Main Menu

जनयुद्धका कलाकार मणि थापा

जनयुद्धका कलाकार मणि थापा ।

तत्कालीन नेकपा (माओवादी) ले १० वर्षसम्म चलाएको जनयुद्धमा जनतामाझ चेतना फैलाउन नाटक, अपेरा आदिजस्ता साँस्कृतिक कार्यक्रमहरु सिर्जना गर्ने तथा मञ्चन गर्दै हिँड्ने चर्चित माओवादी युवा नेता मणि थापा हुन् । तत्कालीन निरंकुश राजतन्त्रात्मक शासनका सेना तथा पुलिसको तारो बनेका उनी साँस्कृतिक कार्यक्रम देखाउँदै हिँड्दा नै कयौं पटक ज्यान जोखिममा परेको उनी सुनाउँछन् । उनले जनयुद्धमा आफ्ना एक भाइ पनि गुमाएका थिए । उनले लेखन तथा गीतसङ्गीतमा आफ्नो प्रतिभा देखाएका छन् । हालसम्म नेता थापाका झण्डै आधा दर्जन कृतिहरु बाहिर आएका छन् । तिनीहरुमा गंगा काबेरी एक्स्प्रेस चिठ्ठी २०४४, फोकल्याण्डको टापुबाट (गिती सङ्ग्रह) २०५१, बगिरहेको सुनकोशी कविता सङ्ग्रह २०५८, गंगा काबेरी एक्स्प्रेसको यात्रा (खण्डकाव्य) २०६० र गाथा (गिती एल्बम) २०६० रहेका छन् । यसबाहेक उनले नेपाली चलचित्रहरु ‘दशगजा’ र ‘भिमदत्त’ मा सङ्गीत हाल्नुका साथै गीतहरु निर्माण गरेका छन् । उनै युवा नेता मणि थापा अहिले नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका छन् । प्यूठानमा जन्मेका युवा नेता मणि थापासँग उनको जीवनका समग्र पक्षलाई लिई इमूल्याङ्कनले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिन्छ ।

इमूल्याङ्कन : तपाईं राजनीतिमा कुन कालखण्डमा कसरी प्रवेश गर्नुभयो र अगाडि जानुभयो ?

– म २०३५ सालमा बिद्यार्थी राजनीति मार्फत तत्कालीन नेकपा (चौथो महाधिवेशन) मा प्रवेश गरेको थिएँ । सुरुमा काठमाडौं आई कानुन पढ्नका लागि मैले नेपाल ल क्याम्पसमा अध्ययन गर्दा म तत्कालीन अनेरास्ववियु (छैठौं)सँग आवद्ध भएँ । त्यही क्रममा म तत्कालीन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य पनि भएँ । तत्कालीन अखिल छैठौं र अखिल नेपाल युवक संघ दुबै तत्कालीन नेकपा (चौम) का भातृ संगठनहरु हुन् । ती संगठनहरुमा सक्रिय हुँदै नै मैले २०३८ सालमा सो पार्टीको सदस्यता प्राप्त गरेँ ।

२०४० सालतिर नेकपा (चौम) मा फुट आयो । पार्टी फुटपछि म नेकपा (मसाल)सँग आवद्ध भएँ । तर, दुई वर्षपछि नै २०४२ सालमा नेकपा (मसाल)मा पनि फुट आयो । त्यस फुटपछि पनि म मोहन विक्रम सिंहको नेतृत्वको नेकपा (मसाल)मै आवद्ध भइरहेँ । मसाल पार्टीसँगको मेरो त्यो आवद्धता पनि दुई वर्षभन्दा बढी टिकेन । २०४४ सालमा मैले सो पार्टीबाट बिद्रोह गरी बाहिर निस्केँ । र, मैले केही साथीहरुसँग मिली ‘डायनामिक युथ लिग’ नामको राजनीतिक संगठन खोलेँ । सोही सालमै सो संगठन २०४२ सालमा मोहन विक्रम सिंहबाट फुटेर बनेको नेकपा (मशाल)सँग एकीकृत भयो । २०४६ सालको जनआन्दोलनपछि पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको पुनर्स्थापना भयो । २०४८ सालमा नेकपा (मशाल), सर्वहारा श्रमिक संगठन र नेकपा (चौम)बीच एकता भई नेकपा (एकता केन्द्र) बन्यो । र, म त्यस पार्टीका सदस्य बनेँ । सोही समयमा म युवा कम्युनिस्टहरुको संगठन ‘योङ्ग कम्युनिस्ट लिग’को केन्द्रीय सदस्य पनि बनेँ । २०५० सालमा एकता केन्द्रमा फुट आयो र नेकपा (माओवादी) बन्यो । त्यसपछि मैले सो पार्टीको पूर्वाञ्चल क्षेत्रीय व्यूरो सदस्यको जिम्मेवारी पाएँ । २०५५ सालमा नेकपा (माओवादी)को चौथो बिस्तारित बैठकबाट मलाई केन्द्रीय सदस्यमा चयन गर्यो । त्यस्तै गरी २०५७ सालमा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनबाट म पोलिटब्यूरो सदस्यमा चयन भएँ । मलाई पार्टीले २०६० सालमा जनमुक्ति सेनाको सातौं ब्रिगेड कमिसार बनायो । साथै म तत्कालीन ‘क्रान्तिकारी जनपरिषद’को केन्द्रीय सदस्य पनि बनेँ ।

इमूल्याङ्कन : राजनीतिमा तपाईंको साँस्कृतिक यात्रा कहिलेबाट सुरु भयो ?

– गीत, संगीत र रङ्गमञ्चप्रतिको मेरो लगाव सानैदेखि नै थियो । मैले सुरुदेखि नै त्यस क्षेत्रमा काम गर्दै आएँ । सोही क्रममा २०५० सालमा म ‘जन साँस्कृतिक महासंघ’को महासचिव बनेँ । त्यसपछि भ्याली सांस्कृतिक संगम हुँदै म ‘सामना परिवार’मा संयोजकको भूमिकामा आएँ । २०५७ सालमा म ‘अखिल नेपाल जनसाँस्कृतिक संघ’को केन्द्रीय अध्यक्ष बनेँ ।

इमूल्याङ्कन : तपाईंले तत्कालीन नेकपा (माओवादी) मा पनि बिद्रोह गर्नुभएको सुनिन्छ नि ?

– हो, २०६२ सालमा मैले तत्कालीन नेकपा (माओवादी) बाट बिद्रोह गरी बाहिर निस्केको थिएँ । बिद्रोहपछि मैले सुरुमा नेकपा माओवादी (साँस्कृतिक क्रान्ति) गठन गरेँ । त्यसपछाडि २०६५ मा त्यसलाई पनि छाडी ‘रिभोल्युसनरी लेफ्ट विङ’ र पछि ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ गठन गरेँ । म सो पार्टीको महासचिवमा निर्वाचित भएको थिएँ । र, २०७३ सालमा सो पार्टीलगायत अन्य माओवादी घटकहरु र तत्कालीन एकीकृत नेकपा माओवादीबीच एकता भई हालको नेकपा (माओवादी केन्द्र) बन्यो । हाल म नेकपा (माओवादी केन्द्र) को कार्यालय सदस्य तथा युवा इन्चार्जको रुपमा रहेको छु ।

इमूल्याङ्कन : राजनीतिक यात्राको क्रममा तपाईं जेल पर्नुभएको छ ?

– किन नपर्नु ? म २०३८ सालमा पञ्चायतबिरोधी आन्दोलनको क्रममा ३ महिना भद्रगोल जेलमा परेँ । त्यस्तै गरी २०४२ सालको बमकाण्डमा मलाई गिरफ्तार गरियो र म एक साता हिरासतमा परेँ । म मेघालयबाट खेदिएका नेपालीहरुको आन्दोलनको समर्थनमा सडकमा उत्रिँदा पनि गिरफ्तार भई हिरासतमा परेको थिएँ ।

इमूल्याङ्कन : तपाईं एक साँस्कृतिककर्मी हुनुका साथसाथै लेखक पनि हुनुहुन्छ । तपाईंको लेखन यात्रा कसरी सुरु भएको थियो ?

– ०३२/०३३ सालतिर जनता माध्यमिक विद्यालय बागदुल्लाको विद्यार्थी छँदा मैले स्कुलमा हुने साहित्यिक कार्यक्रमहरुमा कविता वाचन गर्थैँ । विशेषतः त्यो बेला अर्घाखाँचीबाट प्रकाशित हुने ‘अंकुर’ र प्यूठानबाट प्रकाशित हुने ‘सुमन’ साहित्यिक पत्रिकाबाट प्रभावित भएर मैले कविता लेख्न शुरु गरेँ । स्कुल स्तरमा कवितातर्फ मैले सान्त्वना पुरस्कारहरु प्राप्त गर्थेँ । त्यो बेलामा साहित्यभन्दा पनि मेरो रुचि गीत, संगीत र नृत्यतिर बढी थियो । जिल्ला स्तरीय साँस्कृतिक कार्यक्रमहरु र स्कुलका जन्मोत्सवहरुमा हुने मेरा प्रस्तुतिहरु निक्कै चर्चाको विषय हुन्थे । त्यतिवेला म जिल्लाका हरेक साहित्यिक तथा साँस्कृतिक कार्यक्रमहरुमा सक्रिय सहभागी हुन्थेँ ।

०३५ सालमा उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएपछि हुकुमबहादुर सिंह, मीनबहादुर विष्टहरुसँगको संगतले म राजधानीमा हुने साहित्यिक कार्यक्रमहरुमा सहभागी हुन थालेँ । त्यही क्रममै मेरो भेट साहित्यकारहरु इस्माली र पारिजातसँग हुन पुग्यो । त्यसपछि नै मैले ‘पहरेदार’ साहित्यिक नाममा रचनाहरु बाहिर प्रकाशित गर्न थालेँ । हल्कारा, मूल्याङ्कन र रत्नश्रीजस्ता पत्रिकाहरुमा मेरा रचनाहरु प्रकाशित हुन थालिए ।

०३५/०३६ सालको विद्यार्थी आन्दोलनपछि आएको केही खुकुलो अवस्थामा मैले ‘पहरेदार’ नाम छाडी पुनः मणि थापाको नामले नै साहित्यिक र सांगीतिक यात्रा शुरु गरेँ । त्यो बेलाका ‘मधुमास’, राप्ती विद्यार्थी संघले प्रकाशित गरेको ‘राप्ती’, ‘युगधारा’लगायतका तत्कालीन पत्रिकाहरुमा कथा, कविता प्रकाशित गराएँ । त्यसपछि चालिसको दशकमा आएपछि ०४४ सालमा ‘शैशव’को नामले ‘गंगा कावेरी एक्सप्रेसलाई चिठी’ नामक लामो कविता प्रकाशित गराएँ । त्यही क्रममा गीत संगीतको यात्रा पनि निरन्तर चल्यो । सोही कालखण्डमा ‘प्रतिभा प्रवाह’ भन्ने मासिक साहित्यिक कार्यक्रममा साहित्यिक रचनाहरु पाठ गर्ने, समालोचना गर्ने र आयोजन गर्ने काम भयो । यही बेला गीत संगीत मात्र होइन, नाट्य लेखन र मञ्चनमा पनि सहभागी भएँ । यो कालखण्डमा मेरो लेखन, प्रदर्शनका दृष्टिले गीत, संगीत, नाटक उत्कृष्ट रहे ।

साँस्कृतिक यात्राको क्रममा ०४६/०४७ सालको आन्दोलनपछि जनवादी गीत संगीतको कामले प्राथमिकता पायो । सामना परिवारको गठन, सामना परिवारका गीती एल्बमहरुमा गीत सङ्गीतको प्रकाशनले तीब्रता पायो । यसै क्रममा ०५१ सालमा ‘फोकलैण्डको टापुबाट’ गीती संग्रह प्रकाशित भयो । ०५२ साल र जनयुद्धको थालनीपछि पुनः साहित्यिक यात्राले अरु तीब्रता पायो । कविता लेखन, नविन संघर्ष, अनुप कार्कीको नाममा संस्मरण यतिवेलाकै हो । ०५८ मा कविता संग्रह ‘बगीरहेको सुनकोशी’ प्रकाशित भयो । ०६० सालमा ‘गंगा कावेरी यात्रा भाग २’ पनि प्रकाशित भयो ।

०६२/०६३ को जनआन्दोलनपछि ‘गाथा गीति’ एल्बम र ‘बगीरहेको सुनकोशी’को दोस्रो संस्करण प्रकाशित भयो । मैले ०६६ सालमा ‘दशगजा’ फिल्ममा गीत संगीत दिएँ । र त्यस्तै गरी ०७० सालमा ‘भीमदत्त’ फिल्ममा गीत संगीत दिएँ ।

 

(Visited 83 times, 1 visits today)

टिप्पणी

comments