Main Menu

हाँसो किन लाग्छ ?

  • आकाश महर्जन

science-qna-laugh‘एउटा बूढो मान्छे बच्चैमा मरेछ ।’ यो एउटा सरल वाक्य हो तर यो वाक्य पहिलोचोटि सुन्ने प्रायः सबैलाई हाँसो लाग्छ । हाँसो कुनै मानिसको दैनिक जीवनको एक अभिन्न पाटो हो । हाँसो एक प्रकारको औषधि हो भन्ने कुरा त हामी सबैले सुन्दै आइरहेकै हौँ । तर चुट्किला सुन्दा वा कुनै अनौठो कुरा देख्दा वा आफैंले भोग्दा हाँसो किन लाग्छ ? हाँसो लाग्नुको वैज्ञानिक कारण, अझ भनौँ मनोवैज्ञानिक कारण के हो त ?

हाँसो किन लाग्छ भन्ने विषयमा थुप्रै अनुसन्धानहरू भएका छन् र ती अनुसन्धानहरूले थुप्रै सिद्धान्तहरू प्रतिपादन गरेका छन् । तीमध्ये तीनवटा सिद्धान्तहरू वैज्ञानिक जगतमा सर्वमान्य छन् । ती हुन् : बेमेलको सिद्धान्त (Incongruity theory), श्रेष्ठताको सिद्धान्त (Superiority theory) र राहतको सिद्धान्त (Relief theory) ।

बेमेलको सिद्धान्त

माथि दिइएको चुट्किला सुनेर हाँसो लाग्ने प्रक्रिया बेमेलको सिद्धान्तसँग सम्बन्धित छ । वैज्ञानिक तथा दार्शनिकहरूका अनुसार कुनै अप्रत्याशित कुरा वा दैनिक जीवनसँग मेल नखाने कुरा देख्दा वा सुन्दा हामीलाई हाँसो लाग्छ ।

माथिको चुट्किलामा वाक्यको सुरुको अंश भनिरहँदा सुन्ने व्यक्तिको मस्तिष्कमा एक बूढो मानिसको तस्बिर बनिसकेको हुन्छ । तर, चुट्किलाको बाँकी भागमा बूढो मान्छे बच्चैमा मर्छ भनिएको छ जुन आफैंमा नमिल्दो कुरा हो । चुट्किला सुन्ने व्यक्तिको मस्तिष्कले त्यो अपेक्षा गरेकै हुँदैन । जब मस्तिष्कले अपेक्षा नगरिएको कुरा सुन्छ वा देख्छ, त्यसले मस्तिष्कलाई एउटै कुरालाई दुई भागबाट विश्लेषण गर्न बाध्य गराउँछ । यो भनेको मस्तिष्कलाई एक प्रकारको काउकुती लगाउनुजस्तै हो, जसको कारणले हामीलाई हाँसो उठ्छ । यो सिद्धान्तलाई बेमेलको सिद्धान्त भनिन्छ ।

श्रेष्ठताको सिद्धान्त

science-qna-laughश्रेष्ठताको सिद्धान्तका अनुसार कसैलाई खासै ठूलो हानि नहुने कसैको अप्रत्यासित दुःखमा हामीलाई हाँसो लाग्छ । उदाहरणको लागि यदि कोही वयस्क मानिस बाटोमा लड्यो तर उसलाई खासै ठूलो चोटपटक लागेको छैन भने हामीलाई हाँसो लाग्छ । तर सो व्यक्तिलाई ठूलै चोट लागेको छ भने चाहिँ हामीलाई हाँसोको सट्टा दुःख र सहानुभूति लाग्छ । त्यस्तै, वयस्क व्यक्तिको साटो सानो बच्चा लडेको छ भने पनि हामीलाई हाँसो लाग्दैन किनकि बच्चा लड्ने भनेको अप्रत्याशित घटना होइन ।

राहतको सिद्धान्त

science-qna-laughराहतको सिद्धान्तका अनुसार कुनै दुःखद् घटना घट्न लागेको भान हुँदाको समयमा यदि सो घटना अब नघट्ने भन्ने कुरा थाहा भयो भने र उक्त घटनाको साटो अर्कै घटना घट्यो भने हामीलाई हाँसो लाग्छ । उदाहरणको लागि अँध्यारो कोठामा खासखुस आवाज आउँदा डर हुन्छ । तर बत्ती बालेर हेर्दा हावाको कारण प्लास्टिकको झोला हल्लिरहेको देख्दा हामीलाई हाँसो लाग्छ ।

अन्य थुप्रै मानवीय व्यवहारजस्तै हाँसोको बारेमा पनि वैज्ञानिकहरूले पूरा तथ्य पत्ता लगाउन सकेका छैनन् । यस्ता विभिन्न सिद्धान्तहरूको प्रतिपादन भए पनि मूर्त उत्तर अझै आएको छैन । तर जे भए पनि हाँसो एक प्राकृतिक औषधि हो भन्ने कुरामा भने कसैको दुईमत छैन ।

(Visited 162 times, 1 visits today)

टिप्पणी

comments