Main Menu

‘दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल’ – डा. यादव [अन्तरवार्ता]

 

असार २४, काठमाडौँ

second-phase-election-biggest-successप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरेका छन् । निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उनले जोड दिएका छन् । स्थानीय तह निर्वाचन, मतदातामा देखिएको उत्साह, मतगणनामा भएको ढिलाइ, निर्वाचन आचारसंहिता पालनालगायत समसामयिक विषयमा प्रमुख आयुक्त डा. यादवसँग राससका समाचारदाता नारायणप्रसाद न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ –

प्रश्न – स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सकिएको छ, समग्रमा निर्वाचन आयोगका मूल्याङ्कन र समीक्षा कस्तो रह्यो ?

आयोगको व्यवस्थापकीय काम सफल रहेको छ । मतदानमा मतदाताको उत्साहपूर्वक सहभागिता रह्यो । राजनीतिक दल र उम्मेदवारबाट पनि उत्तिकै सहयोग भयो । स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनको सफलताको श्रेय चाहिँ मतदातालाई दिन चाहन्छु । अहिलेसम्मकै सबैभन्दा सफल निर्वाचनका रुपमा दोस्रो चरणको निर्वाचन भएको छ । मतदाताको ज्यादै उत्साहजनक सहभागिताले निर्वाचन सफल भएको हो । यो निर्वाचन इतिहासमै स्मरण गर्नयोग्य रहेको हुँदा आयोगले सफल व्यवस्थापनको रुपमा पनि मूल्याङ्कन गरेको छ ।

प्रश्न – निर्वाचनमा सरकारबाट कस्तो सहयोग रह्यो ?

निर्वाचन आयोगले मात्रै निर्वाचन गराउने होइन, यसको लागि सरकारको सहयोग अति आवश्यक छ । सरकारबाट निर्वाचन आयोगले जुन खालको सहयोगको अपेक्षा गरेको थियो, त्योभन्दा बढी नै सहयोग प्राप्त गरेका छौँ । माग गरेअनुरुपकै बजेट र जनशक्ति उपलब्ध भयो भने निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकारले ठूलो भूमिका खेलेको छ । मतदाता, राजनीतिक दल, उम्मेदवार र निर्वाचनमा खटिएका कर्मचारीलाई शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति सरकारबाट भएको हुनाले समग्रमा निर्वाचन उदाहरणीय र ऐतिहासिक रह्यो ।

निर्वाचनका लागि बनाइएको सुरक्षा रणनीति प्रभावकारी रहेको हुनाले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सञ्चालनमा सरकारले ठूलो सहयोग गरेको छ, त्यो ज्यादै सराहनीय छ ।

प्रश्न – वर्षायाममा निर्वाचन गराउनुपर्दा के कस्ता चुनौतीको सामना गर्नुपर्यो ?

निर्वाचनका लागि आयोगलाई हर क्षेत्रबाट सहयोग प्राप्त भएको छ । आयोगलाई कतिपय अवस्थामा अप्ठेरो त निश्चित रुपमा भएकै हो । वैशाख ३१ मा एकै चरणमा भए प्रकृतिको प्रतिकूलता व्यहोर्नु नपर्ला र सजिलोसँग राम्रो व्यवस्थापन गर्न सकिएला भन्ने अनुमान गरेका थियौँ । राजनीतिक वातावरण मिलाउने सन्दर्भमा जेठ ३१, असार ९, १३ हुँदै १४ गतेका लागि सरेपछि ज्यादै अप्ठेरो परिस्थितिमा परेका थियौँ । मौसमको प्रतिकुलता पर्यो भने अप्ठेरो हुन्छ भन्ने थियो । त्यसपछि पनि राजनीतिक दलबीच निर्वाचनप्रति सहमति, असहमति निरन्तर चलिरह्यो । त्यस संवादबाट एउटा राम्रो सन्देश प्राप्त भयो र सबैको सहयोगबाट मिति सरेर पनि अत्यन्तै शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न भयो । वर्षायाम सुरु भएपछिको निर्वाचनमा ७४ प्रतिशतको हाराहारीमा मतदान हुनु भनेको इतिहासकै ठूलो उपलब्धि हो । अहिलेसम्म स्थानीय निर्वाचनमा यस्तो भएकै थिएन ।

असार १४ गतेको निर्वाचनमा धेरै ठाउँमा पाल टाँगिएको थियो । छाता ओडेर मतदाता आएका थिए । वर्षाका कारण कतिपय ठाउँमा केही घण्टा मतदान स्थगन पनि भएका थिए । स्थानीय तहमा राजनीतिक दल, उम्मेदवार र मतदाताको निर्वाचनप्रतिको चाहनाले धैर्यका साथ ठूलो सहयोग सद्भावका कारण छाता ओढेर, पाल टाँगेर भए पनि मतदान पूर्ण रुपमा सफल भयो । यो ज्यादै महत्वपूर्ण विषय हो ।

निर्वाचनको पटक-पटक मिति सार्नुपर्ने एउटा आफ्नै कारण थियो । सरकारले राजनीतिक प्रयासका लागि त्यो गरेको हो । धार्मिक समुदायको पर्वलाई विचार गरेर अर्काे एउटा मिति सार्नुपरेको थियो । त्यसैले अहिलेको लोकतान्त्रिक व्यवस्थामा सबै समुदायको स्वामित्व सिर्जना गर्नु ज्यादै महत्वपूर्ण कुरा हो । फलस्वरुप मिति सरेर पनि नेपाली जनता र राजनीतिक दलले निर्वाचन सफल पारेका हुन् ।

प्रश्न – निर्वाचनका मुख्य सरोकारवाला राजनीतिक दलको भूमिका कस्तो रहेको पाउनु भयो त ?

विभिन्न खाले सरोकारवालामध्ये निर्वाचनको प्रमुख साझेदार भनेका राजनीतिक दल नै हुन् । निर्वाचनको कार्यक्रम अर्थात् मनोनयन शुरु भइसकेपछि उम्मेदवारको पनि भूमिका हुन्छ, नागरिक समाज, सञ्चारकर्मी, पर्यवेक्षक, बुद्धिजीवी, पूर्वआयुक्त, अन्तर्राष्ट्रिय समुदाय र सबैबाट सकारात्मक रुपमा राम्रो सहयोग प्राप्त भयो । सबैको सहयोगको फलस्वरुप विश्व समुदायमा नेपालले स्थानीय तहको निर्वाचनमा उदाहरण प्रस्तुत गरेको छ । यो सबैको सहयोगबाट नै भएको हो ।

प्रश्न – आचारसंहिताको पालनामा दलहरुको भूमिका र व्यवहारको कस्तो अनुभव गर्नुभयो ?

आचारसंहिताको पालना सबैको लागि हो । निर्वाचनमा यो सबैले पालना गर्नुपर्दछ । दलहरुबाट आचारसंहिता पालना भएकै कारण पहिलो चरणको निर्वाचनमा मतदाता, उम्मेदवार र राजनीतिक दलको उत्साह देखिएको हो । केही स्थानबाहेक आचारसंहिताको परिधिभित्र रहेर नै प्रचारप्रसारको भएको पाइयो । तर केही स्थानमा आचारसंहिता उल्लङ्घनका घटना भने नभएका होइनन् । त्यसका लागि आयोगबाट ध्यानाकर्षण गराउने, स्पष्टीकरण सोध्ने र सचेत गराउने काम भएको छ । पहिलो चरणको निर्वाचनमा मन्त्री नै बोलाएर निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी गराउँदै जिल्ला सदरमुकामभन्दा अन्यन्त्र नजान भनेका थियौँ । त्यसपछि आचारसंहिता अलि खुकुलो पारेका हौँ । पहिलो चरणको निर्वाचनमा त्यतिकै सफलता प्राप्त भएको होइन । प्रमुख जिल्ला अधिकारीलाई जनताले राखेका वैध हातहतियार जिल्ला प्रशासन कार्यालयमा सङ्कलन गर्न आदेश दियौँ । फलस्वरुप निर्वाचनमा हातहतियारको प्रयोग हुन पाएन । यो सफलताको एउटा सूचक हो । मदिरा बेचबिखन र प्रयोगमा नियन्त्रण हुनु भनेको पनि सकारात्मक पक्ष नै हो ।

आचारसंहिताको पालना गर्ने गराउनेमा विभिन्न पक्ष र विचारबाट अघि बढेका छौँ । आयोगले कतिपय संवेदनशील स्थानमा उच्चस्तरीय अनुगमन टोली र सूक्ष्म अनुगमनकर्ता खटाइएको थियो । प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पनि कारबाही गर्ने अधिकार दिएका थियौँ । आचारसंहिता पालना सबैबाट भएको हुँदा निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण भएको हो । मतगणनामा केही ढिलाइ भए पनि आफ्नो ट्रयाकबाट अघि बढ्नु भनेको आचारसंहिताको पालना गर्नु नै हो । यद्यपि आचारसंहिताको पालनाको विषयलाई अझै सुधार गर्न आवश्यक छ ।

प्रश्न – समाचारमाध्यमले निर्वाचनमा कस्तो भूमिका निर्वाह गरे ? यसप्रति आयोगको धारणा के-कस्तो रह्यो ?

स्थानीय तहको निर्वाचनको वातावरण बनाउन आमसञ्चारमाध्यमबाट ज्यादै ठूलो सहयोग रह्यो । निर्वाचनसँग सम्बन्धित सबै समाचारलाई उच्च प्राथमिकता दिएर प्रसारण र प्रकाशन भएका छन् । मिडियाबाट प्राप्त सहयोगको आयोगले उच्च मूल्याङ्कन गरेको छ । निर्वाचनको वातावरण बनाउन मिडियाले ज्यादै सकारात्मक भूमिका खेलेको छ । राष्ट्र, जनताप्रतिको जिम्मेवारी बोध गर्दै निर्वाचन गर्ने/गराउने कामप्रति समग्रमा आमसञ्चारमाध्यमले सकारात्मक रुपमा राम्रो भूमिका निर्वाह गरेको छ ।

प्रश्न – आमसञ्चारमाध्यमले सामाजिक पक्षलाई कतिको ध्यान दिएको पाउनुभयो ? यसमा यहाँको टिप्पणी के छ ?

समाजिक उत्तरदायित्वप्रति मिडियाको ठूलो भूमिका रहेको छ । राजनीतिक दल, उम्मेदवार र कर्मचारी मिडियासँग डराउनु भनेकै सामाजिक दायित्वसँग जोडिएको छ । निर्वाचन भनेको सोसल साइन्सको विषय हो । समाजलाई जागृत तुल्याउने काममा मिडियाको ठूलो भूमिका हुने गर्दछ । निर्वाचनको बेलामा मिडियाकै पनि अनुगमन गर्न प्रेस काउन्सिललाई जिम्मेवारी दिइएको छ । नेपाली जनताको लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्र कार्यान्वयन गर्ने महान् इच्छालाई सहयोग पुर्याउने ढङ्गबाट पत्रकारले कलम चलाउनुपर्दछ । संविधानले त्यसैका लागि मिडियालाई असीमित अधिकार दिएको छ ।

प्रश्न – स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा सबैभन्दा सकारात्मक र स्मरण गरिरहने विषय केही छन् ?

पहिलो चरणको निर्वाचनमा घरबाट निस्कनेबित्तिकै ललितपुरको महेन्द्र आदर्श मतदान केन्द्रमा मतदाताको ठूलो लाइन र उत्साह देखेर साह्रै भावुक भएँ । निर्वाचनको सन्दर्भमा मतदाताको सहभागिता र उत्साह नै ठूलो उपलब्धि हो । निर्वाचनमा मतदाता सहभागी हुन्छ कि हुँदैनन् भन्ने द्विविधा थियो । लोकतन्त्रमा राजनीतिक दल, उम्मेदवार र मतदाता सबैभन्दा ठूला शक्ति हुन् । धैर्य, संयम र उत्साहका साथ आ-आफ्नो लाइनमा बसेर स्थानीय तहको निर्वाचनमा रेकर्ड कायम गर्ने ढङ्गबाट मतदान भएको छ, जसबाट लोकतन्त्र, सङ्घीयता र गणतन्त्र कार्यान्वयन निकै ठूलो योगदान भएको छ । संविधानले परिकल्पना गरेको समानुपातिक र समावेशी प्रतिनिधित्वको कार्यान्वय पनि सुनिश्चित भएको छ ।

प्रश्न – आयोगले चाहेको तर कार्यान्वयन हुन नसकेका केही विषयवस्तु छन् कि ?

पहिलो चरणको निर्वाचनमा सिकेका कुरा, दोस्रो चरणमा कार्यान्वयनमा ल्याइयो, दोस्रो चरणमा भोगेको अनुभव र सिकाइलाई आगामी निर्वाचनलाई प्रयोग गर्दै जानुपर्दछ । मतगणना छिटो गर्ने, जनशक्तिको पर्याप्त व्यवस्थापन मिलाउने तथा मतदाता शिक्षामा जोड दिनेजस्ता विषयवस्तु र कार्यक्रमलाई निरन्तर रुपमा सुधार गर्दै लैजानुपर्दछ ।

(Visited 15 times, 1 visits today)

टिप्पणी

comments