Main Menu

क्रान्तिप्रति सम्पूर्ण समर्पित नारायणकाजी

(नेपाली कम्युनिस्ट आन्दोलनमा क. प्रकाशको नाम त २०५१ सालमा तत्कालीन नेकपा (एकता केन्द्र)मा फुट आई त्यसका शीर्ष नेताहरु निर्मल लामा र प्रचण्डहरुले अलगअलग पार्टी बनाएदेखि बाहिर मिडियामा आएको थियो । त्यस फुटपछाडि निर्मल लामाले नेकपा (एकता केन्द्र) लाई नै निरन्तरता दिए भने प्रचण्डले सुरुमा नेकपा (मशाल) र लगतै २०५२ सालमा नाम परिवर्तन गरी जनयुद्ध सुरु गर्नुपूर्व नेकपा (माओवादी) पार्टी गठन गरे । पार्टी फुटपछि निर्मल लामाले ‘नेतृत्व युवाहरुलाई सुम्पनुपर्छ’ भन्ने मान्यता राखी ३४ वर्षकै उमेरमा क. प्रकाशलाई पार्टीको महासचिव बनाए । नेकपा (एकता केन्द्र) का महासचिव बन्नासाथ मिडियामा क. प्रकाशको नाम एकाएक चर्चामा आयो । तर, क. प्रकाश वास्तविक रुपमा को हुन् भन्ने बारे आम जनतालाई थाहा थिएन ।

तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुडीमा वाम पार्टीहरुको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि क. प्रकाशको नाम एकाएक चर्चाको शिखरमा आइपुग्यो । त्यस्तै गरी ०६२/६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक पार्टीहरु र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरुबीच भएको १२ बुँदे सहमति गराउनमा उनले खेलेको कुशल संयोजनकारी भूमिकाले उनलाई आन्दोलनकारीहरुबीच थप चर्चामा पुर्यायो ।

यति हुँदाहुँदै पनि २०६५ सालसम्म आम आन्दोलनकारी र जनतामा ‘क. प्रकाश को हुन् ?’ भन्ने जिज्ञाशा रहिनै रहेको अवस्था थियो । ०६२/६३ को जनआन्दोलनले राजतन्त्रलाई करिबकरिब फालिसकेको स्थिति थियो । २०६४ सालमा आमनिर्वाचन भई संविधानसभा बन्यो । संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई सदाको लागि अन्त्य गरी गणतन्त्र घोषणा गर्यो । त्यही क्रममा नै २०६५ जेठ १५ गते एक कार्यक्रमबाट क. प्रकाश सार्वजनिक भए । बल्ल सबैलाई थाहा भयो, क. प्रकाश भन्ने व्यक्ति अरु कोही नभई गोरखाका नारायणकाजी श्रेष्ठ रहेछन् । कुनै बेला काठमाडौं बालाजुस्थित बनस्थली स्कुलका शिक्षक, मूल्याङ्ककन मासिक पत्रिकाका सम्पादक नारायणकाजी श्रेष्ठ नै चर्चित नेता क. प्रकाश रहेछन् ।

त्यसपछाडिबाट ९ वर्षसम्मको अहिलेको समयमा पनि नेपाली राजनीतिमा क. प्रकाश अर्थात् नारायणकाजी श्रेष्ठ चर्चाको शीखरमा नै छन् । उनै नारायणकाजी अहिले नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेताका रुपमा रहेका छन् भने आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधिसभाको पहिलो चरणको चुनावमा गोरखा २ बाट वामगठबन्धनको साझा उम्मेदवारको रुपमा मैदानमा उभिएका छन् ।

यसै परिप्रेक्षमा नारायणकाजी श्रेष्ठ भर्खरै मात्र सार्वजनिक भएको मौका पारी मूल्याङ्कन मासिकले २०६५ असारमा प्रकाशित आफ्नो १६२ औं पूर्णाङ्कमा उनीबारे विस्तृत सामग्री प्रकाशित गर्यो । आजको समयमा त्यो सामग्री सान्दर्भिक भएकोले इमूल्याङ्कनले यहाँ पुनः प्रकाशित गर्दछ ।– सम्पादक)

अग्रगमनका संयोजक क. प्रकाश

नारायणकाजी श्रेष्ठ प्रकाश

नेपालको विगत १२—१५ वर्षयताका राष्ट्रिय राजनीतिका कतिपय उल्लेखनीय घटनाहरुमा नेपाली जनताको पक्षमा नीतिनिर्णयहरु गर्न—गराउन र समग्र राजनीतिको कार्यदिशालाई निर्दृष्ट गर्न सक्रिय एकजना अगुवाको नाम हो—क. प्रकाश । वास्तविक नाम नारायणकाजी श्रेष्ठ

सोभियतसंघको विघटनबाट र अन्य देशका कम्युनिष्ट आन्दोलनका सकारात्मक नकारात्मक अनुभवहरुबाट अद्यावधिक तुल्याउने हुटहुटीसहित अघि बढेका शिक्षित युवाहरुको पंक्तिमा खरो उत्रिन सफल एक आशालाग्दो प्रतिभाको रुपमा उहाँलाई लिनेहरु धेरै रहेका छन् । क. निर्मल लामाले समेत कम्युनिष्ट आन्दोलनमा आफूपछिको नेतृत्वको रुपमा भरोसा गरेका क. प्रकाशको तीक्ष्ण बौद्विक तथा विश्लेषण क्षमताका अतिरिक्त आन्दालेनप्रतिको समर्पण र प्रतिवद्घताको गहनताका कारण उहाँ एउटा पार्टी विशेषको प्रतिष्ठित नेता मात्रै नरहेर समग्र मुलुककै र कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै सरोकारका प्रभावकारी नेताको रुपमा स्थापित हुनु भएको छ ।

नेपाली राजनीतिमा पछिल्लो समयमा निर्णायक भएर आएको नेकपा माओवादी पार्टीसँग शुरुदेखि नै बाक्लो अन्तक्रिर्यामा रहेर त्यसलाई आलोचनात्मक सहयोग गरेर त्यसका विभिन्न वैचारिक र कार्यक्रमिक मामलाहरुमा बाहिरबाट गहन प्रभाव पार्ने व्यक्तित्वहरुमा सायद उहाँ नै एक नं. मा आउनुहुन्छ । ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको संचालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरु र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँडको काममा समेत एउटा सन्तुलित समाधानकर्ता वा संयोजन गर्ने कुशल संयोजकको रुपमा उहाँ सक्रिय हुनुहुन्छ । नेकपा एकताकेन्द्र—मसालको महासचिवको रुपमा उहाँले त्यस पार्टीको अगुवाइ गर्दै आउनुभएको छ । (नेकपा एकताकेन्द्र—मसाल र नेकपा माओवादी मिलेर २०६५ मा एकीकृत नेकपा माओवादी बनेको थियो । हाल माओवादी पार्टीको रुपमा नेकपा माओवादी केन्द्र रहेको छ ।–सम्पादक)

उहाँ गत (२०६५) जेठ १४ गते भूमिगत जीवन त्यागेर सार्वजनिक हुनुभएको छ । प्रस्तुत छ—उहाँको जीवनसंघर्षका बारेमा हाम्रा सहकमी चन्द्रलाल गिरीले तयार पार्नुभएको एक आलेख । र, साथमा उहाँबारे उहाँसँग नजिकैबाट काम गर्दै आएका केही व्यक्तित्वहरुका समीक्षात्मक टिप्पणीहरु समेत ।

पारिवारिक पृष्ठभूमि

केही महिनाअघि (२०६५ को वर्षमा) ‘कान्तिपुर’ टेलिभिजनमा उनको पिठ्यूँ मात्र देखिने गरी उनले दिएको अन्तरवार्ता सुन्ने दर्शकहरुले उनलाई पूरै देख्न अब पनि किन नहुने होला भनी जिज्ञासा व्यक्त गरेका थिए । जनताका यस्ता जिज्ञासा शान्त गर्न १८ वर्षको भूमिगत जीवनपछि उनी हालै सार्वजनिक भए ।

माओवादी दशवर्षे जनयुद्ध र जनआन्दोलन २०६२/०६३ को संयोजनबाट मुलुकलाई शान्ति र अग्रगमनको पक्षमा ल्याउन अदृश्य पात्रको रुपमा उनले खेलेको भूमिकाको मूल्याङ्कन गर्दै उनको जीवनयात्रालाई केलाउने हो भने हामी सुरुमा २०१७ सालमा पुग्छौं गोरखा । पिता मेघनारायण श्रेष्ठ र आमा ज्योतिमायाको छोराको रुपमा प्रकाश यस धर्तीमा उदाउका थिए । एसएलसीको परीक्षा दिने बेलामा उमेर नपुगेकाले प्रमाणपत्रमा जन्म २०१६ साल बनाइयो ।

उपत्यकाको पाटनको चार पुस्ताअघि गोर्खाको जौबारीमा पुगेको उनको परिवार जिल्लाकै शिक्षित र सुविधासम्पन्न परिवार थियो । तर, पछि आर्थिक स्थिति क्रमशः खस्कँदै जान थाल्यो । कारण थियो—जमिनमा आफूले काम नगर्नु र व्यापार पनि छाड्दै जानु । प्रकाशका बुबा ९० वर्षको उमेरमा हालै बित्नुभयो । आमा ७७ वर्षको हुनुहुन्छ । प्रकाशका चारजना दाजु र एक भाइ हुनुहुन्छ ।

सम्पत्ति

प्रकाश आफ्नो सम्पत्तिको बारेमा भन्छन्—पहाड(जौबारी) मा भएको जमीन पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरिसकेको छु । मधेसमा भएको थोरै जमिन बेचेर केही ऋण तिरेँ, केही बाबुआमाको हेरचाहको निम्ति छुट्याएँ र बाँकी रकम पार्टीलाई बुझाएँ । अब मेरो व्यक्तिगत सम्पत्ति केही छैन ।

बाल्यकाल

प्रकाश सुरुदेखि नै नियमित पढ्न विद्यालय जान्थे । त्यतिधेरै शारीरिक श्रम नगर्ने उनी कोठा र घर सफा गर्न मन पराउँथे । सानैदेखि भौतिकवादी भएकाले बा—आमाले पूजा गरेर टीका लगाउन बोलाउँदा पनि जाँदैनथे उनी । पछि उनका बा—आमाले त्यसलाई पचाएर टीका लगाउन बोलाउन पनि छाडिसकेका थिए । प्रकाशलाई स्कुल विदा हुँदा बाख्रा चराउन र भैंसी हेर्न गएको पनि राम्रै अनुभव छ, तर उनी पढ्नमै ज्यादा ध्यान दिन्थे ।

अध्ययन

प्रकाशले १ बाट १० कक्षासम्म गाँउकै परोपकार आर्दश मा.वि.मा पढेका थिए । उनी पढ्नमा अत्यन्तै तेज विद्यार्थी थिए । सधैं कक्षाका प्रथम हुन्थे । उनले ०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० मा सय नै नम्बर ल्याएर स्कुलको रेकर्ड तोडेका थिए । ऐच्छिक गणितमा भने ६८ नम्बर मात्र आएछ । उनलाई विश्वास थियो—उनले ९१ नम्बरको हिसाब मिलाएका थिए । ९१ नम्बर आएको भए बोर्ड थर्डसम्म हुने थिए ।

कलेज पढ्न उनी काठमाडौं आए । पहिला मेडिकल कलेजमा अध्ययन गरेका उनले ०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका छन् । थप अर्थशास्त्रमा पनि स्नातक गरेका छन् ।

उनले औपचारिकभन्दा अनौपचारिक अध्ययनलाई बढी जोड दिए । त्यस क्रममा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादसँग सम्बन्धित रहेर उनले अध्ययनको दायरालाई फराकिलो बनाउने प्रयास गरे । साम्राज्यवाद नयाँ ढंगले आइरहेको छ । त्यसैले उनी भन्छन्—‘त्यसलाई सामना गर्नका लागि नयाँ ढंगले अध्ययनलाई बढाउने प्रयासमा छु’ ।

माओले भनेझैं विरोधीका पुस्तक पनि पढ्नुपर्छ, त्यसले सचेत गराउँछ र प्रतिरोध क्षमता बढाउँछ भन्ने कुरालाई आधार मान्दै उनी अध्यात्मिक र गैर माक्र्सवादी पुस्तकहरु पनि भ्याएसम्म पढ्छन् । तर, पार्टीको मुख्य नेता भएकाले उनलाई पढ्ने समयको अभाव छ । तर पनि अध्ययनलाई एउटा महत्वपूर्ण कार्य ठानेकाले पढ्न छुटाउँदैनन् । विहान पत्रपत्रिका पढ्ने समाचार सुन्नेमा जोड दिन्छन् भने बेलुका पुस्तक पढ्न ।

उनलाई सबैभन्दा मनपर्ने पुस्तक लेनिनको ‘राज्य र क्रान्ति’ हो, जुन उनले धेरै पटक दोहोर्याएर पढिसकेका छन् । उनी भन्छन्, ‘खास गरी अहिले युवाहरुले माओको दर्शन, सांस्कृतिक क्रान्ति, संयुक्त सरकारका बारेमा विशेष पढ्नुपर्छ ।’

भूमण्डलीकरणविरुद्घ वामपन्थी कोणबाट विभिन्न पुस्तकहरु निस्किरहेकाले ती पुस्तकहरु युवाहरुले खोजेर पढ्न पनि उनी सुझाव दिन्छन् ।

दिनचर्या

आजकाल प्रकाश मूलतः शाकाहारी भएका छन् । विहान पाँच बजे नै उठ्छन् र योगासन र प्राणायाम गर्छन् । डेढघण्टा जति यसरी उनको समय बित्छ । माघ १९ (०६१) राजाको शाही ‘कू’ पछि उनको यो नित्यकर्ममा बाधा प¥यो । जसले गर्दा आफै त्यो रिकभर भइनसकेको उनले बताए । आजकाल उनले हल्का व्यायाम र प्रणायाम दुबै गर्न सुरु गरेका छन् । सात बजेपछि पार्टीका बैठक र राजनीतिक भेटघाटमै व्यस्त रहने गरेका प्रकाश परिस्थितिको अपरिहार्यता र आवश्यकता दुवैले व्यस्त बनाएको स्वीकार्छन् ।

नेतृत्वको गुण

प्रकाशसँग विद्यालयमा नै साथीभाइ र शिक्षकले समेत आवश्यक सरसल्लाह र छलफल गर्दथे । कारण थियो—कक्षाको प्रथम विद्यार्थी हुनु । त्यसबेलादेखि नै एउटा समन्वयात्मक अगुवाको भूमिका खेलेका प्रकाश न त झगडालु थिए, न त नरम नै । उनी अध्ययन र सरसफाइमा बढी ध्यान दिन्थे । नयाँ कुरामा जिज्ञासा राख्थे । सामान्यतया ढाँट्ने र छल्ने गर्दैनथे । उनी बहिर्मुखी स्वभावका छन् । छलफलमा आफ्नो कुरा प्रष्ट राख्छन् ।

उनीसँग ‘तपाइको प्रमुख विशेषता के हो ?’ भन्ने प्रश्न गर्दा भन्छन्, ‘मसँग त्यस्तो अनौठो विशेषता त केही छैन, तर सचेत भएदेखि नै देश र जनताको मुक्तिका प्रति निष्ठावान छु । सर्वहारावर्ग र अन्ततः मानवजातिको मुक्तिप्रति समर्पित छु’ ।

उनले कुनै अम्मलको प्रयोग गरेका छैनन् । नेवार परिवारमा सगुनका रुपमा अण्डा, माछा र रक्सी दिने प्रचलन हुन्छ । तर, प्रकाशकी आमाले सगुन दिँदा रक्सीका ठाउँमा उनलाई दही दिने गरेकी थिइन् ।
त्यसैले होला, ‘मलाई रक्सी खाने बानी बनेन, तर चाखेको भने छु’ उनले प्रतिक्रिया दिए ।

उनले ०३६ सालको जनमत संग्रहताका एक÷दुई महिना र ०४७ सालको एक दुई महिना चुरोट पनि पिएका थिए । अहिले त सुर्ती, सुपारीलगायतका कुनै अम्मल लिँदैनन् उनी । प्रकाशलाई ढाँट्दा भने रीस उठ्छ । तर, पार्टीको अन्तरसंघर्षका क्रममा मुख्य नेतृत्वमा आएदेखि सकेसम्म रीसलाई नियन्त्रण गर्न सचेत भएका छन् अहिले ।
‘मेडिटेसन प्रोसेसले मलाई अलिकति सन्तुलित भएर विषयवस्तुलाई हेर्न मद्दत गरेको छ । तैपनि कहिलेकाही त रीस उठिहाल्छ । कसैले सिधा—सिधा ढाँटेको भन्ने थाहा पाएपछि मलाई अत्यन्तै रीस उठ्छ’ उनले आफ्नो स्वभावको बारेमा यसरी जानकारी गराए ।

कमजोरी

उदारतालाई आफ्नो कमजोरी ठानेका छन् उनले । सबैलाई समेटेर काम गरौंभन्दा कतिपय गल्ती कमजोरी देख्दा देख्दै कहिलेकाहीँ छाडिदिनु पर्नेहुन्छ । निर्णायक संघर्ष गर्नुपर्ने बेलामा कहिलेकाहीँ उदारता देखाउने आफ्नो समस्या रहेको उनी स्वीकार्छन् ।

जागिर

०३७—०३८ साल मुख्यतः उनको जागिरको अवधि थियो । मेडिकल साइन्स पढेकाले हेल्थपोष्टमा डेढवर्ष थोरै तलबमा जागिर खानुपरेको उनको अनुभव छ । पछि उनले केही वर्ष शिक्षकको जागिर पनि खाएका थिए ।
सकभर देश र जनताको लागि केही गर्छु भन्ने भावनामा उत्प्रेरित प्रकाशले जागिर खानु त्यो बेलाको उनको घरायसी परिस्थितिकै वाध्यता थियो । पढाइमा तीक्ष्ण प्रतिभा भएकाले उनको परिवारले उनलाई डाक्टर बनाउने सोच राखेको पनि हो, जसको धेर थोर प्रभाव उनलाई क्याम्पस पढ्दासम्म नै प¥यो । तर, सामाजिक दृष्टिकोणबाट अभिप्रेरित उनलाई लाग्ने गर्दथ्यो—‘खालि बाँच्ने मात्र हो भने मान्छे जन्मनु र मर्नुको के अर्थ छ र ?’ त्यसैले उनी बिस्तारै राजनीतितिर उन्मुख हुनथाले । चलनचल्तीको भाषामा आफूलाई युवक नै नभएको ठान्दै उनी भन्छन् ‘साथीहरु मभन्दा अलि बढी उमेरका थिए । ममा युवाहरुले गर्ने जस्तो व्यवहार देखा परेन, तर एउटा क्रान्तिकारी भएकोले त्यस कोणबाट भने सधैं हराभरा युवक नै थिएँ र छुजस्तो लाग्दछ ।’

जेलजीवन

१५ वर्षमा एसएलसी गरेका प्रकाश १६ वर्षको कलिलो उमेरमा नै जेल परेका थिए । ०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उनलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो । उनी दोस्रो पटक ०३६ सालमा पनि गोर्खामा जेल परे । कारण उही थियो पञ्चायती शासनविरुद्घको गतिविधि । तेस्रो पटक ०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ भए र उनलाई राजकाज मुद्दा लगाई केही दिन ललितपुर डिएसपी कार्यालयमा हिरासतमा राखिएको थियो । त्यसउप्रान्त उनी हिरासत र जेल परेका छैनन् ।
लेखक

उनले आफूलाई बाध्यतामा लेख्ने लेखक ठानेका छन् । ‘आन्दोलनको आवश्यकताको कारणले बाध्यताले नलेखी भएन भन्ने भएपछि मात्र मैले लेख्ने गरेको छु’ उनी यसरी आफूलाई प्रस्तुत गर्छन् । उनका लेखहरु वर्गसंघर्षका ठोस अभिव्यक्तिका रुपमा मात्रै आएका छन् । धेरैजसो उनले प्रकाशकै नाममा लेख्ने गरेका छन् । यद्यपि भूमिगत हुँदा ‘प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दिपक’, र अन्तिम नाम ‘प्रकाश’ राखेकाले अघिल्ला नामहरुबाट पनि उनले लेखहरु लेख्ने गरेका छन् । उनले केही पुस्तकहरु समेत लेखेका छन् तर ती विशुद्घ राजनीतिसँग सम्बन्धित छन् ।

१ क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्ति भाग—१
२. माघ १९ र क्रान्तिकारी कार्यनीति
३. माओवादी र माओवादी जनयुद्घबारे ।
४. क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग २ (प्रकाशनको तयारीमा) लगायतका पुस्तकहरु उनले लेखिसकेका छन् ।

मनपर्ने नेता

नेपालका नेताहरुमध्ये को राम्रो लाग्ला उनलाई ? यस प्रश्नमा उनले आदर्श नेताको रुपमा खासै कुनै नेताको नाम लिन चाहेनन् । उनी भन्छन्, ‘नेपालको क्रान्तिकारी आन्दोलन आदर्श नेताहरु निर्माणको प्रक्रियामै छ जस्तो लाग्छ । त्यसका संकेतहरु देखिँदैछन् ’। उनलाई आफ्नै पार्टीका केही साथीहरु मन पर्छन् । तर, अहिल्यै नाम लिन चाहन्नन् । हाम्रो पार्टीको केन्द्रीय नेतृत्वमा क्रान्तिलाई मात्र केन्द्रमा राखेर निस्वार्थ भावका साथ दिनको १८ घण्टासम्म लगातार खट्न सक्ने कमरेडहरु हुनुहुन्छ, जुन नेपाली कम्युनिष्ट आन्दोलनमै बिरलै होलान् । आफ्नो पार्टीभन्दा बाहिर प्रमुख नेतृत्वमा रहेका व्यक्तिहरुमा क. प्रचण्ड नै उनलाई सबभन्दा मनपर्ने व्यक्ति हुन् भन्ने कुरा उनले पहिले नै सार्वजनिक गरिसकेका छन् । नेपाली कम्युनिष्ट ओन्दोलनका राम्रा प्रतिभाहरुको नाम लिनु पर्दा क. प्रचन्ड र क. बादलको नाम लिन्छन् र दुबै जनासँग आफ्नो अत्यन्त घनिष्ट भावनात्मक सम्बन्ध रहेको स्वीकार गर्छन् । क. बाबुराम भट्टराई पनि नेपाली कम्युनिष्ट आन्दोलनका राम्रो प्रतिभा हुनु उनी थप्छन् । नेकपाका संस्थापक सदस्य क. नरबहादुर कर्माचार्यलाई उनी आफूले सबैभन्दा बढी आदर गर्ने व्यक्तिका रुपमा लिन्छन् । स्व. क. निर्मल लामाप्रति पनि उनको अगाध आस्था छ ।

राजनीतिक प्रेरणा

सानै छँदा नै विद्रोही बन्दै उनी नवयुवक हुँदा नै खाँटी पञ्चायतविरोधी भइसकेका थिए । प्रारम्भिक तहमा उनी नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता थिए । बी.पी. कोइरालाका अपीलहरुबाट उनी प्रभावित भएका थिए । त्यही क्रममा उनी दुईपटक जेलसम्म परे । पछाडि नेपाली काँग्रेसको सामन्तवादसँगको सम्झौतापरस्त नीतिका कारणले गर्दा उनले सोचे—‘यो कुन विचारमा चलेको पार्टी हो ?’ अन्ततः कम्युनिष्ट पार्टीले जनताको मुक्ति गर्ने बुझाइका कारण उनी तत्कालीन कम्युनिष्ट आन्दोलनमा हेलिन पुगे । आफ्नै साहिला दाजु चीनकाजी श्रेष्ठ राजनीतिमा संलग्न थिए । उनी न्याय र इन्साफ(गाउँ टोलमा) गर्ने सामाजिक कार्यकर्ता पनि थिए । प्रकाशकै काइलो बुबाका छोरा जगतबहादुर श्रेष्ठ पनि उस्तै । कम्युनिष्ट आन्दोलनमा लाग्न उहाँहरुबाट पनि प्रेरणा प्राप्त भएको थियो ।

त्यो बेला एकीकृत चौथो महाधिवेशन (चौम)ले देशव्यापी रुपमा आफ्नो संगठन विस्तार गरिसकेको थियो । मोहनविक्रम र निर्मल लामा त्यसको नेतृत्वकर्ता थिए । नेतृत्व परिपक्व छ र छिट्टै क्रान्ति हुनेछ भन्ने भावबाट कम्युनिष्ट आन्दोलनमा संलग्न भएका थिए प्रकाश । तर, उनले सोचेजस्तो भने पाएनन् ।

राजनीतिक जिम्मेवारी

प्रकाशलाई ०३८ सालमा गोर्खा जिल्लाका श्रीनाथ अधिकारीले पार्टी सदस्यता दिएका थिए, कम्युनिष्ट बन्नासाथ । अधिकारी हाल माओवादीमा संलग्न छन् । प्रकाश पार्टीको सेल कमिटी हुँदै गर्दा नै मोहनविक्रम र निर्मल लामाबीचको मतभेदले ०३९ सालमा पार्टीमा विभाजन भयो । लामा समूहबाट प्रकाश काठमाडौं जिल्ला समितिको सदस्य हुँदै ०४२/४३ सालतिर त केन्द्रीय सदस्य भइसकेका थिए ।

२०४७ सालमा मोटो मशाल, चौम र सर्वहारावादी श्रमिक संगठनका बीचमा एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य रहे । एकता भएपछि ०४८ सालमा एकता महाधिबेशनबाट उनी नेकपा(एकताकेन्द्र)को पोलिटब्युरो सदस्य हुनपुगे । २६ वर्षको कलिलो उमेरमै केन्द्रीय समितिको सदस्य हुने अवसर पाएका प्रकाश ३१ वर्षमै एकताकेन्द्रको पोलिटब्युरो सदस्य भएका थिए । ०५१ सालमा प्रचण्ड र निर्मल लामाका बीचमा फुट हुँदा लामा समूह वा एकताकेन्द्रको महासचिबको जिम्मेवारी प्रकाशले ने पाए । त्यतिबेला उनी ३४ वर्षका मात्रै थिए । एकताकेन्द्रको महासचिवको हैसियतले पार्टी प्रमुखको भूमिका निर्वाह गरे । त्यही बीचमा मोहनविक्रम सिंहसँग पार्टी एकता हुँदा उनी ३४ वर्षका मात्रै थिए । ०५१ सालदेखि ०५९ सालसम्म प्रकाशले नै एकताकेन्द्रको महासचिवको हैसियतले पार्टी प्रमुखको भूमिका निर्वाह गरे । त्यही बीचमा मोहनविक्रम सिंहसँग पार्टी एकता हुँदा उनी सह महामन्त्री रहे भने ०६३ सालमा सो पार्टीमा पुन विभाजन भएपछि उनी एकताकेन्द्रको महासचिवको हैसियतमै रहे ।

पार्टी अन्तरसंघर्ष

‘एकीकृत चौममा जुन खालका मतभेदहरु देखापरेका थिए, त्यसमा मूलतः लामाजीहरुले लिनुभएको लाइन नै सही थियो । तर, ती मतभेदहरुले पार्टी फुटिहाल्नुपर्ने थिएन । अन्तरसंघर्ष र मतभेदप्रति आरोप प्रतित्यारोपको बीचमा पार्टी फुट्यो’ । उनी स्मरण गर्छन् । त्यस घटनाले प्रकाशलाई दुखी बनायो ।

उनी भन्छन्, ‘पार्टी फुृटेर लामाजीहरुसँग नेकपा(चौम)मा रहँदा पनि अन्तरसंघर्ष निकै कटु र तीव्र बनेर गयो । लामाजीका राजनैतिक अडानहरु मूलभूत रुपमा सही हुँदाहुँदै पनि नेपाली कम्युनिष्ट आन्दोलनका आधारभूत समस्याहरु के हुन् ? तिनलाई कसरी समाधान गर्ने ? र, सच्चा कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया कसरी अगाडि बढाउने ? भन्ने बारेमा नेतृत्वमा रहेका श्याम श्रेष्ठ लगायतका अन्य साथीहरुले मतभेद राख्ने संघर्ष चलाउनु भएको थियो ’।

यसबारे उनी थप भन्छन् ‘तर त्यो संघर्षलाई उचित ढंगले सन्चालन गर्न सकिएन । त्यो कुरा श्यामजीहरुलाई पछि अनुभूत भयो । तै पनि दृष्टिकोण निर्माण, वैचारिक स्पष्टता र सांस्कृतिक रुपान्तरणको कामलाई महत्वका साथ पक्रेर पार्टी निर्माणको प्रक्रियालाई अघि बढाउनुपर्दछ भन्नेमा हामी रह्यौं । यो अन्तरसंघर्षले पार्टीलाई अस्तव्यस्त र अकर्मण्य बनाएकै बेलामा प्रचण्डजी र रुपलालजीहरुसँग एकता गरेर एकताकेन्द्र बनाइएको थियो’ ।

पार्टी एकता गरेर एकताकेन्द्र बनेपछि प्रकाशको प्रचण्ड, बादल र बाबुरामसँग मूलतः एउता विषयमा निकटता रह्यो, त्यो हो क्रान्ति गर्ने विषय । बाबुराम भट्टराईको अन्तरमुखी चरित्रको कारणले पनि क. प्रचण्ड र क. बादलसँग जस्तो घरिष्ट सम्बन्ध उनीसँग हुन नसकेको प्रकाश बताउँछन् । क. किरणको इमान्दारिता र सरलताका कारण उनी आफ्नो लागि आदरका पात्र भएको प्रकाश बताउँछन् ।

त्यस्तो घनिष्ट भावनात्मक सम्बन्धका बीचमा प्रकाश घनीभूत छलफलका क्रममा गम्भीर वैचारिक राजनैतिक बहसहरु छेड्ने गर्दथे । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको संश्लेषण प्रतिक्रान्तिका आत्मगत कारणहरुको पहिचान एवं त्यसलाई सच्याउने उपायहरुका बारेमा, नेपाली क्रान्तिको कार्यदिशाको बारेमा, सर्वहारावर्गको अग्रदस्ताका रुपमा आजको सन्दर्भमा नयाँ ढंगको पार्टी निर्माण र त्यसमा सर्वहारा सांस्कृतिक आन्दोलनलाई प्रारम्भदेखि नै जोड्ने बारेमा प्रकाशले गम्भीर बहस उठाएका थिए । त्यसबारेमा प्रकाश र प्रचण्डहरुका बीचमा मतभेद पनि देखिएका थिए ।

पछि माओवादीले पनि प्रकाशले विश्लेषण गरेकै प्रतिक्रान्ति हुनुमा सर्वहारा क्रान्तिकारीहरुको आत्मगत कमजोरी पनि रहेको र मुख्यतः सर्वहारा जनवादको अभ्यासमा कमजोरी रहेको कुरा औपचारिक रुपमा स्वीकार गर्यो । “एकाइसौं शताब्दीको जनवाद को मुख्य सारतत्व यही हो । नेपाली क्रान्तिको कार्यदिशाको हकमा पनि प्रकाशले निष्कर्ष निकालेझैैँ जनयुद्घ र सशस्त्र बिद्रोहको संयोजनको कार्यदिशा नेकपा (माओवादी) ले पनि पछि औपचारिक रुपमै पारित गर्यो । साँस्कृतिक रुपान्तरणको सन्दर्भमा पनि माओवादीको चुनवाङ बैठकले “क्रान्तिभित्र क्रान्ति” भनेर यही कुरालाई आत्मसात गरेको देखिन्छ । एकीकृत पार्टीमा रहँदा पनि मतभेदहरुका बीचमा घनिष्ट सम्बन्ध र मैत्रीपूर्ण अन्तरसंघर्षको क्रमबाट प्रकाश र प्रचण्डहरु सक्रिय थिए । तर, पछि तत्काल सशस्त्र संघर्ष शुरु गर्ने कि नगर्ने भन्ने मूल राजनीतिक कार्यनीतिमा नै मतभेद देखापरेपछि उनीहरु अलग हुन पुगे ।
मोहन विक्रमसँग प्रकाशले नेतृत्व गरेको एकताकेन्द्रको ०५९ सालमा एकता भएको थियो । मोहनक्रिम क्रान्तिबाट विचलन भएसकेका छैनन् भन्ने आधारमा पार्टी एकतामा जोड दिइएको थियो । ‘मोहनविक्रममा जडसूत्रीय दक्षिणपन्थी रुझान छ, सांगठनिक संकीर्णता पनि छ, तर पनि क्रान्तिकारी धारामा ल्याउन जोखिम मोलेर भए पनि एकतामा जानुपर्छ भन्ने निर्णयमा एकताकेन्द्र पुगेको’ प्रकाश बताउँछन् ।

तर, माओवादीप्रतिको चरम द्वैष र पूर्वाग्रहको कारण ‘संसदवादी दल र माओवादीबीच एकता गर्नु हुन्न, साथै संयुक्त जनआन्दोलन गर्नु हुन्न’ भन्ने अडान मोहनविक्रमको रह्यो । राजालाई परास्त गर्न आन्दोलनको घोषणा गर्दासम्म मोहनविक्रमको खेमा आन्दोलनमा नहेलिएपछि पार्टीमा ०६२ सालमा पुनः विभाजन हुन पुगेको प्रकाशको ठम्याइ छ ।

‘समग्रतामा मोहनजीमा देखापरेका क्रान्तिकारी स्पिरिटमा ह्रास, सिद्घान्तमा जड्सूत्रीय संशोधनवाद, तात्कालिक राजनीतिमा दक्षिणपन्थी लाइन र माओवादीप्रतिको चरम द्वैष र पूर्वाग्रहले नै उहाँलाई एकीकृत पार्टीबाट अलग पुर्यायो ।’ भन्ने प्रकाशको निष्कर्ष छ ।

भूमिगत जीवनशैली

०४६ सालको जनआन्दोलनदेखि भूमिगत जीवन बिताइरहेका प्रकाश १८ वर्षको भूमिगत जीवनपछि २०६५ जेठ १४ गते राजधानीमा आयोजित एक विशेष कार्यक्रममार्फत् सार्वजनिक भए । कार्यक्रममा प्रचण्ड, अमिक शेरचन र नरबहादुर कर्माचार्यले उनको भूमिका र योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बाबुराममा भट्टराईको पनि उपस्थिति रहेको थियो ।

सिलगुढी वार्तादेखि १२ बुँदे समझदारी, सातदल र माओवादीको बीचमा वार्ता र अघिल्ला सरकार र माओवादी बीचमा भएका सहमतिमा महत्वपूर्ण भूमिका खेलेका प्रकाश सरकार र पार्टीका नेतासँग भने भूमिगत थिएनन् । उनी जनतासँग मात्र सार्वजनिक हुन बाँकी थियो । तर, गणतन्त्र आएपछि सार्वजनिक हुने प्रकाशको सपना २०६५ जेठ १५ गते गणतन्त्रको क्रियान्वयन निश्चित भएपछि जेठ १४ गते त्यसको पूर्व सन्ध्यामा पूरा भएको छ ।

उनको भूमिगत जीवनका उकाली ओरालीहरुको कुरा गर्दा ०५१–५२ सालतिर सिरहाको एउटा कार्यक्रम सकेर निस्केकै मात्र के थिए, कार्यक्रमस्थलमा प्रहरीले घेरा हालेको थियो । पछिल्लो समयमा माओवादीविरुद्ध सरकारले संकटकाल लगाउँदाको गम्भीर असर प्रकाशलाई पनि परेको थियो । उनी बस्ने घरमा वरिपरिका मान्छेले चासो लिने, घरबेटीले पनि को हो ? भन्ने प्रश्न गरेर पारेकाले कोठा छाडेर हिँड्नुपर्ने बाध्यत्मक परिस्थिति सिर्जना भएको थियो उनलाई । वामहरुबीच सिलगुढीमा वार्ता गराएपछि त उनलाई सरकारले झनै खोजी गरेको थियो । ‘पछि मलाई पक्रेर सिध्याउने योजना नै बनाइएको थियो’ उनी भन्छन् । ०६१ माघ १९ मा शाही ‘कू’ भएपछि त उनलाई झन समस्या आइपर्यो । त्यो बेलाको घटना स्मरण गर्ने क्रममा उनी भन्छन्, ‘हरेक ठाउँमा एक दुई रात बसिन्थ्यो । त्यसैले दर्जनौं ठाउँ सेल्टरका रुपमा प्रयोग भए होलान् ।

बैचारिक भूमिका

नेपालको कम्युनिष्ट आन्दोलन चार दशक बित्दा पनि राम्रोसँग विकास हुन नसकेको पक्षमा घोरिएर अध्ययन गर्दा उनले यसमा तीनवटा आधारभूत कमजोरी औंल्याएका थिए :
१) दृष्टिकोण निर्माण र बैचारिक प्रष्टताको समस्या ।
२) सर्वहाराकरण र साँस्कृतिक प्रष्टताको समस्या ।
३) आधारभूत वर्ग, मजदुर, किसान, गरिब, सुकुम्वासी, दलित समुदायको बीचमा पार्टी र आन्दोलन पुग्न नसक्नुको समस्या ।
त्यस क्रममा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनको कमजोरिलाई पहिचान गर्ने क्रममै त्यही आधारमा प्रतिक्रान्तिको शिक्षा सहितको नेपालको विशेषतामा पार्टी निर्माण गर्न सकेको प्रकाशको ठहर छ । दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहको फ्यूजन गर्नुपर्छ भन्ने नेपाली क्रान्तिको कार्यदिशा प्रकाशले ०५४ सालमा पार्टीको राष्ट्रिय सम्मेलनबाट पारित गराएका थिए । त्यही बाटो माओवादीले पनि ०५७ सालको दोश्रो राष्ट्रिय सम्मेलनबाट आत्मसात गर्यो ।

यसरी पछिल्लो अवस्थामा देशको संकटपूर्ण घडीमा संकटको निकास निकाल्न र नेपाली क्रान्तिको प्रक्रिया अघि बढाउन जनयुद्घ र जनआन्दोलनको फ्यूजनको वरिपरि तत्कालिन कार्यनीति तय गरी सबै राजनीतिक शक्तिलाई गोलबन्द गर्नसक्नुमा प्रकाशको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।

स्मरणीय क्षण

तत्कालीन नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डसँग प्रकाशको भेटघाट २०४७ सालबाट हुन थालेको हो । उनीहरुको भेटघाटको इतिहास थोरै अवधिको भए पनि प्रचण्ड र उनीबीचमा यति घनिष्ट सम्बन्ध बनिसकेको थियो कि दुवै पार्टी फुटाएर अलग हुँदा छुट्ने बेलामा उनीहरु दुबै रोएका नै थिए । प्रकाश भन्छन् ‘प्रचण्डजी र ममा क्रान्तिकारी स्पिरिटमा समानता हुँदाहुँदै पनि तत्कालीन मूल राजनीतिक कार्यनीतिमा मतभेद भएपछि एउटै पार्टीमा रहन सकेनौं । तर, प्रचण्ड र बादलसँग यति घनिष्ट सम्बन्ध थियो कि त्यसले ठूलो चोट पा¥यो ।’ अझ प्रकाश भन्छन् ‘आ—आफ्नो मोडल टेष्ट गरौं भनेर प्रचण्डहरु जनयुद्घमा जाने निर्णयमा पुग्नुभयो । क्रान्तिकारी रहिरह्यौं भने इतिहासको कुनै कालखण्डमा गएर फेरि भेटौंला भनेर हामीहरु छुटेका थियौं ।’

प्रचण्ड र प्रकाश छुट्टिने बेलामा दुवैले स्वीकार गरेको एउटा स्मरणीय कुरा पनि छ । यदि तपाईंको लाइन सफल भयो भने मैले त्यसमा लाग्न आपत्ति मान्ने छैन । तपाईले पनि आत्मसात गर्न आपत्ति मान्नु हुन्न । वा दुवै अशं—अंशमा सही भएमा त्यसलाई दुवैले आत्मसाथ गरेर जानुपर्छ ।’

प्रचण्ड र प्रकाशबीचमा त्यस्तो भावविव्हलको स्थितिमा प्रचण्डकी पत्नी सीताले भनेकी थिइन्—‘तपाईहरुबीचको कुरा बुझ्न सकिएन कहिले रुँलाजस्तो त कहिले च्याठ्ठिउँला जस्तो ।’
प्रकाशलाई अहिले पनि त्यो घटनाले भावविव्हल बनाउँछ । पार्टी विभाजन भएपनि प्रचण्ड र प्रकाशबीचमा आत्मीय र भावनात्मक सम्बन्ध कायम नै रह्यो ।

माओवादीसँगको मतभेद र एकताको प्रश्न

  • विश्व कम्युनिष्ट आन्दोलनमा भएका प्रतिक्रान्तिका घटनाहरुबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ भन्ने प्रकाशको भनाइलाई प्रचण्डहरुले पहिला विर्सजनवादी भनेका थिए । त्यसको प्रतिउत्तरमा प्रकाशले प्रचण्डहरुलाई जडसूत्रवादी क्रान्तिवादी भनेका थिए । अहिले दुवै अन्तरराष्ट्रि कम्युनिष्ट आन्दोलनको संश्लेषण र प्रतिक्रान्तिको कारणको ठम्याइमा एकै ठाउँमा आइपुगेका छन् ।
  • दोस्रो, राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट पाठ सिकेर र मुख्यतः नेपालको विशिष्टतामा ध्यान दिएर दीर्घकालीन जनयुद्घ र सशस्त्र विद्रोहको फ्यूजन, संयोजन गरेर मात्र क्रान्ति गर्नुपर्छ भन्ने प्रकाशको मतलाई प्रचण्डहरुलाई यान्त्रिक अन्धानुकरणको आरोप पनि लगाएका थिए । पछि ०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट माओवादीले दीर्घकालीन जनयुद्घ र सशस्त्र विद्रोहको फ्यूजनको कार्यदिशा अँगालेपछि त्यो मतभेद हटेर गयो ।
  • प्रकाशले उठाएको तेस्रो स्रैद्धान्तिक पक्ष भनेको लेनिनवादी संगठनात्मक ढाँचामा पार्टीलाई लगेर सांस्कृतिक क्रान्तिलाई पार्टीको अभिन्न अंग बनाउनुपर्छ भन्ने थियो । प्रचण्डले त्यसको जवाफमा ‘सबै कुरा वर्गसंघर्षको मैदानमा गएपछि मिल्छन् ।’ भन्ने तर्क राखेका थिए । तर, जनयुद्घका क्रममा मान्छेहरु युद्घमा गएका छन् —एउटाले गोली खाएको ठाउँमा अर्को फेरि गोली खान तयार भएर उठेको छ, तर त्यही मान्छे भ्रष्टाचारी बलात्कारी वा पदको लागि आफ्नै साथीको हत्या गर्ने स्थितिमा पनि पुगेको देखाप¥यो । चुनवाङ्ग बैठकसम्म आइपुग्दा माओवादी पार्टी सर्वहारा सांस्कृतिक रुपान्तरणको महत्वलाई आत्मसात गर्दै यस सन्दर्भमा ‘क्रान्तिभित्र क्रान्ति’ गर्नुपर्छ भन्ने ठाउँमा आइपुग्यो ।
    दुश्मन र वर्गशत्रुमाथि त बल प्रयोग गर्नु जायज नै हो । तर, जनयुद्घका क्रममा कतिपय अवस्थामा माओवादीबाट मित्रशक्तिमाथि पनि बल प्रयोग भयो । ०५७ साल पुसमा एकताकेन्द्रको दोस्रो राष्ट्रिय सम्मेलन भयो । त्यसले निष्कर्ष निकाल्यो । माओवादीको सकारात्मक पक्ष पनि छ, केही शक्ति आर्जन गरेको छ । माओवादी आन्दोलनले प्रतिक्रियावादीको सत्ता संकटलाई चर्काएको छ । जनआकांक्षालाई सतहमा ल्याएर त्यसका निम्ति संगठित हुन उत्प्रेरित गरेको छ । यद्यपि जनयुद्घ क्लाइमेक्समा छ, अब सरासर केन्द्रीय सत्ता कब्जा गर्छौं भनेर गएमा ठूलो क्षति हुनेवाला छ । प्रतिगमन संस्थागत भएर जाने खतरा पनि छ । यस्तो अवस्थामा कम्युनिष्टमाथि ठूलो दमन हुँदा राष्ट्रियता खतरामा परेर जाने सम्भावना पनि उत्तिकै छ । यो चुनौतिपूर्ण अवस्थामा माओवादी आन्दोलनको रक्षा गर्ने, उसको शक्तिसमेतबाट अग्रगामी परिवर्तन गर्ने र तत्काल सशस्त्र संघर्षको निरन्तरताबाट हुने क्षतिलाई रोक्ने । यसको निम्ति एउटै उपाय थियो—सरकार र माओवादीबीचको वार्ता । त्यही विश्लेषण गर्दै प्रकाशको आयोजनामा ०५८ सालको प्रारम्भमा (जुन २००१) सिलगुडीमा वामपार्टीहरुको बैठक सम्पन्न भयो, जसमा एकताकेन्द्रका तर्फबाट आयोजक अर्थात् महासचिव प्रकाश, माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु बाबुृराम भट्टराई र मोहन बैद्य, एमालेबाट महासचिव माधव नेपाल, ईश्वर पोखरेल, तत्कालीन मालेका महासचिव वामदेव गौतम, नेमकिपाको अध्यक्ष नारयणमान विजुक्छे र मशालबाट रामसिंह श्रीस सहभागी थिए ।
    त्यही ऐतिहासिक बैठकमा सरकार र माओवादीबीचमा वार्ता हुनुपर्छ, त्यसलाई जनताको पक्षमा प्रयोग गर्नुपर्दछ भन्नेमा सहमति भएको थियो । त्यो बैठकमा गणतन्त्र र संविधानसभालाई एजेण्डा बनाएर छलफल गरिएको थियो । सो बैठक दरवार हत्याकाण्डलगत्तै भएकाले माओवादीले गणतन्त्रको संस्थागत विकासमा जोड दिएको थियो । त्यसबेला नेकपा (एकताकेन्द्र) को तर्फबाट प्रकाशले गणतन्त्रको नारालाई सशक्त रुपमा उठाऔं, तर तात्कालीक निकास भने संविधानसभा नै हुन सक्दछ र यसैलाई मूल कार्यनीतिक नारा बनाउनु पर्दछ भनेका थिए । सो बैठकमा एमाले महासचिव माधव नेपालले व्यक्तिगत रुपमा संविधानसभाको नारामा सहमत छु, तर पार्टीमा गएर कुृरा राख्छु भन्ने धारणा राखेका थिए । मसाल सहमत भएको थिएन । अरु वामहरु भने सहमतिमा आएका थिए । काठमाडौं फर्केपछि एमालेले सो बैठकको सहमतिलाई तोडेर गएको थियो । यद्यपि त्यसले सम्पूर्ण वामघटक एक भएर देशको समस्या हल गर्नुपर्छ भन्ने रोडम्याप प्रस्तुत गरेको थियो । सो आज पनि त्यतिकै महत्वपूर्ण र अनुकरणीय छ भन्ने प्रकाशको ठम्याइ छ ।
    सो बैठकदेखि आजसम्म आइपुग्दा माओवादी र एकता केन्द्रका बीचमा धेरै पटक बहस छलफल हुँदै आउने क्रममा विगतका धेरै मतभेदहरु हल भइसकेका छन् । अब बाँकी भनेको सैद्घान्तिक विषय माओवाद, माओविचारधारा र प्रचण्डपथको विषयमा मात्र हो । माओवादीले प्रचण्डपथ तत्काललाई छाड्ने र पथप्रदर्शक सिद्घान्तमा माक्र्सवाद—लेनिनवाद—माओवाद विचारधारा राख्ने र माओवाद, माओविचारबारेको मतभेद छलफलद्वारा सहमतिमा पुगेर हल गर्ने गरी पार्टी एकीकरण गर्ने विषयमा दुवै पार्टी बीचमा सहमति भइसकेको छ । चुनावअगाडि भने समयको चाप र प्राविधिक कारणले एकता हुन सकेन । अब सो एकता क्रियान्वयनको दिशातिर अघि बढिरहेको छ ।
    विगतमा फुट र गुटको राजनीतिमा रुमल्लिएका वामघटकहरु मिल्नु सकारात्मक कुरा हो, तर पुनः फुट्ने गरी हुने एकताको के अर्थ छ ? भन्ने प्रश्नमा प्रकाश भन्छन्—‘क्रान्तिलाई केन्द्रमा राखेर नै हामीहरुले एकतामा जोड दिएका हौं । हामीहरु फुट्दाखेरि रुँदैरुँदै अर्को कालखण्डमा भेटौंला भन्दै छुटेका थियौं । अब हाम्रो भेट हुँदैछ । हाम्रो एकता सुदृढ हुनेछ ।’
    जनआन्दोलनको क्रममा एउटा लामो छलफल, बहस र प्रक्रियाबाट आएका यी दुवै पार्टीहरु आफ्ना मतभेदलाई वैचारिक संघषबाट सार्वजनिक गर्दै अगाडि बढेका थिए । साझा रुपमा उनीहरुले जति मिलेर अरु वामपार्टीले काम गरेका पनि छैनन् । पार्टीभित्र गुट र अवसरवाद छ, पार्टी बाहिर पार्टी छ भन्ने माओको भनाइलाई मनन गर्दै हामीहरु फरक पार्टीमा भएपनि एउटै विचार र एउटै पार्टीजस्तो ठान्थ्यौं, प्रकाश स्मरण गर्छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका चुनौतिहरुलाई एक भएर परास्त गर्न र क्रान्ति सम्पन्न गर्न पनि क्रान्तिकारीहरुबीच एकताको खाँचो बढेर गएको उनको ठहर छ ।

निष्ठावान क्रान्तिकारी नेता- प्रचण्ड, नेकपा माओवादी केन्द्र

शान्ति प्रक्रियामा ठूलो भूमिका- माधवकुमार नेपाल, नेकपा एमाले

प्रचण्डसँग भेटाइदिने प्रकाश – डा. देबेन्द्रराज पाण्डे

सम्पूर्ण रुपमा क्रान्तिकारी नेता – गिरीराजमणि पोखरेल, नेकपा माओवादी केन्द्र

 

 

(Visited 318 times, 1 visits today)

टिप्पणी

comments