Main Menu

हाम्रो सौर्य मण्डलमा अर्को विशाल ग्रह हुनैपर्ने नासाको दाबी

planet-nine-exists-nasa-evidenceहाम्रो सौर्य मण्डलमा नवौँ ग्रह हुनैपर्ने नासाले दाबी गरेको छ ।

‘नवौँ ग्रह, प्लानेट नाइन, हुनैपर्छ र खगोलशास्त्रीहरु उक्त ग्रह पत्ता लगाउन लागिपरेका छन्,’ नासाको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । वास्तवमा नवौँ ग्रह हुनुपर्ने तथ्यको लागि थप प्रमाण मिलेको नासाको दाबी छ ।

यदि प्लानेट नाइन छैन भनेर कल्पना गर्ने हो भने त्यसले प्रश्नहरुको उत्तर दिनुको साटो थप प्रश्नहरु उब्जाउँछ ।

अहिलेसम्म भेट्टिनसकेको सो ग्रहको पिण्ड पृथ्वीको भन्दा १० गुना बढी हुनुपर्ने आंकलन गरिएको छ । प्लानेट नाइन सूर्यभन्दा निकै टाढा, वरुण (नेप्च्युन) भन्दा पनि २० गुना टाढा हुनुपर्ने अनुसन्धानमा संलग्न खगोलशास्त्रीहरु बताउँछन् । सो ग्रह प्रत्येक्ष रुपमा देखिनसकिएको भए पनि काइपर बेल्ट (वरुण ग्रहभन्दा बाहिरको सौर्य मण्डलको क्षेत्र) मा रहेका थुप्रै आकाशीय पिण्डहरुको ‘अनौठो व्यवहार’का कारण प्लानेट नाइन हुनैपर्छ भन्ने निष्कर्षमा उनीहरु पुगेका हुन् । उनीहरुका अनुसार ती आकाशीय पिण्डहरुको ‘अनौठो व्यवहार’को व्याख्या प्लानेट नाइनको अस्तित्वले मात्र गर्न सक्छ ।

‘प्लानेट नाइनको अस्तित्वका लागि थप प्रमाणहरु हामीले पाएका छौँ,’ क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्याल्टेक)का खगोलशास्त्री तथा अध्ययनमा संलग्न वैज्ञानिक कन्स्टान्टिन बाटिजिन भन्छन्, ‘यदि प्लानेट नाइन छैन भनेर कल्पना गर्ने हो भने त्यसले प्रश्नहरुको उत्तर दिनुको साटो थप प्रश्नहरु उब्जाउँछ । एक्कासी ५ वटा नयाँ प्रश्नहरु जन्मिन्छन् र ती ५ प्रश्नहरुको उत्तरको लागि ५ नयाँ सिद्धान्तहरुको जरुरत पर्छ ।’

सन् २०१६ मा बाटिजिन र सह–अनुसन्धाता, क्याल्टेककै खगोलशास्त्री माइक ब्राउनले काइपर बेल्टमा रहेका ६ परिचित खगोलीय पिण्डहरुको अति–अण्डाकार कक्षहरुको अध्ययन गरेका थिए । उनीहरुको अध्ययनमा के देखियो भने ती खगोलीय पिण्डहरु सबैको कक्ष एक दिशामा फर्किएका थिए । र ती कक्षहरु सौर्य मण्डलका अन्य ८ ग्रहहरुले सूर्यलाई परिक्रमा गर्ने कक्षको तुलनामा ३० डिग्री ‘तलतिर’ ढल्किएका थिए ।

कम्प्युटर साइमुलेशनहरुको प्रयोग गरी बाटिजिन र ब्राउनले के कुरा आंकलन गरेका थिए भने प्लानेट नाइन उनीहरुले भनेकै ठाउँमा अस्तित्वमा रहने हो भने ९० डिग्रीमा ढल्किएका अन्य खगोलीय पिण्डहरु पनि त्यसै स्थानमा हुनुपर्छ । थप अनुसन्धानबाट के कुरा थाहा भयो भने उनीहरुले अध्ययनमा व्याख्या गरेसरहकै थप ५ वटा खगोलीय पिण्डहरु पहिले नै रेकर्डमा थिए ।

खगोलशास्त्री माइक ब्राउन (बायाँ) र कन्स्टान्टिन बाटिजिन

त्यसपछि पनि वैज्ञानिकहरुले थप प्रमाणहरु फेला पारेका छन् । क्याल्टेककै अर्का एक खगोलशास्त्री एलिजाबेथ बेलीको सहायतामा अध्ययन टोलीले के कुरा सिद्ध गरे भने प्लानेट नाइनकै गुरुत्वको प्रभावका कारण सौर्य मण्डलका ८ ग्रहहरुले सूर्यलाई परिक्रमा गर्ने कक्षहरु सूर्यको भूमध्ये रेखाको तुलनामा ६ डिग्री ढल्किएका हुनुपर्छ ।

त्यस्तै, प्लानेट नाइनकै अस्तित्वका कारण काइपर बेल्टमा रहेका पिण्डहरुले सौर्य मण्डलका अन्य पिण्डहरुको तुलनामा उल्टो दिशामा सूर्यलाई परिक्रमा गर्ने टोलीको दाबी छ ।

‘यी पिण्डहरुको अनौठो कक्षको व्याख्या अन्य कुनै मोडलले गर्न सक्दैन,’ बाटिजिनको दाबी छ ।

त्यसमाथि, हाम्रो तारापुञ्जमा अहिलेसम्म पत्ता लागेका अन्य सौर्य मण्डलहरु अधिकांशमा वरुणभन्दा सानो तर पृथ्वीभन्दा निकै ठूलो चट्टानी ग्रहहरु अस्तित्वमा छन् । त्यस्ता ग्रहहरुलाई खगोलशास्त्रीहरु ‘भव्य पृथ्वी’ (सुपर अर्थ) भन्छन् । तर, हाम्रो सौर्यमण्डलमा भने त्यस्तो ‘सुपर अर्थ’ अहिलेसम्म भेट्टिएको छैन । त्यसैले प्लानेट नाइन नै सौर्य मण्डलको ‘हराइरहेको सुपर अर्थ’ हुनसक्ने खगोलशास्त्रीहरुको दाबी छ ।

(Visited 122 times, 1 visits today)

टिप्पणी

comments