Main Menu

नास्टद्वारा पहलोपटक यार्सागुम्बाको विस्तृत अध्ययन शुरु

माघ ६, ललितपुर

yarsagumba-study-starts

नेपालमा पहिलो पटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको विस्तृत अध्ययन शुरु भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि महाशाखा (नास्ट)ले यार्सागुम्बाका प्रकार, अवस्था, गुणस्तरलगायत विषयमा अनुसन्धानका लागि तीन वैज्ञानिकको टोली बनाएको छ । नास्ट विज्ञान शाखा प्रमुख जयश्री सिंजापतिका अनुसार टोलीमा डा. जयकान्त राउत, डा. रामचन्द्र पौडेल र डा. लोकरञ्जन भट्ट रहेका छन् ।

उनी भन्छिन्, “यहाँबाट आउने निष्कर्षले यार्सागुम्बाको अवस्था बुझ्नुका साथै संरक्षणमा नीति बनाउन सघाउने छ ।” 

यार्सागुम्बाको गुणस्तरका हिसाबले डोल्पा पहिलो र दार्चुला दोस्रो भनिए पनि त्यो हचुवाका भरमा मात्र भएको डा. पौडेल बताउँछन् ।

उनी भन्छन्, “हामी त्यस सम्बन्धमा अनुसन्धान गरेपछि नै ठोसरुपमा भन्न सक्नेछौँ ।”

यार्सागुम्बा संकलकका अनुसार पाटनमा यार्सागुम्बा कम हुँदै गएको छ । यार्सागुम्बाको उत्पादन नै कम भएको हो/होइन बुझ्न र कम भएको भए कम हुनुका कारण पत्ता लगाई संरक्षणमा लाग्नुपर्ने खाँचो रहेको डा. पौडेलको धारणा छ । पाटनमा अरु खालका बनस्पति मासिए पनि त्यसको संरक्षणको उपायसमेत आवश्यक भएको डा. पौडेल बताउँछन् ।

यार्सागुम्बाको स्रोत भएका जिल्लामा आर्थिक मात्रै नभएर सामाजिक जीवनसमेत त्यससँग जोडिएको टोलीका अर्का सदस्य डा. भट्ट बताउँछन् । विश्व बैंकले केही वर्ष पहिले गरेको अध्ययनमा त्यस क्षेत्रमा यार्सागुम्बाले आर्थिक क्रियाकलाप बढाएको उल्लेख छ ।

“यार्सागुम्बा हिमाली र पहाडी क्षेत्रका लागि वरदान बनेको छ । केही महिना काम गरेर धेरै संकलक बाँकी समय काम नगरी बस्ने गरेका छन्”, उनी भन्छन्, “त्यसले गर्दा एकातिर आर्थिक समृद्धिमा सहयोग पुगेको छ भने अर्कातिर खेतीपाती हुन छाडेको छ ।”

वर्षेनी यार्सागुम्बा टिप्ने समयमा विद्यालय र गाउँ नै सुनसान हुनेगर्छ । बालबालिकाको आँखा तेजिलो हुनाका कारण उनीहरुलाई पनि यार्सागुम्बा टिप्न अभिभावकले लैजाने गर्छन् । संकलकका बीचमा प्रतिस्पर्धा हुने कारणले परिवारका धेरै सदस्य लैजाने गरेको पाइन्छ । 

डा. भट्ट भन्छन्, “हामीले गर्ने अध्ययन विज्ञानमा आधारित भए पनि केही हदसम्म सामाजिक समस्या पत्ता लगाउनसमेत सहयोग मिल्नेछ ।”

यार्सागुम्बाको उत्पादन कम भएको संकलकले बताए पनि त्यससम्बन्धी अध्ययन भने नभएको डा. राउत बताउँछन् । अत्याधिक र अव्यवस्थित संकलन, जलवायु परिवर्तनलगायत कारण उत्पादनमा कमी आएको हुनसक्ने उनको अनुमान छ । चीनका धेरै यार्सागुम्बा पाइने ठाउँ अहिले मरुभूमिमा परिणत भइसकेका कारण पनि नेपालले धेरै कुरा सिक्नुपर्ने उनी बताउँछन् ।

संकलनकर्ता धेरै संख्यामा जाँदा उनीहरुले कुल्चँदा यार्सागुम्बा मात्रै होइन, अरु जडीबुटी पनि मासिने गरेको छ । त्यस्तै, दाउराका लागि काठ प्रयोग हुँदा जंगल फँडानी पनि बढेको छ । “त्यसैले पनि अहिले हाम्रो ध्यान संरक्षणमा केन्द्रित गर्नुपर्छ ।” डा. राउत भन्छन् । संरक्षणको लागि एक वर्ष एक ठाउँको र अर्काे वर्ष अन्यत्रको टिप्न सकिने उनी बताउँछन् ।

गुणस्तर कायम रहने गरेर यार्सागुम्बाको कृत्रिम उत्पादनसमेत गर्न सकिन्छ, तर स्थानीयस्तरमा नै अध्ययन/अनुसन्धान नहुँदा कृत्रिम उत्पादनको पहल भएको छैन ।

विश्वमा पाइने ५४० प्रजातिमध्ये नेपालमा १७ प्रजातिका यार्सागुम्बा पाइन्छन् । ओफियोकोर्डिसेप्स साइनेन्सिस जातको यार्सागुम्बा नेपालमा मात्रै पाइन्छ । नेपालका २७ हिमाली र पहाडी जिल्लाका चौँरीखर्क र घाँसे मैदानमा यार्सागुम्बा पाइन्छ । डोल्पा र दार्चुलासँगै संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, हुम्ला, जुम्लालगायत जिल्लामा व्यावसायिक रुपमा यार्सा संकलन हुने गरेको छ ।

नेपाल दोस्रो यार्साकुम्भु उत्पादक देश हो । पहिलो यार्सा उत्पादक भने चीन हो । सन् २०१४/१५ मा रु. ४ अर्ब ९२ करोड मूल्य बराबरको यार्साको व्यापार भएको तथ्यांक छ । ठूलो परिणाममा अवैध रुपमा समेत यसको बिक्री हुने गरेको छ ।

  • सञ्चिता घिमिरे
(Visited 25 times, 1 visits today)

टिप्पणी

comments