Main Menu

रौतामाईको फ्याटुङ र डिल्लीबर गाउँमा पुग्यो विजुली

पुस २१, गाईघाट, उदयपुर

जिल्लाको रौतामाई गाउँपालिकाको मध्यविकट पहाडी गाउँ फ्याटुङ र डिल्लीबरमा पहिलोपटक स्थानीय खोलाबाट उत्पादित बिजुलीले गाउँ झिलीमिली भएको छ ।

तीन महिनाअघि स्थानीय फलामे खोलाबाट २ किलोवाट विद्युत् उत्पादन भई दुईदिनदेखि सो गाउँमा निरन्तर बिजुली बल्न थालेपछि गाउँघर नै झिलीमिली भएर रातको समयमा अन्धकारमय गाउँ उज्यालोमा परिणत भएको रौता–८ का जितबहादुर मगर बताउँछन् ।

जिल्लाको प्रायः सबै गाउँघरमा विद्युत्को पहुँच पुगे पनि लामो समयदेखि रौतामाई गाउँपालिका–८ स्थित फ्याटुङ र डिल्लीबरवासी लामो समयदेखि कुपी बालेर रात कटाउनु पर्ने बाध्यता हटेको स्थानीयवासी कुमारी मगरले बताइन् । अहिले गाउँको खोलाबाट विजुली उत्पादन भएपछि रात पनि दिन जस्तै भएको उनको भनाइ छ ।

करिब रु. १५ लाख ७१ हजारको लगानीमा फलामे खोलाबाट पावरहाउस निर्माण भएपछि अब गाउँमा बिजुली बाल्न, मोबाइल चार्ज गर्न रेडियो, टिभी सुन्न र हेर्नसमेत सहज भएको डिल्लीबरका हेमराज खत्री बताउँछन् ।

यस्तै गाउँको स्थानीय विद्यालयमा अब कम्प्युटर शिक्षा सञ्चालन गर्नसमेत सहज भएको रौता पञ्चकन्यामाई प्राथमिक विद्यालयका शिक्षक राजन कार्की बताउँछन् ।

वोरेक नेपाल तथा सामाजिक परिचालन ग्रामीण प्रविधि सेवा केन्द्रको प्राविधिक सहयोग र जिआइजेड तथा रौतामाई वडा नं. ८ र स्थानीय उपभोक्ताको आर्थिक लगानीमा उक्त विद्युत् उत्पादन गरिएको उपभोक्ता समितिका अध्यक्ष शुरबहादुर मगरले जानकारी दिए ।

आफ्नै परिश्रम र लगानीबाट अँध्यारो रहेको गाउँमा पहिलोपटक बिजुली बाल्न पाएका कारण आफूहरुले साँच्चिकै विकासको महसुस गरेको स्थानीयवासी राजकुमार आले मगरको धारणा छ ।

३४ घर परिवार रहेको उक्त दुईगाउँमा विद्युत्बाट गाउँमा नै पहिलोपटक घट्टासमेत सञ्चालन गरिएको उपभोक्ता समितिका अध्यक्ष मगर बताउँछन् ।

(Visited 8 times, 1 visits today)

टिप्पणी

comments