Main Menu

विज्ञान

प्रकृति बुझ्न प्राकृतिक विज्ञान सङ्ग्रहालय जाने कि ?

प्रा. डा. धर्मराज डंगोल

(आजको युग विज्ञानको हो । विज्ञानले प्रकृतिको यथार्थ अध्ययन गर्छ । यथार्थको अर्थ हो प्रकृति हाम्रो मनमा जे आउँछ त्यस अनुसार अस्तित्वमा रहने, नरहने वा संचालन हुने होइन, बरु त्यो त्यसकै नियम मुताविक चल्दछ । प्रकृतिको अर्थ नै स्वसिर्जना हो । त्यसैले प्रकृति कसैले निर्माण गरेको होइन । हामीले अर्थात् मानवले देखेसुनेका, बिचार गरेका, कल्पना गरेका आदि सबै वस्तु, घटना एवं चीजबीजहरु प्रकृतिसँग नै सम्बन्धित हुन्छन् । प्रकृतिभन्दा बाहिर हामी रहन सक्दैनौं । किनकि, हामी मानव स्वयं प्रकृतिको एक हिस्सा हो । अर्थात्, मानवको चेतना स्वयं पनि प्रकृतिको हिस्सा हो । तर, प्रकृति कहिल्यै स्थीर रहेन र हुन्न पनि । प्रकृतिमा सबै कुरा अस्थायी हुन्छ । कुनै कुरा स्थायी हुन्छ भने त्यो ‘कुनै पनि वस्तु, घटना वा चीजबीज स्थायी हुन्न’ भन्ने मात्र स्थायी हुन्छ ।

प्रकृति गतिशील छ, परिवर्तनशील छ, आफ्नै नियममा सञ्चालित छ, त्यही गतिशीलता वा परिवर्तनशीलतामा नै पृथ्वीमा जीवनको सिर्जना वा सुरुवात भयो । जीवन पनि गतिशील वा परिवर्तनशील हुँदा एक कोषीय जीवबाट सुरु भएको जीवात्मा बहुकोषीय हुँदै बिभिन्न काल खण्ड र युगहरुमा विविध खालका वनस्पति एवं प्राणीहरुको उद्विकास हुँदै अहिलेको विकसित आधुनिक मानव जातिसम्म आइपुगेको छ । आधुनिक मानव जातिको उद्विकास भइसकेपछि उसमा विकास भएको चेतनाले विज्ञानलाई जन्म दियो र विज्ञानले प्रविधिलाई । त्यही विज्ञान र प्रविधिको विकासले नै आज मान्छे हातहातमा मोवाइल फोन लिएर यत्रो ठूलो संसारलाई आफ्नो मुठ्ठीमा राख्न सफल बनेको छ । मान्छे चन्द्रमामा त आधा शताब्दीअगाडि नै पुगिसकेको हो । अहिले ऊ मंगलग्रहमा जान तयारी गरिरहेको छ ।
तर, मान्छेले यो विकास रातारात गरेको होइन । यसको लागि हजारौं वर्षको श्रृङ्खलाबद्ध वैज्ञानिक अध्ययन, चिन्तन, प्रयोग, परीक्षण, अन्वेषण, खोज र अनुसन्धान भएका छन् । ती सबै कार्यहरुबाट विविध कालखण्डमा मान्छेले पत्ता लगाएका, खोज गरेका, अन्वेषण गरेका वनस्पति, प्राणी तथा अन्य प्राकृतिक वस्तु तथा जीवनहरुको श्रृङ्खलाबद्ध अभिलेखहरु तयार भएका छन् । ती अभिलेखहरु प्रकृतिलाई बुझ्न चाहनेहरुका लागि महत्वपूर्ण खुराक बन्दछन् । ती अभिलेखहरु कहाँ पाइन्छन् त ? हो ती अभिलेखहरु प्राकृतिक सङ्ग्रहालयमा पाइन्छन् । नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयमा ती अभिलेखहरु पाइन्छन् । यही कारणले सो सङ्ग्रहालयबारे बुझ्नु संसार बुझ्न चाहनेहरुका लागि महत्वको विषय हुने ठानी यहाँ त्यस सन्दर्भको सामग्री प्रस्तुत गरिन्छ ।–सम्पादक)

के हो त प्राकृतिक विज्ञान सङ्ग्रहालय ?

प्राकृतिक स्रोेतका विभिन्न नमूनाहरुलाई प्रदर्शनी गर्ने संग्रहालय नै प्राकृतिक विज्ञान संग्रहालय हो । प्राकृतिक विज्ञान संग्रहालय विभिन्न देशमा छन् ।  नेपालमा पनि प्राकृतिक विज्ञान संग्रहालय त्रिभुवन विश्वविद्यालयले काठमाडौंको स्वयम्भूमा स्थापना गरेको छ । नेपालको प्राकृतिक सम्पदाको अध्ययन अनुसन्धान गर्ने, प्राप्त अनुसन्धानात्मक नतिजाको अभिलेख तयार गर्ने, नमूनाहरू संंकलन र संरक्षण गर्ने, आम जनतालाई सुसूचित गर्ने र जागरण गराउन संंकलित नमूनालाई प्रदर्शनी गर्ने, प्राकृतिक विज्ञानसम्बन्धी तालिम प्रदान गर्ने र विभिन्न संंघसंंस्थासंँग सञ्जाल स्थापना तथा सहकार्य गर्ने यस संग्रहालयको उद्देश्य रहेको छ । नेपाल सरकारले यस संग्रहालयलाई साइटिस (CITES) को जनावरसम्बन्धीको आधिकारिक वैज्ञानिक निकाय बनाएको छ । आवश्यक जानकारी दिन संग्रहालयले वेभसाइट www.nhmnepal.edu.np बनाएको छ ।

त्रिवि प्राकृतिक विज्ञान सङ्ग्रहालयको इतिहास

आनन्दकुटी कलेजको व्यबस्थापन समितिले आनन्दकुटी साइन्स कलेज सन १९७४ (वि.सं. २०३०) मा बन्द गर्ने निर्णय गरे । त्रिभुवन विश्वविद्यालयको विज्ञान अध्ययन संस्थानले आनन्दकुटी साइन्स कलेजकै भवनमा प्राकृतिक विज्ञान संग्रहालय स्थापना गर्ने निर्णय गरियो । त्यस बेलाको विज्ञान अध्ययन संस्थानको डीन डा. एस. पी. प्रधानले त्रिभुवन विश्वविद्यालयका दुईवटा कलेजहरुमा भएका नमूनाहरु र केन्द्रीय क्याम्पसमा कार्यरत कोलिन स्मिथले संकलन गरेका पुतलीका नमूनाहरु संग्रहालयमा थपियो । यस संग्रहालयले हरिशरण नेपालीसँग पंक्षीका नमूनाहरु किनी संग्रहालयमा पंक्षीका नमूनाहरु पनि ठप्ने काम गर्यो । विज्ञान अध्ययन संस्थानले ८ फेव्रुवरी १९७५ (२०३१ माघ २६) मा राजा बीरेन्द्रको राज्याभिषेकको उपलक्ष्यमा पंक्षी र पुतलीहरुको एउटा प्रदर्शनी गरियो । १७ जुलाई १९७५ (वि.सं. २०३२ श्रावण २) मा बिधिपूर्वक प्राकृतिक विज्ञान संग्रहालयको स्थापना भयो । यस संग्रहालयलमा राजदरबारबाट पनि थुप्रै पशुपंक्षीका नमूनाहरु र ट्रफीहरु उपहार स्वरुप प्राप्त भयो र संग्रहालयका अनुसन्धानकर्ताहरुले देशका कुनाकाप्चामा गई नमूनाहरु संकलन गर्ने काम भयो । साथै यस संग्रहालयले बिभिन्न कार्यक्रमहरु संचालन गर्न थाले, संग्रहालयको हलमा र घुम्ती प्रदर्शनी मार्फत शिक्षा तथा जनचेतना बढायो र शैक्षिक सामाग्रीहरु प्रकाशन गर्ने काम पनि भयो ।

संग्रहालयका वैज्ञानिकहरु तथा कर्मचारीहरु

यस संग्रहालयमा हाल ३ जना वैज्ञानिकहरु र १५ जना कर्मचारी कार्यरत छन् । ती वैज्ञानिकहरु धेरै वर्षको अनुभव प्राप्त प्राणी विज्ञान र वनस्पति विज्ञान विषयका बिज्ञहरु हुनुहुन्छ । २०६९ वर्ष संग्रहालय र संग्रहालयको कर्मचारीहरुको लागि खुशीको वर्ष थियो । नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठानले प्रकृति संरक्षणमा पुर्याएको योेगदानलाई कदर गरेर संग्रहालयलाई प्रकृति संरक्षण पुरस्कारले विभूषित गर्यो । यस संग्रहालयका वैज्ञानिक डा. निर्मला प्रधानले नेपालको ब्रायोफाइट्सकोे अध्ययन अनुसंन्धानमा पुर्याएको योेगदानलाई त्रिभुवन विश्वविद्यालयले विशेष पुरस्कार दिएर कदर गरेको थियो ।

संग्रहालयका वैज्ञानिकहरुले गरेका अध्ययन अनुसन्धान

यस संग्रहालयका वैज्ञानिकहरुले प्रकृतिसम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गरेका छन् । यहाँका वैज्ञानिकहरुले बिभिन्न संघसंस्थासँग मिली बन, कृषि, सिमसार क्षेत्रका बोटबिरुवा, कीटपतङ्ग, सरिसृप, स्तनधारी प्राणीको बारेमा अध्ययन अनुसन्धान गरी नमूनाहरु पनि संकलन गरिसकेका छन् । अध्ययन अनुसन्धान सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगको सहयोगमा एउटा अनुसन्धान व्यवस्थापन ईकाइ स्थापना भैसकेको छ ।

संग्रहालयले संचालन गरेका शिक्षा र तालिम

यस संग्रहालयले शैक्षिक कार्यक्रमहरु संचालन गर्ने गरेको छ, जस्तै घुम्ती प्रदर्शनी, सेमिनार, गोष्ठी, तालिम आदि संचालन गरी जैबिक विविधताको संरक्षणमा संग्रहालयको महत्व र संरक्षण शिक्षाबारे जनचेतना जगाउने गरेको छ (हेर्नुस चित्र २)। साथै यहाँका वैज्ञानिकहरुले विषेश गरी स्नातकोत्तरका विद्यार्थीको अध्ययन अनुसंन्धानमा सुपरिभेक्षक भई सहयोग पुर्याउँदै आएका छन् । वाह्य परीक्षक भई शोधकार्यको परीक्षामा पनि सहयोग पुर्याउँदै आफ्नो दक्षता सदुपयोग गरेको पनि देखिन्छ ।

 

प्राकृतिक विज्ञान सङ्ग्रहालयले चलाएको एक शैक्षिक कार्यक्रम । (चित्र नं १)

 

शिक्षा तथा तालिम कार्यक्रम । (चित्र नं २)

 माथि उल्लेखित र अन्य नमूनाहरु आठवटा कोठा र एउटा ठूलो हलमा प्रदर्शनीको लागि राखिएका छन् (हेर्नुस चित्र २) । एउटा पुतली अनुसन्धान कोठाबाहेक अरु कोठाहरु खुल्ला राखिएका छन् (हेर्नुस् तलको विवरण) ।

 

 

कोठा एकाई विवरण
अन्त्रक्रिया कोठा च्याउ बोर्ड : खान हुने, खान नहुने र विषालु च्याउ पहिचान गर्ने ।

जनावर पहिचान बोर्ड : खतरापूर्ण, लोपोन्मुख र ऐनद्वारा संरक्षित जनावर पहिचान गर्ने ।

पुतली र चरा पहिचानज बोर्ड : (rare, endemic and endangered)

जडिबुटी पहिचान बोर्ड : (rare, endemic and endangered)

खप्टेकीरा कोठा बिभिन्न जिल्ला र संरक्षित क्षेत्रबाट संकलन गरेका कीराहरु, लामो सुँड भएका खप्टे कीराहरु ।
हर्बेरियम/इथ्नोबोटानी कोठा चारवटा हर्बेरियम दराजहरु, दराजमा हर्बेरियमका नमूनाहरु, सुख्खा र झोल औषधीमा संरक्षण गरिएका उपयोगी बिरुवाका नमूनाहरु, थारु जातिले प्रयोग गर्ने सरसामानहरु, फोटोहरु ।
लेउ र झ्याउ अनुसन्धान कोठा बिभिन्न स्थानबाट संकलित ब्रायोफाइटहरु, प्रख्यात ब्रायोलोजिष्टका फोटाहरु ।
पुतली अनुसन्धान कोठा पुतली संकलन कोठा
चराचुरुङ्गी कोठा बिभिन्न जातका चराचुरुङ्गीका नमूनाहरु ।
उभयचर तथा सरिसृप कोठा राजगौमन, करनको पीट भाइपर, दुईटाउके सर्प, काठमाण्डौंबाट संकलित बिभिन्न जातका सर्पहरु, गोही, अजिङ्गर, कछुवा, सुन गोहरो र नेपालका उभयचर तथा सरिसृप चार्टहरु ।
जीवावशेष कोठा थरिथरिका जीवावशेष र ढुङ्गाका नमूनाहरु ।
हल
भित्तातिर नेपालको नक्सा, ट्रफीहरु, जनावर र वनस्पतिका चित्रहरु, अल्गीको बोर्ड, नेपाली चराको वितरण, कीराको वर्गीकरण, उपयोगी बिरुवाका नमूनाहरु, ढाड नभएका प्रणीहरु,  माछा, भ्यागुता र सर्पका नमूनाहरु, हाब्रा र मृग ।
पहिलो पङ्ति चराचुरुङ्गी, अस्ट्रिच लगायत अन्य चराका अण्डाहरु, उपयोगी बिरुवाहरु, लोप भइसकेका जनावरका नमूनाहरु, मान्छेको भ्रूण, हाब्रा, हुँडार ।
दोश्रो पङ्ति उपयोगी बिरुवाहरु, बिरुवाबाट निर्मित सरसामान, माछाहरु र बिभिन्न जातका चराचुरुङ्गीका नमूनाहरु ।
तेस्रो पङ्ति ढुसी र च्याउका नमूनाहरु, बिरुवाबाट निर्मित सरसामान, माछाहरु, चराचुरुङ्गी, सालक, मुसा ।
झ्यालतिर हात्तीको अस्थिपञ्जर, कुखुरा र बाँदर, चमेरो, बाघ र सिंहका बच्चा, गैंडा र हात्तीका भ्रूणहरु, स्तनधारी जनावरहरु ।
टिकेट काउण्टरतिर अजिङ्गर, गोही र कछुवा (सुख्खा र झोल औषधीमा संरक्षण गरेका नमूनाहरु) ।
कुनातिर भुइँमा मृग, स्याल र भालुका नमूनाहरु र भित्तामा बिभिन्न जनावरका छालाहरु ।

चित्र २. प्राकृतिक विज्ञान संग्रहालयको हल र विभिन्न नमूनाहरु

स्वयम्भु वातावरण उद्यान

प्राकृतिक बिज्ञान संग्रहालयको हातामा स्वयम्भु वातावरण उद्यान निर्माण गरिएको छ । यस उद्यानमा रैथाने विरुवा स्थल, नर्सरी स्थल र जडिबुटी स्थल छन् । यस उद्यानको रैथाने विरुवा स्थलमा जुुरेमयल, कुकुरडाइनो, रुद्राक्ष, राजबृक्ष, अमला, चुत्रो, जमानेमान्द्रो, एेंसेलु जस्ता थुप्रै जिवनोपयोगी रैथाने बिरुवाहरु लगाईएका छन् । नर्सरी स्थल र जडिबुटी स्थल पुनःनिर्माण गर्न आवश्यक छ । यो उद्यान वातावरण र रैथाने वनस्पती अध्ययन अनुसन्धानको लागि अत्यन्त उपयोगी छ । साथै विद्यार्थीहरुलाई वनस्पती वर्गीकरण तथा पहिचान सिकाउनमा र वनस्पती विविधता तथा उपयोगिताको बारे ज्ञान दिन उद्यानलाई राम्ररी सदुपयोग गर्न सकिन्छ ।

संग्रहालयका प्रकाशनहरु

देश विदेशका वैज्ञानिकहरुका प्रकृति सम्बन्धि अध्ययन अनुसन्धानका नतिजाहरुलाई वैज्ञानिक समुदाय र आम जनमानसमा पु¥याउने उद्देश्यले सन् १९७७ देखिनै “जर्नल अफ नेचुरल हिष्ट्री म्यूजियम” प्रकाशन गर्दै आएको छ र हाल सम्म २८ अंक प्रकाशन गरिसकेको छ । अनुसन्धानकर्ता, शिक्षाविद् र अध्ययनकर्ताहरुको आवश्यकतालाई ध्यानमा राखि “फिल्ड गाइड टु नेपाली नेम्स्फर प्लान्टस्”, “फिल्ड गाइड टु नेपालस् बटरफ्लाइज”, “नेपालका सर्पहरु”, “द नेपाल सिवालिकस्ः द्योर इन्भाइरोन्मेण्टल एण्ड पालियोन्टोलोजिकल इम्पोर्टान्स”, “एन आर्ट अफ टेक्सीडर्मी” “नेपालका संरक्षित विरुवाहरु र जनावरहरु”, “प्रिहिस्टोरिक मामलस् अफ नेपाल” जस्ता पुस्तकहरु संग्रहालयले प्रकाशन गरिसकेका छन् र यी प्रकाशनहरु यस संग्रहालयबाट खरीद गर्न सकिन्छ ।

संग्रहालयको पुस्तकालय

यस संग्रहालयमा एउटा पुस्तकालय पनि छ, जसमा वनस्पती र जीवजन्तु पहिचान तथा अध्ययन गर्न आवश्यक पुस्तकहरु छन् । साथै अध्ययन अनुसंन्धानको लागि उपयोगी कैयौं जर्नलहरु, अनुसन्धान प्रतिबेदन, शोधकार्य, लेख रचना, बुलेटिन, न्युजलेटर पनि छन् ।

अवलोकनकर्ता

नेपालका प्राकृतिक विज्ञानसँग सम्बन्धित नमूनाहरु हेनर्, बुझ्न, र मनोरञ्जन लिन र आपूmले पनि त्यस विषयमा केहि योगदान दिन सकिन्छ कि भनेर र अन्य सहयोगको अवसर जुटाउने उद्देश्यले संग्रहालयको अवलोकन गर्न पुग्ने गर्छन् । धेरैजसो काठमाडौं उपत्यका भित्र र वरपरका स्कूल, कलेज र विश्वविद्यालयका विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरु यस संग्रहालय अवलोकन गर्न आउँछन् । संकलित नमूनाहरुको अवलोकनका लागि पर्यटकहरु पनि संग्रहालयमा पुगेका हुन्छन् । आजकल स्कूल र विश्वविद्यालयका विद्यार्थीहरुलाई संग्रहालय सम्बन्धि परियोजना कार्य अथवा गृहकार्य दिएका हुन्छन् र सो कार्य गर्न पनि विद्यार्थीहरु संग्रहालयमा अध्ययन तथा अवलोकन गर्न पुग्छन् ।

संग्रहालयको प्रबर्द्धन

यस संग्रहालयमा पचासौहजार वनस्पती, जीवजन्तु र जिवावशेषका नमूनाहरु छन् । यी नमूनाहरु स्कूल र विश्वविद्यालयका अध्यापक र विद्यार्थीको अध्ययन अनुसन्धानका लागि अत्यन्त उपयोगी छन् । र यस संग्रहालय पर्यटन उद्योगकोे लागि सुन्दर गन्तब्य स्थल पनि हो । तैपनि प्रचार प्रसारको कमिले पर्र्यटन उद्योगमा यसको सदुपयोग भएको छैन । यस संग्रहालय एउटा सिकाई केन्द्र्र पनि हो र यस्मा अथाह अवसर पनि छ । प्र्रत्येक अवसरलाई नेपालीलाई थाहा दिन जरुरी छ र सदुपयोग गर्न आवश्यक छ । त्यसैले प्रबद्र्घनको आवश्यकता छ । यसैले निम्न तौर तरिका अपनाइ यो संग्रहालयको प्रचार प्रसार र प्रबद्र्घन कार्य गरि राखेकोे छ ।

क) प्रचार प्रसार सामाग्री बितरण गरेर
ख) भेटघाटमा अवलोकणको लागि निमन्त्रणा दिएर
ग) विद्युतिय सामाजिक सञ्जाल प्रयोग गरेर
घ) सामाजिक कार्यक्रममार्फत
ङ) सेमिनार, तालिम, गोष्ठी आयोजना गरेर (चित्र ३)
च) समाचार, लेख रचना प्रकाशन गरेर

चित्र ३. मिचाहा प्रजातिबारे तालिम ।

खोल्ने समय र सेवा शुल्क

शनिबार र सार्वजनिक विदाको दिन बाहेक माघ १६ गते देखि कार्तिक १५ गते सम्म बिहान १० बजे देखि बेलुका ५ बजे सम्म, र कार्तिक १६ गते देखि माघ १५ गते सम्म बिहान १० बजे देखि बेलुका ४ बजे सम्म अवलोकन र पहिचान सेवा पाउन सक्नु हुन्छ । नेपाली अथवा सार्क देशका वयस्क आगन्तुकले प्रति व्यक्ति ने.रु. २०/– र विदेशी नागरिकले ने.रु. ५०/– शुल्क तिरी हल भित्र प्रवेश गर्न सकिन्छ । संग्रहालयभित्र फोटो खिच्न चाहेमा प्रति क्यामरा रु५०/– र भिडियो खिच्न चाहेमा प्रति मुभि क्यामराको रु २००/– तिर्नु पर्नेछ । परिवारसंग ल्याएका ५ वर्ष मुनिका बच्चाहरुलाई शुल्क लाग्दैन । स्वदेशी र विदेशी विद्यार्थीहरुले परिचय पत्र देखाएमा ५०५ सहुलित दिने व्यवस्था छ ।

संग्रहालय कसरी पुग्ने ?

प्राकृतिक विज्ञान संग्रहालय काठमाडौंको स्वयम्भूमा छ (चित्र ४) । यस संग्रहालयमा यसरी पुग्न सकिन्छ ।

 

♦ यदि तपाई चक्रपथमा हुनुहुन्छ भने चक्रपथ घुम्ने बस, मिनिबस या माइक्रोबस चढ्नुस् र स्वयम्भूको ठूलो भगवान बुद्धको मूर्ति भएको ठाउँमा ओर्लनुस् र मञ्जुश्री बजारको बाटो बाट ५–१० मिनेट पैदल हिड्नुस् अनि तपाई प्राकृतिक विज्ञान संग्रहालयको ढोकामा पुग्नुहुन्छ ।
♦  यदि तपाई छाउनीको राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय हेरेर प्राकृतिक विज्ञान संग्रहालय हेर्न चाहनुहुन्छ भने छाउनीबाट किमडोल चोक पुग्नुुस् र मञ्जुश्रीबजार मार्गमा २–३ मिनेट पैदल हिड्नुस् प्राकृतिक विज्ञान संग्रहालयको बोर्ड देख्नु हुनेछ ।
♦ यदि तपाई रत्नपार्क अथवा शहिद गेटमा हुनुहुन्छ भने स्वयम्भूको रुट १९ को बस चढ्नुस्, कालिमाटी–कलंकी हुँदै स्वयम्भू पुर्याउँछ, स्वयम्भूमा ओर्लनुस् मञ्जुश्रीबजारबाट ५–१० मिनेट पैदल हिडेर सिधै संग्रहालय पुग्न सक्नुहुनेछ ।
♦  रत्नपार्क देखि स्वयम्भू रुटको माइक्रोबसबाट संग्रहालयमा पुग्न सक्नुहुन्छ ।
♦  सुन्धारा/रत्नपार्क/शहिदगेटबाट टेम्पुमा चढी किमडोल चोकमा ओर्लनुस र मञ्जुश्री मार्गबाट २–३ मिनेट पैदल हिंडेर संग्रहालयमा पुगिन्छ ।
♦  स्वयम्भू भगवानको दर्शन गरिसकेपछि यस संग्रहालयमा अवलोकन गर्न चाहनुहुन्छ भने तल मञ्जुश्रीबजार हेर्नुस्, यस संग्रहालयको हल र पार्क देख्न सक्नु हुन्छ । र सिढीबाट ओर्लनुस र ठूलो प्रवेशद्वारले तपाईलाई स्वागत गरी राखेको हुनेछ ।

चित्र ४. प्राकृतिक विज्ञान संग्रहालयको स्थान चित्र

 

 

हाम्रा सहकार्यहरु

♦ मुलुक भरिका जिल्ला वन कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय, हुलाक सेवा विभाग, त्रिभुवन विमान स्थल भन्सार कार्यालय संग सहकार्य ।
♦ स्कुल, कलेज, विश्वविद्यालय र संग्रहालय संग सहकार्य
♦ गैह्रसरकारी कार्यालय संग सहकार्य

हाम्रा सेवाहरु

यस प्राकृतिक विज्ञान संग्रहालयमा संग्रहित हजारौ नमूनाहरु, थुप्रै प्रकाशनहरु, स्वयम्भु वातावरण उद्यान, पुस्तकालय, र यहाँका बैज्ञानिकहरु ज्ञानका स्रोत हुन् । यी स्रोतहरु विद्यालयका नानीहरु देखि विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्तालाई अति उपयोगी छ । यस संग्रहालय अनगिन्ती अवसरले भरीपूूर्ण ज्ञान केन्द्र भएकोले प्रत्येक नेपालीले हेर्नैपर्ने देखिन्छ । त्यसैले यस संग्रहालयका शिक्षक अथवा कर्मचारीले दर्शकहरुलाई निम्न लिखित सेवा प्रदान गर्ने गरेको छ :
♦ यस संग्रहालयका कर्मचारीहरुले दर्शकहरुलाई घुमाई राम्ररी बुझाई दिने ।
♦ विद्यालय देखि विश्वविद्यालयका दर्शकहरुलाई काम लाग्ने नौला शैैक्षिक र अनुसन्धानात्मक कार्यक्रमहरु बनाई सेवा प्रदान गर्ने ।
♦ संग्रहालयले नमूना संकलन र ब्यवस्थापन सम्बन्धि, र नमूनाहरुको बैज्ञानिक पहिचान सम्बन्धि भिडियो र अन्य कम्प्यूटर प्रोग्राम तयार गरी सेवा प्रदान गर्ने ।
♦ संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापार सम्बन्धि महासन्धीको वन्यजन्तुतिरको बैज्ञानिक निकायको हैसियतले सेवा प्रदान गर्दै आएको ।
♦ संग्रहालयमा विभिन्न बिषयमा प्रवचन दिने, तालिम दिने (चित्र ५)।

चित्र ५. अष्ट्रियाका वैज्ञानिकको प्रवचन

(लेखक  प्राकृतिक विज्ञान संग्रहालय, त्रिभुवन विश्वविद्यालय, स्वयम्भू,काठमाण्डौंका प्रमुख हुनुहुन्छ ।)

(Visited 174 times, 1 visits today)

टिप्पणी

comments