Main Menu

समयसमयका परिवर्तनको ढोका बनेको फागुन ७ गते

फागुन ७, काठमाडौँ

प्रजातन्त्र र फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो । ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भयो ।

फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६ र २०६२/०६३ का परिवर्तन भए । राणा शासनको अन्त्यसँगै २००७ सालले परिवर्तनको ढोका खुल्यो । विश्लेषक हरि शर्मा २००७ सालमा भएको प्रजातन्त्र स्थापनाले परिवर्तनका लागि मार्ग खोलेको बताउँछन् ।

१०४ वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए ।

राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भारत गए । यसपछि नेपालको राजनीतिले अचानक जटिल मोड लिएको वि.सं. २००७ को क्रान्तिमा सक्रिय राजनीतिज्ञ विश्वबन्धु थापाले बताए ।

पाल्पामा राणा नै बडाहाकिम भएकाले राजा त्रिभुवन विराटनगर जानु उपयुक्त हुने सल्लाह दिइयो । विराटनगरमा प्रजातन्त्र पक्षधरकै बाहुल्यता थियो । राजा दिल्ली गएपछि २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुङ्गियो ।

राष्ट्रिय काँग्रेस गान्धीको अहिंसावादी विचारबाट प्रभावित थियो । त्यही बेलामा भारतमा नेपालको राणाशासनबाट वितृष्णा भएर पुगेका सुवर्णशमशेरलगायतका राणाहरूकै सक्रियतामा नेपाल प्रजातन्त्र काँग्रेस स्थापना भएको थियो । राष्ट्रिय काँग्रेससँग जनशक्ति थियो ।

प्रजातन्त्र काँग्रेस आर्थिक रुपमा सम्पन्न थियो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि दुवै पार्टी मिल्नुपर्ने विचार आउन थालेपछि वि.सं. २००६ मा दुवै दल मिलेर नेपाली काँग्रेसको गठन गरियो । काँग्रेसले सशस्त्र क्रान्तिको आह्वान गरेपछि देशव्यापी रुपमा आन्दोलन चर्कियो ।

प्रजातन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने प्रजातन्त्र काँग्रेसको विचारसँग राष्ट्रिय काँग्रेस सहमत भएर पार्टी एकीकरण भएको थियो । एकीकरणपछि प्रजातन्त्र स्थापनाको आन्दोलनले गति लियो । राणा शासकले नियुक्त गरेका बडा हाकिमले क्रान्तिकारीसँग आत्मसमर्पण गर्न थाले ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानी दिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

वि.सं. २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

वि.सं. २००७ अघि पृथ्वीनारायण शाहले राज्य गरेको गोरखामा समेत विद्यालय थिएन । त्यसबेला नेपालकै हाराहारीमा रहेका कोरिया, मलेसिया र थाइल्यान्ड अघि बढे पनि नेपालमा प्रजातन्त्रको स्थायित्व हुन नसकेकैले हालसम्म पछि परेको राजनीतिज्ञ थापाको बुझाइ छ ।

राणाशासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो । प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

प्रजातन्त्र स्थापना भएपनि फागुन ७ गते राजा त्रिभुवनले घोषणा गरेबमोजिम संविधानसभा निर्वाचन भएन । काँग्रेसका तर्फबाट सरकारमा सहभागी नेताहरुले राजीनामा दिएपछि राणा–काँग्रेस संयुक्त सरकार ढल्यो । काँग्रेस सभापति मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएपनि निर्वाचन भने हुन सकेन ।

निर्वाचन गराउन काँग्रेसले २०१४ सालमा भद्र अवज्ञा आन्दोलन गर्नुपर्यो । आन्दोलनपछि संविधानसभा नभई संसदीय निर्वाचन गराउन दरबार तयार भयो । २०१५ फागुन ७ गतेदेखि पहिलो संसदीय निर्वाचन शुरु भयो । काँग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि बिपी कोइरालाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेपनि दरबारले नमान्दा समय लाग्यो ।

वि.सं. २०१७ पुस १ गते सेनाको शक्तिका भरमा जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि लामो आन्दोलन शुरु भयो । २०४६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर शुरु गरिएको आन्दोलनले चैत २६ गते सफलता पायो । प्रजातन्त्र पुनः स्थापना भयो ।

  • पूर्णप्रसाद मिश्र
(Visited 79 times, 1 visits today)

टिप्पणी

comments