Main Menu

धेरैको चाहना : बाबुराम वामपन्थी नै रहिरहे हुन्थ्यो

माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल हुँदै पार्टी एकीकरणसम्मको घोषणा हुँदा बाबुराम पनि त्यस अभियानमा आएको पाएर धेरै मानिसहरु खुशी भएका थिए । तर, त्यो खुशी लामो समयसम्म जोगिन सकेन । प्रदेश र संसदको पहिलो चरणको चुनावमा सिट बाँडफाँडको भित्री छलफलमा कुरा मिल्न नसकेपछि बाबुराम वाम गठबन्धनलाई छाडेर कांग्रेससँग चुनावी तालमेलमा लागेका छन् र गोरखा २ मा उनी ‘अब शत्रु कोही रहेनन्’ भनेर कांग्रेस र आफू कुनै कुरामा भिन्न नरहेको उद्घोष गर्दै हिँडेका छन् । अब उनले ‘लोकतान्त्रिक’ गठबन्धनमा प्रवेश गरेका छन् ।

बजारमा अहिले एमाले त ‘हिजैदेखि कम्युनिस्ट थिएन, माओवादी पनि अब रहेन’, वामपन्थ नै नरहेपछि अब केको वामपन्थी गठबन्धन र एकता भनी बहस पनि चल्न थालेको छ । धेरैले वामपन्थी र कम्युनिस्टलाई पर्यायको रुपमा लिने गरेका छन् । त्यही बुझाइ अनुसार यस्तो टिप्पणी आउन र बहस हुन थालेको हो ।

राजनीतिक इतिहासमा कुनै बेला वामपन्थ र कम्युनिस्ट एउटैजस्तो पनि बने र कुनै बेला फरक पनि भए । कम्युनिस्ट त सँधै वामपन्थी नै रहन्छ । तर, वामपन्थी सधैँ कम्युनिस्ट नरहन सक्छ । कम्युनिस्ट बलियो भएको ठाउँ र समयमा वामपन्थ भन्नु नै कम्युनिस्ट हुन्छ ।

‘वामपन्थी राजनीतिले सामाजिक समानता र समानतावादलाई टेवा दिन्छ । यो अक्सर सामाजिक उँचनिचको अनुक्रम (hierarchy) र सामाजिक असमानताको बिरुद्धमा रहन्छ ।’

‘राजनीतिक शब्दहरु “वायाँ” र “दायाँ” (जसलाई वाम र दक्षिण पनि भनिन्छ ।– मू.सम्पादक) फ्रान्सेली क्रान्ति (१७८९–१७९९) को समयमा प्रचलनमा ल्याइएका थिए । ती शब्दहरुले पुरानो फ्रान्सको विधायक र परामर्श सभा (इस्टेट जनरल)मा बस्ने कुर्सीहरुको स्थान व्यवस्थापनलाई बुझाउँथे । जो वायाँपट्टिको स्थानमा राखिएका कुर्सीहरुमा बस्थे उनीहरुले सामान्यतः राजतन्त्रको विरोध गर्थे र क्रान्तिको पक्षमा उभिन्थे । उनीहरु गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा समेत उभिन्थे । जबकि, दायाँ पट्टिका कुर्सीमा बस्ने विधायिकाहरुले पुरानो सत्ताका परम्परागत सँस्थाहरुको समर्थन गर्थे ।’ (विकीपेडिया विश्वकोष)

यसबाट के बुझिन्छ भने “वायाँ” वा “वाम” र “दायाँ” वा “दक्षिण” कम्युनिस्ट बिचारधारा वा मार्क्सवाद जन्मिनुभन्दा पहिले नै आएका शब्दहरु हुन् । अर्थात् वामपन्थ र दक्षिणपन्थको अवधारणा कम्युनिस्ट बिचारधारा वा मार्क्सवाद आविष्कार हुनुभन्दा पहिले नै जन्मिएका हुन् । त्यसैले कम्युनिस्ट र वामपन्थी एकै कुरा होइनन् ।
के कुरा साँचो हो भने कम्युनिस्टहरुमा वामपन्थको विषयवस्तु सधैँ रहन्छ । त्यसैले उनीहरु सधैँ वामपन्थी हुन्छन् । तर, यसको अर्थ यो होइन कि वामपन्थ हुनलाई कम्युनिस्ट नै हुनुपर्छ ।

नेपालको अहिलेको राजनीतिक क्षेत्रमा प्रमुख पार्टीहरु कम्युनिस्ट र कांग्रेस गरी दुई कित्तामा उभिएका छन् । कम्युनिस्ट पार्टीहरु साँच्चीकै कम्युनिस्ट दर्शन, सिद्धान्त, बिचार र संस्कृति अनुसारका छन् कि छैनन् भन्ने बहस गर्नु नितान्त जरुरी छ । किनकि, मार्क्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवाद र साम्यवादसम्म नेपाली समाजलाई लैजान साँच्चीकैको कम्युनिस्ट आदर्श सहितको पार्टीको नेतृत्व बिना सम्भव हुन्न । त्यसैले बिद्यमान कम्युनिस्ट पार्टीहरु कम्युनिस्ट आदर्शका छन् कि छैनन् भनी बहस छलफल गरौं । तर, नेपाली कम्युनिस्ट पार्टीहरु वामपन्थी हुन् कि होइनन् भन्ने सवालमा दुविधा हुनु हुँदैन । यिनीहरु पक्कै पनि वामपन्थी पार्टीहरु हुन् । भलै उनीहरुले रोजेको बाटोबाट वैज्ञानिक समाजवाद र साम्यवादसम्मको यात्रा तय गर्न नसकिने पनि हुन सक्छ । यो बहसको विषय भयो । तर, उनीहरुले आफ्नै खालको किन नहोस् क्रान्तिको बाटो चाहिँ छाडेका छैनन् । उनीहरु परम्परागत पुँजीवादको वकालत गरिरहेका छैनन् । अर्को, उनीहरुको विरासत र स्कुलिङ भनेको मार्क्सवाद र समाजवादी क्रान्ति नै हुन् । त्यसैले उनीहरु यथास्थितिमा बस्ने वा प्रतिगमनमा जान सक्दैनन् । समाजवादको यात्रामा कहाँसम्म जान सक्छन् भन्ने प्रश्न चाहिँ त रहला । तर, प्रगतिवादी बाटोबाटै उनीहरु बिमुख भए भन्ने चाहिँ होइन । यस हिसाबले उनीहरु कम्तीमा पनि वामपन्थी भएकोमा शंका हुनुहुँदैन ।

यस अर्थमा अहिले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका कम्युनिस्ट पार्टीहरु मिली बनाएको चुनावी गठबन्धनलाई वाम गठबन्धन भएकोमा कुनै दुविधा हुनु जरुरी छैन । र, उनीहरुबीच पार्टी एकीकरणसम्मको कुरा बाहिर घोषणा भइसकेको अवस्थामा भोलि बन्ने एकीकृत पार्टी पनि वाम पार्टी नै हुने कुरामा ढुक्क हुन सकिन्छ ।

इतिहासदेखि नै दक्षिणपन्थले यथास्थितिको पक्षपोषण गर्दै आएको छ । नेपालको इतिहासमा २००७ सालको क्रान्ति ताका नेपाली कांग्रेस पनि वामपन्थी पार्टी नै भएको बुझ्नुपर्छ । ऊ मार्क्सवादी थिएन । तर, तत्कालीन अवस्थामा यथास्थितिबिरुद्ध उसले जे आन्दोलन गर्यो त्यो कर्मले वामपन्थ नै थियो । विक्रमको ३० को दशकसम्म नेपाली कांग्रेसले आफ्नै शैलीमा कहिले सशस्त्र त कहिले शान्तिपूर्ण रुपमा तत्कालीन सामन्ती राजतन्त्रबिरुद्ध संघर्ष गरी यथास्थितिबिरुद्ध ऊ उभियो । तर, जब उसले राजतन्त्रसँग घाँटी जोडेर मेलमिलापको नीति सहित कम्युनिस्ट वामपन्थीहरुबिरुद्ध खडा भयो र यथास्थितिको पक्षपोषण गर्न थाल्यो, त्यस क्षणदेखि ऊ दक्षिणपन्थीमा फेरियो ।

२०४६ सालमा पञ्चायत हटाउने जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेर कांग्रेसले आफूलाई वामपन्थको राजनीति नजिक त पार्यो, तर त्यसपछाडि लगातार उसले देशका सामन्त वर्ग, दलाल पुँजीपति वर्ग र प्रतिक्रियावादी वर्गहरुसँग हातेमालो गरेर आफूलाई दक्षिणपन्थको पक्का प्रतिनिधिको रुपमा उभ्यायो । ०६२/६३ को जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेर उसले आफूलाई परिवर्तनकारी सावित गराउन खोजे पनि वास्तवमा उसको त्यो अस्तित्व जोगाउने मेलो मात्र थियो, यथास्थितिलाई छोड्नका लागि होइन । त्यसैले उसले लगातार मुलुकका सत्ताधारी एवं हुनेखाने वर्गहरुको स्वार्थ रक्षार्थ आफूलाई प्रस्तुत गर्दै आयो । अर्थात् नेपाली कांग्रेसले आफूलाई दक्षिणपन्थको सच्चा प्रतिनिधि र पहरेदारको रुपमा प्रस्तुत गर्दै आएको छ ।

यसको विपरित नेपालका कम्युनिस्ट पार्टीहरुले आफूहरुबीच दर्शन, सिद्धान्त, बिचार र संस्कृतिको सम्बन्धमा फरकफरक बुझाइ र अभ्यासको बावजुद लगातार यथास्थितिबिरुद्ध उभिएर वामपन्थको पहिचान दिँदै आए । त्यसैले यो अर्थमा वामपन्थीहरु दक्षिणपन्थीहरुभन्दा जनमुखी, प्रगतिशील र भविष्यका लागि आशालाग्दा शक्ति हुन् भन्ने कुरामा दुविधा हुनु जरुरी छैन ।

फेरि आउँ अहिलेको गठबन्धन राजनीतिको कुरामा । नेपालका कम्युनिस्टहरुले एकआपसमा मिली अहिले वाम गठबन्धन बनाएका छन् आसन्न चुनावलाई मध्यनजर राखेर । कम्युनिस्टहरुको यो गठबन्धन देखेपछि कांग्रेसले पनि दक्षिणपन्थीहरुलाई मिलाएर दक्षिण गठबन्धन बनाएको छ । यस हिसाबले आसन्न प्रदेश र संसदको चुनावमा पार्टीभन्दा पनि वाम र दक्षिण गठबन्धनबीच कडा टक्कर हुने निश्चित छ ।

२०४६ को जनआन्दोलनदेखि नेपाली आम जनमानसमा वामहरुको आकर्षण बढ्दै गएको स्थिति हो । २०५१ सालमा एमाले पहिलो पार्टी बन्यो । त्यसपछिका समयहरुमा लगातार वामहरु जनमानसमा बर्चश्वको रुपमा नै रहँदै आए । अझ माओवादी जनयुद्धताका छलाङ मार्ने कम्युनिस्ट राजनीतिमा नेपाली जनमानसको ठूलो हिस्सा नै सहभागी भए । कम्युनिस्ट राजनीति मनपराउने जनमानसको हिस्सा बढ्ने क्रम जारी छ, घट्ने क्रम होइन । गत वैशाख, जेष्ठ र असोजमा सम्पन्न स्थानीय चुनावमा पनि बहुसङ्ख्यक नेपाली जनताले कम्युनिस्ट पार्टीहरुलाई नै रोजे ।

आसन्न चुनावमा वामपन्थीहरुको बर्चश्व हुने निश्चित छ । यस्तो अवस्थामा पूर्व माओवादी नेता डा. वावुराम भट्टराई भने दक्षिणपन्थीहरुको लोकतान्त्रिक (?) गठबन्धनको एक हिस्सा बन्न गएका छन् । दश वर्षसम्म जनयुद्धलाई हाँकेका र गणतन्त्र आइसकेपछि कम्युनिस्ट प्रधानमन्त्री भएका उनले मार्क्सवादलाई छाड्नुलाई नै नेपाली जनताले पचाउन सकेका छैनन्, अहिले दक्षिणपन्थीहरुको गठबन्धनमा आफूलाई छिराएर र ‘अब कोही शत्रु रहेन’ भन्ने अभिव्यक्तिका साथ दक्षिणपन्थको कित्तामा उनी गएकोलाई नेपाली जनताले निको मान्न सक्ला भन्ने विश्वास नलिए हुन्छ । हुन सक्छ उनले बाहिर भनेजस्तै चुनावी सिट मिलाउने सन्दर्भमा उनलाई ठूला पार्टीहरुले न्याय गर्न नसकेका होलान् । तर, त्यसको बदलामा उनले वर्ग विभाजित समाजमा ‘अब शत्रु कोही रहेन’ भन्दै दक्षिणपन्थलाई मित्रु र वामपन्थलाई शत्रुको व्यवहार गर्नुले उनको वर्गीय पक्षधरताको छलाङ नै हो भन्ने कुरा बुझ्न कसैलाई धेरै समय लाग्दैन ।

गोरखा २ मा वामपन्थको तर्फबाट संसदीय चुनावमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उम्मेदवारको रुपमा खडा भएका छन् । उता दक्षिणपन्थीहरुको समर्थनमा वामपन्थी उम्मेदवारलाई हराउने उद्देश्यका साथ डा. वावुराम भट्टराई उम्मेदवार बनेका छन् । खासमा भन्ने हो भने दक्षिणपन्थको प्रतिनिधिको रुपमा उनी उम्मेदवार बनेका छन् । गोरखाली जनताले मात्र होइन, आम नेपालीहरुले नै डा. वावुराम भट्टराई कम्युनिस्ट रहिरहन नसके पनि कमसेकम वामपन्थीसम्म भइरहून् भन्ने चाहेका थिए । तर, उनी जनचाहनाको न्यूनतम पोजिशनमा पनि रहन सकेनन् । उनी वामपन्थको कित्ता छाडी दक्षिणपन्थको कित्तामा बस्न गए । यो अत्यन्त दुःखद कुरो त भयो नै अब उनलाई गोरखाली जनताले मतको आधारमा कुन पोजिशन दिने हो त्यो हेर्न मंसिर १० सम्म कुरौं ।

  • तुल्सीदास महर्जन
(Visited 461 times, 1 visits today)

टिप्पणी

comments