Main Menu

लेखक कलाकारहरुको चैत्र तीन

– हरिगोविन्द लुइँटेल

२०४६ सालको चैत्र तीन गते जन आन्दोलनको क्रममा लेखक कलाकारहरुले काठमान्डुको सरस्वती सदन त्रीचन्द्र कलेजमा मुखमा कालोपट्टी बाधेर निरंकुशतन्त्रका बिरुद्ध प्रदर्शन गर्दै सामुहिक गिरफ्तारी दिँदै ।

२०४६ सालको जनआन्दोलन फागुन ७ गतेबाट घोषित रुपमा शुरु भैसकेको थियो । निरंकुश राजतन्त्रका विरुद्ध वापन्थीहरुसंग मिलेर आन्दोलन गर्न नदिने नेपाली कांग्रेसभित्रको लबीलाई गणेशमानसिंहले परास्त गरेका थिए भने कांग्रेससंग मिलेर आन्दोलन गर्नुपर्छ भनी स्व. पुष्पलालले राख्दैआएको प्रस्तावलाई अस्वीकार गर्दै आएको वामआन्दोलनलाई मनमोहन अधिकारी, निर्मल लामा र पछि आएर मदन भण्डारीहरुले स्वीकारतहमा ल्याएर सात वामहरुको ‘संयुक्त वाममोर्चा’ बनाएका थिए । मोहनविक्रम सिंहको मसाल, शेरसिंह–किरणको तत्कालीन मशाल पार्टी लगायतका चार वामहरुको मोर्चा ‘संयुक्त राष्ट्रिय जनआन्दोन’ तयार भएको थियो । कांग्रेस तथा संयुक्त वाममोर्चा एकसाथ रहेर र संयुक्त राष्ट्रिय जनआन्दोन अलि बाहिर बस्ने तर समन्वयमा रहेर आन्दोलन गर्ने खाका बनेकोले निरंकुशताविरुद्ध नेपाली जनताको नेतृत्वको समस्या हल भएको थियो । त्यसैले उत्साहपूर्ण रुपमा आन्दोलन शुरु भएको थियो । शुरु केही दिन आन्दोलन राम्रैसंग अघि बढ्यो । तर फागुन ७, ८ हुँदै फागुन मसान्तसम्म पुग्दा यो शिथिल हुन पुग्यो । आन्दोलनका घोषित कार्यक्रमहरु संपन्न त हुन्थे तर तिनीहरु नाम मात्रका हुन्थे । यो स्थितिमा जनतामा केही हदसम्म निरासा र मण्डले शासकहरुमा फुर्तिफार्ती बढेर गएको थियो ।

यो अवस्थालाई चिर्नको निम्ति अव लुकेर छड्के जुलुस निकाल्ने हदको आन्दोलनलाई हाकाहाकीको आन्दोलनमा बदल्न जरुरी थियो । त्यो हाकाहाकीको आन्दोलन भनेको समाजमा चिनिएका, जानिएका मानिसहरुले ‘ए निरंकुश सत्ता, म प्रजातन्त्रको पक्षमा छु, तेरो निरंकुशतन्त्रको विपक्षमा छु, लौ आइज के सक्छस्, गर्’ भन्ने मोडेलको कुनै सार्वजनिक कार्यक्रम हुनसक्थ्यो । त्यस्तो कार्यक्रम भनेको वाम तथा प्रजातन्त्रवादी लेखक, कलाकारहरुले नै गर्न सक्छन् भन्ने निश्कर्षसाथ चैत्र ३ गते काठमाण्डौंमा लेखक, कलाकारहरुले मुखमा कालोपट्टी बाँधेर कुनै सार्वजनिक स्थानमा केही बेर प्रदर्शन गर्ने काम उपयुक्त हुनसक्ने देखेर लामो तयारीका साथ चैत्र ३ गतेका लागि कार्यक्रम तय भयो ।

एकेडेमीको मूल गेट बाहिर पलेँटी कसेर मुखमा कालोपट्टीसहित एक घण्टा बस्ने योजनासहित आन्दोलनपक्षधर स्रष्टाहरुलाई खवर गरियो । तर खवर त आन्दोलनविरोधी मण्डले स्रष्टाहरुकाँ पनि पुग्या नै । उनीहरुले यो कार्यक्रम हुन नदिन विशेष सुराकी गर्दै हिँडेको र सरकारलाई खवर गरेको रहेछन् । फलस्वरुप विहानैदेखि एकेडमीको गेटमा एक ट्रक प्रहरी तैनाथ गरिएको रहेछ । यो थाहा पाएर आन्दोलनकारीहरुले पनि तत्काल स्थान परिवर्तन गर्ने निधो गरी होशियारीपूर्वक आउँदाआउँदै गरेका स्रष्टाहरुलाई बाटोबाटैबाट खवर गरे र कार्यक्रम सरस्वती सदन, त्रिचन्द्र क्याम्पसको प्रांगणमा गरे । करीव १७५ जना जति स्रष्टाहरु त्यहाँ उपस्थित भएर मुखमा कालोपट्टी बाँधेर आधा घण्टा पनि बस्न पाएका थिएनन्, प्रहरीले सवैलाई घेराउ गर्यो । ट्रक र भ्यानहरु ल्याएर सवैलाई पक्राउ गरियो र महेन्द्र पुलिस क्लब लगियो । फेरि तुरुन्तै त्यहाँबाट पुतली सडकस्थित प्रहरी चौकी बग्गीखानामा लगियो । युद्धप्रसाद मिश्र, आनन्ददेव भट्ट, भुवनलाल प्रधान, डायमण्ड शमशेर, सत्यमोहन जोशी, वाशु शशी, खगेन्द्र संग्रौला, गंगाप्रसाद उप्रेती, रायन, रामेश, ध्रुवचन्द्र गौतम, कमलमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, हरि अधिकारी, उत्तम नेपाली, शक्ति लम्साल, मोहन कोइराला, दुर्गालाल श्रेष्ठ, निनु चापागाईं, रुद्र खरेल, विमल निभा, महेश मास्के, मुरारी अर्याल, ताराकान्त पाण्डेय, वासुदेव अधिकारी, बेन्जु शर्मा, गोविन्द वर्तमान, अशेष मल्ल, विष्णुविभु घिमिरे, शारदा शर्मा, मोहन खड्का, सुनिल पोखरेल, शैलेश श्रेष्ठ, कृष्णसेन इच्छुक, आहुति, मणि थापा, शार्दुल भट्टराई, स्नेह साय्मि, प्रकाश साय्मि, राजेन्द्र शलभ, नारायण पुरी, मह जोडी, सुरेश किरण, मल्ल के सुन्दर, राजकुमार के.सी., सुम्निमा तुलाधर लगायत विविध विधा र उमेरका स्रष्टाहरु त्यहाँ थियौं । पारिजातलाई भने बोकेर गाडीमा हाल्नुपर्ने हुनाले गिरफ्तार गर्ने आँट गरेन, उहाँलाई सरस्वती सदनमै छाड्यो ।

२०४६ सालको चैत्र तीन गते जन आन्दोलनको क्रममा लेखक कलाकारहरुले काठमान्डुको सरस्वती सदन त्रीचन्द्र कलेजमा मुखमा कालोपट्टी बाधेर निरंकुशतन्त्रका बिरुद्ध प्रदर्शन गर्दै सामुहिक गिरफ्तारी दिएका थिए । सोही कामका लागी दिदी पारिजातलाई उक्त स्थानमा लाने क्रममा लेखक । साथमा लेखक आनन्ददेव भट्ट पनि हुनुहुन्छ । फोटो साभार : नरेश श्रेष्ठ

बग्गीखानामा लगेर पुलीसले भिडियो क्यामेराका सामु राखेर हरेकलाई बयान लियो । ‘कसले भनेर र किन यो प्रदर्शनीमा भाग लिएको हो ?’ भन्ने विषयलाई केन्द्रमा राखेर प्रश्नहरु गरिएका थिए । बयानबाजीबाट सरकार यो आन्दोलनका अगुवाहरु पत्ता लगाउन चाहन्थ्यो, लामो समय थुन्नका लागि कुनै कानूनी मसाला पाइन्छ कि भनेर खोजी गर्दैथियो र मूलतः सवैलाई आतंकित पार्न सकिन्छ कि भनी कोशीस गर्दैथियो । तर सवै स्रष्टाहरुले एउटै आशयको जवाफ दिए । ‘पत्रपत्रिकाहरुबाट यो कार्यक्रम हुँदैछ भन्ने जानकारी पाएर म यहाँ भाग लिन आएको हुँ । प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा म आफैं प्रतिबद्ध भएर यो प्रदर्शनीमा भाग लिएको हुँ । अर्थात् मैले यो काम आफैंले जानीबुझी गरेको हुँ ।’ सवैको यस्तो दृढ जवाफले सायद निरंकुशतन्त्रले ठूलै चुनौति अनुभव गर्यो । बाहिर यो गिरफ्तारीको ठूलै प्रचारप्रसार भैसकेको थियो । बिबिसि रेडियोबाट पनि खबर आएको थियो । माथि शुरुमा चर्चा गरिएझैं वास्तवमा यो घटना हाकाहाकी राजाको सत्तासंग आँखा जुधाएर चर्चित स्रष्टाहरुले दिएको ठाडो चुनौति थियो । मुख थुनेर पनि स्रष्टाहरुले धेरै ठूलो बोली बोलेका थिए । यो बोलीबाट तर्सेको सरकारले स्रष्टाहरुलाई धेरै समय थुन्नु आफ्नै लागि हानीकारक हुने ठम्याएर साँझ छिप्पिएपछि रिहा गर्ने निर्णय लियो । एक एक गरी उनीहरुलाई छाडियो । यसअघि अधिकारका लागि लागेका थुप्रै आन्दोलनकारी नेताहरु, कार्यकर्ताहरु थुनामा थिए, तिनलाई सरकारले छाडेको थिएन । तर उसले स्रष्टाहरुलाई भने त्यसरी थुनेर राख्न सकेन । वास्तवमै यो घटनाले समग्र आन्दोलनकारीहरुलाई ठूलो मनोवल प्रदान गर्यो । गिरफ्तार वयोवृद्ध स्रष्टा युद्धप्रसाद मिश्रले कस्तो आँटपूर्ण प्रस्तुति दिए, महजोडीलाई भ्यानमा लगियो कि ट्रकमा, गिरफ्तारीपछि स्रष्टाहरुको सहास कस्तो देखिन्थ्यो, अवसरवादीहरु कसरी भागे, भातमारा मण्डले स्रष्टाहरुको प्रतिकृया कस्तो रह्यो ? आदिआदि जिज्ञासाहरु, प्रश्नहरु धेरैतिर चर्चित भए । फलस्वरुप अन्य क्षेत्रका बौद्धिक व्यक्तिहरु पनि आन्दोलनमा यसरी नै प्रस्तुत हुने हतारो गर्न थाले । यसको ४ दिनपछि चैत्र ७ गते कीर्तिपुरमा विश्वविद्यालयको हलबाटै प्राध्यापक लगायत सात सय जना बौद्धिकहरुले यसैगरी हाकाहाकी गिरफ्तारी दिए । यसरी अव आन्दोलन प्रतिरक्षात्मक तहबाट आक्रामक तहमा बदलिँदै गयो । देशभरि नै जागरणको ज्वाला दन्किन थाल्यो । चैत्र ८, ९ गते हुँदै १६, १७, १८ गते पुग्दा देशका अन्य भागहरुका अतिरिक्त राजधानीका कीर्तिपुर, पाटन र भक्तपुरमा टोलटोलमा जनताको आक्रामक सक्रियता बढेर गयो । चैत्र २२ गतेको लागि निर्धारित मन्दिरहरुमा प्रार्थनासभा अथवा विरोधसभा गर्ने कार्यक्रमहरु व्यापक रुपमा सफल भए । २४ गते काठमाण्डौंमा महाप्रदर्शनी र गोलीवारी, आगजनी अनि कर्फयुआदेश आदिआदि हुँदै २७ गते पुग्दा निरंकुश राजतन्त्र बहुदलको घोषणा गर्न बाध्य भयो ।

२०४६ को आन्दोलनका जति नै सिमाहरु रहेतापनि त्यसपछिको जनयुद्ध र जनआन्दोलन २०६२–६३, संविधानसभा, नयाँ संविधान निर्माण हुँदै आज हामी अझै अधुरै भए पनि जुन परिवर्तनको अवस्था र संभावनाका सामु खडा भएका छौं, यहाँसम्म आइपुग्नका लागि विगतका सवै जनपक्षीय आन्दोलनहरुको भूमिकाको महत्वलाई कसैले पनि नकार्न सक्दैन । त्यसमाथि पनि आन्दोलनलाई ऐनमौकामा उर्जा थप्नेगरी चालिएका कदमहरु त झनै स्मरणीय हुने गर्छन् । यस अर्थमा २०४६ को चैत्र ३ गते लेखक कलाकारहरुले खेलेको भूमिका पनि विशेष रुपमै उल्लेखनीय रहेको छ ।

आज धेरै वर्षहरु बितिसक्दा पनि चैत्र ३ को महत्व र गरिमा झनझन बढेर गएको छ । स्रष्टाहरु आफ्ना कला, साहित्यको सिर्जनामार्फत् नै पनि समाजको अग्रगामी रुपान्तरणको पक्षमा काम गरिरहेका थिए । उनीहरुको यो सिर्जनात्मक काम आफैंले पनि जनताको अग्रगामी चेतना निर्माणमा उल्लेखनीय भूमिका खेलेको हुन्छ नै । त्यसमाथि उनीहरु देशका लागि जरुरी पर्दा सिर्जनाइतर गतिविधिव्दारा नै पनि, सशरीर नै पनि सक्रिय हुन्छन्, चुप लाग्दैनन् । यो महत्वपूर्ण सन्देश यो दिनले प्रवाह गरिरहेको छ । यो सन्देश नेपालको इतिहासमा मात्र हैन, विश्वकै इतिहासमा स्रष्टाका उदाहरणीय दायित्वहरुको अर्थमा स्मरणीय रहनेछन् । हो, परिआउँदा स्वाभिमानी स्रष्टाहरु लेख्न, चित्र कोर्न वा मूर्ति बनाउन, गीत, नाटक र चलचित्र बनाउनमा मात्रै सीमित हुँदैनन्, उनीहरु जोखिम मोलेर प्रतिगामी सत्तासंग पौठेजोरी खेल्न पनि पछि पर्दैनन् ।

चैत्र ३ को यो दिन र यो सन्देशलाई स्मृतिमा दिगो राख्न भनेर एउटा खुकुलो खालको मंच हामीले बनाएका थियौं । २०५४ साल फागुन २६ गते विभिन्न स्रष्टाहरुसंग परामर्श लिई खडा गरिएको यस मंचको नाम राखिएको थियो– ‘सिर्जना चैत्र ३ : साहित्यिक अभियान ।’

यसमा शुरुमा उपरोक्त कालोपट्टीका सहभागीहरुमध्ये यो लेखक, गोविन्द वर्तमान, स्नेह साय्मि, राजकुमार के. सी. र राजेन्द्रप्रसाद अधिकारी रहेका थियौं । पछि २०५६ फागुन २० गते यसलाई पुनर्गठन गरियो, जसमा नारायण ढकाल, विमल निभा, राजेन्द्र महर्जन र सुरेश किरण थपिनु भएको थियो भने खगेन्द्र संग्रौला र रामेश श्रेष्ठ सल्लाहकारको रुपमा रहनु भएको थियो । राणाकालमा ‘मकैको खेती’ नामक पुस्तकमा मकैबालीमा लाग्ने ‘राता टाउके ’ र ‘काला टाउके ’ किराको रुपमा राणाहरुलाई सांकेतिक रुपमा चित्रण गरेको भन्ने आरोपमा थुनामा राखी थुनामै विरामी परेको कारण मृत्यु भएका लेखक सुव्वा कृष्णलाल अधिकारीको अग्रगामी स्रष्टा चेतना र प्रयत्नको समेत स्मरण गर्दैं २०५६ माघ २८ गते उनको ११३ औं जन्मजयन्ति मनाउने जस्ता कामहरु यस मंचमार्फत् भएका थिए । दुई वर्ष यसका बुलेटिनहरु पनि प्रकाशित भए । यसले पछिल्ला समयहरुमा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको पक्षमा यसले समसामयिक आवाजहरु उठाउने काम पनि गर्दैआयो । तर लामो समय यो मंच धेरै सक्रिय हुन सकेन । पछिल्लो लोकतान्त्रिक आन्दोलनको पृष्ठभूमिमा लोकतान्त्रिक स्रष्टाहरुलाई एक ठाँउ ल्याउनमा, यस मंचका भेलाहरुमा जुन आवाजहरु उठे, तिनले लोकतान्त्रिक ‘साहित्यकार संघ’ हुँदै ‘लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मंच’ निर्माण गर्न समेत परोक्ष भूमिका खेल्यो । डा. धु्रवचन्द्र गौतमको संयोजकत्वमा पनि यस चैत्र ३ को स्मृतिमा केही वर्षसम्म भेलाहरु हुँदै आए । यस दिनलाई ‘लेखक दिवस’ को रुपमा मान्ने अभियान पनि थालियो ।

‘चैत्र तीन’ सामयिक बुलेटिन १, २०५४ फागुन अंकमा ‘सिर्जना चैत्र ३ : साहित्यिक अभियान’ले एउटा टिप्पणी छापेको छ ‘२०४६ सालको चैत्र ३ गतेले हामीमाथि छाडेका दायित्व’को रुपमा । यसमा भनिएको छ–

  • देश र समाजको अग्रगतिका निम्ति लेखक कलाकारहरुको विशिष्ठ दायित्व रहेको हुन्छ । कला सिर्जना र कला गतिविधिहरुमार्फत् उनीहरुले यो दायित्व निर्वाह गर्नेछन् । यदि परिआउँछ भने उनीहरु सशरीर मैदानमा नै उत्रन पनि पछि पर्ने छैनन् ।
  • कला साहित्य समाजको अग्रगामिताको पक्षमा र विपक्षमा गरी दुवै थरिका हुने गर्छन् । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका विरुद्धमा पनि तत्कालीन निरंकुशतन्त्रपक्षीय लेखक कलाकारहरु सक्रिय थिए । यस प्रतिगामी धाराका विरुद्ध सचेत लेखक कलाकारहरुले चैत्र ३ को महान् कदम चालेका थिए । प्रतिगामी कला चिन्तन र कलागतिविधिका विरुद्ध लड्दै अग्रगामी लेखक कलाकारहरुले निरन्तर सक्रियता कायम गर्नु जरुरी छ ।
  • २०४६ चैत्र ३ गते जसरी देशको पक्षमा नेपालका प्रगतिशील र प्रजातान्त्रिक लेखक कलाकारहरु संयुक्त भई अगाडि बढे, साझा बुँदाहरुमा यो संयुक्तता आज पनि कायम हुनु जरुरी छ । यसनिम्ति पहल गरी एकतावद्ध भई लेखक कलाकारहरुले कलासाहित्यको क्षेत्रमा जनआन्दोलन २०४६ का निर्देशहरुलाई देश र समाजमा लागु गर्नु जरुरी छ ।

वास्तवमा यो टिप्पणीले उठाएका विषयहरु सधैं नै प्रासंगिक रहने खालका छन् । हो, समय र परिस्थिति केही बदालिएको छ । तर अग्रगमनको यात्रा रोकिएको छैन, रोकिने छैन । सच्चा लोकतन्त्रका हिमायती स्रष्टाहरु सिर्जना र सिर्जनाइतर गतिविधिबाट पनि अग्रगमनको पक्षमा सक्रिय भैरहनु पर्छ । समाजमा प्रतिगामी सिर्जना र स्रष्टाहरु पनि हुन्छन्, तिनीहरुबाट चनाखो भैरहनुपर्छ । लोकतान्त्रिक स्रष्टाहरु साझा सवालहरुमा एकजुट भैरहनुपर्छ ।

अन्तमा, ‘सिर्जना चैत्र ३ : साहित्यिक अभियान’लाई धेरै स्रष्टाहरुले सुझाएको एउटा काम उल्लेख गर्न चाहन्छु ।
काम : शालिक निर्माण ।

सरस्वती सदन काठमाण्डौंमा एउटा सिमेण्टको खम्बा, त्यसमाथि सेतो संगमर्मरको एउटा मानवआकृति, पलेंटी कसेर बसेको । आकृतिको मुखमा कालो पट्टी बाँधिएको । यसका लागि एउटा खम्बा ठड्याउन पुग्ने चार हात लम्बाइ, चौडाइको वर्गाकार जमीन मात्र भए पुग्छ ।

के वर्तमान सरकारले यो जमीन र यो निर्माणको लागि जरुरी स्रोत उपलव्ध गराउन सक्छ ? के हालको ‘लोकतान्त्रिक एकेडेमी’ले यो कामको अगुवाइ गर्न सक्छ ?

०००

(Visited 114 times, 1 visits today)

टिप्पणी

comments