Main Menu

विज्ञान जिज्ञासा

के हो सुपरमुन ?

Lunar_perigee_apogee

गत २०१६ को अक्टोबर, नोभेम्बर र डिसेम्बर तीन महिनाका पूर्णिमाहरुमा लगातार सुपरमुन भए । यो सन् १९४८ को जनवरी २६ को सुपरमुनपछि सबैभन्दा नजिकको सुपरमुन थियो । र, सन् २०३४ को नोभम्बर २५ सम्ममा यति नजिकको सुपरमुन फेरि हुनेवाला छैन । तर यो सुपरमुन हो के त ? यसको यति चर्चा किन ? र खगोलशास्त्रीहरुलाई मात्र नभएर आम मानिसहरुलाई पनि यसको यति धेरै चासो किन त ?

हामी सबैलाई चन्द्रकलाको बारेमा त थाहा नै छ । औँसीको दिनको भोलिपल्टदेखि सूर्यको प्रकाश पर्ने चन्द्रमाको भाग बढ्दै जान्छ । हँसियाको आकार हुँदै अर्धचन्द्राकारसम्म र त्यसपछि एकादशी हुँदै पूर्ण वृत्ताकारको पूर्णिमासम्म ।

चन्द्रकला

यसरी चन्द्रकला देखिनु, या भनौँ, चन्द्रमाले यसरी आफ्नो आकार परिवर्तन गर्नुको कारण भने चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा सूर्यको प्रकाश पर्ने भाग मात्र देखिनु हो । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा हुँदा सूर्यको प्रकाश पर्ने चन्द्रमाको भाग पृथ्वीको विपरित दिशामा हुन्छ । त्यही भएर यस्तो अवस्थामा औँसी हुन्छ । त्यसैगरी सूर्य र चन्द्रमाको बीचमा पृथ्वी हुँदा सूर्यको प्रकाश पर्ने चन्द्रमाको भाग पृथ्वीतिर फर्किएको हुन्छ । र यस्तो अवस्थामा पूर्णिमा हुन्छ । याद राख्नुपर्ने कुरा के हो भने पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने कक्षको सतहले चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने कक्षको सतहसित ५ डिग्रीको कोण बनाउँछ । त्यसैले हरेक पटक पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा सूर्य ग्रहण हुँदैन भने हरेक पटक सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा चन्द्र ग्रहण हुँदैन ।

रमाइलो कुरा के छ भने चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने कक्ष पूर्ण वृत्ताकार छैन । खासमा कुनैपनि आकाशीय पिण्डले अर्को आकाशीय पिण्डलाई परिक्रमा गर्ने कक्ष पूर्ण रुपमा वृत्ताकार नभई अण्डाकार हुन्छ । त्यही भएर पृथ्वीलाई परिक्रमा गर्ने क्रममा चन्द्रमा कहिले पृथ्वीको नजिक आउँछ त कहिले टाढा जान्छ ।

apogee-perigeeचन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने अवस्थालाई खगोलशास्त्रीय भाषामा पेरिजी भनिन्छ भने सबैभन्दा टाढा जाने अवस्थालाई एपोजी । एपोजीको अवस्थामा भन्दा पेरिजीको अवस्थामा चन्द्रमाको आकार ठूलो देखिने कुरा सही भए पनि ख्याल राख्नुपर्ने कुरा के हो भने आम मानिसले चन्द्रमाको आकारको भिन्नता छुट्याउन सक्दैनन् । एपोजीको अवस्थामा भन्दा पेरिजीको अवस्थामा चन्द्रमाको आकार १० प्रतिशत मात्र ठूलो हुन्छ ।

supermoon compared with normal moonअर्को कुरा, चन्द्रमा एउटा पेरिजीको अवस्थाबाट अर्को पेरिजीको अवस्थासम्म पुग्नको लागि लाग्ने समय र एउटा पूर्णिमाबाट अर्को पूर्णिमा सम्मको समय फरक हुन्छ । त्यसैले हरेक पटक चन्द्रमा पेरिजीको अवस्थामा हुँदा चन्द्रकलाको आकृत्ति फरक–फरक हुन्छ । एकचोटी पेरिजीको अवस्थामा एकादशी परेको छ भने अर्कोचोटी पेरिजीको अवस्थामा औँसी पर्ने हुनसक्छ । पेरिजीको अवस्थामा पूर्णिमा पर्यो भने चाहीँ हामी त्यसलाई सुपरमुन भन्छौँ । नासाका अधिकारीहरुका अनुसार सुपरमुनको समयमा चन्द्रमा १४ प्रतिशतसम्म ठूलो र ३० प्रतिशतसम्म बढी चम्किलो देखिन्छ ।

(Visited 140 times, 1 visits today)

टिप्पणी

comments