री नित्यानन्द स्वामीलाई आफ्नो बाउ भन्ने र पछि उत्तराखण्डको कांग्रेस सरकारको हिमालयमा बाँध-निर्माण गर्ने विनासकारी नीतिको समर्थन गर्ने लीलाधर जगूडी, आर.एस.एस.को राम माधवदेखि लिएर बिहारका बाहुबली नेता पप्पु यादवसम्मको पुस्तक बिमोचन गर्ने तथा छात्तीसगढ़को हत्यारा डी.जी.पी. विश्वरंजनलाई महत्वपूर्ण कवि घोषित गर्ने राजकमल प्रकाशनको घरको “रामु-काका” (विष्णु खरेको शव्दमा) नामवर सिंह, महिलाहरूप्रतिको आफ्नो पुरुषवादी बोलीबचन र लम्पट व्यवहारका कारणले कुख्यात तथा मा.गा.ही.बि.बि.मा हवल्दार जस्तै खालको कुलपतिगिरी गरिसकेको विभूति नारायण राय, उसको नजिकको मान्छे पुरानो अवसरवादी रवीन्द्र कालिया, राय साहेबको जमानामा म.गा.ही.बि.बि.मा कुनै पद या शोधवृति लिएर मस्ती गरेका दर्जनौं लेखक-कविगण, हत्यारा विश्वरंजनको साहित्यिक कार्यक्रमको शोभा बढाउने तथा विभूतिनारायण रायसँग कृतज्ञ भएपछि पटना गएर नीतिश सरकारको सरकारी सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष पदमा पुगेका कुनै जमानाका “महा क्रान्तिकारी” अग्निमुखी कवि आलोक धन्वा, भाजपा सांसद विद्यानीवास मिश्रको जन्म दिनमा स्वामी करापात्रीको आश्रममा विद्याश्री न्यासको तत्वावधानमा आयोजित लेखक शिवीरको आयोजनामा अग्रणी भूमिका निभाउने जलेश, प्रलेस तथा जसमको बनारस एकाइका हर्ताकर्तागण, विश्वरंजनको आयोजनामा सहभागी तथा आफ्नी स्वास्नीलाई कुट्ने कुरामा प्रसिद्ध कृष्णमोहन, शोध छात्राहरूको यौन उत्पीडनको आरोपी अजय तिवारी, सैफई महोत्सवमा गएर मुलायम सिंहको भरमार प्रशंसा गर्ने केदार नाथ सिंह, अखिलेश सरकारबाट स्थापित भारत-भारती पुरस्कार लिने दूधनाथ सिंह तथा यस्तै सारा मानिस केही दिनको आलोचना र गुनासोपछि फेरि वामपन्थीहरूको समूहमा स्वीकार्य हुन थाल्छन् /

रायपुरमा भाजपा सरकारको साहित्य महोत्सवमा भाग लिने पुरुसोत्तम अग्रवाल, नरेश सक्सेना, रमणिका गुप्ता, रणेन्द्र, प्रभात रंजनलगायत धेरै कथित वाममार्गी युवा जमात तथा जसम-जलेस-प्रलेससँग जोडिएका साना भाइहरूको पनि यस्तै हुन्छ / जब एउटी थैलीमा सबैको मुख जोडिन्छ कसको बिरुध्द कसले आवाज उठाउने ! कसैले त यसकारण सदाचारको कुरा गरिरहेका छन् कि उनीहरूलाई अहिलेसम्म सदाचारको कुनै आकर्षण र प्रलोभनकारी मौका मिलेको छैन / जो असन्तुष्ट छन् ती बिद्रोही छन् / जव ती सन्तुष्ट हुन्छन् थरिथरि तरिकाले सत्ता र प्रतिष्ठानका महफिलमा जाने कुराको पक्षमा तर्क गर्न थाल्छन् /

जिन्दगीमा फोहोरी र जाली कुरा यी कथित वामपन्थीहरूका साहित्य सिर्जनामा जताततै धेरै मात्रामा गहिरोसंग जोडिएका हुन्छन् / यिनीहरूको एउटा ठूलो समूहलाई आज अज्ञय, धर्मवीर, भारती, निर्मल वर्मा, कृष्ण वलदेव वैद्य, अशोक बाजपेयी तथा विनोदकुमार शुक्लासम्मले प्रगतिशीलता देख्न थालेका छन् / “वामपन्थी” ज्ञान धुरन्धर आलोचक-शिरोमणिहरूद्वारा संकीर्ण अनुभववादी तथा प्रकृतवादी दलितवादी लेखन तथा लम्पट देहमुक्तवादी कुलिनतावादी नारीवादी लेखनमा आलोचना नगरी प्रशंसाको फूल वर्साउने चलन आम हुन थालेको छ / जादुगरी यथार्थवादको भद्दा प्रहसनात्मक नक्कलबाट कलात्मक चमत्कार गर्ने कोसिस जारि छ / वैचारिक स्तरमा हठी अपढ़, कुपढ़ अधकल्चा “चिन्तक” आलोचकहरूद्वारा मार्क्सवादमाथि उत्तर आधुनिकतावाद, उत्तर औपनिवेशिकता, उत्तर मार्क्सवाद, “सवाल्टर्न अध्ययन”, “पहिचान राजनीति” आदिका साथमा मिसाएर विचित्रको खिचडी पस्किदै छन् / जीवन तथा लेखन दुवैमा प्रगतिशीलता र प्रतिगामिताको विभाजन रेखा झन्डै मेटाइ दिएका छन् /

१९९० को दशकमा जव नवउदारवादको अश्वमेध घोडाले पूरै पृथ्वीलाई कुल्चिरहेको थियो तथा मार्क्सवादको र समाजवादको हारको हल्ला दिग दिगान्तरमा चलिरहेको थियो तव पुनरुत्थान र विपर्ययको त्यो समयमा बहुप्रचारित उत्तरआधुनिक विचार वालाहरूसँग कथित वामपन्थी विचारकहरू र साहित्यकारहरूले प्रणय-लिला सुरु गरे

भारतीय वौद्धिक समुदायको मुख्य धाराको ठूलो हिस्साको यो घृणित, निर्लज्ज, अवसरवादी पथ विचलन तथा पतन थोरै मानिसहरूको व्यक्तिगत पतनको कारण होइन / यो एउटा समकालीन आम प्रवृत्ति हो, जसको कारणलाई ऐतिहासिक परिप्रेक्षमा देख्नुपर्छ र सामाजिक आर्थिक संरचनाभित्र खोज्नुपर्छ / वौध्दिक समुदायको मूख्य धारा त्यो खुसहाल मध्यम वर्गकै एउटा पाटो हो, जो सधैँ मौजूद पूँजीवादी व्यवस्थाको विशेष सुविधाप्राप्त अल्पसंख्यक उपभोक्ता वर्ग हो र जो अहिले जनताको पक्ष छोडेर सत्ताधारीको पक्षमा उभिएको छ तथा यो व्यवस्थामा व्यवस्थित भएको छ / समाजको मुखर तप्काको रुपमा कहिले यो सत्ताधारीको वर्चस्व (हेजेमनी)को विरुद्ध उभिन्थ्यो, तर अब यो त्यही वर्चस्वको स्थापनाको लागि वैचारिक-संस्कृतिक भूमिका निभाइरहेको छ / साहित्यिक-सांस्कृतिक परिदृश्यको पतनशीलता भारतको खुसहाल मध्यम वर्गको ऐतिहासिक विश्वासघात र पक्ष-परिवर्तनकै एउटा अभिव्यक्ति हो, त्यसैको परिणाम हो या त्यसैको एउटा रुप हो भन्न सकिन्छ / यथार्थमा भारतीय वौध्दिक मानिसहरूको निर्माण युरोपको तरिकाले पुनर्जागरण-प्रवोधन वुर्जुवा जनवादी क्रान्तिको प्रक्रियाको समयमा भएको थिएन, न त रुसको तरिकाले धिमा पूँजीवादी बिकासको स्वतन्त्र बाटोबाट हिँडेर यसले क्रान्तिकारी जनवादको वैचारिकीसम्मको (साहित्यमा वुर्जुवा यथार्थवादसम्मको) यात्रा तय गरेको थियो / भारतमा एउटा औपनिवेशिक सामाजिक आर्थिक संरचनाभित्र जुन मूख्य वैचारिक आधार तथा खण्डित जनपक्षधरता खाले राष्ट्रिय जनवादी चेतना विकसित भयो, त्यसमा पनि इतिहास विरोधी अतितोंमुख र धार्मिक प्रतिच्छायाँको विचलन थियो र जुझारु भौतिकवादी तर्क धेरै हदसम्म कमजोर थियो / स्वतन्त्रता प्राप्ति पछि राष्ट्रिय आन्दोलनको वुर्जुवा नायकत्व खण्डित हुन र त्यसको गौरव समाप्त हुन समय लागेन / पचास र साठीको दशकमा भारतीय वुध्दिजीवी र साहित्यकारहरूको ठूलो हिस्साले पलायन तथा अस्तित्ववाददेखि लिएर सर्वनिषेधवाद र अन्धबिद्रोहसम्मको बाटो हिँड्नु या आफ्नो मध्यम वर्गीय जीवनको सुख-दुख-त्रासदीहरू-विडम्बनाहरू तथा अलगावको पीडामा शुतुर्मुर्गले जस्तो टाउको लुकाउनुको यही कारण थियो / तेलंगाना संघर्षको पराजय तथा वाम आन्दोलनको शंसोधनवादी पथविचलनपछि विचार तथा साहित्य कलाको क्षेत्रमा वामधारा पृष्ठभूमिमा धकेलियो / त्यसो त यो वामधाराको पनि इतिहास प्रदत्त आफ्नै सीमा तथा कमजोरीहरू थिए / १९६७ को नक्सलबाडी जनउभारपछि मध्यम वर्गीय वुध्दिजीवीहरूको एउटा नयाँ पींढी ‘रेडिकलाइज्’ भएर वाम प्रभावमा आयो / आफ्नो विचारधारात्मक कमजोरीहरू र “वाम” दुस्साहसवादी विचलनको कारण नक्सलवाडी उभारबाट जन्मेको क्रान्तिकारी वामधारा भलै छिट्टै विभाजन र गत्यावरोधको सिकार भएको भए पनि विचार र कला साहित्यको क्षेत्रमा यसले प्रगतिशील जनवादी धारालाई नयाँ गति दियो / तै पनि सत्तरीको दशकमा यान्त्रिक नारावाजीको मात्रा बढी थियो, तर यो बिचमा स्तरीय लेखन पनि ठूलो स्तरमा भयो र वाम जनवादी धारा साहित्यको प्रभावी धाराको रुपमा स्थापित भयो / तर १९८० को दशकले साहित्य कलाको क्षेत्रमा पनि ‘ग्लास्नोस्त-पेरेस्त्रोइका’को प्रभाव लिएर आयो / दशकको अन्त्यसम्ममा वामपन्थी साहित्यमा नवरुपवादी प्रवृत्तिले आफ्नो प्रभाव निर्णायक रुपमा स्थापित गर्यो / १९९० को दशकमा जव नवउदारवादको अश्वमेध घोडाले पूरै पृथ्वीलाई कुल्चिरहेको थियो तथा मार्क्सवादको र समाजवादको हारको हल्ला दिग दिगान्तरमा चलिरहेको थियो तव पुनरुत्थान र विपर्ययको त्यो समयमा बहुप्रचारित उत्तरआधुनिक विचार वालाहरूसँग कथित वामपन्थी विचारकहरू र साहित्यकारहरूले प्रणय-लिला सुरु गरे, जसले लगातार उन्मत्त रुप लिंदै गयो / कुरा के छ भने, जुन समयमा विचार र सिर्जनाको क्षेत्रमा कथित वामपन्थीलाई उत्तरआधुनिकताले महा ठग प्रेम-पाशमा कसिरहेको थियो त्यही समय जीवनमा तिनीहरू सत्तासँग अवैध सम्बन्धमा भ्रमरभन्दा बढी अल्झिएका थिए /

मसान घाटका पण्डा-पूजारीहरू जस्ता यी छद्मभेषी “वामपन्थी” गिरोहलाई ठेगान लगाउनको लागि श्रमजीवीहरूको क्रान्तिकारी आन्दोलनले क्रान्तिकारी वुद्धिजीवी, संस्कृतिककर्मी तथा साहित्यकारहरूको नयाँ पंक्ति तयार गर्नुपर्छ, सर्वहाराको “अर्ग्यानिक इन्टेलेक्चुअल्” बढीभन्दा बढी तयार गर्नुपर्छ /

यथार्थमा १९८० को दशकसम्म तेश्रो विश्वका अग्र पंक्तिका सारा उत्तर-औपनिवेशिक समाजहरू जस्तै भारतीय समाजमा पनि पूँजीवादी बिकासको राजकीय पूँजीवाद र मिश्रित अर्थव्यवस्थाको नीति आफ्नो उच्चतम विन्दूसम्म पुगिसकेको थियो / यसको तार्किक परिणति १९९० को दशकमा नवउदारवादको रुपमा सामने आयो / वुर्जुवा दायराभित्र राष्ट्रिय जनवादको कार्यभार जुन रुपमा र जुन सीमासम्म पूरा हुन सम्भव थियो, त्यो क्रमश: पूरा हुँदै जाने क्रममा मध्यम वर्गको विभेदीकरण हुँदै गयो र त्यसको माथिल्लो तप्का वुर्जुवा ढाँचामा व्यवस्थित हुँदै गयो / पूँजीको सामाजिक आधारको विस्तारको साथमा यो तप्का समानुपातिक हिसाबले ठूलो पनि हुँदै गयो / १९८० को दशकबाट प्रोफेसर, पत्रकार, डाक्टर, इन्जिनियर, नोकरशाह तथा वित्तीय क्षेत्र, सेवा क्षेत्र तथा निजी क्षेत्रसँग जोडिएका व्यवसायीहरूको संख्या र खुसियालीमा ठूलो वृध्दि भयो, जब कि मजदूरहरूको जिन्दगीको खराव अवस्था जस्ताको तस्तै छ / आफ्नो आर्थिक सामाजिक अवस्थाकै अनुरुप नै सहरीया मध्यम वर्गीय वुध्दिजीवी समुदायको बहुमत आज पनि पूँजीको सिपाहीमा उभीइ सकेको छ / माथि चर्चा गरिएको राजनीतिक परिदृश्यको आत्मगत प्रभावको अतिरिक्त यो बस्तुगत यथार्थको बस्तुगत प्रभावकै परिणाम आज वामपन्थी खेमामा साहित्यिक सिर्जनामा नवरुपवाद र जीवनको स्तरमा घटिया अवसरवादको विचलनले ढाकिरहेको छ /
कथित वामपन्थी वुध्दिजीविहरू र साहित्यकारहरूको ठूलो संख्या प्रोफेसर, नोकरशाह, मिडियाकर्मी या स्वतन्त्र पेशाकर्मी आदिको रुपमा खुसहाल मध्यम वर्गीय प्राणी बनिसकेको छ, जो श्रमजीवी जनताको जीवन र संघर्षबाट धेरै टाढा सुरक्षित, सुविधासम्पन्न जीवन विताउँछ / भित्रबाट सार्वहारा क्रान्तिको भविष्यमा न उसको आस्था छ न यस्तो क्रान्ति उसको लागि फाइदाजनक देखिन्छ / यस्तोमा “वामपंथ” उसको लागि पद-प्रतिष्ठा किन्ने बजारु सिक्का या उन्नतिको लिस्नो भैसकेको छ / क्रान्तिका “महाख्यानहरू”प्रति आशंका देखाउँदै र विखण्डित सामाजिक आन्दोलन तथा हीन-विमर्शको “उल्लास” मनाउँदै यस्ता मानिसहरू यथार्थमा आफ्नो बर्गीय स्थिति तथा वुर्जुवा सत्ताको सामाजिक सहाराको रुपमा आफ्नो भूमिकाको तथा र आफ्नो जिन्दगीको बर्बर खुसियालीको ‘जस्टिफाई’ गरिरहेका हुन्छन् / ”वामपन्थ”को बर्को ओढेर सत्ताको कोठामा व्यभिचार गर्दै तथा साम्प्रदायिकता, विस्थापन, प्रहरी दमन या दलित उत्पीडनजस्ता प्रश्नमा नाम मात्रको विरोध-प्रदर्शन, हस्ताक्षर अभियानमा भाग लिने जस्ता काम गरेर यी वुध्दिजीविहरू ठग र पकेटमारजस्तै भूमिका खेल्छन् / यी मानिसहरूले साहित्यको राजनीति माफिया गिरोहको जसरी गर्छन्, कैलेकैले कुकुर जसरी जुध्छन् र यदि कसैले यिनीहरूको वास्तविकता खोलिदिन खोज्यो भने यिनीहरु मिलेर तपाईंको विरुद्ध खुल्ला युध्द, परोक्ष युद्ध या शीतयुद्ध चलाउन थाल्छन् या खराव षडयन्त्र रचना थाल्छन् / धेरै जसो मानिस आफ्नो क्षुद्र आत्म-प्रशंसक महत्वाकांक्षाको कारणले थाहै नपाई यी गिरोहको षडयन्त्रकारी दुश्चक्रको हिस्सा बन्छन् र कालान्तरमा तिनीहरू जस्तै बन्छन् / मसान घाटका पण्डा-पूजारीहरू जस्ता यी छद्मभेषी “वामपन्थी” गिरोहलाई ठेगान लगाउनको लागि श्रमजीवीहरूको क्रान्तिकारी आन्दोलनले क्रान्तिकारी वुद्धिजीवी, संस्कृतिककर्मी तथा साहित्यकारहरूको नयाँ पंक्ति तयार गर्नुपर्छ, सर्वहाराको “अर्ग्यानिक इन्टेलेक्चुअल्” बढीभन्दा बढी तयार गर्नुपर्छ /

साभार : साहित्य में अवसरवादी घटाटोप के सामाजिक-आर्थिक कारण
“नान्दीपाठ” मीडिया, संस्कृति अौर समाज पर केन्द्रित (अंक 3)

 

अनुवाद : बलराम तिमल्सिना 

(Visited 77 times, 1 visits today)

टिप्पणी

comments