Main Menu

तीन पुस्तादेखि हलिया

three-generations-haliyaवैशाख १७, बाजुरा । उत्तरी बाजुरामा रहेका दलित समुदायका मानिस तीन पुस्तादेखि गैरदलितको हलिया बस्दै आएका छन् । बाजे हुँदै बुबा र छोरासमेतले गैरदलितको हलो जोत्दै आएका छन्, तर पनि परिवार धान्न मुस्किल छ ।

बाह्र वर्षदेखि हलिया बस्दै आएका कोल्टी गाविसका नन्द सार्की अहिले ६५ वर्षका भएका छन् । बाजे, बुबा र अहिले आफूसमेत हलिया बस्दै आएको उनी बताउँछन् । बाजे भक्त सार्कीबाट साहु घमण्ड भारतीको हलो जोत्ने काम आफ्नो पुस्तामा हस्तान्तरण भएर आएको सार्कीको भनाइ छ । “बाजेले २५ पाथी फल्ने जग्गाको हलो जोत्दै आउनुभएको थियो, मैले पनि त्यही जग्गाको हलो जोत्दै आएको छु” – उनले भन्छन् । साहुले कमाइ खान जग्गा दिएको भए पनि सरकारले मुक्त हलियालाई पुनःस्थापना गर्ने कार्य सुरु गरेपछि त्यो जग्गासमेत फिर्ता लिएको सार्कीको गुनासो छ ।

सार्कीजस्तै ६० वर्षका रङ्गलाल ल्वार पनि १६ वर्षदेखि गैरदलितको हलिया बस्दै आएका छन् । उनी एकजनाको मात्र हलिया होइनन् । दुईजना जग्गाधनीको दैनिक हलिया बस्दै पालोपालो हलो जोत्दै आएको उनले बताउँछन् । “बुबा हलियाको काम गर्दै गरेका बेला मैले पनि गैरदलितको हलो जोत्न थालेको हुँ” – उनले भने । उनले १० पाथी फल्ने टिमुरी जोशी र तीन रोपनीभन्दा बढी भएको जग्गाका धनी बलदेव रेग्मीकहाँ हलियाको काम गर्दै आएका छन् । हलो जोते मात्र खान र घरका लागि अन्न दिने गरेको र हलो नजोते खानसमेत नदिने गरेको गुनासो उनको छ ।

सरकारले हलिया पुनःस्थापनाको कार्यक्रम सञ्चालन गरेपछि साहुले सरकारले दिन्छ भन्दै हलो जोत्न नदिएको हलियाहरु बताउँछन् । “दैनिकरुपमा हलो जोत्दै आएको थिएँ तर अब के गर्ने भन्ने चिन्ताले सताइरहेको छ” – सार्कीले भने ।

सार्की र ल्वार जस्तै बाँधु–१ का ६० वर्षीय जसन्ते ल्वार हलिया बसेको ३० वर्ष पुगेको अनुभव सुनाउँछन् । सरकारबाट हलिया परिचयपत्र पाएको दुई वर्ष बितेको र परिचयपत्र पाएपछि साहुले पनि हेप्न थालेको ल्वारको भनाइ छ ।

हलियालाई पुनःस्थापना गर्न थालेपछि जग्गाधनीले नै घरदैलोमा आउन नदिने गरेको उनले बताए । ‘हाम्रो घरमा किन आएको ? तिमीहरुको सरकारले दिन्छ नि सबैथोक’ भन्दै जग्गाधनीले हलियालाई गालीगलौज गर्ने गरेको हलियाहरु बताउँछन् । घरमा चारजनाको परिवारलाई हलो जोतेर धानिरहेका ल्वार नर्वदा शर्माको तीन रोपनी जग्गाको हलिया बस्दै आएका थिए । हलिया बस्दासम्म साहुले खेती गर्न केही जग्गा पनि दिएको तर हलिया परिचयपत्र पाएपछि कमाइ खाने जग्गासमेत खोसेको उनको गुनासो छ ।

बाँधु–९ का ५९ वर्षका वीरभान सार्की तीनजनाको हलिया बस्दै आएका छन् । प्रत्येक दिन पालैपालो गरेर हलो जोत्दै आएको उनी बताउँछन् । पन्ध्र वर्ष उमेर हुँदा देखि तीनजनाको हलिया बस्दै आएको उनी बताउँछन् । उनले तीनैजना साहुको २५ पाथीदेखि ६० पाथी फल्ने जग्गाको हलो जोत्दै आएका छन् । हलिया बस्दै आएका भए पनि साहुबाट उनले कुनै सुविधा पाएका छैनन् । साहुलाई समस्या परेको कुरा सुनाउँदा उल्टै गाली गरेर घर फर्काउने गरेको सार्कीेले बताए । सार्कीले सरकारबाट हलिया परिचयपत्र पाएको तीन वर्ष पुगेको छ । हलिया परिचयपत्र पाएपछि साहुको हलो जोते मात्र उनले आधा खाना खर्च पाउँछन् । हलो नजोत्दा खाना नै नदिने गरेको उनको दुःखेसो छ ।

पुस्तौँदेखि हलिया बस्दै आएका कोल्टीका ४० वर्षीय गोरख चदारा हलिया बसेको २४ वर्ष पूरा भयो । सोह्र वर्षको हुँदा कोल्टीमा जग्गाधनी शिवलाल बोहराको हलिया बसेको उनी सम्झन्छन् । बोहराको घरमा बाजे, बुबा र अहिले आफूसमेत हलिया बस्दै आएको चदाराले राससलाई जानकारी दिए । अहिले साहुको हलो जोत्न छोडेपछि आफूलाई कमाइ खानका लागि दिएको जग्गासमेत फिर्ता लिएको उनले बताए । घरमा चारजनाको परिवार छ र चदारालाई परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।

जिल्लाका उत्तरी भेगमा हलिया मात्र होइनन्, पछिल्लो समयमा खलियासमेत रहने गरेका छन् । गैरदलितको जग्गाबाट विभिन्न बाली खलोमा लिएर दिनभर काम गरेपछि मात्र दुई पाथी जति धान, गहुँ लगायतका अन्न बाली पाउँछन् उनीहरु । सदियौँदेखि हलिया र खलियाको पुनःस्थापनाका लागि दलित अगुवाले आन्दोलन गर्दै आएका छन् । तर पनि राज्यको ध्यान पुग्न सकेको छैन ।

भूमिसुधार मन्त्रालयले जिल्लाका ‘घ’ वर्गका ४ सय ३२ जना हलियालाई पहिलो किस्ताबापत ५० हजार रुपैयाँका दरले अनुदान दिएको छ । जिल्लाका ९० जना हलियाका लागि बाँड्न रु. २ करोड अनुदान कम भएको बताइएको छ । हलियाका लागि काम गर्ने संस्था हलिया मुक्ति समाज बाजुराले कुरा अनुसार काम गर्न नसकेको हलियाको गुनासो छ ।

(Visited 32 times, 1 visits today)

टिप्पणी

comments