Main Menu

भेनेजुयलाको समाजवादी सरकार गिराउने अमेरिकी प्रयास

(वर्ग सङ्घर्ष देशीय मात्र होइन यो भूमण्डलीय हुन्छ भन्ने कुराको पुष्टि अमेरिकाले अहिले भेनेजुयला देशमाथि गरेको व्यवहारले गरेको छ । दक्षिण अमेरिकी देश भेनेजुयलामा अहिले समाजवादीहरुको सरकार छ । त्यहाँको सरकारले पूर्व राष्ट्रपति बितेका ह्यगो चाभेजको पालादेखि नै मुलुक भित्रका श्रमिक जनता तथा आदिवासी–जनजातिहरुको हक, अधिकार र समृद्धिका लागि बिभिन्न राजनीतिक तथा आर्थिक कार्यक्रमहरु लागु गर्दै आएको छ । समाजवादी सरकारले राज्यको ढुकुटी र देशका प्राकृतिक स्रोत–साधनहरुलाई त्यहाँका पुँजीजिबी वर्गलाई एकलौटी ढङ्गले दुरुपयोग तथा दोहन गर्न रोकेको छ । सरकारका समाजवादी कार्यक्रमहरुले मुठ्ठीभर पुँजीजिबी वर्गकोभन्दा बहुसङ्ख्यक मेहनतकश श्रमजीबी एवं आदिवासी–जनजातिहरुको हितको पक्षपोषण गरेका छन् ।

भेनेजुयाली सरकारले मुलतः देशको प्राकृतिक स्रोत (पेट्रोलियम तथा अन्य खानीहरु) हरुमा आधारित उद्योगहरुलाई राष्ट्रियकरण गरेको छ । र, ती उद्योगहरुलाई श्रमिक एवं स्थानीय आदिवासी–जनजाति जनतासँगको साझेदारीमा सरकारले सञ्चालन गरेको छ । यसले श्रमिक एवं गाउँका आदिवासी–जनजाति जनतालाई प्रत्यक्ष लाभ दिएको छ । यो काम भेजेजुयलाका शहरीया धनाढ्य पुँजीजिबी वर्गलाई मनपर्ने कुरा नै भएन । त्यसैले उनीहरुले त्यहाँको समाजवादी सरकारलाई जसरी पनि सत्ताबाट हटाउन आफ्नो न्वारनदेखिको बल लगाइरहेका छन् । कहिले हिंसात्मक सडक आन्दोलन गर्ने त कहिले चुनाव वहिष्कार गर्नेजस्ता हर्कत उनीहरु गरिरहेछन् । तर, केहीले पनि बहुसङ्ख्यक जनताबाट अनुमोदित र निर्वाचित समाजवादी सरकारलाई हटाउन उनीहरु सफल भएका छैनन् ।

भेनेजुयलाभित्रको कुरो उनीहरुको आन्तरिक मामिलाको विषय हो । त्यहाँको व्यवस्था र सरकार छान्ने कुरा त्यहिँकै जनताको सरोकारका कुराहरु हुन्, चाहे पुँजीजिबी वर्ग होस् चाहे श्रमिक एवं आदिवासी–जनजाति जनता होउन् । बाहिरका कसैले टाउको दुखाउनुपर्ने कुरो त होइन । तर, विश्व पुँजीवाद एवं साम्राज्यवादको केन्द्र अमेरिकालाई भने टाउको दुख्ने रहेछ । उसले भेनेजुयलाको समाजवादी सरकारलाई गिराउन लाख प्रयत्न गरिरहेको छ । करोडौं डलर खर्च गरिरहेको छ । अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइरहेको छ । भेनेजुयाली विपक्षी एवं पुँजीजिबी वर्गका पार्टीहरुलाई एक आपसमा मिलेर सरकारबिरुद्ध लड्न उक्साउने र आर्थिक अनुदान दिलाउने अन्तर्राष्ट्रिय परामर्शदाता संस्थाहरु अमेरिकाले हाकाहाकी खोलेको छ ।

यस्तो किन ? प्रष्ट के हुन्छ भने वर्गीय लडाईं राष्ट्रिय सीमाभित्र सिमित हुँदैन, यो भूमण्डलीकृत हुन्छ । भेनेजुयलामाथि अमेरिकी हस्तक्षेप र दबाब यसैको प्रमाण हो ।

यसै तथ्यलाई प्रमाणित गर्ने रचना यहाँ अनुवाद गरी प्रकाशित गरिन्छ ।–सम्पादक)

ल्याटिन अमेरिकी देश कोलम्बियाको राजधानी बोगोटाबाट प्राप्त समाचार अनुसार संयुक्त राज्य अमेरिकाको राज्य विभागको एक सानो ब्यूरोले सन् २०१७ को सेप्टेम्बरमा ‘एटलान्टिक थिङ्क ट्याङ्क परिषद’ लाई भेनेजुयलामा सत्ता परिवर्तनको लागि काम गर्न लगभग १० लाख अमेरिकी डलर प्रदान गरेको खुल्न आएको छ । ‘एटलान्टिक थिङ्क ट्याङ्क परिषद’ ल्याटिन अमेरिकी देशहरुमा अमेरिकी प्रभावका लागि काम गर्ने गरी बनाइएको संयुक्त राज्य अमेरिका बाहिरको एक गैर सरकारी संस्था हो ।

अमेरिकाको राज्य विभागको एक हिस्साको रुपमा ‘शान्ति प्रक्रिया सञ्जाल कार्यक्रम’ को नाममा दक्षिण अमेरिकी देशहरुमा कथित ‘गैर–हिंसक विवाद समाधान’ अभियानलाई प्रोत्साहान गर्न सो संस्थालाई करदाताहरुबाट संकलित कोषबाट नै ९ लाख रकम खर्च गरेको जनाइएको छ । राष्ट्रिय वामपन्थी सरकार र विपक्षीबीचको द्वन्द्वको कारण भेनेजुयलाले अहिले चरम राजनीतिक संकट र राजनीतिक गतिरोधको सामना गरिरहेको छ, यद्यपि ती दुई शक्तिहरुबीच डिसेम्बरबाट तेश्रो चरणको आधिकारिक वार्ता सुरु भएको छ ।

मियामी हेराल्डका अनुसार अमेरिकी राज्य विभागले ‘भेनेजुयला संकटलाई लिई अन्तर्राष्ट्रिय ध्यानाकर्षण खिच्न, भेनेजुयलाको नयाँ नेतृत्वले के गर्न सक्थ्यो भनेर आम मानिसहरुलाई देखाउन र विपक्षी तथा अन्य सरोकारवालाहरुलाई थप सँगै मिलेर काम गर्नका लागि औजार उपलब्ध गराउने’ एक वर्ष लामो परियोजनाको लागि आर्थिक सहयोग जुटाउनेछ ।

‘एट्लान्टिक काउन्सिल एड्रिनी आर्ष्ट ल्याटिन अमेरिका सेन्टर’का निर्देशक जेसन मार्चकले सो रकम प्राप्त गरेको पुष्टि गरेका छन् । र, नयाँ कार्यक्रमबाट काउन्सिलले भेनेजुयलाका विपक्षीहरुबीचको बिभाजनलाई रोक्ने उद्देश्य राखेको उनले ब्याख्या गरे ।

एकथरि बिपक्षी बुर्जुवाहरु क्षेत्रीय निर्वाचनमा भाग लिनुपर्छ भनी तर्क गर्दै पत्रकार सम्मेलनमा ।

“हाम्रो प्रयास भनेको बिपक्षीहरु बीचको फाटोलाई सम्वोधन गर्ने हो । यसले विपक्षीलाई समग्रमा अडान लिन सहयोग गर्नेछ, किनकि भेनेजुयला सरकार विपक्षीहरुबीच बिभाजन चाहन्छ ।” जेसन मार्चकले मियामी हेराल्डलाई बताए ।

गत अक्टोबरमा भएको क्षेत्रीय निर्वाचनमा नराम्ररी हार बेहोरेदेखि भेनेजुयलाका बिपक्षीहरु गहिरो किसिमले बिभाजित छन् । त्यस क्षेत्रीय निर्वाचनमा सरकारी पक्षले २३ वटा राज्य गभर्नरहरुमध्ये १८ वटामा बिजय हासिल गरेको थियो । यसबाट तत्कालै नेतृत्वकर्ताहरुबीच आपसी तनाव पैदा भयो । विपक्षी गठबन्धनलाई भित्रैबाट घातक प्रहारको धम्की आयो ।

चुनाव वहिष्कारको आह्वान गर्दै प्रमुख विपक्षी नेता जुलियो बोर्जिज ।

ऐतिहासिक रुपमा विपक्षी नेतृत्वले सरकारलाई सिधै सत्ताबाट हटाउनका लागि निवार्चनलाई वहिष्कार गर्ने र भाग लिने दुबै विधि प्रयोग गर्यो । विपक्षी गठबन्धनले गत २०१७ को मार्च र जुलाईमा भेनेजुयली राष्ट्रपति निकोलस मदुरोलाई बलपूर्वक सत्ताच्यूत गर्न हिंसात्मक सडक आन्दोलन सञ्चालन गर्यो । कम्तीमा पनि १ सय २० जनाको ज्यान गएको उक्त सडक आन्दोलन अन्तमा गएर असफलतामा परिणत भयो ।

चुनावी प्रचारको क्रममा जनताको माझमा राष्ट्रपति निकोलस मदुरो ।

गत २०१७ को अक्टोबरको निर्वाचनमा हार व्यहोरेपछि विपक्षीहरुले गत डिसेम्बर १० को नगरपालिकाहरुको चुनावलाई वहिष्कार गर्ने निर्णय लिए । उनीहरुको त्यो निर्णयको बावजुद पनि सम्पन्न त्यस निर्वाचनमा मुलुकभरिका नब्बे प्रतिशत नगरपालिकाहरुमा सत्तारुद्ध पार्टीले मेयर पदमा अभुदपूर्व जित हासिल गर्यो ।

आन्ध्र परिषद (द एटलान्टिक परिषद)

वैकल्पिक पत्रकार म्याक्स ब्लमेन्ठलका अनुसार ‘आन्ध्र परिषद’ सत्ता परिवर्तनका लागि निर्माण गरिएको एक बौद्धिक जमात (थिङ्क ट्याङ्क) हो, जसलाई पश्चिमा सरकारहरु र तिनीहरुका सहयोगीहरुले आर्थिक भरथेग गर्छन् । त्यस सहयोग टोलीमा लामो समयसम्म क्लिन्टनका साथी वा दाता रहेका युक्रेनी राष्ट्रवादी भिक्टोर पिन्चुक पनि सम्मिलित छन् ।

त्यस परिषदले सिरियामा बसर अल असदको सत्ताबिरुद्ध ‘सलाफिस्ट लडाकु’ समूहहरुलाई हतियार उपलब्ध गराउन दबाव दिने र रुस केन्द्रित सैनिक नीतिहरुका लागि भनसुन गर्ने गरेको छ । भेनेजुयलामा त्यो सङ्गठनको अमेरिकी समर्थक विपक्षीहरुसँग गहिरो आत्मिक नाता रहेको छ ।

गत २०१७ को अगस्ट ९ मा त्यस बौद्धिक जमातले ‘भेनेजुयला : सबभन्दा प्रभावकारी अमेरिकी नाकाबन्दीहरु के के हुन् ?’ शिर्षकको एक रिपोर्ट प्रकाशित गर्यो । र, त्यस रिपार्टमा अमेरिकी सरकारका लागि ‘सबभन्दा न्यूनदेखि ज्यादा गम्भीर स्तर’ सम्म भेनेजुयलालाई असर गर्ने पाँचवटा असरदार नाकाबन्दीका रुटहरु सिफारिस गरिए ।
त्यस दस्तावेजमा आन्ध्र परिषदले ह्वाइट हाउसका लागि विशेष नीति सिफारिस गर्दै सुझाउँछ, ‘नाकाबन्दलाई बिस्तारै लाद्ने वा कस्दै जाने गर, नरमबाट सुरु गर्दै कडातिर’ र ‘एकएक गरी प्रतिबन्ध लगाउँदै जाने विधिको प्रयोगलाई बिस्तार गर्दै लग अनि सत्तारुढहरुभित्र नरमपन्थीहरुलाई कट्टपन्थीहरुबाट फुटाउन केही विशेष प्रभावकारी प्रतिवन्धहरु चुन’ ।

पछि अगस्टमा ट्रम्प प्रशासनले त्यस रिपोर्टमा सुझाएको दोश्रो स्तरको आर्थिक नाकाबन्दीलाई अङ्गाल्यो । त्यस अनुसार अमेरिकाले भेनेजुयाली राज्य र राज्य–तेल कम्पनी पिडिभिएसएलाई अमेरिकी कम्पनी तथा वित्तीय संस्थाहरुबाट पुनः कर्जा प्राप्त हुन सक्ने सम्भावनालाई रोकिदियो ।

आन्ध्र परिषदको हस्तक्षेपकारी रुझान रेकर्डको बावजुद भेनेजुयलामा अमेरिकाले उपलब्ध गराउने आर्थिक अनुदान त्यहाँ ‘नरम’ ढङ्गले सत्ता परिवर्तनको सुनिश्चितता लागि एउटा उपाय रहेको भन्ने उनीहरुको कुराप्रति रिपब्लिकन पार्टीका कट्टरपन्थीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरु भन्छन् कि राष्ट्रपति ट्रम्पले अगस्टमा लगाएको प्रतिबन्धलाई नजरअन्दाज गर्न अमेरिकी राज्य विभागका अधिकारीहरुले भेनेजुयलालाई अनुदान उपलब्ध गराएका हुन् ।

“यो करदाताहरुको पैसाको बरबादी हो, किनकि यसले कहिल्यै वास्तविक रुपमा काम पूरा गर्दैन– र यसले केबल लोकतान्त्रिक सुधारलाई क्रियाशील बनाउन गरिएका अन्तर्राष्ट्रिय दबावलाई पन्छाउन मदुरो सरकारलाई अर्को बाटो प्रदान गर्नेछ ।”– एक अमेरिकी संसद सदस्यको हवाला दिँदै ‘दि वाशिङ्टन फ्रि बिकन’ भन्छ ।

‘माइक क्लाची डिसि ब्यूरो’का अनुसार अनुदानले युएसएडजस्ता अन्य अमेरिकी सरकारी संस्थाहरुलाई पनि सरोकार बनाएको छ । नीति निर्माताहरु विश्वास गर्छन् कि कुनै पनि वार्तामा आन्ध्र परिषदले आफ्नो सहभागितालाई नकारिरहेको भए पनि भेनेजुयाली राष्ट्रिय सरकार र विपक्षीहरु बीचको सम्झौताको प्रक्रियालाई सहजीकरण गर्ने उद्देश्य भेनेजुयलालाई उपलब्ध गराउने अनुदानको रहेको छ ।

‘माइक क्लाची डिसि ब्यूरो’ ले युएसएडका अधिकारीहरुले ‘सरकार र विपक्षीबीचको वार्तालाई सहयोग गर्नु बेकार भएको र पैसा अन्य कामका लागि नै खर्च गरिनुपर्ने’ भन्ने कुराको महसुस गरेको रिपोर्ट गरेको छ ।

नौ लाख अमेरिकी डलरको सहयोग विपक्षीनजिक बौद्धिक जमात र भेनेजुयाली गैर सरकारी संस्थाहरुलाई गत १० वर्षदेखि प्रदान गर्दै आएको करोडौं डलरको अनुदान श्रृङखलाको पछिल्लो हिस्सा हो । अमेरिकी–भेनेजुयाली न्यायधिवक्ता इभा गोलिन्जरका अनुसार अमेरिकी सरकारले भेनेजुयाली विपक्षीनजिक समूहहरुका लागि सन् २००८ देखि यता ४ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी रकम प्रदान गरिसकेको छ ।

–  राकेल बुथरोयद रोजास
स्रोत : Venezuelanalysis.com

अनुवाद : तुल्सीदास महर्जन

(Visited 71 times, 1 visits today)

टिप्पणी

comments