Main Menu

‘थाहा’ दर्शन हो

Madan Rai
पंचायत कालमा रुपचन्द विष्टले ‘थाहा’ आन्दोलन सुरु गर्दा म कृषि वैज्ञानिकको काम गर्दथेँ । अर्थात्, त्यतिखेर म गाउँमा खेतीपाती सिकाउने गर्थेँ, विशेष गरेर मुस्ताङमा स्याउ खेती गर्ने काम सिकाउथेँ । त्यतिखेर रुपचन्द्रले राजनीति गर्दा अर्थात् चुनावमा भोट माग्न जाँदा सबैलाई ‘थाहा पाऊ, थाहा पाई’ भनेर ठाडो भाषामा भन्दै हिँड्ने गरेको सुन्थें । उहाँले त्यस्तो कुरा गाउँगाउँमा भन्दै हिँड्ने गर्नुभएको सुनेको र आफैले नै चाहिँ काठमाडौं शहरको भित्ताभित्तामा त्यस्ता कुराहरु लेखिएका देखेको थिएँ । यो आजभन्दा ३५/४० वर्ष पहिलेको कुरो हो । साँच्ची ‘थाहा’ के हो भनेर मनमा प्रश्न चाहिँ उठ्थ्यो । तर, जीवन गुजार्दै गएपछि जीवनमा थाहा पाउनुपर्ने कुरा त धेरै रहेछन् भन्ने कुरा थाहा पाएँ । मान्छेले जीवनमा धेरै हण्डर ठक्कर पाउँदो रहेछ र त्यसबाट नै उसले ‘थाहा’ पाउँदो रहेछ भन्ने कुरा अनुभवबाट थाहा पाएँ । जीवनमा मान्छेले दुःख र सुख दुबै पाउँदो रहेछ । मैले पनि त्यस्तै अनुभव गरेँ । यी सबै कुराहरु थाहा पाएपछि मात्र मान्छेलाई ज्ञान हुँदो रहेछ । रुपचन्द्रले यी कुराहरुलाई ‘थाहा’ भित्र राख्नुभएको रहेछ । मैले आफ्नै जीवनको अनुभवबाट के थाहा पाएँ भने मान्छेले वास्तवमा ‘थाहा’ नपाएर नै दुःख पाउँदो रहेछ । रुपचन्द्रले ‘तिमी के हौ, के गर्दैछौ ? थाहा पाऊ’ भन्नुहुन्थ्यो । उहाँले ‘सत्य थाहा पाऊ, तब मात्र तिमीलाई राम्रो हुन्छ’ भन्नुहुन्थ्यो । रुपचन्द्रले मानिसहरुलाई ‘तिमीहरुलाई सत्य कुरा थाहा नै रहेनछन्, त्यसैले असत्यको पछाडि लाग्दै हिँडीरहेछौ’ भन्नुहुन्थ्यो । उहाँ ‘तिमी ढाँटी हिँड्छौं, चोरी हिँड्छौ, ठगी हिँड्छौ, तर नतिजामा तिमी आफै ठगिन्छौ । यो कुरा थाहा नपाई तिम्रो दुःखको अन्त्य हुँदैन ।’ भनी सर्वसाधारणलाई ‘यस्तो कुरा थाहा पाऊ’ भन्नुहुन्थ्यो । वास्तवमा उहाँले आफू र जगतबारे थाहा नपाउँदा नै मानिसहरुले दुःख पाएका हुन् भन्ने कुरा बुझ्नुभयो । र, यो कुरो सबैले ‘थाहा’ पाउनुपर्छ भन्ने बिचार उहाँको रह्यो । रुपचन्द्रको बिचारको मर्म मैले विज्ञान अध्ययन र कर्म गर्दै जाँदा थाहा पाएँ । मैले विज्ञानमा तत्व ज्ञानबारे बुझ्दै जाँदा मुख्य कुरा त ‘थाहा’ नै त रहेछ भन्ने कुरा बुझेँ ।

बुद्धले भनेका छन्, ‘ज्ञान भएपछि आनन्द प्राप्त हुन्छ । ज्ञान भएन भने वा अज्ञानी भयो भने दुःख हुन्छ ।’ सुकरातले नै पनि भनेका छन्, ‘ज्ञान नै आनन्द हो ।’ यी कुरा हेर्दै जाँदा मुख्य कुरो त ‘थाहा’ नै त रहेछ भन्ने कुरा मलाई अनुभूति भयो । र, मैले टि सर्टहरुमा ‘थाहा’ लेखी लाउन थालेँ, त्यो बेलामा । वास्तवमा त्यो बेलामा पनि मैले रुपचन्द्रलाई भेटेको पनि थिइनं । देखेको समेत पनि थिइनं । उहाँका भनाइहरु पत्रपत्रिकामा आउन थाले । र, मैले उहाँका कुराहरु लिएर आफूमा लागु गराउन प्रयत्न गरेँ । मलाई के लाग्यो भने रुपचन्द्र सत्यवादी हुनुहुन्थ्यो । सत्य भनेको प्रकृति हो । सत्य भनेको जगत हो । यसबारे थाहा पायौं भने हामी सुख पाउँछौं । मान्छेले आफू के हो भन्ने कुरा प्रश्न गर्दै गयो भने त उत्तर पाइहाल्छ नि । मान्छे ज्ञानको भोको हुनुपर्छ । तर, यहाँ मानिसहरु धनको भोका रहेका छन् । एक थाल भात भए पुग्नेमा दुई थाल, दश थाल, सय थाल, हजार थाल भात खोज्छन्, मानिसहरु । आफूलाई मात्र होइन ७ पुस्तालाई पुग्ने धन थुपार्न चाहन्छन् । अर्को पुस्तालाई धन थुपार्नुको कुनै अर्थ छैन । जो जन्मन्छ उसले आफ्नो लागि जोहो गर्ने त प्राकृतिक नियम नै हो नि । तर, यहाँ मानिसहरु पुस्तौंका लागि धन थुपारेर अनावश्यक काम गर्दछन् ।

रुपचन्द्रको मलाई सबैभन्दा मनपर्ने कुरा के हो भने, ‘हाम्रा कोही होइनन्, हामी कसैका होइनौं, हामी सत्यका हौं, सत्य मात्र ठीक हो । सत्य र ठीक हाम्रा, हामी सत्य र ठीकका ।’ मैले यी कुराहरुलाई मेरो घर कम्पाउन्डको गेटको भित्तामा समेत लेखेर राखेको छु । मलाई यो कुरो साह्रै चित्त बुझ्यो । मैले बाउ हेरेँ, आमा हेरेँ, श्रीमती हेरेँ, छोराछोरी हेरेँ, भाइबहिनी हेरेँ, नजिकका साथीभाइ हेरेँ । सबै त भ्रम नै लाग्यो । सत्य त आफू मात्रै हो । आफूलाई पाल्ने आफू वरिपरिको भौतिक वस्तुहरु, जीवनिर्जीव सबै सत्य रहेछन् । तिनीहरुलाई मान सम्मान गर्नुपर्छ । उनीहरुलाई बिगार्नु, भत्काउनु नहुने रहेछ । आफू उनीहरुसँग मिलेर बस्नुपर्ने रहेछ ।

जीवन दुई कुराले बनेको रहेछ । हामी जन्मन्छौं आमा र बाबुको संगमबाट । यो दुईको कुरा भयो । अर्को, हाम्रो दिनचर्यामा दिन र रातको कुरा हुन्छ । यो पनि दुईकै कुरा भयो । राम्रो र नराम्रो पनि दुईकै कुरा भयो । जतिसुकै राम्रो खोजे पनि नराम्रो कुरा भएन भने सन्तुलनमै रहन्न । जीउका सबै अङ्ग हेर्दा पनि दुईकै कुरा आउँछ । दुईटा हात, दुईटा खुट्टा, दुईटा आँखा आदि । वस्तुभित्र पसी अणु परमाणुसम्म पुग्दा त्यहाँ इलेक्ट्रोन र प्रोटोनको कुरा आउँछ र त्यो पनि दुईकै कुरो भयो । हरेक कुरामा ऋणात्मक र धनात्मक चीज हुन्छन् । आखिर सबै ठाउँमा दुई नै रहने रहेछ । अन्तिममा यो संसार दुई नै त रहेछ । दुःख भयो भने सुख त हुने नै रहेछ । सुुख खोज्नुपर्ने रहेछ । त्यो नपाइने भन्ने कुरा रहेन । त्यस्तै सुख भएपछि दुःख पनि हुने नै रहेछ, किनकि सुख मात्रै सन्तुलनमा रहनै सक्तैन । दुःख सुखमा र सुख दुःखमा अडिएको छ । एक बिना अर्कोको अस्तित्व नै रहन्न । यति बुझ्यो भने त ‘थाहा’ प्राप्त भइहाल्यो नि ! ‘थाहा’ प्राप्त भएपछि मान्छेलाई वर्तमानमा दुःख भए पनि सुख प्राप्त गर्न सकिन्छ नै र यसलाई खोज्नुपर्छ भन्ने ज्ञान हुन्छ । ऊ निराश हुँदैन ।

ज्ञानले आनन्द प्राप्त हुन्छ भन्ने कुरा सुकरात र बुद्धले भने । रुपचन्द्रले पनि भने । म एक वैज्ञानिक भएको नाताले हाम्रा ंसबै अङ्गप्रत्यङ्गलगायत अणु र परमाणुसम्म गई अध्ययन गर्दा के थाहा पाएँ भने सबै कुरो त दुईले नै बनेका रहेछन् । संसार बनाउने पञ्चतत्व दुईले नै बनेका छन् । ब्रम्हाण्डका सबै पदार्थ दुईले नै बनेका छन् । यो खालको तत्व ज्ञान थाहा हुँदा नै ब्रम्हाण्डलाई बुझ्न सकिन्छ । थाहा पाउनुपर्ने मुख्य कुरो भनेका आफू र जगत हुन् । अर्थात् आफू र आफ्नो वरपर रहेका सजीव–नीर्जिवका बारेमा थाहा पाउनुपर्दछ । हाम्रो वरपरका भौतिक वस्तुहरुको अस्तित्वलाई स्वीकार गर्नुपर्दछ । उनीहरुसँग मिलेर बस्नुपर्दछ । उनीहरुलाई सम्मान गर्नुपर्दछ । यस्ता कुरा थाहा पाउनुपर्दछ भन्ने कुरा रुपचन्द्र विष्टले भन्नुभयो । उहाँ महान व्यक्ति हुनुहुन्थ्यो । उहाँ नेपाली हुनुहुन्छ र उहाँको पालाका बुद्ध हुनुहुन्थ्यो । बुद्ध भनेको अरु केही नभई ज्ञान हो । ज्ञान प्राप्ती गरेर शक्ति आर्जन गरेका मानिस त कमै हुन्छन् नि ! रुपचन्द्रले ‘थाहा’ लाई नै केन्द्रबिन्दु बनाउनुभयो । मैले रुपचन्द्रलाई समयको गुरु मानेको छु । उहाँ अल्पायुमै जानुभयो । धेरैधेरै नेपालीहरुजस्तै म पनि उहाँको ‘थाहा’ बाट प्रभावित भएको हुँ ।

रुपचन्द्रले सधैँ ‘गरी खाऊ, ठगी नखाऊ’ भन्नुहुन्थ्यो । उहाँको अनुसार ठग्नु भनेको अपराध हो । हामीलाई प्रकृतिले आँखा, कान, नाक, छाला र जिब्रो गरी पाँचवटा इन्द्रीयहरु दिएको छ । तिनीहरुबाट हामीले ज्ञान प्राप्त गर्ने भएकोले तिनीहरुलाई ज्ञान इन्द्रीय अर्थात् ज्ञानेन्द्रीय भनिन्छन् । प्रकृतिले कर्म गर्न अर्थात् खोजी खानका लागि हामीलाई दुई हात दिएको छ । खाना खोज्न एक ठाउँबाट अर्को ठाउमा जानको लागि हामीलाई प्रकृतिले दुई खुट्टा दिएको छ । त्यस्तै खाना खानको लागि मुख दिइएको छ । संसारमा मुख्य कुरो भनेको तत्व हो । यो कहिल्यै नाश हुँदैन । एउटाबाट अर्कोमा रुपान्तरित मात्र हुन्छ । त्यसैले हामीले खाएको खाना पनि अर्कोमा रुपान्तरित हुने मात्र हो । त्यसको नाश हुँदैन । त्यसैले खाएको खाना रुपान्तरित भइसकेपछि त्यो शरीरबाहिर निस्किनुपर्ने हुन्छ । र, त्यसको लागि हामीलाई प्रकृतिले मलद्वार दिएको छ । त्यस्तै, वंश निरन्तरताका लागि जनेन्द्रीय दिएको छ । यी कर्म गर्ने कर्मन्द्रीयहरु ‘थाहा पाऊ र कर्म गर’ भन्नुहुन्थ्यो रुपचन्द्र विष्ट । उहाँ गाउँमा किसानहरुकहाँ जानुहुन्थ्यो र मल बोकेको ठाउँमा गई मल बोकी सघाउनुहुन्थ्यो, विउ लगाउँदै गरेको ठाउँमा गई विउ लगाई सघाउनुहुन्थ्यो । उहाँले किसानहरुलाई राम्रो कसरी गर्ने भन्ने कुरा सिकाउनुहुन्थ्यो । राम्रो गर्नेलाई राम्रो ग¥यौ भनी उहाँ प्रोत्साहित गर्नुहुन्थ्यो । जो काम नगरी तास खेलेर बस्छ, त्यस्तालाई उहाँ ‘ए भाते हो ! ठग हो ! खवरदार !’ भनी चुट्नु पनि हुन्थ्यो ।

त्यो समयमा रुपचन्द्रले श्रमको मूल्य दिइनुपर्छ भनी पर्चा निकाल्नुहुन्थ्यो । चुनावको बेला त्यो पर्चालाई उहाँले २५/२५ पैसा लिई वितरण गर्नुहुन्थ्यो । उहाँले पर्चा वितरण गर्दा ‘मैले पढ्नको लागि तिमीलाई दिएको हो । यसमा श्रमको मूल्य परेको छ । तिमीले त्यो मूल्य तिर्नुपर्छ ।’ भन्नुहुन्थ्यो र पैसा लिनुहुन्थ्यो । उहाँ श्रमजीविहरुकहाँ जानुहुन्थ्यो, श्रम गर्नुहुन्थ्यो र उनीहरुलाई श्रम गरेकोमा स्यावासी दिनुहुन्थ्यो । कामको ढङ्ग नपुर्याउँदा उहाँ श्रमिकहरुलाई ‘भाते ! त्यसरी होइन, यसरी हो’ भनी काम गर्दाको ढङ्ग पनि सिकाउनुहुन्थ्यो । ज्ञान दिनुहुन्थ्यो, सिप दिनुहुन्थ्यो । यी सबै कुरा त्यतिखेर मैले सुन्ने गरेको थिएँ । उहाँलाई प्रत्यक्ष भेटेको थिइनं । सुनेकै भरमा उहाँबाट म अत्यन्त प्रभावित भएँ । रुपचन्द्रका कुराहरु सुनेपछि
‘सत्य भनेका यी कुराहरु नै त हुन्’ भन्ने मलाई लाग्यो । उहाँ त्यतिखेरको सदन राष्ट्रिय पंचायतमा ‘भ्रष्टाचार हो ! असत्य हो ! यो राष्ट्र सबैको हो । राष्ट्र चलाउने राजादेखि प्रतिनिधिसम्मको व्यक्तिगत तथा परिवारको सुखका लागि होइन यो । शासन भनेको जनताको सुखका लागि हो । भ्रष्टाचार भनेको अनैतिक काम हो । त्यस्तो नगर !’ भनी कराउनुहुन्थ्यो ।
रुपचन्द्र विष्ट गाउँगाउँमा गई गरिब श्रमिक जनतासँग बस्नुहुन्थ्यो । उहाँले के महसुस गर्नुभयो भने ती गरिब श्रमिक जनतासँग ज्ञान नभईकन, सिप नभईकन र उनीहरुलाई ‘थाहा’ नभईकन उनीहरुको जीवन उठ्दैन । त्यसैले उहाँले गाउँगाउँमा स्कुल खोल्ने र त्यहाँ गई पढाउने काम गर्नुभयो । वास्तवमा शिक्षा दिनु भनेको ‘थाहा’ दिनु नै हो । यही नै सत्य हो । जनतालाई ‘थाहा’ दिएपछि नै उनीहरुको दुःख हट्छ । किनकि, दुःखको कारण भनेको ‘थाहा’ नपाउनु हो, शिक्षा नपाउनु हो । उहाँलाई मानिसहरु कम्युनिस्ट भन्थे, साम्यवादी भन्थे । उहाँ जे सुकै होउन्, त्यो छुट्टै कुरो हो । मुख्य कुरो उहाँ गरिब र निमुखा जनतालाई माथि उकास्न चाहनुहुन्थ्यो । र, उहाँ त्यसैका लागि ती जनतालाई ‘थाहा’ दिलाउन गाउँगाउँमा अभियान चलाउँदै हिँड्नुहुन्थ्यो ।

मलाई के लाग्छ भने सत्य नै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । यसबारे ज्ञान भएपछि नै मान्छेलाई आफू र यस संसारबारे ‘थाहा’ हुन्छ । र, ‘थाहा’ले नै मान्छेलाई अगाडि जान दिशा प्रदान गर्छ । त्यसकारण ‘थाहा’ दर्शन हो । जीवनमा मान्छेले ‘थाहा’ पाउनुपर्ने कुरा असिमित छ । तर, उसले आधारभूत कुरा ‘थाहा’ पाउनु नै पर्छ । म के हुँ ? म कहाँबाट आएँ ? यो प्रकृति के हो ? यो कसरी बन्यो ? दुःख के हो ? यो कसरी आउँछ ? सुख के हो ? यो कसरी प्राप्त हुन्छ ? आदिबारे उसले थाहा पाउनै पर्छ । ‘थाहा’ दर्शनले यी र यस्ता कुराहरु सिकाउँछ, बुझाउँछ । यति भएपछि शान्ति त आइहाल्यो नि । ‘थाहा’ बारे मैले भन्नुपर्ने मुख्य कुरो यही नै हो । वास्तवमा कुनै निजी स्वार्थ बिना निष्पक्ष ढङ्गले ‘थाहा’ आन्दोलन चलाई जनतालाई चेतना दिई हिँडेका मान्छे बुद्धपछि रुपचन्द्र नै हुन् ।

(लेखक ‘थाहा’ आन्दोलनलाई आत्मसात गरेर त्यसलाई कृषि, पर्यावरण तथा गाउँले जनजीवनमा लागु गर्ने अभियानमा लाग्नुभएका वैज्ञानिक तथा अभियन्ता हुन् । यो लेख कुराकानीमा आधारित भई तयार गरिएको हो ।)

(Visited 984 times, 1 visits today)

टिप्पणी

comments