Main Menu

माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

माघ ८, काठमाडौँ

upper-arun-dpr-chinese-company

माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड रिसर्च (सिआइएसपिआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

प्राधिकरणका तर्फबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाका प्रमुख विश्वध्वज जोशी र सिआइएसपिआरका निर्देशक झाङ भिझियाङले हस्ताक्षर गरेका हुन् । आयोजना प्रमुख जोशीका अनुसार सम्झौतालगत्तै विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम शुरु हुनेछ । सम्झौताबमोजिम आगामी दुई वर्षभित्र उक्त प्रतिवेदन तयार पार्नुपर्नेछ । त्यसका लागि रु. १ अर्ब ३१ करोड ३० लाख खर्च लाग्नेछ । विश्व बैंकले त्यसका लागि नेपाल सरकारलाई करिब रु. २ अर्ब सहयोग उपलब्ध गराएको छ ।

प्राधिकरणले वि.सं. २०४६ मा नै अध्ययन गरेको सो परियोजनामा लामो समयदेखि अगाडि बढ्न सकेको थिएन । अरुण तेस्रो जलविद्युत् आयोजनासँगै माथिल्लो अरुणको पनि प्रारम्भिक अध्ययन गरिएको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त सरकारका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा सो आयोजनाको विषयमा छलफल भएको थियो । सरकारले सो आयोजना निर्माणमा सहयोग उपलब्ध गराउन चीन सरकारसँग आग्रहसमेत गरिएको बताउँदै आएको छ ।

संखुवासभा जिल्लाको मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्ने सो आयोजनाको प्रारम्भिक अध्ययनमा ३३५ मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको थियो । प्रविधिमा आएको विकासका कारण आयोजनाको क्षमता करिब ७०० मेगावाटसम्म पुग्ने आयोजना प्रमुख जोशीको भनाइ छ । आयोजना नयाँ चरणमा प्रवेश गरेको जानकारी दिँदै प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले प्राधिकरणको महत्वाकांक्षी परियोजनाका रुपमा रहेको माथिल्लो अरुणले गति लिने विश्वास व्यक्त गरे ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थल रहेको संखुवासभाको फ्याक्सिन्दा दोभानबाट २० किमीमाथि अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण आयोजनालाई जलाशयुक्त बनाउने सोचमा प्राधिकरण छ । डिपिआर तयार भएपछि मात्रै आयोजनाको कूल लागत पत्ता लाग्ने प्रवक्ता अधिकारीको भनाइ छ, तर प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा आयोजनाको लागत रु. ५३ अर्ब ९३ करोड ४० लाख लाग्ने अनुमान गरिएको थियो ।

निर्माण सामग्रीमा भएको वृद्धि, प्रविधिमा आएको परिवर्तन तथा अन्य विविध कारणले आयोजनाको लागत बढ्ने आयोजना प्रमुख जोशीको भनाइ छ । प्राधिकरणले आयोजना कम्पनी ढाँचामा निर्माण गर्ने बताएको छ । सार्वजनिक निजी साझेदारी वा सहकारीमार्फत आयोजना निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । आयोजनास्थल संखुवासभा र आसपासका जिल्लाबाट पनि लगानी जुटाउन सकिने प्रतिबद्धता स्थानीयवासीले यसअघि नै जनाइसकेका छन् ।

सो आयोजनालाई जलाशय बनाउँदा समेत कम स्थान मात्रै डुबानमा पर्ने प्राधिकरणको प्रारम्भिक अध्ययनले देखाएको छ । आयोजनालाई माथिल्लो कर्णालीभन्दा पनि अत्यन्तै सस्तो आयोजनाका रुपमा लिने गरिन्छ । प्रतियुनिट २ रुपैयाँ ७४ पैसामा विद्युत् उत्पादन हुने प्राधिकरणको प्रारम्भिक अध्ययनमा देखिएको छ । माथिल्लो तामाकोशी जस्तै सहज रुपमा सो आयोजना नेपाली लगानीमा नै निर्माण गर्न सकिने विकल्प पनि अगाडि सारिएको छ । डिपिआरको तयारीपछि सो विषयमा टुंगो लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । आगामी दुई वर्षभित्र डिपिआर तयार हुने र प्राधिकरण आफैले सहायक कम्पनीमार्फत निर्माण गर्ने उनको भनाइ छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुँदा तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले पनि सो आयोजना नेपालीकै लगानीमा निर्माण गर्न सकिने जनाउँदै प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए । प्राधिकरणसँग निर्माणमा जानलायकका आयोजना नभएका सन्दर्भमा माथिल्लो अरुण प्राधिकरणलाई उकास्ने र नाफामा लैजाने सबैभन्दा सहज र सरल आयोजना रहेको बताइँदै आएको छ ।

  • रमेश लम्साल
(Visited 11 times, 1 visits today)

टिप्पणी

comments