Main Menu

अन्तर्क्रिया

इतिहासमा धक्का दिने निर्णय र कार्य अध्यक्ष प्रचण्डको अहिलेको स्टेपबाट मात्रै सम्भव–नारायणकाजी

prachanda-step-revolutionary-narayankaji

  • नारायणकाजी श्रेष्ठ

(गत वैशाखदेखि असोजसम्ममा तीन चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पक्ष विपक्ष धारमा रही तिक्तता सहितको राजनीतिमा होमिएका नेकपा माओवादी केन्द्र र नेकपा एमाले आगामी प्रदेश र संसदको चुनावमा तालमेल गर्दै पार्टी एकताको प्रकृयामा नै जाने घोषणा हुने कुरा बाहिर आउँदा धेरैले यसलाई कसैको ठट्टाको खबरको रुपमा लिएका थिए । तर, राजधानीको प्रदर्शनी मार्गस्थित सभा गृहमा माओवादी केन्द्र, एमाले र अझ नयाँशक्ति सहितका शिर्ष नेताहरु नै उपस्थित भई संयुक्त हस्ताक्षर गरेर सार्वजनिक घोषणा गरेपछि ठट्टा लाग्ने घटनालाई यथार्थको रुपमा लिन सबैलाई बाध्य गरायो । माओवादी केन्द्र पार्टीभित्र दोश्रा, तेस्रा र आधार तहका नेता तथा कार्यकर्ताहरुमा ठूलो अन्यौलता छायो । कहिँकहिँ त रुवावासी नै भएको खबर आयो । कयौंले नेताहरुलाई गाली गरे । आदि इत्यादि भए ।

पार्टी नेता तथा कार्यकर्ताहरुलाई समेत अप्रत्याशित लागेको यो एकता प्रकृया किन, केका लागि, कसरी अगाडि बढ्दैछ भन्ने पार्टी भित्र र बाहिर धेरैलाई अझै लागिनैरहेको छ । यही क्रममा गत असोज २१ गते शनिवार माओवादी केन्द्रका शिर्षस्थ नेताहरुले काठमाडौंमा पोलिट ब्यूरो तहका नेताहरुलाई भेला गरी एक प्रशिक्षण कार्यक्रम गरे । त्यस कार्यक्रममा पार्टीमा अध्यक्ष प्रचण्डपछि दोश्रो स्थानका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अहिले भर्खरै घोषणा भएको चुनावी तालमेल र पार्टी एकताका सम्बन्धमा उठेका समग्र प्रश्नलाई उत्तर दिने प्रयत्न गरे । नेता प्रकाशले प्रशिक्षण कार्यक्रममा दिएको वक्तब्यलाई वहसमा लान सकिने गरी अन्तर्क्रियाको विषयको रुपमा यहाँ संक्षिप्त प्रस्तुत गरिन्छ ।– सम्पादक)

कमरेडहरु ! नेपालका कम्युनिष्ट पार्टीहरु, एमालेलगायतका वामपन्थी पार्टीहरु, नेपाली काँग्रेसलगायतका अन्य राजनीतिक पार्टीहरु, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, नेपालको राजनीतिक आन्दोलन, नेपाली समाज र अन्तराष्ट्रिय क्षेत्रमा अहिले ठूलै भूकम्प र तरङ्ग उत्पन्न भएका छन् । त्यही भूकम्प र तरङ्गलाई हामीले कसरी नेतृत्व प्रदान गर्छौँ ? त्यो कुन प्रयोजनको निम्ति सृष्टि गरिएको हो ? त्यो दिशातिर कसरी लैजान्छौँ ? भन्ने कुराको वरिपरि छलफल गर्न आज ऐतिहासिक प्रकृतिको विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

हामीले एमालेसँग पार्टी एकता गर्ने उद्देश्यका साथ पार्टी एकता संयोजन समिति गठन गरेका छौँ । हामीले एमालेसँग आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निर्वाचन तालमेल गर्ने निर्णय गरेका छौँ । यो निर्णय वा कुनै पनि निर्णय सही छ वा गलत छ भन्ने मापन गर्ने मूल आधार के हो ? हामी माक्र्सवादीहरुको लागि ऐतिहासिक भौतिवादी दृष्टिविन्दुका आधारमा यो ऐतिहासिक वस्तुगत आवश्यकतासँग मेल खान्छ कि खाँदैन ? त्यसले माग गरेअनुसार छ कि छैन ? भन्ने आधारमा निक्र्यौल गर्नुपर्ने हुन्छ । त्यसरी हेर्दा सामान्यतया अन्तराष्ट्रिय परिस्थिति र अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन एवं नेपालको कम्युनिष्ट आन्दोलन तथा राजनीतिक परिस्थितिको सापेक्षता र सन्दर्भमा यो वस्तुगत ऐतिहासिक आवश्यकता अनुरुप लिइएको ऐतिहासिक, साहसिक, गुणात्मक छलाङयुक्त क्रान्तिकारी निष्कर्ष र निर्णय हो । त्यसैले म प्रारम्भमै यो निष्कर्ष र निर्णयलाई अत्यन्तै गहिरोसाथ आत्मसाथ गर्न र यसलाई सही ढंगले कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्न विशेष अपिल गर्न चाहन्छु ।

ठोस रुपमा जनताको जीवन नै परिवर्तन गर्ने, विशेषतः मजदुर, किसान, श्रमजीवि, दलित, जनजाति, महिला, पिछडिएको क्षेत्रका जनता, मुस्लिम, थारु, सबै समुदाय र उत्पीडित समुदायलाई ‘अब हामी यो परिवर्तनमार्फत् के दिन्छौँ ? भन्ने प्रश्नलाई अब उत्तरित गर्नुपर्छ ।

कमरेडहरु, यो निर्णयपछाडिका हाम्रा वस्तुगत र आत्मगत आधारहरु के हुन् ? म त्यही सैद्धान्तिगत र नीतिगत प्रश्नहरुमा मात्रै अहिले संक्षेपमा चर्चा गर्न चाहन्छु । किनभने, यो निर्णयको वरिपरिका सम्पूर्ण विषद् व्याख्या अध्यक्ष कमरेडले नै गर्नुहुनेछ । तर, प्रश्न हामीले गर्नुपर्छ र त्यसतर्फ उत्तरित हुनुपर्छ । यो निर्णय पछाडिका वस्तुगत र आत्मगत आधार के हुन् ? कुन कुराले हामीलाई यो निर्णय लिनुपर्ने ठाउँमा पुर्यायो ? हाम्रो नेतृत्वले यो निर्णय किन लियो ? यसको वस्तुगत आधार र आत्मगत आधारलाई हामीले पहिचान गर्नुपर्छ ।

पहिलो वस्तुगत आधार यो हो कि हामीले नयाँ जनवादी क्रान्तिको रणनीतिलाई लिएर र नयाँ जनवादी ब्यबस्था स्थापित गर्ने लक्ष्यलाई लिएर अगाडि बढ्ने क्रममा तात्कालिक आवश्यकता र तात्कालिक शक्ति सन्तुलनको विश्लेषण गरेर हामी संविधान निर्माणको प्रक्रियामा गयौँ र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्ने नयाँ संविधान निर्माण गर्यौँ । यो परिवर्तनको प्रक्रियाको संक्रमणकाललाई टुंग्याउने दिशातिर हामी अहिले गइराखेका छौँ र त्यो टुंग्याउने भनेको अब संविधान कार्यान्वयनको पहिलो चरणको मूख्य कार्यभार तीनवटै चुनाव सम्पन्न गर्नु हो । त्यो चुनाव सम्पन्न गर्ने काम मंसिर १० गते र २१ गते हुँदैछ । यस अर्थमा संक्रमणकालको अवशेषहरु हामी मंसिर १० गते र २१ गतेपछि अन्त गर्दैछौँ ।

तर हाम्रोअगाडि प्रश्न आयो, हाम्रा महान शहिदहरु, बेपत्ता योद्धाहरु, घाइते योद्धाहरु, लाखौँलाख क्रान्तिकारी कमरेडहरु र आम जनसमुदायले जुन उद्देश्य र लक्ष्यका निम्ति आफूलाई समर्पित गरे, बलिदान गरे वा ठूलो संघर्षमा आफूलाई होम्याए, त्यसको कारणबाट, त्यसको परिणामस्वरुप प्राप्त भएको अहिलेको परिवर्तनले तत्काल के दिनुपर्छ जनतालाई र दीर्घकालीन रुपले कता लैजानुपर्छ ? भन्ने प्रश्नहरुले हामीलाई घोच्नु स्वभाविक कुरा हो, घोच्नैपथ्र्यो । आजको पहिलो आवश्यकता यसकारणले के हो त ? भने, वस्तुगत आधार के त ? भने, अब संविधान कार्यान्वयनको क्रमबाट हामी नयाँ चरणमा प्रवेश गर्दैछौँ । त्यो भनेको अहिलेको जो समाजवादउन्मुख समावेशी लोकतन्त्र स्थापित गरेका छौँ हामीले, त्यसले जनतालाई राजनीतिक अधिकार संविधानमार्फत् दिइराखेको छ । त्यसलाई पनि कानुन बनाएर क्रियान्वयनमा लैजानु आवश्यकता छ भने ठोस रुपमा जनताको जीवन नै परिवर्तन गर्ने, विशेषतः मजदुर, किसान, श्रमजीवि, दलित, जनजाति, महिला, पिछडिएको क्षेत्रका जनता, मुस्लिम, थारु, सबै समुदाय र उत्पीडित समुदायलाई ‘अब हामी यो परिवर्तनमार्फत् के दिन्छौँ ? भन्ने प्रश्नलाई अब उत्तरित गर्नुपर्छ । त्यो उत्तरित गर्नको लागि हामीले यो अबको निर्वाचनमार्फत् संक्रमणकालको अवशेषको अन्त्य मात्र होइन, अब हामीले बहुमतको सरकार बनाएर यो संविधान कार्यान्वयन गर्दै यो संविधानलाई विकास गर्न आवश्यक दिशा प्रदान गर्दै यसबाट सामाजिक न्याययुक्त समतामूलक समृद्ध नेपाल निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यो भएन भने हामीले यो परिवर्तनबाट के दियौँ भन्ने प्रश्नको हल हुँदैन । र, त्यो प्रश्नको हल नगरीकन रणनीतिक रुपमा क्रान्तिको नयाँ चरणमा जो जनताको साथ हुनुपर्ने हाम्रो उद्देश्य छ, त्यो पूरा हुन सक्दैन । त्यसैले अहिले खास वस्तुगत आधार हाम्रो अगाडि यो छ कि संविधान कार्यान्वयनको प्रक्रियामा जाँदा अब हामीले समतामूलक समृद्धि, सामाजिक न्याययुक्त समृद्धि दिनसक्नुपर्छ र जनताको जीवन नै परिवर्तन गर्ने प्रकारको कदम चाल्नुपर्छ । त्यसले हामीलाई यो चरणमा पुर्यायो कि अब बहुमतको सरकार हामीले बनाउनैपर्छ । त्यो सरकारले यो संविधानलाई प्रभावकारी ढंगल कार्यान्वयन गर्नुपर्छ । त्यसले सामाजिक न्याय र समृद्धि दिनुपर्छ, । त्यसले समाजवादको आधार निर्माण गर्नुपर्छ । त्यसो गरिएन भने हामी फेल हुन्छौँ र हाम्रो रणनीतिक लक्ष्यसम्म पुग्ने दिशातिर आम जनतालाई गोलबन्द गर्ने हाम्रो कदम असफल हुन्छ । एउटा आधार तत्कालीन रुपमा यो हो ।
दोस्रो आधार के हो भने हामीले नेपालको क्रान्तिको एउटा ऐतिहासिक चरणलाई पार गरेका छौं । यो सामन्तवादविरोधी क्रान्तिलाई मूलभूत रुपमा पार गर्न सामन्तवादको अन्त आधारभूत रुपमा गर्नुपर्ने पनि हाम्रो निष्कर्ष छ । अहिले हामीले सामन्तवादको अन्त गरेर एकप्रकारको लोकतन्त्र स्थापित गरेका छौँ । यो लोकतन्त्र चाहिँ परम्परागत संसदीय गणतन्त्रभन्दा भिन्न, तर हामीले स्थापित गर्न खोजेको र चीनले लिएजस्तो नयाँ जनवाद र जनताको जनवादजस्तो पनि नभई यो अलि भिन्न प्रकृतिको भयो । तर, यहाँ हाम्रो आफ्नै मौलिकताको पुँजीवादी लोकतन्त्र स्थापित भएको छ, जो समावेशी लोकतन्त्र हो, जसलाई संविधानले समाजवादउन्मुख बनाउने आधार निर्माण गरेको छ ।

त्यसैले अहिले खासमा भन्दा हाम्रो एउटा ऐतिहासिक कार्यभार पूरा भएको छ । अब हामी वैचारिक राजनीतिक रुपले नेपाली क्रान्तिलाई अगाडि बढाउने र शहिदहरुको सपना पूरा गर्नको निम्ति नयाँ वैचारिक राजनीतिक कार्यभार पूरा गर्ने दिशामा जानैपर्छ, हाम्रो पार्टीको संश्लेषण यही हो । त्यो भनेको माक्र्सवाद स्वयंको विकास, त्यो भनेको नेपाली समाजको अहिलेको वर्गविश्लेषण, आधारभूत अन्तरविरोध र सबै प्रकारका अन्तरविरोधहरुको संश्लेषण र नेपालको राजनीतिक कार्यदिशाको संश्लेषण र विचार । त्यसकारण अहिले हामी वैचारिक राजनीतिक कार्यदिशाको नयाँ संश्लेषण र विकासको ऐतिहासिक आवश्यकतामा छौँ ।

नयाँ ऐतिहासिक कार्यदिशाको विकास र त्यसको कार्यान्वयन गर्दै क्रान्ति सम्पन्न गर्ने क्षमतामा पार्टी निर्माण गर्नको निम्ति पार्टी पुनर्गठन र नयाँ पार्टी निर्माणको आवश्यकता छ । त्यो ऐतिहासिक वस्तुगत आवश्यकताको पृष्ठभूमिमा अहिलेको निर्णय हुन पुगेको हो ।

हाम्रो हिजोको क्रान्तिकारी कार्यदिशाले एउटा ऐतिहासिक कार्यभार पूरा गर्यो । अब हामीले नयाँ वैचारिक राजनीतिक कार्यदिशाको विकास गर्नुपर्ने अवस्था छ र त्यो ऐतिहासिक कार्यभारको अगाडि हामी उभिएका छौँ ।
दोस्रो, २००६ सालमा स्थापित भएको कम्युनिष्ट पार्टीले सामन्तवादविरोधी पुँजीवादी जनवादी क्रान्तिको कार्यभारलाई मूलभूतरुपमा अहिले आफ्नै मौलिकतामा सामन्तवादको अन्त गर्ने काम पूरा गरेको अवस्था छ भने अब हामीले नयाँ वैचारिक राजनीतिक कार्यदिशाको संश्लेषण एवं विकास गर्न त्यसलाई कार्यान्वयन गरेर नेपाली क्रान्तिलाई नयाँ उचाइमा अगाडि बढाउँदै नयाँ ऐतिहासिक आवश्यकता र अर्को चरणको क्रान्तिलाई नेतृत्व गर्न नयाँ पार्टी निर्माणको प्रकृयाबाट अगाडि बढ्नु जरुरी छ । दोस्रो ऐतिहासिक आवश्यकता यो हो । यसकारण हामीले ती दुईटै ऐतिहासिक आवश्यकतालाई पूरा गर्न वैचारिक राजनीतिक रुपमा नयाँ संश्लेषण र विकास गर्दै ठोस कार्यदिशाको निर्माण गर्यौं । सांगठनिक रुपमा सबल बन्यौं । ०६ सालदेखि जुन ढङ्गले कम्युनिष्ट पार्टी चल्दै आयो, त्यसलाई पुनर्गठन प्रकृयाबाट अगाडि ल्याउँदै क्रान्तिकारीकरण गर्यौं र अहिलेको नेतृत्वसम्म ल्याइपुर्यायौं । अब नयाँ ऐतिहासिक कार्यदिशाको विकास र त्यसको कार्यान्वयन गर्दै क्रान्ति सम्पन्न गर्ने क्षमतामा पार्टी निर्माण गर्नको निम्ति पार्टी पुनर्गठन र नयाँ पार्टी निर्माणको आवश्यकता छ । त्यो ऐतिहासिक वस्तुगत आवश्यकताको पृष्ठभूमिमा अहिलेको निर्णय हुन पुगेको हो ।

त्यसकारण यी दुईटा वस्तुगत आधारलाई अलग गरेर अहिलेको निर्णयलाई हेर्छौं भने हामी तत्कालीन केही कुराहरुमा अल्मलिन पुग्छौँ ।

अब रह्यो यसको आत्मगत आधार के हो त भन्ने कुरा । आत्मगत आधार पनि यसका दुईटा छन् । एउटा, हाम्रो र एमालेको बीचमा भएको माक्र्सवाद, लेनिनवाद र माओवादलगायतका सिद्धान्तमा मतभेद । यो हामी सबैले देखेकै कुरो हो । हामी माक्र्सवाद, लेनिनवाद, माओवाद भन्छौँ, उनीहरु माक्र्सवाद, लेनिनवाद मात्रै भन्छन् । उनीहरुले अहिले जनताको जनवादलाई क्रान्तिको सिद्धान्त बनाएका छन् । हामीले चाहिँ त्यसलाई अस्वीकार गरिरहेका छौँ । हामीले प्रतिक्रान्तिको शिक्षासहितको अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको सिंहावलोकन गरेर जो दस्तावेज पारित गरेका छौँ, एक्काइसौँ शताब्दीमा जनवादको विकास अथवा हाम्रा आफ्ना तत्कालीन पार्टीहरुका आ–आफ्ना त्यतिखेरका दस्तावेजहरुको छुट्टै प्रसंग छ । यो स्थितिमा हाम्रा केही मतभेदहरु छन् । तर पनि आत्मगत आधार के हो भने माक्र्सवादबाट विचलित नहुने, कम्युनिष्ट आन्दोलनबाट विचलित नहुने, र समाजवाद निर्माण गरेर जाने हो । यो साझा आधार छ । यो आत्मगत मूल आधार हो । यस मूल आधारको प्रश्नलाई इतिहासको आवश्यकता अनुरुप कुन ढंगले हल गर्ने भन्ने कुरा एउटा विधि, प्रकृया र नयाँ प्रकारको संश्लेषण दुईटैमार्फत् हामीले हल गर्नुपर्ने हुन्छ । तत्कालीन अवस्थामा हाम्रो आत्मगत आधार के हो भने अहिले हामी मूल राजनीतिक कार्यनीतिको प्रश्नमा एकै ठाउँमा छौँ । राष्ट्रिय स्वाधीनताको रक्षा, वर्तमान संविधानको कार्यान्वयन र विकास, शान्तिपूर्ण प्रतिस्पर्धा, त्यसमार्फत् सामाजिक न्याययुुक्त समृद्धि, र समाजवादको आधार निर्माण गर्नेजस्ता कुराहरु हाम्रा साझा आधारहरु हुन् । त्यसैले आत्मगत रुपमा तात्कालिक मूल राजनीतिक कार्यनीतिमा समानता र रणनीतिक रुपमा केही मूलभूत कुराहरुमा समानता, यी दुईटा आत्मगत आधारहरुले हामीलाई एकै ठाउँमा पुर्याउनका निम्ति खास आधार तयार पारिदिए ।

यी वस्तुगत र आत्मगत आधारहरुलाई अलग गरेर अहिलेको निर्णयलाई बुझ्न सकिँदैन । र, त्यस्तो निर्णय ऐतिहासिक भौतिकवादी दृष्टिसम्मत हुँदैन । त्यसले ऐतिहासिक वस्तुगत आवश्यकता के हो भन्ने कुरा पक्रन सकिने स्थिति पनि हुँदैन । त्यस्तो गरिएमा हामी तात्कालिक खुद्रामसिना कुराहरुमा अल्मलिन पुग्छौँ ।

अब तेस्रो प्रश्नमा आऊँ । हरेक ऐतिहासिक चरणमा वस्तुगत आधारहरु र आत्मगत आधारहरु विभिन्न ढंगले तयार हुन्छन् । कहिले वस्तुगत आधार परिपक्व हुन्छ, त्यसले एउटा आधार प्रदान गरेको हुन्छ तर आत्मगत आधार तयार भइसकेको हुँदैन वा आत्मगत आधारले निर्णय गर्न दिँदैन । यी दुईटालाई एकाकार हुने आधार कसरी तयार हुन्छ त भन्ने प्रश्न चाहिँ गम्भीर हुन्छ । यति हुँदैमा पनि सहज ढंगले हामी निर्णयमा कसरी पुग्यौं भन्ने अर्को आत्मगत पक्षको बारेमा गम्भीर संश्लेषणको आवश्यकता छ, गम्भीर ढंगले त्यसलाई बुझ्नुपर्ने आवश्यकता छ ।

खास कुरा के हो भने वस्तुगत र आत्मगत पक्ष तयार हुँदैमा यस प्रकारको निर्णय आफ्सेआफ भइहाल्छ भन्ने होइन । इतिहास परिवर्तन गर्ने यस्तो प्रकारको साहसिक छलाङमा आत्मगत पक्षको अर्को एउटा महत्वपूर्ण प्रश्न हाम्रो हल हुनुपर्ने विषय भनेको लिडरशिपको प्रश्न हो । लिडरशिप ठिक भएन भने वस्तुगत र आत्मगत पक्षलाई पहिचान गर्न सकिँदैन । वस्तुगत पक्षले माग गरेको र अनुमोदन गरेको कुरा आत्मगत पक्षले अनुमोदन गरेको हुनुपर्छ । वस्तुगत पक्षको ऐतिहासिक आवश्यकता र सम्भावनालाई आत्मगत पक्षले प्रष्ट पारेको छ भने पनि लिडरशिप त्यस अनुकुलको भएन भने साहसिक निर्णय हुन र कार्यान्वयन हुन सकिँदैन । लिडरशीपले वस्तुगत र आत्मगत पक्षलाई संश्लेषण गर्न सक्छ, त्यसलाई एकाकार गर्ने क्षमता, साहस र तत्पर्ता प्रदर्शन गर्न सक्छ भने मात्र वस्तुगत र आत्मगत पक्ष एकाकार हुन सक्ने हुन्छ र त्यसले माग गरेर अनुमोदन गरेको निर्णय इतिहासमा उत्पन्न हुन्छ र घटनाक्रम ऐतिहासिक रुपले अगाडि बढ्छ । अहिले ठीक त्यही कुरा पनि हल भएको छ । त्यो चाहिँ अध्यक्ष कमरेड प्रचण्डले हल गर्नु भएको छ ।

वस्तुगत र आत्मगत पक्षको सामान्य आंकलन गर्ने त थुप्रै होलान् । तर, वस्तुगत र आत्मगत पक्षको आंकलन गर्ने, वस्तुगत र आत्मगत पक्षलाई एकाकार गर्ने र त्यसलाई निर्णयमा पुर्याउने र इतिहासमा धक्का दिने निर्णय र कार्य अध्यक्ष प्रचण्डको अहिलेको स्टेपबाट मात्रै सम्भव हुन पुग्यो । त्यो कुरा स्वीकार गर्न हामीलाई कुनै हिच्किचाहट हुनुहुँदैन । यो यथार्थ हो । अरु कसैबाट यो सम्भव थिएन, भएन । त्यसकारण यो प्रश्न वस्तुगत आधार, आत्मगत आधार र यो दुईटालाई एकाकार गराउन चाहिँ लिडरशिपको आत्मगत पक्षको पनि एउटा महत्वपूर्ण केन्द्रीय पक्ष हो । त्यो कारणले यो सम्भव भएको छ । उहाँको अहिले स्थिति हेर्दा कस्तो देखिन्छ त भन्दाखेरि पहिलाको क्रान्तिको एउटा ऐतिहासिक चरण पूरा गर्ने सन्दर्भमा पार्टी एकता, जनयुद्धको पहल, जनयुद्ध र जनआन्दोलनको संयोजन, शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ मोडेलको पुँजीवादी लोकतन्त्र अर्थात् आधारभूत रुपमा पुँजीवादी लोकतन्त्र स्थापनामा उहाँको नेतृत्व एक हदसम्म निर्विवाद स्थापित भएको कारणले ती कुराहरु सम्पन्न हुन सम्भव भयो । यो क्रमबाट उहाँको नेतृत्वमा माओवादी कम्युनिष्ट पार्टी र नेपाली जनताले सामन्तवादविरोधी पुँजीवादी लोकतन्त्रलाई आफ्नै मौलिकतामा पूरा गर्यो ।

अहिले पार्टी एकता, संविधानको कार्यान्वयन, यसको विकास, शान्तिपूर्ण प्रतिस्पर्धा, समाजवादको आधार तयार पार्ने र एकीकृत क्रान्तिकारी पार्टी निर्माणद्वारा समाजवादी क्रान्तिको यात्रा तय गर्ने कोर्सको निर्धारण गरिएको छ । त्यसकारण यो कोर्स नयाँ ऐतिहासिक चरणको अनिवार्य आवश्यक कार्यभार थियो । एउटा ऐतिहासिक कार्यभार पूरा गरिसकेपछि नेपाली समाजले अनिवार्य ऐतिहासिक चरणको अर्को कार्यभारका निम्ति जुन कुराको माग गरेको थियो, त्यो कोर्स तय गर्नलाई यो साहसिक निर्णय गरिएको हो । यो वस्तुगत आवश्यकतासम्मत छ, त्यसकारणले सही छ भन्ने कुरा हामीले ठीक ढंगले बुझ्नु जरुरी छ ।

तर, यतिखेरै त्यो निर्णय किन भयो ? म केही सैद्धान्तिक र नीतिगत प्रश्नहरुको मात्र छलफल गर्छु । यतिखेरै त्यो किन सम्भव भयो र गर्न जरुरी भयो ? गर्न जरुरी र संभव किन भयो ? यसको आधार चाहिँ के हो ? यतिखेर नै किन भन्दाखेरि म तपाईंहरुलाई चुन्वाङ वैठकको प्रसंग याद दिलाउन चाहन्छु । चुन्वाङ वैठकको डकुमेन्टमा केही कुरा भनिएको छ, जसबारेमा हामी पार्टी एकतामा आइनसक्दाको समयमा पनि छलफल गथ्र्यौं र आफ्ना डकुमेन्टहरुमा पनि त्यही कुरा समावेश गथ्र्यौं । चुन्वाङ बैठकले के भन्यो भने हामीले सामन्तवादविरोधी लोकतान्त्रिक क्रान्तिको प्रक्रियामा अहिले जाने भयौँ, जनआन्दोलन र शान्ति पक्रियाको बाटोबाट । तर, त्यो चाहिँ जनताको जनवाद हुँदैन । त्यो परम्परागत संसदीय गणतन्त्रभन्दा उन्नत प्रकारको हुन्छ । तर, जब हामी त्यो गणतन्त्र स्थापित गर्छौँ, लगतै नयाँ प्रश्न उपस्थित हुन्छ भनियो । त्यो प्रश्न के हो त भने लिडरशिपको प्रश्न हो । नेतृत्व ! त्यसप्रकारको गणतन्त्रको नेतृत्व कसले लिन्छ ? ‘टग अफ वार’ सुरु हुन्छ भनेको छ त्यो डकुमेन्टले । त्यो ‘टग अफ वार’ सुरु हुन्छ, नेतृत्वको द्वन्द्व सुरु हुन्छ । यदि हाम्रो हातमा नेतृत्व पर्यो भने त्यो औपचारिक लोकतन्त्रबाट वास्तवमा हामीले स्थापित गरेको नयाँ प्रकारको लोकतन्त्रको रुपमा व्यवहारिक रुपमा कार्यान्वयन हुँदै त्यसले समाजवादको आधार तयार पार्ने कुरा गरेर अगाडि लैजान्छ । हामीले नेतृत्वको सवाल हल गर्न सकेनौँ त्यो ‘टग अफ वार’मा भने त्यो चाहिँ औपचारिक लोकतन्त्रमा परम्परागत संसदीय गणतन्त्रमा संकुचित हुन्छ, त्यहाँ सीमित हुन्छ र हामीले बगाएको रगत चाहिँ विस्तारै परम्परागत संसदवादमै गएर सिद्धिनसक्छ ।

त्यसकारण हामीले बुझेको कुरा के थियो भने जनआन्दोलनको एउटा प्रक्रिया लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रकृयामा गइसकेपछि पनि नयाँ ऐतिहासिक संक्रमणकाल सुरु हुन्छ ।

हाम्रो अहिलेको लक्ष्य स्वभाविक रुपले नेतृत्वको सवाललाई समाधान गर्नु, कम्युनिष्ट वामपन्थीको हातबाट अहिलेको संविधान कार्यान्वयन र सामाजिक न्यायसहितको समृद्धिको नेतृत्व प्रदान गर्नु र त्यो दिशातिर लैजानु, सामाजिक रुपान्तरण गर्नु हुन आएको छ ।

संक्रमणकाललाई हामीले दुई ढंगल बुझ्नुपर्छ । एउटा, राजनीतिक परिवर्तनपछाडिको अवस्था संस्थागत हुन नसक्ने संक्रमणकाल । त्यो संक्रमणकालमा अहिले हामी छौँ । अब हामी नयाँ ऐतिहासिक संक्रमणकालमा प्रवेश गर्दैछौँ । हाम्रो संविधानले जुन परिवर्तन, जुन प्रकारको व्यवस्थालाई स्थापित गरेको छ, त्यसलाई चाहिँ यो संक्रमण कालबाट कतातिर लैजाने ? अहिले नयाँ ऐतिहासिक चरणको संक्रमणकाल एवं नयाँ युगको प्रारम्भ भएको छ र संविधानको कार्यान्वयनको प्रक्रिया चल्दैछ ।

लिडरशिप हाम्रो भयो भने लोकतन्त्रिक गणतन्त्र औपचारिक लोकतन्त्रमा सीमित हुँदैन, परम्परागत गणतन्त्रमा सीमित हुँने ठाउँमा आउँदैन र हाम्रो नयाँ प्रकारको लोकतान्त्रिक गणतन्त्र प्रभावकारी ढंगले कार्यान्वयन हुँदै समाजवादको आधार निर्माण गर्ने दिशातिर जान्छ र अर्को समाजवादी क्रान्तिको फड्कोको लागि त्यसले हामीलाई आधार तयार पारिदिन्छ ।

तर, हाम्रो नेतृत्व भएन भने संविधान कागजी खोस्टामा परिणत हुन्छ र अहिलेको परिवर्तन चाहिँ औपचारिक पुँजीवादी लोकतन्त्रमा सीमित हुन्छ । त्यसकारण संविधानलाई कागजी खोस्टामा परिणत गर्ने र औपचारिक लोकतन्त्रमा आएको परिवर्तनलाई सीमित गर्ने होइन भने ठीक यही मौकामा हामीले लिडरशिपको प्रश्न हल गर्नुपर्ने ऐतिहासिक आवश्यकता देखा पर्यो । यतिबेला, यतिखेरै त्यो गरिएन भने अब यत्रो जनमत श्रमजीवी वर्गको हुने, वामपन्थीहरुको हुने, कम्युनिष्टको हुने, तर प्रतिध्रुवीय, वैचारिक रुपमा प्रतिध्रुवीय, वर्गीय रुपले प्रतिध्रुवीय हुने शक्तिको हातमा सरकारको नेतृत्व हुने, उसले राज्यमा हालिमुहाली चलाउने, यो संविधानको अन्तरवस्तुलाई, जो जनपक्षीय छ, त्यसलाई कार्यान्वयन नगर्ने, र विस्तारै यो औपचारिक रुपमा स्थापित हुँदै जाने र सारा परिवर्तनको पक्रिया नष्ट हुँदै जाने दिशातिर जानसक्छ । त्यसैले यतिखेर नै यो लिडरशिपको प्रश्न हल गर्नुपर्छ । नत्र भने यो औपचारिक लोकतन्त्रमा सीमित हुन्छ र यो परिवर्तनको यत्रो पक्रिया जतातिर जानुपर्ने, समाजवादउन्मुख भनेर परिभाषित गरिएको छ, त्यो खत्तम हुन्छ, समावेशीता खत्तम हुन्छ । यो काम यतिखेरै हुन किन सम्भव भयो, र यतिखेरै किन जरुरी भन्दाखेरी अहिले नै लिडरशिपको क्राइसिस हल गर्नु थियो । त्यसकारणले यसलाई चाहिँ एकदम सीमितीकरण गरेर, अब चुनाव लड्ने भएपछि जिताउनै पर्यो, सरकार पनि बनाउनु पर्यो, अलिअलि भ्रष्टाचार पनि गर्नुपर्यो भन्ने सीमित अर्थमा बुझियो भने यो निर्णयको ऐतिहासिक सान्दर्भिकता खत्तम हुन्छ । त्यसकारणले यो लिडरशिपको क्राइसिस अथवा लिडरशिपको प्रश्न हल गर्नलाई हामीले लिडरशिपको प्रश्न हल गर्यौँ, यो परिवर्तन गर्यौँ । अब यो संक्रमणकालमा हाम्रो लिडरशिपलाई कमजोर बनाउने, हाम्रो पार्टीको नेतृत्वलाई कमजोर बनाउने र प्रतिक्रियावादी शक्तिले लिडरशिप लिने जुन स्थिति देखापर्यो, त्यसलाई हल गर्नको लागि र यो फर्मल डेमोक्रेसी होइन, यो चाहिँ नयाँ प्रकारको समाजवादउन्मुख समावेशी लोकतन्त्र हो, जसले समाजवादको आधार तयार पार्छ भने त्यसको लागि यो यतिखेरै आवश्यक थियो र यतिखेरै सम्भव पनि भयो । यो ऐतिहासिक तथ्यलाई पनि हामीले ठीक ढंगले आत्मसात गर्नुपर्छ र त्यसपछि चाहिँ हामी सहज ढंगले अगाडि बढ्न सक्छौँ ।

हाम्रो अहिलेको लक्ष्य स्वभाविक रुपले नेतृत्वको सवाललाई समाधान गर्नु, कम्युनिष्ट वामपन्थीको हातबाट अहिलेको संविधान कार्यान्वयन र सामाजिक न्यायसहितको समृद्धिको नेतृत्व प्रदान गर्नु र त्यो दिशातिर लैजानु, सामाजिक रुपान्तरण गर्नु हुन आएको छ ।

(Visited 1,265 times, 1 visits today)

टिप्पणी

comments