Main Menu

पृथ्वीनारायण राष्ट्रनिर्माता होइनन्

prithvi-narayan-shah-was-not-nation-builderनेपालमा राज्य, राष्ट्र र देश भनेको एउटै हो भनेजसरी पञ्चायती व्यवस्थाले प्रशिक्षण गरेकाले पनि धेरै ठूलो भ्रमले दिमागहरूमा रजगज गरिरहेकै छ । राज्य (स्टेट) भनेको निश्चित वर्गका मानिसले अरु मानिसलाई आफ्नो उद्देश्यअनुरूप चल्न बाध्य पार्न गठन गरिएको अस्त्र/शस्त्रयुक्त संगठनको समग्र रूप हो ।

राष्ट्र वा राष्ट्र उन्मुखता (नेसन अर नेसनालिटिज) चाहिँ खास मानव समूहको लामो ऐतिहासिक यात्रामा निर्मित साझा भौगोलिक, आर्थिक, सांस्कृतिक, भाषिक र मनोवैज्ञानिक अपनत्वसहितको गौरवभाव हो । अर्थात्, मौलिक सभ्यता हो । देशचाहिँ जनता र राज्य भएको निश्चित भूगोल हो । त्यसैले देश बनाउन खास भूगोलमा दमनकारी राज्यबाट जनतालाई काबुमा राखे पुग्छ । तर, राष्ट्र बनाउन लामो ऐतिहासिक जनताबीचको स्वेच्छिक सहकार्यबाट गुज्रनुपर्छ । नेपाल करिब तीन हजार वर्षदेखि फरक–फरक सामाजिक मानव समूहहरू एकआपसमा अन्तर्क्रिया गर्दै गरेको भूगोल हो । एकीकरण भनेको स्वेच्छिक एकताको विस्तृत भाव हो ।

नेपालमा एकीकरणको विषयलाई नेपालको भूमिभित्र बस्ने विविध मानव सभ्यताको स्वेच्छिक एकताको रुचिबाट हेर्ने कि, जबर्जस्ती एउटा सभ्यताको शासनमुनि अरु सभ्यताहरू बस्न बाध्य पार्ने शैन्य प्रक्रियाबाट हेर्ने ? राजतन्त्र नै नरहेको नेपालमा अब त यस विषयमा छलफल मैत्रीपूर्ण पक्कै हुन सक्छ । राजा पृथ्वीनारायण र नेपाल देशको निर्माणलाई एकीकरण हो कि राज्य विस्तार ? उनी राजा हुन् कि राष्ट्रनिर्माता भन्ने विषयमा पनि पूर्वाग्रहरहित भएर छलफल गर्नु उचित हुनेछ ।

इतिहासमा सबैतिर बल प्रयोग गरेरै राज्य विस्तार गर्ने र त्यसका नायकलाई राष्ट्र निर्माता मान्ने गरिएकाले पृथ्वीनारायण शाह पनि राष्ट्र निर्माता हुन् भन्ने मान्यता जोडदार रूपमा राख्ने गरिएको छ ।

पहिलो, संसारको इतिहासमा सबै एकीकरण बल प्रयोगबाटै भएको भन्ने सही होइन । हजरत मोहम्मदले आजभन्दा १४ सय वर्षपहिले इस्लामको एकीकरण बर्बर युद्धमा होमिएका सयौँ कबिलाहरूको बीचमा छलफल र एकताद्वारा हासिल गरेका थिए । आजको संयुक्त राज्य अमेरिका र विघटित सोभियत संघ दुवै नै छलफल र एकताद्वारा एकीकृत भएका थिए ।

दोस्रो, बल प्रयोगबाट राज्य र त्यस राज्यले शासन गर्ने देशको सीमा बनेको थियो भन्नु र एकीकरण भन्नु एउटै होइन । संसारको हरेक राष्ट्र र देश निर्माणका आफ्नै विशेषता र परिघटना छन् । तर्क गर्ने गरिएजस्तो सबैतिर बल प्रयोगबाट एकीकरण गरिएको भन्ने कुरा सही होइन ।

एउटै भाषा, एउटै संस्कृति र एउटै जाति समग्रमा एउटै सभ्यताका फरक–फरक राज्यहरूलाई एउटै बनाउन बल प्रयोग गर्नु र फरक सभ्यतालाई एउटै राज्यको अधीनमा ल्याउन गरिने बल प्रयोग एउटै कुरा होइन । एउटै जाति वा सभ्यताभित्रको बल प्रयोग केवल राजनीतिक सत्ता प्राप्तिका लागि मात्र हुन्छ र त्यसद्वारा बन्ने ठूलो देशले एउटै भाषा, संस्कृति र जाति समग्रमा त्यस सभ्यताको विकासमा ठोस योगदान गर्छ । छिमेकी चीनको निर्माणको मूल चरित्र यही प्रकारको हो । त्यसैले त्यस्तोलाई एकीकरण पनि भन्न सकिएला । तर फरक सभ्यतामाथि बल प्रयोगद्वारा राज्य विस्तार गर्नु भनेको खास सभ्यताको मानव निर्मित सबै सांस्कृतिक सम्पदालाई नाश पार्दै जानु हो । एउटा सभ्यता र अर्को सभ्यताबीच छलफल, सहकार्य, सहमति र एकताद्वारा एकीकरण सम्भव छ, तर बल प्रयोग गरेर एउटा सभ्यताले अर्को सभ्यतालाई शासित बनाएर एकता वा एकीकरण सम्भव नै छैन । त्यस्तो बेला त विजित सभ्यताका मानवीय सबै सांस्कृतिक आर्जनलाई ध्वस्त पार्दै लगेर मात्र राज्य सञ्चालन सम्भव हुन्छ ।

बल प्रयोग गरेर भए पनि एउटै राज्यअन्तर्गत धेरै भू–भाग र जनतालाई ल्याउनु नै एकीकरण हो भने इतिहासमा राज्य निर्माणका निम्ति भएका सबै बल प्रयोग र युद्ध जायज मान्नुपर्ने हुन्छ । उपनिवेशवादी कालमा एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा बेलायत, पोर्चुगल, स्पेन, फ्रान्स आदिको शासनमुनि ल्याउन अन्धाधुन्ध गरिएका बल प्रयोग जायज मान्नुपर्ने हुन्छ । वास्तवमा यो कुरा मान्ने हो भने वर्तमान भारतको राष्ट्रनिर्माता बेलायतकी महारानीलाई मान्नुपर्ने हुन्छ । के यसो गर्न मिल्छ ? कदापि मिल्दैन । ब्राजिललाई उपनिवेश बनाएर, ब्राजिली भाषाको हत्या गरेर आज सबै ब्राजिलीले पोर्चुगिज भाषा बोल्न बाध्य पार्नुलाई ठीक मान्नुपर्ने हुन्छ । समग्रमा उपनिवेशवाद समेत ठीक थियो भन्ने स्विकार्नुपर्ने हुन्छ । यस्तो अवधारणाले त भारतको लखनउ विद्रोहलाई दमन गरेर जंगबहादुरले बर्दियादेखि कञ्चनपुरसम्मको भू–भाग पुनः प्राप्त गर्ने मूल भूमिका खेलेकाले उनलाई पनि नेपालको उपएकीकरणकर्ता वा उपराष्ट्रनिर्माता मान्नुपर्ने ठाउँमा पुर्याउँछ । ब्रिटिस स्वार्थमा लखनउ दमन ठीक मान्नुपर्ने हुन्छ । के यही दृष्टिकोण सही हो त ?

बल प्रयोग गरेर भए पनि एउटै राज्यअन्तर्गत धेरै भू–भाग र जनतालाई ल्याउनु नै एकीकरण हो भने इतिहासमा राज्य निर्माणका निम्ति भएका सबै बल प्रयोग र युद्ध जायज मान्नुपर्ने हुन्छ । यो कुरा मान्ने हो भने वर्तमान भारतको राष्ट्रनिर्माता बेलायतकी महारानीलाई मान्नुपर्ने हुन्छ ।

सबै कुरामा बल प्रयोग ठीक भनेर संसारमा कुनै पनि सिद्धान्तले भन्दैन, तब सबै अवस्थामा देश निर्माण गर्न गरिएको बल प्रयोग कसरी ठिक हुन्छ ? अनि, त्योबाहेक अर्को विकल्प थिएन भन्ने कसरी निष्कर्ष निस्कन्छ ?

सामन्ती युगमा बल प्रयोग नै मुख्य काइदा हुन सक्छ । तर गौतम बुद्ध, महावीरका शिष्य पनि जन्मिसकेका थिए र राजा अशोकले हिंसाको बाटो त्यागेका दृष्टान्त पनि यही दक्षिण एसियामा स्थापित भइसकेको थियो ।

त्यसैगरी, बल प्रयोग गरेर जितेको हुनाले त्यो विजेताले गरेको ठीक मान्ने दृष्टिकोण स्थापित गर्ने हो भने इतिहासमा हार्नेहरू सबै बेठीक थिए भन्ने मान्नुपर्ने हुन्छ । हार्नु र जित्नु नै ठीक र बेठीकको सिद्धान्त हुन सक्दैन । यसर्थ, सामन्तवादी युग वा त्योभन्दा पनि पहिले सबै एकीकरणमा बल प्रयोग भएका थिए भन्ने कुरा सही होइन । र, बल प्रयोग हुनेबित्तिकै सही भएका थिए भन्ने पनि होइन । इतिहासको मूल्यांकन गर्दा आजसम्ममा विकसित समाज विज्ञानमा अधारित भएर गर्ने हो, उपनिवेशवादीहरूले बनाएको अवधारणामा उभिएर होइन ।

‘पृथ्वीनारायण शाहले राज्य विस्तार नगरेको भए हामीले आज आफूलाई नेपाली भनेर गर्व गर्न पाउँदैनथ्यौँ । त्यसकारण शाहको कदम ठीक र एकीकरण नै थियो’ भन्ने तर्क पनि छ । देशको आकार ठूलो र सानो अनि जनसंख्या धेरै र थोरैसँग मानिसको प्रगति र समृद्धि मूल रूपमा जोडिएको छैन । बरु वैचारिक तथा अर्थ–राजनीतिक दिशा र संरचनाले नै निर्णायक भूमिका खेलेका छन् । के कुरा बुझ्नैपर्छ भने पृथ्वीनारायण शाहकालीन नेपालका ‘भुरे–टाकुरे’ प्रकारका राज्य संसारमा खास कालमा सबैतिर कुनै न कुनै रूपमा थिए । नेपालमा पृथ्वीनारायणले जसरी साना राज्य घटाए, त्यही प्रक्रियाबाट दुनियाँको सबै साना राज्य घट्न पुगेका पनि हुँदै होइनन् । त्यसैले पृथ्वीनारायण शाहले नाक–कान काटेर कीर्तिपुरलाई गोरखा राज्यअन्तर्गत नल्याएको भए पनि यो संसारमा आज कीर्तिपुर भन्ने देश हुने थिएन, किनभने कीर्तिपुरवासी स्वयंले अलि ठूलो भू–भागको चलखेलको महत्व बुझिसकेका हुने थिए ।

यो राष्ट्रिय गर्व त त्यस भूमिसँगको निरन्तरको उठबस र त्यसमाथि आफ्नो स्वामित्वबाट पैदा हुने कुरा हो । त्यो एक सापेक्षित अवधारणा हो । त्यो कुनै निरपेक्ष कुरा होइन ।

बलात्कारबाट पनि गर्भाधान हुन्छ । त्यसरी जन्मिएको बच्चा पनि मानिस नै हो र उसले अरु मानिससरह नै जीवनयापन गर्न पाउनुपर्छ । त्यसो भए के बलात्कार ठीक हो त ? त्यो बलात्कारबाट जन्मेको बच्चाले आफ्नी आमामाथि बलात्कार गर्नेलाई महान् बाबु नै मान्छ त ? कदापि मान्ने छैन ।

त्यसैले आज नेपाल जत्रो छ, त्यत्रो नेपालको नागरिक भएकाले वा नेपाली हुनुमा गर्व गर्न पाउने भएकाले पृथ्वीनारायणको राज्य विस्तार ठीक र त्यो एकीकरण नै थियो भन्ने निष्कर्ष कदापि निस्कन सक्दैन ।

पृथ्वीनारायण शाहको काठमाडौंकेन्द्रित हिन्दू राज्यको अधीनस्थ भएपछि नेपालका दलित, जनजाति, मधेसी र कर्णालीपारिले अंग्रेजी उपनिवेशवादले गर्ने अत्याचारभन्दा कम के भोगे त ?

पृथ्वीनारायणले राज्य विस्तार नगरेका भए अंग्रेजले सिंगै नेपाल खान्थ्यो भन्ने जुन तर्क छ, त्यसो हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । अंग्रेजले त्यति बेलाका राज्यहरू लिन खोज्दा एक–डेढ सय किलोमिटर परका गोरखालीसँग त लड्ने कीर्तिपुरवासीले समुद्रपारिका अंग्रेजसँग लड्ने जुक्ति खोज्दैनथे होलान् भनेर ठोकुवा गर्न सक्ने कुरा पनि होइन । अर्को कुरा, नेपालीले प्रतिरोध गर्दा पनि विदेशीको प्रतिरोध नगर्ने भारतीय जनताले त अन्ततः उपनिवेशवादलाई धपाए भने नेपाली जनताचाहिँ लड्दै लड्दैनथे त कुनै हालतमा भन्न सकिने कुरा हुनै सक्दैन ।

अर्को दुःखदायी यथार्थतिर पनि ध्यान खिचौँ । पृथ्वीनारायणको आँखाबाट नहेरी नेपालका जनजाति, मधेसी, दलित र कर्णालीपारिका जनताको आँखाबाट हेरियो भने तत्कालीन नेपालको राज्य र अंग्रेजमा के कति फरक देखिन्छ ? यदि पृथ्वीनारायणको राज्यको अधीनस्थ राख्नुभन्दा अंग्रेजी राज्यको अधीनस्थ बनाएको भए कर्णालीपारि, दलित, मधेसी र जनजातिलाई के फरक पर्थ्यो होला ? कर्णालीपारि आजभन्दा थोरै भए पनि बढी भौतिक विकास हुन्थ्यो होला । जसरी भारतका दलितको आवाज सुन्नसम्म भए पनि सुनेजस्तै नेपाली दलितका आवाज त्यतिबेलै सुन्न सुरु हुन्थ्यो होला । जनजाति र मधेसीले आजभन्दा पक्कै पनि बढी भौतिक विकास र सुविधा पाउँथे होलान् । बदलामा दलित, मधेसी, जनजाति र कर्णालीपारिले अंग्रेजको रैती हुनुपर्थ्यो, कुरा त्यति हो । त्यसैगरी मुस्लिम र जनजातिले अझै थप आफ्नो धर्ममाथिको समेत दमन भोग्नुपर्थ्यो, यति न हो । पृथ्वीनारायण शाहको काठमाडौंकेन्द्रित हिन्दू राज्यको अधीनस्थ भएपछि नेपालका दलित, जनजाति, मधेसी र कर्णालीपारिले अंग्रेजी उपनिवेशवादले गर्ने अत्याचारभन्दा कम के भोगे त ? पृथ्वीनारायणको राज्य दूरीका हिसाबले अलि नजिकबाट आएको, छालाको रंग अलि बढी मिल्ने तर अंग्रेज धेरै टाढाबाट आएको, छालाको रंग धेरै नमिल्ने । यहाँभन्दा बढी फरक के भयो त यथार्थमा ? छातीमा हात राखेर सोच्ने हो भने गुणात्मक रूपमा केही पनि फरक भएन ।

यसको अर्थ साम्राज्यवाद ठीक हो भन्ने निष्कर्ष कदापि होइन । बरु दलित, जनजाति, मधेसी र कर्णालीपारिको निम्ति पृथ्वीनारायणको राज्य ‘चिनेको चोरले काट्छ’ भन्ने उखानलाई चरितार्थ गर्ने सानो उपनिवेशवादी राज्य नै थियो । त्यसकारण नेपाल भनेको दलित, जनजाति, मधेसी र कर्णालीपारिका जनताको पनि हो भनेर बुझ्ने बित्तिकै त्यो एकीकरण थियो या राज्य विस्तार भन्ने कुराको एउटा बन्द झ्याल खुलिहाल्छ ।

एकीकरण हो, किनभने हिन्दुत्व जोगायो भन्ने तर्क पनि गरिन्छ । कुनै पनि विचार वा धर्म मूलतः आफूभित्रको वैचारिक कमजोरी वा त्यस विचार या धर्म अनुसरण गर्ने समुदायको कमजोरीका कारण कमजोर हुन्छ, सिद्धिन्छ पनि । संसारमा इसामसिह जुन देशमा जन्मिए र त्यहाँ पहिलो चर्च छ, तर इसाई कम छन् । त्यहाँ ११ सय वर्षअगाडि बनेको मस्जिद छ, तर मुस्लिम कम छन् । त्यो देश हो, यहुदीहरूले निर्माण गरेको इजरायल ।

भारतमा दुई सय वर्ष शासन गरे पनि के सबै भारतीय इसाई भए त ? अनि, २०६३ सालसम्म पनि ‘हिन्दू अधिराज्य नेपाल’ रहँदा अन्य धर्म नेपालमा छिर्नबाट रोकियो त ? भारत र नेपाल दुवैमा हिन्दू र प्राकृत धर्म सम्प्रदायबाट नै बढी इसाई भएका छन् । इस्लाम र बुद्धधर्मी समुदायबाट कम इसाई हुन पुगेका छन् । किन होला ? जनता त्यत्तिकै अर्को धर्ममा जान्छन् भन्ने होइन, त्यसमा आन्तरिक कारण पनि गम्भीर रूपमा जिम्मेवार हुन्छन् ।

‘नत्र हिन्दू धर्म मासिन्थ्यो, त्यसैले पृथ्वीनारायणको राज्य विस्तार एकीकरण नै थियो’ भन्ने हो भने हिन्दूबाहेकका नेपालभित्रका बौद्ध, इस्लाम, किरात र अन्य धर्ममाथि दमन गर्नु ठीक हो भन्नुपर्ने हुन्छ । एउटा किरातीका लागि हिन्दू वा इस्लाम वा इसाई जुन धर्मले दमन गरे पनि के फरक पर्छ ? अझ तर्कै गर्ने हो भने इस्लाम र इसाईले त गाई काटेर खान एवं गाईको छालाले छत्तीस ताल निस्कने किरात च्याब्रुङ बाजा बनाउन स्वीकृति दिन्छ, हिन्दूले चाहिँ गाई मार्दा जेल हाल्छ । त्यसैले ‘असिल् हिन्दुस्थाना’ बनाउने राज्य विस्तारको यात्रा कसरी गैरहिन्दूका लागि एकीकरण हुन्छ ?

कतिपय मानिसलाई के पनि भ्रम छ भने धर्मका आधारमा पनि राष्ट्र बन्छ तर आधारभूत राष्ट्र निर्माणको मूल पक्ष धर्मको जगमा कहिल्यै उभिएको छैन ।

युरोपमा अधिकांश देशका जनता इसाईधर्मी छन् तर भाषा, संस्कृति एवं जातीय पहिचानका कारण राष्ट्र अलगअलग बन्न पुगेको छ । सिंगो अरब क्षेत्र इस्लामधर्मी हो । भाषा, संस्कृति एवं मनोविज्ञान फरक भएकाले अलगअलग राष्ट्रियता बन्न पुगेका छन् । धर्मले राष्ट्र बनाउन ठूलो भूमिका खेल्छ भन्ने होइन र एकीकरण हो भन्ने तर्कसँग हिन्दू धर्म जोगाउने विषयको कुनै समाजशास्त्रीय सम्बन्ध नै छैन ।

स–साना राज्यका राजालाई प्रगतिको वास्ता थिएन, तर पृथ्वीनारायणलाई चिन्ता थियो, त्यसैले एकीकरण नै भन्नुपर्छ भन्ने तर्क पनि छ । यो तर्क पनि तथ्यमा आधारित छैन, किनभने तत्कालीन गोरखा राज्यमा एउटा गतिलो दरबारसम्म थिएन, तर वागमती उपत्यकामा भव्य सभ्यता भइसकेको थियो । कर्णालीपारि र भेरी आसपासका राज्यहरू अनि पूरै लिम्बुवानसम्म शासन चलाउने सेन राज्य गोरखा राज्यभन्दा विकासमा पछि थिए भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन । आफ्नो प्रगतिको वास्तै थिएन भने आफू मर्न तयार भएर पृथ्वीनारायणको सेनासँग किन लडेका त विजित राज्यका जनताले ? प्रगतितिर वास्तै थिएन भने १८३१ सालमा लिम्बुवान स्वायत्तताको लिखित सम्झौता गरेर मात्र गोरखाली राज्यलाई मान्न तयार किन भयो लिम्बुवान ?

त्यति बेलाका फरक सभ्यताका राज्यका राजा र जनता प्रगति नै चाहँदैनथे भन्ने मान्ने हो भने पनि जबर्जस्ती मान्छे मार्दै प्रगति गराइदिन जाने अधिकार पृथ्वीनारायणलाई कहाँबाट प्राप्त हुन्छ ? आजका राउटेलाई जबर्जस्ती गाउँ बनाएर राख्ने, नमान्नेलाई नाक–कान काटिदिन मिल्छ ?

कतिले भन्छन्, ‘त्यो त्यति बेलाको आवश्यकता थियो ।’ हो, तर कसको आवश्यकता ? जात प्रथा त्यति बेलाको आवश्यकता हो तर श्रमिक वर्गको होइन, शोषक वर्गको आवश्यकता हो । बहुपत्नी प्रथा पनि आवश्यकता हो तर महिलाको होइन, मनमौजी पुरुषको आवश्यकता हो । भक्तपुरमा मीत लाउन आउँदा सहस्र स्विकार्ने भक्तपुरेहरूको आवश्यकता भनेको गोरखासँग मीतको साइनो गाँस्ने होला तर पृथ्वीनारायणको आवश्यकता हमला गरेर अधीनस्थ बनाउने भयो । त्यसैले आवश्यकताको सिद्धान्तलाई कसको आवश्यकता भन्ने कसीले जाँच्नैपर्छ ।

एकीकरण थिएन भने अब के नेपाललाई पुरानै बाइसे–चौबीसे राज्यहरूमा टुक्राउने त ? यस्तो प्रश्नले बालविवाह ठीक थिएन भन्नुको मतलब बालविवाहपछि दाम्पत्य जीवन जेनतेन चलाइरहेको जोडीलाई सम्बन्धविच्छेद नै गराउनुपर्छ भन्ने ठाउँमा पु¥याउँछ ।

अढाइ सय वर्षको एकात्मक केन्द्रीकृत हिन्दू पहाडिया खस अहंकारवादमा आधारित शासनले नेपालका विभिन्न भाषा, संस्कृति, क्षेत्र र जातीय मनोविज्ञानका मानिसलाई उनीहरूका मौलिक भाषिक, सांस्कृतिक, मनोवैज्ञानिक समग्रमा अलग सभ्यताकृत सम्पदालाई छियाछिया पार्दै प्रताडना दिँदै एकै राज्यमुनि बस्न बाध्य पा¥यो । त्यस बाध्यताले स्वाभाविक रूपमा जनताका बीचमा आपसी न्यानो, एकअर्काको आवश्यकता अनि सँगै मिलेर प्रगति गर्न सकिने सम्भावना पनि जन्माउँदै लग्यो । अब छुट्टिएर भन्दा पनि मिलेरै प्रगति गर्न सकिने अनि साझा परिचय नेपाली भन्नुमा बेग्लै आनन्दको अनुभूति थपिँदै गयो । यसरी बहुराष्ट्रिय राष्ट्रियता निर्माणको सम्भावना प्रकट हुन पुग्यो ।

‘नत्र हिन्दू धर्म मासिन्थ्यो, त्यसैले पृथ्वीनारायणको राज्य विस्तार एकीकरण नै थियो’ भन्ने हो भने हिन्दूबाहेकका नेपालभित्रका बौद्ध, इस्लाम, किरात र अन्य धर्ममाथि दमन गर्नु ठीक हो भन्नुपर्ने हुन्छ । एउटा किरातीका लागि हिन्दू वा इस्लाम वा इसाई जुन धर्मले दमन गरे पनि के फरक पर्छ ?

यहाँसम्म आइपुग्दा यो कुरो जन्मियो तर नेपालमा जनजाति, मधेसी, मुस्लिम, दलित, कर्णालीपारिका जनताका हजारौँ हजार सांस्कृतिक, बौद्धिकलगायत सम्पदा जो हजारौँ वर्ष लगाएर बनेका थिए, ती सम्पदा सदाका निम्ति ध्वस्त हुन पुगे । ती सम्पदासहित अगाडि बढ्न पाइएको भए आजको यहाँको मानवको सभ्यता निश्चय नै अहिलेको भन्दा कता हो कता माथि हुन पुग्थ्यो । तर, पृथ्वीनारायण शाहको गलत तरिकाको अर्थात् फरक सभ्यतालाई नष्ट गर्ने राज्य विस्तारको अभियान र अढाइ सय वर्षको गलत शासन प्रक्रियाले हामी धेरै नै मौलिक सामथ्र्य गुमाइसकेको सभ्यता बन्न आइपुगेका छौँ । गंगा र ह्वाङहो अनि ककेसिया, सिन्धु र इस्लाम सभ्यतादेखि आइपुगेका सांस्कृतिक सामथ्र्यसहितको भव्यताको यो हिमालदेखि मैदानसम्म फैलिएको मानव बस्ती आज कंकालजस्तो हुन पुगेको छ । अर्को सभ्यतामाथि हस्तक्षेपको विस्तारको प्रक्रियाको कारण नै हुन पुगेको स्पष्ट छ । त्यसैले फरक सभ्यताहरू ध्वस्त पार्दै जाने प्रक्रियाको सुरुवात कसरी एकीकरण हुन सक्छ ? त्यो वास्तवमा फरक सभ्यताहरूको ध्वस्तीकरणको एउटा प्रक्रियाको सुरुआत थियो ।

कतिपयले मजबुत आर्थिक एकाइ निर्माणको कोणबाट मात्रै हेर्छन् । त्यसरी हेर्दा त झन् दक्षिण उत्तरमा त्यतिबेला ठूला आर्थिक एकाइ थिए । त्यता मिलाउने कुरा पो प्रगतिशील हुन पुग्छ, जुन होइन । राष्ट्रियता अथवा विशिष्ट मानव समूहको मुद्दा आर्थिक मात्र भए किन टुक्रिन्थ्यो सोभियत संघ ? किन बन्थ्यो पाकिस्तान र बंगलादेश ?

नेपालमा एकीकरणको विषयलाई फरक–फरक सभ्यताको एकीकरण कसरी भन्ने प्रश्नबाट हेर्नैपर्छ । समग्रतामा पृथ्वीनारायण शाह त्यति बेलाका एक सक्षम हिन्दू पहाडिया खस–आर्य अहंकारवादी राजा थिए । हरेक सामन्तवादी राजालाई जस्तै धेरै भू–भाग र जनतामाथि शासन गर्ने सपना उनीमा थियो ।

उनको ‘दिव्य उपदेश’ भनी चर्चा गरिएको देशभक्तिका बखानहरू वास्तवमा सामन्तवादकालीन देशभक्तिभन्दा माथिल्लो स्तरका होइनन् । पृथ्वीनारायण शाह कुनै युद्धसरदार अथवा लुटाहा योद्धाचाहिँ होइनन् । आजको नेपाल देशलाई संगठित गर्ने राजा हुन्, पृथ्वीनारायण शाह । तर जे जसरी उनले नेपाल संगठित गरे, त्यो कदम एकता र एकीकरण होइन, बरु हिन्दू पहाडिया आर्य–खस अहंकारवादी राज्यको विस्तार र सुदृढीकरण मात्र थियो ।

निःसन्देह नेपाल देशको जग राख्ने राजा पृथ्वीनारायण नै हुन् । त्यस अर्थमा उनलाई देशनिर्माता भन्न सकिन्छ, तर राष्ट्रनिर्माता होइनन् । किनभने, नेपालका फरक–फरक राष्ट्रियतालाई दमन गरेर वास्तविक बहुराष्ट्रिय राज्य बन्नै सक्दैनथ्यो र बनेन । उनले त झन् बहुराष्ट्रियतामाथि दमनको योजनाबद्ध अभियान सुरु गरे, जसकारण नेपालको आन्तरिक राष्ट्रियताको मुद्दा दिन प्रतिदिन कचल्टिन गयो र आजसम्म समाधान भएको छैन । नेपालमा देश र राष्ट्रको अन्तरलाई हेरिएन भने नेपाल एउटै सभ्यताको देशका रूपमा मात्रै बुझिन्छ, जुन कुरा सत्य होइन । तसर्थ, पृथ्वीनारायण शाह देश निर्माता हुन्, राष्ट्रनिर्माता होइनन् ।

देश हुनका निम्ति राज्यसत्ता, शासित जनता र भू–भाग भए पुग्छ तर राष्ट्र हुनका निम्ति त्यहाँका मानिसहरूबीचको सांस्कृतिक सम्बन्ध मुख्य भएर आउँछ । उनले देश निर्माण गरे, तर नेपालमा बहुसभ्यता बीचबाट वास्तविक नेपाली राष्ट्रियता निर्माणको प्रवेशद्वारमै ताला मारिदिए । त्यसकारण उनको बहुसभ्यताविरोधी अभियान एकता र एकीकरण थिएन, बरु बहुसभ्यता ध्वंशीकरण अभियान थियो । उनको कार्य एकीकरण हुन्थ्यो भने आज अढाई सय वर्षपछि हामी वास्तविक राष्ट्रिय एकीकरण जरुरी छ, भन्न बाध्य हुने थिएनौँ ।

साभार – नागरिक दैनिक

(Visited 99 times, 1 visits today)

टिप्पणी

comments