Main Menu

प्रदेश ३ को राजधानी नुवाकोट ?

पुस ८, नुवाकोट

province-3-capital-nuwakotकुनै समय नेपालकै राजधानी नुवाकोटलाई अहिले ३ नं प्रदेशको प्रादेशिक राजधानी बनाउन यहाँका जनप्रतिनिधि र उद्योगी व्यवसायीले सक्रियता देखाएका छन् ।

नेकपा (एमाले) र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्रमा संयुक्त जारी गरेको ‘अपिलपत्र’मा ‘नुवाकोटलाई ३ नंं प्रदेशको राजधानी बनाउन पहल गर्ने’ भनी जनाइएको प्रतिबद्धता कार्यान्वयनका लागि पहल शुरु भएको प्रतिनिधिसभा सदस्य क्षेत्र नंं २ बाट नवनिर्वाचित सांसद नारायणप्रसाद खतिवडाले बताए ।

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेपछि गोरखा राज्यको राजधानी बनाएर राज्य विस्तारको सबै काम पूरा गरेका थिए । वि.सं. १८५७ मा पनि गीर्वाणयुद्धविक्रम शाहका पालामा दोस्रो पटक पुनः नेपालको राजधानी नुवाकोट बनाइएकाले गुमेको अधिकार प्राप्त गर्न प्रदेशको राजधानी दाबी गरिएको क्षेत्र नंं २ (क) बाट नवनिर्वाचित प्रदेश सदस्य केशवराज पाण्डेले बताए ।

पाण्डेले भने, “१३ जिल्ला सम्मिलित ३ नंं प्रदेशको बहुमत जनसंख्या र भूगोलको केन्द्रबिन्दु यहीँ पर्ने भएकाले अरु जिल्लाको साथ पनि नुवाकोटको पक्षमा हुने विश्वास लिएका छौँ ।”

नुवाकोट बाहिरी जिल्लासँग यायायात सञ्जालमा जोडिएको छ । रसुवा प्रवेशको नाका यहीँ रहेको छ । यहाँबाट नै त्रिशूली–छहरे–टोखा, बालाजु–ककनी–त्रिशूली र गल्छी–त्रिशूली सडक सञ्चालनमा छन् । अन्तरराष्ट्रिय मार्गका रुपमा रसुवागढी–गल्छी–ठोरी सडक, केरुङ–काठमाडौँ राजमार्ग तथा केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग सञ्चालनमा समेत नुवाकोटको भूमि प्रयोगमा आउने भएकाले प्रदेश केन्द्रका लागि बलियो आधार रहेको क्षेत्र नंं १ (क)बाट नवनिर्वाचित प्रदेश सदस्य राधिका तामाङले बताए ।

“रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुर र भक्तपुरको लागि सहज पहुँच नुवाकोट छ,” उनले भने, “टोखा–छहरे सुरुङमार्ग निर्माणले ४.६ किलोमिटरमा केन्द्रीय राजधानी काठमाडौँलाई जोड्न लागिएकाले अरु जिल्लासँगको तुलनामा नुवाकोट उत्कृष्ट छनोट हुन सक्छ ।”

पहाडी जिल्ला भए पनि नुवाकोटको भूगोल तराईका फाँटसरह रहेका छन् । यहाँको हावापानी सबै जातिका लागि अनुकूलित भएको क्षेत्र नंं १ (ख) बाट नवनिर्वाचित प्रदेशसभा सदस्य बद्री मैनालीको भनाइ छ ।

“यहाँ भित्री मधेशजस्तो अति तातो र पहाडी एवं हिमाली भूभाग जस्तो चिसो छैन । यसको विकल्प अरु जिल्लासँग छैन,” उनको जिकिर छ ।

प्रदेश राजधानी निर्माणका लागि जिल्लाका पीपलटार, माझीटार, बट्टार, विदुर हुँदै ऐतिहासिक साततले दरबार परिसरसम्म, देवीघाट, जिलिङ, रातमाटे हुँदै कोल्पुटारसम्म र ढिकुरे हुँदै थानसिंहको समथरफाँटसम्म भौतिक संरचना निर्माण र शहरी विकास दुवैका लागि पर्याप्त जग्गा छन् । निर्माणाधीन केन्द्रीय कारागार, स्टाफ कलेजका लागि सम्भावित स्थान छनोटको तयारी, पूर्वराजपरिवारको नाममा रहेर हाल राष्ट्रियकरण गरिएको २३२ रोपनी खुला जग्गा नयाँ शहर निर्माणको पर्याप्त आधार हुन् ।

“मुलुकभरका अपराधी राख्ने कारागार र उपत्यकाको फोहर फ्याँक्ने डम्पिङ क्षेत्र यहाँ छन् । आवश्यक मापदण्ड पूरा हुँदासमेत ३ नं प्रदेशको राजधानी नुवाकोट किन नहुने ?” मैनालीको प्रश्न छ ।

३ नंं प्रदेशमा वाम गठबन्धनले स्पष्ट बहुमत पाएकाले सरकार पनि उसैको हुने निश्चित छ । यहाँको विकासका लागि भारतसँग भन्दा पनि चीनसँगको सामीप्यता र ‘कनेक्टिभिटी’ अर्थपूर्ण हुने क्षेत्र नंं २ (ख)बाट नवनिर्वाचित प्रदेशसभा सदस्य हीरानाथ खतिवडाको भनाइ छ ।

“४ नंं प्रदेशबाहेक अरु प्रदेशको राजधानी भारतीय सीमा नजिक हुने देखिएकाले चीनसँग रणनीतिक लाभ लिन ३ नं प्रदेशको केन्द्र यहाँ तोक्न सबैको समर्थन हुनेछ,” उनले भने ।

नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाले नुवाकोटलाई प्रदेशको राजधानी बनाउन भौगोलिक अवस्था, पानी, बिजुली र यातायातको पहुँच राम्रो भएको बताए ।

“यहाँ प्रशस्त बेँसी र टार, त्रिशूली, तादी र लिखुलगायतका नदीको स्रोत, विद्युत् उत्पादनको लागि ‘हब’, केरुङ–ठोरी मार्ग, चीन र भारत दुवैतिरबाट इन्धन ल्याएर भण्डारण गर्न सक्ने स्थल रहेकाले प्रदेशलाई बलियो बनाउने भूमि नुवाकोट नै हो,” उनले भने ।

पर्यटन व्यवसायी सुमन पाण्डेका अनुसार भोटसन्धि र तिब्बती सेनासँगको युद्धमा विजय प्राप्त गरी सामरिक महत्व बोकेको नुवाकोटमा धार्मिक र पर्यटन प्रवर्द्धन गर्नसमेत सम्भावना पर्याप्त छ ।

“जालपादेवी, भैरवी, दुप्चेश्वर– कपिलेश्वर– चिम्टेश्वर महादेव, वेत्रावती उत्तरगया धाम, रसुवाको गोसाइँकुण्ड धार्मिक पर्यटकस्थलको ढोका नुवाकोट नै हो,” पाण्डेले भने, “नेपाल–चीन–भारत जोड्ने थलो नुवाकोट रहेको छ । त्रिशूली नदीमा र्याफ्टिङ, ककनीमा रमाइलो लिन र ककनीका छहरामा छाँगारोहण गर्न आकर्षण बढ्दैछ । नुवाकोट दरबार परिसरबाट प्याराग्लाडिङ गर्न सकिन्छ । लाङटाङ पदमार्गसमेत यहीँ हुँदै जाने भएकाले खेल र साहसिक पर्यटन क्षेत्रका सम्भावना यहाँ पाइन्छ ।”

  • रामहरि न्यौपाने
(Visited 39 times, 1 visits today)

टिप्पणी

comments