Main Menu

विज्ञान

विज्ञान चिन्तनका वैज्ञानिक स्टेफेन हकिङ

शिर्षक पढ्दा कसैलाई अचम्म लाग्ला । सबै वैज्ञानिक विज्ञान चिन्तनका त हुन्छन् नै हकिङको सन्दर्भमा नै त्यस्तो किन भनिएको होला भन्ने कसैलाई लाग्ला । यस्तो लाग्नु स्वभाविक छ । तर, यथार्थ सुन्ने हो भने अर्को अचम्म लाग्ने कुरो पनि छ, त्यो हो कैयौं वैज्ञानिकहरु विज्ञान सम्मतभन्दा पनि मान्यतामा आधारित भएर चिन्तन गर्ने गर्छन् । अमेरिकाको एउटा नामी विश्वविद्यालयबाट विद्यावारिधि गरेका एक नेपाली वैज्ञानिकले मलाई एउटा घटना सुनाए । उनी भन्छन्, ‘एक अमेरिकी बायोफिजिसिस्टले डार्विनको विकासवादी सिद्धान्तलाई कहिल्यै नमान्ने बताए, किनकि विकासवादी सिद्धान्त बाइबलको मान्यताविरोधी छ’ । उनले अर्काे रमाइलो कुरा पनि सुनाए कि बेलायत त डेमोक्रेटिक मुलुक हो र त्यहाँ सबै खाले बिचार व्यक्त गर्न पाइन्छ, त्यसैले त्यहाँको विश्वप्रख्यात अक्सफोर्ड विश्वविद्यालयमा अहिले पनि पृथ्वी चेप्टो भएको तर्क गर्ने बिचारकहरुले प्रवचन गर्ने गर्छन् । पृथ्वी गोलो छ भन्ने कुरो बाइबलमा कहिँ उल्लेख छैन, त्यसैले अरस्तूभन्दा अगाडिको मान्यता बोक्ने बिचारकहरु पनि अझै पश्चिमा मुलुकमा बाँकी रहेछन् ।

महान् वैज्ञानिक न्यूटनले ग्रहहरुले सूर्यलाई घुम्ने गुरुत्वाकर्षणको सिद्धान्त त प्रतिपादन गरे, तर उनले ग्रहहरुले कहिलेबाट घुम्न सुरु गरेका हुन् आफ्नो गणितबाट भन्न सकेनन् । र, उनले त्यो प्रश्नको हल गर्न ईश्वरलाई जिम्मा दिए । ब्रम्हाण्ड सञ्चालनकै सवालमा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन स्वयंले ‘ईश्वरले जुवा खेल्दैनन्’ भन्ने अभिव्यक्ति दिँदै ईश्वरको अस्तित्वबारे अस्पष्ट बिचार राखे ।

विज्ञानले कुनै पनि कुरालाई बिना आधार कसैको भरोसामा छोड्दैन । मलाई लाग्छ वा कोही मान्नेजनले भनेको भन्ने आधारमा सत्य सावित गर्ने कुरा विज्ञानमा हुँदैन ।

चिकित्सा विज्ञानमा सिद्धहस्त डाक्टरहरु जटिल रोगका बिरामीलाई उपचार गर्दागर्दा आफूलाई भरोसा लाग्न छोड्दा बिरामीका आफन्तलाई भन्ने गर्छन्, ‘अब ईश्वरलाई भरोसा गर्नुहोस्, अन्तिममा हामीलाई साथ दिने ईश्वर छँदैछन् नि’ ! बिरामीलाई उपचार गर्ने डाक्टर भनेका विज्ञानले विकास गरेको आधुनिक चिकित्सा पद्दतिलाई प्रयोग गर्ने विज्ञानकर्मीहरु हुन् । अझ त्यसभित्र चिकित्सा विज्ञानमै अनुसन्धानमा लागिरहेका वैज्ञानिकहरु पनि पर्दछन् । तर, उनीहरुभित्र नै कैयौंले बिरामीहरुलाई ईश्वरले साथ दिने झूठा आश्वासन दिइरहेका हुन्छन् ।

हामीकहाँका ठूलाठूला अस्पतालहरुमा देवी देवताहरुका मन्दीर र चित्रहरु समेत राख्ने गरिएको भेटिन्छ । अझ कुनै कुनैमा त आधुनिक समयका ईश्वरहरु कोही महाराजाको नाममा, कोही भगवानको नाममा, कोही माँको नाममा प्रचारित धर्मभिरुहरुका फोटाहरु झुण्ड्याइएको पाइन्छ ।

विज्ञान एक शास्त्र हो, अर्थात् ज्ञान क्षेत्र एवं ज्ञान पद्दति हो, जसले सत्य पत्ता लगाउन खोज, अनुसन्धान, प्रयोग, परीक्षण र तर्कलाई आधार बनाउँछ, मनगढन्त बिचार र मान्यतालाई होइन । आधार बिनाको, तर्क सङ्गत नभएको, प्रयोग र परीक्षणबाट बारम्बार पुष्टि नभएको कुरा सत्य नहुने विज्ञानको ठहर हुन्छ । विज्ञानले कुनै पनि कुरालाई बिना आधार कसैको भरोसामा छोड्दैन । मलाई लाग्छ वा कोही मान्नेजनले भनेको भन्ने आधारमा सत्य सावित गर्ने कुरा विज्ञानमा हुँदैन । कसैलाई लाग्ने वा कोहीले भनेको भन्ने भन्दा पनि आधार छ कि छैन या तर्क, प्रयोग एवं परीक्षणबाट पुष्टि हुन्छ हुन्न भन्ने कुराको महत्व विज्ञानमा हुन्छ ।

प्राकृतिक घटना, परिघटना, वस्तुको अस्तित्व या लोपबारे मानिसलाई तत्काल पर्याप्त ज्ञान नहुन सक्छ । तर, त्यसको अर्थ के हुन्न भने ती कुराहरु कसैले त्यतिकै भनिदिएको भरमा परिभाषित हुन सक्छ । मानिसलाई हिजो आकाशबाट पानी पर्नुको कारणजस्तो सानो कुराको पनि ज्ञान थिएन । र, त्यस सवालमा विविध खाले कथाहरु पनि बुनिए । हिन्दू मान्यतामा पानी पार्ने काम इन्द्र देवताको हो भनियो । अहिलेसम्म पनि त्यस कुरामा विश्वास गरी हिँड्ने मानिसहरु बग्रेल्ती पाइन्छन् । विज्ञानले त्यसको खोज गर्यो र कारण पत्ता लगायो । प्राकृतिक पानी चक्रमा पृथ्वीको सतह (जमिन र समुद्र)मा रहेको पानी सूर्यको तापले वाफिएर वायुमण्डलमा जाने र त्यो निश्चित उचाइमा पुगेपछि चिसोको कारणले पानीका कणहरु एकआपसमा नजिकीँदा बादल बन्ने र त्यो बादल पनि चिसोले बाक्लिँदै जाँदा पानीका कणहरु थोपामा परिणत भई गह्रौं भएर सतहमा खस्दा नै वर्षा हुने सत्यता अब सामान्य कुरा भइसक्यो । यी कुराहरु विज्ञानको खोज र अनुसन्धानबाट पत्ता लागेका कुराहरु हुन् । प्रकृतिमा अझै कैयौं कुराहरु छन्, जसलाई मानव ज्ञानले अझै बुझ्न बाँकी छ र त्यसको लागि नै विज्ञानले निरन्तर काम गरिरहेको छ ।

सन् १९२४ अगाडिसम्म यो विश्वब्रम्हाण्ड भनेको हाम्रो आकाशगङ्गा तारापुञ्ज मात्र हो भन्ने विश्वास गरिन्थ्यो, किनकि विज्ञान त्योभन्दा पर जान सकेको थिएन । तर, सन् १९२४ मा जब अमेरिकी खगोलशास्त्री इडविन पावेल हब्बलले आफ्नो १ सय इञ्च व्यासको टोलिस्कोपले आकाशमा अवलोकन गरी आकाशगङ्गा तारापुञ्जभन्दा पर पनि अन्य तारापुञ्जहरु भएको पत्ता लगाए, तब हाम्रो ब्रम्हाण्डको सीमा बढ्यो ।

तथ्य र तर्कको आधारमा वस्तु र घटनालाई बुझ्ने एवं व्याख्या गर्ने काम विज्ञानले गर्दछ । अर्को, विज्ञानले वस्तु तथा घटनालाई स्थिरतामा होइन गतिमा हेर्दछ । त्यसले वस्तु तथा घटनामा हुने गतिको कारण हुने मान्यता राख्दछ । विज्ञानले कुनै पनि कुरालाई अन्तिम सत्यको रुपमा पनि हेर्दैन । त्यसैले विज्ञानमा निरन्तर अध्ययन, अनुसन्धान, प्रयोग र परीक्षणहरु भइरहन्छन् ।

तर, हामीले माथि पनि उल्लेख गर्यौं कि कैयौं वैज्ञानिकहरु नै पनि विज्ञानको मान्यतामा बस्ने गरेका छैनन् । विज्ञानको कुनै एउटा शाखामा अनुसन्धानरत त हुन्छन्, तर समग्रमा विज्ञान चिन्तन बोकेका हुँदैनन् । वैज्ञानिक स्टेफेन हकिङ वैज्ञानिकहरुको त्यस्तो समूहका नेता हुन् जसले चिन्तनमा वैज्ञानिकतालाई छाडेनन् ।

विश्वविद्यालय बिद्यार्थी स्टेफन हकिङ

ब्रम्हाण्डको जन्म र त्यसको भविष्यको सवालमा विज्ञानसम्मत चिन्तन गर्नु चानचुने कुरा होइन । विलियम स्टेफेन हकिङले जिन्दगीभर यसैमा आफ्नो समय खर्च गरे । सन् १९२४ अगाडिसम्म यो विश्वब्रम्हाण्ड भनेको हाम्रो आकाशगङ्गा तारापुञ्ज मात्र हो भन्ने विश्वास गरिन्थ्यो, किनकि विज्ञान त्योभन्दा पर जान सकेको थिएन । तर, सन् १९२४ मा जब अमेरिकी खगोलशास्त्री इडविन पावेल हब्बलले आफ्नो १ सय इञ्च व्यासको टोलिस्कोपले आकाशमा अवलोकन गरी आकाशगङ्गा तारापुञ्जभन्दा पर पनि अन्य तारापुञ्जहरु भएको पत्ता लगाए, तब हाम्रो ब्रम्हाण्डको सीमा बढ्यो । अहिले खगोलशास्त्रीहरुले खर्बभन्दा बढी सङ्ख्यामा ताराहरु रहेका हाम्रो अकाशगङ्गाजस्ता तारापुञ्जहरु नै खर्बभन्दा बढी सङ्ख्यामा रहेको पत्ता लगाइसकेका छन् । पृथ्वीबाट अर्थात् हाम्रो सौयमण्डलभन्दा अरबौं प्रकाशवर्ष टाढासम्म पनि तारापुञ्जहरु फैलिएर रहेका छन् । यसको अर्थ यो रह्यो कि विश्वब्रम्हाण्ड पहिले सोचिएभन्दा धेरै नै विराट छ । अझ वैज्ञानिकहरुले अर्को के पनि पत्ता लगाएका छन् भने तारापुञ्जहरु सम्पूर्णमा झनझन पर भागिरेहेका छन् । अर्थात्, विश्वब्रम्हाण्ड झनझन फैलिरहेको छ, विराट हुँदै गइरहेको छ । यस्तो किन हुँदैछ र विश्वब्रम्हाण्डको भविष्य के हो त ? यस सवालको हल खोज्न वैज्ञानिक विलियम स्टेफेन हकिङले धेरै काम गरे ।

शारीरिक अपाङ्गको स्थितिमा पनि वैज्ञानिक हकिङ बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा नियमित भौतिशास्त्रको कक्षा लिन्थे । उनी त्यस विश्वविद्यालयका लुकासियन प्रोफेसर थिए । क्याम्ब्रिज विश्वविद्यालयले ४ सय वर्षअगाडि महान वैज्ञानिक न्यूटनलाई त्यो पद दिएको थियो । न्यूटनपछाडि त्यो पद पाउने दोश्रा प्रोफेसर उनी नै भए ।

सन् १९४२ मा जन्मेका बेलायती वैज्ञानिक हकिङ २१ वर्षको उमेरमै क्रमशः शरीरका सबै भागमा स्नायु प्रणाली ध्वस्त हुँदै जाने एएलएस नामक रोग लागेर थला परेका थिए । उनलाई डाक्टरहरुले केही वर्षमै मृत्यु हुने भविष्यवाणी गरेका थिए । तर, सबैलाई चकित पारी ७६ वर्षको उमेरसम्म बाँची गत २०१८ को मार्च १४ मा उनको निधन भयो । क्रमशः शरीरका स्नायु तन्तुहरुले काम गर्न छाडेबाट एकपछि अर्को गरी अङ्गहरु अपाङ्ग हुँदै जाँदा पनि निरन्तर वैज्ञानिक चिन्तनमा लागेका हकिङले लामो समयसम्म ह्विलच्योरमै जिन्दगी बिताए । त्यति मात्र होइन बिस्तार बिस्तारै उनी बोल्न नसक्ने अवस्थामा पुगे । कम्प्युटर इञ्जिनियरहरुले उनको लागि विशेष कम्प्युटर नै बनाइदिए, जसको माध्यमबाट उनले लेखपढ गर्ने मात्र होइन प्रवचन दिन पनि सक्थे । उनका दुईटा औला चल्दासम्म ती औंलाहरुले कम्प्युटरको की थिची शब्दहरु टाइप गर्थे र उनले टाइप गरेका शब्दहरुलाई मानव स्वरमा परिणत गरिदिने काम कम्प्युटरले गर्थ्यो । त्यस्तो शारीरिक अपाङ्गको स्थितिमा पनि वैज्ञानिक हकिङ बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा नियमित भौतिशास्त्रको कक्षा लिन्थे । उनी त्यस विश्वविद्यालयका लुकासियन प्रोफेसर थिए । क्याम्ब्रिज विश्वविद्यालयले ४ सय वर्षअगाडि महान वैज्ञानिक न्यूटनलाई त्यो पद दिएको थियो । न्यूटनपछाडि त्यो पद पाउने दोश्रा प्रोफेसर उनी नै भए ।

विश्वविद्यालयमा प्रवचन दिँदै वैज्ञानिक हकिङ ।

वैज्ञानिक हकिङले कम्प्युटरले स्वर उत्पन्न गर्ने प्रविधि ‘भ्वाइस सिन्थेसाइजर’ प्रयोग गरी हरेक हप्ता विश्वभरिका वैज्ञानिकहरुले सुन्न र हेर्न मिल्ने गरी बिभिन्न मिडियामा ‘ब्लाय्क होल’ तथा त्यसको भविष्यबारे आफूले गणितीय तर्कमा पत्ता लगाएका निष्कर्षहरुबारे प्रवचनहरु दिन्थे । उनले प्रवचन दिँदा जोकहरु सुनाएर हँसाई पनि रहन्थे । उनी जीवनमा हास्यको धेरै महत्व भएको बिचार राख्थे र उनले आफू शारीरिक अशक्त भएको भए पनि जीवनलाई मनोरम बनाउन हास्य वचनहरुलाई प्रयोग गर्न रुचाउँथे । हकिङलाई अत्यन्त ह्युमरस वैज्ञानिकका रुपमा लिइन्छ । उनी आफ्नो बिचारलाई अत्यन्त सरल, सुन्दर र मनमोहक शैलीमा राख्थे ।

सन् १९७३ मा उनको पहिलो पुस्तक ‘द लार्ज स्केल स्ट्रक्चर अफ स्पेस–टाइम’ प्रकाशित भयो । तर, उनलाई विश्वभर चिनाउने पुस्तक सन् १९८८ मा प्रकाशित उनको दोश्रो पुस्तक ‘द ब्रिफ हिस्टोरी अफ टाइम’ नै भयो । यो पुस्तक पाँच वर्षसम्म बेलायती पुस्तक बजारमा हरेक वर्ष सबभन्दा बढी सङ्ख्यामा बिक्री हुनेमा पहिलो नम्बरको स्थान लिन सफल भयो । साधारण मानिसले पनि बुझ्ने भाषामा लेखिएको यो पुस्तकले आम मानिसलाई खगोल, खगोलशास्त्र, ब्रम्हाण्ड, ब्रम्हाण्डको आकार, ब्रम्हाण्डको उत्पत्ति र त्यसको भविष्यबारे यथार्थ बुझ्न सहयोग गर्यो । यो पुस्तकले नै ब्रम्हाण्डको उत्पत्ति खगोलीय महाबिस्फोटबाट भएको भन्ने ‘बिग ब्याङ्ग सिद्धान्त’लाई सरल र सुन्दर ढङ्गले व्याख्या गरिदियो । सम्भवतः भौतिकशास्त्रको अत्यन्त जटिल विषयवस्तुलाई सर्वसाधारणले पनि बुझ्ने गरी लेखिएको यो नै पहिलो पुस्तक हो । अहिलेसम्म संसारभरि ५० भन्दा बढी भाषामा अनुवाद भई प्रकाशित भइसकेको यो पुस्तक ३ करोडभन्दा बढी बिक्री भइसकेको बताइन्छ । भौतिकशास्त्रको पुस्तक यति धेरै सङ्ख्यामा बिक्री भएको यो पहिलो पटक हो ।

सन् १९९३ को वर्षमा उनका दुई पुस्तकहरु ‘द बिग ब्याङ्ग एण्ड ब्लाय्क होल्स’ र ‘ब्लाय्क होल्स एण्ड बेबी युनिभर्सेज’ प्रकाशित भए । सन् १९९४ मा ‘कम्प्युटर फर पिपुल विथ डिसआय्ब्लिटिज’ प्रकाशित भयो भने १९९६ मा ‘द नेचर अफ स्पेस एण्ड टाइम’ प्रकाशित भयो । त्यस्तै गरी सन् २००१ मा ‘द युनिभर्स इन अ नटशेल’ प्रकाशित भयो । विज्ञान पुस्तक प्रकाशनमा सन् २००२ मा धमाका नै भयो । त्यस वर्ष हकिङकै लेखनमा चारवटा पुस्तहरु प्रकाशित भए, ‘द थ्योरी अफ एभरिथिङ’, ‘द फ्युचर अफ स्पेस टाइम’, ‘अन द सोल्डर्स अफ जियान्टस्’ र ‘अ ब्रिफ हिस्टोरी अफ टाइम एण्ड द युनिभर्स इन अ नट शेल’ । सन् २००५ मा हकिङको लेखनमा ‘अ ब्रिफर हिस्टोरी अफ टाइम’ प्रकाशित भयो । वैज्ञानिक हकिङले आफ्नी छोरी लुसी हकिङसँगको सह लेखनमा केटाकेटी र युवाहरुलाई खगोल र विश्वब्रम्हाण्डसम्बन्धी जानकारी दिने कथात्मक पुस्तकहरु सन् २००७ देखि २०१६ सम्मको समयावधिमा पाँचवटा पुस्तकहरु प्रकाशित गराए, सन् २००७ मा ‘जज्र्स सेक्रेट की टु द युनिभर्स’, २००९ मा ‘जज्र्स कस्मिक ट्रेजर हन्ट’, २०११ मा ‘जर्ज एण्ड बिग ब्याङ्ग’, २०१४ मा ‘जर्ज एण्ड अनब्रेकेबल कोड’ र २०१६ मा ‘जर्ज एण्ड ब्लू मून’ । सन् २०१० मा हकिङको अर्को अत्यधिक चर्चामा रहन सफल पुस्तक ‘द ग्राण्ड डिजाइन’ प्रकाशित भयो । त्यस्तै गरी सन् २०११ मा उनको अर्को पुस्तक ‘द ड्रिम्स दाय्ट स्टफ इज मेड अफ’ प्रकाशित भयो । सन् २०१३ मा हकिङको आफ्नै आत्मकथा ‘माइ ब्रिफ हिस्टोरी’ प्रकाशित भयो । त्यस्तै गरी सन् २०१६ मा उनले बिबिसिलाई दिएका अन्तर्वार्ताहरुको सङ्गालो ‘ब्लाय्क होल्स’ प्रकाशित भयो । सोही वर्ष सन् २०१६ मै अर्का वैज्ञानिक ग्राहम लअटनसँगको सह लेखनमा ‘द ओरिजिन अफ (अलमोस्ट) एभ्रिथिङ’ प्रकाशित भयो । वर्षैपिच्छेझैं हकिङका नयाँनयाँ पुस्तकहरु प्रकाशित भइरहनुका साथै यिनीहरु बाहेक पनि उनका फुटकर रचनाहरु बिभिन्न मिडियामा प्रकाशित भइरहन्थे । एक वैज्ञानिकले आफ्नो जीवन कालमा यति धेरै विज्ञान पुस्तक तथा रचनाहरु प्रकाशित गराएको सम्भवतः यो पहिलो घटना हो ।

वैज्ञानिक हकिनङका प्रख्यात तीन किताब ।

वैज्ञानिक हकिङ सधैँ विश्वब्रम्हाण्डको भविष्यबारे चिन्तन गर्ने, गणितीय निष्कर्ष निकाल्ने र त्यसलाई बिचारको रुपमा विज्ञान जगतमा मात्र होइन आममानिसहरुको बिचमा नै राख्ने गर्थे । त्यसैले उनी सधैँ आममानिसको दृष्टिमा पर्ने र चर्चाका व्यक्तित्व बनिरहे । हकिङको अर्को विशेषता के रह्यो भने उनी खगोलविज्ञान, भौतिकशास्त्र र गणितशास्त्रसम्ममा मात्र आफ्नो चिन्तनको घेरा बनाउँदैनथे, बरु ती शास्त्रहरुको निष्कर्षलाई सम्पूर्ण मानव जाति र पृथ्वीको भविष्यसँग जोड्दथे । यही क्रममै पछिल्लो समयमा उनले पृथ्वीमा मानवको अस्तित्व एक हजार वर्षभन्दा बढी समयसम्म नरहने चेतावनी दिएर सबैलाई झस्काई दिए ।

स्टेफेन हकिङले गणितशास्त्र, खगोलविज्ञान र भौतिकशास्त्रमा निकालेको निष्कर्षले दर्शनको क्षेत्रमा महत्वपूर्ण योगदान पुगेको छ । उनले ब्लाय्क होलमा गई सम्पूर्ण चिजको अन्त्य हुन्छ भन्ने पहिलेको वैज्ञानिक सम्मतिलाई चुनौति दिई ब्लाय्क होलबाट विकिरणहरु चुहिने निष्कर्ष निकाले । गणितीय सूत्रले दिएको नतिजाको आधारमा निकालिएको उनको निष्कर्षलाई अहिलेसम्म कसैले काट्न नसकेको कुरा नेपालका विख्यात गणित तथा भौतिकशास्त्री वैज्ञानिक डा. उदयराज खनाल बताउँछन् । ब्लाय्क होलबाट चुहिने बिकिरणलाई वैज्ञानिकहरुले ‘हकिङ्स रेडियसन’ भनी नामाकरण गरेका छन् । ब्लाय्क होलमा सम्पूर्ण चिज गई अन्त्य मात्र हुने कुरा नै अन्तिम सत्यको रुपमा रहेमा स्थिरताको सिद्धान्त आउँथ्यो । तर, ब्लाय्क होलबाट बिकिरण चुहिने निष्कर्षले ब्लाय्क होल स्थीर नभई गतिमा रहने पुष्टि मिल्छ । यसले स्थीर भन्ने चिज केही पनि छैन भन्ने द्वन्द्ववादी निष्कर्षलाई थप पुष्टि गर्दछ ।

दर्शनको ब्याख्या नै त वैज्ञानिक हकिङले गरेको पाइन्न, तर उनले निकालेका निष्कर्ष र व्यक्त गरेका बिचारहरुले द्वन्द्वात्मक भौतिकवादको पूरै पक्षपोषण गर्छन् ।

‘अ ब्रिफ हिस्टोरी अफ टाइम’ पछि हकिङको अर्को अत्याधिक चर्चित पुस्तक ‘ग्राण्ड डिजाइन’ हो । त्यस पुस्तकमा उनले विश्वब्रम्हाण्डको सृष्टिका लागि भौतिक अर्थात् प्राकृतिक नियम नै पर्याप्त भएको र त्यहाँ ईश्वरको भूमिका जरुरी नभएको बिचार व्यक्त गरे । ईसाइ मुलुक र महादेशमा रहेका वैज्ञानिकले बाइबलको खिलाफ जानु कठिन कुरा हो । इतिहासमा त बाइबलको मान्यताभन्दा फरक बिचार राख्ने वैज्ञानिकहरुले मारिनुपर्ने, बेइज्जती व्यहोर्नुपर्ने र धार्मिक सत्ताको चरम वहिष्करणले गर्दा भोकभोकै मर्नुपर्ने दृष्टान्तहरु रहेका छन् । विज्ञानको हरेक पाइला बाइबलको विपक्षमा रहन्छ । वैज्ञानिकहरु बाइबलबाट बच्दै आफ्नो कर्म गर्ने गर्छन् पश्चिमा संसारमा । त्यसैले वैज्ञानिकहरुले प्रकृति र विश्वब्रम्हाण्डबारे नयाँनयाँ खोज, अनुसन्धान, प्रयोग र परीक्षण गर्दै जाँदा पनि विज्ञानसम्मत चिन्तन गर्न असफल हुन्छन् । विज्ञानले विकास गरेका प्रविधि, यन्त्र र साधनहरु प्रयोग गरेर पनि आधुनिक जमानाका मानिसहरु समेत विज्ञानसम्मत चिन्तन गर्दैनन्, व्यवहार गर्दैनन् । विज्ञानले जन्माएका प्राविधिज्ञ एवं विद्वानहरु जस्तो कि चिकित्सा डाक्टरहरु, इञ्जिनीयरहरु समेत पनि विज्ञान सम्मत चिन्तन र व्यवहार गर्दैनन् ।

विज्ञान र प्रविधि वैज्ञानिक चिन्तनबाट लैस भएका छैनन् । यो नै एउटा महत्वपूर्ण कारण हो, जसले गर्दा विज्ञानले आधुनिक बनाएको अहिलेको मानव समाजमा अझै आम मानिसहरु अवैज्ञानिक चिन्तन बोकी बसेका छन्, अन्धविश्वासी र भाग्यवादी भई बसेका छन् । वैज्ञानिक स्टेफेन हकिङले यो गाँठोलाई फुकाउने प्रयत्न गरे । उनी विख्यात वैज्ञानिक त रहे रहे त्यसको साथै उनले सम्पूर्ण रुपमा आफूलाई वैज्ञानिक चिन्तनबाट लैस गरे र त्यो कुरालाई संसारभर प्रचार गरे । जसरी उन्नाइसौं शताब्दीमा प्रकृतिको विकासवादी सिद्धान्त प्रतिपादन गर्दा महान वैज्ञानिक चाल्र्स डार्विनलाई ‘बाँदरको सन्तान’ भनी चर्चका मानिसहरुले गिज्याएर अपमानित गर्न खोजे त्यसरी नै त अहिले वैज्ञानिक हकिङलाई कसैले अपमानित गर्न सकेन, तर हकिङदेखी चर्च खुशी देखिँदैन । सके हकिङको निष्कर्ष र बिचारलाई चर्चका धर्मभिरुहरु धमिल्याउन चाहन्छन् ।

दर्शनको मामिलालाई हेर्ने हो भने वैज्ञानिक हकिङ स्पष्ट रुपले भौतिकवादको मात्र होइन बलकि सम्पूर्णमा द्वन्द्वात्मक भौतिकवादको पक्षमा उभिएका छन् । उनले आदर्शवाद र आध्यात्मवादलाई पूरै नकारेका छन् । दर्शनको ब्याख्या नै त वैज्ञानिक हकिङले गरेको पाइन्न, तर उनले निकालेका निष्कर्ष र व्यक्त गरेका बिचारहरुले द्वन्द्वात्मक भौतिकवादको पूरै पक्षपोषण गर्छन् । माथि पनि भनियो आफ्नो पुस्तक ‘ग्राण्ड डिजाइन’ मा हकिङले ब्रम्हाण्ड सृष्टिको लागि प्रकृतिको भौतिक नियम नै काफी रहेको र त्यहाँ ईश्वरको भूमिकाको कुनै जरुरी नभएको बिचार दिएर आफूलाई भौतिकवादी भएको सन्देश दिए । त्यस्तै गरी ‘हकिङ्स रेडियसन’ पत्ता लगाई उनले द्वन्द्ववादलाई थप पुष्टि गरे ।

अहिले संसार सामु महान वैज्ञानिक विलियम स्टेफेन हकिङ छैनन् । तर, उनको वैज्ञानिक सिद्धान्त र बिचारहरु हाम्रा माझ मानव जातिको सम्पत्तिको रुपमा बाँकी बसेका छन् ।

हकिङले पछिल्लो चरणमा भूमण्डलीय तापमानको बृद्धिले गर्दा मानवलगायत पृथ्वीको सम्पूर्ण जीवनकै अस्तित्वमा खतरा आएको बिचार व्यक्त गरे । र, यसका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको प्रवृत्ति जिम्मेवार भएको उद्घोष गरे । उनले परोक्ष रुपमा पुँजीवादी स्वार्थ र अहङ्कारले निम्त्याउने परमाणु अस्त्रको होडवाजीले गर्ने गरेका बिभिन्न परीक्षणहरु नै भूमण्डलको तापमान बृद्धि गराउनमा जिम्मेवार भएको बिचार दिए । उनले पुँजीवादी विश्वव्यवस्थाले परमाणु युद्धको सम्भावनालई झनझन बढाउँदै लगेको आशय व्यक्त गरे । यसै क्रममा उनले पृथ्वीले मानव जनसङ्ख्या वृद्धि, मानिसले गर्ने अत्यधिक ऊर्जाको प्रयोग र परमाणु हतियार प्रयोगको चापलाई आगामी ६ सय वर्षसम्म पनि थेग्न नसक्ने र त्यस समयसम्म पृथ्वी अत्यन्त तातो भई जीवन अस्तित्वमा रहन नसक्ने स्थिति बन्ने भविष्यवाणी गरेर सबैलाई झस्काई दिए । त्यसको लागि हकिङले मानव जातिलाई अर्को ग्रहमा वस्ती बसाल्न यसै शताब्दीभित्र तयारी गर्न सुझाएका छन् ।

हकिङको सुझाव कतिको कामयावी हुने वा सही हो भन्ने कुरा आफ्नो ठाउँमा छ । तर, उनको अभिव्यक्तिले के कुराको पुष्टि मिल्छ भने उनी वैज्ञानिक मात्र थिएनन् बरु एक उच्च मानवतावादी र पुँजीवादविरोधी बिचारक समेत थिए ।

जीवनका अन्तिम केही वर्षहरुमा उनका आँखा र आँखा मुनिका माँसपेशीबाहेक शरीरका सम्पूर्ण बाह्य अङ्गहरुले काम गर्न छाडे । तै पनि उनले अध्ययन गर्ने, चिन्तन गर्ने र मानव ज्ञान एवं मानव जातिको हितमा बिचार निर्माण गर्ने कामलाई छाडेनन् । पछिल्ला केही वर्षहरुमा कम्प्युटर वैज्ञानिकहरुले उनले आफ्नो आँखा मुनिको मांसपेशी चलाएर नै सेन्सरको माध्यमबाट कम्प्युटरमा टाइप गर्ने र स्वर सिमुलेसन प्रविधि मार्फत् बोल्न सक्ने बनाई दिए । र, उनले त्यस्तो अवस्थामा पनि निरन्तर वैज्ञानिक काम गर्न छाडेनन् । भौतिक नियम अनुसार अरु आम मानिसझैं उनी पनि एक दिन मर्ने त निश्चितै थियो र त्यो दिन गत २०१८ को मार्च १४ तारिख हुन गयो । अहिले संसार सामु महान वैज्ञानिक विलियम स्टेफेन हकिङ छैनन् । तर, उनको वैज्ञानिक सिद्धान्त र बिचारहरु हाम्रा माझ मानव जातिको सम्पत्तिको रुपमा बाँकी बसेका छन् ।

वैज्ञानिक हकिङको पार्थिव शरीरमा श्रद्धाको फूल चढाउँदै बेलायती जनता ।

हकिङको शव यात्रा ।

 

साभार : मूल प्रवाह मासिक, वर्ष १५, अङ्क १३, वैशाख २०७५ 

 

(Visited 226 times, 1 visits today)

टिप्पणी

comments