Main Menu

त्रिवि दीक्षान्त समारोहमा एक्लैले ३ पदक पाउने को हुन् यी व्यक्ति ?

पुस १७, काठमाडौँ

tu-convocation-3-medal-1-personत्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा एकै व्यक्तिले तीन वटा पदक प्राप्त गरेका छन् ।

स्नातकोत्तर तहको विस २०७१ तर्फ प्रशन्नकुमार तामाङले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक गरी तीन वटा पदक प्राप्त गरेका हुन् ।

स्नातकोत्तर तहको प्रथम श्रेणीमा प्रथम र सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकाले उनले उक्त तीन वटा पदक प्राप्त गरेको त्रिविको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले बताए ।

उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–३ का तामाङले स्नातकोत्तर तहमा गणित विषयमा केन्द्रीय विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट उत्तीर्ण गरेका हुन् । उनले आफूले तीनबाट पदक पाएकामा खुशी व्यक्त गर्दै भने, ‘‘मिहनेतको फल प्राप्त भएको अनुभव भएको छ । पदकले मलाई थप हौसला प्रदान गरेको छ ।”

तामाङले गणित विषयमा विद्यावारीधि गर्नका लागि अमेरिका जाने तयारीमा रहेको बताउँदै विद्यावारीधि गरेसकेपछि पुनः नेपालमा फर्की विश्वविद्यालयमा शिक्षण पेशा गर्ने बताए ।

यसैगरी समारोहमा त्रिवि प्राध्यापक संघद्वारा स्थापित शहीद हरिराज अधिकारी स्वर्ण पदकबाट व्यवस्थापन संकायमा एमफिलतर्फ सर्वोकृष्ट अंक ल्याउने डम्बर सुवेदीलाई सम्मान गरिएको छ । उनले जनप्रशासन क्याम्पस बल्खुबाट एमफिल गरेका हुन् ।

समारोहमा विभिन्न संकायबाट ६२ जनालाई विद्यावारीधि उपाधि प्रदान गरिएको छ । पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको प्राङ्गणमा भएको दीक्षान्त समारोहमा ६ हजार २६७ विद्यार्थी दीक्षित भएका थिए ।

(Visited 56 times, 1 visits today)

टिप्पणी

comments