Main Menu

बालीमा अत्यधिक विषादीको प्रयोगका कारण गम्भीर समस्या देखिँदै

माघ १८, काठमाडौं

कृषकहरुले आफ्नो उत्पादन अत्यधिक बढाउने भन्दै बालीहरुमा विषादी प्रयोग गर्दा उपभोक्तामा कडा खालको समस्या देखिन थालेको छ ।

विषादी प्रयोग भएको तरकारी र फलफूल खाँदा उपभोक्ताहरुमा रक्त क्यान्सर, मृगौलामा समस्या, श्वासप्रश्वास र आँखासम्बन्धी समस्याजस्ता दीर्घ खालको नसर्ने रोग देखापर्न थालेको चिकित्सकहरु बताउँछन् ।

“विषादी प्रयोग भएको तरकारी तथा फलफूल खाँदा वाकवाकी आउने र उल्टी हुनेजस्ता एलर्जिक रियाक्सन हुने समस्याहरु त एक दुई दिनमा ठीक भइहाल्छ । यो तत्काल असरको कुरा भयो,” वीरअस्पतालका निर्देशक एवं वरिष्ठ फिजिसियन डा. भुपेन्द्र बस्नेत भन्छन्, “ तर दीर्घकालसम्म हुने असर चाहिँ के हो भने विषादी प्रयोग भएका तराकारी तथा फलफूलहरु लामो समयसम्म खाँदै गर्दा क्यान्सर रोग लाग्ने गरेको रिसर्चहरुले देखाइरहेका छन् । र, क्यान्सर तथा यससँग सम्बन्धित कुराहरुले जनस्वास्थ्य र देशको सम्पूर्ण इकोनोमीमै ठूलो असर गरेको देखिन्छ ।”

विषादीको प्रयोगले टाउकोमा असर गर्ने, वाकवाकी आउने र गर्भमा रहेको बच्चालाई अपाङ्ग बनाउनेसम्मको असर देखिएको चिकित्सकहरु बताउँछन् । बाली लगाउँदा विषादी लगाउने कृषकदेखि बजारबाट तरकारी तथा फलफूल खरिद गरी खाने सर्वसाधारणसम्म विषादीको मारमा परेका छन् ।

वरिष्ठ क्यान्सर विशेषज्ञ डा. आरती शाहका अनुसार एकातिर धुँवाधूलोको प्रदूषण, अर्कोतिर चुलोसम्म आइपुग्ने विषादीयुक्त तरकारीको सेवनले रक्त क्यान्सरका रोगीहरुको सङ्ख्या बढाएको अध्ययनले देखाएको छ ।

“विषादी पम्पबाट छर्किंदा हावामा उड्ने फिजका कणहरु नाकबाट श्वासप्रश्वाससँगै छातीभित्र जाने हुन्छ,” डा. शाह भन्छिन्, “ती कणहरु फोक्सोमा जानुका साथै रगतमा मिसिएर शरीरभरि नै फैलिन जान्छन् । त्यसकारण विषादीका कारणले गर्दा फोक्सोमा खराबी हुने तथा रक्त क्यान्सर हुने सम्भावनाहरु धेरै बढ्दै गइरहेको छ । पाँचखालमा फोक्सोसम्बन्धी रोग तथा रक्त क्यान्सरका रोगीहरु एकैचोटी धेरै सङ्ख्यामा देखा परेको थियो ।”

कृषि मन्त्रालयले उपलब्ध गराएको आँकडा अनुसार वर्षेनी नेपालमा साढे ३ सय मेट्रिक टन विषादी आयात हुने गरेको छ । आयातित विषादीमध्ये ८५ प्रतिशतभन्दा बढी विषादी बालीमा प्रयोग हुने गरेको छ । मन्त्रालयले १७ किसिमका विषादीहरु बालीमा लगाउन प्रतिबन्ध लगाएको छ । कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्मा विषादी प्रयोगमा प्रतिबन्ध लगाउनेदेखि विषादी प्रयोग भएको उत्पादन जफत गरी कार्वाही गर्नेसम्मको काम अघि बढाइएको बताउँछन् ।

बालीमा प्रयोग हुने विषादीले जनस्वास्थ्यमा असर देखाएपछि कृषि विभागले अर्गानिक मलको प्रयोगका लागि घरमै बनाइने कम्पोष्ट मलको प्रयोग गर्न प्रोत्साहान गर्दै आएको छ । विषादी नियन्त्रणसम्बन्धी ऐन नभएको होइन, तर कृषकमा चेतनाको अभावले बालीमा विषादीको प्रयोग हुन छोडेको छैन । सर्वोच्च अदालतले कृषि क्षेत्रमा जथाभावी विषादीको प्रयोगमा रोक लगाई जनस्वास्थ्यमा ध्यान दिन सरकारलाई निर्देशन नै दिइसकिएको छ ।

  • चन्द्र बानियाँ
(Visited 9 times, 1 visits today)

टिप्पणी

comments