Main Menu

म तामाङ्गको छोरो कसरी मस्तराम भएँ ? -निर्मल लामा

म मस्तराम !
भारत स्वतन्त्र भएको थिएन । अङ्ग्रेजको उपनिवेशकै रुपमा थियो ।
दार्जिलिङको मुख्य उत्पादन चिया थियो । त्यहाँ दुई–चार सय परिवारले काम गर्न ठूल्ठूला चियाबारीहरु थिए । चियाबारीहरुमा अङ्ग्रेज साहेब रहन्थ्यो । अहिले बुझ्दा साहेब भनेको ‘म्यानेजर’ सरहको मान्छे रहेछ । म्यानेजरको दबदबा झन्डैझन्डै राणाशाही र निरङ्कुश पञ्चायतको जस्तो थियो । त्यहाँ काम गर्ने मानिसहरु कोही बोल्न, केही गर्न नसक्ने अवस्थामा थिए । साहेबले रिसाएर ‘हटाबार’ भनेपछि जोकोहीले पनि एकदुई घण्टाभित्र लट्टीपट्टी बोकेर भाग्नुपर्थ्योे । कहाँ जाने ? केही थाहा हुँदैनथ्यो । यति हो, जहाँ गए पनि त्यो ‘एरिया’ चाहिँ काट्नैपर्थ्योे।
त्यस्तो अवस्थामा काफिबारी चियाकमान गोदामधुरा (धुरा भनेको त्यहाँको चलनचल्तीमा गाउँ) मा १९८६ साल माघ १ गतेको दिन म जन्मेको थिएँ । मेरो आप्पा (बाबु) चारपाँच कक्षा मात्र पढ्नुभएको थियो । उसबेला चारपाँच कक्षा पढ्नु पनि ठूलै कुरा थियो । त्यति पढेका मान्छेहरु पनि थोरै हुन्थे । उनीहरु चियाबारीमा कुल्ली अर्थात् मजदुरी गर्न सक्दैनथे । त्यसैले, आप्पा पनि बेकार बसिरहनुभएको थियो । मौकाले हाम्रो घरको अलिकति माथि अर्को चियाबारी छोटा सिप्रिङ (अङ्ग्रेजीमा monteviot state) मा उहाँले ‘क्लर्क’ (बहिदार) को काम पाउनुभयो । हामी मूल परिवार (बाजेको परिवार) बाट छुट्टियौं ।

बाल्यकालमा मेरो समय खोलानालामा खेल्ने, जङ्गल घुम्ने, चाँप–गुराँस टिप्ने, जङ्गली फफुलहरु खाने इत्यादि गर्दै बित्यो । हाम्रो घरभन्दा कमसेकम डेढ घण्टा तल झरेपछि बालासन नदी छ । त्यो नदी सिलगुडी मट्टिगढासम्म पुगेको छ । त्यही नदीमा म साथीहरुसँगै माछा मार्न जान्थें । हामी माछा मार्न गुन्द्रुक बोकेर जान्थ्यौं । कहिलेकाहीं माछा मार्न नसक्दा घरबाट बोकेर गएको त्यस्तै खाजाबाट काम चलाउनुपर्थ्योे । हामी भाँडाकुँडा भने बोक्दैनथ्यौं । माछा पकाउन हरियो बाँस काटेर करिब दुई हातबराबरको ढुङ्ग्रो बनाउँथ्यौं । त्यसलाई भित्तामा कोल्टे पारेर राख्थ्यौं र तलबाट आगो लगाथ्यौं । हरियो बाँस जल्दैन, आगोले कालो हुँदै गएर पातलो मात्र हुन्छ । हरियो बाँस पातलो भइसक्दा ढुङ्ग्रोमा जे पकाए पनि पाक्छ । त्यसमा पकाएको माछा धेरै मीठो हुन्थ्यो । भोक मीठो भएको हो कि बाँसमा पकाएको कारणले मीठो भएको हो, त्यो त यसै भन्न सकिँदैन । तर, ढुङ्ग्रोमा पकाएको चीज साह्रै मीठो लाग्थ्यो ।

हामी प्रायः हप्तामा एकचोटि माछा मार्न जान्थ्यौं । एकचोटि हामीले माछा पाएनौं । सदाझैं ढुङ्ग्रोमा भात र गुन्द्रुक पकायौं । तर, एकछिनपछि अलिकति माछा मार्यौं । हामीले त्यो माछा भात र गुन्द्रुकमा मिसाएर पकायौं । वाफ रे ! त्यो त साह्रै मीठो खाजा पो बन्यो । हामीले खुब स्वाद लिएर खायौं । अलिकति वाँकी बसेको माछा र गुन्द्रक मैले बेलुका घर लिएर आएँ । घरमा आमालाई भनें, “आमा माछा र गुन्द्रुक मिसाउँदा कस्तो मीठो हुँदो रहेछ ।” आमाले ‘त्यस्तो पनि हुन्छ र ?’ भन्नुभयो । मेरो पालो आमाले ‘हुन्नहुन्न’ भन्दाभन्दै पनि माछामा गुन्द्रुक मिसाइदिएँ । त्यो यस्तो रद्दी भयो– खानयोग्य नै भएन ।

यी कुराहरु म करिब दश–बाह्र वर्ष पुग्दाखेरिका हुन् ।

स्कुलमा जाडो महिनाको बिदा (यहाँ मीनपचास बिदा भनेजस्तै) हुँदाखेरि म चियाबारीमा काम गर्न जान्थें । केटाहरुलाई छोकडा र केटीहरुलाई छोकडी भनिन्थो । सायद हिन्दी शब्दलाई अङ्ग्रेजहरुले बिगार्दा ती शब्दहरु बनेका होलान् ।

मैले दिनको दुई आना अर्थात् आठ पैसा ज्याला पाउँथे । चौसठ्ठी पैसाको एक रुपियाँ हुन्थ्यो । अहिलेको जस्तो सय पैसाको होइन । हामीले चियाबारीमा विभिन्नथरिका कामहरु गर्नुपर्थ्यो । तीमध्ये एउटा काम खहरेखोलाको किनारमा राखिएको चियाको बेर्नाको लागि पाँचसात मिनेटको बाटो हिँडी खोलाबाट पानी बोकेर ल्याउनुपर्थ्यो । यो काम ठेक्कामा गनुपर्थ्यो । एकजनाले सय घिटी (बाँसको एकदुइटा आँखा भएको करिब दुई हात लामो ढुङ्ग्रो) बोक्नुपर्ने ।

म पहिलोचोटि त्यस्तो काम गर्न गएँ । सायद मेरो उमेर बाह्र वर्षको हुँदो हो । मैले पन्ध्रबीस घिटी बोकें हुंँला । मेरो काँध पिल्सिएर रातो भयो । काँध यति दुख्यो, मैले थप एक घिटी पनि बोक्न सकिनँ । म रोएँ । म रोएको देखेर कामदारी (काम लगाउने नाइके) ले मलाई नराम्रो शब्दले गाली गर्यो । म झन् साह्रो रोएँ । बाँकी पानी साथीहरु कसैले दुई घिटी, कसैले पाँच घिटी गरी पूरा गरिदिए । भोलिपल्ट मैले जान्नँ भने । साथीहरुले ‘हामी पूरा गरिदिन्छौं, हिंड्’ भनेपछि म फेरि गएँ । वास्तवमा दशबाह्र दिनसम्म मैले दशपन्ध्रभन्दा बढी घिटी बोक्नुपरेन । बाँकी सबै घिटी साथीहरुले नै बोकिदिए । पछि त मेरो पनि काँध पाको भयो । कोही साथीलाई सन्चो भएन, कोही थाके भने म उनीहरुलाई सघाइदिने मान्छे भएँ ।

मेरो त्यही उमेरमा हामी धेरै दुःखमा थियौं । आप्पा फेरि बेकार हुनुभयो । जागीर खोसियो । आमा एकजनाको कमाइ । त्यो पनि मजदुरी (कुल्ली काम) थियो । ‘औरत’ हुनुहुन्थ्यो उहाँ । आइमाई कुल्लीलाई औरत र लोग्नेमान्छेलाई ‘मरद’ भनिन्थ्यो । एउटै काम गदा{ पनि औरतको ज्याला छ आना र मरदको ज्याला आठ आना थियो । आमाको ज्यालाबाट नै हाम्रो घर धानिनुपर्थ्योे

मेरी आमा व्यवहारकुशल हुनुहुन्थ्यो । उहाँले कतैबाट एउटा गाई ल्याउनुभयो । गाईको नाम लालमू थियो । गाईको दूध बजारमा लगी बेचेको आम्दानीले अलिकति राम्रो खान पाउने अवस्था बन्यो । म बजारमा दूध लिएर जान्थें । चिया पसलपसलमा पाव (ट्वाक) ले दूध नाप्दै बाँड्दै जान्थें । हप्ताको एकचोटि पैसा उठाउन जान्थें । एकदिन अचानक एक घण्टा पनि बिरामी नपरीकन लालमू मर्यो । घरमा रुवाबासी भयो । त्यस दिन खाना पनि पाकेन । हामीहरुले घरकै अगाडि एउटा खाल्डो खन्यौं । एकमाना चामल, भारु एक रुपियाँको डबल, एकमुठ्ठी सिंदुर र फूलमाला राखी लालमूलाई गाडिदियौं । हामी धेरै दुःखी भयौं ।

दार्जीलिङमा रक्सी बनाउने भनेपछि धेरै गाह्रो । ‘एक्ससाइज’ भनिन्थ्यो, त्यसले रक्सी बनाउनेलाई पक्रिन्थ्यो । एक्ससाइज भनेको सायद कर विभाग वा त्यस्तै कुनै प्रशासनिक अङ्ग थियो । त्यस्तो अवस्थामा पनि आमाले मट्टीतेलको टिनमा चामलको जाँड बनाएर तारको जाली केके राखी भाँडामाथि राखेर अति गोप्य ढङ्गले रक्सी बनाउन थाल्नुभयो । अब त्यो रक्सी बजारको चिया पसल (रेस्टुरेन्ट) मा कसरी पुर्याउने ? यो काम फत्ते गर्नु धेरै गाह्रो थियो ।

सायद म स्कुलमा ६ कक्षामा पढ्थें । झोलामा किताब बोक्ने चलन थिएन । केटाकेटी सबैले हातमै किताबहरु बोकेर स्कुल जान्थे । तर, मैले झोला बोक्न थालें । त्यतिबेला एक किसिमको नरमखालको चारपाटे ‘मिलिट्री ब्याग’ पाइन्थ्यो । आजभोलिजस्तो ‘पोलिथिनसोलिथिन ब्याग’ केही थिएन । म मिलिट्री ब्यागमा रक्सी राखेर लान्थें । ब्यागमा मुस्किलले डेढ माना रक्सी अट्थ्यो । म हरेक दिन बोकेर जान्थें । त्यही ब्याग बोकेर म हरेक दिन चिया पसलमा जान्थें । किताब झिकेर रक्सी भएको ब्याग त्यहीं छाड्थें । र, स्कुल जान्थें । बेलुकी स्कुलबाट त्यही पसलमा पुगेर खाली ब्याग र पैसा लिएर घर फर्कन्थें ।

तर हाम्रो घर त्यतिले पनि चल्न सकेन । गाई–गोरुको एकशेर आन्द्राभुँडी आठ पैसामा पाइन्थ्यो । अहिलेजस्तो जोख्नको लागि किलोसिलोको चलन थिएन । चालीस शेरको एक मन हुन्छ । दशपन्ध्र शेर आन्द्राभुँडी किनेर आमा र म तल काफीबारीमा लगेर बेच्थ्यौं । हरेक बिहीवारको दिन हामी त्यो काम गर्थ्यौं । प्लास्टिकस्लास्टिक केही थिएन, थुन्छेमा बोक्थ्यौं । आन्द्रभुँडीको पानी चुहेर पछाडिको जम्मै लुगा भिज्थ्यो । त्यहाँ गएपछि आमाकी माइली बहिनीकहाँ बस्थ्यौं । बेलुकी फर्कन भ्याइँदैनथ्यो । त्यहीँ बास बस्थ्यौं । भोलिपल्ट विहानै उठेर फर्कन्थ्यौं । आमा कुल्ली काम गर्न जानुहुन्थ्यो । म ‘होमवर्कसोमवर्क’ केके छ, गरेर स्कुल जान्थें । दुईतीन वर्षसम्म प्रत्येक बिहीवार स्कुलमा आधा विदा लिएर गाईगोरुको आन्द्राभुँडी बेच्ने काममा मैले आमालाई सघाएँ । शिक्षकले औपचारिक रुपमै आधा दिन विदा दिने चलन थियो । म स्कुलमा विदा माग गरीकनै त्यो काम गर्थें । बिहीवारको दिन स्कुलमा खेल्दाखेल्दै मैले बिर्सें भने पनि ‘ल ल मस्तराम जानेबेला भएन र ?’ भनेर ‘टिचर’हरु कराउँथे । मेरो नाम त्यतिखेर मस्तराम थियो । औपचारिक नाम नै मस्तराम थियो । अर्थात् घर, स्कुल सबै ठाउँमा मेरो नाम मस्तराम थियो । अहिलेको नाम त मैले आफैंले राखेको हुँ । मेरो न्वारनको नाम अझ अर्कै छ तेजबहादुर ।
मेरो नाम मस्तराम कसरी हुन गयो भन्नेबारे एउटा सानो कथा छ ।

बाजेले घरको पूजा ‘देवाली’ (तामाङहरु पुर्खाको पूजा गर्नुलाई खोप्पासुङ भन्छन् ।) गर्दा पुर्खाको नाम सम्झियोस् भनेर मेरो नाम मस्तराम राखिदिनुभयो । मेरा पुर्खाहरु दुर्गादास, मस्तरामलगायत के के हो थिए । पछिल्ला सन्तानहरुले पुर्खाको नाम बिर्सिदेलान् भनेर बाजेले मलाई त्यो नाम दिएका रहेछन् ।
म सोच्छु– तामाङको नाम त सोनाम, वाङ्दी, साङ्गे, लाक्पा आदि हुनुपर्ने हो । तर, मेरो नाम मस्तराम कसरी हुन पुग्यो ?

सायद काभ्रेको पहाडको कतै टुप्पातिर हाम्रो पुख्र्यौली गाउँ अझै पनि छ । हाम्रो चारपाँच पुस्ता अगाडिको पुस्ता काभ्रेमा थियो । मलाई लाग्छ, सायद त्यहाँ कुनै जोगी आयो होला । मन्दिर बनाएर ऊ वर्षाैंसम्म बस्यो होला । उसले हाम्रा बाजेबराजुहरु जन्मनेबित्तिकै नाम राख्दै गयो होला । किनभने, ती नामहरु त हिन्दू नामहरु भए नि, तामाङ नाम त होइनन् । ‘मस्तराम’ भन्ने नाम त्यसरी आयो होला भन्ने लाग्छ ।
प्रसङ्ग आएकोले भनिहालौं, हाम्रो पुर्खाको गाउँ काभ्रेको दोलालघाटबाट माथितिर रहेको कार्तिके हो । हामी २००७ सालमा काठमाडौं आएपछि हाम्रा बाजेबराजुहरुबाट नाम सुनेको आधारमा त्यो ठाउँ कहाँ हो भनेर खोज्ने विचार गर्यौं । हामीलाई आमाले गाली गर्नुहुँदा ‘यो कार्तिके…’ भन्नुहुन्थ्यो । त्यसको अर्थ कार्तिके भन्ने गाउँ नेपालमा अवश्य पनि छ भन्ने हामीलाई लाग्यो । अर्काे कुरो, बाजेहरु कोशी नदी, सैलुङ्गा लेकको कुरा गर्नुहुन्थ्यो । ‘उँभो त सैलुङको लेकैमा, मालिङ्गोको घारीमा’ भनेर बाजेहरु गीत गाउँदै नाच्नुहुन्थ्यो । काठमाडौं आएर खोजिगर्दा सैलुङ लेक पनि

भेटियो र कार्तिके गाउँ पनि भेटियो । तर, कार्तिके गाउँ दुइटा पाइयो । एउटा कमानसिंह लामाको गाउँ कुँडारीछेउमा र अर्काे दोलालघाटमाथिको पहाडको टुप्पामा । कमानको गाउँछेउको कार्तिकेमा हाम्रो थरका मानिसहरु रहेनछन् । यता दोलालघाटमाथि भने रहेछन् । त्यहाँ त हाम्रो थर ‘लो’ को गाउँ नै रहेछ । मेरो दाइ (निर्मल लामाको जेठा दाइ नरेन्द्र लामा हुनुहुन्छ । उहाँ जनमुक्ति सेनामा भर्ती भएर सात सालमा राणाशासनविरुध्द लड्नुभको थियो ।) त्यहाँ जानुभयो । त्यतिबेला मोटरबाटो खोलिएको थिएन । उहाँ पैदलै जानुभयो । त्यहाँका मानिसहरुसँग कुराकानी गर्नुभयो । सबै कुरा मिल्यो । उनीहरुका अनुसार हाम्रा बराजुमध्ये कोही एकजना दार्जीलिङतिर गएर फर्केनन् भन्ने कुरा पनि मिल्यो । हाम्रो घरमा पूजापाठ गर्ने तौरतरीका इत्यादिलगायत नामसाम सबै मिल्यो । दाइलाई सबैले स्वागतसत्कार गरे । गाउँलेहरुले बेलुकी कुखुरा काटेर रक्सी पनि ख्वाए । तर, राति अचम्मै भयो ! घटना के घट्यो भने, राति त त्यस गाउँमा एकजना पनि लोग्नेमान्छे देखिएनन् । जहाँ गए पनि, जुन घरमा गए पनि सबै ठाउँमा आइमाईहरु मात्र भेटिए । भोलिपल्ट बिहान पनि कोही लोग्नेमान्छे देखापरेनन् । सबै वेपत्ता भए । के भयो ? के भयो ? दाइलाई केही थाहा भएन । उहाँ फर्कनुभयो ।

दाइले फर्केर आएपछि हामीलाई त्यो घटना सुनाउनुभयो । मैले केही काम परेर लोग्नेमान्छेहरु हिँडेका होलान् भनें । बीस वर्षपछि त्यही गाउँकी एक चेलीसँग मेरो भेट भयो । हामी दुईको एउटै थरले गर्दा मसँग उनको कुरा मिल्यो । कुराकानी राम्रै भयो । ऊ एउटी ‘लोसा’ (तामाङहरु छोरीचेलीलाई ‘लो स्या’ भन्छन् ।) थिई । हाम्रो लो थरमा स्वास्नीमान्छेलाई ‘लोसा’ भनिन्छ । तामाङ जातिमा महिला भए थरको पछाडि ‘सा’ थप्ने चलन छ । मैले उनलाई ‘घर कहाँ हो ?’ भनेर सोधें । उनले उनको गाउँ कार्तिके भएको बताइन् । उनी करिब ३५–४० वर्ष उमेरकी हुँदी हो । उनको विवाह थानकोटमा भएको रहेछ । कुराकानीको क्रममा मैले उनलाई छोटकरीमा कुरा बताएँ र अन्तमा सोधें, “दश वर्षअगाडि मेरा दाइ तपाईंको गाउँमा जानुभएको थियो । हाम्रा पितापुर्खाहरु त्यहींका हुन् भन्थे । रीतिथिति सबै मिल्यो । यसबाट हामीहरु त्यहींबाट दार्जीलिङतिर हिँडेको भन्ने कुरा चाहिँ सावित भयो । मेरा दाइलाई राम्रै सत्कार पनि गरियो । तर, बेलुकी सबै लोग्नेमान्छेहरु भागे रे ! किन होला ?”

उनले भनिन्, “ल ! किन नभाग्नु ? चारपाँच पुस्तादेखिको अंश खोज्न आयो । पढेलेखेको मान्छे छ, हामी पढेलेखेको मान्छे होइनौं । अब यसले गाउँ खाने भयो भनेर सबै भागेका हुन् नि !”
त्यो सुनेर म जिल्ल परें । बडो रमाइलो भयो । मेरा दाजुले भोग्नुभएको यो अनौठो घटना सायद २०१० सालतिरको होला ।

(‘सर्वहारा राजनीति’बाट )

(Visited 310 times, 1 visits today)

टिप्पणी

comments