Main Menu

कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठको संस्मरण – ३

(नेपाली लोकतान्त्रिक एवं कम्युनिस्ट आन्दोलनको इतिहासमा उल्लेख गर्न छुटाउनै नहुने एक नेता बितेका शम्भुराम श्रेष्ठ हुन् । वि.सं.२०६२ सालमा बितेका नेता श्रेष्ठको आन्दोलनमयी जीवनका संस्मरणहरु वर्तमान र भविष्यका परिवर्तनकारी पुस्ताका लागि महत्वपूर्ण छन् । उनको संस्मरणका श्रृङ्खलाहरुमध्ये यो चौथो हो । अघिल्ला श्रृङ्खला हरु प्राम्भिक, , र २ का लागि नम्बरहरुमा अलगअलग क्लिक गर्नुहोला ।–सम्पादक)

कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना—सम्मेलन

विक्रम संवत् २००३ (खास तिथिमितिको सम्झना भएन) मा भारतको कलकत्ता नगरीमा वी.पी. कोइरालाको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको सम्मेलनको आयोजना गरियो । त्यस सम्मेलनमा मलाई पनि व्यक्तिगतरुपले गहभागी हुन निम्त्याइएको थियो । तर, त्यस समय टाइफाइडको ज्वरोले (जसलाई त्यसताका घातक ज्वर सम्झिने गरिन्थ्यो) म एकदमै ओछयान परिरहेको हुनाले आफू स्वयं त्यस सम्मेलनमा सहभागी हुनजान सक्ने अवस्था थिएन । त्यसकारण मैले सूर्यबहादुर भारद्वाजलाई आफ्नो सट्टा सम्मेलनमा सहभगी हुन पत्रसहित पठाएँ । सम्मेलन सकिएपछि कलकत्ताबाट फर्केर आई सूर्यबहादुरले हाम्रो पार्टीलाई (अर्थात् नेपाल प्रजातन्त्र संघ) उक्त सम्मेलनको बारेमा संक्षिप्त मौखिक प्रतिवेदन दिए, जसका मुख्य बुदाँहरु यस प्रकार छन् ः

१. सम्मेलनले राजनैतिक कार्यक्रमको रुपमा एएउटा घोषणा पत्र पारित गरी जारी गर्ने निणर्य गर्ने ।

(क)जहानियाँ राणा एकतन्त्री शासनलाई खतम गरी नेपालमा उत्तरदायी सरकारको स्थापना गर्ने । र,

(ख) नेपाल भारतको एक अङ्ग हो भन्ने कुराहरु लेखिएका थिए ।

(२) सम्मेलनमा सर्वसम्मतिले टंकप्रसाद आचार्यलाई नेपाली राष्ट्रिय काँग्रेसका सभापतिमा निर्वाचित गर्यो, तर त्यस समय उहाँ सेन्ट्रल जेलको गोलघरमा जन्म कैदको सजाय काटिरहनुभएको हुँदा उहाँको कार्यवाहक सभापतिको रुपमा वी.पी. कोइरालालाई निर्वाचित गर्यो ।

८(१) को (ख) मा ‘नेपाल भारतको एक अङ्ग’ हो भनी जो लेखिएको छ, त्यसअनुसार नेपाली राष्ट्रिय काँग्रेस नेपालको एउटा सामान्य पूँजीवादी राजनैतिक पार्टी नभएर दलाल पूँजीपति वर्गको राजनैतिक पार्टी, अर्को शब्दमा भन्नुपर्दा भारतीय विस्तारवादी पूँजीवाद समर्थक दलाल पूँजीपति वर्गको राजनैतिक पार्टी भएको ठहर्दछ । यो कुरा सैद्धान्तिक रुपले मात्र होइन, व्यवहारिक रुपले पनि सावित भएको छ । उदाहरणका लागि नेपाली काँग्रेसको मातृका सरकारले भारतसँग कोशी नदीबारे सन्धि गरेको, त्यही पार्टीकै वी.पी. सरकारले गण्डक नदीबारे भारतसँग सन्धि गरेको र त्यही नै पार्टीका शेरबहादुर देउवा सरकारले महाकाली नदीबारे भारतसँग सन्धि गरेको कुराहरुलाई लिन सकिन्छ । यीबाहेक नेपाली काँग्रेस सरकारहरुले विभिन्न समयहरुमा विभिन्न विषयहरुमा नेपालका राष्ट्रिय हितको विरोध हुनेगरी भारतसँग थुप्रै लिखित—अलिखित सन्धि सम्झौताहरु गरेका छन् । नेपाली राष्ट्रिय काँग्रेसका (पछि नेपाली काँग्रेसमा परिवर्तित) माथि उल्लेखित भारतीय विस्तारवाद परस्त सोच र त्यस पार्टीका सरकारहरुले नेपालको राष्ट्रिय हितको विपरीत र भारतीय विस्तारवादको पक्षमा गरेको लिखित—अलिखित सन्धि—सम्झौताहरु बिल्कुलै गलत र विरोध गर्नै पर्ने कुराहरु हुन् ।

भारतमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको लगतैपछि नै काठमाडौंमा तत्कालिन कमाण्डर—इन—चिफ मोहनशमशेर ज.ब.रा. को महारागञ्जस्थित लक्ष्मी निवासको बैठकमा नेपाली राष्ट्रिय काँग्रेसको विरोधमा, अर्थात् त्यसको प्रतिकार गर्नका लागि कवि एवम् सशक्त नाटककार गोपालप्रसाद रिमालको संयोजकत्वमा ल्ल्न् (अर्थात् नेपाल राष्ट्रिय लीग) नामक राणा शासनको पक्षधर एउटा राजनैतिक पार्टीलाई जन्माइयो । त्यस पार्टीमा गोपालप्रसाद रिमालका भाइ—कृष्णप्रसाद रिमाल, दमनराज तुलाधर, तीर्थराज तुलाधर, विजयबहादुर मल्ल र पत्रकार गोपालदास श्रेष्ठ आदि सम्मिलित थिए । त्यस पार्टीका चार प्रमुख सदस्यहरु अर्थात् गोपालप्रसाद रिमाल, कृष्णप्रसाद रिमाल, दमनराज तुलाधर र तीर्थराज तुलाधर घुमाउरो पाराले नेपाली राष्ट्रिय काँग्रेसको विरोधमा र राणा शासनको पक्षमा र त्यसको पनि विशेष गरेर मोहनशमशेर गुटको पक्षमा शोभा भगवती र पशुपतिनाथको मन्दिरहरुमा पालैपालो प्रत्येक दिन राजनैतिक प्रार्थना गर्ने गरेका थिए । आठ—दश दिन जति उक्त प्रार्थना कार्यक्रम गर्ने ती चारै जनालाई दिखावाका रुपमा पक्राउ गरी ज्वाइँहरुलाई जस्तै सम्मानपूर्वक ऐस—आरामका साथ एउटा घरमा थुन्याजस्तो गरी राखिए, तर एक दुई महिना मात्र ।

गोपालप्रसाद रिमाल नेपालका एक—दुईजना सर्वोकृष्ट साहित्यकारहरु मध्येकै एक थिए । त्यस्तो उच्च कोटीको कलात्मक खुबी भएका साहित्यकारलाई खूद उनकै साहित्यिक सोचको विपरीत रङ्गको अर्थात् बासी प्रतिकृयावादी राजनीतिमा तानेर ल्याई नेपालको एक श्रेष्ठ साहित्यिक स्रष्टालाई मोहनशमशेर राणाले नास्ने काम गरे । फलतः २००७ सालको राजनैतिक परिवर्तनपश्चात गोपलप्रसाद रिमालले आफूलाई उभ्याउने राजनीतिक थलो नै पाएनन् । त्यही कारणले नै उनी बहुलाएका थिए ।

प्रदीप्त पुस्तकालयको स्थापना र नेपाल स्वयं सेवक दलको गठन

विक्रम संवत् २००३ को प्रारम्भतिरै प्रेमबहादुर कंसाकारको पहलमा तत्कालिन हाम्रो पार्टी अर्थात् नेपाल प्रजातन्त्र संघको निर्णयअनुसार मासाङ्गगल्लीस्थित प्रेमबहादुरको घर दलानमा वि.सं. २००३ को प्रारम्भतिर नेपाली जनतालाई सम्भव भएसम्म नेपाललगायत विश्वका बढीभन्दा बढी मुलुकहरुका इतिहासहरु, तिनीहरुबीचका सम्बन्धहरु तथा तिनीहरुका भौगोलिक बनौटहरु, विज्ञानका विभिन्न शाखा उपशाखाहरु ती मुलुकहरुका अर्थतन्त्रहरु र साहित्यहरु आदिका बारेमा अवगत गराई तिनीहरुमा जागृति ल्याउने उद्देश्यले प्रदीप्त पुस्तकालयको स्थापना गरियो । युवाहरु दिन प्रतिदिन बढ्दो संख्यामा पुस्तकालयमा आउन थाले । नेपालको इतिहासमा जनस्तरमा पुस्तकालय स्थापना गरिएको त्यो पहिलो घटना हो, अर्को शब्दमा भन्नुपर्दा प्रदीप्त पुस्तकालय नै नेपालको पहिलो पब्लिक पुस्तकालय थियो र अहिले पनि कायम नै रहेको छ । पुस्तकालयको जनप्रियता एकातिर दिन प्रतिदिन बढ्दै गयो भने, अर्कोतिर बन्न गयो ।

त्यसरी नेपाली युवक—युवतीहरु प्रदीप्त पुस्तकालयमा नै भेला हुने गरेकै कारणले सोही सालको अर्थात् वि.सं. २००३ सालको फागुन महिनामा हुने महाशिवरात्री पर्वमा देशमा विभिन्न भागहरुबाट र भारतबाट पशुपतिनाथको दर्शन गर्न आउने लाखौं यात्रुहरुलाई सुविधा र आवश्यक सहयोग पुर्याउने उद्देश्यले हजारौं युवकहरु सक्रियरुपले सहभागी भएकोबाट नेपाल स्वयं सेवक संघ खडा गर्ने कार्य सम्भव भएको थियो र ३—४ दिनसम्म त्यसले एकदमै कुशलतापूर्ण आफ्नो घोषित सेवाकार्य गर्यो । यो पनि नेपालको इतिहासमा आफ्नो किसिमको पहिलो घटना थियो । यसको श्रेय पनि प्रेमबहादुर कंसाकारलाई नै जान्छ , किनभने प्रदीप्त पुस्तकालयको स्थापनाबारे जस्तै त्यस स्वयं सेवक संस्था गठन गर्ने कुरा पनि उनकै पहलमा हाम्रो पार्टीले निर्णय गरेको हो । उक्त स्वयं सेवक संघले आफ्नो सेवा—कार्य सञ्चालन गर्न लाग्दा शुरुमा त राणा शासकहरुले त्यस कार्यलाई छेकथुन गर्नेजस्ता कुनै काम गरेनन् र सायद त्यस किसिमको काम नेपालमा पहिले कहिल्यै नभएकोले होला राणा शासकहरु एकदमै अकमकिए र तिनीहरुले त्यसको विरोध वा समर्थन कुनै गरेनन् । पछि त्यस्तो कामलाई बिल्कुलै छुट दिनु हुँदैन, रोक्नुपर्छ भन्ने निष्कर्षमा पुगेछन् क्यारे तिनीहरुले सेवा—कार्यमाथि रोक लगाउनुको साथसाथै स्वयंसेवक साथीहरुलाई धमाधम पक्राउ गर्न थाले । तर, हाम्रा प्रमुख साथीहरुले त्यसको विरोध गरी स्पष्टीकरण माग गर्न थालेपछि राणा शासकहरु नाजवाफ भए, अनि लाचार भई पक्राउ गरिएका हाम्रा स्वयं सेवक साथीहरुलाई छाडिदिए र साथै सेवा कार्यलाई फुकुवा पनि गरिदिए । त्यो हामीहरुको ठूलो विजय थियो ।

माथि उल्लेखित दुईटा रचनात्मक कार्यहरु सफलतापूर्वक सम्पन्न भएकाले, त्यसबाट वि.सं. २००४ वैशाख १७ गतेका दिनदेखि शुरु गरिने नागरिक तथा राजनैतिक अधिकारहरु निम्तिको खुल्ला जनआन्दोलनका (Open mass movement) लागि चाहिएको जनशक्ति उपलब्ध गर्न ठूलो मद्दत हुन गयो । अन्यथा जनआन्दोलन त्यति ठूलो, त्यति लामो र त्यति प्रभावकारी हुन मुस्किल हुन्थ्यो ।

२५ साउन, २०६०

साभार : मेरो राजनैतिक जीवनका संस्मरणहरु । प्रकाशक : ग्वाहालि गुथि, शम्भुराम श्रेष्ठ कृति प्रकाशन समिति, काठमाडौं ।

(Visited 59 times, 1 visits today)

टिप्पणी

comments