Main Menu

अचल सम्पत्ति नहुने मन्त्री गिरीराजमणि

भदौ २४, काठमाडौ । स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले आफ्नो नाममा कुनै पनि अचल सम्पत्ति नरहेको प्रष्ट पारेका छन् । केही बैंक मौज्दात तथा सञ्चार सामाग्री र सामान्य अत्यावश्यक फर्निचरहरु मात्रै रहेको मन्त्री पोखरेलले जानकारी दिएका छन् । हिजो भदौ २३ गते सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले आफ्नो व्यक्तिगत नाममा कुनैं पनि अचल सम्पत्ति नरहेको उल्लेख गरेका हुन् । उनले सम्पत्ति भनेकै आम सर्वसाधारण जनता भएको बताएका छन् ।

मन्त्री पोखरेलले भदौ २३ गते आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । मन्त्री पोखरेलको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता नम्बर ३१५७ नम्बरमा दर्ता भएको छ ।

स्वास्थ्यमन्त्री पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनी स्वयंको नाममा एभरेष्ट बैङ्क लिमिटेड पुल्चोक शाखामा ८ लाख १५ हजार दुई सय ६७ रुपँैया ७१ पैसा र नेपाल बंगलादेश बैङ्क कमलादी शाखामा १३ हजार नौ सय ९३ रुपैया ८० पैसा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ । उक्त रकमको प्राप्तीको स्रोत संविधानसभा सदस्य, मन्त्री तथा व्यववस्थापिकाको प्रमुख सचेतकको रुपमा रहँदा प्राप्त पारिश्रमिक रहेको जनाइएको छ । सम्पत्ति विवरणमा मन्त्री पोखरेलको बुबाको नाममा खोटाङ्ग जिल्ला लामीडाँडा गाउँपालिका २ मा २३ रोपनी जग्गा रहेको उल्लेख छ । त्यो पैत्रिक सम्पत्तिको रुपमा रहेको जनाइएको छ । उक्त जग्गामध्ये मन्त्री पोखरेलको अंशमा पर्ने जग्गा कनककुमारी स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै गरी स्वास्थ्यमन्त्री पोखरेलले खोटाङ्गस्थित रुपाकोट सामुदायिक रेडियोमा पाँचहजार रुपैया शेयर आफ्नो नाममा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री पोखरेलसँग दुईवटा ल्यापटप, एकएकवटा डिजिटल क्यामरा, कम्युटर प्रिन्टर, डेस्कटप कम्युटर, भिडियो क्यामरा र केही फर्निचरका समानहरु रहेको पनि सम्पत्ति विवरणमा समावेश गरिएको छ । ती सामग्रीहरु आफू संविधानसभाको सदस्य रहँदा र मन्त्री हुदाँ प्राप्त पारिश्रामिकबाट खरिद गरिएको मन्त्री पोखरेलले बताएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग सम्बन्धी ऐनमा सार्वजनिक पद धारण गर्ने अधिकारीले ६० दिनभित्र अनिवार्य रुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । गत साउन ११ गते स्वास्थ्यमन्त्रीको शपथ लिई सरकारमा सामेल भएका मन्त्री पोखरेलले ६० दिन नबित्दै हिजो आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउँदै सार्वजनिक गरेका हुन् ।

 

(Visited 152 times, 1 visits today)

टिप्पणी

comments