Main Menu

पुरुषमा कडाखाले मानसिक रोग बढ्दो

माघ १८, काठमाडौँ

severe-mental-illness-male-increasing

राजधानीका विभिन्न अस्पतालको तथ्यांक हेर्दा पछिल्लो समयमा महिलाभन्दा पुरुष मानसिक रोगीको संख्या बढी देखिएको छ ।

चिकित्सा विज्ञानले मानसिक रोगलाई दुई भागमा विभाजन गरेको छ – कम कडा र कडा । पुरुषहरूको हकमा कडाखालका मानसिक रोग देखिने गरेको विशेषज्ञहरू बताउँछन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दैनिक ८० देखि १ सय मानसिक बिरामी आउँछन्, जसमा १५ देखि २० जनामा कडाखाले बिरामी देखा परेको अस्पतालको मानसिक स्वास्थ्य विभागका प्रमुख डा. सरोजप्रसाद ओझाले बताए ।

“कडाखाले रोग लिएर आउनेमा पुरुषकै बाहुल्य छ,” उनले भने ।

कडाखाले मानसिक रोग वंशाणु हुने गरेको छ । यस अलावा जाँडरक्सीलगायत लागूपदार्थ सेवनका कारण पनि पुरुषमा कडाखाले मानसिक रोग देखा पर्ने गरेको उनले बताए । कम कडाखाले मानसिक रोगका कारण भने धेरै छन् । चिकित्सकहरू यस्तो रोग लाग्नुमा नेपालको हकमा १० वर्षे लामो जनयुद्ध, देशको अस्थिर राजनीतिक अवस्था, बेरोजगारी, वैदेशिक रोजगारी, नाकाबन्दी र भूकम्पका कारण उत्पन्न तनाव मुख्य कारण मान्छन् ।

डा. ओझा भन्छन्, “भूकम्प र नाकाबन्दीले देशको अर्थतन्त्र त हल्लायो नै, साथै व्यक्तिको मानसिक स्थिति पनि हल्लाएको छ ।”

अस्पतालको तथ्यांक अनुसार कडाखाले मानसिक रोग २० देखि ३० वर्ष उमेरका पुरुषमा बढी देखिएको छ । सबभन्दा बढी मानसिक रोगको उपचार पाटनस्थित मानसिक अस्पतालमा हुने गरेको छ, जहाँ दैनिक २ सयको हाराहारीमा मानसिक रोगी उपचारका लागि आउँछन् ।

कंडाखाले रोग लिएर आउनेमा पुरुष बढी हुने गरेको अस्पतालका मनोचिकित्सक डा. वासुदेव कार्कीले बताए । यस्ता बिरामीलाई अस्पताल परिसरमा बाँधेरै राखिएको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक रोगमा झन्डै १ सयथरीका समस्या हुन्छन् । नेपालमा मानसिक रोगीमा चारथरीका समस्या मात्र देखिएका छन् – उदासीनता, विक्षिप्त, छारेरोग र हिस्टोरिया ।

परिवारको पालनपोषण र आर्थिक जिम्मेवारी धरैजसो परुषकै थाप्लोमा पर्ने कारणले पनि उनीहरूमा मानसिक समस्या बढी हुने गरेको मनोचिकित्सक डा. नरेन्द्र ठगुन्ना बताउँछन् ।

“जिम्मेवारी र अपेक्षा बढी छ, उपलब्धि र सफलता कम । यसले उनीहरूलाई मनोरोगतर्फ धकेलिरहेको, ‘उनले भने ।

मानसिक समस्या रोगमा मात्रै सीमित छैन । समयमा उपचार हुन नसक्दा यसले आत्महत्या निम्त्याउने चिकित्सकहरू बताउँछन् । विश्वमा महामारी, हत्या र युद्धभन्दा आत्महत्याले बढी ज्यान लिइरहेको ठगुन्ना बताउँछन् । आफ्ना भावना खुलेर भन्न सक्ने अवस्था सिर्जना गर्न सकेमा आत्महत्या न्यून भएर जान सक्ने डा. ओझा बताउँछन् ।

“समयमै पहिचान गरी उपचार गरेमा मानसिक रोग निको हुन्छ । उपचार सहज र सर्वसुलभ हुन सकेमा डिप्रेसनकै कारण हुने आत्महत्या दर घट्छ,” उनले भने ।

नेपालमा मानिसक रोगको उपचारमा मनोवैज्ञानिकभन्दा चिकित्सकीय पद्धति बढी प्रयोग हुन्छ । मनोपरामर्शबाटै निको हुन सक्ने रोगमा पनि औषधि चलाइदिनाले उनीहरूमा थप जटिलता देखिएको छ । मनोरोग विशेषज्ञ, औषधि र सहज उपचार नहुँदा बिरामी आत्महत्यातिर धकेलिन्छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपाललगायत विकासोन्मुख मुलुकका ८० प्रतिशत मनोरोगीहरू उपचारको पहुँचमा छैनन् । उपचारमा थोरै मान्छे मात्रै सचेत छन् । रोग लागेर उपचार नपाएकै कारण उनीहरू पारिवारिक कलह सामाजिक विभेद, सम्बन्धविच्छेदजस्ता समस्या भोगिरहेका छन् । नेपाली समाजमा अझै पनि मानसिक रोगबारे हेक्का नराख्ने, यसलाई सामान्य रूपमा लिने, रोगै नमान्ने र उपचारमा चासो नदेखाउने प्रवृत्तिका कारण मानसिक रोगी कम देखिएको डा. काफी बताउँछन् ।

“पेट दुखेमा, टाउको दुखेमा औषधि खान तयार भइहाल्छन् । मानसिक रोग लागेको छ कि छैन भनेर जँचाउन पनि चाहँदैनन् ,।बुझेकाहरू पनि डराउने, लजाउने गर्छन् ,” उनले भने ।

समाजमा मानसिक रोगीलाई तिरस्कृत र अपहेलित गर्ने परम्परागत सोचका कारण रोग लुकाउने प्रवृत्तिमा परिवर्तन आउन नसकेको विशेषज्ञहरूको तर्क छ ।

आर्थिक वर्ष २०७१/०७२ मा पाटनको मानसिक अस्पतालबाट १५ हजार ५ सय ५८ पुरुषले मानसिक उपचार सेवा लिएका थिए । यो ओपीडी र भर्ना भएका दुवै बिरामीको संख्या हो । आर्थिक वर्ष ०७३ / ०७४ सम्म आइपुग्दा मानसिक उपचार लिने पुरुष बिरामीको संख्या बढेर १७ हजार ५ सय २१ पुगेको छ । गत तीन आर्थिक वर्षमा मानसिक अस्पतालबाट ९४ हजार ८ सय ४७ ले उपचार लिए, जसमा पुरुषको संख्या मात्रै ५० हजारको हाराहारीमा छ ।

डा . काफी भन्छन्, “रोगको व्यापकताअनुसार सुविधा नहुँदा बिरामीले गुणस्तरीय उपचार पाउन सकेका छैनन् ।”

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार विगत तीन आर्थिक वर्षमा देशभरिका अस्पतालमा ११ हजार ८५ जनाले भर्ना भएरै उपचार लिए, जसमा पुरुषको संख्या ६ हजार २ सय ६४ छ ।

  • फातिमा बानु

कान्तिपुरबाट

(Visited 21 times, 1 visits today)

टिप्पणी

comments