Main Menu

कुरा नमानेको भनी प्यालेस्टाइनमाथि ट्रम्पको धम्की

पुस १९, युएस

आक्रोशित मुद्रामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्प ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइमाथि सहयोग रोकिदिने धम्की दिएका छन् । प्यालेस्टाइन र इजराइलबीच विवादको केन्द्रको रुपमा रहेको जेरुसलम शहरलाई इजराइलको राजधानीको रुपमा स्वीकारी आफ्नो राजदूतावास तेलअभिभ शहरबाट त्यतैतिर सारेर अरव जगतमा मात्रै होइन इजराइलबाहेक पूरै विश्वबाट आलोचनाको सामना गरिराखेका ट्रम्पले अहिले पुन: त्यस्तै आलोचना पाउने बोली बोलेका छन् ।

ट्वीटरमा दैनिक जसो आफ्नो भनाइ सर्वाधिक ट्वीट गर्दै गर्ने राष्ट्रपति ट्रम्पले आज ट्वीट गर्दै भनेका छन्, “शान्तिका लागि वार्ता गर्न कुनै चाहना नराख्ने प्यालेस्टाइनहरुलाई अमेरिकाले सहयोग रोक्न सक्छ” ।

उनले ट्वीटरमा थप भनेका छन्, “अमेरिकी सहयोगको बदलामा अमेरिकाले कुनै जस तथा सम्मान पाएन” । उनले के बिचार ब्यक्त गरे भने जेरुसलम शहरलाई इजराइलको राजधानीको रुपमा स्वीकार गरेर आफूले नयाँ शान्तिका लागि वार्ताको टेबुलमा ल्याउन पहल गरेको हो ।

ट्रम्पको भनाइ बाहिर आएपछि प्यालेस्टाइनहरुले ‘ट्रम्पको कदमले अमेरिका तटस्थ मध्यस्थकर्ताको रुपमा नरहेको’ तथ्य देखाएको बताए ।

गत डिसेम्बरमा मात्रै ट्रम्पको निर्णयलाई लिई संयुक्त राष्ट्र संघमा सबैले बिरोध गरेका थिए । त्यहाँ ट्रम्पको भनाइबिरुद्ध १ सय २८ राष्ट्रले मतदान गरेका थिए ।

अमेरिकी राष्ट्रपतिले पाकिस्तानबिरुद्ध पनि विष ओकलेका छन् । ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “हामी उनीहरुलाई वर्षेनी खरबौं डलर सहयोग गर्छौं, तर बदलामा हामी झूठ र धोका सिवाय केही पाउँदैनौं” ।

राष्ट्रपति ट्रम्पले आक्रोशित भाषामा मङ्गलवार साँझ ट्वीट गरेका छन्, “हामीले बिनासित्तै अरबौं डलर उपलब्ध गराउने मुलुक पाकिस्तान मात्र होइन” ।

उनी भन्छन्, “उदाहरणको रुपमा हामी प्यालेस्टाइनलाई वार्षिक करोडौं डलर प्रदान गर्छौं, तर बदलामा हामी न जस पाउँछौं न त सम्मान नै । उनीहरु अझ लामो समयदेखि टुङ्गिन बाँकी इजराइलसँगको शान्ति सन्धिका लागि सम्झौतामा आउन पनि कुनै रुचि देखाउँदैनन्” ।

उता प्यालेस्टाइन राष्ट्रपति मोहमद अब्बासले भने, “अमेरिकाले आफूलाई शान्ति प्रक्रियामा बेइमान मध्यस्थकर्ता प्रमाणित गरेको छ” ।

उनले थप भने, “जेरुसलम सम्पूर्ण रुपमा प्यालेस्टाइनी राजधानी हो”

डिसेम्बरमा जेरुसलमलाई इजराइलको राजधानी घोषणा गर्ने र अहिले प्यालेस्टाइनलाई सहयोग रोकिदिने ट्रम्पको धम्कीले गर्दा पश्चिम एशियामा अमेरिका स्वयंको नीतिको कारणले युद्ध भडकाउने मुलुकको रुपमा प्रस्तुत हुन खोजेको कुरा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताए ।

(Visited 16 times, 1 visits today)

टिप्पणी

comments