Main Menu

घनश्याम ढकाल सर्वहारावर्गको अर्ग्यानिक बुद्धिजीवी हुनुहुन्थ्यो – निनु चापागाईं [अन्तर्वार्ता]

ninu-chapagain-interview-ghanashyam-dhakal

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको तपाईं अध्यक्ष हुनुन्छ । यो कस्तो प्रकृतिको संस्था हो र यसको स्वरूप र उद्देश्य तथा कार्यक्षेत्रहरू के–के हुन् बताइदिनुहुन्छ कि ?

निनु – यो प्रतिष्ठान सांस्कृतिक प्रकृतिको संस्था हो । यसले कला, साहित्य, संस्कृति, सौन्दर्य चिन्तन र सामाजिक शास्त्रका विविध विषयमा अध्ययन, अनुसन्धान, मौलिक कृतिहरूको रचना, प्रकाशन आदिको काम गर्नेछ । आवश्यकता अनुसार नेपालका विभिन्न भागमा मात्र होइन, विदेशमा समेत यसका शाखाहरू राख्नुपर्छ भन्ने सामान्य सोच हामीले बनाएका छौं । घनश्यामजीको कार्यक्षेत्र पोखरा रहेको सन्दर्भमा पोखरालाई विशेष महत्व दिएर कार्य गर्ने सोच पनि यसको छ । प्रगतिवादी साहित्य–कला, संस्कृतिको हितमा कार्य गर्ने, समाजवादी यथार्थवादी साहित्य—कला, संस्कृति, सौन्दर्यचिन्तन र सामाजिक शास्त्रका विभिन्न क्षेत्रमा भएका समग्र प्राप्ति र मूल्य–मान्यताहरूलाई विश्वव्यापी रूपमा स्थापित गर्ने, नेपालका सबै भाषा र ती सम्बद्ध लोकहितकारी एवम् जनपक्षीय साहित्य, कला, सङ्गीत, संस्कृति, दर्शन, नाट्य, चलचित्र र सामाजिक शास्त्र सम्बन्धी विभिन्न विषय र विधामा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ एवम् कृति तयार गर्ने, गराउने, त्यस्ता अनुसन्धनात्मक तथा मौलिक कृतिहरूको प्रकाशन गर्ने, गराउने, साहित्य—कला, संस्कृति र सौन्दर्य चिन्तनका स्तरीय कृतिहरूलाई नेपालका सबै भाषा र आवश्यकता अनुसार विदेशका विभिन्न भाषामा अनुवाद एवम् प्रकाशन गर्ने, गराउने, विदेशी भाषामा उपलब्ध प्रगतिवादी स्तरीय कृतिहरू आवश्यकता अनुसार नेपाली लगायत नेपालका सबै भाषामा अनुवाद एवम् प्रकाशन गर्ने, गराउने, नेपालका विभिन्न भाषाका साहित्य, संस्कृति र कलाका विभिन्न विधाहरूका साथै सौन्दर्य चिन्तनका बारेमा शोध, अनुसन्धान र मूल्याङ्कन गर्ने कार्यलाई योजनाबद्ध रूपले अघि बढाउने, घनश्याम ढकाल लगायत सम्पूर्ण सांस्कृतिक सहिदहरूका रचनाहरूको संरक्षण, सङ्कलन र प्रकाशन गरी सांस्कृतिक सहिदहरूको मूल्यलाई स्थापित गर्ने, सौन्दर्यशास्त्र र सांस्कृतिक चिन्तनका साथै साहित्य—कलाका विभिन्न विधासिद्धान्त र सिर्जनशील लेखन÷सिर्जनबारे प्रशिक्षण, कार्याशाला गोष्ठी र अन्तर्क्रियात्मक कार्यक्रमहरू आयोजना गर्ने, भाषा, संस्कृति, सौन्दर्यचिन्तन, दर्शन, साहित्य–कलाका विविध विधा र सामाजिक शास्त्रका विभिन्न विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, छलफल–अन्तर्क्रिया, कार्यशाला, प्रवचन, विचारविमर्श, प्रदर्शनी, सम्मेलन, महोत्सव तथा प्रतियोगिता आदि गर्ने, गराउने, देश—विदेशका समान विचारधारा तथा उद्देश्य राख्ने सांस्कृतिक एवम् प्राज्ञिक सङ्घ—संस्था र प्रतिष्ठानहरूसित सम्बन्ध निर्माण र विस्तार गर्ने र आवश्यकता अनुसार सहकार्य गर्ने, विभिन्न क्षेत्रमा क्रियाशील स्रष्टा, समाजशास्त्री, विशिष्ट प्रतिभा र विशेषज्ञहरूलाई सङ्गठित गर्ने र उनीहरूको प्रतिभा र सिर्जन क्षमताको विकासका लागि सहयोग, सद्भाव र समन्वय अभिवृद्धि गर्ने, भाषा, कला–साहित्यका विभिन्न विधा, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न विषयमा उल्लेखनीय योगदान दिने ख्यातिप्राप्त स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई कदर, सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने,‘घनश्याम जनसांस्कृतिक पुरस्कार’ स्थापना गर्ने आदि, आदि यसका सामान्य उद्देश्य हुनेछन् । यस विवरणबाट यसको कार्यक्षेत्र पनि प्रस्ट भयो कि भन्ने लाग्दछ ।

यस संस्थाको आवश्यकता, उपादेयता तथा दीर्घकालीन महत्वका दृष्टिले व्यक्तिगत रूपमा तपाईंले कस्तो परिकल्पना गर्नुभएको छ ?

निनु – प्रगतिवादी शिविरमा यस प्रकृतिका संस्थाको आवश्यकता निकै छ । प्रगतिवादी मूल्य–मान्यताका आधारमा साहित्य–कला, संस्कृतिको क्षेत्रमा हुनुपर्ने अनेकौं कामहरू छन् । सामान्यता हामीले प्रगतिवादी साहित्यिक लेखनको इतिहाससम्म पनि निर्माण गर्न सकेका छैनौं । विचारधारात्मक रूपले सांस्कृतिक आन्दोलनलाई सबल बनाउन खेल्नुपर्ने भूमिकालाई दृष्टिगत गर्दा यस प्रकृतिका संस्थाहरूको अत्यन्त खाँचो छ । अहिलेको प्रगतिवादी साहित्य सृजनाको क्षेत्र निकै विस्तार भएको छ । तर खोज, अनुसन्धान, विचारनिर्माण जस्ता विषयमा भने हामीले पर्याप्त काम गर्न सकेका छौं जस्तो मलाई लाग्दैन । विचारधाराका क्षेत्रमा विशेष काम हुन सक्यो भने मात्र त्यसले दूरगामी प्रभाव पार्न सक्तछ र सृजनलाई अझ गहन, सुदृढ र सबल बनाउन सहयोग पु¥याउन सक्तछ । यस संस्थाको आवश्यकता र उपादेयतालाई सिद्ध गर्ने यो सानो दृष्टिकोण मात्र हो । प्रगतिवादी शिविरलाई सक्षम, सुदृढ र गहन बनाउनका लागि यसले विशेष भूमिका खेल्नसक्नु पर्दछ र यस कामबाट नै यसले आफ्नो दूरगामी महत्वलाई पुष्टि गर्न सक्तछ ।

घनश्याम ढकालसँग तपाईंको चिनजान र सम्पर्क–सम्बन्धका बारेमा केही चर्चा गरिदिनुहोस् न ।

निनु – उहाँसित मेरो बढी सङ्गत र बाक्लो भेटघाट २०४७, ०४८ पछि मात्र भएको हो । पहिलो परिचय २०४४र०४५ तिर भएको हो जस्तो लाग्दछ । अहिले म ठ्याक्कै समय र ठाउँ किटान गर्न सक्ने अवस्थामा भइन । कुनै एउटा साहित्यिक जमघटमा हाम्रो भेट भएको थियो । कार्यक्रम सकिएपछि हिँड्ने बेलामा उहाँले मलाई फैसला हारजीतको र दरिद्रताबाट मुक्ति शीर्षकका दुइवटा आफ्ना कृतिहरू अलि हिचकिचाउँदै उपहारस्वरूप दिनु भएको थियो । त्यस बेला हाम्रो धेरै कुराकानी भएन । सामान्य औपचारिक कुराकानी मात्र । उहाँ अन्तर्मुखी र म पनि त्यति धेरै नबोल्ने मान्छे । बढी कुराकानी के नै हुन्थ्यो र ?

तपाईंको सङ्गत र चिनजानका आधारमा उहाँको व्यक्तित्व कस्तो पाउनुभयो ?

निनु – सुन्दर र लोभलाग्दो व्यक्तित्व थियो उहाँको । अनुकरणीय व्यक्तित्व । नेपालको क्रान्तिकारी रूपान्तरणका लागि उहाँले एकजना सर्वहारा वर्गको आवयविक (अग्र्यानिक) बुद्धिजीवीका रूपमा आफुलाई समग्र रूपले समर्पित गर्नुभयो । सर्वहारा वर्गको विचार निर्माण, आकाङ्क्षा निर्माण र तिनको सङ्गठनकर्ताका रूपमा उहाँले जुन भूमिका खेल्नुभयो त्यो सर्वथा प्रशंसनीय छ । शारीरिक बनोटका आधारमा हेर्दा अलि होचो, केही निहुरिएको अवस्थाका कारणले उहाँलाई झट्ट हेर्दा सुन्दर भन्न मानिसहरू अनकनाउन सक्लान्, तर मानिसको व्यक्तित्वलाई उसका कार्य र विचारका आधारमा नै हेर्नुपर्ने हुन्छ । यसरी हेर्दा उहाँ नेपालको आमूल परिवर्तका लागि, मानवद्वारा मानवमाथि हुने सबै किसिमका शोषणका विरुद्ध, सामाजिक विभेद र उत्पीडनका विरुद्ध आन्दोलनमा अग्र भागमा रहेर सांस्कृतिक मोर्चाबाट लड्ने एकजना जुधारु योद्धा हुनुहुन्थ्यो । परिवार जनलाई क्रान्तिका लागि समर्पित हुन आह्वान गर्ने अभिभावक हुनुहुन्थ्यो । पद, प्रतिष्ठा र पैसाका लागि मरिमेट्ने अवसरवादी प्रवृत्तिले वर्चस्व हासिल गरेको स्थितिमा समेत त्यसका विपरीत दरिलोसित उभिने उहाँ एकजना नायक हुनुहुन्थ्यो । उहाँको सृजनकर्ममा उहाँको यही सकारात्मक पाटो प्रतिबिम्बित भएको छ । मैले यहाँ उहाँको समग्र व्यक्तित्वको कुरा गरेको हुँ । उहाँका व्यक्तित्वका विभिन्न पाटाहरू छन् । सृजनको मात्रै कुरा गर्ने हो भने पनि उहाँका विविध रूपहरू छन् । कथाकार व्यक्तित्व, उपन्यारकार व्यक्तित्व, समालोचक व्यक्त्वि, निबन्धकार व्यक्तित्व, कवि व्यक्तित्व, सम्पादक व्यक्तित्व, सङ्गठनकर्ता व्यक्तित्व जस्ता उहाँका व्यक्तित्वका फरक फरक आयाम छन् । यहाँ मैले ती सबको समष्टिलाई एकसाथ राख्ने प्रयास गरेको छु ।

आफ्ना समकालीन साहित्यकार तथा संस्कृतिकर्मीहरूको बीचमा घनश्याम ढकालको फरक र विशिष्ट पहिचान के हो ? कुन–कुन कुरामा उहाँ अरुभन्दा भिन्न हुनुहुन्थ्यो ?

निनु – ढकालजी मितभाषी हुनुहुन्थ्यो तर बोल्दा सटीक बोल्नुहुन्थ्यो । आडम्बर उहाँमा थिएन, सरल र सादापन उहाँको विशेषता थियो । आन्दोलनमा कुरा बढी गर्ने र काम थोरै गर्नेहरूको बाहुल्य छ हिजोआज, उहाँ त्यो भन्दा भिन्न हुनुहुन्थ्यो । ढकालजी जस्तो तथ्याड्ढशास्त्रको विद्यार्थी र अध्यापक विरलै मात्र भएका होलान् साहित्यकार नेपालमा । उहाँ साहित्यकार मात्र होइन, आम रूपमा देखिने परिपाटी भन्दा भिन्न विचारधारात्मक रूपले सक्षम र प्रखर समेत हुनुहुन्थ्यो । साहित्य सम्बन्धी मूलभूत विषयमा आधिकारिक रूपले आफ्ना विचार प्रस्तुत गर्न सक्ने क्षमता थियो उहाँमा । कुरा आग्राको गर्ने तर गर्ने गाग्राको जस्तो बानीबेहोरा थिएन उहाँको, भनाइ र गराइका बीच एकरूपता भएको मानिस हुनुहुन्थ्यो ।

तपाईंले प्रलेस र भानु पत्रिकामा प्रकाशित घनश्याम ढकाल सम्बन्धी आफ्नो अन्तर्वार्तामा २०६६ सालमा भएको चीन भ्रमणको १५ दिनमा उहाँलाई थप चिन्ने र आफ्ना गलत विचार सच्याउने मौका पाएको अनि ढकाल पनि केही पुराना अडानमा पुनर्विचार गर्ने क्रममा रहेको पाएको भन्नुभएको छ । ती प्रसङ्गलाई अलि विस्तारमा र मूर्त रूपमा चर्चा गरिदिनुहोस् न !

निनु – यति लामो समय हामीले अरू बेला सँगसँगै बिताएका थिएनौं । चीन जानुभन्दा अगावै अर्का मित्र घनश्याम शर्मा पौड्यालले कोठामा दुइजना बस्नुपर्ने थाहा पाएपछि उहाँ र मसँगै बसौं भन्ने आग्रह गर्नु भएको थियो । ढकालजीको अन्तर्मुखी र अरूसित सहज रूपले घुलमिल गर्न नचाहने स्वभावलाई दृष्टिगत गरेर उहाँले सँगै बस्न चाहनुहोला भनेर मैले उत्तर दिएको थिएँ । नभन्दै ढकालजीले पनि सँगै बस्ने मन गर्नु भयो । हामीले अन्तरंग छलफल र कुराकानी गरेको वास्तवमा यो नै पहिलो लामो अवसर थियो । यसभन्दा अघि म उहाँलाई अलि अव्यवहारिक, मनोगतवादी, महत्वाकाङ्क्षी र व्यक्तिवादी चरित्रको हुनुहुन्छ भन्ने ठान्दथें । यो बसाइपछि म आफ्ना यी सोचहरू निकै गलत रहेछन् भन्ने निष्कर्षमा पुगें । यसअघि म उहाँलाई हठी र जिद्दी स्वभावको मानिस भन्ने ठान्दथें । तर बसाइको क्रममा मलाई उहाँ बढी नै आलोचनात्मक लाग्नुभयो, आफ्नै लेखन र व्यक्तिगत आनीबानीका बारेमा पनि । यसलाई नै मैले आफ्ना विचारमा परिवर्तन गर्नुपर्ने अवस्थामा आइपुगें भनेको हो । उहाँ सङ्गठन, संगठनका नेताहरू, नेतृत्व, पार्टीको आचार–व्यवहार, कतिपय नीतिमा समेत आलोचक हुनुहुन्थ्यो, आलोचनात्मक विवेकका आधारमा विषयलाई हेर्न थाल्नु भएको थियो । यस्तो मलाई पहिले लागेको थिएन । हामी बीचमै पनि पहिले पार्टीगत रूपमा भिन्न भएको अवस्थामा सृजना भएका गुटगत दुराग्रहको समेत उहाँ कटु आलोचकका रूपमा देखिनु भयो । म आफै पनि यसको विपक्षमा थिएँ । प्रगतिवादी शिविरमा प्रगतिवादी मानदण्डका आधारमा, वर्गीय प्रतिबद्धताका आधारमा स्रष्टाहरूको लेखाजोखा नगरी गुटका आधारमा हेर्ने प्रवृत्तिको उहाँ प्रखर आलोचक भएर देखापर्न थाल्नुभएको थियो । म यहाँ मूर्त रूपमा विषयलाई राख्न किन रुचि लिइरहेको छैन भने उहाँ अहिले हामी बीच हुनुहुन्न र म यतिखेर घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष छु । मैले मूर्त रूपमा राख्ने कतिपय विषयले विवादहरू सृजना हुने सम्भावना प्रबल छ र मैले त्यसो नगर्नु बुद्धिमानी हुन्छ भन्ने मलाई लागेको छ । म कतिसम्म भन्न सक्छु भने छुट्टाछुट्टै समूहमा रहेर गरेका र लेखेका कतिपय विषयलाई पुनर्मूल्याड्ढन गर्ने प्रक्रियाको थालनी आफैमा गर्न उहाँले थाल्नु भएको थियो, आफु क्रियारत भएको सङ्गठन र नेतृत्वका विषयमा उहाँमा पर्याप्त मात्रामा खुलदुली थियो, नयाँ रूपबाट पुनर्मूल्याड्ढन गर्नु पर्ने हो कि भन्ने स्थितिमा आइपुग्नु भएको थियो । उहाँ पर्याप्त अन्तद्वन्द्वका बीचमा हुनुहुन्थ्यो ।

समग्रमा नेपाली प्रगतिवादी साहित्यिक–सांस्कृतिक आन्दोलनमा घनश्याम ढकालको भूमिका र योगदानको कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

निनु – उहाँले २०४२ देखि २०६६ सालका बीचको चौबीस वर्षको अवधिमा निबन्धका दुइ, कविता–काव्यका चार, कथाका पाँच, उपन्यासका दुइ, दर्शनशास्त्रको एक र सौन्दर्यशास्त्रका दुइ गरेर जम्मा सोह्रवटा कृतिहरूको रचना गर्नु भएको छ । उहाँका थुप्रै प्रकाशन हुन बाँकी रचना समेत छन् । यस अतिरिक्त उहाँले तीनवटा कृतिहरूको सम्पादन र अनेकौं पत्रपत्रिकाको सम्पादन गर्नु भएको छ । उहाँले विभिन्न सङ्गठनमा रहेर सङ्गठनका काम गर्नुका साथै विभिन्न सङ्गठनलाई हाँक्ने नेताको कार्य समेत गर्नु भएको छ । यो चानचुने काम होइन । यसलाई प्रगतिवादी सांस्कृतिक आन्दोलनमा उहाँले लगाउनु भएको ठूलो गुनका रूपमा हामीले लिन सक्नुपर्दछ । उहाँका यी कार्य क्रान्तिकारी आन्दोलनका लागि महत्वपूर्ण योगदानका रूपमा चिरस्थायी रहनेछन् । उहाँ आफै सांस्कृतिक सहिद र उहाँको छोरा विजय ढकाल क्रान्तिकारी आन्दोलनको सहिद हुनुहुन्छ । यसले अति महत्वपूर्ण, दूरगामी महत्व राख्तछ र आन्दोलनले यसको उच्च सम्मान गरेको छ र गर्नेछ भन्ने विश्वास मैले लिएको छु ।

ढकालले साहित्य–संस्कृतिका क्षेत्रमा संस्थागत एवम् सङ्गठनात्मक रूपमा खेलेका भूमिका र सक्रियतालाई कुन रूपमा मूल्याङ्कन गर्न सकिन्छ ? अखिल नेपाल लेखक सङ्घ र प्रगतिशील लेखक सङ्घको नेतृत्वमा रहेर उहाँले निर्वाह गर्नुभएको विचारधारात्मक तथा कार्यक्रमिक योगदान र भूमिका कस्तो थियो ?

निनु – कुनै पनि सङ्गठनको नेतृत्व सम्बन्धित विषय र क्षेत्रमा गतिलो योगदान नदिई प्राप्त हुन सक्तैन । यो सम्बन्धित क्षेत्रमा पुर्याएको योगदानको मूल्याड्ढनको परिणाम पनि हो । साहित्यिक क्षेत्रमा घनश्याम ढकालले पु¥याएको योगदानको कदर गरेर नै उहाँलाई ती संस्थाहरूको अध्यक्ष बनाइएको हो । साहित्यिक लेखन सृजनात्मक कार्य हो तापनि प्रगतिवादी साहित्य लेखनका लागि आधारभूत विचारधारात्मक ज्ञान अपरिहार्य हुन्छ । वैचारिक विचलनको हावा प्रबल रूपले चलेको बेला यस्ता विचारधारात्मक कार्यहरूको महत्व अझ कयौं गुना बढेर जान्छ । अहिले राजनीतिक प्रभावका कारण प्रगतिवादी लेखनमा अनेकौं किसिमका प्रवृत्तिहरू थपिने र नयाँ नयाँ स्रष्टाहरू निरन्तर विस्तार हुने क्रम जारी छ । यस्तो अवस्थामा विचारधारात्मक कार्य र कार्यक्रमहरू बढी भन्दा बढी गर्नु आवश्यक हुन्छ । विचारलाई धारिलो बनाउन, विचारमा विचलन आउन नदिन, वैचारिक रूपले प्रस्ट हुन यस्ता कार्यक्रमहरूको दूरगामी र दीर्घकालीन महत्व रहेको हुन्छ । वैचारिक रूपले प्रस्ट हुनुपर्ने, कतिपय नयाँ नयाँ विषयमा ज्ञान आर्जन गर्नुपर्ने कुरालाई दृष्टिगत गरेर नै उहाँले प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजनामा महिनैपिच्छे वैचारिक छलफल चलाउन थाल्नु भएको थियो । यो अत्यन्त प्रशंसनीय कार्य हो र यसलाई निरन्तरता दिइनु पर्दछ । साहित्यिक, सांस्कृतिक सृजनको स्तर विकास गर्न अन्य किसिमका प्रशिक्षण, तालिम, अन्तक्र्रिया र छलफलका कार्यक्रमहरू पनि निरन्तर जारी राख्नुपर्ने हुन्छ । नवोदित स्रष्टाहरूलाई दिशाबोध गराउन, पुराना स्रष्टाहरूको ज्ञानमा बृद्धि गर्न, सैद्धान्तिक गहनता हासिल गर्न यस प्रकृतिका कार्यक्रमहरूको ठूलो महत्व रहन्छ । ढकालजीले सङ्गठनको नेता भएको कारणले यसलाई राम्ररी बुझ्नु भएको थियो र यस्ता कामहरूमा जोड दिन थाल्नु भएको थियो । यसलाई उहाँको वैचारिक दूरगामी दृष्टि भन्नुपर्छ ।

ढकालले साहित्यका कविता, निबन्ध, कथा, उपन्यास, समालोचना लगायतका विधामा कलम चलाउनुभएको पाइन्छ । विधागत विविधताका बीचमा पनि उहाँको मूल योगदान कुन विधामा हो ?

निनु – यस प्रश्नको जवाफ ढकालजी आफैले दिइसक्नु भएको छ । उहाँले समेत स्वीकार गरेको कुरो के हो भने उहाँको लेखनको मुख्य विधा, मनपर्ने विधा र पछिल्लो चरणमा केन्द्रित रहेको विधा आख्यान हो । म त्यसमा पनि उहाँलाई कथाकार भन्न रुचाउँछु । उहाँले यही विधामा बढी कृति रचना गर्नु भएको छ र सफलता पनि उहाँ यसमा नै बढी हुनुहुन्छ । यसपछि उहाँले योगदान गरेको अर्काे विधा समालोचना हो, सौन्दर्यशास्त्र हो । उहाँको योगदान मूलतः यही दुइ विधामा बढी छ भन्ने मेरो सोच छ ।

नेपालमा मार्क्सवादी सौन्दर्यशास्त्रका क्षेत्रमा सौन्दर्यशास्त्रमै केन्द्रित भएर पुस्तक प्रकाशन गर्ने स्रष्टाका रूपमा ढकालको नाम लिंदै तपार्इंले प्रलेस र भानुलाई दिनुभएको अन्तर्वार्तामा उहाँको मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचनालाई यस क्षेत्रको ‘पहिलो गहन पाइला’ का रूपमा उल्लेख गर्नुभएको छ । उल्लेखित कृतिको सन्दर्भसँगै सौन्दर्यशास्त्रीय रचनाका क्षेत्रमा ढकालको योगदानलाई कसरी हेर्न सकिन्छ ?

निनु – मैले यस कृतिलाई ‘पहिलो गहन पाइला’ किन भनेको हुँ भने यसअघि मार्क्सवादी सौन्दर्यशास्त्रका आधारभूत विषयमा लेख्तै आएका सौन्दर्यशास्त्रीहरूले समेत मार्क्सवादी सौन्दर्यशास्त्रकै विषयमा केन्द्रित भएर कुनै पनि कृतिको रचना गरेका थिएनन् । यस कृतिमा परेका अधिकांश विषय यस अघि प्रकाशित भएका कृतिमा नपरेका होइनन् (यद्यपि यस्ता कृति एकदमै विरल छन्) । तर त्यस्ता कृति मार्क्सवादी सौन्दर्यशास्त्रका आधारभूत विषयमा मात्र केन्द्रित नभएर तिनमा अन्य विषय वा समालोचना समेत परेका छन् । अर्काे यस कृतिको विशेषता के हो भने यसमा पूर्वीय सौन्दर्यसिद्धान्त र नेपालमा सौन्दर्यशास्त्रको विकासको विषयले पनि स्थान पाएको छ । अन्य कृतिले यी विषयप्रति त्यति चासो राखेको देखिँदैन । यस कृतिलाई मैले किन गहन मानेको हुँ भने यसले मार्क्सवादी सौन्दर्यशास्त्रका आधारभूत विषयलाई सही रूपले र गम्भीर ढंगले उठान गरेको छ, यद्यपि कतिपय विषयका बारेमा अरू बढी छलफल गर्न नसकिने होइन । कृतिमा सौन्दर्यशास्त्रमा प्रकट संशोधनावादी दृष्टिकोणका साथै माओको सौन्दर्य चिन्तन पनि यसमा समावेश भएको छ । मैले प्रशंसा गर्नुका कारणहरू यिनै हुन् । मार्क्सवादी सौन्दर्यशास्त्रको चर्चा गर्ने सन्दर्भमा छुटाउन नमिल्ने कतिपय विषय यसमा परेका छैनन् । कतिपय गुटगत सङ्कीर्णताको प्रभाव समेत कृतिमा छ र त्यसका बारेमा पुनर्विचार गर्ने प्रक्रियामा पछिल्लो चरणमा घनश्यामजी आइपुगेको पाइन्छ तापनि यत्तिको आधारमा कृतिको महत्वलाई न्यूनीकरण गर्न मिल्दैन । यो मार्क्सवादी सौन्दर्यशास्त्रको क्षेत्रको अति मूल्यवान् कृति हो ।

पछिल्लो तीन वर्षबाहेक घनश्याम ढकालले आफ्नो सम्पूर्ण सिर्जन–अवधि राजधानी बाहिर (पोखरामा) बिताउनु भयो । साहित्य, संस्कृति र राजनीति सबै काठमाडौंकेन्द्री हुने र मोफसल उपेक्षामा पर्ने परम्परा आज पनि छ भने हिजो त्यो झन् बढी थियो । यस कोणबाट हेर्दा पोखरामा बसेर राष्ट्रिय स्तरका संस्थागत गतिविधि गर्दै तथा राष्ट्रिय स्तरमा हस्तक्षेप समेत गर्दै उहाँले यस क्षेत्रमा पुर्याएको योगदानलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

निनु – मोफसलका स्रष्टाहरू केही मात्रामा उपेक्षामा परेका छन् भन्ने कुरो गलत हो भन्ने मलाई लाग्दैन । तर यो नै समग्र पाटो हो भन्ने पनि होइन । मोफसलमा बसेर राष्ट्रिय स्तरमा हस्तक्षेप गर्न सकिन्न र राष्ट्रिय स्तरका सङ्घ–संस्थामा क्रियाशील हुन सकिन्न भन्ने धारणाको खण्डन व्यवहारमै घनश्याम ढकाल लगायत थुप्रै स्रष्टा र संस्कृतिकर्मीहरूले गर्दै आएका छन्, गरिरहेका छन् । लेखनका लागि आवश्यक सामग्रीको अभाव, सन्दर्भ सामग्रीको अभाव, स्रष्टका लागि आवश्यक र उचित परामर्श तथा छलफलको अभावका बीच रहेर पनि उनीहरू राष्ट्रिय स्तरमा स्थापित छन् । यसका लागि उनीहरूले बढी मिहिनेत गर्नु परेको छ, । यो उनीहरूको विशिष्ट पहलको परिणाम हो ।

तपाईं विगत चार दशकदेखि नेपालको साहित्यिक–सांस्कृतिक तथा राजनीतिक आन्दोलनको केन्द्रमा निरन्तर क्रियाशील हुनुहुन्छ । अहिलेको नेपालको साहित्यिक–सांस्कृतिक आन्दोलनको अवस्थालाई कसरी हेर्नुभएको छ ? अनि, अहिलेको सांस्कृतिक आन्दोलनको दिशा के हुनुपर्ला ?

निनु – प्रगतिवादी साहित्यिक–सांस्कृतिक आन्दोलनले सापेक्षतया विकास गरिरहेकै लाग्दछ । तर यो विकासले गुणात्मक फड्को भने मार्न सकेको छैन । साहित्य क्षेत्रको कुरो गर्ने हो भने उदीयमान साहित्यकारको आगमन पर्याप्त मात्रामा भएको छ । तर कविता विधा बाहेक अन्य क्षेत्रमा सारै गर्व गर्न लायक स्थिति भने छैन । विधागत विकासमा पनि एक समान स्थिति छैन । नाटक, निबन्ध, समालोचनामा नयाँ प्रतिभा त्यति आएको देखिँदैन । आजको समकालीन यथार्थलाई गतिशीलतामा गहन रूपले भेदन गरेर लेखिएका रचना आख्यानमा पनि अलि कमै देख्तछु म । गीत, सङ्गीत, चित्रकला आदिमा साहित्यका अन्य क्षेत्रमा झैं प्रतिध्रुवसित टक्कर लिन निकै परिश्रम गर्नुपर्ने स्थिति छ । साहित्यिक–सांस्कृतिक क्षेत्रमा पहिले जस्तो अहिले अध्ययन–मननको अवस्था नहुनु अलि खड्किने विषय बनेको छ । यसको परिणाम स्वरूप सृजनमा वैचारिक अपरिपक्वता, छिपछिपेपन बढी पाइन्छ भने कतिपय अवस्थामा त विचलन नै पनि देखा पर्ने गरेको छ । साहित्यिक–सांस्कृतिक आन्दोलनमा राजनीतिक क्षेत्रमा चरम रूपमा अभिव्यक्त अवसरवादी एवम् उपभोक्तावादी प्रवृत्तिले प्रभाव पार्न थालेको छ । बढी मिहिनेत नगरी, एकाध रचना लेखेकै भरमा आफुलाई महान् स्रष्टा जस्तो ठान्ने र त्यस अनुरूपको मान सम्मान खोज्ने, अरूलाई त्यति महत्व नदिने र आफैलाई अति ठूलो देख्ने, विभिन्न खालका पद, प्रतिष्ठा, मान–सम्मान, लाभकारी अवसरको खोजी गर्ने हानिकारक प्रवृत्ति विकसित हुन थालेको छ । यो असाध्यै नराम्रो अवसरवादी रोग हो । राजनीतिक पार्टीका नेताहरूका व्यवहार एवम् दृष्टिका कारण साहित्येतर संस्कृतिका अन्य क्षेत्रमा काम गर्ने संस्कृतिकर्मीहरूका बीच निकै निराशा बढ्न थालेको पाइन्छ । सांस्कृतिक रूपान्तरणको कुरा गरेर नथाक्ने नेताहरू सांस्कृतिक रूपले यथास्थितिका अगुवा बन्ने गरेको स्थितिले गर्दा सांस्कृतिक रूपान्तरणको सवाल पनि आन्दोलनमा बिचल्नीमा परेको देखिन्छ । यो असाध्यै नकारात्मक लक्षण हो । यो सबलाई हेर्दा हामीले साहित्यिक–सांस्कृतिक क्षेत्रमा निकै काम गर्न बाँकी छ भन्ने लाग्दछ ।

सांस्कृतिक आन्दोलनको दिशाको सवाल यतिखेर राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनाका दृष्टिले उठाउनु भएको हुनुपर्छ । निश्चय नै, नेपालको सन्दर्भमा यो निकै ठूलो परिवर्तन हो, यसलाई सानोतिनो क्रान्ति भन्न सकिन्छ । कतिपयले यो केही पनि होइन भनेर उपेक्षा गर्ने वा अवमूल्यन गर्ने गरेको देखिन्छ । त्यस्तो मात्र चाहिँ यो होइन नै । तर यो मात्र राजनीतिक परिवर्तन हो । नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशमा यसले तत्काल कुनै परिवर्तन ल्याउन सकेको छैन । नेपाल अहिले पनि अद्र्ध औपनिवेशिक र अद्र्ध सामन्ती अवस्थामा नै छ । उत्पादन प्रणालीमा खास परिवर्तन आएको छैन । संस्कृतिको क्षेत्रमा पनि सामन्ती मूल्य–मान्यता र संस्कृति नै प्रबल छ । सांस्कृतिक दिशालाई निर्धारण गर्ने कारक तत्व सामाजिक, आर्थिक परिवेश नै हो । त्यसमा परिवर्तन नआइसकेको स्थितिमा पहिलेकै दिशालाई हामीले अवलम्बन गर्नुपर्ने हुन्छ । यसको अर्थ समाजवादी संस्कृतिको निर्देशन र नेतृत्वमा नयाँ जनवादी संस्कृति निर्माणको दिशा नै अहिलेको हाम्रो सांस्कृतिक आन्दोलनको दिशा हो ।

अहिले पुँजीवादी बजार व्यवस्था र उपभोक्तावाद हावी भएको समय छ । साहित्य–संस्कृतिका क्षेत्रमा उत्तर आधुनिकतावाद लगायतका विषय चर्चामा ल्याइएका छन् । बजार व्यवस्थाको असर शासन सत्ता र समाज व्यवस्था सबैतिर उत्तिकै गहिरो देखिन्छ । यसलाई बुझ्ने र प्रतिरोध गर्ने सन्दर्भमा प्रगतिवादी सङ्घ–संस्था र स्रष्टाहरूको दायित्व के हुन सक्छ ?

निनु – यसको एक मात्र उपाय वैचारिक सङ्घर्षमाथि विशेष जोड दिनु हो । आर्थिक उदारतावाद, नव उपनिवेशवाद र सांस्कृतिक साम्राज्यवादका सांस्कृतिक आयामहरू के के हुन् र किन ती सामाजिक रूपान्तरण, क्रान्तिकारी रूपान्तरण, मार्क्सवादी आन्दोलन र आम श्रमजीवी जनताका निम्ति हानिकारक छन् भन्ने कुरालाई व्यापक मात्रामा जनस्तरसम्म पुर्याइनु पर्दछ । यो काम झन्डै नभए सरह छ । आन्दोलनलाई यस्ता हानिकारक विचारबाट जोगाउन विशेष मिहिनेत गरिनु पर्दछ र यसका निम्ति कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ । यसका विरुद्ध सम्पूर्ण प्रगतिवादी सांस्कृतिक सङ्घ–संस्थाहरूले प्रतिरोधको साझा कार्यक्रम बनाउनुपर्ने हुन्छ । विभाजित सङ्घ, संस्थाहरूलाई एक ठाउँमा ल्याएर खास खास विषयमा केन्द्रित भएर विज्ञप्ति, ज्ञापनपत्र लगायत त्यस भन्दा उच्च प्रकृतिका प्रतिरोधका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । यसको नेतृत्व प्रगतिशील लेखक सङ्घले गर्दा सहज र राम्रो पनि हुने हो । त्यस्तो साझा कार्यक्रम बन्न नसक्ता सांस्कृतिक क्षेत्रमा क्रियाशील संस्थाहरूले आआफ्नै तरिकाले पनि यस्ता कार्यक्रमहरू गर्न आवश्यक हुन्छ । अर्काे कुरो, वैकल्पिक समाधानका दृष्टिले गाउँ, गाउँ र टोल टोलसम्म सांस्कृतिक टोलीहरू निर्माण गरेर परिचालन गर्ने, स्थानीय रूपमा सबैतिर सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने र वैचारिक अभियान प्रतिरोधका रूपमा अघि बढाउने कार्यलाई विशेष महत्व दिनुपर्ने देखिन्छ । यसका निम्ति सर्वप्रथम राजनीतिक संस्थाहरू र नेतृत्व नै जागरुक बन्नुपर्ने हो । तर अहिले तपाईंले सङ्केत गरेजस्तै यसको विरोध र प्रतिरोधमा जानुको सट्टा त्यसमै उनीहरू रङ्मगिने अति नकारात्मक प्रवृत्ति विकसित भएको छ । आफुलाई क्रान्तिकारी ठान्ने नेताहरूको पनि यस दिशामा कुनै जागरुकता पाइन्न । हाम्रा नेताहरूले अहिले चलिरहेको साम्राज्यवाद विरोधी ल्याटिन अमेरिकी समृद्ध अनुभवबाट केही सिक्न नखोजेको देख्ता अचम्म लाग्दछ र कहिलेकाहीँ दिक्क समेत लाग्दछ । तर यो समस्याको समाधान होइन । प्रभावकारी त्यो अनुभवबाट नेताहरू किन सिक्तैनौ औंलो ठड्याउन हामी पछि पर्नु हुँदैन, वैचारिक लडाइँका विविध उपायहरू खोज्नुपर्छ र यस दिशामा क्रियाशील बन्नुपर्छ ।

घनश्याम ढकालजस्ता जनपक्षीय स्रष्टाहरू हिजो सामन्ती सत्ताको कोपभाजनमा परे र सधैं उपेक्षित रहे । आज जनसङ्घर्षबाट स्थापित राजनीतिक शक्तिहरू सरकार सञ्चालनको जिम्मेवारीमा पुगेका छन् । यतिबेला घनश्याम ढकाल र उनीजस्ता जनपक्षीय एवम् सङ्घर्षशील पृष्ठभूमिका स्रष्टाहरूका पक्षमा सरकारका तर्फबाट के कस्तो कदम चालिनु आवश्यक देख्नुहुन्छ ?

निनु – यसको कारण वर्गीय दृष्टिकोणको अभाव हो । हिजो प्रतिक्रियावादीहरूले सचेत ढंगले जनताका पक्षमा सङ्घर्षरत स्रष्टाहरूलाई दमन गर्ने, उपेक्षा गर्ने कार्य गरेका थिए भने आज हाम्रा नेताहरूमा भने यही वर्गीय अडान, दृष्टिकोण र चिन्तनको अभाव भेटिन्छ । यो असाध्यै नराम्रो कुरा हो । वर्षाैं वर्षसम्म आफैसित सँगसँगै लडेका, क्रियाशील भएका, सम्मानयोग्य स्रष्टालाई होइन, प्रतिक्रियावादी चिन्तन र संस्कारलाई सुदृढ बनाउँदै आएका स्रष्टा र संस्कृतिकर्मीलाई नै उनीहरू महान् ठान्ने, राम्रा मान्ने, मन पराउने गर्दछन् । यसले उनीहरू आफ्नो पुरानो संस्कार र प्रवृत्तिबाट मुक्त भएका छैनन् भन्ने देखाउँछ । वास्तवमा यो एक खालको पाखण्ड हो, भन्ने एउटा र गर्ने अर्कै कुरा । गणतन्त्रका लागि लड्ने स्रष्टाहरूलाई होइन राजतन्त्रका पक्षमा भएका स्रष्टाहरूलाई सम्मान गर्ने, पुरस्कार दिनेसम्मका लज्जाजनक कामहरू भैरहेका छन् । उनीहरूलाई यस बारेमा प्रश्न गर्यो भने नोकरशाही यन्त्रलाई, कर्मचारीहरूलाई दोष दिएर उम्कने प्रवृत्ति मैले पाएको छु । यस्तो अवस्थामा सरकारबाट चाल्नुपर्ने कदमका बारेमा कुरा गर्नुको म कुनै औचित्य देख्तिन । तपाईंलाई थाहा छ म सांस्कृतिक मोर्चाको इन्चार्ज समेत हुँ । मसित सांस्कृतिक विषयमा एकाध अपवाद बाहेक कहिल्यै के गर्नुपर्ला भनेर सोध्ने काम कसैले गर्दैन । के सहयोग गरौं भनेर प्रश्न गर्दा समेत उपेक्षा गरिन्छ । अनि तिनलाई सुझाउ दिनुको के अर्थ निस्कन्छ ?

(घनश्याम ढकालको सम्झनामा पोखराबाट २०६९ मा प्रकाशित ‘गण्डकी सङ्गम’ पत्रिकामा प्रकाशित अन्तर्वार्ताको सम्पादित अंश)

(Visited 92 times, 1 visits today)

टिप्पणी

comments