Main Menu

आत्मा, मानिस र आध्यात्मवाद

मानव आत्माको सांकेतिक चित्र । चित्र : Google Image

मानव आत्माको सांकेतिक चित्र । चित्र : Google Image


आध्यात्मवादका कुराहरु हामी धर्म, धर्मशास्त्र र दर्शनशास्त्रहरुमा पाउने गर्छौं । तर, यो विज्ञानसँग पनि जोडिएको छ । विज्ञानले आत्मालाई मानवमा भएको चेतनाको उच्चतम अवस्थाको रुपमा लिन्छ । पुरातत्वमानवशास्त्र तथा मानवशास्त्रले आधुनिक मानवमा जस्तो उच्च चेतना वा आत्मा नभएका लाखौ वर्ष पुराना मानवपुर्खा प्रजातिहरुको जीवावशेष पत्ता लगाएका छन् । करोड वर्ष अगाडिको कुरा गर्ने हो भने त्यतिखेर पृथ्वीमा मानवको उद्विकास नै भएको थिएन । आत्मा त आधुनिक मानवसँग मात्र भएको कुरो हो । मानव नै नभएको अवस्थाको त्यतिखेरको पृथ्वीमा आत्माको अस्तित्व हुने त कुरै भएन । अर्थात् करोड वा करोडौं वर्ष पहिले यो पृथ्वीको अस्तित्व थियो र यसमा अन्य वनस्पति तथा प्राणीहरु पनि थिए, तर आत्माको अस्तित्व चाहिँ थिएन ।

वर्तमान समयमा जान्नेसुन्ने मार्क्सवादीहरु आध्यात्मवादी भन्दा बढी भौतिकवादी भनेर आफूलाई चिनाउन चाहन्छन् । तर, तिनीहरुमध्ये धेरैलाई के लाग्न सक्छ भने आत्माको अस्तित्वको कुरा गर्नासाथ आध्यात्मवादी होइन्छ । त्यसैले आत्माको कुरै नगरौं, सबै कुरा भौतिक पदार्थसँग गाँसिएका हुन्छन्, त्यसैको मात्र कुरा गरौं भन्ने उनीहरुको आग्रह हुन्छ । तर, नगरौं भन्दाभन्दै पनि हरेक क्षणमा आत्माको कुरा अगाडि आइहाल्छ । म, तिमी, तपाईं, उनी, तिनी सबैको पहिचान आत्माले नै गरेको हुन्छ । त्यस्तै मेरो, तिम्रो, तपाईंको, उनको, तिनको आदि सबैमा आत्माले नै काम गरेको हुन्छ । रुचि, अरुचि, माया, ममता, पे्रम, घृणा, रीस, राग, इष्र्या सबैमा पनि आत्माले नै काम गरेको हुन्छ । त्यसैले भौतिकवादीले जति नै पन्छाउन खोजे पनि उसलाई आत्माको कुरोले कहिल्यै छोड्दैन । मान्छे जहाँ गए पनि आत्माको कुरो ऊसँगै टाँसिएर आएको हुन्छ ।

त्यसो भए आत्माको अस्तित्वको वास्तविकता के हो त ? जहाँ गए पनि आत्माको कुरोले मान्छेलाई नछोड्नुको अर्थ आत्माको अस्तित्व बकाइदाका साथ छ । कसैले नमान्दैमा त्यसको अस्तित्व नहुने हो र ? अनि वास्तवमा आत्मा नै मान्छेको अलगअलग पहिचानको आधार हो । अलगअलग आत्माको कारणले नै म, तिमी, तपाईं र हजुर, उनी र तिनी भन्ने भावना मान्छेमा हुने हो । त्यसैले आत्माको अस्तित्व बिना मान्छेको पनि अस्तित्व हुँदैन । तर, आत्माको अस्तित्वको कुरो गर्दैमा आध्यात्मवादी होईंदैन ।

अपवादमा बाहेक सबै मान्छे मृत्युसँग डराउँछन् । सबैलाई थाहा छ, जति नै डराए पनि र जति नै नचाहे पनि एक दिन जो कोहीको पनि मृत्यु त हुन्छ नै । मृत्यु हुँदा मान्छेको शरीर ज्युँकात्युँ रहिरहन्छ । खालि त्यो शरीर चलायमान नभई ढुङ्गाझैं स्थिर हुन पुग्छ । त्यस्तो स्थिति त मुर्छामा पनि हुन्छ नि । तर, मुर्छित मान्छे पछि त्यस अवस्थाबाट पार गरी पुनः चलायमान हुन सक्छ । मृत्यु भइसकेपछि भने मान्छे पुनः ब्युँझिएर आउने सम्भावना शतप्रतिशत रहँदैन । किन ? किनकि, त्यो शरीरमा सम्पूर्ण जीवकोषभित्रको जैविक प्रक्रिया बन्द भइसकेको हुन्छ । त्यस अवस्थामा पुगिसकेपछि शरीरभित्रको कुनै पनि जीवकोषमा पुनः जैविक प्रक्रिया सुरु हुन सक्दैन । वास्तवमा मृत्यु त्यही नै हो । त्यसैले मृत्यु भइसकेपछिको शरीरलाई शरीर नभनी शव भनिन्छ । मृत्यु भएपछि शरीर त मर्यो, आत्मा कहाँ गयो नि ?

हो, यही प्रश्नको उत्तर दिने क्रममा आध्यात्मवाद र भौतिकवादमा भेद छुट्टिन्छ । यही प्रश्नको उत्तर दिने क्रममा आदर्शवाद र विज्ञानमा फरक हुन्छ ।

मान्छेको मृत्यु भएपछि आत्मा कहाँ गयो ? भन्ने प्रश्नमै आध्यात्मवाद लुकेको छ । आत्मा कहिँबाट आएकै होइन । त्यसैले त्यो कहिँ जाने कुरै भएन । त्यो कहिँबाट आउँदैन पनि, कहिँ जाँदैन पनि । त्यो जिउँदो शरीरमा विकसित हुन्छ र मृत्यु हुँदा शरीरसँगै त्यसको पनि समाप्त हुन्छ । यानी कि त्यसको छुट्टै स्वतन्त्र अस्तित्व हुँदैन । आत्माको अस्तित्व हुन्छ, तर अलग अस्तित्व हुँदैन । हाम्रो शरीरले आत्मा विकासको क्षमता बोकेको हुन्छ । यहाँ शरीर भन्नाले शरीरका अरु अङ्ग नभई मस्तिष्क भन्ने बुझ्नुपर्दछ । चेतना, बुद्धि, मन, भावना आदि सबै आत्मासँग जोडिएका कुराहरु हुन् । आत्मा मस्तिष्कसँग जोडिएको कुरो हो ।

मस्तिष्क जनावरमा पनि हुन्छ । तर, उनीहरुको मस्तिष्कको विकास मानव जातिको स्तरमा भएको हुँदैन । जनावर र मानवको मस्तिष्क क्षमतामा मुख्य फरक भनेको नै अघिल्लोले सिर्जना र तर्क गर्न सक्दैन तर पछिल्लोले सक्छ । जनावरमा भावना हुँदैन, मानवमा हुन्छ । यो भनेको जनावर र मानवको मस्तिष्क क्षमतामा भएको फरकपना हो ।
भावनाले आफू र अरुमा भिन्न देखाउँछ । र, यसबाट नै ‘म’ को अनुभूति हुन्छ । ‘म’ को अनुभूति नै आत्मा हो । त्यसैले आत्मा भनेको मानवमा मस्तिष्क विकासको क्रममा सिर्जित संवेग र चेतनाकै विकसित रुप हो । अर्थात्, यो मानवमा भौतिक शरीरको विकासको क्रममा सिर्जित र विकसित विशिष्ट गुण हो । आत्मा मानवको भौतिक शरीरको विकासको उपज भए पनि यो यति विकसित छ कि यसले आफूलाई भौतिक शरीरभन्दा स्वतन्त्र देख्दछ । तर, यथार्थमा आत्मा कहिल्यै भौतिक शरीरबाट अलग र स्वतन्त्र हुन सक्दैन । आधुनिक प्रविधिको उदाहरण दिने हो भने मानवको भौतिक शरीर भनेको कम्प्युटरको हार्डवेयर हो र आत्मा चाहिँ सफ्टवेयर । सफ्टवेयर जति नै क्षमताको भए पनि हार्डवेयर बिना त्यसको कुनै अस्तित्व हुन्न । त्यस्तै जिउँदो मानव शरीर बिना आत्माको अस्तित्व हुँदैन ।

(Visited 228 times, 1 visits today)

टिप्पणी

comments