Main Menu

विज्ञान

‘सापेक्ष समय’ पछिल्लो भौतिक विज्ञानको निष्कर्ष हो

विज्ञान र विज्ञानमा आधारित दर्शन भन्छन्–‘परिवर्तनको प्रक्रियाबाहेक संसारमा अपरिवर्तनीय र अन्तिम भन्ने चीज केही पनि छैन । अर्थात् यो विश्वब्रम्हाण्डमा अपरिवर्तनीय र निरपेक्ष भन्ने चीज केही पनि छैन ।’

महान वैज्ञानि अल्बर्ट आइन्स्टाइन ।

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले समयसमेत पनि अपरिवर्तनीय वा निरपेक्ष छैन भनी व्याख्या गरेका छन् । उनले जुम्ल्याहा दुई बच्चाहरुमध्ये एकलाई झण्डै प्रकाशको गतिमा अन्तरिक्षमा पठाउने र अर्कोलाई पृथ्वीमै राखिराख्ने हो भने ५० वर्षपछाडि पहिलो बच्चा पृथ्वीमा फर्कंदा ऊ ६ महिनाको मात्र हुने जबकि पृथ्वीमै रहेका बच्चा चाहिँ ५० वर्ष उमेरको हुने तार्किक प्रमाण पेश गरेका छन् । यो उनले समय सबै ठाउँमा एकै नहुने वा यो निरपेक्ष नभई सापेक्ष हुने चीज हो भनी व्याख्या गरेका हुन् ।

यी कुराहरु भनिरहँदा एकजना मित्रले उल्लेखित कुराहरुलाई विश्वास नगरी टिप्पणी गर्न चाहे र उनले विज्ञानको परिधिभित्र पर्ने केही महत्वपूर्ण प्रश्नहरु उठाए । उनले उठाएका प्रश्नहरु यसप्रकार छन्–

१.अहिले सेतो भनेर ऐतिहासिक र वैज्ञानिक तथ्यका आधारमा प्रमाणित भैसकेको कुरालाई पनि भोलि कालो भन्न सकिने आधार हुन्छ त ?

२. पृथ्वीले सूर्यको परिक्रमा गर्नु अहिलेसम्मको अन्तिम सत्य हो कि होइन ? के अबका दिनमा पृथ्वीलाई सूर्यले घुम्ला ? पृथ्वीको खास स्वरुपमा भएको प्रमाणित तथ्यलाई किन अन्तिम भन्न मिल्दैन ?

३. २ जोड २ बाट ४ हुन्छ भन्ने वास्तविकता अन्तिम सत्य हो कि होइन ?

४. आइन्स्टाइनले भनेझैं २० वर्षका जुम्ल्याहामध्ये एकलाई ९९.९९ प्रतिशत प्रकाशको गतिमा अन्तरिक्षमा पठाउँदा ५० वर्षसम्म ऊ कसरी साढे २० वर्षको मात्र हुनसक्छ ? अन्तरिक्षमा पठाइरहँदा मान्छेको शारीरिक बनावटमा पो परिपक्वता र परिवर्तन नहोला, के त्यसकै आधारमा समय नै रोकियो वा ५० वर्ष ढीलो भयो भन्न मिल्छ ? समय त समान गतिमा कुदेकोकुद्यै दिनपछि रात, रातपछि दिन त भएकोभयै हुन्छ नि हैन ? के बिग्रेको घडीको सूई नघुम्दैमा समय नै रोकियो, या ५० वर्षअघिको मान्छे नै केबल ६ महिना बढीको उमेर भयो भन्न सकिन्छ ? जस्तो कि आइन्स्टाइनले भनेका छन्– “हामीले तातेको तावामा हात राख्दा थोरै समय पनि धेरै जस्तो लाग्छ, तर यसको ठीक विपरीत आफ्नी पे्रयसीसँग गफ गरिरहँदा हामीलाई घण्टौं गएको पनि थोरै समयजस्तो लाग्छ ।” यसरी उनले सापेक्षतावादको परिभाषा दिएका छन् । यसको आधारमा तातो तावामा हात राख्ने मानिसको तत्कालीन भ्रमलाई नै आधार मानेर २ मिनेटलाई २ घण्टा भन्ने भ्रमपूर्ण निष्कर्ष त अर्थिनु भएन नि ! यो त सम्बन्धित व्यक्तिको भ्रमजन्य व्यक्तिगत अनुभव पो भयो । सर्वभौम सच्चाइ त भएन नि !

सामान्यतः सर्वसाधारण मानिसहरु भौतिक यथार्थको गहिराइमा पुगेका हुँदैनन् । त्यसैले उनीहरुले भौतिक यथार्थलाई बढीभन्दा बढी सतहीमा बुझ्न खोज्नु स्वभाविक नै मान्नुपर्छ । तर, जीवन र जगतलाई यथार्थ रुपमा बुझ्न चाहनेहरु वा सत्यलाई वास्तविक रुपमा बुझ्न चाहनेहरुले भने भौतिक यथार्थलाई सतहमा होइन, गहिराइमा र सूक्ष्मरुपमा बुझ्न खोज्नुपर्दछ । मेरा मित्रले माथि उल्लेखित प्रश्नहरु अगाडि सारेर हामीलाई भौतिक यथार्थको अलि गहिराइमा पस्न झक्झक्याउनु भएको छ । यो धेरै राम्रो भएको छ ।

मानव सभ्यताको इतिहासको अलिकति पनि ज्ञान राख्ने जो कोहीलाई पनि के कुरा थाहा छ भने मानवीय ज्ञान, बुद्धि, धारणा, विचार र दर्शनलाई विज्ञानको विकासले ठूलो प्रभाव पारेको छ । त्यसैले मानव समाजभित्रका अर्थतन्त्र, राजनीति, संस्कृति, सामाजिक व्यवहारलगायत सम्पूर्ण पक्षहरुमा वैज्ञानिक सिद्धान्त, वैज्ञानिक अन्वेषण र आविष्कारले आधारभूत भूमिका खेलेका छन् ।

हजारौं वर्ष पहिलेदेखि विकसित हुँदै आएको विज्ञानले हरेक पटक के कुरा देखाउँदै आयो भने अघिल्लो समयमा पूर्ण र अन्तिम सत्य भनेर ठानिएको कुरो पछिल्लो समयमा अपूर्ण र आंशिक सत्य मात्र भएको यथार्थ उजागर हुँदै आयो । त्यसैले हरेक समयमा वैज्ञानिकहरुले अघिल्लो पुस्ताले दिएको निष्कर्षमा के कति सीमाहरु रहे त्यसलाई पत्ता लगाई आवश्यक सुधार तथा नयाँ थप निष्कर्षहरु निकाल्ने प्रयत्न गरिरहेका हुन्छन् । र, विज्ञानले यही बाटोबाट आफूलाई अगाडि बढाइरहेको छ ।

तसर्थ, हामी के भन्न सक्छौं भने, विज्ञानले कुनै पनि निष्कर्ष अथवा सत्यलाई कहिल्यै पनि पूर्ण र अन्तिम भनेर ठान्नु हुन्न भनेर सिकाएको छ । किनकि वर्तमानमा हामीले जेलाई सत्य ठानिरहेका हुन्छौं, त्यो वास्तवमा त्यस क्षणमा मानवीय ज्ञानले हासिल गरेको उँचाइको सीमामित्रको कुरो मात्र हुन्छ । भोलि मानवीय ज्ञानले त्यो सीमा नाघ्दा हिजोको सत्य असत्य वा अपूर्ण सावित हुनजान्छ ।

मानवीय ज्ञानले नै सत्यलाई बुझ्ने गर्दछ । मानवीय ज्ञान अन्तिम कहिल्यै हुँदैन । यो समय र परिवेशसँग सापेक्ष हुन्छ । त्यसैले सत्य पनि अन्तिम कहिल्यै हुँदैन । यो मानवीय ज्ञानसँग सापेक्ष हुन्छ । विज्ञानले हामीलाई सिकाएको कुरो यही हो ।

मेरा मित्रले ‘आज सेतो भनेर विज्ञानले प्रमाणित गरेको कुरो भोलि कालो कसरी हुनसक्छ’ भन्ने आशयको प्रश्न अगाडि सार्नुभएको छ । अन्तिम सत्य भन्ने कुरा हुन्न भन्नुको अर्थ हिजो सत्य ठानिएको कुरो जम्मै आज असत्य ठहरिन आउँछ भन्नु होइन । हिजो सत्यलाई जुन मात्रा र जुन ढंगबाट बुझियो, आज त्योभन्दा फरक मात्रा र फरक ढंगबाट बुझ्नुले पनि के हिजो अत्तिम र पूर्ण भनिएको सत्य वास्तवमा त्यस्तो थिएन भन्ने बुझिँदैन र ?

वैज्ञानिक न्यूटन र सौर्य प्रकाशका सात रङ्गका किरणहरु ।

सूर्यको किरण सेतो हुन्छ भन्ने कुरा सत्य थियो । तर, त्यो सत्य पूर्ण नभई आंशिक सत्य मात्र हो भन्ने कुरा वैज्ञानिक आइज्याक न्यूटनले सूर्यको किरणलाई प्रिज्मभित्रबाट छिराई त्यसभित्र लुकेर रहेका सात रङ्गका किरणहरुलाई पर्दामा उतारेर देखाइदिए । तर, पछि न्यूटनले पत्ता लगाएको कुरा पनि पूर्ण र अन्तिम थिएन भन्ने कुरा पत्ता लाग्यो । सूर्यको किरणमा सात रङ्गका किरणहरुमात्र होइनन्, त्यसभित्र अल्ट्राभ्वाइलेट, इन्फ्रारेड आदिजस्ता अदृश्य किरणहरु पनि हुन्छन् भन्ने कुरो न्यूटनपछिका वैज्ञानिकहरुले पत्ता लगाए ।

तर, विज्ञानले के भन्छ भने सूर्यको प्रकाशबारे अहिले मानिसहरुलाई जे जति थाहा छ, त्यो पनि अन्तिम र पूर्ण हुँदैन । यसलाई भविष्यले अवश्यै अपूर्ण प्रमाणित गरिदिनेछ ।

मेरा मित्रले ‘पृथ्वीले सूर्यलाई परिक्रममा गर्नु अहिलेसम्मको अन्तिम सत्य हो कि होइन ?’ भनी प्रश्न सोध्नुभएको छ । उहाँले ‘के अबका दिनमा पृथ्वीलाई सूर्यले घुम्ला ?’ भनी अर्को प्रश्न पनि सोध्नु भएको छ ।
पृथ्वीले सूर्यलाई गरिरहेको परिक्रमाबारे अहिलेको ब्याख्या पूर्ण र अन्तिम नहुन सक्छ । तर, यसो भन्नुको अर्थ भोलि ‘सूर्यले पृथ्वीलाई घुम्छ’ भन्ने निष्कर्ष नै निक्लने छ भन्ने होइन ।

सोह्रौं शताब्दीमा महान् वैज्ञानिक निकोलस कोपर्निकसले पृथ्वीलगायत सम्पूर्ण ग्रहहरुले सूर्यलाई परिक्रम गर्छन् भन्ने विचार ल्याए । त्यस अघिसम्म मानिसहरुले डेढहजार वर्ष पहिले अरस्तुले अगाडि ल्याएको र त्यसको पाँचसय वर्षपछाडि गणितज्ञ टोलेमीले पुनः ब्याख्या गरी पछ्याएको ‘सूर्य तथा सम्पूर्ण ग्रह नक्षत्रहरुले पृथ्वीलाई परिक्रमा गर्छन्’ भन्ने विचारलाई सत्य मान्दै आएका थिए । कोपर्निकसको विचार क्रान्तिकारी थियो । त्यसैले उनको विचारले विज्ञानको क्षेत्रमा ठूलो तहल्का नै मच्चायो ।

कोपर्निकसले ग्रहहरुले आ–आफ्नो वृत्ताकार बाटोमा रही सूर्यलाई परिक्रमा गर्छन् भन्ने कुरा गणितद्वारा प्रमाणित गरिदिए ।

तर कोपर्निकसको विचार आंशिक सत्य मात्र भएको कुरा सोह्रौं र सत्रौं शताब्दीका अर्का महान वैज्ञानिक जोहान केपलरले पत्ता लगाए । केपलरले ग्रहहरुको बाटोको सम्बन्धमा कोपर्निकसले भनेझैं ठीक वृत्ताकार नभई तिनीहरु दीर्घ वृत्ताकार अथवा अण्डाकारको रुपमा रहेको कुरा पत्ता लगाए ।

जोहान केपलर र ग्रहहरु ।

केपलरको ब्याख्या पनि पूर्ण र अन्तिम भएन । किनकि केपलरले ग्रहहरुले सूर्यलाई किन परिक्रमा गर्छन् भन्ने कुरा बताएनन् । सत्रौं शताब्दीमा आएर मात्र वैज्ञानिक न्यूटनले केपलरले अपूर्ण छोडेको कुरा पूरा गरिदिए । उनले ग्रहहरुले सूर्यलाई परिक्रमा गर्नुमा गुरुत्वाकर्षण शक्ति जिम्मेबार छ भनी प्रमाणित गरिदिए ।

न्यूटनपछि सयौं वर्षसम्म ग्रहहरुले सूर्यलाई परिक्रमण गरिरहेको बारे न्यूटनले अगाडि राखेका कुराहरुलाई नै अन्तिम र पूर्ण सत्यको रुपमा मानिसहरुले लिँदै आए । तर, बीसौं शताब्दीमा आएर यस सम्बन्धमा नितान्तै नयाँ र भिन्न विचार अगाडि आयो । त्यो विचार महान वैज्ञानिक अल्बर्ट आइस्टाइनले ल्याएका हुन् । आइन्स्टाइनले सन् १९१६ मा बाहिर प्रकाशमा ल्याएको ‘सामान्य सापेक्षताको सिद्धान्त’ अनुसार गुरुत्वाकर्षण शक्तिको कारणले ग्रहहरुले सूर्यलाई परिक्रमा गर्ने नभई अन्तरिक्षको आकार नै वक्र भएको कारणले गर्दा वक्र सतहमा छोटो बाटो पछ्याउँदै जाने क्रममा ग्रहहरुले सूर्यलाई परिक्रमा गर्न पुगेका हुन्छन् । उनका अनुसार अन्तरिक्ष, पहिले विश्वास गरिएझैं चेप्टो नभई यो वक्र छ ।

न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्तले सूर्यको सबभन्दा नजीकको बुध ग्रहको गति र त्यसको व्यवहारबारे सही ब्याख्या गर्न सकिराखेको थिएन । तर, आइन्स्टाइनको ‘सामान्य सापेक्षताको सिद्धान्त’ले बुध ग्रहको गति र व्यवहारलाई उपयुक्त ढंगले ब्याख्या गर्न सम्भव भयो ।

बक्र अन्तरिक्ष र सौर्य परिवार ।

यसरी खगोल विज्ञानको इतिहास हेर्दा लगातार नै एक समयमा पूर्ण सत्यजस्तो देखिएको विचार अर्को समयमा आउँदा त्यो आंशिक सत्यमात्र भएको तथ्य पत्ता लाग्दै आएको देखिन्छ । त्यसैले वर्तमान समयमा पूर्ण र सत्यजस्तो देखिएको कुनै पनि वैज्ञानिक तथ्य पनि भोलि गएर अपूर्ण सावित हुनेछ भन्ने कुरा हामी अनुमान लगाउन सक्छौं ।
मेरा मित्रले पृथ्वीको स्वरुपबारे पनि कुरा उठाउनु भएको छ ।

वैज्ञानिकहरुले के कुरा पत्ता लगाएका छन् भने, ४१/२ अरब वर्ष पहिले धुलाका कणहरु जोडिँदै निर्माण हुँदादेखि अहिलेसम्म पृथ्वीको सतहमा लगातार परिवर्तन हुँदै आइरहेको छ । शुरुमा त पृथ्वी अत्यन्तै तातो गोलो थियो । पहिले पृथ्वीमा न वायुमण्डल थियो न त सतहमा सागरहरु नै थिए । ती सबै पृथ्वी चिसिँदै गएपछि बनेका हुन् ।
बैज्ञानिहरुका अनुसार करोडौं वर्ष पहिले अहिलेका सबै महादेशहरु एकै ठाउँमा जोडिएका थिए । पृथ्वीको सतह विभिन्न भू–खण्डहरु मिलेर बनेको छ । यी भू–खण्डहरु लगातार सरिरहेका छन् । भू–खण्डहरु सर्ने क्रमममा नै करोडौं वर्ष पहिले एकै ठाउँमा जोडिएर रहेका महादेशहरु अहिले छुट्टिएर अलग रहन पुगेका छन् । अहिले पनि यी भू–खण्डहरु सरिरहेका छन् । २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पको कारण पनि यही भू–खण्डहरुको सराई नै हो । त्यसैले करोडौं वर्ष पछाडिको पृथ्वीको कुरा गर्ने हो भने त्यो अहिले जस्तो अवश्यै थिएन । त्यसैले पृथ्वीको अहिलेको स्वरुप अन्तिम स्वरुप होइन । र, त्यस्तो अन्तिम स्वरुप भविष्यमा पनि कहिल्यै हुनेछैन ।

२ जोड २ बाट ४ हुन्छ । यो सत्य हो । तर यो सत्य आफैं पूर्ण छैन । किनकि यो एउटा विशुद्ध अंकगणितीय तर्क मात्र हो । यसको अर्थ उस्तै दुई बराबर परिमाण अर्को उस्तै दुई बराबर परिणामसँग जोड्दा उस्तै चार बराबर परिमाण हुन्छ भन्ने हो । तर, यो अंकगणितीय तर्क विज्ञानका अन्य क्षेत्रहरुमा एउटै किसिमले लागु नहुन सक्छ । जस्तो कि सामाजिक विज्ञानमा मानवीय व्यवहारको कुरा गर्ने हो भने दुईजना उत्तिकै बलबान मानिसहरुले जति मात्राको काम गर्छन्, तिनीहरुमा अर्को उत्तिकै बलबान दुईजना मानिसहरु थपिँदा उनीहरु सबैले गर्ने कामको मात्रा ठीक दोब्बर नै हुन्छ भन्ने हुँदैन । त्यो दोब्बरभन्दा कम वा बढी पनि हुन सक्दछ । दुईजना मन परेका मान्छे थपिएमा सबैजना उत्साहित भएर चारैजनाले सामान्यतया गर्नेभन्दा बढी काम हुन पनि सक्छ । अथवा मन नपर्ने मान्छे थपिएमा चारै जनालाई दिक्क लागेर सामान्यतया चारजनाले गर्न सक्नेभन्दा कम मात्र काम पनि हुन सक्छ । समाज विज्ञानले यो कुरालाई प्रष्टसँग स्वीकारेको पनि छ । त्यसैले २ जोड २ बराबर ४ लाई सबै क्षेत्रमा लागु हुने निरपेक्ष सत्यको रुपमा लिन मिल्दैन ।

मेरा मित्रले उठाउनु भएको सबभन्दा महत्वपूर्ण टिप्पणी समयसापेक्ष हुन्छ कि निरपेक्ष हुन्छ भन्ने सवाल हो । उहाँ प्रश्न गर्नुहुन्छ, जसलाई हामीले माथि पनि उल्लेख गरिसकेका छौं– “जुम्ल्याहा २० वर्षे युवाहरुमध्ये एकलाई ९९.९९ प्रतिशत प्रकाशको गतिमा अन्तरिक्षमा पठाउँदा ५० वर्षसम्म ऊ कसरी साढे २० वर्ष उमेरको मात्र हुनसक्छ ? अन्तरिक्षमा पठाइरहँदा मान्छेको शारीरिक बनावटमा पो परिपक्वता र परिवर्तन नहोला के त्यसकै आधारमा समय नै रोकियो वा ५० वर्ष ढीलो भयो भन्न मिल्छ ? समय त समान गतिमा कुदेकोकुद्यै, दिनपछि रात, रातपछि दिन त भएकोभयै हुन्छ नि हैन ? के बिग्रेको घडीको सूई नघुम्दैमा समय नै रोकियो, या ५० वर्ष अघिको मान्छे नै केबल ६ महिना बढीको उमेरको भयो भन्न सकिन्छ ?”

प्रिय मित्र, हामीहरुमध्ये अधिकांशको धारणा के रहेको छ भने समय निरपेक्ष छ । अर्थात् समय जुनसुकै स्थान र जस्तोसुकै अवस्थामा पनि एउटै हुन्छ । विज्ञानमा सत्रौं शताब्दीका महान् वैज्ञानिक सर आइज्याक न्यूटनको पनि यही धारणा रहेको थियो ।

तर, सयम निरपेक्ष हुन्छ भन्ने कुरो सत्य होइन भनेर बीसौं शताब्दीमा अर्का महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले प्रमाणित गरिदिए ।

समयको कुरो गर्दा यो के हो र यसको मापन कसरी हुन्छ भन्ने सवाल उठ्दछ ।
सामान्यतया हामी के देखिराखेका छौं भने, बिहान घाम उदायो, दिन शुरुभयो र साँझ घाम अस्ताएपछि रात शुरुभयो । त्यस्तै गरी भोलिपल्ट घाम उदाउँदा फेरि अर्को दिन शुरु हुन्छ । र, यो क्रमले दिनहरु हिजोबाट आज, आजबाट भोलि हुँदै बित्दै गएर हप्ता, महिना र वर्ष बित्न पुग्छ । यसबाट हामी एक खालको समयलाई अनुभूत गर्दछौं ।

समयको यही रुपलाई मात्र लिंदा पनि समय एउटै छैन । जस्तो कि पृथ्वीमा रहनेहरुको लागि दिन र रात जति लामो हुन्छ चन्द्रमा, मंगल ग्रह वा अन्य ग्रहहरुमा रहनेहरुको लागि दिन र रातको लम्बाइ त्यति नै हुँदैन । किनकि आफ्नो धुरीमा रही पृथ्वीले जुन गतिमा आफ्नै फन्का मार्छ, चन्द्रमालगायत अन्य ग्रहहरुले त्यही गतिमा मार्दैनन् । त्यसैले पृथ्वीभन्दा बाहिर अन्य ग्रह–उपग्रहहरुमा दिन र रात पृथ्वीमा भन्दा फरक हुन्छ । दिन र रात समयको एउटा रुप भएकोले समयको स्थानसँग अभिन्न नाता रहेको बुझिन्छ ।

अर्कोकुरा, पृथ्वीभित्रकै कुरा गर्ने हो भने पनि करोडौं वर्ष पहिलेको पृथ्वीको एकदिन, एकरातको लम्बाइ र अहिलेको एकदिन, एकरातको लम्बाइ फरक भइसकेको छ । किनकि करोडौं वर्ष पहिले पृथ्वीले आफ्नो धुरीमा जुन गतिमा आफ्नै फन्को माथ्र्यो अहिले त्यही गतिमा मार्दैन । र, यो अझै क्रमशः परिवर्तित हुँदै गइरहेको छ । वैज्ञानिकहरुले के पत्ता लगाएका छन् भने करोडौं वर्ष पहिले पृथ्वीको एकदिन एकरात अहिलेको समयको इकाईको हिसाबबाट गणना गर्दा त्यो २४ घण्टा नभई २१ घण्टाको मात्र थियो ।

यसबाट अतीतदेखि वर्तमानसम्मको कुरा गर्दा समय सँधै एउटै रहेन भन्ने निष्कर्ष निस्कन्छ । यसले समय निरपेक्ष होइन यो सापेक्ष हुन्छ भन्ने हामीलाई अनुभूत गराउँदछ ।
समयभित्र हेर्दा घटनाहरुको श्रृंखलावद्ध गति देखिन्छ । र, त्यही गतिले हामीलाई समयको अनुभूति दिन्छ ।

अघिल्लो र पछिल्लो घटनाको ब्याख्याले गतिलाई जन्म दिन्छ । र, गतिले समयलाई जन्म दिन्छ । त्यसैले गति र समयको बीचमा अन्योन्याश्रित सम्बन्ध छ ।

घडीमा समयको सबभन्दा सानो इकाई सेकेण्ड हो । एक सेकेण्ड समयमा प्रकाश ३ लाख किलोमिटर हिँड्छ ।
वैज्ञानिकहरु अल्बर्ट माइकेल्सन र इडवार्ड मोर्लेको ‘माइकेल्सन–मोर्लेको परीक्षण’ नामले विश्वप्रसिद्ध परीक्षणको नतिजाको आधारमा महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले प्रकाशको गतिको सवालमा एउटा महत्वपूर्ण सिद्धान्त अगाडि ल्याए । त्यस सिद्धान्तअनुसार अवलोकनकर्ताहरु जुनसुकै गतिमा रहेका भएपनि सबैले प्रकाशको गति एउटै भएको पाउँछन् । अर्थात् प्रकाशको गति प्रतिसेकेण्ड ३ लाख किलोमिटर नै हुन्छ ।
अल्बर्ट आइन्स्टाइनको यो सिद्धान्त उनको विश्वप्रसिद्ध विशेष सापेक्षता सिद्धान्त (theory of special relativity) को एउटा महत्वपूर्ण भाग हो ।

प्रकाशको गति अवलोकनकर्ताको गतिसँग भर नपर्ने अर्थात् त्यो निरपेक्ष हुने तथ्यलाई आधार बनाई आइन्स्टाइनले आफ्नो ‘विशेष सापेक्षताको सिद्धान्त’मा के ब्याख्या गरे भने, बढी गतिमा रहेको व्यक्तिले कम गतिमा रहेको व्यक्तिले भन्दा समय ढीलो चलेको अनुभूत गर्दछ ।

आइन्स्टाइनले उदाहरण दिएका छन्– मानौं तीब्र गतिमा चलेको एउटा रेलमा यात्रा गरिरहेको एक व्यक्तिले रेलको सिलिङ्गमा रहेको बत्तीबाट निस्केको प्रकाश भुइँमा राखिएको ऐनामा ठक्कर खाई पुनः बत्तीसम्म फर्कन लाग्ने समय नाप्दैछ । ऊ के देख्दछ भने प्रकाश सिधा तल जान्छ र पुनः सिधा माथि फर्कन्छ ।

रेलभित्रको मान्छेले प्रकाश सिधा तलमाथि गरेको दूरीको अनुभव गर्छ भने रेल बाहिरका मान्छेले रेलभित्र तलमाथि गरेको प्रकाश तेर्सो तल-माथि-तल गरेको अनुभूति गर्दछ ।

अर्को एक व्यक्ति रेलभन्दा बाहिर जमीनमा बसी रेलभित्रको त्यही प्रकाश सिलिङ्गबाट तल भुईंको ऐनासम्म पुग्न र ऐनाबाट बत्तीसम्म फर्कंदाको समय नाप्दैछ । आइन्स्टाइन के भन्छन् भने, रेल बाहिरको व्यक्तिले जसरी रेलभित्रको व्यक्ति, बत्ती र ऐना अगाडि सरेको देख्छ, त्यसरी नै बत्तीबाट निस्केको प्रकाशले सिधा तल जाने र सिधा माथि फर्कंने नगरी त्यसले रेलको भुईंमा विकर्णरुपी (Diagonal) छड्के रेखा कोर्दछ । तसर्थ उसको अवलोकनमा प्रकाशले पार गर्ने दूरी बढी हुन्छ ।

तर, सत्य तथ्य के छ भने प्रकाशको गति सँधै समान हुन्छ । तसर्थ रेलको सिलिङ्गमा रहेको बत्तीको प्रकाश तल भुईंमा रहेको ऐनामा ठक्कर खाई पुनः बत्तीसम्म फर्कंदाको समय रेलभित्र यात्रा गरिहेको व्यक्तिले भन्दा बाहिर जमीनमा रहेको व्यक्तिले बढी भएको अनुभूत गर्दछ ।

त्यसैले बाहिर जमीनमा रहेको व्यक्तिको तुलनामा त्यस गतिशील रेलभित्र रहेको व्यक्तिको लागि समय ढीलो चल्छ ।

अल्बर्ट आइन्स्टाइनले आफ्नो विश्वप्रसिद्ध ‘सापेक्षताको सिद्धान्त’मा गणितको सहारामा प्रमाणित गरिदिएको एउटा महत्वपूर्ण कुरो यही हो कि ‘भ्याकुम’ (Vacuum) मा प्रकाशको गति बाहेक निरपेक्ष मान्ने चीज केही छैन । न्यूटनले स्थान वा अन्तरिक्ष (Space) लाई सापेक्ष माने पनि समयलाई सापेक्ष मानेका थिएनन् । तर, आइन्स्टाइनले समयसमेत पनि सापेक्ष छ भन्ने कुरा प्रमाणित गरिदिए ।

माथि भनिसकियो आइन्स्टाइनले देखाएअनुसार कम गतिमा रहँदा भन्दा बढी गतिमा रहँदा समय ढीलो चल्छ । कति बढी गतिमा कति समय ढीलो चल्छ भन्ने कुरो गणितबाट हिसाब गरेर निकाल्न सकिन्छ । अहिलेको विज्ञानमा यो नौलो र जटील विषय बन्न छोडिसकेको छ । वैज्ञानिकहरुले ‘सापेक्ष समय’ पछिल्लो भौतिक विज्ञानको निष्कर्षको रुपमा लिएका छन् ।

बीस वर्षे जुम्ल्याहा दुई युवाहरुमध्ये एक जनालाई ९९.९९ प्रतिशत प्रकाशको गतिमा अन्तरिक्षमा पठाउँदा ऊ साढे २० वर्षको हुँदा ऊ सँगै जन्मेर ५० वर्षपहिलेदेखि पृथ्वीमा रही रहेका अर्को युवा भने ७० वर्षको बूढो मान्छे भइसक्छ । त्यसो भन्नुको अर्थ माथि उल्लेखित गतिमा रहँदाको ६ महिनाको समय र पृथ्वीको ५० वर्षको समय एउटै हो भन्नु हो । त्यसैले त्यस कुरालाई तर्कको तहमा नै बुझ्नुपर्छ । सत्य के हो भने अहिलेको वैज्ञानिक विकासको धरातलमा त्यो तर्कको रुपमा आएको उदाहरणलाई व्यवहारमा परीक्षण गर्नसक्ने स्थिति छैन ।

अन्तरिक्षमा जानुअघि र गएर फर्कँदा दुई जुम्ल्याहा युवाहरुको अवस्था । अन्तरिक्ष यात्राको ५० वर्षपछि पनि यात्रामा जाने साढे २० वर्षे जवान, अर्को चाहिँ ७० वर्षे बूढो ।

तर, वैज्ञानिकहरुले आइन्स्टाइनको ‘बढी गतिमा रहँदा समय ढीलो चल्छ’ भन्ने सिद्धान्तलाई अन्य परीक्षणहरुबाट पुष्टी गरिसकेका छन् । जस्तो कि, वैज्ञानिकहरुले अत्यन्तै ठीक समय दिने दुई पारमाणिक घडीहरु लिएर एउटालाई सुपरसोनिक जेट बिमानमा राखिपठाए र अर्कोलाई जमीनमै राखिराखे । पछि सुपरसोनिक जेट विमानमा रहेको घडी र पृथ्वीको सतहमा अचल अवस्थामा रहेको घडीको समय दाँजेर हेर्दा पहिलो घडी पछिल्लो घडीभन्दा केही ढीलो भएको पाइयो ।

तर, त्यो घडी मेरा मित्रले भने जस्तै बिग्रेको घडी वा जेटमा राखिपठाएपछि बिग्रन गएको घडी होइन ।
माथि भनिसकियो कि घटनाहरुको क्रमिक श्रृंखला नै गति हो र गतिले नै समयको अनुभूत गराउँदछ । यहाँ घटना भनेपछि ठूला–ठूला देखिने घटनाहरुलाई मात्र बुझ्नु बेठीक हुन्छ । परमाणुभित्र कणहरुको गतिविधि पनि घटना नै हो । प्रकाशको गतिको दाँजोमा आउने वस्तुको अणु परमाणुभित्रका सम्पूर्ण गतिविधिमा फेरबदल आउन सम्भव छ र त्यसले त्यस वरपरका सम्पूर्ण घटनाहरुलाई प्रभावित गरेको हुन्छ । र, यही कारणले गतिअनुसार घडीले फरक समय देखाउने मात्र होइन कि साँच्चै नै समयको चालमा नै फेरबदल आएको हुन्छ ।

मेरा मित्रले ‘तातेको तावामा हात राख्दा’ र ‘प्रियसीसँग गफ गर्दा’को समयलाई तुलना गरी २ मिनेट र २ घण्टा समय एकैझैं हुन्छ भनेर आइन्स्टाइनले दिएको उदाहरण भ्रमपूर्ण निष्कर्ष हो भन्नुभएको छ । प्रिय मित्र, तपाईंको कुरो गलत होइन । तर, आइन्स्टाइनले त्यो उदाहरण २ मिनेट र २ घण्टा समय साँच्चैकै एकै भयो भन्न खोजेका होइनन् । उनले त समयको अनुभूति सापेक्ष हुन्छ भन्ने कुराबाट साधारणभन्दा साधारण मान्छेलाई पनि समयको सापेक्षता बुझाउनको निम्ति मात्र त्यो उदाहरण प्रस्तुत गरेका हुन् । आखिर सामान्य व्यवहारमा अनुभूतिले नै त समयको मापन गरिन्छ नि ! होइन र ?

सामाजिक व्यवहारमा पनि आइन्स्टाइनको ‘सापेक्षताको सिद्धान्त’ लागु हुन्छ । जस्तो कि ‘सुशीलले २५ वर्षमा पि.एच.डि. गरे । तर, प्रतापले बल्ल ४५ वर्षमा पि.एच.डि. गरे’ भन्ने कुरालाई विश्लेषण गर्दा सुशीलको २५ वर्ष र प्रतापको ४५ वर्ष बराबर भएको बुझिन्छ । त्यसैले पि.एच.डि. पास गर्नु घटना र वर्ष भनेको समय भएकाले एउटै घटनाका लागि सुशीलको घडी ढीलो र प्रतापको घडी चाँडो भयो । किनकि सुशीलको गति (पढाइको गति) बढी छ र प्रतापको ढीलो छ ।

द्वन्द्ववादी दर्शनले कुनै पनि कुरालाई गतिमा हेर्न सिकाउँछ । हरेक कुरा गतिमा रहन्छ भने हरेक कुरालाई सापेक्षतामा नै बुझ्नु सही हुन्छ । आइन्स्टाइनले समयसमेत पनि सापेक्ष हुने कुराको उजागर गरेर उनले द्वन्द्ववादी दर्शनलाई नयाँ उचाइ प्रदान गर्न मद्दत गरेका छन् ।

तर, के कुरा बुझ्नु जरुरी छ भने, आइन्स्टाइनको ‘सापेक्षताको सिद्धान्त’ हाम्रो दैनिक व्यवहारमा भन्दा पनि ब्रम्हाण्डका रहस्यमय जटील प्रश्नहरु तथा दार्शनिक सत्यहरुलाई पुष्टी गर्न बढी उपयोगी देखिन्छ । 

(Visited 214 times, 1 visits today)

टिप्पणी

comments