Main Menu

अध्यात्मको शरण

  • तुल्सीदास महर्जन

spiritual-end-darshan-article-1359उटा भेटघाटमा एक वरिष्ठ डाक्टरले मलाई के सुझाव दिए भने हरेक बिहान एउटा चर्चित भारतीय टिभी च्यानल हेर्नू, त्यसमा दिइने अध्यात्मसम्बन्धी प्रवचन अत्यन्त महत्वपूर्ण छ । उनका अनुसार त्यस प्रवचनमा यस्ता प्रश्नहरुको जवाफ हुन्छ, जुन विज्ञानले दिन सकेका छैनन् । त्यस्तै एक अर्को भेटघाटमा अर्का एक वरिष्ठ डाक्टरले भने, ‘आधुनिक चिकित्सा विज्ञानले रोगव्याधीको सम्बन्धमा कहाँ सबै उत्तर दिन सक्छ र ? कुनैकुनै विरामीमा त चामत्कारिक र आश्चर्यजनक परिवर्तन पनि भएको हुन्छ ।’ उनका अनुसार ईश्वर मान्नु वा नमान्नु आ–आफ्नो विश्वासको कुरो होला, तर केही यस्ता कुराहरु पनि छन् जुन मानव ज्ञानले भेट्टाउन सक्दैन । तर, यथार्थमा ती डाक्टर तथाकथित कुनै ईश्वर पनि मान्दैनन् । अर्थात्, उनी अनिश्वरवादी हुन् । उनी आफूलाई अध्यात्मवादी होइन, भौतिकवादी भएको दाबी गर्छन् ।

हामीकहाँ मार्क्सवादी तथा वामपन्थीहरुले भौतिकवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्तको रुपमा स्वीकार्छन् । आफूलाई विज्ञानको विद्यार्थी कहलाउन चाहने थुप्रै वैज्ञानिक तथा विज्ञानकर्मीहरुले पनि भौतिकवादको नै वकालत गर्छन् । तर, उनीहरुमध्ये कयौँले आत्माको स्वतन्त्र अस्तित्व मान्नुका साथै त्यससम्बन्धका कतिपय कुराहरु कहिल्यै मानव ज्ञानको परिधिभित्र आउन सक्दैनन् भनी विश्वास गर्छन् ।

spiritual-end-darshan-article-1359

न्युटनका अनुसार सूर्यको केन्द्रमा गुरुत्वबलले तान्ने शक्ति र ग्रहहरु परिक्रमारत हुँदा उत्पन्न उछिट्टिएर जाने शक्तिबीच हुने सन्तुलनले गर्दा नै ग्रहहरुले निरन्तर सूर्यलाई परिक्रमा गरिरहने हो । यो सिद्धान्त पृथ्वी र चन्द्रमाबीचको सम्बन्धमा समेत लागू हुन्छ ।

कतिपय वैज्ञानिकहरु स्वयं पनि भौतिक घटनाहरुको कारण ईश्वरीय शक्तिमा खोज्न पुग्छन् । महान् वैज्ञानिक आइज्याक न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरी ग्रहहरुले सूर्यलाई परिक्रमा गर्नुको कारण गुरुत्वबल हो भने । त्यस सिद्धान्तअनुसार ग्रहहरुलाई सूर्यले निरन्तर आफूतिर तान्छ, तर परिक्रमारत ग्रहहरुको उछिट्टिएर जाने प्रवृत्तिको कारणले गर्दा तिनीहरु सूर्यको केन्द्रमा तानिन सक्दैनन् । उनका अनुसार सूर्यको केन्द्रमा गुरुत्वबलले तान्ने शक्ति र ग्रहहरु परिक्रमारत हुँदा उत्पन्न उछिट्टिएर जाने शक्तिबीच हुने सन्तुलनले गर्दा नै ग्रहहरुले निरन्तर सूर्यलाई परिक्रमा गरिरहने हो । यो सिद्धान्त पृथ्वी र चन्द्रमाबीचको सम्बन्धमा समेत लागू हुन्छ ।

तर, उनले पहिलोपटक ग्रहहरुलाई सूर्यको वरिपरि केले घुमायो भन्ने प्रश्नको उत्तर पाउन सकेनन् र यसको हल उनले ईश्वरीय शक्तिमा देखे र भने, ‘हुन सक्छ ग्रहहरुलाई ईश्वरीय शक्तिले पहिलोपटक सूर्यनजिक घचेटेर घुमाए ।’

भौतिकशास्त्रमा न्युटनपछि अल्बर्ट आइन्स्टाइनको नाम आउँछ । साँच्चै भन्ने हो भने गत बीसौँ शताब्दीको सर्वाधिक महान् वैज्ञानिक उनी नै हुन् । उनको सापेक्षतावादबिना विश्वब्रम्हाण्डको व्याख्या सम्भव नै थिएन । उनको सामान्य सापेक्षतावाद सिद्धान्तले न्यूटनको गुरुत्वाकर्षणको सिद्धान्तलाई आधारभूत रुपमै बदलिदियो । तर, उनी पनि विश्वब्रम्हाण्डका अनुत्तरित खास प्रश्नहरुको जवाफ पाउन ईश्वरीय शक्तिको शरणमा पुगे ।

पच्चीस सय वर्ष अगाडिका पूर्वका महान् दार्शनिक गौतम बुद्धले ध्यान विधिबाट गरिएको अथक मेहेनत र प्रयत्नपछि विश्वब्रम्हाण्डको केन्द्रीय तत्व तरङ्ग भएको महसुस गरे र त्यही कुरालाई सिद्धान्तको रुपमा विकसित गरे । तर, उनी पनि मान्छेको आत्माको सवालमा अनुत्तरित हुन्छन् र मान्छेरुपी आत्माले मृत्यु भएर पनि अर्को जन्म लिन सक्ने सिद्धान्त बनाउँछन् । अर्थात् उनले आत्माको स्वतन्त्र अस्तित्वलाई स्वीकारे । तथापि उनी त्यो बेलाका अनिश्वरवादी दार्शनिक थिए ।

spiritual-end-darshan-article-1359

चार्ल्स डार्बिनले भने, मान्छे जाति भनेको बाँदरको पूर्खाबाट विकसित भएको हो । अर्थात् त्यसबेलासम्म विश्वास गरिएझैँ मान्छे यस पृथ्वीमा एकैचोटि सृष्टि गरिएको र सुरुदेखि नै उसको रुप, रङ्, संस्कृति, सभ्यता, क्षमता आदि एउटै नभई यो आजको बाँदरको धेरै वर्ष, सम्भवतः लाखौँ वर्ष पहिलेको पुर्खाबाट क्रमशः विकसित भएको हो ।

विश्वविज्ञान जगतमा मूलतः दुई व्यक्तिहरुले ईश्वरको अस्तित्वलाई तथ्य र प्रमाणसहित अस्वीकार गरिदिएका छन् । तिनीहरु हुन् उन्नाइसौँ शताब्दीका महान् वैज्ञानिक चार्ल्स डार्बिन र वर्तमानमा भौतिकशास्त्रमा ‘मास्टरमाइन्ड’ कहलिएका वैज्ञानिक स्टेफेन हकिङ । दुबै बेलायतका हुन् । चार्ल्स डार्बिनले भने, मान्छे जाति भनेको बाँदरको पूर्खाबाट विकसित भएको हो । अर्थात् त्यसबेलासम्म विश्वास गरिएझैँ मान्छे यस पृथ्वीमा एकैचोटि सृष्टि गरिएको र सुरुदेखि नै उसको रुप, रङ्, संस्कृति, सभ्यता, क्षमता आदि एउटै नभई यो आजको बाँदरको धेरै वर्ष, सम्भवतः लाखौँ वर्ष पहिलेको पुर्खाबाट क्रमशः विकसित भएको हो । यसलाई उनले उद्विकास भने । उनले मान्छेको उदय कुनै परमात्माबाट भएको भन्ने विश्वासलाई पूरै अस्वीकार गरिदिए । चार्ल्स डार्बिन प्रकृतिविद् थिए ।

वर्तमानमा विश्वब्रम्हाण्डका व्याख्याता वैज्ञानिक स्टेफेन हकिङ महान् गणितज्ञ तथा भौतिकशास्त्री हुन् । उनले गणितीय तथ्य र तर्क प्रस्तुत गरी यो विश्वब्रम्हाण्ड सञ्चालनका लागि यसभित्रका प्राकृतिक नियमहरु नै काफी भएको बताएका छन् । त्यसैले उनका अनुसार प्रकृति चलायमान हुनका लागि र यसको अस्तित्वका लागि कुनै परमात्माको सहारा लिनु जरुरी छैन ।

वैज्ञानिक चार्ल्स डार्बिनको जीव विकाससम्बन्धी विकासवादी सिद्धान्त आएपछि सुरु भएको मानवशास्त्र अहिले निकै अगाडि विकसित भइसकेको छ । लाखौँ वर्ष पहिलेका आदिमानवहरु, जो हाम्रो धेरै टाढाका पुर्खाहरु हुन्, बोल्न र लेख्न मात्र होइन, लुगा लगाउन र खाना पकाउनसमेत जान्दैनथे । उनीहरु सुरुमा त घर बनाएर बस्न पनि जान्दैनथे, जङ्गलमा अरु जनावरहरुजस्तै गुफाभित्र बस्थे । दक्षिण अमेरिकाको घना अमेजन जङ्गलभित्र अझै लुगा नै लगाउन नजान्ने मान्छेहरु रहेका छन् । कयौँ मानवशास्त्री र अनुसन्धाताहरु त्यस जङ्गलभित्र पसी ती आदिम कालका मानिसहरुको अध्ययन गरिरहेका छन् । ती मान्छेहरुमा आफू र अरु भन्ने भावना भए पनि विकसित चेतना नभएको कुरा अनुसन्धानमा लागेका वैज्ञानिकहरु बताउँछन् । त्यस्ता अविकसित आदिम खालका मान्छेहरु अफ्रिका, दक्षिणपूर्वी एसिया र प्रशान्त महासागरीय टापुहरुमा पनि भेटिएका छन् । यी तथ्य, प्रमाण र तर्कहरुबाट मान्छे जाति अविकसित जनावररुपी पुर्खाबाट क्रमशः विकसित हुँदै अहिलेको अवस्थासम्म आइपुगेको हो भन्ने पुष्टि हुन्छ ।

spiritual-end-darshan-article-1359

अझ चन्द्र, सूर्य, ताराहरु पनि यो विश्वब्रम्हाण्डमा अनन्त कालदेखि रहँदै अनन्त कालसम्म रहने भन्ने होइन भन्ने कुरा गणितशास्त्री तथा खगोल भौतिकशास्त्रीहरु बताउँछन् । वैज्ञानिक स्टेफेन हकिङ यस विषयका अगुवा हुन् ।

अर्को, मान्छेलगायत सम्पूर्ण जीवजन्तुहरुको बासस्थान यो पृथ्वी स्वयं पनि अनन्त कालदेखि रहेको होइन । अझ चन्द्र, सूर्य, ताराहरु पनि यो विश्वब्रम्हाण्डमा अनन्त कालदेखि रहँदै अनन्त कालसम्म रहने भन्ने होइन भन्ने कुरा गणितशास्त्री तथा खगोल भौतिकशास्त्रीहरु बताउँछन् । वैज्ञानिक स्टेफेन हकिङ यस विषयका अगुवा हुन् । वैज्ञानिकहरुले के कुरा पुष्टि गरेका छन् भने विश्वब्रम्हाण्डका सबै वस्तुहरु परिवर्तनशील छन् र तिनीहरु एक समय उदय हुन्छन् भने निश्चित समयपछि ध्वंश हुन्छन् । यो सिङ्गो विश्वब्रम्हाण्ड स्वयं पनि अरबौँ वर्षपहिले घटित महाविस्फोटनको घटनापछि सुरु भयो भने अरबौँ वर्षपछिको कुनै सुदूर भविष्यमा यसको ध्वंश अवश्यम्भावी छ भन्ने कुराको वैज्ञानिकहरुले पुष्टि गरेका छन् ।

सुदूर अतीतमा मान्छे जातिको यस्तो पुर्खा पनि रह्यो जसमा आफू र अरु भन्ने भाव थिएन, जसरी अधिकांश जनावरहरुमा हुने गर्दैन । वास्तवमा आफू र अरुको भन्ने भावनाको उदयबाट नै मान्छे जनावरबाट छुट्टिएको हो । र, त्यही बिन्दुबाट मान्छेमा आत्माको जन्म भयो । अहिले पनि जनावरहरुमा ज्यान भए पनि आत्मा हुँदैन । वास्तवमा आत्मा भनेको चेतनाको विकसित रुप हो । चेतना बोक्ने र सञ्चालन गर्ने अङ्ग मस्तिष्क हो । मान्छेहरुमै पनि मस्तिष्कको स्थिति सबैमा एउटै हुँदैन । त्यसैले सबै मान्छे उस्तै चेतनास्तरको हुँदैन । भौतिक रुपमा मष्तिस्कको पिण्ड, आकार र संरचना एउटै हुने भएकोले आधारभूत रुपमा चेतनाको स्तर सबै मान्छेमा एउटै हुन्छ । अर्थात् सबैमा आफू र अरुको भावना हुन्छ । यसको अर्थ सबैमा आत्मा हुन्छ ।

तसर्थ, आत्मा भनेको मान्छे जातिको विकासको खास चरणमा मात्र उदय भएको हो । यो पृथ्वी सुदूर अतीतको कुनै समयमा मान्छेको भौतिक शरीरभन्दा अलगथलग वा पृथक रुपमा रहन सक्ने चीज हो भन्ने पुष्टि गर्दैन, न त यो मान्छेको भौतिक शरीर विकास हुनुपूर्व नै आएको हो भन्ने कुराको पुष्टि गर्छ । यो मान्छेको भौतिक शरीरसँगै आउँछ, विकास हुन्छ र त्यसको अन्त्यसँगै यो पनि समाप्त हुन्छ । विज्ञानले यही पुष्टि गर्छ ।

अध्यात्म संस्कृत शब्द हो । अधि र आत्माको समासबाट अध्यात्म शब्द बन्छ । अधि भनेको अघि वा पहिलो हो । त्यसैले अध्यात्म शब्दले आत्मा अघि अर्थात् यसले हाम्रो भौतिक शरीर आउनुभन्दा अगाडि नै आत्मा आएको भन्ने मान्यता बोक्छ । भौतिक शरीर आउनुभन्दा अगाडि नै आत्मा आएको भन्ने मान्दा आत्मा भौतिक शरीरभन्दा पृथक रुपले अस्तित्वमा रहन सक्छ भन्ने निष्कर्ष दिन्छ । त्यसैले अध्यात्म शब्दले एउटा सिङ्गो दर्शन बोकेको हुन्छ, जुन विज्ञानसम्मत छैन । र, यो सत्य होइन भनेर विज्ञानले पुष्टि गरेको छ ।

आध्यात्मिक विचार, धारणा, चिन्तन, विश्वास, मान्यता र मूल्यले निश्चित दर्शनलाई पक्षपोषण वा अनुसरण गरेको हुन्छ । त्यो हो अध्यात्मवाद । त्यसैले अध्यात्मवादी चिन्तन र व्यवहारले विज्ञानलाई बोक्न र सञ्चालन गर्न सक्दैन । अध्यात्मवादले विज्ञानको गतिमा अवरोध पुर्याउँछ । वैज्ञानिक वा विज्ञानकर्मीहरु जति नै महान् र ज्ञाता भए पनि उनीहरु अध्यात्मवादी चिन्तन र व्यवहारबाट मुक्त हुँदैनन् भने उनीहरुले प्रतिपादन गर्ने सिद्धान्त तथा खोजहरु अपाङ्ग बन्छन् । ईश्वरलाई मानेर आस्तिक बनिरहन पर्दैन; अनिश्वरवादी वा नास्तिक भइकन नै उनीहरु अन्ततः ईश्वरवादी वा आस्तिक बन्न पुग्छन् । त्यसैले कोही जिन्दगीभर भौतिकवादको वकालत गरेर पनि विज्ञानसम्मत ज्ञान, चिन्तन, विचार तथा व्यवहारको अभावमा मर्ने क्षणमा आस्तिक तथा ईश्वरवादी हुन पुग्छन् । सधैँभर भौतिकवादी बन्नका लागि विज्ञानलाई चिन्नु, बुझ्नु र त्यसको ज्ञानलाई फराकिलो बनाउनु जरुरी छ । जीवनको हरेक व्यवहार विज्ञानसम्मत बनाउनु आवश्यक छ । कोही वैज्ञानिक वा विज्ञानकर्मी हुँदैमा मात्र भौतिकवादी हुन सक्दैन । कोही अनश्विरवादी हुँदैमा मात्र आस्तिकताबाट मुक्त भएको हुँदैन । आस्तिकताबाट मुक्त भई अध्यात्मवादबाट पर रहन वा साँच्चैको भौतिकवादी हुन विज्ञान बुझ्न, ग्रहण गर्न र व्यवहारमा लागू गर्नु जरुरी छ ।

प्रकाशित : मूल्याङ्कन मासिक, पूर्णाङ्क २०८, जेठ २०७०

(Visited 580 times, 1 visits today)

टिप्पणी

comments