Main Menu

निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पार्नुस् – प्रधानमन्त्री

कात्तिक ९, काठमाडौँ

rss-building-inauguration-pmप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधि सभाको आगामी मंसिरमा हुने निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पार्न आह्वान गरेका छन् ।

मुलुकको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) को भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको नयाँ भवनको आज शिलान्यास गर्दै उनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउनुपर्ने खाँचो औँल्याए ।

सञ्चार माध्यमले विगतका लोकतान्त्रिक एवं प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रम देउवाले भने, “देशमा संविधानको कार्यान्वयन गर्दै राजनीतिक स्थायित्वमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउन होस् वा आउँदो निर्वाचनमा नागरिकलाई सहभागी बनाई आफ्नो लोकतान्त्रिक हक, अधिकारको रक्षा गर्ने सन्दर्भमा होस् । राससले निष्पक्ष तथा संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध भूमिकालाई सधैँ अवलम्बन गर्नेछ भन्ने मेरो विश्वास रहेको छ ।”

उनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत राष्ट्रको विकास र एकतामा टेवा पुर्याउने तथा आम जनताको महत्वाकांक्षाको सम्बोधन गर्न आफू सधैँ क्रियाशील रहनेमा प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले भूकम्पबाट क्षतिग्रस्त रासस कार्यालयको भवन शिलान्यास गर्न पाएकामा खुशी व्यक्त गर्दै पुनःनिर्माणलाई निरन्तर र अविच्छिन्नरुपमा गर्ने सरकारको प्रयासमा महत्वपूर्ण अवसर भएको स्पष्ट पारे ।

प्रजातन्त्रको पुनःस्थापनापछि आमसञ्चार जगत् उद्योगका रुपमा विकसित भएको प्रम देउवाले चर्चा गर्दै उनले हाल निजी क्षेत्रबाट पनि समाचार समिति सञ्चालन गर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे ।

“हालसम्म कुनै पनि निजी समाचार संस्थाले आकार लिन नसकेको परिस्थितिमा रासस एक्लैले देश विदेशका समाचार संकलन गर्दै आमसञ्चारजगत्लाई समाचार सेवा उपलब्ध गराउँदै आएको छ । यो तपाईंहरुकै अथक मिहिनेतबाट सम्भव भएको हो,” उनले भने ।

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले भूकम्पले क्षतिग्रस्त भएको राससको केन्द्रीय कार्यालय भवन नवनिर्माण हुन लागेकामा खुशी व्यक्त गर्दै निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए ।

(Visited 31 times, 1 visits today)

टिप्पणी

comments