Main Menu

‘नेपालमा वर्ण व्यवस्थामा आधारित पुँजीवाद आइरहेको छ’ – अाहुति

कवि तथा लेखक आहूति, नेपालको सौन्दर्य, संस्कृति र दलित आन्दोलनसँग जोडिएका अभियन्ता हुन् । उनका ‘नयाँ घर’ उपन्यास र ‘गहुँगोरो अफ्रिका’ कवितासंग्रह चर्चित छन् । नेपालको साहित्य र समाजमा वर्ण व्यवस्थाका प्रभाव र दलितको स्थानबारे उनीसँग यज्ञशले गरेको कुराकानी :

अाहुति

अाहुति

झापा साहित्य महोत्सवमा तपाईंले हाम्रो सौन्दर्य चिन्तनमा जाति र वर्ण व्यवस्था कसरी घुसेको छ भन्ने केही उदाहरण दिनुभएको थियो । ‘दलितकी छोरी राम्री भई भने पनि त्यसलाई, यो त दलितजस्ती छैन’ भन्छन् भन्ने तपाईंको भनाइ थियो । समाजको मुख्य धारामा यो चिन्तन कसरी छिर्‍यो ?

नेपाली समाजको अहिले जुन खालको वर्गीय संरचना र सौन्दर्य मूल्यसम्बन्धी संरचना छ यसको एउटा चरण पृथ्वीनारायण शाहको राज्य विस्तारबाट सुरु हुन्छ । त्यसबेला राज्यलाई एक जाति र एक धर्मको बनाउने प्रक्रिया सुरु भएको थियो । तर, त्यो सौन्दर्यको मूल्यको स्तरमा पुगेको थिएन । त्यो स्तरमा पुर्‍याउने काम जंगबहादुरले गरे । १९१० सालमा उनले ल्याएको मुलुकी ऐन नेपालको कानुनी इतिहासमा सबैभन्दा मिहिनेत गरेर ल्याइएको ऐन हो । यसमा स–साना कुराहरू पनि जात व्यवस्थाअनुसार ल्याइएको छ । कसले कसको जुठो खान हुने, कसले कसको खान नहुने, कसले भाउजू बिगारे के गर्ने, कसले बिगार्दा के गर्ने भन्नेमा ५–१० रुपैयाँसम्म पनि फरक ढंगको वर्ग व्यवस्थामा आधारित कानुनी व्यवस्था यो ऐनले सुरु गर्‍यो । त्यहाँदेखि सौन्दर्य मूल्यहरू र वर्गको निर्माण हुँदै आयो र त्यसले २०१७ सालसम्म निरन्तरता पायो ।

तपाईंको भनाइको अर्थ जाति र वर्णको व्यवस्थालाई कानुनी रूपमा संस्थागत गर्ने काम जंगबहादुरले गरे ? 

सुरुआत त पृथ्वीनारायणकै पालामा थियो तर त्यो राज्यको हुकुमी तहसम्ममात्र थियो । कानुन, संस्कार र संस्कृतिसम्म त्यो लागू भएको थिएन । त्यहाँसम्म पुर्‍याउने काम जंगबहादुरले गरे । यसको दोस्रो चरण २०१७ मा राजा महेन्द्रको नेतृत्वमा देशलाई संगठित गर्ने अभियानमा आयो । पृथ्वीनारायणबाट सुरु भएको संरचनाको अन्तिम, सबैभन्दा व्यापक र घनीभूत कडीको रूपमा महेन्द्र शासनलाई लिन सकिन्छ । जसले सौन्दर्यको मूल्य, सौन्दर्य दृष्टिदेखि लिएर शब्दहरूसमेत निर्माण गर्‍यो । त्यसमा हिन्दु, जुन हिमालको पनि होइन, चुरेभन्दा मुनिको पनि होइन, त्यो बीचको मान्छेको गहुँ गोरो सौन्दर्य नै सुन्दर भनेर चिनिए । पृथ्वी नारायणका पालामा सुरु भएको संरचनाको एक प्रकारको चक्र महेन्द्र कालमा पूरा भयो ।

नेपाली समाजमा वर्ग निर्माणको आधार त्यही संरचना हो भन्ने तपाईंको भनाइ हो ?

अहिले आर्थिक रूपमा जुन वर्ग समृद्ध देखिन्छ, त्यो उत्थान पृथ्वीनारायण शाहको एकीकरणपछि र जंगबहादुरको मुलुकी ऐनपछि नै तयार भएको देखिन्छ । उनीहरूले जागिर, आफ्ना कर्मचारीलाई बिर्ता, नजराना, बक्सिस दिने काम गरे । जमिनको बाँटफाँट पनि खास परिवार, खास मान्छेलाई दिने काम गरे । हुँदाहुँदा उनीहरूले त जातै फेरिदिन्थे ।  वर्गको निर्माणमा वर्ण व्यवस्थाको जबरजस्त प्रभाव छ । त्यसका अपवादहरू पनि छन् । हिन्दु समाजका मारवाडी, जनजातिमा थकाली र मधेसी समाजमा कायस्थ अपवाद हो । अपवाद छोडेर हेर्ने हो भने वर्गको जग वर्ण व्यवस्थामा आधारित छ । पृथ्वीनारायणबाट सुरु भएर जंगबहादुर हुँदै महेन्द्रसम्म आइपुग्दा वर्णमा आधारित वर्ग तयार हुन्छ । त्यसपछि निर्माण भएका छन्– होचो मान्छेलाई हेला गर्ने, कालो नराम्रो, महिला कमजोर भन्ने कुराहरू । सीता त महान् भइन् तर रूख चढ्ने तामाङ महिलाको कतै चर्चा भएन ।  मेरै घरको उदाहरण छ । सानो दाइको विवाहको कुरा थियो । उसले केटी हेरेर आयो । मन पर्‍यो । आमाले कतै मेलामा हेरेर भन्नुभयो, ‘बाँसजस्ती सिनट्याङ्ग्री छ केटी त्यसले कसरी काम गरेर खान्छे ?’ मेरो दाइ हिन्दी सिनेमा हेर्ने मान्छे । उसलाई हेमा मालिनी र बैजयन्ती मालाजस्ता केटी राम्रा लाग्थे । उसलाई त्यस्तै सुन्दर लाग्थ्यो । तर, हाम्रो परम्परागत समाज श्रममा आधारित थियो, यसैले आमालाई काम गर्न सक्ने हृष्ठपुष्ट चाहिएको थियो । भनेपछि हाम्रा विम्ब, प्रतीक र मान्यताहरूले पनि विभेद बोक्छन् ?हो । सुन्दरमा मात्रै होइन । तपाईं बोक्सी भनिने कुराको उदाहरण लिनुस् । सामान्यत: पुरुषलाई बोक्सो भनिंदैन, साह्रै गरिब भएमात्र हो, नत्र महिलालाई नै यो लाञ्छना लगाइन्छ । त्यसमा पनि कर्नेलकी बुहारीलाई बोक्सी भनिँदैन । माथिल्लो वर्ग वा जातिको मान्छे बोक्सी हुँदैन । जस्तोलाई नराम्रो भन्ने गरिएको हो, त्यस्तो मान्छेलाई हाकै भनिन्छ नि दमाईजस्तो, पोडेजस्तो । हुँदाहुँदा पहाडको दमाईलाई गाली गर्दा पनि ‘डुमजस्तो’ भनिदिने । म त हाम्रा कैयौं उत्पीडितहरूको पक्षमा लेख्ने लेखकहरूमा पनि यसको प्रभाव देख्छु । खगेन्द्र संग्रौलाको एउटा कथा छ, संग्रामबहादुर सार्की । शीर्षक शानदार, कथा पनि राम्रो । तर उहाँले लेख्नुभयो, ‘संग्रामे स्कुल जाँदै थियो ।’ लेखकले नै भनिदियो– संग्रामे स्कुल जाँदै थियो, भित्रको कुनै पात्रले होइन । पात्रले जे पनि भन्न सक्छ तर कथाकार आफैंले भनेपछि यो थाहा नै नपाईकन प्रकट हुने स्तरमा पुगेको बुझिन्छ । यसको प्रभाव पर्नुको पछाडि नेपालका अधिकांश समाजशास्त्रीहरू इमानदार भएनन् ।

त्योचाहिँ कसरी ? 

समाजको यस प्रकारको मनोविज्ञान निर्माणका पछाडि के–के कारण थिए त्यो समाजशास्त्रले भनिदिनुपथ्र्यो । तर, हाम्रा समाजशास्त्रीले सकेसम्म यो कुरा उठाउनै चाहेनन् । डोरबहादुर विष्ट त भाग्नुभयो । उहाँले ‘सबै जातको फूलबारी’ लेख्नुभयो । त्यहाँ अछूत बनाइएका जातहरूबारे कुनै चर्चा छैन । जसले ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट’ लेख्यो त्यो स्तरको समाजशास्त्रीले अध्ययनमा दलितलाई सामेल नै नगर्ने ? हिन्दु समाजमा सामाजिक संगठनको स्वरूप भनेर किताब लेख्दा वर्ण व्यवस्था भनेको त्यति बेलाको अनिवार्य श्रम विभाजन थियो भनेर लेखियो । यसका राम्रा कुरा के–के थिए भनेर त्यसको अपव्याख्या, अतिरञ्जना गरेर पाठ्यक्रममा राखियो ।  पछि दलितहरूबारे उल्लेख गर्नैपर्ने बाध्यात्मक अवस्था आएपछि अछूतहरूलाई कवि माधव घिमिरेले लेखे, ‘ईश्वरको सन्तान, मान्छेको भाइ ।’ विभेदको ठाउँअनुसार मात्राचाहिँ फरक छ । जति तराई मधेसमा जानुहुन्छ, धेरै व्यक्त हुन्छ, भेरी नदी काटेर पश्चिमतिर गएपछि अझ बढी व्यक्त हुन्छ । पूर्वतिर गएपछि केही कम हुन्छ तर निमिट्यान्नचाहिँ हुँदैन ।

तपाईं काठमाडौंको मान्छे । उपत्यकामा चाहिँ जाति र वर्ण व्यवस्थामा कस्तो परिवर्तन आएको छ ? 

यही उपत्यकामा जन्मिएर मैले ४ दशक उमेर पूरा गरें । धेरैलाई राजधानीमा त विभेद छैन होला भन्ने लाग्छ । तर, मेरो अनुभवमा राजधानीमा वर्ण व्यवस्था सबैभन्दा कठोर छ, अहिले पनि । त्यसमा सबैभन्दा पिंधमा जाने हो भने नेवार जातिमा सबैभन्दा बढी देखिन्छ । उनीहरू आफैं वर्ण व्यवस्थाका माथिल्ला होइनन् । सहरीकरण, बजारीकरण र ज्याला प्रणालीका कारण केही खुकुलो भएजस्तो देखिन्छ । यहाँ आएर बस्यो भने कसले चिन्ने ? सबै कारोबार पैसाको हुने भएपछि अलि खुकुलो भएको हो ।

भनेपछि सहरमा सामान्तवादबाट पुँजीवादतर्फ लागेपछि खुकुलो हुन थाल्यो ? 

हो । मैले जुन स्कुलमा पढें, ९ वर्षसम्म मैले त्यो स्कुलमा पानी खाइनँ । सबैले पानी खाने ठाउँमा मैले पनि खान सम्भव थिएन । नैकापको विद्या मन्दिर स्कुल हो । स्नेह सायमीहरूले पढाउनुहुन्थ्यो । म कहिल्यै दोस्रो नभएको विद्यार्थी हुँ । अन्तिममा एसएलसी दिएपछि मैले स्कुलको गाग्रो फुटाइदिएर हिँडेको हुँ । किनभने, त्यहाँ फर्केर जानुपर्ने थिएन । घर–गाउँमा पनि हामीले प्रयोग गर्ने इनार बेग्लै थियो, पँधेरो छुट्टै थियो ।  राजनीतिक प्रतिनिधित्वमा पनि दलितले उपाध्यक्षसम्म पाउने हुन्थ्यो । ललितपुरको एउटा गाउँ छ, किटनी भन्ने । त्यहाँ ठूलो संख्या दलितको तर अध्यक्ष सधैं अरू हुने, दलित उपाध्यक्षसम्म मात्रै । पछि सहरीकरणका कारण व्यक्तिगत धारा आए, मन्दिर चोकबाट उठेर घरघरमा पुगे, सबैका आ–आफ्नै भगवान् हुन थाले । धारा, मन्दिर र भगवान् व्यक्तिगत भएपछि छुवाछूत हुने ठाउँ घटे । मन्दिरमा पनि पशुपतिमा यति धेरै मान्छे आउन थाले कि रोक्न साध्यै भएन । पहिला रोकिन्थ्यो । १० सालमा पशुपति प्रवेश गर्न संघर्ष नै भएको हो । यति धेरै मान्छे पक्रियो कि थानामा राख्ने ठाउँ भएन र छाडेको रे ! त्यो बेला पशुपतिको गेटमा लेखेकै थियो, इसाई, कुकुर, दलित, अछूत पस्न हुँदैन ।

यसको असर शिक्षा, रोजगार, अर्थ र संस्कृतिमा के–कसरी पर्‍यो ? 

यो त सीधै देखिन्छ नि । पहिले समाजमा दुई मुख्य चीज पुँजी हुन्थे– जमिन र सीप । जमिन राख्नै नपाउने र सीप बालीप्रथामा गएपछि उन्नति कसरी हुन्छ ? बालीप्रथामा हुनेबित्तिकै जिन्दगीभर बाँधिने भयो । ‘हाम्रो गोरु, हाम्रो भैंसी’ भनेजस्तो ‘हाम्रो दमाई’ भन्ने भयो । यसले दुई कुरा सँग–सँगै गरिदिन्छ । एउटा आर्थिक शोषण गरिदिन्छ र अर्को दासत्वलाई स्विकार्न बाध्य पारिदिन्छ । त्यस कारण दलितहरूमा सञ्चयको सञ्चिति भएन । सञ्चय नभएपछि नयाँ कुरा जोड्ने सम्भावना भएन । परेको बेला कतै देखाउने, धाक जमाउने, मान सम्मान कमाउने भन्ने पनि भएन ।

मानिसहरूले आरक्षणको विरोधमा पढ्ने बेलामा पढेनन्, दु:ख गरेनन् अहिले भाग खोज्छन् भन्ने गरेको सुनिन्छ । तपाईं यसमा के भन्नुहुन्छ ?

२००७ सालभन्दा अगाडि दलितहरू स्कुल र गुरुकुलमा जान पाउँदैनथिए । ७ सालपछि स्कुल खुल्यो । स्कुल खुल्दैमा सबै स्कुल जाने भन्ने हुँदैन । स्कुल जाने र नजाने भन्ने कुरा उसको आर्थिक अवस्था र परम्परागत चेनतामा भर पर्छ । जसलाई ३ हजार वर्षदेखि नपढ्ने लत बनाइएको छ, ऊ स्कुल देख्नासाथ जाँदैन । आर्थिक अवस्थाले पनि जान मिल्दैन । खानैका लागि श्रम गर्ने कि स्कुल जाने ? आमाबुबा काममा गएपछि ठूला बच्चाले साना बच्चा हेर्नुपथ्र्यो । यसैले कसैले मन नलागेर वा रहर पढेनन् भन्ने होइन । सुरुमा खुलेका अधिकांश स्कुलमा छात्रावास थिए । टाढा–टाढाबाट पढ्न आउनुपर्ने थिए । छात्रावासमा दलितलाई बस्न कसले दिने ? छात्रावासको फी कसरी तिर्ने ? अनि पढ्ने कसरी ?

परम्परागत सीपलाई शिक्षा मान्ने वा त्यसको उपयोग पनि त गतिलोसँग भएन नि, होइन ?

शिक्षा केलाई भनियो भने स्कुल गएर, पण्डितकोमा बनारस गएर, रामायण र वेद भट्टायो त्यो शिक्षा भयो । तर वास्तविक जीवनसँग गाँसिएर मान्छेले कर्म गरेको छ, समाजलाई बचाइरहेको छ, त्यो शिक्षा नै भएन । मेरो दाबा के छ भने यो प्रचलित आधारणलाई नउल्टाएसम्म शिक्षासम्बन्धी हाम्रो दृष्टिकोण नै बन्दैन । सुन, तामा, चाँदीको काम गर्नेहरू त प्राविधिकभन्दा माथि वैज्ञानिकको स्तरका हुन् । मैले कतिपयलाई भने दलितहरू अछूत हुन् भने वेद पढेर फलाम पगाल्नुहोस् । जसले फलाम पगाल्छ, त्यो अशिक्षित कसरी भयो । तिनीहरू वैज्ञानिकको स्तरमा हुन् ।  अर्को इन्जिनियरको स्तरमा छन् । उनीहरूले खुट्टाअनुसार जुत्ता बनाउँछन् । अर्को सीप कला, कस्तर कलाको कुरा छ, काष्ठकलाको कुरा छ । युरोपको कुरा गर्ने हो भने हिन्दु समाजमा जो यो काम गर्छन्, सबै अधिकांश मध्यमवर्गका छन् । युरोपमा पुँजीवादको विकास शिल्पकार र व्यापारीको संयोजनबाट भयो । यहाँ त शिल्पकार र व्यापारीबीच कहिल्यै संयोजन नै हुन दिइएन । शिल्पकारलाई त झन् छुवाछूत नै गरियो ।  मेरो त प्रश्न छ, आध्यात्मिक ज्ञानको असाधारण विकास भएको दक्षिण एसियामा भौतिक विज्ञान र केमेस्ट्रीको विकास किन भएन ? बौद्ध दर्शनदेखि लिएर, लोकायत मतदेखि कपिलको शिशु भौतिकवाददेखि लिएर हिन्दुशास्त्रअन्तर्गतका यावत् शाखादेखि लिएर एस्टोनोमी पनि विकास भयो । ताराहरूको अध्ययन र खौगोलिक अध्ययनमा पूर्वमा भएको अध्ययनलाई महानतम् नै भन्न मिल्छ । तर भौतिक विज्ञान र केमेस्ट्रीमा किन विकास भएन भने विज्ञानमा प्रगति हुन परम्परादेखिको ज्ञान र औपचारिक शिक्षाको ज्ञानको फ्युजन हुनुपर्छ । तर यहाँ के गरियो भने परम्परागतदेखिको ज्ञान भएको पढ्न जान पाएनन् । जो औपचारिक शिक्षा पढ्न पाउँछन् तिनीसँग परम्परागत ज्ञान नै छैन ।

राजनीतिक दलहरूका संगठन र गतिविधिले चाहिँ समाजलाई उदार बनाउन कति भूमिका खेले ? 

यो देशको प्रगति रोक्ने मुख्य कारण विदेशमा विकसित भएको अवधारणालाई जस्ताको जस्तै लागू गर्न खोज्नु हो भन्ने मलाई लाग्छ । नेपालमा कम्युनिस्ट पार्टी त बन्यो तर त्यसले लेनिनको तरिकाबाट सोच्यो, रुस भएर सोच्यो । त्यो कम्युनिस्टले नेपाललाई पनि रुसजस्तै जातविहीन समाज ठान्छ । हुँदाहुँदा हामीलाई स्टालिन सार्कीको छोरो थियो भनेर पढाइयो । स्टालिनका बाबुले जुत्ता सिलाउँथ्यो पो भनेको हो त, सार्की भनेको होइन । जीवनी अनुवादमा उसलाई सार्की भनियो जबकि रुसमा सार्की नै थिएन । कम्युनिस्ट पार्टीले केही काम त गरे तर नेपाली समाजलाई अध्ययन गर्ने र त्यहीअनुसारको नीति तय गर्ने काम भएन ।  बीपी कोइरालाका कैयौं कुरा रूढिवादविरुद्ध, सामान्तवादविरुद्ध लड्न खोजेको देख्छु । शुद्ध र्‍याडिकल पुँजीवादी कोणबाट सामान्तवादविरुद्ध गरेको देखिन्छ । त्यसपछि भूमिसुधार छाड्न खोज्नेदेखि जुन कांग्रेस आयो त्यसले उसले पनि बेलायतमा विकसित भएको इन्दिरा गान्धीको पालामा भारतमा भएकै कुरा ल्यायो । नेपालमा आफ्नै अवधारणा भएन । महेशचन्द्र रेग्मीका किताब यहाँ अझै पढिएका छैनन् । डोरबहादुरले पनि पछि मात्रै पढ्न थालेको हो ।

तपाईंले कतै नेपालमा आउने पुँजीवाद पनि जात व्यवस्थामा आधारित छ भन्नुभएको थियो । यो कसरी हुन्छ ?

सामन्तवाद जेमा टिकेको थियो त्यसलाई नष्ट नगरीकन, त्यही धरातल कायम राखेर पुँजीवादमा रूपान्तरण हुने हो भने त्यो पनि उस्तै हुनेछ । म त भन्छु, त्यो आइसक्यो । उदाहरण हेर्नुस्– हिन्दु समाजमा संगीतको काम दमाई, कपाली, गन्धर्भले गर्थे । तर अहिले म्युजिक नेपालको मालिक को छ ? जुन बेलासम्म जुत्ता सिउने पेसा सेवाको थियो, सार्की र तराईमा चमारहरूले गरे । जब उद्योग बन्यो, अनि त दाहाल ब्राह्मणहरू जुत्ता उत्पादक छन् । वर्ण व्यवस्थामा आधारित पुँजीवाद भनेको यही हो ।  वर्ण व्यवस्थामा जो सत्ताधारी थियो, पुँजीवादमा आउँदा पनि त्यही मान्छे नै आए । हिजोको बालीमा काम गर्ने मजदुरमा परिणत भए । हिजोका सामन्त आजका साहुमा परिणत भए । पूरै गरिब, दलित मजदुरमा परिणत हुनु भनेको फेरि पनि वर्ण व्यवस्थाबाहेक केही होइन । लाहुरेका कारण सुनको काम बढी हुन थालेपछि सुनारहरूको चाहिँ कमाइ भयो । उनीहरू बालीप्रथाबाट मुक्त भए । आफ्नो ठाउँ छाडेर सीप किन्ने बजारको खोजीमा काठमाडौं र अरू बजारतिर झरे । कोही लाहुर गए । भारत गएर भाँडा माझे, मजदुरी गरे । अलिअलि पैसा कमाए अनि गाउँ फर्केर त्यही साहुको काम नलाग्ने जग्गा किने ।

अहिले अरबबाट आउने रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ भनिन्छ । यसले पूरै नेपाली समाजमा र दलित बस्तीहरूमा केही परिवर्तन ल्याएको छ ? 

छ । विदेशमा श्रम गर्न जानेमा सबभन्दा बढी गरिब र दलितहरू छन् । पढे लेखेका एनजीओ र आईएनजीओसँग नजिक भएका अमेरिका पनि पुगेका छन् । ती निकै थोरै छन् । पहिले खाडी जानेहरू ६ महिना खेत जोतेपछि साहुसँग ऋण लिएर जान्थे । त्यसमा २४ प्रतिशत ब्याज र फर्किंदा १ तोला सुन ल्याउनुपर्ने हुन्थ्यो । बाउ विदेश गएपछि पसलेले पनि बच्चालाई चाउचाउ दिन्थ्यो । आएपछि ब्याज तिर्‍यो, सुन पनि ल्याउनैपर्‍यो । चेलीबेटी बोलाएर घरमा आएपछि एक दिन कुखुरो वा राँगो काटेर नाचगान गर्नुपर्‍यो । दुई तीन महिनामा त फेरि ऋण नै लागिहाल्थ्यो । यहाँको हली विदेश गएर पैसा हुनेको निम्ति ब्याज र एक तोला सुन ल्याइदिने काम मात्रै हुन्थ्यो । साहुले दाइ मरे भने भाइलाई लगानी गरेर पठाउँछ, आफ्नो पैसा ल्याउनका लागि । किनकि मरेको मान्छेसँग पैसा माग्न भएन ।  पछिल्लो समय माओवादी युद्धले यस्ता मान्छेलाई बोल्न सक्ने बनाइदिएको छ । अहिले ब्याज घटेको छ, सुन ल्याइदिनु पर्दैन । खाडीको रोजगारीले ठोस परिवर्तनचाहिँ के भएको छ भने, खाडीबाट पैसा कमाएर आउनेमध्ये अधिकांश दलितले तीनवटा काम गर्ने गरेका छन् । पहिलो आएर विवाह गरेका छन्, दोस्रो भएको पुरानो घर भत्काएर नयाँ बनाएका छन् र अर्को साहुको उही काम नलाग्ने जग्गा किनेका छन् । जग्गाको ठूलो प्यास छ । जसको २० पुस्ताले हली भएर त्यो जग्गामा बितायो, उसका लागि आफैं मालिक भएर त्यो जग्गामा उभिनु ठूलो कुरा हो । हलीबाट ऊ स्वतन्त्र किसान बन्नेतर्फ लागिरहेको हो ।

तपाईं आफैंले चाहिँ राजनीतिक जीवनमा कत्तिको विभेद भोग्नुभयो ?

विभेद कति भन्ने प्रश्न जरुरी छैन । त्यसलाई कसरी छलेर हिँडियो भनेर सोध्नुचाहिँ ठीक हो । मलाई लाग्छ, यो प्रत्येक पलको कुरा हो । मिटिङ बस्नै समस्या हुन्थ्यो । कि दलितको घरमा बस्नुपर्‍यो, कि गैरदलितको गोठमा । अहिलेचाहिँ नेपाली समाजको चेतना महिलालाई समितिहरूको उपाध्यक्ष र दलितलाई सदस्य बनाउनेसम्म पुगेको छ । सदस्यबाट माथि बनाउन गाह्रो छ । सबभन्दा बढी प्रगतिशील चेतना पनि यसभन्दा माथि उठेको छैन ।

‘रगत सबको रातो हुन्छ’ भन्ने भनाइबाट माथि उठ्नुपर्छ भन्ने पनि तपाईंको मत छ होइन ?

सबैको रगत रातो हुन्छ यो कुरा गोरा र कालाको समानताको सबालमा उठेको कुरा हो । रंगभेद हल गर्न ल्याइएको तर्क थियो यो । तर, नेपालको वर्ण व्यवस्था रंगमा आधारित होइन । यसैले योसँग रंगको आधारमा लडेर हुँदैन । यसका लागि समग्र समाजलाई हेर्ने वैज्ञानिक दृष्टिकोण परिवर्तन गर्नुपर्छ । कसैले भनिदिन्छ– ‘सुंगुरको रगत पनि रातो हुन्छ ।’  विश्व दृष्टिकोणको प्रश्न हल नगरीकन दलित आन्दोलन र जात व्यवस्थाविरुद्धको लडाइँ हुनै सक्दैन । यही विश्व दृष्टिकोणको मुद्दा हल नभएका कारण भारतमा अम्बेडकर फेल खाए । त्यस बेला कानुनमा पीएचडी गरेका व्यक्ति, लन्डनमा कानुन पढेर आएका उनी नेहरू वा अरूभन्दा कम बुद्धिमान थिएनन् । मलाई लाग्छ समस्या उनमै र उनको दृष्टिकोणमा थियो । जात व्यवस्थाको अध्ययन र त्यसको चिरफारसम्ममा त उनको साँच्चै माहनतम खोज थियो, संसारले वास्ता नगरेर मात्र हो । जब त्यसको समाधानको निम्ति राजनीति र दर्शनमा गए तब उनी उही माहत्मा गान्धी र नेहरूलाई मान्य भएको दर्शन र राजनीतिमा प्रवेश गरे । त्यसै कारण उनको जीवनको अन्त्यमा निराशाबाहेक केही हात लागेन । त्यस कारणले उनी बौद्ध धर्मतिर लागे ।

नेपाली साहित्यमा लेखन धारा, सौन्दर्य चिन्तनमा चाहिँ वर्ण व्यवस्था कसरी घुसेको छ ?

५६ सालमा म वीरगन्जबाट जनकपुर जाँदै थिएँ । बीचमा एकजना मान्छे बसमा चढ्यो । गाडीमा सिट खाली थियो तर ऊ सिटमा बसेन, भुईंमा बस्यो । सहचालकले ऊसँग पैसा पनि मागेनन् । ऊ के थियो ? एउटा श्रमजीवी अर्को श्रमजीवीलाई मान्छे नै मान्दैन, पैसै माग्दैन । यहाँ यस्तो छ भने, माथिल्लो वर्गबाट आएको, संकृत पढेर आएको, कृष्ण, राम, सीता पढेर आएका बाबुबाजेकोमा हुर्केको लेखकले के लेख्छ ? नियत जति भए पनि लेख्न सक्दैन । पञ्चायतकालमा केही लेखकहरूको चाहिँ नियत पनि खराब देखिन्छ, होइन भने आम लेखकहरू जुन सत्ता, समाज र वर्गबाट आए त्यसमा जातिगत देखिनु स्वाभाविक हो । यसलाई म अचम्म ठान्दिनँ ।

पछिल्लो कालका नेपाली उपन्यासहरूमा चाहिँ समाज र दलितको चित्रण कस्तो छ ? 

२०११ सालमा मुक्तिराम तिमिल्सेनाले ‘को अछूत ?’ भन्ने उपन्यास लेख्नुभयो । त्यो बेलाको उहाँको कुरालाई बुझिदिएको भए, त्यतिबेलैदेखि लेखनमा गुणको यात्रा सुरु हुन्थ्यो । त्यसपछि कसैले पनि यो विषयमा गतिलोसँग लेख्ने आँट गर्नुभएन । यो विषयमा हाक्काहाक्की ठूलो स्वरमा कविता आउनलाई ५० को दशक कुर्नुपर्‍यो । उपन्यासमा पनि त्यो कुरा आउन खोजेका छन्, त्यो मात्रामा देख्छु । गुणमा परिणत भइसकेको छैन । यो बहस अझै बढ्नुपर्छ होला । त्यसमा सौन्दर्य खोज्ने यात्रा सुरु हुनुपर्छ । पहाडको लेखकले मधेसको पीडा ठीक ढंगबाट लेखेका छैनन् । किनकि पहाडको लेखकले १० जना मधेसीलाई उही अनुहारको देख्छ । उसको दृष्टि कालो रंगबाट फर्केर आउँछ । ऊभित्रको वेदनासम्म पुग्दै पुग्दैन । त्यसैगरी गैरदलित साहित्यकारले पनि दलितको चेतनामा सैद्धान्तिक रूपमा बुझ्दछ । तर भित्र छिर्ने बेलामा आएको छैन । दलित साहित्यकार नै त्यहाँ पुग्न सकेको छैन । तर मात्राचाहिं अब बढेको छ । वन समितिको एउटा सदस्य हालेजस्तै उपन्यासमा पनि काम न काजको भए पनि एउटा दलित पात्र घुसाउने चलन सुरु भएको छ ।

मूलधारका मिडियामा दलितबारे लेखन र दृष्टिकोणचाहिँ कस्तो छ ? 

मिडियाको मूल चरित्र विशेषत: ४६ सालपछि दलितहरूमाथि साहनुभूति राख्ने देखिन्छ । ‘उसलाई दिसा खुवाए, ए’ भनेर सहानुभूतिमा पुगेको छ । उसको अधिकारलाई समर्थन गर्ने भएको छैन । आधारभूत र जगमा परिवर्तन भएको छैन । साहनुभूतिको स्तरमा पुग्नु पनि ठूलै हो । किनभने, त्यसअघि दया गर्ने र वास्तै नगर्ने थियो । महिलाको स्थिति पनि यस्तै छ, हिजो बेवास्तामा थियो, ‘रूपमती’ मा आउँदा दयामा आयो । अहिले साहनुभूतिमा आएको छ । अब मोटरसाइकलको पछाडि बस्नुहुन्छ भन्ने ठाउँमा आएको छ । तर अझै उसले चलाएकोमा बस्ने भन्ने आएन । शासकीय धारको दृष्टिकोण अहिले उदार लोकतन्त्रमा आधारित छ । उदार लोकतन्त्रले सहानुभूति दिन्छ । उदार लोकतन्त्रले कोठा दिन्छ, ट्राफिक व्यवस्था राम्रो गर्ने, बस दिने, कार दिने तर १२ घन्टा काम लगाउने । र, आफ्नोबारेमा सोच्ने समयचाहिँ नदिने ।

प्रकाशित: मंसिर १२, २०७२

साभार : कान्तिपुर दैनिक

(Visited 725 times, 1 visits today)

टिप्पणी

comments