Main Menu

ती दिन

कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठको संस्मरण

कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठ ।

(झण्डै बाह्र वर्षअघि २०६२ माघ १९ गते बितेका शम्भुराम श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक परिचित नेता हुन् । राणा शासनको क्रुरताबिरुद्ध १९९७ सालदेखि उनी राजनीतिमा लागेका थिए । त्यतिखेर उनी भर्खर कक्षा ९ मा अध्ययनरत थिए । काठमाडौंको नेवार समुदायमा जन्मेका कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठ नेपालमा कम्युनिस्ट पार्टी गठन हुनुपूर्व नै कलिलै उमेरमा राजनीतिमा ओर्लिए । नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजा परिषद हो । उनले त्यसै पार्टीबाट राजनीति सुरु गरेका थिए । वि.सं.१९९८ वैशाख २० गते पे्रमबहादुर कंसाकार, सूर्यबहादुर भारद्वाज र पुष्पलाल श्रेष्ठसँगै शम्भुराम श्रेष्ठले काठमाडौंको मासाङगल्लीस्थित पे्रमबहादुर कंसाकारको घरमा पहिलो औपचारिक बैठक गरी एउटा नयाँ भूमिगत राजनैतिक संगठन गठन गरे । राणाहरुले प्रजापरिषदलाई पूरै दमन गरेका थिए । त्यसका एकजना सदस्य पनि बाँकी रहेनन् । कोही मारिए कोही जेलमा कोचिए । त्यस्तो अवस्थामा शम्भुरामहरुले नयाँ पार्टी गठनको पहल गरे । उनीहरुले वि.सं.१९९९ मा नेपाल प्रजापरिषदको ठाउँमा ‘नेपाल प्रजातन्त्र संघ’लाई जन्म दिए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसमेत रहेको राजनीतिक पार्टी गठनमा सरिक भएर पनि पछि भारतमा नेपाल कम्युनिस्ट पार्टी गठन गरिँदा शम्भुराम श्रेष्ठ सहभागी हुन सकेनन् । यसो हुनुको कारण के थियो भने उनी त्यतिखेर राणाशाहीको जेलमा थिए । वि.सं.२००४ वैशाख १७ गतेका दिनदेखि सुरु भएको नागरिक तथा राजनैतिक अधिकारहरुको निम्ति खुल्ला जनआन्दोलनको नेतृत्व गर्दै जुलुसको अग्रिम पङ्तिमा भएकाले मिलिटरी जवानहरुले राइफलको कुण्डाहरुले आँखा लिम्लेर दनादन चुटाइमा परे । पक्रेर लगेर पनि राणा प्रधानमन्त्री पद्म शमशेरको दरबारमा अत्यन्तै क्रुरतापूर्वक पिट्दै डेढ–डेढ धार्नीको खिया परेको फलामका नेलहरु र १८ इञ्च जति मात्रै लामो उस्तै खियापरेको फलामका सिक्रीले दुइटै गोडाहरु जकडेर दिउँसो १२ बजेको टन्टलापुर घाममा मोहन शम्शेरको महाराजगञ्जस्थित लक्ष्मी निवासको सैनिक व्यारेकदेखि सेन्ट्रल जेलसम्म ४ घण्टा हिँडाएर लगेको थियो । २००७ सालमा राणाशाही अन्त्य भएपछि मात्र त्यही वर्षको माघ महिनाको अन्त्यतिर मात्र उनी जेलबाट मुक्त भए । र, सोही सालमै उनी नेपाल कम्युनिस्ट पार्टीमा सामेल भए ।

२००७ सालदेखिको नेपाली कम्युनिस्ट आन्दोलनमा आएका थुप्रै उतारचढावमा पनि उनी पार्टी र आन्दोलनको बिभिन्न तहमा रही उनले आफूलाई क्रियाशील बनाए । तर, २०४६ सालको आन्दोलनपछि स्थापित बहुदलीय राजनीतिक व्यवस्थाको समयमा उनी पार्टी राजनीतिमा त्यति क्रियाशील रहन सकेनन् । यति हुँदाहुँदै पनि जीवनको अन्तिम घडीसम्म पनि कम्युनिस्ट आन्दोलनमा नै आफूलाई समर्पित गर्दै गरेका नेता शम्भुराम श्रेष्ठको जीवन संस्मरणको एक हिस्सा यहाँ प्रस्तुत गरिन्छ । – सम्पादक)

सूर्यबहादुर भारद्वाजसँगको भेट एक निर्णायक मोड

नेपाल प्रजापरिषद आन्दोलनलाई अत्यन्तै क्रूरतापूर्वक दमन गरेको हुनाले, त्यसको बदला सिर्फ बदला लिने विचारले मैले जहानियाँ राणा शासनलाई खतम नगरिनछाड्ने अठोट गरी राजनीतिमा लाग्ने निर्णय गरेँ । तर, लाख कोशिस गर्दा पनि त्यसको निम्ति सक्रिय हुन चाहने साथीहरु भेटाउन सकिरहेको थिइनं । त्यसले गर्दा मलाई के गरुँ, कसो गरुँ भइरहेको थियो र म बिल्कुलै हैरान भइरहेको थिएँ । यसै बीच, एक दिन(खास कुन दिन हो याद भएन, त्यो १९९७ सालकै फागुन २०, २१, २२ गते मध्येको एक दिन थियो ।) म भोटाहिटीस्थित रत्न पुस्तक भण्डारमा केही कामलाग्ने पुस्तकहरु भेटिएलान् कि भनेर त्यहाँ राखिएका र्याकहरुबाट पुस्तकहरु झिक्दै, हेर्दै र फेरि र्याकमै राख्दै गरिरहेको थिएँ । मैले त्यो गरिरहेको मेरो ठीक पछाडि उभिएर सूर्यबहादुर भारद्वाजले हेरिरहेका रहेछन् । सायद मैले खोजेको पुस्तक नपाएको जस्तो लागेर होला, भारद्वाजले मसँग सोधिहाले, के तपार्इंले खोज्नु भएका पुस्तकहरु भेट्टाउनु भएन ? उनले त्यसरी सोधेपछि मैले पछाडि फर्केर हेरेँ । एक सौम्य खद्दरधारी व्यक्तित्व मतिरै हेरेर मुसुमुसु हाँसिरहेका थिए । उनीसँग मेरो विल्कुलै चिनजान थिएन र मैले उनलाई पहिले कहिल्यै कहीँ देख्याजस्तो पनि लाग्दैन । तर, पनि उनको पहिरन र अनुहारमा जसरी निष्कपटता एवम् विश्वसनीयता झल्किरहेको थियो, त्यो देखेर म एकदमै प्रभावित भएँ । अनि उनको प्रश्नको उत्तर दिँदै मैले भनेँ, ‘खोइ भेटाइएका छैनन् ।’

‘त्यसो भए,’ उनले भने, ‘मेरो घर जाऔं, टाढा छैन, नजिकै छ, नरदेवीमै त हो । मसँग घरमा थुप्रै पुस्तकहरु छन् । तपाईंले खोज्नु भएको पनि त्यहाँ हुन सक्छन् । तपाईलाई फुर्सद भए अहिले नै जाऔं नँ ।’

मैले अनायास नै तुरुन्तै उनको प्रस्ताव स्वीकार गरिहालेँ । अनि हामीहरु दुवैजना सँगसँगै उनको घरतर्फ लाग्यौं । नरदेवी (नेटपाचो) स्थित उनको घर पुगेपछि उनले आफ्नो सुत्ने कोठामा राखिएका दुईटा ठूल्ठूला आल्मारीहरु खोलेर मलाई देखाउँदै, ‘यिनमा तपाईंले खोज्नुभएका पुस्तकहरु हुन सक्छन्, हेर्नुहोस् ।’ भने । ती दुईटै आल्मारीहरु पुस्तकहरुले भरिभराउ थिए । त्यहाँ चन्द्रकान्त र चन्द्रकान्ता सन्तति शिर्षकका तिलस्मी उपन्यासहरुदेखि लिएर शरदचन्द र बंकिमचन्दका प्रख्यात बंगाली उपन्यासहरु र कहानीहरुको हिन्दी अनुवादहरु, मेक्सिम गोर्कीको विश्वविख्यात उपन्यास ‘माँ’ को हिन्दी अनुवाद, प्रेमचन्दका सबै उपन्यासहरु राहुल सांकृत्यायनका कृतिहरु, वेद र उपनिषदहरुका हिन्दी अनुवादहरु, हिन्दी भाषाका उच्चकोटीका विषयका महाकविहरु र साहित्यकारहरुका उपन्यासहरु र कहानीहरु आदि विभिन्न विषयका पुस्तकहरु थिए । तर राजनीति बारेका पुस्तकहरु चैं विलकुलै थिएनन् । सायद त्यसताका नेपालका राजनीतिसम्बन्धी पुस्तकहरु बिल्कुलै किन्न नपाइने भएकाले पनि हुन सक्छ र अर्को कारण, सूर्यबहादुर भारद्वाज अँग्रेजी बिल्कुलै बुझ्दैन थिए । त्यो दिन चन्द्रकान्त शिर्षकका दुईटा(अर्थात दुई भाग), तिलस्मी उपन्यासहरु मैले लिएर आएँ ।

पहिलो दिनमै सूर्यबहादुर भारद्वाज र मेरो बीचमा पूर्णरुपले आपसी विश्वास हुन गयो । मानौं हामीहरु धेरै पहिलेदेखि नै एकदमै मिल्ने साथीहरु थियौं । यसलाई अचम्मको कुरा भने पनि केही फरक पर्दैन वास्तवमा यो अचम्म लाग्ने घटना नै हो । जे होस् त्यो दिन हामीहरुको बीचमा राजनीतिबारे केही कुराकानी भएन । भोलिपल्ट बेलुका ठीक ४ बजे भारद्वाजकै घरमा भेट्ने निर्णय गरी साँझपख म उनको घरबाट निस्किएँ र मेरो घर पनि चिनिराख्नु पर्छ भन्दै भारद्वाज मलाई घरसम्म पुर्याउन आए । भोलिपल्ट बेलुका ४ बजे म सूर्यबहादुर भारद्वाजको घरमा पुगें । त्यो दिन हामी दुई जनाको बीचमा राजनीतिबारे, त्यसमा पनि विशेष गरेर वि.सं. १९९७ मा प्रजापरिषदका नेचाहरु र सदस्यहरु कसरी पक्राउ परे, तिनीहरुमध्य ककसलाई राणा शासक मण्डलीले के, कति र कसरी शारीरिक यातना दिए, तिनीहरुबाहेक अरु को को छुटे आदि घटनाहरुबारे , उनले मलाई विस्तृत जानकारी दिए । राजनीतिमा उनी म जस्ता नोभिस (novice) थिएनन् । उनी स्वयं पनि ९७ सालको प्रजापरिषद काण्डमा पक्राउ परी एक महिनाभन्दा बढी सिंहदरबारको सैनिक ब्यारेकमा गुनिएका रसो काण्डबारे छानबिन र निर्णय गर्न गठित इजलासद्वारा उनलाई प्रजापरिषद आन्दोलनसित बिल्कुलै सम्बन्ध नभएको ठहर गरी छोडिएको थियो । शहीद गंगालाल, कलाकार चन्द्रमान मास्के र शिक्षाप्रेमी चिनिया लाल सिंह आदिसँग चै उनको राम्रो सम्बन्ध थियो. । उनी वास्तवमा जहानियाँ राणा शासनको एकदमै विरोधी थिए । त्यसैकारणले उनले मलाई दोस्रो दिनको भेटमा राणाशाहीलाई खत्तम गर्नको लागि संगठित हुनुपर्ने आवश्यकतामा जोढ दिँदै त्यसको निम्ति आफूले सक्रियरुपले लाग्ने निर्णय गरिसकेको बताए र साथै मलाई पनि त्यस कार्यमा लाग्न आग्रह गरे । उनको कुरा सुनेर मलाइृ पनि के खोज्छस् कानो आँखा भने जस्तै भयो र मैले उनलाई नेपाल प्रजापरिषद आन्दोलनलाई क्रूरतापूर्वक दमन गरेको लगतैपछि नै आफूले जहानियाँ राणा शासनलाई खतम नगरिनछाड्ने अठोट गरी राजनीीतमा लाग्ने निर्णय गरिसकेको कुरा बताएँ । यसरी हामी दुईजनाको कुरा मिलेपछि अरु साथीहरुसँग सम्पर्क गर्ने निर्णय भयो । सबभन्दा पहिले उनले शहीद गंगालाल श्रेष्ठका भाइ पुष्पलालसँग सम्पर्क गर्ने जिम्मा लिए र मैले प्रेमबहादुर कंसकारसँग सम्पर्क गर्ने जिम्मा लिएँ ।

पुष्पलाल, काठमाडौंमै भएकोले एक दुई दिनमै सूर्यबहादुर भारद्वाजले उनीसँग सम्पर्क गरी राणाशाहीविरुद्ध हामीसँग मिलेर काम गर्न राजी गराए र मसँग भेट गराए । तर प्रमबहादुर कंसकार पटनामा इन्टरमिडियटमा अध्ययन गरिरहेका थिए र सवा महिनाजतिपछि वि.सं. १९९८ वैशाखको आधातिर मात्रै गर्मीको छुट्टी भएपछि मात्रै उनी काठमाडौं आउने भएकोले हामीले केही समय पर्खनुपर्ने भयो । बैशाख १५, १६ गतेतिर उनी पटनाबाट घर फर्केपछि मैले उनलाई सूर्यबहादुर भारद्वाज र पुष्पलालसँग भएका सबै कुराहरु बताएँ । उनी पनि त्यो सुने धेरै खुशी भए र तुरुन्तै जहानियाँ राणा शासनविरुद्ध राजनैतिक रुपले संगठित भएर काम गर्ने कुरामा सहमत भइहाले । त्यसका्े भोलिपल्टै मैले भारद्वाजकै घरमा सूर्यबहादुर र पुष्पलालसँग प्रेमबहादुर कंसकारको भेटघाट र परिचय गराएँ र अब हामी ४ जना भयौं । हामीहरुको बीचमा सबै कुरा मिल्यो ।

एउटा भूमिगत राजनैतिक संगठनको गठन

विक्रम संवत १९९८ वैशाख २० गतेका दिन हामी ४ जनाले, अर्थात प्रेमबहादुर कंसकार, सूर्यबहादुर भारद्वाज, पुष्पलाल श्रेष्ठ र म शंभुराम श्रेष्ठ मासांगल्ली स्थित प्रेमबहादुर कंसकारको घरमा पहिलो औपचारिक बैठक गरी एउटा नयाँ भूमिगत राजनैतिक संगठन गठन गर्ने निर्णय गर्यौं । त्यो बैठकले शान्तिपूर्ण तवरले राणा शासनको विरोधमा पर्चाहरु छरिए वापत राणा शासक मण्डलीले नेपाल प्रजापरिषदका सबका सब नेता तथा कार्यकर्ताहरुमध्ये तीन जनालाई ज्यान सजाय, केहीलाई जन्म कैद र केहीलाई १८ वर्ष कैद सजाय गरी प्रजापरिषद आन्दोलनलाई अत्यन्तै क्रूरतापूर्वक दमन गरेको बारेमा विस्तृत छलफल गर्यो र त्यस पार्टीको एकजना सदस्य पनि बाहिर नबचेको हुँदा त्यो आन्दोलनकै अवसान हुन जाने ठहर गरी हाललाई माथि उल्लेखित भूमिगत राजनैतिक संगठनलाई नेपाल प्रजापरिषदकै नाउँ दिने निर्णय गर्यो । अर्थात् भनौं नेपाल प्रजापरिषद नाउँमा उक्त भूमिगत राजनैतिक संगठनको स्थापना गर्यौं । हुन त, सामान्य हिसाबले भन्नुपर्दा भूमिगत राजनैतिक संगठनलाई राजनैतिक पार्टी नै भन्नुपर्छ, तर सही अर्थमा त्यो राजनैतिक पार्टी थिएन किनभने त्यसको आफ्नो मूल उद्देश्य सहितको राजनैतिक कार्यक्रम, विधान र दीर्घकालीन तथा अल्पकालीन नीति आदि केही थिएन, जुन कुराहरु एउटा राजनैतिक पार्टीको निम्ति नभई नहुने कुराहरु हुन् । त्यसो भए, त्यो के हो त भनी सोध्नु होला । त्यो त वास्तवमा तिलस्मी उपन्यासहरुबाट नराम्ररी प्रभावित एवम् रोमाण्टिक तथा राणा शासकहरुसँग बदला लिने भावनाले अभिप्रेरित विद्रोही युवकहरुको जमात थियो । यो तथ्य तल उल्लेख भए बमोजिमका हामीहरुका सोच र कार्यशैलीमा राम्ररी प्रतिविम्बित भएको छ । जस्तो कि (१) हामीहरु नयाँ साथीहरुलाई पार्टीमा प्रवेश गराउँदा नजिकको वनजंगलमा राति कालो मास्क लगाएर उनीहरुलाई आफ्नो देब्रे हातमा छुराले डेढ इञ्च जति चिरेर रगत निकाल्न लगाई पार्टीप्रति सधैँ वफादार रहने, राणा शासकहरुसँग बदला नलिइनछाड्ने र कुनै पनि हालतमा पार्टीको गुह्य कुराहरु नखोल्ने सपथ लिन लगाउने गर्दथ्यौं । (२) प्रायसः तिलस्मी उपन्यासहरुमा उल्लेख भएको पाइनेजस्तै हामीहरुले पनि सोही माफिक काठमाडौं उपत्यका वरिपरिको पर्वतमालामा पार्टी संगठन र कार्यालयहरुको निम्ति सुरक्षित स्थानहरुको रुपमा गुफाहरु खोजी पत्ता लगाउने निर्णय गरी उपत्यकाका चारै दिशामा अवस्थित जामाचो, धिनाचो, फूचो र धिलाचोजस्ता चुचुरोहरुसम्म खोज्न जाने योजना बनायौं । सोही योजना अन्तर्गत सबभन्दा पहिले बिल्कुलै रसद पानी साथमा नलिएरै मच्छेगाउँबाट ठाडौं चार हात खुट्टाले झारपातहरु धिनाचो(शिखर) सम्म पुग्न हामीहरुलाई ५ घण्टाभन्दा बढी समय लाग्यो । बिहान ९ बजे हतारहतार भात खाएर घरबाट निस्किई १२ः३० बजेतिर चढाइ शुरु गरेको धिनाचो पुग्दा झमक्क साँझ भइहाल्यो । एकछिन पनि विश्राम गर्न पाइएको थिएन, रात परिहाल्यो र अँध्यारो गाढा हुँदै जान थाल्यो । दिनभर खान र पिउन नपाएकाले भोक र प्यासले हामीहरुलाई सताउनसम्म सताउन थाल्यो । हामीहरु थकाइ र भोक तथा प्यासले बिल्कुलै अशक्त भइसकेका थियौं । तरपनि, अँध्यारो निकै छिप्पिसकेको हुनाले हामीहरु तल झर्न बाध्य थियौं । त्यसैले, तुरुन्तै हामीहरु अँध्यारोमा घस्रँदै घिसँ्रदै अति नै जोखिमपूर्ण रुपले एकदमै ठाडो ओरालो झर्दै बल्लतल्ल रातको १२ बजेतिर मच्छेगाउँ आइपुग्यौं । जीउभर नै घावैघाउले रगताम्य भएको थियो । त्यहाँकै एउटा पाटिमा जाडोले काम्दै रात काट्यौं र उज्यालो नहुँदै हामीहरु आआफ्नो शरीरलाई लतार्दै घरतर्फ लाग्यौं । त्यो दिन हामीहरुले एउटा पनि गुफा भेट्टाउन सकेनौं । त्यसपछि बाँकी तीनवटा चुचुरोहरुसम्म पुग्ने योजना आफसेआफ बिलाएर गयो ।

केही समयसम्म हामीहरुले बडो होशियारीसाथ पार्टी संगठनलाई उपत्यकाका तीनवटै जिल्लाहरुसम्म बिस्तार गर्दै लग्यौं । वि.सं. १९९९ तिर हामीहरुले विना कुनै कारण र नेपाल प्रजापरिषदको नाउँ त्यागेको उल्लेखसम्म नगरेर एकाएक ‘नेपाल प्रजातन्त्र संघ’को स्थापना गर्यौं अथवा त्यो नाउँलाई अपनायौं । त्यसो गर्नु हामीहरुको ठूलो भूल थियो र साथै वेवकूफीको हद थियो । त्यो नाउँलाई त्याग्नुपर्ने कुनै कारण नै थिएन । किनभने, एक त त्यो नेपाली जनताको राजनैतिक आन्दोलनको इतिहास बोकेको नाउँ र दोस्रो कुरा त्यो नेपालको जनआन्दोलनलाई निरन्तरता दिने उद्देश्यले आफूले नै अपनाएको नाउँ थियो, जसको ठूलो महत्व पनि थियो । जहाँसम्म ‘नेपाल प्रजातन्त्र संघ’ भन्ने नाउँको सवाल छ, त्यो नाउँले त राजनैतिक पार्टी भन्ने पनि जनाउँदैन, सामान्य सामाजिक संघसंस्था भन्ने मात्रै जनाउँदछ । ठीक बेठिक जे भए तापनि त्यो नाउँलाई अपनाइसकेपछि हामीहरु चारजनाको कमिटीलार्इृ पाटनको भैरव गोपाल वैद्य र पाटनकै राजाराम कर्माचार्य र काठमाडौंको कामाक्षदेवीलाई कोअप्ट (co-opt) गरी सात जनाको कमिटीमा बिस्तार गर्यौं । त्यो नयाँ बिस्तारित कमिटीले पनि आफ्नो मूल उद्देश्य सहितको राजनैतिक कार्यक्रम, विधान र नीति आदि बारेमा कुनै निर्णय त गरेन । साँच्चै भन्ने हो भने त्यसको आवश्यकता नै पनि महसूस गरेन । तर, एउटा मार्चिङ संघ (Marching song) चै अपनायो जो यस प्रकार छ ः–

“पहाड पर्वत खोलानाला
जग्गा जमीन सबको,
मालिक हामी दास बनौं किन ?
हिस्सा सबमा सबको
नाश गरौं यो राणाशाही
ध्वस्त गरौं यो तानाशाही,
जाऔं क्रान्ति गरौं अब
क्रान्ति गरौं ।”

त्यही समयमा हामीहरुका हातमा “बोल्सेविक क्रान्ति” शीर्षकको हिन्दीमा अनुवादित एउटा पुस्तक पर्यो । त्यसको मूल लेखक र अनुवादक दुवैका नाउँहरु याद भएन । त्यो पुस्तकले हामीहरुमा निकै ठूलो प्रभाव पार्यो । फलतः हामीहरुले आफूलाई कम्युनिष्ट ठान्न थाल्यौं । सायद त्यो नै हामीहरुले पढेको पहिलो राजनैतिक पुस्तक थियो ।

साभार : मेरो राजनैतिक जीवनका संस्मरणहरु । प्रकाशक : ग्वाहालि गुथि, शम्भुराम श्रेष्ठ कृति प्रकाशन समिति, काठमाडौं ।

 

(Visited 38 times, 1 visits today)

टिप्पणी

comments