Main Menu

समाजवादी क्रान्ति (१९१७–२०१७)

रुसमा १९१७ मा क्रान्ति कसरी सुरु भएको थियो ?

(यो वर्ष सन् २०१७ ले विश्वमा भएको पहिलो समाजवादी क्रान्तिको शत वार्षिकी मान्दैछ । यानी कि पहिलो समाजवादी क्रान्तिले १ सय वर्ष पार गर्दैछ । विश्वमा पहिलो पटक सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा बोल्शेभिक पार्टीले समाजवादी क्रान्ति गरेको थियो । रुसी समाजवादी क्रान्ति पछि नै विश्वभर समाजवादी क्रान्तिको लहर नै चलेको थियो । लगभग बीसौं शताव्दीको तीन चौथाइ् समयसम्म नै विश्वभर समाजवादी, जनवादी एवं राष्ट्रिय मुक्ति आन्दोलनका आँधी बेहरीहरु चले । ती सबै आन्दोलनमा रुसी समाजवादी क्रान्तिको छाप र प्रभाव रह्यो ।

रुसमा समाजवादी क्रान्तिका लागि तत्कालीन अवस्थामा आन्दोलनहरु कसरी विकसित भए ? १९१७ को वर्षभरि नै चलेको रुसी क्रान्तिका आरोह अवरोहहरु कस्ता रहे ? वर्तमानमा समाजवादी क्रान्तिको शतवार्षिकी मनाइरहँदा यी प्रश्नहरु अत्यन्त सान्दर्भिक देखिन्छन् । मूल्याङ्कन अनलाइनले सन् २०१७ को अन्त्यसम्म नै रुसी समाजवादी क्रान्तिबारे बिचार, संस्मरण, घटना विवरण तथा अन्य लेख रचनाहरु समेटी हप्तामा दुईपटक प्रकाशित गर्ने जमर्को गरेको छ । यसै सिलसिलामा आजको संस्करणमा रुसी समाजवादी क्रान्तिको जगको रुपमा रहेको फेब्रुअरी क्रान्तिबारे केही चर्चा गरिन्छ ।– सम्पादक)

फरवरी क्रान्ति । जारशाहीको पतन । मजदुर र सिपाही प्रतिनिधिहरुको सोवियतको गठन । अस्थायी सरकारको गठन । द्वैत सत्ता ।

१९१७ मा क्रान्तिको नेतृत्व गर्दै लेनिन ।

जनवरी ९ तारिखको हडतालबाट १९१७ साल शुरु भयो । यस हडतालको सिलसिलामा पेट्रोग्राड, मास्को, बाकु र निज्नी नोगरोदमा प्रदर्शनहरु भए । मास्कोमा एक—तिहाइ मजदुरहरुले जनवरी ९ तारिखको हडतालमा भाग लिए । त्वेस्र्कोयी राजमार्गमा भएको दुई हजार मानिसहरुको प्रदर्शनीलाई घोडचढी पुलिसहरुले तितरवितर पारिदिए । पट्रोग्राडको विबोर्ग सडकमा भएको प्रदर्शनमा सिपाहीहरु पनि सामेल भए ।

पेट्रोग्राड पुलिसले रिपोर्ट दियो ‘आम हडतालको विचारले दिन प्रतिदिन नयाँ मानिसहरुलाई तानिरहेको छ र त्यो १९०५ मा जतिकै लोकप्रिय हुँदैछ ।’ (सन् १९०५ मा रुसमा जारशाही शासनबिरुद्ध किसान मजदुरहरुले ठूलो बिद्रोह गरेका थिए । व्यापक जनताको सहभागिता भएर पनि त्यो बिद्रोहलाई दबाउन जारशाही सफल भएको थियो । रुसी इतिहासमा त्यो बिद्रोहलाई जारशाहीबिरुद्धको असफल क्रान्तिको रुपमा उल्लेख गरिएको छ ।–सम्पादक)

मेन्शेविक (रुसी समाजिक जनवादी मजदुर पार्टी बिभाजन हुँदा त्यसको अल्पमत पक्षले बनाएको पार्टी । बहुमत पक्षले लेनिनको नेतृत्वमा अर्को पार्टी बनायो, जसलाई बोल्शेविक भनिन्छ ।–सम्पादक) र समाजवादी क्रान्तिकारीहरुले यस नवजाल क्रान्तिकारी आन्दोलनलाई उदार पूँजीपतिहरुले चाहेको दिशातर्फ मोड्न कोशिस गरे । राज्य–दूमा (रुसी संसद) शुरु हुने फरवरी १२ तारिखको दिनमा दूमामा मजदुरहरुको एउटा जुलुस लैजानुपर्छ भनेर मेन्शेविकहरुले प्रस्ताव राखे । तर, मजदुर जनताले बोल्शेविकहरुलाई साथ दिए र उनीहरु दूमामा जान होइन कि प्रदर्शन गर्न निस्के ।

फरवरी १८, १९१७ मा पेट्रोग्राडको पसतिलोव कारखानामा हडताल भयो । अन्तर्राष्ट्रिय महिला दिवसको दिन फरवरी २३ (मार्च ८) तारिखमा पेट्रोग्राड बोल्शेविक कमिटीको आह्वानमा, श्रमजीवी महिलाहरु भोक, युद्ध र जारशाहीको विरुद्ध प्रदर्शन गर्न सडकमा निस्के । पेट्रोग्राडका मजदुरहरुले शहरव्यापी हडताल आन्दोलन चलाइ श्रमजीवी महिलाहरुको प्रदर्शनप्रति समर्थन जनाए । राजनैतिक हडतालले जारशाही व्यवस्थाविरुद्ध आम राजनैतिक प्रदर्शनको रुप लिन थाल्यो ।

फरवरी २४ (मार्च ९) मा झन् बढी जोडदार रुपमा प्रदर्शन जारी रह्यो । करिब २ लाख मजदुरहरु हडतालमा उत्रिए ।

फरवरी २५ (मार्च १०) मा सबै मजदुरहरु पेट्रोग्राड क्रान्तिकारी आन्दोलनमा सामेल भए । जिल्लाहरुमा भएका राजनैतिक हडतालहरु मिलेर पूरै शहरको आम राजनैतिक हडताल बने । सबै ठाउँमा प्रदर्शन र प्रहरीबीच मु्ठभेड भयो । मजदुर जनतामाथि लाल झण्डाहरु फरफराए र तिनमा लेखिएको थियो —‘जार मुर्दावाद ।’ ‘युद्ध मुर्दावाद’ ‘हामीलाई रोटी देऊ’

फरवरी २६(मार्च ११) तारिख बिहान राजनैतिक हडताल र प्रदर्शनले विद्रोहको रुप लिन थाल्यो । मजदुरहरुको साधारण र सशस्त्र प्रहरीबाट हतियार खोसेर आफूलाइृ सशस्त्र पारे । तथापि ज्नामेन्स्काया चौबाटोमा प्रदर्शनमाथि गोली चलेर प्रहरीसितको सशस्त्र मुठभेडको अन्त्य भयो ।

पेट्रोग्राड सैनिक इलाकाका कमाण्डर जनरल खबारोवले के घोषणा गरे भने मजदुरहरु फरवरी १८ (मार्च १३) सम्ममा काममा फर्कनुपर्छ, नत्र उनीहरुलाई मोर्चामा पठाइनेछन् । फरवरी २५ (मार्च १०) मा जारले सेनापति खवारोवलाई यस्तो आदेश दिए—‘म तिमीलाई के हुकुम दिन्छु भने भोलिसम्ममा राजधानीको सारा गडबडी खतम हुनुपर्छ ।’

तर, क्रान्तिलाई ‘खतम पार्नु’ अब सम्भव थिएन ।

फरवरी २६ (मार्च ११) मा पाब्लोब्स्की पल्टनको जगेडा बतालियनको चौथो कम्पनीले मजदुरहरुमाथि होइन, बरु मजदुरहरुसित मुठभेडमा लागेका घोडचढी प्रहरी टुकडीहरुमा गोली चलायो । खास गरेर श्रमजीवी महिलाहरुले सैनिकहरुलाई आफ्नो पक्षमा तान्न निक्कै जोडदार र दृढ प्रयास गरे । ती महिलाहरुले सीधा सिपाहीहरुलाई अपिल गरे, उनीहरुसित भाइचारा कायम गरे र घिनलाग्दो जार–एकतन्त्रशाहीलाई खतम पार्नका लागि जनतालाई मद्दत गर्न उनीहरुलाई आह्वान गरे ।

त्यसताका पार्टीको केन्द्रीय कमिटीको ब्यूरोले बोल्शेविक पार्टीको व्यावहारिक कार्यको संचालन गरिन्थ्यो । त्यसको प्रधान कार्यालय पेट्रोग्राडमा थियो र त्यसका प्रमुख कामरेड मोलोतोब थिए । फरवरी २६ (मार्च ११) मा केन्द्रीय कमिटीको व्युरोले एउटा घोषणपत्र निकाल्योे र त्यसमा जारशाहीविरोधी सशस्त्र संघर्ष जारी राख्न र अस्थायी क्रान्तिकारी सरकार गठन गर्न आह्वान गरिएको थियो ।

फरवरी २७ (मार्च ११) मा पेट्रोग्राडस्थित सैनिकहरुले मजदुरहरुमाथि गोली चलाउन इन्कार गरेर विद्रोहमा जनतालाई साथ दिन थाले । फरवरी २७ तारिखको बिहानसम्म विद्रोहमा सामेल हुने सिपाहीहरुको संख्या १ लाखभन्दा बढी थिएन, तर साँझसम्ममा यो संख्या ६ लाखभन्दा बढी भयो ।

विद्रोहमा उठेका मजदुर र सिपाहीहरुले जारका मन्त्रीहरु र सेनापतिहरुलाई गिरफ्तार गर्न र जेलबाट क्रान्तिकारीहरुलाई मुक्त गर्न थाले । छुटेका राजबन्दीहरु क्रान्तिकारी संघर्षमा सामेल भए ।

सडकमा प्रहरी र घरका माथिल्ला तल्लाहरुमा मेशीनगन राखेर बसेका सशस्त्र दस्ताहरुसित गोली हानाहान भयो । तर, सैनिकहरु छिटो मजदुरहरुको पक्षमा आए र त्यसबाट जारशाहीको भाग्यको फैसला भयो ।

अब पेट्रोग्राडमा क्रान्तिको विजय भएको खबर अन्य शहर र मोर्चामा फैलियो, सबै ठाउँ मजदुर र सिपाहीहरुले जारका अफिसरहरुलाई हटाउन थाले ।

१९१७ फेब्रुअरीमा रुसी मजदुरहरु क्रान्तिका लागि सडकमा उत्रिँदै ।

क्रान्तिको विजय हुनाको कारण के हो भने त्यसको अगुवा मजदुरवर्ग थियो । यस वर्गले सिपाहीको पोशाक लाएका, ‘शान्ति रोटी र स्वतन्त्रताको माग गर्ने लाखौं किसानहरुको आन्दोलनलाई नेतृत्व दियो । सर्वहारावर्गको एकछत्र नेतृत्वले नै क्रान्तिको सफलतालाई निश्चित पार्यो ।

क्रान्तिको शुरुको समयमा लेनिनले लेखेका थिए, ‘सर्वहारावर्गले क्रान्ति गर्यो । सर्वहारावर्गले बहादुरी देखायो, त्यसले आफ्नो रगत बगायो । त्यसले व्यापक श्रमजीवी र गरिब जनसाधारणलाई आफूसँगै बगाएर लग्यो ।’(लेनिन, संकलित रचनाहरु रसियाली संस्करण भाग २०, पृष्ठ २३, २४)

पहिलो क्रान्तिले अर्थात् १९०५ को क्रान्तिले दोस्रो क्रान्ति, अर्थात् १९१७ को क्रान्तिको छिटो सफलताको लागि बाटो तयार पारेको थियो ।

लेनिनले लेखेका थिए, ‘१९०५—०७ का तीन वर्षमा भएका ठूल्ठूलावर्ग संग्रामहरु र रसियाली सर्वहारावर्गद्वारा प्रदर्शित क्रान्तिकारी तागतको अभावमा दोस्रो क्रान्ति सम्भवतः यति छिटो हुन सक्ने थिएन । छिटो कुन अर्थमा भने यसको प्रारम्भिक चरण केही दिनभित्रै पूरा भयो ।’ (लेनिन, चुनिएका रचनाहरु, अंग्रेजी संस्करण मास्को १९४७ भाग १, पृष्ठ ७३५)

क्रान्तिका प्रारम्भिक दिनहरुमा नै सोवियतहरुको जन्म भयो । विजयी क्रान्ति मजदुर र सैनिक प्रतिनिधिहरुका सोवियतहरुको समर्थनमा आधारित थियो । विद्रोह गर्न मजदुर र सिपाहीहरुले मजदुर र सैनिक प्रतिनिधिहरुको सोवियत गठन गरे । १९०५ को क्रान्तिले के देखाएको थियो भने सोवियतहरु सशस्त्र विद्रोहका साधन हुन् र साथै एउटा नयाँ, क्रान्तिकारी सत्ताका बीज हुन् । मजदुर जनताको मनमा सोवियतको विचार जिउँदै थियो, र जारशाही खतम हुने बित्तिकै तिनीहरुले यस विचारलाई व्यवहारमा उतारे । तर, फरक कति थियो भने १९०५ मा मजदुर प्रतिनिधिहरुको सोवियत मात्र बनाइएको थियो र अब फरवरी १९१७ मा बोल्शेविकहरुको अग्रसरतामा, मजदुर र सैनिक प्रतिनिधिहरुका सोवियतहरुको जन्म भयो ।

यता बोल्शेविकहरु सडकमा जन—संघर्षको प्रत्यक्ष नेतृत्व गर्दै थिए, उता सम्झौतावादी पार्टीहरु अर्थात् मेन्शेविक र समाजवादी क्रान्तिकारीहरु सोवियतमा ठाउँ कब्जा गरेर त्यहाँ बहुमत बनाउँदै थिए । उनीहरुलाई यस काममा आंशिक सफलता पनि मल्यो । त्यसको कारण के हो भने बोल्शेविक पार्टीका अधिकांश नेताहरु जेलमा वा निर्वासनमा थिए (लेनिन विदेशमा र स्टालिन र स्वर्दलोव साइबेरियामा निर्वासित थिए) । तर, मेन्शेविक र समाजवादी क्रान्तिकारीहरु पेट्रोग्राडको सडकमा स्वतन्त्रतापूर्वक घुम्दै थिए । नतिजास्वरुप पेट्रोग्राड सोवियत र त्यसको कार्यकारिणी समितिका अगुवाहरु, सम्झौतावादी पार्टीहरुका प्रतिनिधिहरु अर्थात् मेन्शेविक र समाजवादी—क्रान्तिकारीहरु थिए । मास्को र अन्य कतिपय शहरहरुमा पनि यस्तै स्थिति थियो । खालि इवानोवो वोज्नेशेन्स्क, क्रास्नोयास्र्क र अन्य केही ठाउँका सोवियतहरुमा मात्र शुरुदेखि नै बोल्शेविकहरुको बहुमत रहेको थियो ।

१९१७ फेब्रुअरीमा सडकमा उत्रिएका सशस्त्र रुसी मजदुरहरु ।

सशस्त्र जनताले, अर्थात् मजदुर र सिपाहीहरुले जन—सत्ताको संस्थामा झैं गरेर सोवियतमा प्रतिनिधिहरु पठाए । उनीहरुको के विचार र विश्वास थियो भने मजदुर र सैनिक प्रतिनिधिहरुको सोवियतले क्रान्तिकारी जनताका सबै मागहरु पूरा गर्नेछ, र सबभन्दा पहिले शान्ति कायम हुनेछ ।

तर, मजदुर र सिपाहीहरुको उक्त निराधार विश्वासले गर्दा उनीहरुलाई हानि पुग्न गयो । समाजवादी—क्रान्तिकारी र मेन्शेविकहरुको युद्ध बन्द गर्ने र शान्ति हासिल गर्ने रत्तीभर इरादा थिएन । उनीहरुले क्रान्तिबाट फाइदा उठाएर युद्ध जारी राख्ने योजना बनाएका थिए । क्रान्ति र जनताका क्रान्तिकारी मागहरुको सम्बन्धमा समाजवादी क्रान्तिकारी र मेन्शेविकहरुको कस्तो विचार थियो भने क्रान्ति अब खतम भइसकेको छ र अब क्रान्तिमा सील मारेर पूँजीपतिवर्गसँगसँगै ‘सामान्य’ संबैधानिक जीवन बिताउनु नै मुख्य काम हो । त्यसैले पेट्रोग्राड सोवियतका सामाजिक क्रान्तिकारी र मेन्शेविक नेताहरुले युद्ध बन्द गर्ने सवाललाई शान्तिको सवाललाई दराजमा थन्क्याई दिन र सत्ता पूँजीपतिवर्गको हातमा सुम्पन भरसक कोशिस गरे ।
क्रमशः…………………….

साभार : सोभियत संघको कम्युनिस्ट पार्टी (वोल्सेविक) को इतिहास
अनुवादक : कृष्णदास श्रेष्ठ

 

(Visited 830 times, 1 visits today)

टिप्पणी

comments