Main Menu

विचार/विश्लेषण

हाम्रा नेताहरु नेपाली कांग्रेसका प्रदिप गिरी जति पनि छैनन्

समालोचक तथा  चिन्तक निनु चापागाईं

(निनु चापागाईंको परिचय साहित्य समालोचकको रुपमा त छ नै साथै उनी प्रगतिवादी सँस्कृतिका चिन्तक पनि हुन् । उनी राजनीतिक जीवन, बिचार, साहित्य र व्यवहारलाई मार्क्सवादी कोणबाट गहिरोसँग समालोचना गर्ने क्षमता राख्छन् । उनले गत २०७४ फागुन १ गते जनयुद्ध दिवस र साहित्यकार बितेका घनश्याम ढकालको स्मृति दिवस मनाउने क्रममा पोखरामा व्यक्त गरेका बिचारहरु नेपाली प्रगतिवादी, मार्क्सवादी र कम्युनिस्ट साहित्य एवं बिचार लेखनमा उल्लेखनीय मार्ग दर्शन बनेका छन् । उनले त्यस कार्यक्रममा व्यक्त गरेका बिचारहरु श्रृङ्खलाबद्ध रुपमा मूल्याङ्कन अनलाइनले प्रकाशित गर्दै आएको छ । यही क्रममा आज हामी त्यस श्रृङ्खलाको चौथो र अन्तिम खण्ड यहाँ प्रकाशित गर्दैछौं । पहिलो, दोश्रोतेश्रो खण्ड यसअघि नै प्रकाशित गरिसकिएको छ । –सम्पादक)

हाम्रो राजनीतिमा विसंगति के छ भने नेता कार्यकर्ताहरु आफूलाई कम्युनिष्ट भन्छन्, तर गर्छन् अर्कै । सिद्धान्तमा एउटा कुरा गर्छन्, तर व्यवहारमा सिद्धान्तै पनि छोडेका हुन्छन् । उनीहरु सिद्धान्तलाई कहिल्यै आत्मसात गर्दैनन् । जनता केन्द्रमा छैन । मैले भन्न खोजेको वर्ग केन्द्रमा छैन ।

मुलुकमा गणतन्त्र आएको छ । सरकारमा अब हिजोका राजामहाराजाका मान्छेहरु छैनन् । प्रगतिवादी र वामपन्थीहरु नै छन् । तर, उहाँहरु जानीजानीकन नै प्रगतिवादी साहित्यकारहरुलाई सम्मान गर्दैनन् । परिवर्तनका लागि हिजो जेलनेल र सास्ती भोगेका साहित्य कलाकर्मीहरुले कुनै सम्मान पाउँदैनन् । कोही गायकलाई राज्यले सम्मान गरिन्छ भने त्यस्ता सम्मान अरुले नै पाउँछन्, जीवन शर्माले पाउँदैनन्, रायनले पाउँदैनन्, रामेशले पाउँदैनन् । प्रगतिवादी गायकहरुलाई स्थापित गरिँदैनन् ।

यति हुँदाहुँदै पनि प्रगतिवादी साहित्य लेखन अगाडि आएको छ है भन्नुहुन्छ मोहन वैद्य किरणजी ।

अर्को ‘घिनलाग्दो गालिगलौज’मा पनि उहाँको आपत्ति छ । ‘पार्टीभित्र चलिरहेको तुच्छ घीनलाग्दो गालीगलौजको नक्कल गरेकोले बाहिर हेर्दा – साहित्यकारहरु, लेखकहरुसँग पनि सम्बन्धित हो – भाँडभैलो देखिन्छ । वैचारिक धरातलमा उठेको हुनुपर्छ, गालिगलौजमा होइन हाम्रो सैद्धान्तिक व्यवहारमा हुनुपर्छ ।’
अर्को, उहाँले हाम्रा ताराजीले उठाएको कुरा ल्याउनुभएको थियो । साहित्यले वर्गसंघर्षलाई अगाडि बढाउने हो, उत्तरआधुनिकतावाद, सवाल्र्टनवाद, अनि यो उत्तर औपनिवेशिक सिद्धान्तलाई होइन । ती कुराहरुको त विरोध नगरी हुँदैन । साहित्यलाई वर्गको आधारमा हेरिनुपर्छ । तिनीहरुले वर्गलाई निषेध गर्ने काम गर्छन् । र, तिनीहरुसँग संघर्ष नगरीकन उपभोक्ततावादसँग पनि संघर्ष गर्न सकिँदैन । हाम्रो सामु आइसकेको छ, उपभोक्ततावाद समस्या बनेर ।

यी सबैसँग संघर्ष गरेर मात्रै हामी अगाडि बढ्न सक्छौँ र यो हाम्रो लेखनको दायित्व पनि हो भन्ने मलाई लाग्छ ।
मैले देखेको मोटामोटी रुपमा भन्ने हो भने अहिले हाम्रो राजनीतिमा विसंगति के छ भने नेता कार्यकर्ताहरु आफूलाई कम्युनिष्ट भन्छन्, तर गर्छन् अर्कै । सिद्धान्तमा एउटा कुरा गर्छन्, तर व्यवहारमा सिद्धान्तै पनि छोडेका हुन्छन् । उनीहरु सिद्धान्तलाई कहिल्यै आत्मसात गर्दैनन् । जनता केन्द्रमा छैन । मैले भन्न खोजेको वर्ग केन्द्रमा छैन । जस्तो, उदाहरणको निम्ति म प्रश्न गर्न चाहन्छु, ६२/६३ को आन्दोलनपछाडि तपाईंले नेपाली जनताका आधारभूत समस्याहरुका निम्ति यी पार्टीहरुले आन्दोलन गरेको देख्नुभएको छ ? यिनीहरुले संविधान बनाउने बेलामा, अरु बेलामा वर्गको समस्याहरुलाई गम्भीरताका साथ उठाएको कहिँ देख्नुभएको छ ? कहिँ छैन । विद्यार्थीहरुले पेट्रोलको भाउ बढ्दाखेरि बेलाबेलामा झगडा गर्छन् सरकारसँग । ‘पेट्रोल’ कै कुरा उठ्यो किन ? त्यो त उनीहरुको मोटरसाइकलसँग जोडिएको छ । विद्यार्थीहरु अलि अर्कै ढंगका छन् । त्योबाहेक पार्टीले कुनै पनि उठाएको छैन । म त केसम्म भन्न थालेको छु भने नेपाली कम्युनिष्ट आन्दोलनका तीनवटा ठूला महत्वपूर्ण कुराहरु थिए, इतिहासमा । पहिलो राष्ट्रियताको संघर्ष । राष्ट्रियताको संघर्ष अब त खतम नै भइहाल्यो । ६ महिने नाकाबन्दीका कारण रातारात केपी ओली राष्ट्रवादी बन्नुभयो । केपी ओलीको इतिहास त अर्कै छ नि त, सबैलाई थाहा छ नि । उहाँ राष्ट्रवादी त संयोगले हुनुभएको हो । साँच्चीको राष्ट्रवादी भएको त होइन । राष्ट्रियताको सवाल पनि छुट्यो । अर्को, जनजीविकाको समस्यासँग जोडिएका जनसंघर्षका कुराहरु थिए । तपाईं शान्ति प्रक्रियापछाडि हेर्नुहोस् त, जनतासँग जोडिएका कुनै पनि कुराहरुसँग – अघि मैले जे भने त्यही भयो । लोकतन्त्रको कुरा, जनवादको कुरा भन्छौँ नि हामी, राष्ट्रियता, जनजीविका र जनतन्त्रको कुरा छन् नि, ती कुनै पनि कुरामा अहिले कोही गम्भीर छैनन् । जनतन्त्रको कुरा भनेको मैले अघि लोकतन्त्रको कुरा गरेँ त्यही हो । त्यसमा पनि उनीहहरु पछाडि नै छन् । हिजो ७ सालबाट पुष्पलालदेखि उठाउँदै आएको नेपाली कम्युनिष्ट आन्दोलनले गर्व गर्ने भनेका जे कुरा हुन्थे, ती तीनवटै कुराहरु अहिले छैनन् । अर्को, जनताका समस्याहरुसँग उनीहरुको सरोकार छैन । राष्ट्रको समस्या पनि केन्द्रमा छैन । अनि वर्ग प्रतिवद्धता पनि छैन । समूह केन्द्रमा छैन । पार्टी केन्द्रमा छैन । व्यक्ति केन्द्रमा छ ।

हाम्रो समस्या चाहिँ हाम्रो समाजैलाई बुझ्ने, अध्ययन गर्ने कुरामा पनि हामी त्यति गहन छैनौँ, छिपछिपे छिपछिपे छौं । मैले त योभन्दा अगाडि कहिले हो, के पनि भनेको छु भने हाम्रा कविताहरु, अहिलेका लेखनहरु प्रतिक्रिया जस्ता देखिन्छन् ।

मैले अगाडि नै पनि भनेँ, संगठनमा जनवादी पद्धति पनि छैन, आलोचना, आत्मालोचना पनि छैन । अनि अर्को छ, चर्को साँस्कृतिक विचलन । हाम्रा नेताहरु मैले तोकेरै भन्नु पर्दा नेपाली कांग्रेसका प्रदिप गिरी जति पनि छैनन् । त्योभन्दा तलका छन्, गएगुज्रेका । पुँजीवादी राजनीति, उपभोक्तावादी संस्कृति यति हावी भएको छ कि सीमा नै नाघिसकिएको छ । यस्तो अवस्थामा लेखकहरुको दायित्व के हुने त ? मैले फेरि दोहोर्याउनु पर्दैन । लेखन अलिकति आलोचनात्मक हुनुपर्यो ।

अर्को, हामीले लेख्ने भनेको चाहिँ जतिसुकै कुरा गरे पनि घुमाईफिराई पनि ताराजी र सरिताजीले भन्नुभएको जस्तो प्रतिपक्षताको कुरा नै हो– साहित्यकारहरु अधिकांश प्रतिपक्ष पनि हुने रहेछन् । तर, यो प्रतिपक्षी भनेको कुरो पनि फेरि निरपेक्ष प्रतिपक्ष हो र ? म चाहिँ त्यसलाई अलिकति नमान्ने खालकै छु । मार्कोभ्स्की रुसमा क्रान्ति हुनेबित्तिकै सबैभन्दा पहिले – कम्युनिष्ट पनि होइनन् उनी – लेनिनको र अक्टोबर क्रान्तिको सबैभन्दा बढी चर्कोचर्को समर्थन गर्ने लेखक साहित्यकार बने । त्यस्तै गरी पाब्लो नेरुदा ठूला नाम चलेका, ल्याटिन अमेरिकाका, उनले अक्टोबर क्रान्तिलाई समर्थन गर्नुपर्ने त थिएनन् नि ! तर, उनले अक्टोबर क्रान्तिको धुवाँधार रुपबाट समर्थन गरे । यस्ता थुप्रै उदाहरणहरु छन् ।

त्यसकारण सधैंभरि सत्ताको बिरोधै मात्र गर्नुपर्छ भन्ने होइन – तपाईं एउटा जटिल अवस्थामा आउनुभएको छ, सही कुराहरु उठाइराख्नुभएको छ, अनि प्रतिपक्षमा बस्नुपर्छ भनेर गलत कुराहरु मात्रै अगाडि ल्याएर संकटको बेलामा त्यस्तो गर्नु फेरि पनि उपयुक्त होइन भन्ने मलाई लाग्छ, निरपेक्ष रुपमा । तर पनि आम रुपमा भन्नुपर्दा लेखक त प्रतिपक्ष नै हो । प्रतिपक्षको भूमिका खेल्नै पर्छ । त्यसले सधैंभरि सत्यनिष्ठताको नै वकालत गर्ने हो । जीवनको गहन सत्यपरक चित्रण नै गर्ने हो । हाम्रो समस्या त्यहाँनिर पनि छ । जीवनलाई गहन रुपमा चित्रण चाहिँ हामी गरिरहेका छैनौँ । उदाहरणको निम्ति भनौँ न, जनयुद्ध अहिले जुन स्थितिबाट आएको होस्, जेसुकै होस्, तर जनयुद्ध भनेको नेपालको सन्दर्भमा एउटा ऐतिहासिक ठूलो महत्वको कुरा हो । तर, त्यहीँभित्रका साथीहरुले पनि जनयुद्धको अन्तर्यमा प्रवेश गरेर त्यहाँको यथार्थलाई गम्भिरतापूर्वक राख्न सक्नुभएको छैन, आएन । मैले त पहिले पनि भनेको छु, दिल्ली सम्झौता, अनि नेपाली काँग्रेस र अरुहरुको पनि ७ सालको सन्दर्भमा पनि गम्भीर कुरा आएन । हामी अहिले पनि जब भूमिको कुरा गर्छौं, मजदुरहरुको कुरा गर्छौं, त्यतिखेर गम्भीर सामग्री हामीसँग हुँदैन । त्यसकारण हाम्रो समस्या चाहिँ हाम्रो समाजैलाई बुझ्ने, अध्ययन गर्ने कुरामा पनि हामी त्यति गहन छैनौँ, छिपछिपे छिपछिपे छौं । मैले त योभन्दा अगाडि कहिले हो, के पनि भनेको छु भने हाम्रा कविताहरु, अहिलेका लेखनहरु प्रतिक्रिया जस्ता देखिन्छन् । मलाई लाग्छ नै त्यस्तो । विरोध गर्नुपर्छ भनिएको छ, विरोध गर्ने हो । त्यसकारण गहण चित्रण गर्न नसकेको हाम्रो एउटा समस्या हो । त्यतातिर पनि हामीले ध्यान दिनुपर्यो ।

अर्को महत्वपूर्ण कुरो चाहिँ क्रान्तिकारी विकासको काममा यथार्थको प्रतिबिम्बनको समस्या हो । यो कुरा साथीहरुले पनि भनिरहनुभएको छ । वर्तमानलाई भूतसँग जोड्ने, र त्यसलाई भविष्यसँग पनि जोड्ने । तीनवटै यथार्थहरुलाई राख्ने । सही रुपबाट चित्रण गर्ने हो, त्यो नगरीकन अगाडि जानै सकिँदैन ।

महिलाहरु सबै उत्पीडित वर्ग हुन् भनेर त भन्न मिल्दैन । तर, तिनीहरुलाई आम रुपमा वर्गीकरण गर्ने हो भने तिनीहरुलाई उत्पीडित वर्ग भन्न सकिन्छ । खालि उत्पीडित लिङ्गको रुपमा मात्रै लिनुपर्ने हो भन्ने चाहिँ मलाई लाग्दैन ।

अर्को चाहिँ हो, कम्युनिष्ट अभिवृत्ति । यो पार्टी पंक्तिमा हुन सक्छ, किनभने यो सामुहिक प्रयत्नबाट हुने हो । समाज बदल्ने भनेको सामुहिक प्रयत्नबाट हुने हो । व्यक्ति एकजनाले गर्न सक्दैन । समूहले नै गर्ने हो । तपाईं प्रत्यक्ष काम गर्न सक्नुहुन्छ, समूहमा प्रतिबद्ध हुनुहोस्, सक्नुहुन्न भने पनि विचारमा र सिद्धान्तमा त प्रतिबद्ध हुनैपर्छ । त्यसैकारण कम्युनिष्ट अभिवृत्ति भनेको हुँ मैले । कतिपय अवस्थामा गर्न सकिने रहेछ । नसक्ने चाहिँ होइन । तर, त्यो अपवाद पनि हुनसक्ला, त्यो बेग्लै कुरो हो ।

अर्को चाहिँ आशावादिता । अहिलेको अवस्थामा महान नेताहरु, आदर्शवादी नेताहरु खलनायकमा परिवर्तन भए, नायकहरु खलनायकमा परिवर्तन भएका छन् भनेर भनेँ । अब त्यो अवस्थामा हामीले अलिकति नायकत्व सृजना गर्ने, नायकहरु चाहिँ कति ल्याउन सक्छौँ, त्यो चाहिँ प्रश्न होला । तर, त्यो चाहिँ के भने विगतका नायकहरुलाई अगाडि ल्याएर स्थापित गर्न पनि सक्ने रहेछौँ हामीले, कतिपय प्रतिकुल अवस्थाहरुमा । त्यसो गर्न सकिँदैन भने पनि समाजवादी चिन्तनका आधारमा आलोचना त हामी गर्न सक्छौँ । तर, अलिकति गहिराइमा गएर । अहिलेका हाम्रा लेखकहरुको दायित्व त्यही होला ।

अर्को मैले भन्नुपर्ने कुरा, मैले त बेलाबेलामा भन्ने गरेको छु, पार्टीकै सन्दर्भमा भन्ने गरेको छु, दलितहरुलाई सर्वहाराको रुपमा किन नहेर्ने भनेर । मेरो त यो समस्या नै होइन । तर, सबै दलितहरु सर्वहारा पनि छैनन् । विश्वकर्माका कतिपय साथीहरु आर्थिक हैसियतको आधारमा धेरै माथि छन् । त्यो त अपवाद होला । तर, सारमा हेर्ने हो भने तिनीहरु श्रमिकभन्दा तलका होइनन् । गाउँमा पनि त्यही छ, सहरमा पनि त्यही छ । महिलाहरुको कुरामा पनि महिलाहरुभित्रै पनि वर्ग त छ नि । महिलाहरु सबै उत्पीडित वर्ग हुन् भनेर त भन्न मिल्दैन । तर, तिनीहरुलाई आम रुपमा वर्गीकरण गर्ने हो भने तिनीहरुलाई उत्पीडित वर्ग भन्न सकिन्छ । खालि उत्पीडित लिङ्गको रुपमा मात्रै लिनुपर्ने हो भन्ने चाहिँ मलाई लाग्दैन ।

(Visited 364 times, 1 visits today)

टिप्पणी

comments