Main Menu

बिचार/विश्लेषण

बर्बरताविरुध्द संघर्षमा एउटा जरुरी अवलोकन

(बिसौं शताव्दीका विख्यात जर्मन कवि वर्तोल ब्रेख्तले जिन्दगीभर विश्व श्रमिक जनताको पक्षमा कविता कोरे, साहित्य सिर्जना गरे । उनको साहित्य पढेर विश्वका करोडौं न्यायप्रमी मानिसहरु क्रान्तिकारी बनेका छन् । त्यो क्रम अझै जारी छ । हिटलरको वरवरता र नाजीवादी शासन अनि दोश्रो विश्वयुध्दविरुध्द सशक्त उभिएका उनी विश्व श्रमिक वर्ग, उत्पीडित र न्यायप्रेमी जनताको मुक्तिको लागि मार्क्सवाद र सोभियत क्रान्ति पथप्रदर्शक सिध्दान्त रहेको कुरामा प्रष्ट बिचार राख्थे । हिटलरी वरवरताविरुध्द सुरुदेखि नै उभिएका कवि ब्रेख्तले दोश्रो विश्वयुध्द सुरु हुनु ४ वर्षअगाडि जुन १९३५ मा पेरिसमा भएको ‘संस्कृतिको रक्षाको लागि लेखकहरूको पहिलो अन्तराष्ट्रिय कांग्रेस’मा दिएको वक्तव्य यहाँ प्रस्तुत गरिन्छ । -सम्पादक)

विश्वविख्यात कवि वर्तोल्त ब्रेख्त

साथीहरू, म खास गरेर केही नयाँ नभनीकन त्यो संघर्षको वारेमा थोरै शव्द भन्न चाहन्छु, जो पश्चिमी संस्कृतिको ज्यान लिएर त्यसलाई रगत र माटोमा मिलाउँन तयार छ या संस्कृतिको एक सताव्दीको शोषणपछि अझै हामीसँग बचेको त्यो अवशेषको विरुद्ध छ । म तपाईंहरूको ध्यान एउटा कुरामा आकर्षित गर्न चाहन्छु, हामी ती शक्तिका विरुद्धको संघर्षलाई तिनीहरुको अन्त्य हुने समयसम्म गति दिन चाहन्छौँ भन्ने कुरामा हाम्रो सोचमा स्पष्टता हुनु जरुरी छ ।

जुन लेखकले फासिवादको क्रुरता र अत्याचारलाई सिधा तरिकाले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा भोगेको छ र जो त्यसबाट पीडित छ, ऊ आफ्नो अनुभव र यातनावोधको कारणले मात्र यी अत्याचारहरूविरुद्ध संघर्ष गर्ने स्थितिमा छैन । महान साहित्यिक प्रतिभा भएपछि विशुध्द क्रोधको विवरणलाई तात्कालिकता प्रदान गरेपछि अत्याचारको वर्णन गरिदिनु नै पुग्दो हुन्छ भन्ने कसैलाई लाग्न सक्छ । निश्चित रुपमा यस्तो उल्लेख धेरै महत्वपूर्ण छ । उत्पीडन भैरहेको छ । यस्तो हुनु हुँदैन । यसको लागि कुन लामो स्पष्टीकरणको अपेक्षा गर्न सकिन्छ र ? पाठक निश्चित रुपमा उठ्ने छन् र उत्पीडनको प्रतिरोध गर्ने छन् । तर, साथीहरू ! यो यति कठिन छैन । तर, त्यसपछि उत्पीडनको प्रतिरोध गर्ने सानो विषय अगाडि आउँछ र त्यो धेरै कठिन छ । क्रोध मौजुद छ, दुश्मनको पहिचान भैसकेको छ, तर उसलाई घुँडाको बलले कसरी झुकाउँने ? लेखकले मेरो काम अन्यायको पर्दाफास गर्नु हो र त्यसपछि के गर्ने त्यो पाठकको जिम्मा हो भन्न सक्छ । तर, लेखकले एउटा अनौठो खोज गर्ने छ । उसले यो बुझ्छ कि क्रोध सहानुभूतिजस्तै

अलिअलि हुन्छ । त्यो यो या त्यो मात्रामा रहिरहन्छ र बिलाएर जान सक्छ । सबैभन्दा खराव कुरा यो छ कि जति छिटो यो जन्मन्छ, त्यति नै छिटो यो बिलाउँछ । साथीहरूले मलाई भन्नु भयो, जब हामीले साथीहरूको नरसंहार हुँदै छ भनेर पहिलो पटक भन्यौं, तब आतंकको हल्ला फैलियो र धेरै मानिसहरू हाम्रो मद्दत गर्न आए । यो केही सय मानिसहरूको नरसंहारको समय थियो । तर, जब हजारौं मानिसहरूलाई मृत्युको मुखमा पुर्याउदा पनि नरसंहारले रोकिने नाम लिएको थिएन, तब सुनसान छायो र थोरै मानिसहरू मात्रै हाम्रो सहयोगको लागि आए । यो यस्तो छ : ‘जब अपराध बढ्छ त्यो अदृश्य भैदिन्छ, त्यो देख्ने मानिस वेहोस हुन्छ । यो स्वाभाविक छ । जब खरावी आकासबाट पानीजस्तै वर्सिन्छ, तब कोही कराउँदैन’ “हुन्छ गर” ।’

अवस्था यस्तो छ । यसलाई कसरी फेर्न सकिन्छ ? के मानिसलाई शोषणतिर पिठ्युँ फर्काउने कुराबाट रोक्ने कुनै बाटो छैन ? तिनीहरु पिठ्युँ किन फर्काउँछन् ? तिनीहरु प्रतिरोध गर्ने कुनै सम्भावना नदेखेर यस्तो गर्छन् । कुनै मानिस सहयोग गर्न असमर्थ छ भने अर्कोको दु:ख कस्टमा एक क्षण पनि टिक्न सक्दैन । आक्रमण कहिले हुन्छ, कहाँ हुन्छ, र किन के उद्देश्यले हुन्छ भनेर तपाईंले थाहा पाउनुभयो भने तपाईंले आघातलाई रोक्न सक्नु हुन्छ । यदि तपाईंले आघातलाई रोक्न सक्नुभयो भने या यदि यस्तो गर्ने अलिकति पनि सम्भावना छ भने त्यो अवस्थामा तपाई पीडित प्रति सहानुभूति महसुस गर्न सक्नुहुन्छ । तपाईं यस्तो त्यत्तिकै पनि महसुस गर्न सक्नु हुन्छ, तर त्यो लामो समयको लागि होइन र अझ पीडितमाथि कोर्रा बर्साउन्जेल त हुँदै होइन । यो प्रहार किन गरिँदै छ ? किन हामीसँग बचेको संस्कृतिलाई कुनै डुङ्गाबाट ढुङ्गा या गिट्टी फ्याँके जसरी बेकार सम्झेर मिल्काइँदै छ ? किन लाखौँ मानिसहरूको जिन्दगीको ठूलो हिस्सालाई यति दरिद्र र लाचार एवं आधा या पूरै रुपमा बर्बाद बनाइँदै छ ? हामीमध्ये केही मानिसहरू यो प्रश्नको जवाफ दिन उत्सुक छौं । यसको जबाफ हुन्छ : बर्बरताको कारणले । उनीहरूको बुझाइ मानवताको एउटा ठूलो र लगातार बढिरहेको हिस्सामा भयानक प्रकोपको अनुभूति हुने यसो डरलाग्दो परिघटनाको कुनै प्रत्यक्ष कारण हुँदैन, जुन अचानक घटित हुन्छ र सम्भवत: यसै गरी सौभाग्य बिलाएर जान्छ भन्ने छ । लामो समयदेखि थिचिएर बसेको या धिमा गतिको बर्बरताको विकट उद्भव एउटा सहज वृत्तिबाट जन्मेको इच्छा हो, जो जो यस्तो जवाफ दिन्छन् तिनीहरूले स्वाभाविक रुपमा यो बुझ्छन् कि यसले खास फाइदा हुँदैन । र, उनीहरू यो पनि बुझ्छन् कि बर्बरतालाई प्रकृतिको शक्ति या नरकको अजेय शक्तिको आकार दिनु पनि गलत हो । त्यसैले तिनीहरू मानव जातिको उपेक्षित शिक्षाको कुरा गर्छन् । हतारमा केही छुट्यो या पूरा गर्न सकिएन । हामीले अब त्यसको भरपाई गर्नुपर्ने छ । राम्रो कुराले वर्वरताबिरुध्द उभिनु छ । हामीले ती ठूला शव्दहरूको आह्वान गर्नु छ, ती जादूगरी निर्देशन जसले लामो समयदेखि प्रेम, स्वतन्त्रता, गौरव र न्यायका चिरस्थायी अवधारणाहरूबाट हाम्रो सहयोग गरेका छन् र जसको प्रभावोत्पादकताको पुस्टि इतिहासले गरेको छ । त्यसैले तिनीहरू यी जादूगरी निर्देशनको प्रयोग गर्छन् । त्यो वर्वर छ भनेर भनिसकेपछि अनि के हुन्छ ? फासिवादले जवाफमा बर्बरताको लागि एउटा कट्टर जय गीत प्रस्तुत गर्छ । कट्टरताको आरोप लगाउँदाखेरि ऊ कट्टरताको लागि स्तूति गाउँछ । तर्कलाई निषेध गरेको आरोप लगाउँदाखेरि ऊ खुसी भएर तर्कलाई गाली गर्न अग्रसर हुन्छ ।

सन् १९३५ जुनमा पेरिसमा भएको ‘संस्कृतिको रक्षाको लागि लेखकहरूको पहिलो अन्तराष्ट्रिय कांग्रेस’

फासिवाद पनि शिक्षामा उपेक्षा भएको छ भन्ने यही कुरा मान्छ । उसलाई मानिसलाई प्रभावित गर्ने र मनलाई दह्रो बनाउने आफ्नो क्षमताबाट धेरै आशा छ । आफ्ना यातना गृहहरूका वर्वरताको साथमा ऊ आफ्ना स्कूल, पत्रपत्रिका र थियटरको वर्वरतामा पनि जोड दिन्छ । ऊ पूरै देशलाई शिक्षित गर्छ । हरेक दिन पूरै देशलाई शिक्षित गर्छ । ऊसँग वहुसंख्यक जनतालाई दिनको लागि खास केही छैन, त्यसैले मुख्य कुरा ऊ तिनीहरूलाई धेरै शिक्षित गर्न चाहन्छ । ऊ खाने कुरा दिन सक्दैन । त्यसैले उसले आत्मानुशासन सिकाउनु परेको छ । ऊ उत्पादनको व्यवस्था गर्न सक्दैन । त्यसैले युध्दको खाँचो पर्छ र उसले शारीरिक बहादुरी सिकाउनुपर्छ । उसलाई बलिदानको जरुरी पर्छ । त्यसैले उसले बलिदानको भावना सिकाउनु पर्छ । यी सबै आदर्श मात्र हुन्, मानवतासँग माग हुन्, यिनीहरूमा केही उच्च कोटिका माग छन्, अप्ठेरा माग छन् ।

यी आदर्शहरूको उद्देश्य के हो, कसले यो शिक्षा दिइरहेको छ र यो शिक्षाले कसलाई फाइदा पुग्छ भनेर अव हामी जान्दछौं । निश्चित रुपमा जसलाई यो शिक्षा दिइरहेको छ तिनीहरूले होइन । सबैभन्दा बढी मानवीय हाम्रा आदर्शहरूको स्थिति के छ ? ती निसन्देह बेग्लै छन्, तर फेरि पनि जब हामीलाई हाम्रो आदर्श गढेपछि हामी र हाम्रा दुश्मनबीच समानता हुन सम्भव छैन ? यहाँ सम्म कि हामीमध्ये जो निष्ठुरता र बर्बरतामा आधारभूत खरावी देख्छौं, तिनीहरू पनि यस्तै कुरा गर्छन् जस्तो हामीले माथि देख्यौं, केवल शिक्षाको वारेमा, केवल मानिसहरूको दिमागमा हस्तक्षेप गर्ने वारेमा, यो बाहेक अरु कुनै हस्तक्षेपको वारेमा होइन । तिनीहरू मानिसहरूलाई राम्रो बनाउन शिक्षित बनाउने कुरा गर्छन् । तर वास्तविकता राम्रो बनाउने कुराको मागले आउँदैन । सबैभन्दा कठोर परिस्थितिमा पनि राम्रो रहने माग गर्नु, ठिक त्यस्तै हो जस्तो कि वर्वरता वर्वारताबाट जन्मिंदैन भन्नुहुन्छ ।

म आफै वर्वरताको लागि वर्वरतामा विश्वास गर्दिन । यो आरोपबाट मानवताको रक्षा हुनुपर्छ कि यदि वर्वरताको माग त्यति आकर्षक छैन भने पनि वर्वरता वर्वरता नै रहन्छ । मेरा साथी फुख्तव्यांगर (fuchtwanger)को नीचता आत्महितमा हावी हुन्छ भन्ने यो कुरा एउटा रमाइलो पाल्सी कुरा हो, तर त्यो ठिक होइन । वर्वरता वर्वरताबाट जन्मिंदैन, बरु वर्वरताभन्दा बाहेकको तरिकाले काम नहुने ती व्यापारिक सम्झौताहरूबाट जन्मिन्छ ।
जुन सानो देशबाट मा आएको छु, वहाँ अन्य कैयन देशको तुलनामा परिस्थिति त्यति भयावह छैन । तर फेरि पनि हरेक हप्ता मासुको लागि पालिएका ५ हजार स्वस्थ पशुहरूलाई नष्ट गरिन्छन् । यो एउटा भयानक कुरा हो, तर यो कुनै आकस्मिक रक्तापिपासाको विस्फोट होइन । यदि यस्तो हुन्थ्यो भने स्थिति यति भयावह हुँदैनथ्यो । मासुको लागि पालिएका पशुहरू नष्ट गर्नु र संस्कृतिलाई नष्ट गर्नु कुनै वर्वर प्रवृत्तिको कारण होइन । दुवै अर्थमा मालको एउटा हिस्सा जसलाई बनाउन ठूलो मिहिनेत लागेको छ, नष्ट गरिएको छ, किनकि त्यो एउटा बोझ बनेको छ । जति भोकमरी पाचौं महाद्वीपमा फैलिएको छ, त्यसलाई हेर्दा यो उपाय नि:सन्देह एउटा अपराध हो, तर यसको उपद्रोसँग कुनै रणनीतिक लिनुदिनु छैन । आज पृथ्वीका धेरैजसो देशहरूमा यस्तो सामाजिक परिस्थिति छ, जसमा हरेक खालका अपराधलाई पुरस्कृत गरिन्छ र गुणलाई चर्को मूल्य लगाइन्छ । ‘राम्रो मानिस निराश्रय छ र निहत्था मानिसलाई कुटीकुटी माटोमा मिलाइदिइन्छ । तर, वर्वरताबाट तपाईं जे पनि प्राप्त गर्न सक्नु हुन्छ । नीचता १० हजार वर्षको राजको लागि तयार गरिँदैछ । अर्कोतिर राम्रोको संरक्षणको खाँचो छ, तर त्यो असुरक्षित छ ।’

हामीले मानिसहरूबाट राम्रो मात्र माग्ने कुराविरुध्द ध्यान दिनुपर्छ । आखिरमा हामीलाई पनि असम्भव कुराको माग गर्ने कुनै रहर छैन । हामीले पनि मानिसहरूबाट महामानव बन्ने अपील गर्ने हदसम्म तिरस्कारलाई लैजानु हुँदैन । अर्थात महान गुणहरूको प्रयोग गर्दै डरलाग्दो परिस्थिति झेल्नलाई आह्वान गरौँ । जसलाई बदल्न सकिन्छ, तर बदल्नु हुँदैन । हामीले संस्कृतिको पक्षबाट मात्रै कुरा गर्नु हुँदैन । हामीले संस्कृतिमाथि दया गर्नुपर्छ । तर, त्योभन्दा पहिले मानवतामाथि दया देखाउनुपर्छ । जव मानवताको जतन गरिन्छ, तव संस्कृति पनि आफै संरक्षित हुन्छ । मान्छे संस्कृतिको लागि बनेको होइन, संस्कृतिको लागि मान्छे बनेको हो भनेर हामीले भावनामा बगेर यस्तो दावी गर्नु हुँदैन ।

साथीहरू, हामीले यो खरावीको कारण वारे बिचार गर्नुपर्छ ।
आज एउटा महान सिध्दान्त हाम्रो पृथ्वीमा जनसाधारणको निरन्तर बढिरहेको हिस्साको बिचमा आफ्नो ठाउँ बनाउँदै छ । यो आफैं नयाँ सिध्दान्त हामीलाई सारा खराबीहरूको कारण निजी स्वामित्वको सर्तमा छ भनेर सिकाउँछ । हरेक महान सिध्दान्तजस्तै यो सरल सिध्दान्तले बर्तमान सम्पति सम्बन्ध र त्यसको रक्षाको लागि प्रयोग गरिने बर्बर तरिकाको जुवामुनि थिचिएका जनताको विशाल हिस्सामा आफ्नो ठाउँ बनाएको छ । पृथ्वीको कुल क्षेत्रफलको छ भागको एक भागमा फैलिएको एउटा देशका शोषित तथा सम्पतिहीन वर्गले सत्ता आफ्नो हातमा लिएका छन् र त्यहाँ यो सिध्दान्तलाई व्यवहारमा उतारिँदै छ । त्यहाँ न खाना नष्ट गरिन्छ न संस्कृति । हामीमध्ये कैयन लेखक, जसले फासीवादको वर्वरताको अनुभव गरेका छन् र त्यसबाट डराएका छन् तिनीहरूले पनि यो सिध्दान्त अहिलेसम्म बुझेका छैनन् । उनीहरूले आफूलाई भयभित बनाउने यो वर्वरताको कारण खोजेका छैनन् । उनीहरूको लागि त्यो फासीवादको वर्वरता अनावश्यक बर्बरता मान्लान् भन्ने खतरा मडारिरहन्छ । फासिवादी बर्बरता सम्पत्ति सम्बन्ध रक्षाको लागि खास आवश्यक छैन भन्ने सोचेर ती सम्पत्ति स्वामित्वको सम्बन्धमा टाँसिरहन्छन् । तर, यदि बर्तमान सम्पत्ति स्वामित्वको शर्तलाई यथावत राख्ने हो भने नि:सन्देह बर्बरता आवश्यक छ । यहाँ विशिष्ट फासिवादी झुटो हैन साँचो बोलिरहेको छ । हाम्रा ती साथीहरू जो फासिवाददेखि म जत्ति नै डराएका छन्, तर जो सम्पत्ति सम्बन्धको शर्तलाई सुरक्षित राख्न चाहन्छन् या त्यसको बचाउप्रति उदाशिन छन्, तिनीहरू बर्बरताविरुध्द पर्याप्त रुपमा सशक्त या लगातार संघर्ष गर्न सक्दैनन्, जसको अहिले सबैभन्दा धेरै खाँचो छ । किनकि तिनीहरू बर्बरतालाई कुनै स्थान नभएको सामाजिक परिस्थितिको नाम दिन र त्यो परिस्थिति निर्माण गर्न सक्दैनन् । ती जसले यो खराबीको कारणसम्बन्धी खोजमा सम्पत्ति सम्बन्धलाई भेटे, उनीहरूले आफैलाई बर्बरताको नरकमा अझ डुब्दै निस्कंदै गरेको पाए, जबसम्म त्यो स्थानसम्म पुगेनन्, जहाँ मानव जातिको एउटा सानो टुक्राले आफ्नो रामराज कायम गरेका छन् । उनीहरूले यो राजलाई निजी सम्पत्ति अधिकारमा निहीत राखेका छन्, जसले अर्को मानिसलाई शोषण गर्न उसलाई सहयोग गर्छ र जुन अधिकारको रक्षा ऊ आखिरी समयसम्म गर्छ । एउटा यस्तो संस्कृतिको मूल्यमा जसले प्रतिरक्षा गर्न छोडेको छ या आत्मरक्षा गर्न असमर्थ छ । हरेक त्यस्तो मानवीय सह-अस्तित्वको नियमको मूल्यमा जसको लागि मानवताले असाध्य बहादुरी र उग्रतापूर्वक लामोलामो समयसम्म संघर्ष गर्यो /

साथीहरू हामीले सम्पत्ति स्वामित्वको शर्तहरूमा कुरा गर्नुपर्छ । बर्बरताको उदयविरुध्द संघर्षको विषयको सम्बन्धमा मैले यही भन्नु थियो । यहाँ पनि यही भनियो र मैले पनि यही भन्नुपर्ने हुन्थ्यो ।

अनुवाद : बलराम तिमल्सिना ‘विप्लव’

(Visited 87 times, 1 visits today)

टिप्पणी

comments