Main Menu

भोयजर मिसनको ४० वर्ष

अनन्त अन्तरिक्ष यात्रामा रहेका दुई यानहरुको कथा

  • आकाश महर्जन

voyager-missions-story४० वर्षअघि भोयजर १ र २ मिसनहरुले आफ्नो अन्तरिक्ष यात्रा थालेका थिए । आज ४० वर्षपछि यी दुई अन्तरिक्ष यानहरु अन्तरनक्षेत्रीय यात्रा गर्दैछन्, पृथ्वीबाट इतिहासमै सबैभन्दा टाढा पुग्ने मानवनिर्मित वस्तुका रुपमा । ‘सबैभन्दा टाढा पुग्ने’ मात्र यी दुई यानहरुको लक्ष्य पक्कै थिएन; यिनले बृहस्पति र शनि ग्रहहरुलाई परिक्रमा गरी तिनीहरुको अध्ययन गरे । र, जब भोयजर १ सौर्यमण्डल छोडी अन्तरनक्षत्रीय अन्तरिक्षमा सयर गर्न अगाडि बढ्यो, तब भोयजर २ अरुण र बरुणको अध्ययन गर्दै थियो । अहिलेसम्म यी दुई ग्रहहरुको अध्ययन गर्ने भोयजर २ यान मात्र हो ।

गत अगष्ट २० अर्थात् भदौ ४ आइतबार भोयजर १ को ४० औँ एनिभर्सरी । ४० वर्षअगाडि २० अगष्टकै दिन भोजयर १ को प्रक्षेपण गरिएको थियो । आउँदो महिना, सेम्टेम्बर ५ मा भोयजर २ को एनिभर्सरी । तर, प्रक्षेपणको ४० वर्ष बितिसक्दा पनि र हाम्रो पृथ्वीबाट यति टाढा पुगिसक्दा पनि अविश्वसनीय कुरा के छ भने यी दुबै यानहरु नासाको सम्पर्कमा छन् र यिनीहरुले अझै महत्वपूर्ण सूचनाहरु पठाउँदैछन् । त्यसैले यी दुई यानहरु पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने यानहरु मात्र नभई सबैभन्दा लामो समयसम्म चल्ने मिसनहरु पनि भएका छन् ।

भोयजर यानहरुको रेकर्ड यत्तिकैमा सकिँदैन । उदाहरणको लागि, सन् २०१२ मा भोयजर १ अन्तरनक्षत्रीय अन्तरिक्षमा पुग्ने पहिलो र अहिलेसम्म एउटै यान बन्यो । भोयजर २ भने ४ वटै ग्यास जायन्टहरुको (बृहस्पति, शनि, अरुण र बरुण ग्रहहरु ग्याँसले बनेका निकै विशाल ग्रहहरु भएकाले यिनीहरुलाई ग्यास जायन्ट भनिन्छन्) अध्ययन गर्ने एकमात्र अन्तरिक्ष यान हो ।

यी यानहरुले पहिलोपटक पृथ्वीबाहिरका सक्रिय ज्वालामुखीहरु पत्ता लगाएका थिए, बृहस्पतिको उपग्रह आइओमा । बृहस्पतिकै अर्को उपग्रह युरोपाको सतहमुनि विशाल समुद्र हुनसक्ने तथ्यको पहिलो पुष्टि, टाइटन (शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह) को बाक्लो वायुमण्डल (पृथ्वीभन्दा बाहिर नाइट्रोजन बढी मात्रामा भएको एक मात्र वायुमण्डल), अरुण ग्रहको उपग्रह मिरान्डाको पहाडी सतहदेखि बरुण ग्रहको सबैभन्दा ठूलो उपग्रह ट्राइटनको सतहबाट निस्किरहेका बरफका गिजरहरु – यी सबै डिस्कभरीहरु यिनै दुई भोयजर यानहरुका देनहरु हुन् ।

यी कुराहरु ग्रह विज्ञान (Planetary Science), खगोलविज्ञान र अन्तरिक्ष अन्वेषणका लागि अमूल्य उपलब्धीहरु हुन् । भोयजर यानहरुले प्रत्येक्ष रुपमा मात्र योगदान गरेका नभई अप्रत्येक्ष रुपमा पनि भविष्यका मिसनहरुको लागि मार्गदर्शकको रुपमा योगदान पुर्याए; बृहस्पतिको अध्ययनका लागि पठाइएका ग्यालिलियो तथा जुनो मिसनहरु, शनिको अध्ययनका लागि पठाइएको कसिनी–हाइजेन्स मिसन, यममा पठाइएको न्यू होराइजन्स मिसन, आदि ।

नासा को साइन्स मिसन डिरेक्टोरेनका थोमस जर्बन्चेन भन्छन्, ‘मलाई के लाग्छ भने भोयजर यानहरुले आफ्नो चार दशक लामो अन्वेषणमा जति उपलब्धीहरु हासिल गरे, थोरै मात्र मिसनहरुले ती उपलब्धीहरु हासिल गर्न सक्छन् । यी यानहरुले हामीलाई ब्रम्हाण्डका थुप्रै रहस्यहरुको बारेमा सिकाएका छन्, र मानवसमाजलाई हाम्रो सौर्यमण्डल र त्यसभन्दा पनि पर गएर अनुसन्धान जारी राख्नको लागि प्रेरित गरेका छन् ।’

तर, यी यानहरुको सबैभन्दा ठूलो उपलब्धी भनेको यी दुबैले आफूसँग बोकेका ‘पार्सल’हरु हुन्; सम्भावित एलियनहरुको लागि पार्सल । दुबै यानमा ‘गोल्डेन रेकर्ड’हरु छन् । यसमा पृथ्वीका आवाजहरु, तस्बिरहरु, मानव इतिहासदेखि लिएर मानव संस्कृतिसम्म रेकर्ड गरेर राखिएका छन् । भोयजर यानहरुलाई भविष्यमा कुनै पृथ्वीइतर बुद्धिमान प्राणीहरुले फेला पारेको खण्डमा उनीहरुलाई पृथ्वीको अस्तित्व र यहाँको स्थितिबारे ज्ञान होस् भन्ने हेतुले ‘गोल्डेन रेकर्ड’ भोयजर यानहरुसितै पठाइएका हुन् ।

भोयजर यानहरु दुबै नासा सित अहिले पनि सम्पर्कमा छन् र यिनीहरुले डाटाहरु पठाउँदैछन् । भोयजर १ पृथ्वीबाट अहिले २० अर्ब ९० करोड किलोमिटर टाढा छ । यो भनेको सूर्यबाट पृथ्वीसम्मको दूरी जति छ, त्यसको १४० गुना बढी दूरी हो । यो यान अहिले उत्तरी दिशातर्फ अगाडि बढ्दैछ र सौर्य मण्डल छोडेर अन्तरनक्षेत्रीय अन्तरिक्षमा प्रवेश गरिसकेको छ । यसले आफूले यात्रा गरिरहेको ठाउँका अन्तरिक्ष विकिरणहरु (Cosmic Rays) को बारेमा पृथ्वीमा सूचनाहरु पठाइरहेको छ । यस्ता विकिरणहरु अन्तरनक्षेत्रीय अन्तरिक्षमा पृथ्वीको वरिपरिको अन्तरिक्षमा भन्दा ४ गुना बढी पाइन्छन् ।

भोयजर १ ले पठाइरहेका सूचनाहरुका आधारमा अनुसन्धाताहरुले के कुरा पत्ता लगाएका छन् भने हेलियोस्फेयर (सौर्यमण्डलका ग्रहहरु तथा सौर्य आँधी भएको क्षेत्र) ले एक हिसाबमा सौर्यमण्डललाई बाहिरी अन्तरनक्षेत्रीय कणहरुबाट बचाइरहेको हुन्छ, ढालको जस्तो काम गर्छ, जसरी पृथ्वीको चुम्बकीय क्षेत्रले पृथ्वीलाई सौर्य विकिरणहरुबाट बचाउँछ ।

भोयजर २ भने अहिले पृथ्वीबाट १७ अर्ब ७० करोड किलोमिटर टाढा छ । यो भनेको पृथ्वीबाट सूर्यसम्मको दूरी जति छ, त्यसको ११४.३ गुना बढी दूरी हो । भोयजर १ उत्तरतिर गइरहेको छ भने भोयजर २ दक्षिततर्फ । भोयजर २ अहिले अन्तरनक्षेत्रीय अन्तरिक्षमा प्रवेश गरिसकेको छैन, तर केही वर्षमा गर्नेछ । भोयजर १ ले जस्तै यसले पनि हेलियोस्फेयरले आफू वरिपरिका अन्तरनक्षेत्रीय कण तथा विकिरणहरुसित कसरी प्रतिक्रिया गर्छ भन्ने कुराको अध्ययन गरिरहेको छ । यसको अध्ययन गर्नको लागि यसमा चार्जयुक्त कणहरु, चुम्बकीय क्षेत्र, रेडियो विकिरणहरु तथा सौर्य आँधीका कणहरुको मापन गर्ने उपकरणहरु राखिएका छन् ।

भायेजर २ पनि अन्तरनक्षेत्रीय अन्तरिक्षमा पुगेपछि दुबै यानहरुले दुई भिन्नाभिन्नै दिशाबाट एउटै कुराको अध्ययन गर्नेछन् । यसले हाम्रो सौर्यमण्डलको उत्पत्ति र यसको इतिहासका बारेमा महत्वपूर्ण सूचनाहरु प्राप्त गर्न सकिने वैज्ञानिकहरु आशा गर्छन् । यसको अलावा भाविष्यमा अन्तरनक्षेत्रीय मिसनहरु पठाउँदा के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा पनि भोयजर मिसनहरुबाट हामीले आंकलन गर्न सक्छौँ ।

यी दुई यानहरु अहिलेसम्म पनि सक्रिय रहेको तथ्य आफैमा अविश्वसनीय छ । क्याल्टेकको भौतिकशास्त्रका प्राध्यापक तथा जेट प्रपल्सन ल्याबका पूर्व सह–अध्यक्ष तथा निर्देशक एडवार्ड स्टोन भन्छन्, ‘४० वर्षअगाडि हामीले यी यानहरु प्रक्षेपण गर्दा हामी कसैलाई पनि यति धेरै समयसम्म यिनीहरु चल्छन् भन्ने लागेको थिएन । आउँदो ५ वर्षमा यी यानहरुले जे पत्ता लगाउनेछन्, ती कुराहरु सायद हामीले कल्पना पनि नगरेको कुराहरु हुनेछन् ।’

भोयजर यानहरुलाई यति लामो समयसम्म सञ्चालनमा राख्नु आफै एउटा ठूलो चुनौति हो, किनभने यिनीहरुले आफू सञ्चालन हुनको लागि चाहिनेजति ऊर्जा उत्सर्जन गर्ने दर प्रतिवर्ष ४ वाटले घटिरहेको हुन्छ (आफूलाई चाहिने ऊर्जा सौर्य ऊर्जाबाट प्राप्त गर्ने हुनाले सूर्यबाट जति टाढा गयो, ऊर्जा उत्सर्जन त्यति नै कम हुँदै जान्छ) । यसको मतलब इन्जिनियरहरुलाई हरेक समय यी यानहरुलाई कसरी कमभन्दा कम ऊर्जामा पनि सञ्चालन गर्न सकिन्छ भन्ने कुराको अनुसन्धान गरिरहनुपर्ने हुन्छ । र, यसको लागि यी यानहरु प्रक्षेपण गर्दाको समयको प्रविधिबारे पनि उत्तिकै अध्ययन गरिरहनुपर्ने हुन्छ । अहिले यी यानहरुको निरन्तर सञ्चालनमा अध्ययन गरिरहेको नासाको टीमको आंकलन अनुसार यी यानहरु सन् २०३० सम्म सञ्चालन हुन्छन्; त्यसपछि ऊर्जाको अभावका कारण यी यानहरु निभ्नेछन्, यानी पृथ्वीमा यिनीहरुले सूचना पठाउन नसक्ने हुन्छन् । तैपनि यिनीहरुको अन्तरनक्षेत्रीय यात्रा समाप्त भने हुने छैनन् । अन्तरिक्षमा ‘हिँडिरहेको’ वस्तुलाई रोक्ने कुनै बाहिरी एजेन्ट नहुने भएर यी यानहरु यात्रा भने गरिरहन्छन् नै, पृथ्वीमा सूचना पठाउन नसक्ने मात्र हुने हो । प्रतिघण्टा ४८ हजार २ सय ८० किलोमिटरका दरले हरेक १ सय २६ दिनमा एक अन्तरिक्ष एकाई (पृथ्वीबाट सूर्यसम्मको दूरीलाई एक अन्तरिक्ष एकाई भनिन्छ) को दूरी यात्रा गरिरहेका हुन्छन् ।

यो गतिमा अर्को ४० हजार वर्षमा यी यानहरु हाम्रो सौर्यमण्डलबाट सबैभन्दा नजिकको तारासम्म पुगिसक्छन् । हाम्रो तारापुञ्ज आकाशगंगाको परिक्रमा गर्न भने यिनीहरुलाई २२ करोड ५० लाख वर्ष लाग्नेछ । त्यसैले यिनीहरुको यात्राका दौरान कुनै आकाशीय पिण्डसित ठोक्किनेजस्ता दुर्घटना नभएमा कुनै दिन यी यानहरुले बोकेका ‘गोल्डेन रेकर्ड’ कुनै पृथ्वीइत्तर बुद्धिमान प्राणीले फेला नपार्ला भन्न सकिन्न; यो विल्कुलै सम्भव छ । तर, त्योबेलासम्म यहाँ पृथ्वीको मानव जाति कहाँ पुगिसक्ला, कस्तो अवस्थामा हुने होला भन्ने कुरा भने अहिलेको लागि कल्पना मात्रको विषय हो ।

(Visited 83 times, 1 visits today)

टिप्पणी

comments