Main Menu

सम्पादकीय

नेपालीको चाड आमा दिवस

नेपालमा जैविक विविधता जति छ त्यति नै सामाजिक र सांस्कृतिक विविधता पनि । हिमालदेखि तराईसम्मको भौगोलिकता भएको कारणले यहाँ पृथ्वीको ध्रुवीय चिसो मौसमदेखि भूमध्यरेखीय उष्ण मौसमसम्मको विविध पर्यावरण भेटिन्छ । वर्षभरि बाक्लो लुगा लगाउनुपर्ने अवस्थाका जनतादेखि गर्मीमा लगभग लुगा लगाउनै नपर्ने अवस्थाका जनतासम्मका नेपालीहरु छन् । हिमाली क्षेत्रका हिउँ चितुवादेखि तराईका जङ्गलमा विश्वकै दुर्लभ एक सिङ्गे गैंडासम्मका जनावरहरु पाइने गरीको विविधता नेपालमा छ । त्यस्तै गरी उच्च लेक क्षेत्रमा पाइने यार्चागुम्बादेखि तराईका जङ्गलमा पाइने असङ्ख्य जडिबुटीलगायत साल, सिसौ आदि थरिथरिका रुख विरुवाहरु नेपालको बनस्पतीय विविधताको नमूना हो । ६० भन्दा बढी आदिवासी जनजातिहरु, अझै कविला अवस्थामा रहेका राउते र चेपाङ र एक सयभन्दा बढी भाषाभाषीहरु भएको देश नेपाल साँच्चीकै विश्वकै नमूना विविधतायुक्त मुलुक हो ।

धर्म सम्प्रदायको कोणबाट पनि हिन्दू, इस्लाम, ईसाइ, जैनलगायत थुप्रै समुदायहरु नेपालमा बसोबास गर्छन् । सम्पूर्णमा नेपाल एक विविधताको अत्युत्तम विशिष्ट मुलुक हो । विविधता नेपालको मौलिकता हो । विविध भौगोलिक अवस्थित, भाषा, धर्म र संस्कृति भएका विविध जनसमुदायहरुका आ-आफ्नै चाडबाड र संस्कारगत परम्पराहरु रहेका छन् । तर, ती सबै विविधतालाई सांस्कृतिक परम्परामा जोड्ने एउटा चाड छ, त्यो हो आमा दिवस ।

हो, आमा दिवस । यो दिवस कुनै पनि धर्म सम्प्रदाय, धर्म नै नअङ्गाल्ने परिवार वा समुदाय, हिमालदेखि तराईसम्मका विविध संस्कृतिका जनसमुदाय, महिला, पुरुष सबै सबैले मनाउन सकिने चाड हो । किनकि, व्यक्ति अस्तित्वमा आउँन आमाको भूमिकालाई कुनै धर्म, संस्कृति, स्थानीयता, लिङ्ग कसैले र कुनैले पनि नजरअन्दाज गर्न सक्दैन । हुन सक्छ इतिहासमा आमा दिवस कुनै विशेष धर्म सम्प्रदाय वा स्थानबाट सुरु भयो होला । तर, यो नितान्त आमालाई सम्मान गर्ने गैरधार्मिक, गैरस्थानीयता, गैरजातीय र गैरलिङ्गीय दिवस हो । आमालाई सम्मान गर्न कुनै धर्म, संस्कृति, स्थानीयता र लिङ्गीय विशेषताले छेक्दैन । किनकि, आमा भनेकी आमा नै हुन् । आमा बिना जीवनको उदय सम्भव छैन । त्यसैले आमा सबभन्दा बढी सम्मानयोग्य जीवन हो ।

कसैले भन्ला जीवन त बाबु बिना पनि त आउँदैन । यो असत्य होइन । तर, विज्ञानको कुरा गर्ने हो भने सैद्धान्ति दृष्टिमा जीवन बाबु बिना पनि सिर्जना गर्न सकिन्छ, आमा बिना सकिन्न । यो कसरी ?

गत बिसौं शताव्दीको अन्तिम दशकमा बेलायतमा वैज्ञानिक इयान विल्मतले डोली भेँडीलाई क्लोनिङ गरी जन्माए । डोली भेँडी उसकी आमाको शरीरको सोमाटिक कोष (शरीरमा वंशाणु बोक्ने पूरा सङ्ख्याका क्रोमोजोम भएका सोमाटिक कोष र आधा मात्र क्रोमोजोम सङ्ख्या बोक्ने प्रजनन् कोषहरु हुन्छन् । सोमाटिक कोषहरु शरीरभरि जताततै हुन्छन् भने प्रजनन् कोषहरु भनेका भालेका शुक्रकीट र पोथीका डिम्बहरु हुन्) मात्र प्रयोग गरेर क्लोनिङ प्रविधिबाट गर्भाधान गरी जन्माइएको हो । डोलीमा आमाका मात्र वंशाणुहरु छन् । डोलीको कुनै बाबु छैन । छ त केबल आमा ।

विज्ञानमा क्लोनिङ प्रविधिको विकासले के सिद्ध गरिदियो भने जीवनको उदय बाबु बिना पनि सम्भव रहेछ । तर, आमा बिना चाहिँ सम्भव छैन । किनकि, जीवन अङ्कुराउन पोथीको डिम्ब नभई सम्भव छैन ।

डिम्ब पोथी, महिला वा आमामा मात्र हुन्छ । भाले, पुरुष वा बाबुमा डिम्ब हुँदैन । त्यसैले प्रकृतिले जीवन सिर्जनाको प्राथमिक व्यक्ति आमालाई बनाएको प्रष्ट छ । बच्चा जन्मिएपछि आमाले दूध ख्वाउने, स्याहार सुसार गर्ने, संस्कार दिने, हुर्काउने, अपार प्रेम दिने आदि भौतिक एवं भावनात्मक पक्ष त थप कुराहरु हुन्, जसलाई कुनै पनि मानव समुदायले नकार्न सक्दैन ।

यसरी जैविक एवं भावनात्मक दृष्टिबाट पनि जीवनका लागि प्राथमिक व्यक्तिका रुपमा रहेकी आमालाई आदर, सम्मान गर्ने संस्कृति आम मानव संस्कृतिको रुपमा रहनु जरुरी छ । गर्वको कुरो यो रहेको छ कि यो संस्कृति नेपालमा एक मौलिक संस्कृतिको रुपमा प्राचीन समयदेखि चल्दै आइरहेको छ । हुन सक्छ यो संस्कृति अझै कुनै धार्मिक सम्प्रदाय, क्षेत्र वा जातिमा प्रचलित भइसकेको छैन । तर, यसलाई आम नेपालीहरुको साझा मौलिक संस्कृतिको रुपमा विकसित गर्नु जरुरी छ । आमालाई सचेत सबै मानवले उत्तिकै आदर र सम्मान गर्नु आवश्यक छ । आमा दिवस त्यसको लागि महत्वपूर्ण आम चाड हुन सक्छ । आमा दिवसको उपलक्ष्यमा सबै आमाहरुप्रति आदर र सम्मान प्रकट गर्न समस्त मानव जातिमा हामी आह्वान गर्दछौं ।

(Visited 96 times, 1 visits today)

टिप्पणी

comments