Main Menu

ती दिन

कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठको संस्मरण – २

(नेपाली लोकतान्त्रिक एवं कम्युनिस्ट आन्दोलनको इतिहासमा उल्लेख गर्न छुटाउनै नहुने एक नेता बितेका शम्भुराम श्रेष्ठ हुन् । वि.सं.२०६२ सालमा बितेका नेता श्रेष्ठको आन्दोलनमयी जीवनका संस्मरणहरु वर्तमान र भविष्यका परिवर्तनकारी पुस्ताका लागि महत्वपूर्ण छन् । उनको संस्मरणका श्रृङ्खलाहरुमध्ये यो तेस्रो हो । अघिल्लो श्रृङ्खलाको लागि यहाँ क्लिक गर्नुहोला ।–सम्पादक)

shambhuram-shrestha-autobiography-2

  • शम्भुराम श्रेष्ठ

गणेशमान सिंह जेलबाट भागेर आउनुभयो

वि.सं. २००० तिरको कुरा हो । त्यसको तिथिमिति यकिन भएन । एक दिन राति ३ पनि बजेको थिएन । सूर्यबहादुर भारद्वाजले मेरो घरको ढोकाको खापामा हातको पञ्जाले ढ्याकढ्याक गर्दै ‘शंभुराम, शंभुराम’ भनी मलाई बोलाइरहे । उनले त्यसरी बोलाएको सुनेर म ब्यूँझिए अनि झ्याल खोलेर हेरें र सूर्यबहादुरलाई देखेपछि तल ओर्लेर ढोका खोली उनलाई माथि कोठामा लिएर आएँ । सूर्यबहादुर एकदमै हड्बडाई रहेका थिए । हडबडाउँदै उनले भने, “गणेशमानजी जेलबाट भागेर आउनुभएको छ, चन्द्रबहादुरले (पूर्णबहादुर एम.ए.को भाइ) उहाँलाई मकहाँ ल्याएर राखेका छन् । त्यसैले तपार्इंलाई बोलाउन आएको । उहाँलाई जोगाएर भारत पुर्याउनु परेको छ ।” उनले त्यति भन्ने बित्तिकै लुगा लाएर म जानलाई तयार भइहालें र हामी दुवैजना सूर्यबहादुरको घरमा गयौं । गणेशमानजी जेलबाट भागेर सिधै पूर्णबहादुर एम.ए.को किलागल किसिगल्लीस्थित घरमा पुगी पूर्णदाइको माहिला भाइ चन्द्रबहादुरलाई उठाउनु भएछ । अनि चन्द्रबहादुरले उहाँलाई सूर्यबहादुर कहाँ लगेका थिए ।

सूर्यबहादुरको घर पुगेपछि उनले आफ्नो घरको भूइँतल्लाको छिँडीको ढोका खोलेर मलाई गणेशमानजीसँग भेटाइदिए । गणेशमानजीको मानसिक हालत एकदमै असाधारण थियो । उहाँको जीउ काँपिरहेको थियो र उहाँ निकै आत्तिइरहनु भएको थियो, जो अस्वाभाविक होइन । त्यस्तो अवस्थामा जो कोहीको अवस्था पनि त्यस्तै हुन्छ । हामीहरु कुरामा बिल्कुलै अल्मलिएनौं, किनभने उज्यालो नहुँदै हामीहरुले उहाँलाई सुरक्षित स्थानमा पुर्याउनु थियो । त्यसैले सूर्यबहादुर र म गणेशमानजीलाई लिएर तुरुन्तै पश्चिमतर्फ प्रस्थान गर्यौं । उज्यालो बिल्कुलै भएको थिएन । बाटोमा कुनै प्रकारको खतरा उत्पन्न हुनसक्छ भनेर मैले एउटा पिस्तोल पनि बोकेको थिएँ । हामीहरु भीमढुंगा पुग्दा झ्यासमिसे उज्यालो मात्रै भएको थियो । भीमढुंगाको उत्तरी भेगको पहाडमाथि पुरा परिवारकै एकदमै विश्वासिलो बाहुनको घर थियो र त्यही घरमा हामीहरुले गणेशमानजीलाई राखी उहाँको पूरापूर संरक्षण गर्ने जिम्मेवारी उक्त बाहुनलाई दिएर हामीहरु फक्र्यौं, किनभने हामीहरुसँग जीउमा बिल्कुलै पैसा थिएन र भारतसम्म उहाँलाई सुरक्षित रुपले पुर्याउनको लागि कम्तिमा पनि पाँच सय रुपैयाँको आवश्यकता हुन्थ्यो । हामीहरु भोलिपल्ट बिहानसम्म त्यहाँ आइपुग्ने वचन दिएर फक्र्यौं । गणेशमानजी ज्यादै आत्तिनु भएकोले उहाँले त्यतिन्जेलसम्म पनि हामीहरुलाई पर्खन सक्नु भएन र उहाँ आफूले लगाई राख्नुभएको एउटा घडी त्यही बाहुनलाई दिएर रु.१२५ जति लिएर एक्लै भीमढुंगा भञ्ज्यांग काटेर हिँड्नुभएछ । बिहान सबेरै (अर्थात उज्यालो पनि भएको थिएन) त्यो बाहुन मेरो घरमा आइपुग्यो र भएको सबै कुरा सुनायो । आफूहरुले गणेशमानजीलाई भारतसम्म पुर्याउन नपाएकोमा वा भनौं नसकेकोमा हामीहरुलाई अत्यन्तै दुःख लाग्यो, र उहाँको खबर नआउञ्जेल कहीँ उहाँ उक्राउ त पर्नु भएन भन्ने हामीहरुलाई त्रास लागिरहन्थ्यो । डेढ दुई महिनाजति पछि बिहान म नुहाइसकेर चिया पिइरहेको थिएँ, एकजना नौलो मानिस मेरा कोठा भित्र पस्नुभयो र मैसँग तपाई शभुंरामजी हो ? भनेर सोध्नुभयो । मैले हो भनँे । उनले भने म बनारसबाट गणेशमानजीको चिठी लिएर आएको मान्छे हुँ । यति भनेर उनले मलाई गणेशमानजीले ‘म सुविस्ता साथ बनारस पुगेको छु र हाल चिठीबाहक देवशंकरलाल श्रेष्ठकै घरमा बसिरहेको छु । तपार्इंहरुको अनुमति नलीइकनै मैले हिँड्नु परेकोमा क्षमा याचना गर्दछु । बरोबर भेटघाट गर्ने व्यवस्था म मिलाउँछु र तपाईहरुले पनि मिलाउनु होला ।’ लेख्नुभएको चिठी दिनुभयो । उहाँको त्यो चिठी प्राप्त भएपछि मात्र हामीहरुलाई सञ्चो भयो ।

दार्जिलिङबाट मलाई सूर्यबहादुरको बोलावट

सन् १९४२ को कुरा हो । भारतमा अंग्रेज साम्राज्यवादविरुद्ध भारत छोड आन्दोलन शुरु हुनै लागेको थियो । ठीक त्यही बेला सूर्यबहादुर भारद्वाजले दार्जलिङबाट मलाई ‘यहाँ एउटा जरुरी काम पर्यो । तपाई २-३ दिनभित्रै यहाँ आइपुग्नु पर्यो ।’ भनी पत्र पठाए । मैले त्यो पत्र हाम्रो पार्टीको, अर्थात नेपाल प्रजातन्त्र संघको कमिटीमा बुझाइदिएँ । सबै कमिटी सदस्य साथीहरुले एकै मुखले ‘त्यस्तो खासै जरुरी काम नपरीकन सूर्यब्हादुरले तपार्इंलाई यसरी जरुरी पत्र लेखेर कदापि बोलाउँदैनन् । त्यसकारण, तपार्इंले २-३ दिनमै जानुपर्छ, जानुस् ।’ भन्न थाले । तर, हाम्रो पार्टीको त्यस बेलाको आर्थिक अवस्था कति नाजुक थियो भन्ने बारेमा मैले धिनाचो चढाइ गर्दाखेरिको पैसाको अभावले रसद पानीबिना जानुपर्दा भोगेको दुःखकष्ट बारे उल्लेख गरिसकेको थिएँ । सम्भवतः त्यही नै कारणले पनि हुनसक्छ जसले जहाँ जानु परे पनि जे गर्नु परे पनि उसैले खर्च बेहोर्नुपर्ने चलन जस्तै पार्टीमा चलिरहेको थियो । त्यसैले पार्टीकै काम विशेषले दार्जलिङ जानुपरेको भएता पनि त्यसको लागि आवश्यक सबै खर्चको व्यवस्था मैले गर्नुपरेको थियो । मसँग पैसा थिएन । एउटा साइकल थियो । त्यसैलाई बेचेर आएको पैसा लिई म सूर्यबहादुरको चिठी पाएको २-३ दिनभित्रै दार्जलिङतर्फ लागें ।

रक्सोल रेल्वे स्टेसन पुगेपछि मात्र मलाई थाहा भयो, हिजोदेखि मात्र भारत छोड् आन्दोलन शुरु भएको रहेछ । रक्सौल रेल्वे स्टेसनको दृश्य देखेर म छक्क परेँ । त्यस्तो दृश्य मैले पहिले कहिल्यै देखेको थिइनं । रेल्वे स्टेसन पूरै तोडफोड गरिएको, तहसनहस भएको, स्टेसन बिल्डिङ प्रायः सबै नै आगलागिले भत्किएको तथा धुवाँले एकदमै कालो भएको र रेल्वे पलेटफर्म आगो लगाइएकोले भूइँचालोमा जमिन फाटिएजस्तै चिरिएको थियो । स्टेशन बिल्डिङको एउटा सानो कोठामा स्टेसन मास्टरले आफ्नो अफिस संचालन गरिरहेको थियो र त्यही कोठाकै एउटा कुनामा टिकट बेच्ने मान्छेले टिकट बेच्ने काम गरिरहेको थियो । मैले सिलगुढीसम्मको टिकट दिनोस् भन्दा सेल्समाय्नले ‘त्यहाँसम्मको टिकट त म काटिदिन्छु, तर तपाईं त्यहाँसम्म पुग्नु हुन्छ र पुगिहाल्नु हुन्छ भने पनि कहिलेसम्म पुग्नु हुन्छ त्यो म भन्न सक्दिनँ’ भन्यो । मैले सिलगुढीसम्मकै टिकट लिएँ र सेल्समाय्नसँग ‘पूर्वजाने ट्रेन कति बेला आउँछ’ भनी सोधैँ । उसले भन्यो, ‘नियमानुसार त एक-डेढ घण्टामै पूर्व जाने ट्रेन यहाँ आइपुग्नुपर्छ, तर त्यतिबेलासम्म आइहाल्छ भनेर ठोकेर भन्न सकिन्न ।’

गोरा सिपाहीहरु राइफल लिएर स्टेसनको बाहिर भित्र गरिरहेका थिए । ३-४ जना मानिसहरु जम्मा भएर कुरा गरिरहेको देख्ने बित्तिकै राइफल सोझ्याउँदै त्यहीँ पुगिहाल्थे र हप्काइ दप्काइ मात्र गरेर जान्थे । कहिले ती कुरा गरिरहेका मानिसहरुलाई राइफलका बटले चुट्ने गर्थे । स्थिति एकदमै डरलाग्दो थियो । तीन घण्टाजति पछि पूर्व जाने ट्रेन स्टेसनमा आइपुग्यो र म पनि चढिहालेँ । ट्रेन दुई स्टेसन जति के गएको थियो बीच बाटामा रोकियो । त्यसरी किन रोकिएको होला भनी हेर्न र बुझ्नका लागि यात्रुहरु ट्रेनबाट तल ओर्लिए । १५—२० हातजति लामो रेलको लिक ओछ्याइएको पुल नै पूरै भाँचिएर तल खसेको रहेछ । पुलमुनि त्यति गहिरो पानी नभएकोले हामीहरु त्यो सानो खोल्सा तरेर पारी पुग्यौं । स्टेसनसम्म हिँडेर गयौं । स्टेसन पुगेपछि पूर्वबाट आउने ट्रेन पर्खेर बस्यौं, ४—५ घण्टापछि पूर्वबाट आउने ट्रेन आइपुग्यो । त्यही ट्रेन हामीहरुलाई लिएर फर्कियो । सामान्य स्थितिमा रक्सौलबाट १७ घण्टा जतिमा दार्जलिङ पुगिन्थ्यो । म ९ दिनपछि मात्र दार्जलिङ पुग्न सकेँ त्यो पनि धन्न । रक्सौलदेखि सिलगुढीसम्म जतिवटा रेल्वे स्टेसनहरु थिए, तीमध्ये सबैका सब नै तोडफोड गरिएको र आगो लगाइएका थिए । तोडफोड नगरिएको, आगो नलगाइएको मैले देखेको एउटै मात्रै स्टेसन थियो सिलगुढी स्टेसन । सिलगुढी स्टेसनदेखि दार्जलिङसम्म उकालो लाग्ने सानो रेल चढेदेखि नै मेरो नौ दिनको कष्टकर सफर र थकान सबै नै खत्तम भयो । बेलुकाको ५ बजेतिर म दार्जलिङ पुगेँ र मेकाञ्जी रोडस्थित मेरै जात र जातिकै अर्थात्, उच्च वर्गका श्रेष्ठ परिवारको घर गएँ, जहाँ सूर्यबहादुर भारद्वाज बसेका थिए र त्यही घरमा भारद्वाजसँगै पू.वा. नेवाः (अर्थात्, पूर्णबहादुर नेवाः)जसले पछि नेवाःको सट्टा मानव लेख्ने गरे, उनको बारेमा सूर्यबहादुरले मलाई केही पनि लेखेका थिएनन् । केही बेर सञ्चो बिसञ्चो बारे कुराकानी भएपछि मैले सूर्यबहादुरसँग कामको कुरा शुरु गरेँ । मैले सूर्यबहादुरसँग सोधे, ‘के जरुरी काम छ भनेर मलाई बोलाउनु भएको ?’ त्यसबारे उनले कुनै जवाफ दिएनन् र पू.वा. नेवाःको मुख मात्र ताकिरहे । उनले पनि केही भनेनन् । त्यो दिन त्यतिकै बित्यो । भातसात खाएर हामीहरु सुतिहाल्यौं । सूर्यबहादुर र म घुम्न गयौं । बाटोमा पनि उनले केही भनेनन् । मलाई आश्चर्य लाग्यो । ‘यहाँ एउटा जरुरी काम परेको छ, तुरन्तै तपाईले यहाँ आउनुपर्यो’ भनेर जरुरी चिठी लेखी पठाउने मान्छेले त्यहाँ पुगेपछि मलाई केही नभन्नु स्वयं नै अनौठो र आश्चर्य लाग्ने कुरा हो ।

म दार्जलिङ पुगेको पनि ५—६ दिन भइसक्यो । तर, त्यतिञ्जेल पनि सूर्यबहादुरले कुन राजनितिक कामले मलाई त्यहाँ बोलाइएको हो, त्यसबारे केही पनि कुरा गरेनन् । हामी बसेको घरकोे मालिक त्यहाँको एक गनिएको धनाढ्य थिए । जसको एक श्रीमती र बिहे गर्ने उमेरकी छोरी मात्र थिइन् । सूर्यबहादुर र पू.वा. मानवले पटकपटक दोहर्याई—तेहर्याई तिनै बिहे गर्ने उमेरको केटीको सुन्दरता, राम्रो स्वभाव र चालचलनको बारेमा मात्र कुरा गरिरहन्थे, जसको मतलब त्यस बेलामा पनि बुझ्न सकिनँ अहिले पनि बुझिरहेको छैन । ‘अत्यन्तै जरुरी काम आइपरेकोले मलाई तुरुन्त दार्जलिङ आउनु होला’ भनी बोलाई पठाउनु, तर त्यहाँ त्यस्तो कुनै जरुरी काम नहुनु अति नै दुःखलाग्दो कुरा हो । साथै सूर्यबहादुर भारद्वाजजस्ता जिम्मेदार व्यक्तिको बिल्कुलै गैर जिम्मेदारी हो । उनको यो रवैया, गैर जिम्मेदारीपना र गम्भीरताको कमी देखेर मलाई रिसै पनि उठ्यो, तर मैले केही भनिनं । ३—४ दिन बसेर सूर्यबहादुर घर फकिए । म फर्किनँ र दार्जलिङका क्रान्तिकारी युवकहरुसँग सम्पर्क गरी उनीहरुसँग मित्रता बढाउनेपट्टि लागेँ । यसै क्रममा त्यहाँ मैले थुप्रै साथीहरु बनाएँ, जसमध्ये मेरो सबैभन्दा घनिष्ट सम्बन्ध डी.बि. परियारसँग भयो । केही दिनपछि उनीहरुकै माध्यमले मेरो भारतीय कम्युनिष्ट पार्टीका संगठनकर्ताको रुपमा दार्जलिङमा कार्यरत का. सुशील च्याटर्जीसँग सम्पर्क भयो, जो मलाई कम्युनिष्ट क्रान्तिकारीको रुपमा विकसित हुनमा ठूलो सहायक र महत्वको हुन गयो । उनीसँग भेट हुनुभन्दाअगाडि म भावनात्मक रुपले मात्र कम्युनिष्ट थिएँ । यस हिसाबले दार्जलिङ गएको मेरो लागि एकदमै सार्थक सिद्ध भयो ।

एउटा साइकल बेचेर गएको पैसाले कति दिन काम चल्थ्यो र ?! पैसा सकियो । मसँग एक तोला सुनको औंठी थियो र त्यसैलाई बेचेर केही दिन काम चलाएँ । त्यो पनि सकिएपछि दार्जलिङ पुगेदेखि बिहान र साँझ खाना खाने गरेको एउटा तामाङ बुढाको रेस्टुराँमा उधारो खाना खान थालेँ । सय रुपियाँभन्दा बढी उधारो परिसक्यो, तरपनि त्यो तामाङ बुढाले प्रैसा मागेन र ‘तपाईसँग भएपछि तिरे हुन्छ’ भनी भन्थ्यो मात्र, त्यो पनि मैले कुरा उठाउँदाखेरि मात्र । जे होस्, त्यसरी काम नचल्ने देखेपछि मैले घरमा पैसा मागिपठाएँ । त्यसको ७—८ दिनपछि घरबाट मेरो बाको चिठी र पैसा लिएर झापाको नक्सलबण्डा (जो भारतको नक्सालबारी रेल्वे स्टेसनको ठीक अपोजिट साइडको मेची नदीको पश्चिमी किनारमा पर्छ ।) स्थित जिल्ला वन कार्यलयका हाकिम खरदार प्रचण्डमान श्रेष्ठ (मेरो ठूलो बाको छोरा, दाइ) मेकाञ्जी रोडस्थित म बसेको घरमा टुप्लुक आइपुग्नुभयो । त्यसको भोलिपल्ट मैले बिहान साँझ खाना खाने गरेको रेष्टुराँको मालिक बुढो तामाङलाई एक सय चानचुन उधारो खाएको ऋण तिरँे र अनि कामरेड सुशिल च्याटर्जी र डी.बी. परियारलगायत त्यहाँका सबै साथीभाइहरुसँग बिदाइ भेटघाट गरेँ । भोलिपल्ट बिहानकै ट्रेनबाट दाइसँगै म नक्सालबारी रवाना भएँ । सोही दिन बेलुका ४ बजेतिर हामीहरु नक्सालबारी रेल्वे स्टेसन पुग्यौं (जो मेची नदीको पूर्वी किनारमै अवस्थित थियो) र तुरन्तै हामी मेची नदी तरी झापा जिल्ला वन कार्यालयमा गयौं । सो कार्यालयमा पुगेपछि मैले त्यहाँ एउटा बडो अनौठो कुरा देखेँ । त्यो कस्तो अनौठो थियो भने एक डेढ हप्ताअघि मात्रै भर्ना भई काठमाडौंबाट मेरो दाइसँग आएका कर्मचारिहरु सबै नै कालाजारको ज्वरले थला परिरहेका थिए र पछि मैले काठमाडौंमा सुनेँ कि तिनीहरुमध्ये कोही पनि बचेनन्, सबैका सबै मरेछन् । अर्को एउटा अनौठो कुरा भयो । मेरो दाइ, प्रचण्डमान स्वयंको शरीर कुन त्यस्तो गजबको तत्वले बनेको थियो क्यारे ! उनलाई औलो र कालाजारले छुन पनि सकेन । त्यस समय भद्रपुर र बिर्ता बजारजस्ता दुई/तीनवटा गाउँ बजार बाहेक सिङ्गै झापा जिल्ला नै जंगलै जंगलले ढाकिएको थियो । नक्सलवण्डा पुगेको भोलिपल्ट बिहान मेची नदीको सफा पानीमा खुबै रमाउँदै मैले नुहाएँ । पर्सिपल्ट बिहानै म काठमाडौं तर्फ लागेँ । काठमाडौं पुगेको आठ—दश दिनपछि मलाई एकदमै चर्को रुपले ज्वरो आउन थाल्यो । चार—पाँच जना डाक्टरहरुलाई जचाइसकेँ, तर कसैले पनि त्यो ज्वरो के कस्तो हो पत्तालगाउन सकेनन् । मेरो अवस्था दिनप्रति दिन झनझन खराब हुँदै गयो । घरमा मेरा बा—आमाले त मेरो बारेमा आशा गर्न पनि छाडिसकेका रहेछन् । यसैबीच, म सिकिस्त बिरामी भएको थाहा पाएर किलागलको किसीगल्लीमा बस्ने मेरो मित भिनाजु (स्वर सम्राट नारायण गोपालको बुबा) मलाई हेर्न आउनुभयो । उनी वैद्य डाक्टर त थिएनन्, तर कालाजारबारे अलि अनुभव भएका रहेछन् । उनले मेरो चेहरा मुख र दाँतहरु हेर्ने बित्तिकै ‘यो कालाजारको ज्वरो हो’ भनी ठोकेर भन्नुभयो र ‘तुरन्तै रगत जचाउनु प¥यो’ भन्ने सल्लाह दिनुभयो र तुुरन्तै एउटा कम्पाउण्डरलाई बोलाई रगत झिक्न लगाई जचाउन पठाइयो । भोलिपल्ट कालाजार स्ट्रङली पोजिटिभ भएको रिपोर्ट आयो । अनि डाक्टरले मलाई कालाजारको इन्जेक्सन दिन शुरु गरे र केही दिनमै ज्वर नर्मलमा आयो । र, १५—२० दिनपछि म राम्ररी तङ्ग्रिएँ ।

१५ साउन, २०६०

साभार : मेरो राजनैतिक जीवनका संस्मरणहरु । प्रकाशक : ग्वाहालि गुथि, शम्भुराम श्रेष्ठ कृति प्रकाशन समिति, काठमाडौं ।

(Visited 49 times, 1 visits today)

टिप्पणी

comments