Main Menu

कथा

सलिम

कथाकार नयनराज पाण्डे

मलाई एउटा कथा लेख्नु थियो । मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ–सलिम ।
सलिम मेरो बाल्यकालेको साथी–मुसलमान । उसको बाबु एकलैनी बजार जाने गल्लीको मुखैनेर बसेर जुत्ता सिउँथ्यो । पालिस गथ्र्यो । मोची भन्थे सबै उसलाई । असलम नाम थियो क्यार उसको ।

हाम्रो घरअगाडि नै सडकको पूर्वपट्टि मुसलमानहरुको स–सानो बस्ती थियो । मुसलमान बस्तीमा पक्की घर एउटा पनि थिएन । सबै घर कच्ची । माटाको परखाल र फुसको छानो । सबै एउटा वा दुईटा कोठाका घर । असलम तिनै घरहरुमध्ये कुनैमा बस्थ्यो ।

मलाई केटाकेटीमा माछा मार्न असाध्य मन पथ्र्यो । स्कूलबाट फर्किनासाथ आफ्नो घरपछाडि लुकाइराखेको ‘कटिया’ लिन्थें । फरुवाले माटोले माटो खनेर गँड्यौला झिक्थें र सुटुक्क टोलकै कुनै फोहोर गड्डामा पुग्थें– माछा मार्न ।

सलिम पनि त्यहीँ माछा मार्न आउँथ्यो । फाहोर पोखरी (गड्डा)कै छेउमा बाल्यकालमा सलिम र मेरो परिचय भएको थियो । कटियामा माछा परेपछि म कटिया तान्न अलमलिन्थें र प्रायः माछा फुत्कन्थ्यो । सलिमले नै मलाई चनाखो भएर कटिया यसरी तान्नुपर्छ भन्ने सिकाएको थियो । त्यसपछि त म माछा मार्न सिपालु नै भएँ ।

आफूले मारेका माछाहरु घर लैजान मेरा लागि सम्भव थिएन । सलिम आफ्नो भागको माछा घर लैजान्थ्यो र म आफूले मारेका माछाहरु पराल बालेर पोल्थेँ । सलिम र म सँगै पोलिएका माछाहरु खान्थ्यौं ।

सलिमले मलाई गुल्ता (गुलेली) चलाउन पनि सिकायो । तर मैले कहिल्यै गुल्ताले भँगेरा मार्न सकिनँ । सलिम गजबले निसाना लगाउँथ्यो । हामी भगौती लालाको धान–मिलमा जान्थ्यौं र धान खान आउने भँगेरामा निसाना लगाउँथ्यौं ।

सलिम भँगेरा पोल्थ्यो र हामी दुवै भँगेराको मासु खान्थ्यौं ।

पतङ्ग (चङ्गा) उडाउन पनि मलाई सलिमले नै सिकाएको थियो । किन्नी कसरी बाँध्ने, छडी कसरी दिने, चङ्गा उडेपछि कतिखेर तान्ने, कतिखेर ‘ढिल’ दिने, यावत् कुरा मलाई सलिमले नै सिकाएको थियो ।

गोली (गुच्चा) पनि सलिम र म सँगसँगै खेल्थ्यौं । गोली खेल्न त म सलिमको घरै पुग्थें । त्यहीँ मैले सलिमको बाबु असलमलाई देखेको थिएँ ।

म सलिमसित हिँड्छु भन्ने थाहा पाएर बुबाआमा मसित रिसाउनु पनि भयो । मोचीको संगत गर्छ भनेर हकार्नु पनि भयो । दुईचार पटक त पिटाइ पनि खाएँ क्यार ।

तर सलिम मेरो अभिन्न मित्र भइसकेको थियो । घरमा ढाँटेर भए पनि म सलिमनेर दिनको एक पटक पुगिछाड्थें । स्कूल भएको दिन प्रायः साँझ सलिमसित मेरो भेट हुन्थ्यो र विदाको दिन कुनै फोहर गड्डानेर कटियासहित दिउसै भेट हुन्थ्यो । कहिलेकाँही हामी गुल्ली डन्डा पनि खेल्थ्यौं ।

सलिमसितै मैले साइकल चलाउन पनि सिकें– पहिले कैंची, पछि गद्यी । सलिमसितै मैले कवाब खान पनि सिकें । कहिलेकाहीँ सलिम नमाज पढ्न मलाई आफूसँगै मस्जिद लैजान्थ्यो । म मस्जिदबाहिरै रोकिन्थें । ऊ भित्र जान्थ्यो । म उसलाई पर्खिरहन्थें ।

कहिलेकाहीँ म उसलाई वागीश्वरी मन्दिर लैजान्थें । ऊ बाहिरै रोकिन्थ्यो । म भित्र जान्थें । ऊ मलाई पर्खिरहन्थ्यो ।


पछि सलिम पनि बाबुसँगै एकलैनी जान थाल्यो । असलम उसलाई जुत्ता सिउन र जुत्तामा पालिस लगाउन सिकाउँथ्यो । सलिम आफ्नो बाबसित बिहानै एक्लै नि जान्थ्यो । असलम सानो काठाको बक्सा बोक्थ्यो, सलिम नाइलनको सानो झोला ।

एकलैनी पुगेर सलिम आफ्नो पसल सिँगाथ्र्यो–काँटीहरु, पालिसहरु, छालाका स–साना टुक्राहरु, जुत्तामा बाँध्ने तुनाहरु, नयाँ सोलहरु, चप्पलका दुईचार जोर फित्ताहरु ।

म कहिलेकाहीँ नालीमाथि दुईवटा पटरा (फल्याक) राखेर तयार भएको सलिमको पसलमा पुग्थें । ऊ लाज मान्थ्यो र कहिलेकाहीँ भन्थ्यो, “म ठूलो भए पनि जुत्त सिउने काम गर्दिन ।
“के गर्छस् त ?” म सोध्थें ।

ऊ गल्लीमा टास्सिएको सिनेमाको पोष्टरतिर देखाउन्थ्यो र भन्थ्यो, “सिनेमा खेल्छु । हिरो बन्छु । मेरो दाजु बम्बईमा काम गर्छ ।”

त्यतिखेर उसको उत्तरमा मैले के प्रतिक्रिया जनाएँ, मलाई अहिले के थाहा होस् ? तर त्यसपछि मलाई स्कूलबाट भागीभागी सिनेमा हेर्ने लत लागेको त अहिले पनि थाहा छ ।


समयले धेरै थोक गर्यो । फुसैला घरमा आगो लागेपछि सलिम सपरिवार कतै अन्यत्रै बस्न गयो । मलाई पनि माछा नमिठो लाग्न थाल्यो । भँगेरा खान झन् दिगमिग लाग्न थाल्यो र चङ्गा उडाउने बानी पनि छुट्यो । गुच्चा पनि खेल्न छाडें । म बिस्तारै सायद ठूलो हुँदै थिएँ…। पछि सलिम र मेरो भेट हुनै छाड्यो, तर सलिमलाई म कसरी बिर्सन सक्थें र ? मलाई पटकपटक उसको अनुहारको सम्झना आइरहन्थ्यो । उसको निधारमा चन्द्रमाको आकारको एउटा काटिएको दाग थियो । उसले भनेको थियो– उसकी सौतेनी आमाले जुत्ता सिउँदा प्रयोग हुने फलामको औजारले हिर्काएर निधार फुटेपछि त्यो दाग परेको हो । पछि मलाई सलिमले त्यो औजार देखाएको पनि थियो ।
त्यो औजार वास्तवमै गरुँगो थियो । जुत्ताहरु उल्टो पारेर घुसारेर माथिबाट कीला वा सोल आदि ठोक्न त्यो औजारको प्रयोग हुन्थ्यो । त्यतिखेर सलिमले मलाई त्यो औजारको नाम पनि भनेको थियो


तर ठीक सलिमको कथा लेख्न बस्दा मैले त्यो औजारको नाम बिर्सिएँ, सम्झनै सकिनँ । कुनै दिन जुत्ता पालिस गर्नेसित त्यसको नाम सोधुँला भन्ने सोची कथालाई अधुरै छाडिदिएँ । तर कथाको शीर्षक मैले राखिसकेको थिएँ– सलिम ।


केटाकेटीमै अनायास सलिमले जन्माइदिएको मभित्रको सिनेमाप्रतिको आकर्षणले पछि म सिनेमा निर्माणसित सम्बद्ध हुनु पुगें र एउटा चलचित्रको छायांकनका क्रममा आफ्नो गृहनगर पुगेँ ।


सुटिङ्ग स्थागित भएको एक दिन ।
त्यस दिन मैले ब्रिफकेसमा आफ्नो अधुरो कथा भेटें–‘सलिम’ । मैले झट्ट केही सम्झें । आफ्ना दुई जोर जुत्तामध्ये मैलो जुत्ता लगाएँ र एकलैनीतिर लागें ।


एकसुरले मेरो जुत्ता पालिस गरिरहेको मोचीलाई मैले विनाप्रसंग सोधें, “भैया, तिम्रो यो फलामको औजारलाई के भन्छन् ।”

‘फरमा…’ भन्दै उसले मतिर हेर्यो । निधारमा उही चन्द्रमाको आकारको दाग । क्यामेराको फ्ल्यास चम्केझैं म झस्कें– सलिम । तर मेरो मुखबाट नाम निस्किएन । म लाटो भएँ । लाटाले झैं उसले टल्काएको जुत्ता लगाएँ । लाटाले झैं उसको दुइटा पटरामा अडिएको दोकान (पसल)लाई हेरें– काँटीहरु, पालिसहरु, तुनाहरु, छालाका टुक्राहरु, सोलहरु, उही बाबुका पालाका औजारहरु । उही स्थानमा, उही स्थितिमा, सबथोक उही ।
र उही सलिम ।


तर सलिमको पसलमाथिको भित्तामा सिनेमाको पोस्टरचाहिँ फेरिएको थियो ।

  • नयनराज पाण्डे

साभार  : खोरभित्र जोकर– कथासंग्रहबाट

(Visited 45 times, 1 visits today)

टिप्पणी

comments