Main Menu

नेपालमा अहिले कम्युनिस्टहरु छन्, कम्युनिस्ट पार्टी छैन – आहुति [अन्तरवार्ता]

(वर्तमानको नेपाली कम्युनिस्ट आन्दोलनमा एक सशक्त युवा नेताको रुपमा विश्वभक्त दुलाल आहुतिलाई लिने गरिन्छ । खास गरीकन उनी साहित्य र संस्कृतिको क्षेत्रमा अझ सशक्त ‘आइकोन’ कै रुपमा स्थापित छन् । उनी दलित मुक्ति आन्दोलनमा त झन उच्च सम्मानित नेताको रुपमा रहेका छन् । ‘नयाँ घर’ उपन्यास, ‘गहुँ गोरो अफ्रिका’ कविता सङ्ग्रह र ‘नेपाली समाजको वर्ग विश्लेषण’जस्तो समाजशास्त्रीय पुस्तकलगायत थुप्रै साहित्यिक, साँस्कृतिक, राजनीतिक एवं बिचारधारात्मक लेख रचनाहरु लेखेर आफूलाई अब्बल दर्जाका कवि, आख्यानकार र बिचारकका रुपमा स्थापित गर्न सफल उनी काठमाडौं उपत्यकाका एक रैथाने बहुप्रतिभाशाली युवा राजनीतिक नेता हुन् । नवयुवा कालमा तत्कालीन एक वामपार्टी ‘सर्वहारा श्रमिक संगठन’का सदस्यका रुपमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका उनी नेकपा (एकता केन्द्र), नेकपा (एकता केन्द्र मसाल) र एकीकृत नेपाल कम्युनिस्ट पार्टी हुँदै अहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का एक माथिल्लो स्तरका नेताका रुपमा रहेका छन् ।

अहिले भर्खरै मात्र आहुति संलग्न नेकपा (माओवादी केन्द्र) ले एमाले र नयाँशक्ति पार्टीसँग चुनावी तालमेल गरी निकट भविष्यमै पार्टी एकता गर्ने घोषणा गरे लगतै उनको पार्टीभित्र र बाहिरका थुप्रै मानिसहरु उनीजस्ता आलोचनात्मक चेत राख्ने युवा नेता अहिलेको सन्दर्भमा के बिचार राख्छन् भन्ने जिज्ञाशा राखिरहेका छन् । यसै परिप्रेक्षमा नेता आहुतिले गत असोज २१ गते ‘मेरो अनलाइन टिभि’ का लागि दिएको अन्तर्वार्ता सार संक्षेपमा साभार गरी यहाँ प्रस्तुत गरिन्छ । – सम्पादक)

there-are-no-communist-parties-aahutiनेपाली राजनीतिमा वाम एकता जुन अहिले एउटा तातो विषय बनेको छ, यसमा यहाँको सटिक टिप्पणी के छ ?

अहिले जुन संविधान बन्यो, त्यो संविधान नेपालमा २००७ सालभन्दा अगाडिदेखि नेपाली जनताले आफैले आफूलाई शासन गर्ने संविधान बनाउन पाउनुपर्यो भन्ने नारा अन्तर्गत कहिले लोकतान्त्रिक आन्दोलनको रुपमा कहिले कम्युनिष्ट आन्दोलनको रुपमा दुईटा धारा जो अगाडि आए र जनयुद्ध, जन आन्दोलन, सशस्त्र संघर्षहरु, विद्रोहहरु, सबैसबैपछि यो संविधान बन्न पुग्यो । नेपाली जनताले सबै तहका जनताले खोजेको जस्तै संविधान नभए पनि यो आधारभूत रुपमा अहिलेसम्मको एउटा निकै नै माथिल्लो स्तरको प्रगतिशील संविधान बन्न पुगेकै छ । त्यसलाई संशोधन गर्नुपर्ने कुरा त बाँकी नै छ । तर, कंकाल एउटा निकै राम्रो बन्न पुगेको छ र यो नेपाली जनताको बलिदानबाट आएको हो । र, यो परिस्थिति ल्याउनका निम्ति स्वभाविक रुपमा लोकतान्त्रिक धाराका पार्टीहरुको भूमिका पनि केही न केही छ । तर उत्प्रेरक र निर्णायक भूमिका चाहिँ फेरि वामपन्थीहरुको नै छ । यस कोणबाट हेर्दा अहिलेको निर्वाचनमा आफूलाई कम्युनिष्ट वा आफूलाई वामपन्थी भनेर जनताको बीचमा दाबी गरिरहेका पार्टीहरुले एउटा मोर्चाबन्दी गरेर निर्वाचन लड्नु र हाम्रो उत्प्रेरणा र हाम्रो निर्णायक भूमिकामा बनेको संविधान चाहिँ हाम्रै नेतृत्वमा लागु गर्ने प्रक्रिया सुरु गर्छौँ भन्नुलाई सकारात्मक रुपमा र आवश्यकताको रुपमा लिनुपर्दछ भन्ने मलाई लाग्दछ ।

कति संभावना तपाईंले देख्नुहुन्छ ? अहिले घोषणा भए अनुसार माओवादी, एमाले र नयाँशक्तिबीच साँच्चिकै एकीकरण संभव छ त ?

भनेपछि हाम्राबीचमा ठूलाठूला खाडलहरु छन् । त्यो खाडल पुर्नै सकिन्न, असम्भव छ, त्यो पनि होइन । तर अहिले भनेजस्तै सजिलै पुर्न सकिन्छ, त्यो पनि भनिहाल्न सकिने अवस्था छैन ।

मैले अघि कुरा गरेको तालमेलको कुरा गरेको हो । चुनावको तालमेल । चुनावको तालमेलमा हामीले के भन्यौँ भने, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिकलाई मान्ने शक्तिहरु जोसँग पनि तालमेल गर्न सकिन्छ, जसबाट तालमेल गरेर विजयलाई अलिकति सुनिश्चित गर्न सकिन्छ, त्यही गर्न ठीक हुन्छ भन्ने हाम्रो आम नीति हो । त्यसअन्तर्गत हामीले अहिले एमालेसँग र नयाँशक्तिका साथीहरुलाई पनि मिसाएर तालमेलमा जाने भन्ने जो हामीले निर्णय गरेका छौँ, त्यो तालमेल एक ठाउँमा छ । त्यो ठीक छ, मैले भनिहालेँ । जहाँसम्म पार्टी एकताको कुरा छ, पार्टी एकताको कुराको सन्दर्भमा हामीले केही कुरा सोच्नुपर्ने, छलफल गर्नुपर्ने बाँकी नै छ ।

पार्टी एकता असंभव भन्ने तपाईंको आशय हो कि ?

हामी मार्क्सवादीले असंभव त केही कुरालाई पनि भन्दैनौँ, ९९ प्रतिशत असंभव भए पनि त्यहाँभित्र १ प्रतिशत सम्भावना हुन्छ । र नेपाली जनता वामपन्थीहरुको बीचमा वा कम्युनिष्टहरुको बीचमा एकता पनि चाहन्छन् । त्यो कुरा पनि ठीक हो । तर, यहाँ ठूलाठूला खाडलहरुको बीचमा छौँ हामी । नयाँ शक्ति मार्क्सवाद नै नमान्ने, एमाले बहुदलीय जनवाद भन्ने, माओवादी केन्द्र मार्क्सवाद–लेनिनवाद–माओवादसहित जनयुद्धको सौन्दर्यसहित समाजवादतिर जानुपर्छ भन्ने । भनेपछि हाम्राबीचमा ठूलाठूला खाडलहरु छन् । त्यो खाडल पुर्नै सकिन्न, असम्भव छ, त्यो पनि होइन । तर अहिले भनेजस्तै सजिलै पुर्न सकिन्छ, त्यो पनि भनिहाल्न सकिने अवस्था छैन ।

अहिले त यस्तो हुन थाल्यो कि निजीकरणका विरुद्ध लड्ने भनेर दस्तावेजमा लेख्ने, अनि निजी हस्पिटल र टिचिङ कलेज आफैले चलाउने । यो अन्तरविरोध कसरी हल गर्ने ? यो गाली गर्ने होइन । यो त अन्तरविरोध भयो नि ।

एकताको कुरा गर्दा धेरै ठूल्ठूला खाडलहरु छन् भनेर तपाईंले भन्नुभयो । त्यो भनेको विचारको खाडल हो । त्यो विचारको खाडल पुरिँदा आउने एउटा मिलनविन्दु तपाईंको अनुसार, किनभने तपाईं एउटा वाम बुद्धिजिवी, विश्लेषक पनि हुनुहुन्छ, त्यो मिलनविन्दु चाहिँ के हुन्छ ?

पहिलो कुरा त, नेपाली कम्युनिष्ट आन्दोलनको, त्यो जतिवटा धारामा विभक्त भए पनि उनीहरुले इतिहासदेखि अहिलेसम्म गर्दै आएको व्यवहार र बोल्दै आएको सैद्धान्तिक अडानको बारेमा सिम्हावलोकन गर्नुपर्यो, सिंहले जसरी फर्केर हेर्नुपर्यो । र, एकले अर्कामाथि लगाएका आरोप, वा विश्लेषणहरु के कति ठीक थिए, के कति बेठीक थिए, बेठीक थिए भने किन बेठीक थिए, चुट्कीको भरमा ऐतिहासिक विश्लेषण फेरिन्छ र ? त्यसकारणले गर्दा त्यो सबै सिंहावलोकन गरिसकेपछि मात्रै अनि हामी एउटै अनुशासनको सीमाभित्र बसेर जनवादी केन्द्रीयता वा इत्यादी भित्र बसेर एउटै केन्द्रीयताभित्र बसेर काम गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा हुन्छ । संसारभरि कम्युनिष्ट आन्दोलनको बारेमा जेजे विषयमा बहस छ, त्यो विषय नेपालमा पनि छ । समाजवादमा जाने, कस्तो समाजवाद ? वैज्ञानिक समाजवादमा जाने कि वा इन्दिरा गान्धीले भनेको समाजवादमा जाने कि वा हिटलरले भनेको समाजवादमा जाने कि ? समाजवाद त सबैले समाजवाद भने । अनि जान त जाने, कसरी जाने त ? अबको वर्गसंघर्षको चरित्र के ? वर्गसंघर्ष नै चाहिन्न भनेको हो कि ? अहिलेको साम्राज्यवाद वा पुँजीवाद भनेको नवउपनिवेशवादको रुपमा आइपुगेको छ । अब नवउपनिवेशवादका विरुद्ध लड्ने कि नलड्ने ? उदारवादका विरुद्ध लड्ने हो भने निजीकरणको विरुद्ध पनि लड्नुपर्ने हुन्छ । निजीकरणको विरुद्ध कसरी लड्ने ? अहिले त यस्तो हुन थाल्यो कि निजीकरणका विरुद्ध लड्ने भनेर दस्तावेजमा लेख्ने, अनि निजी हस्पिटल र टिचिङ कलेज आफैले चलाउने । यो अन्तरविरोध कसरी हल गर्ने ? यो गाली गर्ने होइन । यो त अन्तरविरोध भयो नि । यो अन्तरविरोध हल गर्ने कसरी ? भनेपछि यस्ता यावत विषयहरु छन् । ती विषयहरुमा गम्भीरतापूर्वक छलफल नगरीकन र साँच्चै एकरुप समझदारीको रुपमा विकास नभएसम्म त पार्टी नै बनाए पनि त्यो त संयुक्त मोर्चा हुन्छ ।

तपाईंहरुलाई त कांग्रेसले सरकारबाट निकाल्ने कुरा भइराखेको छ नि ?

निकाल्न सक्नुहुन्छ भने निकालिन्छ नै, उहाँहरुको कुरा हो त्यो त । हामीलाई आपत्तिको कुरा भएन । हामीले भनेको त चुनाव यही सरकारले गर्ने हो, हामी देउवाजीलाई समर्थन दिइरहन्छौँ । तर, पार्टी एकता गर्ने वा पार्टीमा तालमेल गर्ने भनेको त फरक कुरा हो नि ! उहाँहरुले पनि त जोजोसँग मिल्छ, तीतीहरुसँग तालमेल गरेकै हो । हामीले जोसँग मिल्छ त्योसँग गरेका हौं ।

तपाईंहरुलाई त कतिपय बुद्धिजिवीहरुले यी त कम्युनिष्ट पार्टी नै होइनन् भनेर पनि भनेका छन्, र जस्तै, यो वाम एकीकरण भनेर बाहिर जो भनिएको छ, त्यो स्वार्थको एकीकरण मात्र हो पनि भनिएको छ नि ?

वाम एकीकरण वा कम्युनिष्ट एकीकरणको बारेमा त उहाँहरुको के कुरा र, मै प्रश्न गरिरहेको छु नि तपाईंसँग ! त्यो त छलफल गर्नै बाँकी छ नि ! तालमेल त अर्कै कुरा भयो नि ! तालमेल भनेको त एकीकरण होइन नि ! तालमेल भनेको त आफ्नो पार्टी जिताउनका निम्ति अरुको पनि मतको सहयोग लिने भनेको हो । आफूले सहयोग लिएबापत उसलाई पनि आफूले सहयोग गर्दिने भनेको हो । यो त सामान्य कुरा भयो ।

तपाईंलाई के लाग्छ, यो नेपालको कम्युनिष्ट आन्दोलन सही दिशामा गइराखेको छ ? नेपालमा सच्चा कम्युनिष्टहरु छन् त, अझै बाँकी छन् त ?

आधारभूत रुपमा मैले भन्ने गरेको के हो भने, नेपालमा पार्टीको रुपमा र संगठित शक्तिको रुपमा चाहिँ कम्युनिष्ट पार्टी छैन अहिले । तर कम्युनिष्टहरु छन्, विभिन्न पार्टीहरुभित्र रहेका कम्युनिष्टहरु छन् । कुनै पार्टीमा धेरै छन्, कुनै पार्टीमा कम छन् । कम्युनिष्ट पार्टी नै बनाएर अगाडि बढ्नुपर्छ भन्ने आम बौद्धिकहरु पनि छन्, जनता पनि छन् र कम्युनिष्टलाई मनपराउने विशाल जनमत, संसारमा कहीँ नभएको जनमत नेपालमा छ । हामी त माओवादी केन्द्रभित्र पनि लगातार छलफल गरिराखेका छौँ कि आजको आवश्यकता अनुसारको कम्युनिष्ट पार्टी अब कसरी बनाउने ? हाम्रो एउटा मूल एजेण्डाभित्र छ त्यो । हामी यो चुनाव सकेर महाअधिवेशनतिर जाने बेलामा महाबहस सृष्टि गरेर हामीले कम्युनिष्ट आन्दोलन आजको आवश्यकता अनुसारको बनाउनुपर्छ, किनकि हिजोको आवश्यकता अनुसारको बनाउँदै बनाउँदै यहाँसम्म आइयो र यति उपलब्धि भयो । अबको आवश्यकता अनुसारको बनाउनुपर्छ भन्ने त हाम्रो बहस नै छ । मैले त्यही त भन्दै छु, पार्टी एकताका सन्दर्भमा पनि त्यही महाबहसको ठूलो भुमरीभित्र हामी छिर्नैपर्छ । र त्यहाँबाट नयाँ ढंगको आजको आवश्यकता अनुसारको कम्युनिष्ट आन्दोलन निर्माण गरेर जानुपर्छ ।

९ महिनाको शिशु लड्छ, उठ्छ, लड्छ, उठ्छ र अनि मात्रै ऊ युवा हुन्छ । कम्युनिष्ट आन्दोलन विश्वमा युवा हुन नै बाँकी छ । त्यसकारणले यो हराउँछ भन्ने कुरा होइन । यो नयाँ ढंगले अगाडि आउँछ भन्ने कुरा चाहिँ हो ।

त्यो सम्भव चाहिँ तपाईं देख्नुहुन्छ फेरि पनि ?

अर्को विकल्प के छ र ? संसारमा दुईवटा विचारधाराहरु छन् । एउटा प्रत्ययवादी, वा हामीले आदर्शवादी भन्दै आएका छौँ, अर्को मार्क्सवाद छ । ८ हजार वर्षदेखिको यो वर्ग समाजको हल कसले गर्छ ? आज अरबौँ अरब मानिसहरु भोकभोकै छन् । आज अरबौँ अरब मानिसहरुलाई विश्व साम्राज्यवादले मेशिन बनाइदिएको छ । मेशिनले के गर्छ ? तेल खान्छ, विजुली खान्छ, सामान उत्पादन गर्छ । तर मेशिनले आफ्नो बारेमा सोच्दैन, आफ्नो समाजको बारेमा सोच्दैन । त्यस्तो मान्छे बनाउँदैछ साम्राज्यवादले । यसले संसारको धेरैभन्दा धेरै दोहोन गरेर खोक्रो बनाउँदैछ संसारलाई

तपाईंहरु त्यसको विरुद्धमा हुनुहुन्छ ?

सिंगो मानवसमाज त्यसको विरुद्धमा छ । त्यसको नेतृत्व कम्युनिष्टहरुले गर्नुपर्छ । ८ हजार वर्षको वर्ग समाजसँग लडेको हामी पौने दुई सय वर्ष मात्र भयो ।

तर विश्वबाट कम्युनिष्टहरु विस्तारै पलायन हुँदै गइराखेको छ नि ?

यो कुरा त लेनिनको पालामा पनि भनिएको हो, सिद्धियो मार्क्सवाद भनेर । किनकि सिद्धियो भनेपछि सिध्याउन सकिन्छ भन्ने उनीहरुलाई लागेको छ । तर यो त्यस्तो चिज होइन, यो विचारधाराको कुरा हो । यो मानवमुक्तिको कुरा हो, यो पर्यावरणलाई, पृथ्वीलाई जोगाउने कुरा हो । त्यसकारणले मार्क्सवादी आन्दोलन, कम्युनिष्ट आन्दोलन कहिले सेलाउँछ र ? मैले भनिहालेँ नि, ८ हजार वर्षको वर्ग समाजको विरुद्ध हामी लडेको १ सय ७० वर्ष भयो । १ सय ७० वर्षमा कुनै धर्मभन्दा पनि छिटो, तीव्र गतिमा संसारलाई यसले एकचोटी निल्यो । ८ हजार वर्षको निम्ति पौने दुई सय वर्ष भनेको ९ महिनाको शिशु जस्तो हो । ९ महिनाको शिशु लड्यो भनेर रुनु भनेको उसले हिँड्न नसिकोस् भनेको हो । ९ महिनाको शिशु लड्छ, उठ्छ, लड्छ, उठ्छ र अनि मात्रै ऊ युवा हुन्छ । कम्युनिष्ट आन्दोलन विश्वमा युवा हुन नै बाँकी छ । त्यसकारणले यो हराउँछ भन्ने कुरा होइन । यो नयाँ ढंगले अगाडि आउँछ भन्ने कुरा चाहिँ हो ।

सबै मानिसको व्यक्तिगत सम्पत्ति त उस्तै–उस्तै लेभलको हुनुपर्छ भन्ने तर्क त गर्नुहुन्छ नि, होइन ?

त्यो त हुनैपर्छ नि । त्यो भएन भने त शोषण हुन्छ नि त । एकजनासँग सम्पत्ति बढी हुने, अर्कोसँग कम हुने । सम्पत्ति त प्रकृतिले दिएको हो नि । उसले जन्मिँदै लिएर आएको होइन ।

व्यक्तिगत सिपले त फरक पार्छ नि । कोही मानिस चाहिँ धेरै कमाउने खालको नहोला ?

त्यसो हो भने यसो गरौँ । किसानहरुलाई सबैलाई मार्दिऔँ । उनीहरु नभएको संसार चलाऔँ न त, पुँजीपति मात्र भएको संसार चलाऔँ । चल्छ ? चल्दैन । एउटा इन्जिनियरको खास बेलामा किसानको भन्दा बढी भूमिका हुनसक्छ । तर किसानको खास बेलामा इन्जिनियरको भन्दा बढी भूमिका हुन्छ । ती दुईवटै समाजको निमित्त चाहिन्छ नि त । त्यसो भएर उनीहरुले गर्ने श्रम सबै सम्मानित हुनुपर्छ ।

अब जाँदाजाँदै, लोकतान्त्रिक ध्रुवीकरण पनि भइरहेको छ अहिले, वामको ध्रुवीकरणका कारण । यसलाई तपाईं के भन्नुहुन्छ ?

हाम्रो त स्वागत छ । आफ्नो विचार मिल्नेहरु, आफ्नो स्वार्थ मिल्नेहरु एकठाउँमा बसेर शानदार ढंगले चुनावमा प्रतिस्पर्धा गरौँ । उहाँहरुलाई त म शुभकामना दिन चाहन्छु ।

यो चुनावमा माओवादीको राम्रो स्थान आउँछ ?

राम्रो र नराम्रो भनेको कुरा त सौन्दर्यसँग सम्बन्धित कुरा भयो । तर, हामीलाई के विश्वास छ भने हामीले नेपाली समाजमा जुन संविधान बनायौँ, त्यो संविधान हाम्रै नेतृत्वमा लागु गर्ने गरी जनमत हाम्रो पक्षमा आउँछ भन्ने हामीलाई लाग्छ ।

 

(Visited 489 times, 1 visits today)

टिप्पणी

comments