Main Menu

स्वास्थ्य

स्मरणशक्ति कसरी प्राप्त हुन्छ ? कसरी बढाउने ?

  • डा. टंकप्रसाद ओझा

memory-increase-studentsके तपाईं आफ्नो स्मरणशक्ति देखी प्रसन्न हुनुहुन्छ ? ज्ञानगुनका धेरै कुराहरु मस्तिष्कमा टिपाउन एक दुई पटक पढेर धेरै समयसम्म सम्झिरहन सकेमा कति आनन्द हुन्थ्यो होला ! चाहे घरमा काम गर्ने गृहिणी होउन् वा कक्षा–कोठामा पढाउने शिक्षक, अथवा कार्यालयमा काम गर्ने कर्मचारी वा एक व्यापारी नै किन नहोउन्, सबैलाई आफ्नो स्मरणशक्ति बढाउने तीब्र इच्छा, अभिलाषा पक्कै हुन्छ । के हामीले हाम्रो मस्तिष्कको बनावट एवं सूचना–खबर सम्पादन गर्दै जम्मा गरी राख्ने प्रक्रियाको बारेमा कहिल्यै सोचेका छौं त ? मान्छे उही हो, किन कोही गोबरगणेश हुन्छन् त, कोही अत्याधुनिक यन्त्रको निर्माण गरेर पत्याउनै नसक्ने उपलब्धि हात पार्ने क्षमताका हुन्छन ? किन कोही सबै विषयमा फेल हुन्छन् त, कोही विशिष्ट श्रेणीमा उत्तिर्ण हुन्छन् ? यी सबै जान्ने हामीमा कौतुहल हुनु स्वाभाविक छ । एकछिन यहाँ हामी स्मरणशक्तिको सञ्चयप्रक्रिया, मजबुत बनाउने तरिका एवं हाम्रो मस्तिष्कको संरचनामाथि केही प्रकाश पार्ने कोशिश गरौं । 

संरचना 

जन्मेदेखि नै हाम्रो मस्तिष्कको बढ्ने क्रम जारी हुन्छ । बच्चाबच्चीको एकवर्षे कालसम्म छातीको परिधिभन्दा टाउकाको परिधि तीन सेन्टिमिटरले ज्यादा हुन्छ । बच्चाबच्ची जन्मिँदा टाउकाको परिधि ३५ से.मी., तीन महिनामा ४० से.मी., सात वर्षमा ५० से.मी. एवं १२ वर्षमा ५२ से.मी. हुन्छ । टाउकाको परिधि बढ्नु भनेको मस्तिष्कको कोषको संख्यामा पनि बृद्धि हुनु हो । गर्भावस्थाको अन्तिम महिनाहरु एवं जन्मेको शुरुका महिनाहरुमा बच्चाबच्चीको मस्तिष्क द्रूत गतिमा वृद्धि हुन्छ । बच्चाबच्ची जन्मँदा उसको मस्तिष्कको तौल एक वयस्ककोभन्दा जम्मा ७० प्रतिशत जति मात्र रहेको हुन्छ । तर दुई वर्षमा नै त्यो झण्डै ९० प्रतिशत पुगिहाल्छ ।

मस्तिष्कमा सबैभन्दा बाहिरको भाग सेरिब्रम कोर्टेक्स खाल्डा–खुल्डी परेको हुन्छ । सेरिब्रम कोर्टेक्सको ग्रे म्याटर(Grey Matter) अर्थात् खैरो भागले नै हाम्रो बुद्धिमताको पहिचान दिन्छ ।

मस्तिष्कका कोषहरुलाई न्यूरोन भनिन्छ । एक मध्यम दिमागमा झण्डै १५ सय करोड अर्थात् १५ अरव न्यूरोन हुन्छन् । न्यूरोनको बीचमा न्यूक्लियस हुन्छ भने वरिपरि हाँगारुपी डेन्ड्राइटहरु हुन्छन् । डेन्ड्राइटहरुले  एक न्यूरोनलाई अन्य न्यूरोनसँग मेल गराएको हुन्छ र अध्ययनले के प्रमाणित गरेको छ भने यही पारस्परिक मिलाप नै मानिसको सिक्ने प्रक्रिया एवं स्मरणको आधार हो । टेलिफोनको तारभन्दा हजारौं गुणा बढी यी न्यूरोन एक अर्कामा जोडिएका हुन्छन् । मस्तिष्कभित्रका यस्ता कैयौं प्रक्रियाहरुको खोज एवं अनुसन्धान जारी नै छ । 

मस्तिष्कका देब्रे एवं दाहिने भागका काम फरक-फरक छन् । सन् १९६० मा एक चिकित्सकले छिनछिनमा बेहोश हुने व्यक्तिको ‘कर्पोस क्यालोजम’ निकालिदिए । डाक्टर रोजर स्पेरी नामक अर्का चिकित्सकले ती व्यक्तिको अध्ययन गर्दा उनका देब्रे एवं दाहिने दिमागले सोच्ने र गर्ने काम फरक पाए । यस कार्यको निम्ति डा. रोजर स्पेरी संसारकै सम्मानित नोबेल पुरस्कारबाट पुरस्कृत भए । यस्ता अध्ययन कार्यहरु आज पनि जारी छन् । किनकि मस्तिष्कले गर्दा नै मानिस सर्वश्रेष्ठ प्राणी भएको छ र ऊ सिक्न सदा भोको भइरहेको हुन्छ । यो नै उसको सफलताको गोप्य सूत्र हो । 

मानिसको देब्रे भाग तर्कशील (logical) हुन्छ । यसले बोली, शब्द र भाषा नियन्त्रण गर्छ । त्यस्तैगरी यसले क्रमसँगै एकएक गरी सोच्न सक्छ । दायाँ भाग भने सृजनशील (creative) भाग हो । यसले रङ्ग चिन्छ एवं चित्रबारे सोच्न सक्छ, सुमधुर संगीत सञ्चित गर्न सक्छ । देब्रे मस्तिष्कले शरीरको दाहिने भागलाई नियन्त्रण गर्छ भने दाहिने भागले देब्रे भागलाई । वैज्ञानिकहरुका अनुसार बच्चाकालमा हामीले मस्तिष्कको दुवै भागको प्रयोग गरेका हुन्छौं । तर युवावस्थातिर हामीले दायाँ भागको कम प्रयोग गरेका हुन्छौं, किनकि सबै मान्छे चित्र बनाउने वा संगीत सुन्ने प्रवृत्तिका हुँदैनन् । चित्र बेगर टिपोट टिप्ने हाम्रो बानी एवं सिधा रेखामा किताबी शैलीले लेख्ने बानी बोदो दिमाग हुने एक प्रमुख कारण हो भनी वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् । त्यस्तै जान्दै नजानी, बुझ्दै नबुझी ‘सुगा रटन्ते’ पढाइले जाँचमा सफल (पास) गराए पनि अन्तत्वगत्वा अभिशाप नै हुने कुरा सबैले जानिसकेका छौं ।

अब पढेका कुरा कसरी बुझ्ने एवं सम्झना गर्ने भन्नेबारे केही कुरा गरौं ।

स्मरणक्रिया न्यूरोनको ‘सिनाप्टिक’ सञ्चार माध्यमबाट हुन्छ । न्यूरोनको कार्य सूचना सञ्चार गर्ने हो । मस्तिष्कमा एक कोषबाट अर्को कोषमा निरन्तर सूचना प्रवाह भइरहेको हुन्छ । त्यहाँ नयाँ बाटाहरुबाट सूचना लेनदेन भइरहेको हुन्छ । एकपटक प्रवाह भएको बाटोलाई बारम्बार सोचेर, प्रयोग गरेर मजबुत बनाउनुपर्छ र अनि मात्र उक्त बाटोमा प्रवाह भएको कुरा सदा सम्झना भइरहन सक्छ । त्यसैले कुनै पनि कुरा जतिपटक सोच्यो, उति सम्झना हुन्छ ।

स्मरणशक्ति कति किसिमका हुन्छन् ? 

क) छोटो अवधिको स्मरणशक्ति (Short-term memory)

यो स्मरण प्रक्रिया केवल केही सेकेन्ड वा मिनेटसम्म मात्र हुन्छ, अनि भुलिन्छ । जस्तै कुनै गाडीको नम्बर, भीडमा देखिएका मान्छे, कसैको फोन नम्बर आदि देखिन्जेल मात्र थाहा हुन्छ । एकछिन पछाडि ती सबै भुलिन्छन् । 

ख) मध्यम अवधिको स्मरणशक्ति (Intermediate-term memory)

कुनै कुराको सम्झना केही दिन वा हप्तासम्म हुनसक्छ तर पुनः नदोहोराएमा बिर्सिन्छ । हामीले पत्रिका पढ्दा वा समाचार सुन्दा कतिपय कुरा भुलिसकेका हुन्छौं । यो यस अन्तर्गत पर्छ । 

ग) उच्च स्तरको स्मरणशक्ति (Long-term memory)

मान्छेले खूब इख लिएर गरेका कुरा एवं दत्तचित्त दिएर गरेका कामहरु वर्षाैंसम्म पनि ताजा नै रहन सक्छन् । वास्तवमा भन्ने हो भने विभिन्न प्रक्रियाबाट स्मरणशक्ति सञ्चित हुन्छन् । सेरोटोनिन, याडेनाइलसाइक्लेज, साइक्लिक याडेनोसाइड मोनोफोस्फेट, प्रोटिन काइनेज, पोटासियम, क्याल्सियम जस्ता तत्वहरु स्मरणशक्ति बढाउन नभई हुँदैन । वैज्ञानिक वाइर्न एवं उनका साथीहरुले प्रयोगशालामा शंखेकीरामाथि गरेको अध्ययनले पनि स्मरण हुने प्रक्रियामा एक नयाँ उचाइ थपेको छ । 

छोटो स्मरणशक्ति बढाउने तरिका

छोटो अवधिको स्मरणशक्तिलाई लामो समयसम्म सञ्चित गर्न न्यूरोनको सिन्याप्स प्रक्रियामा परिवर्तन ल्याइनुपर्छ । रासायनिक एवं भौतिक संरचनामा फरकपन ल्याइनुपर्छ । न्यूरोन एक अर्कामा सम्पर्क हुदाँ सिन्याप्स बन्दछ । सूचनालाई मध्यमस्तरीय स्मरण गर्न कम्तीमा ५–१० मिनेटसम्म त्यो कुरालाई विभिन्न रुपबाट मनन गर्नैपर्छ । कहिले चित्र कोरेर, कहिले सूत्र बनाएर वा कहिले नौलो काल्पनिक वस्तु रचेर उक्त कुरालाई मनभित्र खेलाउँदै मत्थर बनाउनुपर्छ । हामीमा कुनै नयाँ सम्झनालाई दिमागमा त्यसै जथाभावी नराखी पहिलेका सम्झनाहरुसँग सम्बन्धित गराएर सञ्चित भएको हुन्छ । 

स्मरण गर्ने भाग

मस्तिष्कको हिप्पोक्याम्पस (hippo-campus) भागले स्मरण बढाउन वा सूचना सञ्चित गर्न सहयोग गर्छ । वैज्ञानिकहरु भन्छन्, हिप्पोक्याम्पस र यसको डाएन्सिफेलोनसँग जोडिएको भागको साथै कर्पोस स्ट्राएटम भाग स्मरण संचय गर्ने प्रमुख भाग हुन् । एमिग्डला (amygdala) एवं अन्य भागको भूमिका पनि अपरिहार्य छ । प्रोटिनबाट बन्ने डिएनए (DNA) एवं आरएनए (RNA)ले सम्झना बढाउन सहयोग गर्छन् । 

स्मरण कम हुने रोग 

‘अल्जिमर’ रोगमा सम्झना शक्तिको प्रचुर ह्रास भएको हुन्छ । यस्तो हुनुको कारण यसमा कोलिनर्जिक न्यूरोनको ह्रास हुनु हो । बुढेसकालमा पहिलेका कुराहरु सम्झना हुन्छन् । तर तत्कालिन नयाँ कुरा चाहिँ चाँडै नै भुलिन्छ, यसलाई ‘रेट्रोग्रेड याम्नेसिया’ भनिन्छ । कुनै पनि औषधि हालसम्म स्मरण बढाउनको लागि सक्षम छैनन् । मान्छे जब बुढो हुन्छ, उसको सम्झना केवल उसको क्षेत्रका कुराहरुसँग मात्र हुन्छ । नयाँ कुराहरु एकदमै कम मात्र सम्झन सक्छ । जस्तै एउटा प्राध्यापकले आफ्नो पढाइका कुराहरु बिर्सेका हुँदैनन् । तर नयाँ मान्छेको नाम, टेलिफोन नम्बर एवं दैनिक कार्य सबै बिर्सन सक्छन् । 

विद्यार्थीहरुले स्मरण शक्ति बढाउने तरिका 

आफूले गरेको काममा प्रथम भई नाम, दाम कमाउन कसलाई रहर हुँदैन र ? स्मरण शक्ति एकैछिन, एकै दिनमा कहिल्यै बढाउन सकिन्न । यसको लागि निरन्तर मिहिनेत एवं परिश्रम गरिराख्नु पर्छ । काम गर्ने शैली परिवर्तन गर्नुपर्छ एवं कुनै पनि काम भित्री मनबाट नै इख लिएर गर्नुपर्छ । भनिन्छ विष नभएको सर्प र इख नभएको मान्छेको काम छैन रे ! विद्यार्थी वर्गलाई त स्मरण शक्तिमा कमी हुदाँ आपत पर्न सक्छ, परिक्षामा असफल हुने डर हुन्छ । आउनुहोस् हामी यहाँ स्मरणशक्ति बढाउने केही तरीकाहरुका बारे चर्चा चलाऔं । 

१. स्मरणशक्ति बढाउन निकै छिटो मनमनै पढ्नुपर्छ । छिटो पढ्नु एवं पुरै वाक्य नपढी महत्वपूर्ण शब्द छान्दै पढ्नु निकै महत्वपूर्ण कुरा हो । छिटो पढ्दा थोरै समयमा धेरै पढ्न सकिन्छ । छिटो पढ्ने व्यक्ति छरिता र चलाख हुन्छन् । 

२. पढ्दा कुनै पनि पढिसकेका कुरालाई जीवनमा घटेका रमाइला, निराशा वा मनछुने घटनासँग दाँज्दै, सम्बन्ध गाँस्दै पढ्नुपर्छ । 

३. सम्झना दह्रो पार्न बारम्बार पढेका कुराहरु दोहोर्याउनुपर्छ । अध्ययनले देखाएको छ– एकपटक पढेका कुरा एक दिनपछि जम्मा अठार प्रतिशत मात्र सम्झिन्छ, एक महिनापछि जम्मा पाँच प्रतिशत मात्र याद हुन्छ, त्यसैले दैनिक दोहोर्याउनु उत्तम हो । 

४. दैनिक कसरत गरी स्वस्थ रहनु एवं सन्तुलित भोजन– विशेषतः प्रोटिन, भिटामिन आदि खानुले पनि स्मरणशक्ति बढाउन भिटामिन ‘सी’ पनि यसको लागि लाभदायक हुने विज्ञहरु बताउँछन् । 

५. चित्र वा शब्दचित्र बनाएर पढ्नु निकै उत्तम मानिन्छ । परम्परागत लामा रेखाका नोट बनाउने तरीकाले समय नोक्सान हुने भएकोले त्यसलाई त्यति राम्रो तरीका मानिन्न । किताबमा वा नोटमा पनि धेरै र कम महत्वपूर्ण कुरालाई चिन्ह लगाएर पढ्नुपर्छ । पढेका कुरालाई किताबै नहेरी चित्र (mind map) बनाउँदै नोट तयार गर्नु राम्रो हो । 

६. विद्यार्थीहरुले जाँचको बेलामा पढाइबाहेक अन्य अनावश्यक कुरामा ध्यान दिनैहुन्न । त्यस समयमा आफूलाई काम नलाग्ने कुराहरुबाट पर राखेर पढाइका टिपोटहरु पटकपटक दोहोर्याइरहनु पर्छ । पहिलेका प्रश्नपत्रलाई सीमित समयावधिभित्र हल गर्नुपर्छ र आफ्ना गल्ती दक्ष व्यक्तिबाट पत्ता लगाइनुपर्छ । 

७. आफूमा सदा ‘मैले स्मरण गर्न सक्छु’ भन्ने आत्मविश्वास राखिराख्नुपर्छ । 

८. कल्पना गरेर सोच्ने शक्तिमा विकास गर्नुपर्छ । सूत्र बनाई पढ्नुपर्छ । रङ, चित्र एवं इन्द्रीय शक्ति, संख्या दैनिक कुरासँग कुनै कुरा जोड्दा कतिपयमा लाभदायक पनि हुनसक्छ । जे होस्, दत्तचित्त दिएर बारम्बार पढेमा वा तार्किक, भई अध्ययन गरे सबैलाई फाइदा नै हुन्छ । स्मरण शक्ति बढ्न सक्छ ।

(Visited 1,779 times, 1 visits today)

टिप्पणी

comments