Main Menu

सन्दर्भ शिक्षा दिवस

‘भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो’

  • सुरेन्द्र भण्डारी

shankuntala-school-education-day“भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो । म आमासँग स्कूल जान्छु भनेर रुन्थेँ । बुबा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीनजना भाइलाई हेरेर घरमै बस्नुपर्थ्यो । भाइसँगै स्कूल जान कहिलेकाहीँ जिद्दी गर्दा आमाले मलाई बेस्सरी कुट्नु पनि भएको छ । तँ स्कूल गइस् भने भाइ कस्ले हेर्छ ? भन्दै आमाले मलाई झपार्नु हुन्थ्यो”, बाह्रदशी गाउँपालिका–६ सुकुम्वासी टोलकी १३ वर्षीया शकुन्तला हस्दा स्कुल जान नपाउँदाको पीडा सम्झन्छिन् ।

१३ बर्षकी शकुन्तला बल्ल अहिले साबिक डाँगीवारी–९ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययन गर्छिन् । उनीसँगै उनका तीन भाइ पनि कक्षा १ मा पढ्छन् भने उनको एउटा भाइ सुन्दर कक्षा २ मा अध्ययनरत छन् । शकुन्तलासँगै सुनिल, वुधन र लुखीराम भने कक्षा १ मा अध्ययनरत छन् ।

पढ्ने मन भएर पनि आमा–बुबाका कारण स्कूल जान नपाएकी शकुन्तला अहिले ढीलै भए पनि स्कूल जान पाउँदा औधी खुशी छिन् । चारजना भाइलाई साथमा लिएर विद्यालय जाँदै गर्दा विद्यालयको प्राङ्गणमा भेटिएकी उनले भनिन्, “मलाई स्कूल पढ्न पाइएला जस्तो लागेकै थिएन । यो स्कूलबाट जानुभएका सर मिसले बुवा–आमालाई भनिदिएपछि म स्कूल आउन थालेकी हुँ ।”

शकुन्तलाकी एक दिदी जमुना पनि छिन् । उनी अहिले आमा–बुबासँगै मजदुरी गर्न हिँड्छिन् । उनले पनि गौरीशंकर माविमा कक्षा ३ मा पढ्दापढ्दै स्कूल छाडेको शकुन्तला बताउँछिन् ।

उनी भन्छिन्, “दिदीले पनि यही स्कूल पढेकी हो । ऊ पनि स्कूल आउन त मन गर्छे । हामी सबै स्कूल आउन थालेपछि दिदी आमाबुबासँग लेवर काममा जान्छे ।”

सोरेन र फूलमनी हस्दाकी माहिली छोरी हुन् शकुन्तला । उनका चारजना भाइ छन् । सबैको उमेर एकदेखि दुई वर्ष मात्र फरक छ । 

उनी भन्छिन्, “पढ्दा ठूलो मान्छे भइन्छ भन्ने सुनेकी छु । आमा–बुबा बिहानै ढलानको काममा निस्कनुहुन्छ । कुनै–कुनै दिन त भोकै पनि स्कूल आउनुपर्छ । भाइलाई खुवाउँदा खुवाउँदै भात सकिन्छ, अनि हतारहतार गर्दै म नखाई पनि स्कूल आउँछु ।”

पढाइमा लगनशीलता भएपनि शकुन्तलाको पढ्ने किताब अहिले छैन । साउन २७ र २८ गते आएको बाढीका कारण उनको किताब–कपी सबै भिजेका छन् । कामै नलाग्ने गरी किताब कपी भिजेपछि उनले विद्यालयका शिक्षकलाई दुःखेसो पोखेपछि एकसेट किताब पुनः विद्यालयले उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल बताउँछन्  ।

बाढीका कारण धेरै विद्यार्थीको घर भत्कँदा उनीहरुका कपी र किताब छैनन् ।

“विद्यालयले व्यवस्था गर्न सक्ने अवस्था पनि छैन”, प्रधानाध्यापक कटुवाल भन्छन्, “विद्यार्थीलाई पुराना किताब भए पनि दिइरहेका छौँ । जतिसक्दो राम्रो गर्ने प्रयत्न भने जारी नै छ ।”

“स्कूल आउन त कहाँसम्म छ । कस्ले किन्दिन्छ जुत्ताचप्पल ? मैले पनि पोहोर दशैंमा किनेको चप्पल लगाएर आएकी छु ।”

उनी भन्छन्, “हामीले यस वर्ष सञ्चालन गरेको भर्ना अभिभानका क्रममा सुकुम्वासी बस्ती पुग्दा शकुन्तलाको कुरा सुन्यौँ । उनका बुबा–आमालाई सम्झाइबुझाई गरेर चारैजनालाई विद्यालयसम्म आउने बनाएका छौँ । आर्थिक अवस्था कमजोर भएकै कारण सोरेन र फूलमनी हस्दाले शकुन्तला र उनका भाइलाई स्कूल नपठाएका रहेछन् । सम्झाइबुझाई गरेपछि उनीहरुलाई स्कूल पठाएका छन् ।”

सीमान्तकृत समुदायमा पर्ने सन्थाललाई सरकारले छात्रवृत्तिस्वरुप रु. ५०० रकम प्रदान गर्दै आएको छ । सोही रकमबाट शकुन्तला र उनका भाइहरुले विद्यालय पोशाक र कपी–कलमको व्यवस्था गर्दै आएका छन् ।

“सरकारले दिएको छात्रवृत्ति पनि विद्यार्थीले पाउँदैनन्, अभिभावकले खर्च गर्नुपर्ने अवस्थाका कारण हामीले सोचेअनुरुप प्रगति गर्न सकिरहेका छैनौँ”, प्रधानाध्यापक कटुवाल भन्छन्, “२०५३ सालदेखि दाताको सहयोगमा चलेको विद्यालय अहिले पनि दाताकै सहयोगमा चलाइरहेका छौँ ।”

पुरानो र मैलो लुगा लगाएर विद्यालय आएका शकुन्तलाको एक भाइ त खाली खुट्टामा थिए ।

“जुत्ताचप्पल किन्ने पैसा छैन सर !” शकुन्तला भन्छिन्, “स्कूल आउन त कहाँसम्म छ । कस्ले किन्दिन्छ जुत्ताचप्पल ? मैले पनि पोहोर दशैंमा किनेको चप्पल लगाएर आएकी छु ।”

शकुन्तला मात्र होइन सो विद्यालयमा अतिविपन्न समुदायका धेरै बालबालिका अध्ययनरत रहेको विद्यालयका अध्यक्ष महेशकुमार झाले बताए ।

“अधिकांश सीमान्तकृत, आदिवासी, जनजाति र मधेशी समुदायका विद्यार्थी यो स्कूलमा पढ्छन्”, अध्यक्ष झा भन्छन्, “विपन्न समुदायका बालबालिका अध्ययनरत रहेपनि उनीहरुको पढाइ भने अब्बल छ ।”

विपन्न परिवारका अधिकांश विद्यार्थी सो विद्यालयमा अध्ययनरत छन् । उनीहरुका लागि विद्यालयले पढाइको गुणस्तर सुधार्दै निजी विद्यालयसरह अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरेको छ । तर अभिभावकले नै साथ नदिएका कारण सबै कक्षालाई पूर्णरुपमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन नसकिएको प्रधानाध्यापक कटुवाल बताउँछन् ।

बालबालिकाका लागि विद्यालयले अतिरिक्त कक्षाको पनि व्यवस्था गरिएको प्रधानाध्यापक कटुवाल बताउँछन् ।

उनी भन्छन्, “हामीले यो विद्यालयलाई नमूना विद्यालय बनाउने सोच बनाएका छौँ । तर के गर्ने ? हरेक वर्ष समस्यै समस्याले गाँज्छ । यो वर्ष पनि विद्यालयमा बाढीले असर पुर्याएको छ । प्रत्येक वर्ष विरिङ खोलामा आउने बाढी पस्न थालेपछि विद्यालय वरिपरि पर्खाल लगाएका छौँ । त्यसले भरिएर आएको पानी केही मात्रामा भए पनि छेकिदिन्छ ।”

सो विद्यालयमा अहिले कक्षा १ देखि ८ सम्म ५२१, कक्षा ९ मा ७५, कक्षा १० मा ६२ र कक्षा ११ र १२ मा ९८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले बताए ।

साबिक डाँगीवारी गाविसमा सन्थालसहित राजवंशी, कुमाल, हजामको बढी बसोबास छ । केही आर्थिक रुपमा सम्पन्न भए पनि केही अतिविपन्न छन् । शकुन्तलाजस्तै उनको समुदायमा अरू पनि धेरै बालबालिका अध्ययनबाट वञ्चित छन् । झापालाई साक्षर जिल्ला घोषणा गरिए पनि विद्यालय आउन नपाएका अझै धेरै बालबालिका विद्यालयबाहिर नै छन् । 

(Visited 13 times, 1 visits today)

टिप्पणी

comments