Main Menu

विचार/विश्लेषण

बैशाखीमा उभिएको नेपाली समालोचना

विष्णु भण्डारी

‘पहेँलो घाम’ बजारमा आएको पाँच महिना भएको थियो । फागुन महिनाको बिहानै एकजना साहित्यकार मित्रको फोन आयो । मैले हेलो भन्न नपाउँदै उनले भने– ‘था पाउनु भो, आजको कोशेलीमा फलानोले नराम्रोसँग ठोकेछ नि !’ उनले त्यसो भन्दा म झस्किएँ । भर्खरै आएको पत्रिका उठाएर हेरेँ । तर त्यहाँ उनले भनेजस्तो थिएन । दुईपटक दोहोर्याएर पढ्दा पनि त्यहाँ समीक्षा मात्र भेटेँ मैले ।

यो एउटा प्रतिनिधि घटना हो । यस्ता घटना प्रायः घटिरहन्छन् बजारमा । कसैले कसैको सामान्य आलोचना ग¥यो कि काठमाडौं मात्र हैन मोफसलको साहित्यिक माहोल पनि एक्कासी गरम हुन्छ । अनि केही दिन चियागफका लागि गतिलो मसला तयार हुन्छ । चिया गफमा सहभागीले भलै कृति देखेकै नहोस् तर उसले घोषणा गर्दै भन्छ– ‘फलानोको कृति त समीक्षकले भनेजस्तै खत्तमै रै’छ । पूराका पूरा झूर !’ अर्को जमात जो लेखक वा प्रकाशकसँग विचारगत वा गुटगत कारणले नजिकको साइनो पर्ने हुन्छ, उसले कृतिको बचाउ गर्दै भन्छ– ‘यति सुन्दर कृतिको पनि आलोचना गर्ने ? कस्तो झूर समीक्षक !’
पाठक भने चुपचाप रहन्छ ।

वास्तवमा यो गुटगत मानसिकता र विचारहिनताको प्रमाण हो । पहेँलो घामसँम्म आइपुग्दा मलाई पनि समीक्षा र समालोचनाको बजारशास्त्रबारे सामान्य जानकारी भैसकेको थियो । साहित्यिक बजारमा यी दुई शब्दको ठूलो महत्व रहेछ । अध्ययन र व्यवहारले भन्छ यी दुईको संसर्ग र सहयोगविना कलममा मसी भर्न सकिन्न । अनि यी दुई शब्दसँगै जोडिएर आउने अर्को शब्द हो मिडिया । साहित्यिक ग्राफमा माथि उक्लनु छ भने समीक्षा, समलोचना र मिडियाको भित्री रहस्य बुझ्नैपर्ने हुन्छ । सूचना र मिडियाको उत्तरआधुनिक युगमा मात्र हैन यी तीन शब्दको दादागिरी उहिल्यै पनि खुब चलेको रहेछ, जतिखेर साहित्यिक बजार यतिसाह्रो गरम थिएन ।

वर्तमानमा लेखकको अवस्था

लेखक स्वभावैले भावुक प्राणी ! छक्कापञ्जा र ठेक्कापट्टा गर्न सक्ने भए बबुरोले किन झुस्स दारी पालेर कविता लेख्दै हिँड्ने थियो र ! हुन त अहिलेको साहित्यिक बजार साहुमहाजन र सेलीब्रेटी साहित्यकारको हो भन्दा फरक नपर्ला । दशबीस हजार खर्च गर्न नसक्ने साहित्यकार केको साहित्यकार ? मिडियादेखि मन्त्रालयसम्म र उद्योगपतिदेखि विश्व विद्यालयसम्म प्रभाव फैलाउन नसक्ने लेखक के लेखक ? आफ्ना दुईचार अनुभव र अनभूति सुनाएर पैसाको बिटो फालिदियो बस् रातारात महान् लेखक भैटोपल्यो ! यस्तो दुनियाँमा विचरा चप्पल पट्काउँदै गाउँगाउँ कथा खोज्न हिँड्ने लेखकको के महत्व !

समालोचकको काम कस्तो हुनुपर्छ ?

ज्ञान र विज्ञानले साहित्य बन्दैन । लेखकसँग भन्नुपर्ने कुरा भएर मात्र हुँदैन । साहित्य कुण्ठा र गन्थन नभएर यथार्थको कलात्मक अभिव्यजना हो । पुनर्सिर्जन हो । कोरा यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नका निम्ति लेखकसँग गहिरो जीवनदृष्टि र संवेदनाको विपूल भण्डार चाहिन्छ । विशाल शब्दभण्डार, विषयको गहिरो ज्ञान र सत्यनिष्ट कलादृष्टिको अभावमा लेखक यथार्थको प्रतिबिम्बनमा चिप्लिन सक्छ । समालोचकको काम यसरी चिप्लिने लेखक कलाकारलाई बचाउने हो । उनको लेखनप्रतिको आशक्ति र जिम्मेबारीबोधलाई अझै अगाडि बढ्न गति र दिशा दिने हो । नवोदित लेखक होस् अथवा स्थापित उसले सिर्जनामा यथार्थको चित्रण कलात्मक ढङ्गले गरेको छ कि छैन खोजी गर्ने हो । अति भावुकता वा विषयप्रतिको छिपछिपे अध्ययनले कलादृष्टि र सौन्दर्य चेतमा पर्न गएको क्षतिलाई मार्गनिर्देश गर्नु हो ।

व्यवहारमा भने त्यस्तो देखिन्न । समालोचकबाट गरिएको समालोचना वा समीक्षामा व्यक्त आलोचनात्मक टिप्पणीले आफ्नो स्वाभिमानमा चोट पुर्याएको सोच्छन् लेखकहरू । हुन त नेपालका कतिपय समालोचकको काम कृतिका कमजोर पक्षलाई मात्रै उदिङ्ग्याउनु र त्यसैको आधारमा लेखकको छाला काड्नु रहेको छ । कृतिको समग्र अध्ययन र विश्लेषण गर्दा कृतिका सकारात्मक र नकारात्मक दुबै पक्ष आउँछन् । आउनु पर्छ । कृतिको साङ्गोपाङ्गो अध्ययनको आधारमा गरिने आलोचनाले सञ्जिवनीको काम गर्छ । समालोचकले आलोचना गर्दैमा लेखक आत्तिइहाल्नु पर्ने कारण म देख्दिन । ल एकछिनलाई मानौँ गलत समालोचकका हातमा परेर कृतिको अवमूल्यन भयो रे ! के समालोचक मात्र अन्तिम सत्य हो र !? अन्तिम सत्य त पाठक हो । पाठकले गर्छ लेखकको सही मूल्याङ्कन । तर बुझ्नुपर्ने कुरा के हो भने समालोचकले कृतिको आलोचना मात्र गरेको हुन्न सँगसँगै पाठकसँग साक्षात्कार पनि गरेको हुन्छ । समालोचकले कृति र कृतिकारको पूर्वाग्रही भएर आलोचना गर्दैमा उसले धर पाउँदैन । समालोचनालाई पाठकले पनि अध्ययन गरिरहेको हुन्छ भन्ने कुरा समालोचकले भुल्नुहुन्न । उसले आफू पनि रचनाकार र पाठकसँगको अन्तक्र्रियामा सामेल भएको छु भन्ने कुरा कदापि बिर्सनुहुन्न । ‘आलोचक एकैसाथ रचनासँग, रचनाकारसँग र पठकहरूसँग संवाद गर्छ ।’ (मेनेजर पाण्डे, आलोचनामा सहमति–असहमति, पृ. ७९) । म नै विज्ञ हुँ रचनाकार र पाठक केही पनि हैन भन्ने समालोचक जड र एकाङ्गी हुन पुग्छ । कहिलेकाहीँ यस्तो अवस्था पनि आउँछ कि समालोचकले झुर भनेको कृति पाठकको नजरमा सुन्दर निस्कन पुग्छ ।

नेपाली समालोचनाको वर्तमान अवस्था

नेपाली समालोचना विधा अहिले ‘छैन बराबर’को स्थितिमा छ । साठीको दशक नेपाली कला साहित्यको उर्वर दशक हो । यही दशकमा उत्पीडनमा परेका जाति–जनजाति, दलित, महिला र सीमान्तकृत वर्गले कला साहित्यमा आफ्नो अनुहार खोज्न थालेको हो । आफ्नो कथा अरूले हैन आफूले नै लेख्नुपर्छ भन्ने सोचका साथ ठूलो युवापङ्क्ति सिर्जनकर्ममा लागेको समय हो । सिर्जनाको बाढी आए पनि यो समयमा समालोचना भने शून्यप्रायः रह्यो । यस्तो अनुकूल र परिवर्तित समयमा पनि समालोचना किन टाक्सिँदै गएको होला ? किन नेपाली समालोचकहरूमा उत्साह र सिर्जनशीलता मर्दै गएको होला ? प्रश्न गम्भीर छ । हुन त यसो भन्दा डाक्टर सा’बहरू रिसाउने छन् । तर उनले के बुझ्नुपर्छ भने प्रमोशनका लागि लेखिएका टिपोटहरू समालोचना किमार्थ हुन सक्दैनन् ।

नेपाली समालोचना यसरी टाक्सिनुको कारण के होला ? किन नेपाली स्रष्टा र द्रस्टाहरू समालोचनादेखि भाग्दै छन् ? इतिहासको चौघेरामा यस्ता अनुत्तरित प्रश्नद्वारा हामी घेरिएका छौँ । हामी सर्जक पनि आफ्नो मृत्युगीतलाई नै सुमधुर सङ्गीत सम्झिएर रमाएका छौँ । हामीले बुझ्नुपर्छ कि समालोचनाविनाको सिर्जनकर्म अपुरो र एकलकाँटे हुन्छ । जहाँ समालोचना फस्टाउँदैन त्यहाँ कलासिर्जना पनि हुर्किदैन । सामालोचना त पाइन हो । पाइनविनाको तरबार जसरी भुत्ते बन्छ त्यस्तै हो समालोचना ।

समालोचनाको स्तर खस्किँदै जानुको कारण

समालोचना यसरी खस्किदै जानुको मुख्य कारण हो गुट र उपगुटको बारभित्र लगेर समालोचनालाई बन्देज गर्नु । कृति र सर्जकका बारेमा निर्भीकतापूर्वक बोल्न नसक्नेले कसरी समालोचना गर्ला ! जहाँ वैचारिक पक्षधरता, समुदायगत सामीप्यता र गुटगत साइनोका आधारमा कृतिको मूल्याङ्कन गरिन्छ त्यहाँ हामी समालोचना हैन स्तुतिगान लेखिरहेका हुन्छौँ । विचार, राजनीति र दृष्टिकोण आफ्नो ठाउँमा छ । कला पनि आफ्नो ठाउँमा छ । यी आपसमा स्वतन्त्र हुँदाहुँदै पनि सँगसँगै यात्रारत छन् । न विचारविना कला बाँच्छ न दृष्टिकोणविनाको कलाको ओज हुन्छ । यति हुँदाहुँदै पनि विचार र दृष्टिकोणका आधारमा कलाको मूल्यनिर्धारण गर्नु भनेको कलाको मर्मलाई नकार्नु हो । ‘केही मानिस व्यक्तिगत राग–द्वेषका कारण सिर्जना र सर्जकको कहिले अतिरञ्जित प्रशंसा गर्छन् भने कहिले रक्तरञ्जित निन्दा ।’ (मेजर पाण्डे, आलोचनको सामाजिकता, पृ. १४) यो समालोचना नभएर प्रशस्ती र निन्दा दुबै हो । अतिशय प्रशंसाले समालोचना भुत्ते हुन्छ भने निन्दाले लेखकीय आन्दोलन कमजोर हुन पुग्छ । भुत्ते तरबारको काम हुन्न । यसतर्फ लेखक र सामालोचक दुबैले ध्यान दिनुपर्छ ।

अहिले ब्रोडसिटमा जे जति समीक्षा आएका छन् तिनैलाई समालोचनाको रूपमा पढ्न बाध्य छ नयाँ पुस्ता । कृतिको विहङ्गम मूल्याङ्कन सानो समीक्षामा सम्भन हुन्न । यसका लागि विभिन्न कोणबाट कृतिको विवेचना गर्नुपर्ने हुन्छ । हुन त पत्रकार र केही साहित्यकारले ब्रोडसिटमा समीक्षा नलेखिदिएको भए हाम्रो समालोचनाको गति कस्तो हुन्थ्यो होला !? यसको अर्थ जति पनि समीक्षा÷समालोचना आएका छन् यी सबै सही छन् त !? पक्कै पनि छैनन् । एकाधलाई छोडेर प्रायः पत्रिकामा आउने समीक्षाहरू सिर्जनाको प्रभावलाई हेरेर लेखिएका हुन्छन् । हुन त बजारमा यस्तो समालोचना आसाध्यै फस्टाउँदो छ । समीक्षक÷समालोचकले के भुल्नु हुन्न भन्दा बजारमा कृतिको प्रभाव विभिन्न किसिमले फैलिएको हुन्छ । बजारीया सस्ता कृतिले जति छिटो आफ्नो प्रभाव फैलाउँछ त्यति नै छिटो तिनको अवसान पनि हुन्छ । अहिलेको मिडिया र बजारले कुनै पनि कृतिलाई रातारात उत्कृष्ट बनाउँछ । पाठक त्यसमा पनि युवा पुस्तालाई यसले असाध्यै छिटो प्रभावित गर्छ । समीक्षकको काम प्रभावको पछि लाग्ने नभई कृतिको पछि लाग्ने हो । नेपाली समालोचकले कृतिको विषयवस्तु, कलापक्ष र त्यसले पार्नसक्ने दीर्घकालीन प्रभावको आधारमा नभई सस्तो लोकप्रियताको आधारमा सामालोचना गरेको आभाष हुन्छ ।

नेपाली साहित्यिक बजारको वर्तमान अवस्था

अहिलेको साहित्यिक बजार विज्ञापनमा आधारित बजार हो । बजार भन्ने बित्तिकै त्यो विज्ञापनमै आधारित हुन्छ । विज्ञापन भन्ने बित्तिकै होर्डिङबोर्ड वा रेडियो–टिभीमा प्रचार गर्नुपर्छ भन्ने छैन । हुन त अहिले त्यतातिर पनि प्रकाशक लहसिएको देखिन्छ । फेरि कतिपयले पुस्तक समीक्षालाई नै विज्ञापनको असल माध्यम पनि बनाएका छन् । चल्तीका पत्रिकामा प्रकाशित समीक्षा पढेर पुस्तक किन्नेहरू पनि प्रशस्तै हुन्छन् । अहिलेको सामाजिक सञ्जाल र माउथ पब्लिसिटी पनि विज्ञापनको एउटा आधार हो । कृति प्रकाशित हुन पाएको छैन बजारतिर त्यसको प्रचार सुरु भैसकेको हुन्छ । प्रायः गुटगत, समुदायगत र पार्टीगत आधारमा टिकाटिप्पणी हुन्छ । आफ्नो समुदाय, पार्टी वा गुटको लेखक छ भने त्यसलाई यति उचालिन्छ कि मानौँ ऊ यो दशककै उत्कृष्ट लेखक हो । तर यसरी पढ्दै नपढी र आफ्नो नजिकको लेखक भएकै कारणले अतिसय प्रशंसा गर्नु लेखककै निम्ति पनि हानिकारक हुन्छ । अतिसय प्रशंसा, पुरस्कार र सम्मानको भारीले कवि–लेखक कसरी किचिएर कमजोर बनेका छन् हामीले देखेकै हो ।

प्रकृतिको पुनसिर्जन गर्ने कलाकार हो भने पुनर्निमाणको इन्जिनियरिङ गर्ने समालोचक हो । जबसम्म हामीले यी दुईको महत्व र प्रभावकारीतालाई स्वीकार गर्देनौँ, न समालोचना प्रभावकारी हुन्छ न त सिर्जना । समालोचनाको काम कलामा व्यक्त भाव, शैली र संरचनाका आधारमा त्यसको निरूपण गर्ने हो ।

मुखले व्यक्त नगरे पनि सबैजसो साहित्यकारको पत्रिकामा समीक्षा आओस् भन्ने चाहना हुन्छ । यसका लागि कतिपय प्रकाशक र लेखकले योजनावद्ध तरीकाले नै समीक्षा लेखाउँछन् । यस्तो योजना वा अभियानमा नपरेको इमान्दार समीक्षकको हातमा कृति पर्यो भने समीक्षा उनीहरूले सोचेजस्तो नआउन सक्छ । जब पत्रिकामा स्तुतिगानको सट्टा आलोचना आउँछ, कतिपय स्थापित लेखक पनि समीक्षकसँग आगो हुन्छन् । कसैकसैले त प्रतिसमीक्षा पनि लेख्छन् । यो नेपाली साहित्यिक जगतको विडम्बना हो । नेपाली साहित्यकारहरू समालोचकप्रति किन यसरी आगो ओकल्छन् ? कतै यही आग्नेयास्त्रको डरले त हैन समालोचना शून्यप्राय भएको !?

समालोचकले सर्जकलाई सशक्त हुन र खारिन सहयोग गर्छ भन्ने संस्कारको विकास नभएसम्म यस्तो भइनै रहन्छ । साहित्यमा लामो साधना गरिसकेका लेखकमा मात्र हैन भर्खर ताते सर्दै गरेका लेखकमा समेत यो दम्भ यति उच्च हुन्छ कि ऊ समीक्षकसँग बोलचालै बन्द गर्न समेत पछि पर्दैन । यस्तो हुनु हाम्रो समाजमा आलोचनाको संस्कृति कमजोर हुनुको कारण हो । सामन्ती समाज ‘ज्यू हजुरी’ र ‘हस् हजुर’ भन्ने संस्कृतिबाट बनेको हुन्छ । ठूलाप्रति प्रश्न उठाउनु भनेको अराजक हुनु हो । अराजकता असभ्यताको प्रतीक हो । तर यी स्वनामधन्य लेखक महोदयलाई के थाहा कि प्रश्न उठाउन नपाएकै कारण पूर्वीय सभ्यता पछाडि परेको हो ।

सिर्जना र समालोचनाको सम्बन्ध

संवेदनाको तीब्र दवाबले सिर्जन कार्य सम्पन्न हुने हुँदा सिर्जनामा कमीकमजोरी रहन पुग्नु स्वभाविकै हो । सिर्जन कार्यमा विचार र चिन्तनले भन्दा भावनाले अतिसय प्रभाव पार्छ । जहाँ विचार र चिन्तनको मिथ्याभिमान जब्बर हुन्छ, त्यहाँ सिर्जना रसविनाको जर्जर बगर बन्छ । सिर्जना छङछङ बग्ने खोला हो भने समालोचना बुद्धि, विवेक र तर्कका आधारमा नहर बनाउने कार्य हो । यी परस्पर विरोधी तत्व हुँदाहँुदै पनि आवश्यकताले सन्निकट रहन्छन् । कलाका लागि दुबैको महत्व उत्तिकै हुन्छ । छङछङ गर्दै बग्ने सिर्जनाको अपार धारलाई विचार, तर्क र तथ्यका आधारमा जीवनपयोगी बनाउन प्रेरणा प्रदान गर्ने काम समलोचनाले गर्छ ।

प्रकृतिको पुनसिर्जन गर्ने कलाकार हो भने पुनर्निमाणको इन्जिनियरिङ गर्ने समालोचक हो । जबसम्म हामीले यी दुईको महत्व र प्रभावकारीतालाई स्वीकार गर्देनौँ, न समालोचना प्रभावकारी हुन्छ न त सिर्जना । समालोचनाको काम कलामा व्यक्त भाव, शैली र संरचनाका आधारमा त्यसको निरूपण गर्ने हो । कलाकारले आविष्कार गरेको नयाँ प्रयोग र सिर्जनशीलताको आधारमा अन्वेषण गर्ने हो । ‘कवि तथा कलाकारका सिर्जनामा व्यक्त भएका चिन्तन र सौन्दर्यलाई परख गर्नु, गम्भीर रूपमा निहित अर्थलाई उद्घाटन गर्नु, तिनको सही मूल्याङ्कन गर्नुजस्ता तथ्यलाई आफूले आत्मसात् गर्नु र अन्य पाठकलाई समेत बोध गराउनु आलोचनाको धर्म हो ।’ (राजेन्द्र सुवेदी, नेपाली समालोचना : परम्परा र प्रवृत्ति, पृ. १०)

धेरैजसो लेखकले समालोचकलाई लगाउने आरोप हो समालोचक प्रायः आग्रह पालेर समालोचना गर्छन् । हुन पनि व्यवहारमा त्यस्तै देखिने गरेको छ । लेखक जुनसुकै विचार वा पार्टी नजिक होस् उसको मूल्याङ्कन गर्ने भनेको सिर्जनाको आधारमा हो । सिर्जना सुन्दर र ओजपूर्ण छ भने त्यहाँ पूर्वाग्रह राखेर आलोचना गर्नुको तुक हुन्न । लेखकले उठाएका विषय र मुद्दालाई उसले कलात्मक तरीकाले प्रतिबिम्बन ग¥यो कि गरेन ? ती मुद्दालाई बीचमै लावारिस छोड्यो कि तार्किक निष्कर्ष सहित एउटा टुङ्गोमा पु¥यायो ? बहस गर्नुपर्ने विषय यो हो । तर यहाँ भने ‘आलोचना साधारणतः चापलुसी, निन्दा र किचड फ्याँक्नेसम्म सीमित हुँदै जाँदै छ । बहसमा कसैको दिलचस्पी छैन, किनभने अब तर्कभन्दा ज्यादा लुभावना छ क्षुद्र उद्देश्यका लागि रणनैतिक गठबन्धन ।’(शंभुनाथ, संस्कृति की अत्तरकथा पृ. १०४) समालोचनामा देखिने यस्तो गैह्रजिम्मेबारपनले कृति र कृतिकारको सही मूल्याङ्कनमा समस्या सिर्जना हुन्छ ।

समालोचनाको अर्को महत्वपूर्ण काम भनेको लेखकलाई पाठकसित परिचय गराउनु हो । हाम्रो समीक्षामा कि त पूरै एकपक्षीय सह्राहना हुन्छ कि त पूरै आलोचना । यस्तो समालोचनाले लेखकलाई पाठकसँग कसरी परिचय गराउन सक्ला ? समालोचनाको काम भनेको कृतिको विश्लेषण र तथ्यपरक मूल्याङ्कन गर्ने हो नकि एकोहोरो प्रशंसा वा आलोचना । समालोचनाको काम हो कलामा अन्तर्निहित सत्य, शिव र सुन्दरको खोजी गर्नु । तर यहाँ समालोचनाको कखरा पनि नपढेका बुज्रुकहरूले समालोचना गरिबस्छन् । त्यो पनि कसैको छाला काढ्न । टिपनटापनको आधारमा समालोचना गर्नु भनेको भुइँफट्टा प्रवृत्ति हो । यस्तै समीक्षक समालोचकले नेपाली समालोचनामा समस्या सिर्जना गरेका छन् । एउटा दक्ष समालोचक हुनका लागि उसमा असीमित अध्ययन र प्रचुर विद्वता हुनुपर्छ । यसको अर्थ पाठक चेतनाहीन प्राणी हो भन्ने मेरो आशय हैन । पाठकमा पनि उल्लेख्य समालोचकीय चेत हुन्छ । यही समालोचकीय चेतका कारण नै उसले कलामा अन्तर्निहित सुन्दरता मापन गर्छ । सौन्दर्यबोध गर्छ ।

यस्तै भुइँफट्टा र गाइड लेखकहरू अहिले चर्चित समीक्षक भएकोतिर इङ्गित गर्दै साहित्यकार ऋषिराज बराल लेख्छन्– ‘समालोचकले राम्रो कृति लेख्नका लागि स्रष्टालाई पनि चुनौती दिन्छ । कृतिले समालोचकहरूलाई आकर्षित गर्न नसक्नु र समालोचकहरूले पनि कतिपय कृतिको सामना गर्न नसक्नु अहिलेको स्थिति हो । यो अवस्थाले साप्ताहिक र दैनिक पत्रिकाका टिप्पणिकार र गाइड लेखकहरू ‘चर्चित समीक्षक’ बन्ने र ‘तातो चर्चा’का लागि समालोचकहरू वेबसाइटतिर बसाइँ सरेर हराउने खतरा हुन्छ ।’(ऋषिराज बराल, कृतिको गुणवत्ता बजार शास्त्रबाट निर्धारित हुन थालेको छ, समकालीन साहित्य, पृ.९८)

आदर्शवादमा विश्वास गर्नेले भौतिकवादी कृतिमा परमात्माको सुन्दर र काल्पनिक बिम्ब भेट्याउन सक्दैन । उसले उक्त कृतिलाई नास्तिकवादी कृत्यको असली उदाहरण देख्नुलाई अन्यथा सोच्नु पनि हुन्न ।

आजकल समालोचक वा समीक्षक हुनका निम्ति कुनै आइतवार पर्खिरहनु पर्दैन । कृतिको अध्ययन र विश्लेषण पनि गर्नु पर्दैन । सामाजिक सञ्जाल छँदै छ । त्यहीँ आफ्ना धारणा सार्वजनिक गर्न र मन नपरेका लेखकको उछित्तो काढ्न सकिन्छ । हाम्रा कतिपय नयाँ कविलेखक र पत्रकार बन्धु यसैलाई समालोचना वा समीक्षा भन्छन् । तर उनले यो ख्याल गर्दैनन् कि प्रशंसा वा निन्दामात्र समालोचना हैन । समालोचनाका लागि सूक्ष्म विश्लेषण, शैद्धान्तिक ज्ञान र तर्कपूर्ण अभिव्यक्ति आवश्यक हुन्छ । स्पष्ट दृष्टिकोण र कलामा प्रतिबिम्बन गरिएका समग्र पक्षको अध्ययनविना गरिने गाली वा निन्दा समालोचना किमार्थ हुन सक्दैन ।

समालोचना कस्तो हुनुपर्छ ?

‘वैज्ञानिक समालोचनाको आरम्भ तुलना हो’ भन्छन् समालोचक यदुनाथ खनाल । उनले एउटा जङ्गली मान्छेले पहिलोपल्ट एउटा रेकर्ड सुन्दा ग्रहण गर्ने अनभूति र केहीबेरपछि अर्को रेकर्ड सुन्दा ग्रहण गर्ने फरक अनुभूतिले सिर्जना गर्ने समालोचकीय चेतको बडो मजाको उदाहरण दिएका छन् । नेपाली समालोचना कमजोर हुनुका धेरै कारणमध्ये अध्ययनको सीमा पनि अर्को महत्वपूर्ण कारण हो । एउटा समीक्षकले कृतिको सही मूल्याङ्कन गर्न तत्कालीन समाजिक, राजनीतिक र आर्थिक अवस्थाको विहङ्गम अध्ययन गरेको हुनुपर्छ । साथै समकालीन अन्तरविरोध, उत्पादन सम्बन्ध र ऐतिहासिक विकासक्रमको समेत विश्लेषण र संश्लेषण गर्नसक्ने हुनुपर्छ । तर एकाध बजारीया कृति पढेर तिनैलाई नै सुन्दर कृति भन्दै आएको समीक्षकले कसरी बनाउन सकोस् आफ्नो धारणालाई ओजपूर्ण ।

एक पटक म एकजना समीक्षकसँग उपन्यास लेखनको छलफलमा थिएँ । उनले मलाई एकजना अमुक लेखकको उपन्यास आफूलाई सबैभन्दा बढी मन परेकोले त्यस्तै लेख्नुहोस् भने । मलाई उनको अध्ययनको सीमा देखेर उनीप्रति दया लागेर आयो । उनी जुन उपन्यासको बारेमा कुरा गर्दै थिए सहीमा त्यो उपन्यास नै थिएन । कुण्ठा, निराशा र आत्मश्लाघाको कुटुरो थियो । पछि बुझ्दा थाहा भयो विचरा ! समीक्षक महोदयले मुस्किलले आधा दर्जन बजारीया उपन्यास पढेका रहेछन् ।

समालोचनामा निश्चित सैद्धान्तिक र वैचारिक आधारमा गरिने कृतिगत अपरेशन हो । आफ्नो वैचारिक दृष्टिकोणका आधारमा नै सुन्दरताको मापन गर्ने हो । आदर्शवादमा विश्वास गर्नेले भौतिकवादी कृतिमा परमात्माको सुन्दर र काल्पनिक बिम्ब भेट्याउन सक्दैन । उसले उक्त कृतिलाई नास्तिकवादी कृत्यको असली उदाहरण देख्नुलाई अन्यथा सोच्नु पनि हुन्न । त्यस्तै उदारवादी लेखकले समाजवादी यथार्थवादी कृतिको सही विश्लेषण र संश्लेषण गर्न सक्दैन । तर नेपालका अधिकांश लेखकहरू त्यसमा पनि प्रगतिवादी लेखकहरू आफ्नो कृतिको आलोचना भयो भनेर आक्रोशित हुन्छन् । रोइकराइ गर्छन् । हुन त समालोचकले विचारकै आधारमा कलामूल्यको निरूपण गर्नु हुँदैन । भाषा, शैली र कलापक्ष बलियो र सुन्दर छ भने अन्तरवस्तुकै आधारमा कृतिको बदख्वाइँ गर्नु समालोचकीय चेतनामा भएको दरिद्रता हो । जब कृतिको वैचारिक, राजनैतिक र व्यत्तिगत आग्रहकै आधारमा समालोचना गर्ने संस्कृतिको विकास हुन्छ सोच्नुपर्ने हुन्छ त्यहाँ आलोचनाको संस्कृतिमा समस्या छ ।

नेपाली समालोचना टाक्सिनुको अर्को कारण हो सामालोचना विधाप्रतिको अरुचि । अभिरुचिविनाको यात्रा शुष्क र विरसिलो हुन्छ । विश्वासमा शङ्कट पैदा भएपछि अनुसन्धान र आविष्कार स्वतः कमजोर हुन्छ । जबसम्म एउटा द्रष्टाले समालोचनालाई सिर्जनाको रूपमा आत्मसात गर्दैन तबसम्म समालोचना उर्वर हुन्न । समालोचनामा भविष्य नदेखेर दायाँबायाँ लाग्ने स्वभावले पनि समालोचनामा खडेरी परेको हो । एउटा सर्जकले किन बनाउन सक्दैन अफूलाई समालोचनाको अब्बल अभियन्ता ? किन उसले समालोचनामा आफ्नो भविष्य देख्न सक्दैन ? भविष्य देख्न नसकेपछि गर्ने भनेको काम चलाऊ हो । आविष्कारको सट्टा कपि र फोटोकपि गर्ने हो । यहाँ भएको यही हो ।

मौलिक सिर्जनाका लागि सर्वप्रथम नेपाली मौलिकताको खोजी र अध्ययन हुनुपर्छ । वर्तमानमा जेजति समालोचना गरिएका छन् यी सबै परम्परालाई धान्ने नाममा गरिएका छन् । समालोचना सिर्जनशील र आविष्कारमूलक हुनुपर्छ ।

नेपाली समालोचनाको अर्को कमजोर पक्ष हो मौलिकताको अभाव । मौलिकताविना न सिर्जना सुन्दर हुन्छ न समालोचना । यो समय नेपाली बाङ्मयकै लागि निराशाजनक अवस्था हो । खै अहिले निर्मम समालोचना गर्ने समालोचक ? खै निरन्तर बजारमाथि हस्तक्षेप गर्ने लेखन ? एकाध पुस्तक टिप्पणी र समीक्षामै रमाएको छ अहिलेको समालोचनाको बजार । यसैलाई समालोचना भनेर पढ्न बाध्य छन् नयाँ पुस्ता । नेपाली समालोचनामा जे जति काम भएको छ त्यो छिपछिपे छ । छिपछिपे पानीमा माछा मार्न पल्केकाहरूले यसैलाई अब्बल समालोचना भन्दै आएका छन् । अझ ती समालोचना पनि पश्चिमाका नक्कल मात्र हुन् । यसो भन्दा ममाथि गुरुहरू खनिन सक्छन् । तर म आफ्नो तर्कमा अडिग छु । किन नेपाली साहित्यको विवेचना, मूल्याङ्कन र आलोचना नेपाली समाजको मौलिकतामा गरिएन ? कुन कृतिमाथि समालोचकले नेपाली यथार्थको आधारमा उभिएर आलोचना ग¥यो ? हामीले अत्यधिक मन पराएर पढेको शिरीषको फूल कुन नेपाली परिवेशको उत्पादन थियो ? देवकोटाका कुनकुन कृति यहाँको तात्कालीन भावभूमिमा उभिएर लेखिएका थिए ? के त्यतिखेरको विश्व रङ्गमञ्चका घटना–परिघटनासँग देवकोटा अनभिज्ञ थिए ? हाम्रा समालोचकले यतातिर ध्यान दिएको पाईंदैन । दिए पनि असाध्यै कमले दिएको पाइन्छ ।

सिर्जना र समालोचनामा गर्ने के हो ?

हामीले गर्ने भनेको आफ्नो मौलिकतामा नयाँ खोज हो । समालोचनाको नयाँ खोजलाई नयाँ प्रयोग पनि भन्न सकिएला । नयाँ आविष्कार पनि भन्न सकिएला । नेपालको मौलिक समालोचनाको आविष्कार पुराना पुस्ताबाट सम्भव छैन । यसका लागि नयाँ पुस्ता नै अघि सर्नुपर्ने हुन्छ । जहाँ सामन्ती र परमुखी संस्कृति हावी छ, त्यहाँ नयाँको आविष्कार हुन सक्दैन । मौलिक सिर्जनाका लागि सर्वप्रथम नेपाली मौलिकताको खोजी र अध्ययन हुनुपर्छ । वर्तमानमा जेजति समालोचना गरिएका छन् यी सबै परम्परालाई धान्ने नाममा गरिएका छन् । समालोचना सिर्जनशील र आविष्कारमूलक हुनुपर्छ । समाज कहाँबाट कहाँ पुगिसक्यो युनिभर्सिटीका मास्टरसाव भने समालोचनाको नाममा पुराना गाइड पढाउँदै छन् । उहिल्यै एक्सपायर भैसकेको प्रध्यापकीय समालोचनालाई अति उत्तम भन्दै आएका छन् । अहिले समालोचनाको नाममा जे पढाइँदै र सिकाइँदै आइएको छ यसले समाजको नयाँ यथार्थलाई सम्बोधन गर्न सक्दैन ।

फेरि हाम्रो नयाँ पुस्ता पनि ग्रीष्ममा गर्जिने बादलजस्तै छ । एकाध दिन गर्जिन्छ र हावाको झोक्कासँगै नजाने कता हराउँछ । हुन त नयाँ पुस्ताका आफ्नै कथा–व्यथा छन् । ऊ ती कथा–व्यथासँगको सङ्घर्षमै आफ्नो प्रायः सबै समय गुमाउँछ । समयविनाको अध्ययन, खोज र अनुसन्धान छिपछिपे नै हुने हो । फेरि नयाँ पुस्ता पनि समालोचनाजस्तो जर्जर र रापिले तापिलो विधामा कलम चलाएर सबैको तारो बन्नुभन्दा गजल र कवितामा ताली खान चाहन्छ । एकाध प्रेमिल आख्यान लेखेर सेलिब्रेटि बन्न चाहन्छ । यो उसको रहर र बाध्यता दुबै हो । रहर यस अर्थमा कि ऊ सबैको वाहीवाही चाहन्छ । बाध्यता यस अर्थमा कि ऊसँग गम्भीर अध्ययन र अनुसन्धानका लागि न समय छ न त वातावरण । अहिलेको उपभोक्तावादी अर्थव्यवस्थाले उसलाई पनि छिट्टै धनी बन्न र रङ्गीन दुनियाँमा उक्लिन प्रोत्साहित गरिरहेको हुन्छ । यस्तो अवस्थामा किन लाग्छ ऊ बेफ्वाँकमा गाली बेसाउने कर्ममा ।

वौद्धिक वर्ग स्वभावैले अवसरको खोजीमा हुन्छ । अवसरको खोजीमा हुने वर्गले विद्रोह गर्न सक्दैन । संस्थापनले बनाइदिएको संरचनामा आफ्नो भविष्य खोज्नुको साटो विद्रोह गरेर किन सङ्कट मोल्नु भन्ने ग्रन्थीले काम गर्छ सायद ।

नेपाली समालोचना कमजोर हुनुको कारणमध्ये अर्को महत्वपूर्ण कारण हो प्रध्यापकीय समालोचनाको जगजगी । यसो भन्दा म नाथेमाथि डाक्टर/प्रध्यापकहरूको अपमान गरेको आरोप लाग्न सक्छ । तर यथार्थ के हो भन्दा हाम्रा गुरुहरू न नयाँ पुस्तालाई स्वीकार गर्न सक्छन् न हिँडिरहेको बाटोको पुनर्मूल्याङ्कन गर्न तयार हुन्छन् । जुन समालोचनाले समाजको परिवर्तित चरित्रलाई व्यक्त गर्न सक्दैन प्रध्यापकीय समालोचना हो भन्दा गुरुहरू रिसाउनुपर्ने कारण म देख्दिन । प्रध्यापकीय समालोचना यस्तो प्राविधिक व्याख्यान हो, जसमा निश्चित सीमा, ढाँचा र संरचना हुन्छ । समालोचनाको समाजशास्त्रीय अध्ययन र परिवर्तनकारी भूमिकाप्रतिको असहमतिका कारण गुरुहरू यी सीमा नाघ्न सक्दैनन् । त्यस्तै युनिभर्सिटीमा सत्तासिन मठाधीशको कारण पनि उनीहरू लक्ष्मणरेखा तोड्न सक्दैनन् । विश्वविद्यालयको सीमा नाघ्नु र संरचना भत्काउनु भनेको विद्रोही हुनु हो । हाम्रा गुरुहरू विद्रोहको नाममा आफ्नो भविष्य दाउमा राख्ने आँट गर्न सक्दैनन् । अनि कसरी हुन्छ नयाँको आविष्कार ? कतिपय समालोचकहरू त समालोचनाको गरिमा, उद्देश्य र सिर्जनशीलताप्रति नै अनभिज्ञ रहन्छन् । उनीहरूलाई लाभ र पदोन्नतीका लागि लेखिने लेखोट र गन्थन नै समालोचना हो भन्ने लाग्छ । जसरी अदालती बहसमा अधिवक्ताले आधिकारिक नियम कानूनलाई तोड्न सक्दैन त्यसरी नै उनीहरूले विश्वविद्यालयको संरचना र ढाँचा भत्काउन सक्दैनन् । कलाको काम नयाँको निर्माण हो डेन्टपेन्ट हैन । नयाँको निर्माण ध्वंसविना सम्भव हुन्न । यो कुरा कहिले सोच्ने होलान् हाम्रा विश्वविद्यालयका आदरणीय ‘प्रोफेसर शर्मा’हरू !

युवापुस्ताले प्रध्यापकीय समालोचनाको आलोचना गर्दा के निबन्ध लेखन असली समालोचना हो त भन्ने तर्क पनि सुन्नमा आउँछ । तर हाम्रा अधिकांश समालोचकहरू युनिभर्सिटीले तय गरिदिएको ढाँचालाई मात्र समालोचनाको आधिकारिक ढाँचा हो भन्ठान्छन् । कृतिको साङ्गोपाङ्गो अध्ययन भनेको संरचनागत विश्लेषण हैन । कृतिको भाषा, शैली, वाक्य गठन र कथानकको विकास र चरित्र चित्रण कस्तो छ भनेर देखाउनु समालोचना हैन । यो भनेको समालोचनाको नाममा कृतिको विवरणात्मक यथार्थता हो । परिचय हो । जसलाई पुस्तक परिचय भन्न सकिन्छ । सिर्जनशीलता, खोज र आविष्कारमा हैन कि यान्त्रिकतामा रमाउनु प्रध्यापकीय समालोचना हो । पाठकको व्याख्या सिर्जनात्मक आलोचना कसरी हुन्छ ? व्यक्ति र कृतिको फेरो लागाउन छोडेर समाज र जीवनसँग साक्षात्कार नगरेसम्म समालोचनाको परम्परामा आइसब्रेक हुनेछैन ।

सिर्जना, समालोचना र बौद्धिक वर्ग

वौद्धिक वर्ग स्वभावैले अवसरको खोजीमा हुन्छ । अवसरको खोजीमा हुने वर्गले विद्रोह गर्न सक्दैन । संस्थापनले बनाइदिएको संरचनामा आफ्नो भविष्य खोज्नुको साटो विद्रोह गरेर किन सङ्कट मोल्नु भन्ने ग्रन्थीले काम गर्छ सायद । प्रध्यापक अभि सुवेदीले युनिभर्सिटीको सीमाप्रतिको आफ्नो वितृष्णा यसरी व्यक्त गर्छन्– ‘जब प्राज्ञिक अध्ययन आफ्नो कर्म हुँदाहुँदै पनि त्यसका संरचना भत्काउन मन लाग्छ, त्यो बेला एउटा अनौठो स्वतन्त्र मानिस भइन्छ ।’ (अभि सुवेदी, नेपाली कला फ्लानरको आँखामा, पाण्डुलिपि पूर्णाङ्क १, पृष्ठ ४६)

अहिले समालोचनाको नाममा गाइड लेख्ने काम भैरहेको छ भनेर एक ठाउँमा ऋषिराज बरालले भनेका थिए । ‘समालोचनाको नाममा युनिर्भसिटीको प्रमोसनमा नम्बर बढाउने खेस्रा लेखिएको छ यहाँँ । यसैलाई समालोचना भन्ने गरिएको छ ।’ यी दुई विद्वान समालोचकका भनाइबाट पनि अहिलेको विश्वविद्यालयको समालोचनालाई बुझ्न सकिन्छ ।

समाजको भौतिकवादी व्याख्या नगरी गरिने समालोचनाले समकालीन यथार्थको मूल्याङ्कन गर्न सक्दैन । विषय र यथार्थलाई विद्रूपीकरण गर्ने र हल्का ढङ्गले प्रस्तुत गर्ने अधिकार न लेखकलाई हुन्छ न समालोचकलाई ।

कृतिमा कला र विचारको संयोजन कसरी मिलाइएको छ ? सिर्जनामा कलाको माध्यमद्वारा आरोपित गरिएको विचार र चिन्तनको वस्तुगत आधार के हो ? समालोचकले खोज्नु पर्ने यी र यस्ता धेरै बिषय छन् । जसको व्यापक बहस, विमर्श र अध्ययनमा नेपाली समालोचना प्रायः मौन रहेको देखिन्छ । समालोचनामा सामाजिक आधारको सट्टा विधागत नियम र संरचनागत अवधारणाको आधार खोज्नु र रूपपक्षमै हराउनु हाम्रा गुरुहरूको नियति भएको छ । जसलाई अहिलेसम्म हाम्रा विश्वविद्यालयका गुरुहरूले आफ्नो पथप्रदर्शक सिद्धान्त मान्दै आएका छन् । जसलाई नभत्काइ नेपालको मौलिक समालोचना पद्धतिको विकास हुन सक्दैन ।

पचासको दशकदेखि सिर्जनामा आएको परिवर्तनलाई समालोचकले सम्बोधन गर्न सकेका छैनन् । हिजोको युद्धले समाजमा कस्तो प्रभाव पार्यो ? युद्ध र शान्तिप्रक्रियापछि समाजमा आएको परिवर्तनमा कला साहित्यको भूमिका कस्तो रह्यो ? यसबारे हाम्रो समालोचना प्रायः मौन बसेको देखिन्छ । समाजशास्त्रीय तहबाट समाकालीन साहित्यको अध्ययन र विश्लेषण गर्नुपर्नेमा हाम्रा साहित्यकार विगतकै गन्थन गाउनुमा आफूलाई धन्यधन्य ठान्छन् । युवा साहित्यकारको समालोचना गर्नु हाम्रा समालोचकको योजनाभित्र पर्दैन । ‘हाम्रा अधिकांश समीक्षक बाँचेकाबारे भन्दा मरेकाबारे लेख्न बढी रुचाउँछन् । ……. हेर्दा लाग्छ– उनीहरू मरेकाहरूको शोकगीत गाउने रजिष्टर्ड कम्पनीका कार्यकर्ता हुन् ।’(नारायण ढकाल, शोकमग्न यात्री, पृ. १६५) । समलोचकको काम भनेको वर्तमानलाई दिशानिर्देश गर्ने हो । विगतको राग अलापेर भविष्यको राजमार्ग बन्दैन । यसका लागि समकालीन अन्तरविरोध र यथार्थसँग पैँठेजोरी खेल्नै पर्छ ।
समालोचनामा समकालनि यथार्थको मूल्याङ्कन

समाजमा देखा पर्ने युगीन परिवर्तन र नयाँ याथार्थको सत्यनिष्ट प्रतिबिम्बन पुरानो कला चेतनाबाट सम्भव हुन्न । त्यसका लागि नयाँ शैली र नयाँ चिन्तन चाहिन्छ । पुरानो संरचनामा युगको नयाँ आवाज अटाउन खोज्नु परिवर्तनलाई आत्मसात् गर्न नसक्नु हो ।

समाजको भौतिकवादी व्याख्या नगरी गरिने समालोचनाले समकालीन यथार्थको मूल्याङ्कन गर्न सक्दैन । विषय र यथार्थलाई विद्रूपीकरण गर्ने र हल्का ढङ्गले प्रस्तुत गर्ने अधिकार न लेखकलाई हुन्छ न समालोचकलाई । हाम्रो देशका साहित्यकार र समालोचक भने इतिहासबोध र समयबोध दुबैलाई भुल्छन् । समकालीन यथार्थप्रतिको अनाकर्षण र वितृष्णाका कारण कृतिको विषयवस्तु र अन्तरवस्तुमा भन्दा पनि शैलीगत अबधारणाका आधारमा समालोचना गर्छन् । जुन पुस्तक समीक्षा (बुक रिभ्यू) र पुस्तक परिचय भन्दा माथि उठ्न सकेका छैनन् ।

नेपालको भौतिकवादी व्याख्या भनेको यहाँको समाजिक चरित्रको अध्ययन हो । विविध संस्कृति र जाति जनजातिले बनेको समाज हो नेपाल । त्यस्तै यहाँको इतिहास पनि आफ्नै मौलिकतामा निर्माण भएको छ । यति सानो देशमा यतिधेरै भाषा र संस्कृति हुनु भनेको आफैमा गौरवको कुरा हो । तर यहाँको सत्ताले विगतमा यो विविधतालाई उल्टाउने र एकल पहिचान लाद्ने प्रयत्न ग¥यो । यहाँका लेखक समालोचकले पनि जानी नजानी यही अभियानमा आफूलाई समर्पित गरे । अझै पनि यहाँको एउटा वौद्धिक वर्ग र संस्थापन उही पुरानै संस्कारबाट परिचालित हुन खोज्दै छ । अबको समालोचनाले यस्तो पूर्वाग्रही र एकलकाटेँ सौन्दर्यदृष्टिको विरुद्धमा आफूलाई उभ्याउनु पर्छ ।

समालोचकले कृतिप्रति निष्पक्षता प्रदर्शन गर्न सक्नुपर्छ । लेखकले यथार्थको प्रतिबिम्बनमा देखाएको कलाचेतलाई वैचारिक दृष्टिकोणकै आधारमा नजरअन्दाज गर्न हुन्न । भलै उसलाई त्यो लेखक वा उसले बोकेको विचार मन नपरोस् । यदि त्यस्तो हुन्थ्यो भने बाल्जाकलाई माक्र्स र एङ्गेल्सले त्यतिसाह्रो मन नपराउनु पर्ने । बाल्जाक प्रतिक्रियावादी विचार बोक्ने लेखक भए पनि उनले जसरी इमान्दारीपूर्वक तत्कालीन यथार्थको कलात्मक चित्रण गरे त्यही नै उनको महानता थियो । यस आधारमा भन्न सकिन्छ कि व्यक्तिगत आग्रह र पूर्वाग्रहको समालोचनामा स्थान हुँदैन ।

समाजमा देखा पर्ने युगीन परिवर्तन र नयाँ याथार्थको सत्यनिष्ट प्रतिबिम्बन पुरानो कला चेतनाबाट सम्भव हुन्न । त्यसका लागि नयाँ शैली र नयाँ चिन्तन चाहिन्छ । पुरानो संरचनामा युगको नयाँ आवाज अटाउन खोज्नु परिवर्तनलाई आत्मसात् गर्न नसक्नु हो । पचासको दशकदेखि हालसम्मका अधिकांश कलासिर्जनाले नेपाली समाजमा देखा परेको युगीन परिवर्तनलाई आत्मसात् गरेका छन् । समालोचना भने पुरानै बैशाखीका भरमा आफ्नो अस्तित्व जोगाउन प्रयत्नरत छ ।

 

(चैत, २०७३)

(Visited 97 times, 1 visits today)

टिप्पणी

comments