Main Menu

अब प्रगतिशील लेखक संघको औचित्य छैन – विष्णु भण्डारी [अन्तर्वार्ता]

(गत माघ ११ गते अखिल नेपाल लेखक संघका अध्यक्ष एवं जनसाँस्कृतिक महासंघका उपाध्यक्ष विष्णु भण्डारीले साँझतिर एक्कासी नेकपा (माओवादी केन्द्र) र त्यससँग सम्बन्धित सबै संघ तथा संगठनहरुबाट आफू अलग भएको घोषणा गर्दै आफ्नो निजी फेसबुक पेजमा लिखित एवं श्रव्यदृश्य राजीनामा सन्देश प्रसारित गरे । र, उनले अन्य पाँचजना लेखक कलाकारहरुसँग मिली ‘समाजवादी लेखक संघ’ स्थापना गरेको घोषणा पनि गरे । उनले आफ्नो श्रव्यदृश्य सन्देशमा अहिलेको सन्दर्भमा ‘प्रगतिशील लेखक संघ, प्रलेस’ औचित्यहीन भएको पनि घोषणा गरे । साथै उनले प्रलेस सत्ताधारीहरुको संस्थाको रुपमा चित्रित पनि गरे । प्रगतिशील लेखक, साहित्यकार एवं साँस्कृतिक अगुवा अभियन्ताको रुपमा आफूलाई स्थापित गरिसकेका साहित्यकार भण्डारीको त्यो अप्रत्यासित पार्टी वहिर्गमन तथा नयाँ खालका अभिव्यक्तिहरुले अहिले वाम साहित्य फाँटमा हलचल भइरहेछ ।

प्रस्तुत छ फेसबुक पेजमा प्रसारित अर्का साहित्यकार कला अनुरागीले लिएको अन्तर्वार्तामा विष्णु भण्डारीका बिचार तथा भनाइहरुको सार संक्षेप ।–सम्पादक)

progressive-writers-association-irrational-vishnu-bhandari

प्रश्न – केही दिन पहिले तपाईंले अपलोड गर्नुभएको भिडियोमा तपाईंले अध्यक्ष प्रचण्डलाई केही प्रश्न गर्नुभएको र त्यसको जवाफमा उहाँले तपाईंलाई हप्काउनुभएको थियो । त्यसैलाई लिएर तपाईं अहिले त्यस पार्टीबाट अलग हुन खोज्नुभएको त होइन ?

उत्तर – होइन, होइन । कतिपय साथीहरुलाई त्यस्तो लागिरहेको होला । तर, वास्तविकता त्यो होइन । किनकि, मैले माओवादी सम्वद्ध लेखक संघ र साँस्कृतिक महासंघमा बसेर काम गरिरहेको थिएँ । आजभन्दा धेरै वर्षपहिले ०६८÷०६९ सालमा नै मैले लेखेका कविताहरु पढ्नुभयो भने, ०६९ सालमा प्रकाशित मेरो ‘घाइते ह्वील च्योर’ पढ्नुभयो भने, त्यहाँ मैले नेतृत्वलाई खबदारी गरेको छु, नेतृत्व सही बाटोबाट बिचलित भइरहेको छ, उसले जुन सपनासहितको कार्यदिशा अङ्गिकार गरेको थियो त्योबाट टाढिँदै गएको छ भन्ने बारेमा मैले उतिखेर नै प्रश्न उठाएको थिएँ । ०७२ सालमा प्रकाशित मेरो ‘पहेँलो घाम’ उपन्यास अध्ययन गर्दा पनि ‘माओवादी पार्टी पहेँलो घाम जस्तै राप र ताप बिहीन हुँदै गइरहेछ । त्यसले जनताका मुद्दाहरुलाई छाडेर प्राविधिक कुराहरुलाई ध्यान दिन थालेको छ, सत्ता र कुर्सीको लोभले पार्टी बिग्रिन्छ’ भनेर मैले त्यस उपन्यासमा लेखेको छु । पछिल्लो चरणमा मैले कथा, कविताहरुबाट माओवादी पार्टी र त्यसले अङ्गिकार गरेका कार्यदिशालाई आलोचना गर्दै आएको छु । यो लामो श्रृङ्खलाबाट म अहिलेको अवस्थामा आइपुगेको हुँ ।

जहाँसम्म पेरिशडाँडामा भएको अन्तरक्रिया कार्यक्रममा मैले उठाएको सवालको कुरा छ, त्यहाँ अध्यक्ष प्रचण्ड जसरी उत्तेजित रुपमा प्रस्तुत हुनुभयो, त्यसलाई लिएर नै त अहिले मैले ‘राजीनामा दिँदैगरेको होला’ भन्ने मेरा साथीहरुलाई लागिरहेको छ भने त्यस सन्दर्भमा त्यस्तो होइन भन्ने कुरा म प्रष्ट पार्न चाहन्छु ।

त्यस कार्यक्रममा अध्यक्ष प्रचण्डलाई के भनेको थिएँ भने, त्यस कार्यक्रममा उठ्ने र उठेका प्रश्नहरुप्रति चित्तबुझ्दो उत्तर आएन भने अर्को पटकबाट म नहुन पनि सक्छु । मैले यो सुरुमै जानकारी गराएको थिएँ । तर, त्यही कुराले मात्र म माओवादी पार्टीबाट अलग भएको भन्ने कुरा होइन ।

प्रश्न – तपाईंलगायतकाहरुले ‘समाजवादी लेखक संघ’ गठन गरेको घोषणा गर्नुभएको भन्ने कुरा पनि बाहिर आइसक्यो । यसको राजनीतिक संलग्नता कस्तो हुने हो ? समग्रमा यो के हो ?

उत्तर – आज मात्रै हामीले ६ जना कवि, लेखक साहित्यकारहरु मिलेर ‘समाजवादी लेखक संघ’ को घोषणा गरेका छौं । त्यसको क्षेत्र व्यापक छ । अहिले नै सबै कुराहरु व्यक्त गर्न म असमर्थ छु । हामी लेखक साहित्यकारहरु भएको कारणले हाम्रो मुख्य कर्म भनेको लेखन नै हो । त्यसैले लेखन कस्तो भन्ने कुरामा बहस आवश्यक छ । निश्चय पनि हिजोको अवस्था र अहिलेको अवस्थामा लेखन विषय र दिशा परिवर्तन भएको छ ।

राजनीतिबाट कुनै पनि लेखक साहित्यकार टाढिन सक्दैन । यसको मतलब राजनीतिक पार्टीमा आवद्ध नै हुनुपर्छ भन्ने होइन । हामीले लेख्ने भनेको सुन्दर कृति र सिर्जना नै हो ।

आजभन्दा झण्डै ६५ वर्षअगाडि हामी सामन्तवाद र साम्राज्यवादबिरोधी साहित्य सिर्जनामा क्रियाशील भयौं । अहिले गणतान्त्रिक संविधान निर्माण भइसकेपछि एउटा चरण सकिएको छ । एउटा कोर्श पूरा भएको छ । त्यसैले समाज एवं हामी साहित्यकारहरुको पनि एउटा कार्यभार पूरा भइसकेको छ । हामी अहिले नयाँ मोडमा आइपुगेका छौं । त्यसैले अबको लेखन कस्तो हुनुपर्छ भन्ने सवालमा बहस गर्नुपर्छ भन्ने हामीलाई लागिरहेको छ । यही भएर नै अखिल नेपाल लेखक संघको अगुवाइमा आजभन्दा केही महिना पहिले हामीले तातोपानीमा गएर ‘अबको लेखन कस्तो हुनुपर्छ ?’ भन्ने सवालमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेका थियौं । हामीले के भन्यौं भने अबको लेखनको दिशा हिजोको भन्दा ठ्याक्कै फरक भएको छ, परिवर्तन भएको छ । यदि त्यसलाई समात्न सकिएन भने पुरानै यथास्थितिमा रमाउन हामी पुग्ने हुन्छौं भनेर हामीले भन्यौं ।

आजै घोषणा गरिएको ‘समाजवादी लेखक संघ’ को स्थापना अहिलेको सामाजिक संरचना, हामीले भोगेको परिस्थिति र अहिलेको अन्तरविरोधहरुको अध्ययन गर्दा अबको हाम्रो लेखन सामन्तवाद र साम्राज्यवादको विरोधको ठाउँमा दलाल पुँजीवाद तथा साम्राज्यवादको बिरोधमा केन्द्रित हुन गरिएको हो । कतिपय साथीहरुले अझै पनि नौलो जनवादी क्रान्तिको कुरा गरिरहनुभएको छ, तर अहिले नेपाली समाजको चरित्र सामन्तवादीबाट विकसित भएर पुँजीवादीमा आएको छ । सामन्तवादका केही अवशेषहरु अवश्यै बाँकी छन् । यसो हुँदाहुँदै पनि अबको क्रान्ति समाजवादी नै हो । त्यसैले अहिले समाजवादी लेखनबाट समाजमा विद्यमान दलाल पुँजीवाद र साम्राज्यवादले सिर्जना गरेको कला साहित्यको ठाउँमा समाजवादी कला साहित्यको आधार तयार गर्ने हुनुपर्छ । यसको प्रारुप तयार गर्ने भन्ने कुरा नै हामी ‘समाजवादी लेखक संघ’का अभियन्ताहरुको उद्देश्य हो ।

प्रश्न – समाजवाद त काङ्ग्रेसले पनि भन्छ, त्यस्तै नयाँ शक्तिले पनि । कताकता उनीहरुसँग त मिल्दोजुल्दो होइन ?

उत्तर – हामीले मार्क्सवादी विश्वदृष्टिकोणमा आधारित कला साहित्यको सिर्जना भनेका छौं । त्यसैले काङ्ग्रेस लगायत अन्य पार्टीहरुले भन्दै आएको समाजवादको कुराभन्दा हामीले उठाएको समाजवादको कुरा तात्विक रुपमै फरक कुरा हो ।

प्रश्न – तपाईंहरुको अभियान अहिले समय सन्दर्भसँग मिल्दैन, यसको स्पष्ट दिशा छैन , यसले लेखक साहित्यकारहरुलाई छुन सक्दैन, यो अगाडि बढ्न सक्दैन भन्ने प्रतिक्रिया पनि आयो नि ?

उत्तर – अहिले मैले र हामीले बुझे अनुसार यो अभियान चालेका हौं । यसमा कोही साथीहरुको असहमति हुन सक्छ । असहमत राख्ने साथीहरुको सवालमा अहिले नै म केही भन्न चाहन्न । तर, हामीलाई लागेको कुरा के हो भने, विउ सानै हुन्छ, आगोको डढेलो पनि सानो झिल्काबाट नै सुरु हुने हो । यो कुरा त हामीले नेपाली समाजको व्यवहारबाट पनि थाहा पाइसक्यौं । जस्तो कि ०५२ सालामा सानो शक्तिबाट जनयुद्ध सुरु भएर पछि राष्ट्रिय अन्तरराष्ट्रिय तहसम्म नै त्यो फैलिएको अनुभव हामीसँग छ । र, २००९ सालबाट सुरु भएको प्रगतिशील लेखक संघको लामो ऐतिहासिक अभियानले के सिकायो भने कुनै पनि कुरा सानोबाटै सुरु हुन्छ, त्यसका कार्यक्रम, नीति, व्यवहारिक र शैद्धान्तिक पक्षहरुले त्यसलाई कुन मोडमा पुर्याउँछ भन्ने कुरा टुङ्गो लाग्ने हुन्छ । यसबारे सबै अग्रज एवं सहकर्मीहरुसँग हामी बहस छलफल गर्नेनैछौं ।

प्रश्न – पार्टी एकता भएन भने तपाईं पुनः पुरानै पार्टीमा फर्कनुहुन्छ कि भन्ने प्रश्न गर्नेहरु पनि छन् नि !

उत्तर – माओवादी पार्टी एमालेसँग एकता भए पनि नभए पनि त्योसँग वैज्ञानिक समाजवाद निर्माण गर्ने कार्यदिशा पनि छैन, कार्यक्रम पनि छैन । एमालेसँग यसको एकता नहुने भएमा त्यो एमालेले नचाहेको खण्डमा नै नहुने हो । माओवादीले नचाहेर एकता नहुने त होइन नि ! माओवादी त एमालेसँग एकता भए पनि नभए पनि वस्तुतः त्यो एमाले भइनैसकेको छ । यसबारे हामीले बहस गर्नुपर्ने आवश्यक छैन ।

मैले माओवादी पार्टी छोडेको भए पनि त्यसभित्र र बाहिरका जो कोही राम्रा साहित्यकारहरुसँग मेरो सम्बन्ध, सहकार्य सबै कुरा त भइनैरहन्छ । सिर्जनशील व्यक्तित्वहरुसित टाढिनुपर्ने र धारे हात लगाउनुपर्ने केही पनि छैन । ‘हिजोसम्म हिरा र आजबाट किरा’ भन्ने कम्युनिस्ट आन्दोलनको रोग जुन छ, त्यसबाट हामी मुक्त हुनु जरुरी छ । हिजो पनि हामीले आलोचनात्मक चेतसहित माओवादीलाई समर्थन गरेका हौं, आज पनि त्यही चेतसहित बाहिर निस्केका हौं । तपाईंले गर्नुभएको आशङ्काको कुरा यसैबाट उत्तरित हुन्छ भन्ने म ठान्दछु ।

माओवादी पार्टी एमालेसँग एकता भए पनि नभए पनि त्योसँग वैज्ञानिक समाजवाद निर्माण गर्ने कार्यदिशा पनि छैन, कार्यक्रम पनि छैन । माओवादी त एमालेसँग एकता भए पनि नभए पनि वस्तुतः त्यो एमाले भइनैसकेको छ ।

प्रश्न – मूल कुरा जनताका लागि लेख्ने कुरा हो, त्यसको लागि प्रलेस छँदैछ । तपाईंले अहिले फेरि समाजवादी लेखक संघ भनेर नयाँ किन खोल्नुपर्ने आवश्यकता भयो ?

उत्तर – मुख्य कुरा जनताको पक्षमा लेख्ने हो । लेखकहरु पार्टीसँगै आवद्ध हुनुपर्छ भन्ने कुराप्रति मेरो विश्वास छैन । तर, पार्टीसँग आवद्ध भए पनि नभए पनि कुनै पनि लेखक साहित्यकार बिचारप्रति जोडिनै पर्छ, अग्रगामी बिचार, नयाँ बिचारलाई उसले टिप्नै पर्छ । राजनीतिबाट कुनै पनि लेखक साहित्यकार टाढिन सक्दैन । यसको मतलब राजनीतिक पार्टीमा आवद्ध नै हुनुपर्छ भन्ने होइन । हामीले लेख्ने भनेको सुन्दर कृति र सिर्जना नै हो । जहाँसम्म प्रलेसको कुरा छ, यसबारेमा मेरो के बुझाइ रहेको छ भने ‘अब प्रगतिशील लेखक संघको औचित्य छैन’ ।

प्रगतिशील लेखक संघ दुईवटा उद्देश्यका लागि गठन भएको थियो । २००९ सालदेखि अहिलेसम्मको अभियानलाई हेर्ने हो भने सामन्तवादी र साम्राज्यवादी कला साहित्यबिरुद्ध जनवादी कला सहित्यको उन्नयन गर्ने र विकास गर्ने पहिलो एवं मुख्य उद्देश्य रह्यो । अर्को, सामन्तवाद र साम्राज्यवादविरोधी लेखक कलाकारहरु वामपन्थी पार्टीमा आवद्ध भएका नभएका सबैको साझा मोर्चाको रुपमा विकास गर्ने भन्ने थियो । अहिले ती दुईवटै उद्देश्यहरु पूरा भइसकेका छन् ।

नेपालमा राजतन्त्र गएर गणतन्त्र आइसकेको छ । त्यसैले सामन्तवाद त ढलिसक्यो । यहाँ अहिले सामन्तवादको ठाउँमा बरु दलाल पुँजीवाद आयो । त्यसैले अहिलेको सिर्जना भनेको दलाल पुँजीवाद र साम्राज्यवादविरोधी समाजवादी कला साहित्य हुनुपर्यो । र, यसैको लागि एउटा मोर्चाको आवश्यकता भयो । सामन्तवादको अवशेषविरुद्ध अझै दशौं र पचासौं वर्षसम्म पनि कला साहित्य त सिर्जना गर्दै गर्नुपर्ला, तर मुख्य कुरा भनेको अहिले दलाल पुँजीवाद र साम्राज्यवादविरुद्धको कला साहित्य सिर्जना गर्नु नै हुन्छ ।

अर्को कुरा के छ भने प्रलेस भनेको सत्ताविरोधी वामपन्थीहरुको साझा संस्था थियो । अहिले त्यो संस्था सत्तापक्षीय वामपन्थी लेखकहरुको कब्जामा गएको छ । त्यसैले अब प्रलेसले सामन्तवाद, दलालपुँजीवाद र साम्राज्यवादविरोधी कला साहित्य अभियानको नेतृत्व लिन सक्दैन । यस अर्थमा पनि प्रलेस अहिले औचित्यहीन बन्न पुगेको छ । यही कारणले अबको समयमा समाजवादी लेखकहरुको छुट्टै संगठन चाहियो भनेर नै ‘समाजवादी लेखक संघ’ को स्थापना गरेका हौं ।

प्रश्न – ‘पोइला जान पाम’ भनेर गीत गाउने कोमल ओलीले पार्टीमा स्थान पाइन्, जीन्दगीभर जनताका गीत गाउँदै हिँडेका रामेश, रायन, जीवन शर्माहरुले पाएनन् भन्ने कुरा आइरहेको छ । तपाईंको राजीनामा यसैसँग त सम्बन्धित होइन ?

उत्तर – यस्तैयस्तै सम्बन्धका कुराहरुबाट नयाँ चरणहरुको विकास हुने हो । कोमल ओली एउटी पात्र हुन् । उनी मात्र होइनन्, ल्हार क्यार लामा र अन्यहरुको पनि कुरा छ । तर, यो कुरा त्यति ठूलो कुरा होइन । मुख्य कुरा त माओवादी र एमालेको नेतृत्वले जनताका मुद्दाहरु र सपनाहरुलाई छाड्दै गएपछि उनीहरुले चयन गर्ने पात्र तथा चरित्रहरु त्यस्तो नभए के हुन्छन् र ? यिनीहरुले कुन चाहिँ राम्रा गरे भनेर खोज्दै जाने हो भने माओवादीले १ नं. प्रदेशमा दुईजना शहीदकी आमाको नाम काटेर अर्कै एउटी गृहेणीलाई उम्मेदवार बनायो । यो हिसाबले कोमल ओलीको कुरा त सामान्य भइहाल्यो नि ! त्यसैले पात्र प्रमुख होइन । जब नेतृत्व आदर्शबाट टाढिँदै जान्छ, बिचारबाट टाढिँदै जान्छ आउने पात्रहरु त्यस्तै हुन्छन् । ती पात्रहरुलाई मात्र गाली गर्नुको कुनै तुक छैन ।

क्रमशः …

(Visited 271 times, 1 visits today)

टिप्पणी

comments