Main Menu

‘अब जनवादी शिक्षा होइन, अब समाजवादी शिक्षा’ – मदन अर्याल [अन्तर्वार्ता]

(अखिल क्रान्तिकारीले आगामी भदौ ७ देखि ११ सम्ममा २१ औं राष्ट्रिय सम्मेलन गर्दैछ । यो एकताको सम्मेलन पनि भएको आयोजक समितिले बताएको छ । माओवादी केन्द्र निकट यो बिद्यार्थी संगठन जसरी अहिले बिभिन्न पूर्वमाओवादी घटकहरु त्यस पार्टीमा समाहित भएका छन्, त्यसरी नै ती पार्टी नजिकका बिद्यार्थी संगठनहरु पनि योसँग जोडिन आएका छन् । यसरी अहिलेको राष्ट्रिय सम्मेलन एकताको सम्मेलन हुन पुगेको छ । सम्मेलनबाट अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चैन गर्दैछ । नयाँ नेतृत्वको कुरा गर्दा अध्यक्ष पदका लागि एकजना सशक्त दावेदार बिद्यार्थी नेता मदन अर्याल हुनुहुन्छ ।

मदन अर्याल क्रान्तिकारी विद्यार्थी आन्दोलनमा एक स्थापित व्यक्तित्व हुन् । अखिल (क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका उनी संगठनको अन्तर्राष्ट्रिय विभाग प्रमुख पनि हुन् । समाजशास्त्रमा स्नातकोत्तर सकेर हाल नेपाल ल क्याम्पसमा अध्ययनरत नेता अर्याल २०५५ सालदेखि विद्यार्थी आन्दोलनमा क्रियाशील छन् । २०५६ सालमा कक्षा ८ पढ्दै गर्दा तत्कालीन अखिल (क्रान्तिकारी) को महोत्तरी जिल्ला सहसचिव भएका उनी संगठनमा बैचारिक र तार्किक नेताको रुपमा चिनिन्छन् । प्रस्तुत छ बिद्यार्थी नेता अर्यालसँग मूल्याङ्कनका लागि पत्रकार कमल गिरीले गरेको कुराकानीको संपादित अंश ।)

socialist-education-instead-populist-educationप्रश्न – अखिल क्रान्तिकारी एकताको एक्काइसौँ महाधिवेशनको तयारीमा छ, परम्परागत महाधिवेशन र यसमा के फरक छ ?

अर्याल – यो एकदम निकै फरक छ । पहिलो कुरा त यो सम्मेलनबाट हामी निकै नै ब्रेकथ्रू गर्दैछौँ । हामीले पहिले स्थापना काल २०२२ सालदेखि नै अहिलेसम्म जनवादी शिक्षा भनेर आयौँ । तर, यसपालि हामी जनवादी शिक्षाका सन्दर्भमा उठेका सबै चीजहरुलाई समीक्षा गर्दै हामी अब जनवादी शिक्षा होइन, अब समाजवादी शिक्षाको बाटोमा अगाडि बढ्ने भनेर हामीले नीति पास गर्दैछौँ । हामी अहिले यहाँ व्यापक छलफलमा छौँ । समाजवादी शिक्षाका चरित्र कस्तो हुने र त्यसका आधारहरु केके हुने ? यसबारेमा हामी चिन्तनमनन र छलफलमा छौं । शिक्षामा हिजो सामन्तवादी प्रभाव थियो, त्यसकारण हामीले जनवादी शिक्षाको कुरा गर्यौं । र, हामीले सामन्तवादी प्रभावको शिक्षाको विरुद्ध जनवादी शिक्षाको कुरा गर्यौं । तर, आज शिक्षामा सामन्तवादको प्रभाव निकै कम भइसक्यो र अवशेष मात्रै बाँकी छ । र, शिक्षामा अहिले पूर्ण रुपमा पुँजीवादले अतिक्रमण गरेको अवस्था छ । पुँजीवादी कन्टेन्ट भनेको चाहिँ निजीकरणका कुरा हो र शिक्षामा माफियाकरणको कुरा हो । त्यसपछाडि आएर बजारीकरणका कुरा, धनी र गरिबका लागि दुई खालका शिक्षाका कुरा, यी सबै कुराहरु भनेको शिक्षामा भएको पुँजीवादी प्रभावका कारणले भएको हो । यसैका विरुद्ध हामी ्अहिले समाजवादी शिक्षाको कुरा गरिरहेका छौं र यसलाई हामी अब अगाडि लैजान्छौँ ।

प्रश्न – वैज्ञानिक शिक्षा, समाजवादी शिक्षा, विभेदकारीबिरुद्धको शिक्षाजस्ता यावत कुराहरु तपाईंहरुले स्ववियूका निर्वाचनहरु तथा संगठनका राष्ट्रिय सम्मेलनहरुमा यसअघि पनि उठाउँदै आउनुभएको छ । यस्ता कुराहरु अखिलका अन्य संगठनहरुले पनि उठाउँदै आएका छन् । तपाईंहरुले चाहिँ यसलाई कार्यान्वयनको तहमा लैजाने सोच बनाउनुभएको बुझिन्छ, तर स्थिति त उही पुरानै त होला नि ?

अर्याल – अहिलेको मुख्य समस्या भनेकै यही हो, कार्यान्वयनको समस्या हो । यसलाई चाहिँ हामीले शिक्षामा माफीयाकरण विरुद्धको अभियान चलाउने भनेका छौँ । तर, कस्तो हो भने हामीभित्रै पनि शैक्षिक माफियाहरुसँग साँठगाँठ गरेर आर्थिक लाभ लिने खालका मान्छेहरु देखा परे । त्यसको विरुद्ध निर्मम संघर्ष नगरीकन हुँदैन । बाहिर पनि यो देखा परेको छ । अहिले नयाँ संविधान बनेको छ, नयाँ खालको राज्य व्यवस्थामा हामी छौं । त्यसो हुँदाखेरि जनवादी शिक्षाका धेरै चीजहरु पूरा भए भन्ने कुरा हो हाम्रो । त्यसो हुँदा अहिले समाजवादी शिक्षाको कोणको कुरा गरिरहँदाखेरि शिक्षामा भएको निजीकरणविरुद्ध, जस्तो कि योभन्दा अघिल्लो सरकारको पालामा हाम्रै पार्टीनजिकका मन्त्री हुँदाखेरि शिक्षामा निजीकरणका विरुद्ध गुठीहरुलाई बढावा दिई सहकारी स्कुलका विषयहरु प्रवेश गर्ने काम भयो, सार्वजनिक शैक्षिक गुठीमार्फत् मात्रै सामुदायिक विद्यालयहरु स्थापना गर्ने प्रक्रिया सुरु भएको छ । शिक्षाको ८ औँ संशोधनले त्यो कुरालाई प्रस्तुत गरेको छ । मलाई लाग्छ कि यस्ता सुधारका कामहरु त भइराखेका छन् । तर, यसलाई कार्यान्वयन गर्ने सवाल प्रमुख सवाल हो ।

प्रश्न – तपाईंहरुको केन्द्रीय समितिमा नै हजारौंको सङ्ख्यामा सदस्यहरु छन् । यो ढंगले के चार्मिङ्ग दिन्छ तलपट्टि आम विद्यार्थीमा ? अनि तपाईहरुको राष्ट्रिय सम्मेलनले गर्ने परिवर्तन के हो ?

अर्याल – यो मैले जुन ब्रेकथ्रू भनेँ नि ? एउटा नीतिगत रुपमा हामी ब्रेकथ्रू गर्दैछौँ, अर्को सांगठनिक रुपमा पनि हामी ब्रेकथ्रू गर्दैछौँ । जस्तो अहिलेसम्म अखिल क्रान्तिकारीको नेतृत्व भनेको पार्टीका नेताहरुले ल तँ होस् है भन्देकाहरुमा चयन हुने तय गर्ने विधि हामीले अवलम्बन गरिराखेका थियौँ । तर, यसपालि जसरी अघि हामीले नीतिमा ब्रेकथ्रू गर्दैछौँ भनेर भनेँ, त्यसैगरी अब यसपालि हामी सांगठनिक विधिमा पनि ब्रेकथ्रू गर्दैछौँ । त्यो भनेको चाहिँ हामी निर्वाचनको प्रणालीद्वारा विद्यार्थीका प्रतिनिधिले आफ्ना नेता आफै छान्ने प्रत्यक्ष निर्वाचनको विधि भएर नेतृत्व चयन गर्दैछौँ । अहिले विशिष्ट परिस्थति छ र त्यही अनुसार केन्द्रीय समितिमा सबैलाई समेटिनु पर्दा ठूलो आकारको समिति बनेको छ । विभिन्न घटकहरुको एकताबाट बनेको हजारभन्दा बढीको केन्द्रीय समितिको ठाउँमा अब हामीले १ सय ९९ जनाको केन्द्रीय समिति र समावेशी समानुपातिक प्रतिनिधित्व सहितको २५ सदस्यीय पदाधिकारीको व्यवस्था हामीले गरेका छौँ ।

प्रश्न – विधिवत र पद्धतिसंगत ढंगले संगठनलाई अगाडि लाने सवालमा थप केही कुराहरु छन् कि ?

अर्याल – यसपालि हामीले एउटा नयाँ कुरा नेतृत्वमा उमेरहदको नयाँ विषय उठाएका छौँ । विद्यार्थी आन्दोलनमा नितान्त रुपमा यो नयाँ कुरा हो । हामीले योभन्दा अगाडि हाम्रै नेतत्वमा, हाम्रै पहलमा स्वतन्त्र विद्यार्थीहरुको निर्वाचनमा हामीले २८ वर्षको उमेरहद लागु गर्नुपर्छ भन्ने बहस गर्यौं, त्यो लागु भयो र त्यो कार्यान्वयन भयो । भर्खरै सम्पन्न स्ववियू चुनावमा २८ वर्षे उमेरहद कार्यान्वयन भइसकेपछि हामीमा के जाँगर र ऊर्जा पलाएछ भने यो कुरो विद्यार्थी आन्दोलनमा पनि लागु हुनुपर्छ । हामी बहस गरिराखेका छाँैँ । केही साथीहरुलाई यो गलत छ भन्ने पनि लागिराखेको होला । हामीभन्दा अगाडि नै नेविसंघले त ३२ वर्षको उमेरहद लागु गरिसकेको अवस्था छ भने हामी क्रान्तिकारी विद्यार्थी संगठनले लागु किन नगर्ने ? अहिले आम रुपमा अखिल क्रान्तिकारीभित्र यो बहस चलिराखेको छ र यो बहसले राष्ट्रिय सम्मेलनमा प्रवेश पाउँछ । मेरो प्रयत्न चाहिँ यो बहसलाई निष्कर्षमा पुर्याउने हो ।

प्रश्न – हामीले नीति र विधिका मोटामोटी संक्षिप्त कुरा गर्यौं । तपाईंले प्रत्यक्ष निर्वाचित भएर हाम्रो नेतृत्व चयन हुन्छ पनि भनिराख्नुभएको छ । तर, यसलाई कार्यान्वयन गर्न त्यति सजिलो छैन भन्नुहुन्छ तपाईहरु । साँच्ची अहिले नेतृत्व चयनको प्रक्रिया के–कसरी गर्दै हुनुहुन्छ ?

अर्याल – यो जो अहिले विधिको कुरा भयो नि, त्यसबारे टुङ्गो लगाउन योभन्दा अगाडि मेरै नेतृत्वमा संगठनले एउटा कार्यदल बनाएको थियो । त्यसलाई कार्यनीति निर्माण गर्ने र प्रत्यक्ष निर्वाचनको विधिद्वारा नेतृत्व चयन गर्ने कार्यविधि तय गर्ने जिम्मा दिइएको थियो । त्यस कार्यदल मार्फत् आम रुपमा विद्यार्थीहरुको प्रतिनिधित्वको व्यवस्थालाई पनि हामीले लिपिबद्ध गर्यौं र मलाई लाग्छ हाम्रो संगठनको इतिहासमै पहिलोचोटी सम्मेलनभन्दा अगाडि कति सदस्यीय केन्द्रीय समिति बन्दैछ भन्ने कुरा फाइनल हुने भयो । सम्मेलनभन्दा अगाडि नै कतिजना उपाध्यक्ष, कतिजना पदाधिकारी बन्दैछ भन्ने कुरा फाइनल हुने भयो, आम विद्यार्थीले थाहा पाउने भयो । र, त्यसमा निर्वाचनको विधिद्वारा नेतृत्व चयन हुने भयो । अहिले यो निर्वाचनको विधिद्वारा नेतृत्व चयन हुने दिशातिर गइसकेपछि अब धेरै आकांक्षी साथीहरु आफ्ना संगठनको नेतृत्व मैले गर्न पाउनुपर्छ भन्ने मोडेलबाट आकांक्षी साथीहरु तयार हुनुभएको छ । यो राम्रो कुरा पनि हो, नराम्रो कुरा होइन । तर, हामीलाई पुँजीवादी विसंगति विकृतिहरुसहितको निर्वाचन स्वीकार्य छैन । हामीले भनेका छौँ, प्रचारप्रसारको कोणबाट एकदम खर्चिलो विधि होइन, कुनै बाहिर धेरै तडकभडक गर्ने कुरा होइन, यो आन्तरिक कुरा हो । त्यसकारणले सम्मेलनको हलमा उम्मेदवारी मनोनयन दर्ता भएपछि मात्रै प्रचार गर्न पाइने विधिहरु हामीले अवलम्बन गर्ने भएका छौँ ।

प्रश्न – तपाईंहरुको संगठनको संरचनामा हाल, खासगरी अध्यक्ष, उपाध्यक्ष आदिमा त्यस्ता दाबेदारहरु कोको हुनुहुन्छ ?

अर्याल – होइन, मूल त नीतिको कुरो हो । नीति भएपछि हामीले संगठनात्मक विधिमा कसरी लैजाने भन्ने ढंगले छलफलहरु गरेका छौँ । नेतृत्वको कोणबाट कुराकानी गर्दाखेरी चाहिँ, जस्तो एउटा दाबेदार म आफैं पनि भएँ । अरु अब भइरहनुभएका उपाध्यक्षहरु, उपाध्यक्षमा पनि हाम्रो दुईटा लेयर छन् । पहिले दोहोरिएका उपाध्यक्षहरु, जो पहिले पनि उपाध्यक्ष भएर एकतापछि पनि फेरि उपाध्याक्ष भइसकेकाहरु, र अर्को चाहिँ सचिवबाट उपाध्यक्षमा बढुवा भएका उपाध्यक्षहरु; यस्ता दुईटा लेयर छन् हामीसँग । त्यो लेयरमा पहिलो लेयरका सबै उपाध्यक्षहरु करिब अध्यक्षको उम्मेदवार हुनुहुन्छ । दोस्रो लेयरका साथीहरुले पनि अध्यक्षको दाबेदारी गरिरहनुभएको छ । महासचिवसम्मले अध्यक्षको दाबी गर्ने स्थिति छ अहिले । त्यसो हुँदाखेरि अलि ठूलै संख्या छ यो ।

प्रश्न – जस्तै तपाईंले अखिल क्रान्तिकारीको अध्यक्षको दाबेदार हो भन्नुभयो नि ? तपाईंलाई नै अखिल क्रान्तिकारीको अध्यक्ष किन गर्छन् विद्यार्थीले ? तपाईं किन अध्यक्षको दाबेदार ? के छ अपिल ?

अर्याल – मेरो अपिलको कुराकानी गर्दाखेरि अहिले विद्यार्थी आन्दोलनलाई फ्रेस बनाउनको निम्ति उमेरहदको प्रस्ताव आजमात्र होइन, स्ववियूमा २८ वर्षको उमेरहद लागू हुनेदेखि नै मैले अखिल क्रान्तिकारीमा पनि यो उमेरहद लागु हुनुपर्छ भनेर भनिराखेको छु । ३० वर्षे उमेरहद लागु हुने हो भने म पनि आउट हुन्छु । मलाई त्यसमा कुनै दुखमनाउ हुने छैन । अहिले पनि मैले भनिराखेको छु, ३० देखि ३५ सम्म । धेरै साथीहरु ३५ भन्दा माथिका पनि छन् अहिले दाबी गरिरहेका साथीहरु । वास्तवमा विद्यार्थी संगठनसँग जोडिने, विद्यार्थीको नेचर भएको र विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन सक्ने एजेण्डासहितको मैले आफूलाई ठानेको छु । मसँग एजेण्डा छन्, जो मैले समाजवादी शिक्षाको कुराकानी गरेँ, त्यसलाई कार्यान्वयन गर्ने चरणमा हामी प्रवेश गर्नुपर्छ । हिजो अखिल क्रान्तिकारीसँग राज्यका विभिन्न निकायले जति सम्झौताहरु गरेका थिए, हामीले ती सम्झौताहरुको कार्यान्वयनमा खासै ध्यान दिन सकिरहेका छैनौँ । त्यसलाई कार्यान्वयन गर्ने हो भने मात्रै पनि हामीले नयाँ शिरामा नेपालको विद्यार्थी आन्दोलनलाई उठाउन सक्छौँ । त्यो काम भइराखेको छैन । त्यसो हुँदाखेरि मेरो उम्मेदवारी वा मलाई अध्यक्ष बनाइरहँदाखेरि संगठनलाई यो दिशामा लैजान मैले प्रयत्न गर्नेछु । र, संगठनभित्र उमेरहदको कुरा चाहिँ कार्यान्वयन गर्नेछु । मेरो कुरा त के हो भने म अध्यक्ष हुँ वा नहुँ, तर संगठनभित्र यो उमेरहदको विषयले प्रवेश पाउनुपर्छ र कार्यान्वयन हुनुपर्छ ।

(Visited 124 times, 1 visits today)

टिप्पणी

comments