Main Menu

सन्दर्भ नयाँ वर्ष नेपाल सम्वत् ११३८

नेवार जाति बन्नुभन्दा पहिले नै नेपाल सम्वत् सुरु भएको हो-प्रा. माणिकलाल

नव वर्ष नेपाल सम्वत् ११३८ को उपलक्ष्यमा कीर्तिपुरमा निस्किएको ‘भिन्तुना जुलुस’ । तस्विर : आकाश महर्जन/मूल्याङ्कन अनलाइन

(आज नव वर्ष नेपाल सम्वत् ११३८ को सुरुको दिन हो । तिथिमा भन्दा कछलाथ्वः प्रतिपदा । कछला नेपाल सम्वत् पात्रोको पहिलो महिना हो । कछलाथ्वःले यस महिनाको पहिलो आधा महिना जनाउँछ । दोश्रो आधा कछलागाः हुन्छ । यो प्रणाली हरेक महिनामा लागु हुन्छ । नेपाल सम्वतको पात्रो चन्द्र पात्रो हो । अर्थात् यसका दिन र महिना चन्द्रमाको गतिको गणनामा निर्धारित हुन्छ ।

नेपालको इतिहासमा लामो समयसम्म सरकारी कामकाजमा प्रयोग भएको यो सम्वत् र पोत्रोलाई राणा शासनको पालामा विक्रम सम्वत् ल्याई बिस्थापन गरिएको कुरा नेपाली इतिहास र संस्कृतिका ज्ञाता प्राध्यापक माणिकलाल श्रेष्ठ बताउँछन् । राणाहरुका पालामा नेपाली भाषाहरु र संस्कृतिहरुलाई (नेपालमा बोलिने बिभिन्न भाषाभाषी र नेपालमा रहेका बिबिध संस्कृति) दमन गर्ने क्रममा नेपाल भाषा र नेपाल सम्वतलाई पनि राजकीय व्यवहारबाट पूरै हटाइएको हो ।

राणा शाहीको सामन्ती जाहानीया शासनको पैतालामुनि थिचिएका नेपाली जनतालाई राज्यले कुन सम्वत् मान्ने र नमान्ने भन्ने सवालमा कुनै चासो हुन सक्ने कुरै भएन । जनतामा पहिचानको चेतनाले आफ्नो शासन सत्तामा आँच आउन सक्ने चिन्ता राणाहरुमा थियो । त्यही कारणले उनीहरुले सबै नेपाली भाषा र नेपाल सम्वत् समेतप्रति जनताको माया नहोस् भनी ती कुराहरुलाई दमन गरिए ।

२००७ सालमा राणाहरुलाई नेपाली जनताले आन्दोलनद्वारा हटाउने काम त गरे, तर १ सय ४ वर्षसम्म राणाहरुको क्रूर दमनमा परेकाहरुले आफ्नो पहिचानमा रहेको नेपाल सम्वत्लाई बिर्से । राणाहरुको चङ्गुलमा परेका नेपाली जनताहरु २००७ सालको क्रान्तिपछि पनि लामो समयसम्म स्वतन्त्र हुन सकेनन् । दश वर्षपछि २०१७ सालमा त पुनः नेपाली जनता शाहवंशीय राजाहरुको प्रत्यक्ष निरंकुश शासनमुनि पुरिन पुगे । नेपाली जनताले पुनः लोकतन्त्रका लागि निरंकुश पंचायती एवं शाहवंशीय राजतन्त्रबिरुद्ध लड्नु नै पर्यो । यसबाट नेपालभित्र रहेका बिबिध जातजातिहरुमा जुन पहिचानको चेतना हुनुपर्ने थियो, त्यो बिस्मृति र ओझेलमा पर्न गयो ।

नेवाः (नेवार) जाति उपत्यकामा बाहुल्य भएको जाति हो । उसलाई राज्यको दमनको अनुभूति चाँडो भयो । उसलाई राणालगायत शाहहरुले आफ्नो पहिचान मेटेको अनुभूति चाँडो भयो । त्यसैले उपत्यकामा राजनीतिक चेतनाको सुरुवात नै पहिचानको मुद्दाबाट सुरु भयो । नेपाल भाषा र नेपाल सम्वतको आन्दोलन राणाहरुको पालादेखि नै सुरु भयो । महाकवि शिद्धिदास महाजू, कवि चित्तधर ‘हृदय’ जस्ता हस्तीहरु त्यही क्रममा अगाडि आए । भाषा र पहिचानका मुद्दा उठाए बापत नै उनीहरु राणाहरुद्वारा जेलमा हालिए । चित्तधर त जेलमै मरे ।

पंचायतबिरुद्धमा लागेका अधिकांश नेवाः नेता कार्यकर्ताहरु भाषा एवं नेपाल सम्वतको आन्दोलनबाट राजनीतिक आन्दोलनमा आएका हुन् । नेवाः आन्दोलनकारीहरु सायदै मात्र भाषा एवं नेपाल सम्वतको आन्दोलनबाट बाहिर रहे ।

नेपाली (खस) भाषी आन्दोलनकारीहरुले पहिचानच्यूतको अनुभूति गर्नु परेन । त्यसैले उनीहरुलाई विगतमा भाषा एवं नेपाल सम्वतको आन्दोलन आफूहरुले पनि सरोकार राख्नुपर्ने विषय हो भन्ने कुरामा कुनै हेक्का रहेन । यस विषयमा मुख्य रुपले आन्दोलन गर्दै आएकाहरु नेवाः जाति भएकोले नेपाली भाषीहरुलाई भाषिक एवं सम्वतको आन्दोलन नेवाःहरुको मात्र हो भन्ने भ्रम परेको रहेछ । उनीहरुले नेपाल सम्वत नेवाःहरुको मात्र हो भन्ने कुरा ठान्न पुगे । नेपाल सम्वतमा नेपाल देशको पहिचान रहेको कुरा स्मरण गर्न सकेनन् । इतिहास केलाउने तर्फ उनीहरु लागेनन् ।

तर, नेपाली जनताको मुक्तिका लागि लड्दै नेवाः जातिले निरन्तर भाषा र सम्वतको मुद्दालाई पनि आन्दोलनको हिस्साको रुपमा अगाडि राख्दै आए । त्यसैको परिणामस्वरुप गणतन्त्र आएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा राज्यले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दियो ।

अहिले नेपाल सम्वत राष्ट्रिय सम्वतको रुपमा पुनः स्थापित भएको छ । तर, यसलाई राज्यले प्रचलनमा ल्याउन अझै कञ्जुस्याईं गर्दैछ । नयाँ नेपालको संविधान घोषणा गर्ने क्रममा कुन सम्वत् लेख्ने भन्ने सवालमा सम्विधान सभामा बहस छलफल त भयो, तर नेपाल सम्वतको पक्षमा नेवाः आन्दोलनका अगुवा एवं सभासद कवि बुद्धशरण मानन्धरबाहेक अरु कोही पनि खडा भएनन्। त्यो स्थितिले पहिचानको सवालमा हाम्रो राष्ट्रिय राजनीति कति कमजोर छ भन्ने कुरा बुझाउँदछ ।

यसै सन्दर्भमा आज नव वर्ष नेपाल सम्वत् ११३८ को दिनमा नेपाल सम्वतको इतिहास र महत्वबारे प्रा.माणिकलाल श्रेष्ठसँग मूल्याङ्कन मासिकले आजभन्दा १४ वर्षअगाडि लिएको अन्तर्वार्तालाई अहिलेको तिथिमितिसँग मिल्ने गरी केही सम्पादन गरेर यहाँ प्रस्तुत गरिन्छ ।-सम्पादक)

नेपाल सम्वत कहिलेदेखि सुरु भएको थियो ? यो कसले चलाएको हो ?

आजभन्दा ११३८ वर्ष पहिले नेपालमा लिच्छवि राजा राघवदेवको समयमा अथवा शक सं. ८०१, मानदेव संं. ३०३, विक्रम सं. ९२६ र इशवी सं. ८७९ को अक्टोबरदेखि नेपाल सम्बतको शुरुवात भएको थियो । त्यसैले कसैकसैले यो सम्बत् राघवदेवले नै चलाएका थिए पनि भनेका थिए । पछि मल्ल राजा जयस्थिति मल्लको सयममा लेखिएको नेपालको सबभन्दा पुरानो वंशावली गोपाल वंशावलीमा राघवदेवले गरेका कामहरुको बारेमा लेख्नुका साथै उनको समयमा नेपाल सम्बत् पनि चलेको थियो भन्ने कुरा उल्लेख गरिएको छ । यसबाट नेपाल सम्बत् उनले चलाएका थिएनन् भन्ने कुरा प्रष्ट देखियो । तर, कसले चलाएका थिए भन्ने कुरामा चाहिँ कसैको नाम उल्लेख गरिएको छैन । सायद त्यतिबेलाको सामन्ती युगमा राजा र भारदारहरुको मात्र नाम उल्लेख गरिने भएकोले नेपाल सम्बत् चलाउने साधारण व्यक्तिको नाम उल्लेख नगरिएको हुनसक्छ । तर, भक्तपुरका राजा भुपतिन्द्र मल्लको समयमा लेखिएको एउटा अभिलेखमा ‘शंखधर साख्वाल कृत नेपाल सम्बत्’ भनेर नेपाल सम्बत्को शुरुवात शंखधर साख्वाःले गरेका हुन् भन्ने कुरा स्पष्टसँग उल्लेख गरिएको छ । त्यसपछि सबैजसो वंशावलीमा यो सम्बत् चलाउने व्यक्ति शंखधर नै हुन् भन्ने कुरा उल्लेख हुनथालेको पाइन्छ ।

शंखधर साख्वाः एकजना साधारण ब्यापारी थिए । उनले आफूले कमाएको पैसाबाट नेपाल मण्डलका दासहरुको ऋण तिरेर उनीहरुलाई मुक्त गरेका थिए, जो आफूले लिएको ऋण तिर्न नसकेर दास भएका थिए । उनीहरु मुक्त भएको दिनमै शंखधरले ‘नेपाल सम्बत्’को नाममा नयाँ सम्बत् चलाएका थिए । नेपाल मण्डलभित्र काठमाण्डौ उपत्यका र दोलखासहितका १२ वटा जिल्लाहरु पर्दथे ।

कुनै कुनै इतिहासकारले मान्छेहरु ऋणबाट मुक्त भएर नेपाल सम्बत् चलाइएकाले आफ्नो आत्मापूजा गरेको हो भनेर ‘म्हपूजा’लाई नेपाल सम्बतसँग जोडेका छन् । तर, यो कुरा सत्य होइन । किनभने नेपाल सम्बत् शुरु भएको ११३८ वर्षमात्र भयो । तर, आजभन्दा १५ सय वर्ष अगाडिदेखि म्हपूजाको चलन शुरु भएको कुरा इतिहासकार बावुराम आचार्यले लेखेका थिए । यो सम्बतभन्दा अगाडि चलेको सम्बत् पनि नेपालमा म्ह:पूजाको दिनमै चलाइएको थियो । जस्तो भारतका शक राजाहरुबाट शुरु भएको शक सम्बत् थियो; र नेपालकै लिच्छवी राजा मानदेव द्वितीयले चलाएको मानदेव सम्बत् पनि म्ह:पूजाकै दिनदेखि चलाइएको थियो । यही परम्पराअनुसार नेपाल सम्बत् पनि म्ह:पूजाकै दिन चलाइएको हुनसक्छ ।

 के शंखधर साख्वाः ऐतिहासिक व्यक्ति हुन् त ? कसैकसैले उनलाई काल्पनिक व्यक्ति पनि भन्छन् नि ?

–शंखधर वास्तविक मान्छे हुन् भन्ने कुराका दुईवटा प्रमाण भेटिएका छन् । एउटा, शंखधरले ऋणमोचन गर्दा एउटा ढुंगामा बसेर तमसुक च्यात्दै साहूहरुलाई पैसा दिंदै गरेका थिए रे । ऋण तिर्ने काम सकिएपछि त्यो ढुंगालाई एकदम पवित्र मानेर त्यहीँ ठड्याएर राखिएको थियो रे । त्यस ढुंगाको बारेमा राजा रणबहादुर शाहको पालामा लेखिएको वंशावलीमा यस्तो उल्लेख गरिएको छ– ‘पशुपतिमा वागमती नाघेर गएपछि त्यसबाट उत्तरपूर्वतिर जाँदा एउटा हुलाकी पाटी भेटिन्छ । त्यसबाट यति कदम उत्तरतिर शंखधर साख्वाःले ऋणमुक्त गर्दा बसेको शिला अहिलेसम्म छ ।’

त्यसको बारेमा अहिले पनि त्यहाँका बुढाहरु भन्छन्– ‘शिला राखिएको ठाउँ भएकोले त्यो ठाउँको नाम शिलामुगल भएको हो । नेवारीमा ‘लँ’को उच्चारण ‘न’ हुने भएकोले ‘शिलामुगल’बाट शिनामुगल भयो । पछि शिनामुगलबाट ‘शिनामुंगल’ भएर अहिले त्यो ठाउँलाई सिनामंगल भनिन्छ । त्यो ठाउँ पुरानो बानेश्वरबाट एयरपोर्ट जाने बाटोको रिङ्गरोडसँग जोडिएको छ ।

दोस्रो प्रमाण भनेको शंखधरले ऋणमोचन गरेर पशुपतिको पूजा गरी सीधै आफ्नो घर गएर घर नजिकै एउटा बौद्ध चैत्य बनाएका थिए रे । त्यो चैत्य अहिले पनि मरुबाट रामघाट जाने बाटोमा छ । त्यसलाई त्यहाँका मानिसहरु शंखधर चैत्य भन्ने गर्छन् । यसरी यी दुईवटा प्रमाणबाट उनलाई ऐतिहासिक व्यक्ति हुन् भन्न सकिन्छ ।

राज्यले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा मान्यता दिइसकेको छ । यति महत्व बोकेको यस सम्बतको विशिष्टता र महत्व के छ ?

–यसको महत्व केमा छ भने यो सम्बत् अन्य देशबाट आयात गरिएको होइन । यो आफ्नै देशमा स्थापित भएको सम्बत् हो । फेरि यो सम्बत् कुनै राज्य, धर्म र व्यक्तिको नामबाट स्थापित भएको पनि होइन । जस्तो, अरु सम्बत्हरु वि.सं. राजा विक्रमादित्यको नामबाट, शक संवत भारतको शक वंशबाट, इस्वी सम्बत् ईसा मसीहको नामबाट स्थापित भएका छन् । तर नेपाल सम्बत् शंखधर साख्वाःले आफ्नो नामबाट स्थापित नगरी देशको नामबाट स्थापित गरेका थिए ।

इतिहासमा  नेपाल सम्बत् कहिलेसम्म राष्ट्रिय सम्बत्को रुपमा रहेको र कसरी यो सम्बत् फेरि  एक पटक राज्यबाट तिरस्कृत हुन पुगेको थियो ?

–यो सम्बत् राष्ट्रिय सम्बतको रुपमा ने.सं. १ देखि ८८८ सम्म रहेको थियो । अथवा राजा राघवदेवदेखि पूरै लिच्छविकाल र मल्लकालमा यो सम्बत् राष्ट्रिय सम्बतको रुपमा रह्यो । ८८८ भनेको पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका जितेको समयसम्म हो । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि आफ्नो राज्य गोर्खामा चलिरहेकै शक सम्बत् प्रचलनमा ल्याए । पृथ्वीनारायण शाहको मृत्युपछि उनका छोरा सिंहप्रताप शाहले फेरि नेपाल सम्बत् नै प्रचलनमा ल्याए । उनको मृत्युपछि फेरि सरकारी कागजातहरुमा शक सम्बत् चल्दै गयो अनि सांस्कृतिक र धार्मिक रुपमा नेपाल सम्बत् प्रचलित रह्यो ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफूहरु भारतको राजस्थानबाट आएको भनेर देखाउन यी दुवै सम्बतलाई हटाएर त्यहाँका राजा विक्रमादित्यको नामबाट चलेको विक्रम सम्बत् चलाउन थाले । उनले विक्रम सम्बत् चलाए तापनि त्यसको नाम नेपाल सम्बत् भनेर नै लेख्ने गरेका थिए । पछि जुद्ध शमशेरले यो नेपाल सम्बत् होइन, विक्रम सम्बत् हो भनेर विक्रम सम्बत् लेख्न थाले । यस किसिमले नेपालमा विक्रम सम्बत् शुरु भएको झण्डै सवा सय वर्षमात्र भएको छ । मानदेव सम्बत् पनि ३०३ वर्षमात्र चल्यो र शक सम्बत् ४९८ सम्ममात्र चल्यो । तर, नेपाल सम्बत् १ देखि ८८८ सम्म चल्यो । यसरी नेपालमा सबभन्दा लामो समयसम्म राष्ट्रिय सम्बतको रुपमा नेपाल सम्बत् चलेको थियो ।

नेपाल सम्बतलाई दैनिक जीवनमा प्रयोग गर्ने हो भने ऐतिहासिक घटनाको गणना गर्न र व्यवहारमा प्रयोग गर्न समस्या पर्दैन ? यो त तिथिमा आधारित सम्बत् भएकोले कुनै दिन दुईवटा तिथि पर्छ, कुनै दिन तिथि नै लोप हुन्छ भने यसलाई कसरी व्यवहारिक रुपमा राष्ट्रिय मान्यता दिन सकिन्छ ?

–नेपाल सम्बत् तिथिले चल्ने भएकोले यो अवैज्ञानिक छ भनेर पनि भन्ने गरिएको छ । तर, यो नेपाल सम्बत् मात्रै तिथिले चलेको होइन । विक्रम सम्बत् पनि चन्द्र शमशेरले चलाउँदा १९०० सम्म त्यही तिथिले नै चलेको थियो । यसरी तिथिले चलाउँदा ४ वर्षको एकचोटि १३ महिना हुने भयो र कर्मचारीलाई तलब दिन अप्ठ्यारो पर्ने भयो । त्यसैले प्रधानमन्त्री भीम शमशेरले सौर्य क्यालेण्डर चलाउन थाले र गतेको प्रचलन ल्याए । अरु देशहरुले पनि दुईवटा सम्बत् चलाएका उदाहरणहरु छन् । चीनले अन्तर्राष्ट्रिय र प्रशासनिक रुपले इस्वी सम्बत् चलाएको छ भने सांस्कृतिक र राष्ट्रिय सम्बतको रुपमा आफ्नै सम्बत् चलाएको छ । इ.सं.ले पनि महिना र तारिख ग्रेगरी पात्रोको लिएर सम्बत् मात्र आफ्नो चलाएको थियो । त्यस्तै गरेर थाइल्याण्डले पनि महिना र तारिख अन्तर्राष्ट्रिय सम्बतको लिएको छ र सम्बत् चाहिँ आफ्नै सम्बत् र बुद्ध सम्बत् पनि लेख्ने गरेको छ । नेपालले पनि नेपाल सम्बत् चलाएर तारिख चाहिँ वैज्ञानिक रुपले लिन सक्छ । अहिले तुरुन्तै यो सम्बत् प्रशासनिक रुपले चलाउन गाह्रो छ, यसमा शुद्धीकरण हुनुपर्छ । तर, कमसेकम जबर्जस्ती लादिएको वि.सं.लाई हटाएर अन्तर्राष्ट्रिय रुपले चलेको इ.सं. २००३ चलाऔं र सँगसँगै नेपाल सम्बत् पनि चलाऔं । जस्तै, केही वर्ष पहिलेदेखि गोरखापत्रले नेपाल सम्बत् पनि लेख्नथालेको छ, जुन राम्रो काम हो । यसैगरी प्रशासनिक रुपले इस्वी सम्बत् चलाएर सांस्कृतिक र धार्मिक रुपले नेपाल सम्बत् चलाउन सकिन्छ । कर्मचारीलाई तलब दिने, बजेट निर्माण गर्नेजस्ता कामहरु इ.सं.बाट गर्ने र अहिले पनि तिथिबाटै चलिरहेका अरु पर्वहरुलाई तिथिबाटै चलाउने काम गर्न सकिन्छ । र, नयाँ वर्ष पनि वैशाख १ गतेको सट्टा म्ह:पूजाको दिन चलाउन शुरु गर्न सकिन्छ ! त्यस्तै मिति लेख्दा पनि २० अक्टोबर, २०१७, नेपाल सम्बत् ११३८ कछला भनेर लेख्न सकिन्छ ।

यो सम्बत् नेवारहरुको मात्र सम्बत् हो पनि भनिन्छ नि ?

–यो सम्बतलाई अरुले छाडे, नेवारहरुले मात्र मान्दै आए, त्यो चाहिँ सत्य हो । तर, यो सम्बत् शुरु भएको बेला नेपालमण्डलभरि नै चलेको थियो । नेपालमण्डलभन्दा बाहिर पनि यो सम्बत् चलेको थियो । जस्तो, अहिले बंगाल, विहार र उडिशाको सीमातिर पर्ने भारतको कुशविहारमा राज्यले सत्रौं शताब्दीमा असर्फी निकाल्दा त्यसमा नेपाल सम्बत् लेखिएको पाइएको छ । त्यस्तै तिब्बतका दलाई लामाले तिब्बतीले नै बनाएको पौभाः चित्र (तस्वीर) ब्रिटिश–भारत सरकारलाई उपहार दिएका थिए, त्यसमा पनि नेपाल सम्बत् लेखिएको थियो । यसबाट के बुझिन्छ भने नेपाल सम्बत् तिब्बत र भारतको बंगाल, विहार र उडिशासम्म पनि चलेको थियो । पछि सरकारले विक्रम सम्बत् लाद्दै जाँदा नेवारहरुमा मात्र नेपाल सम्बत् सीमित हुँदै गएको हो ।

फेरि, नेवार भन्ने एउटा छुट्टै जातमात्र होइन । बाहिरबाट आएका लिच्छविहरुले नेपालका आदिवासी किरातहरुको भाषा बोल्न खोज्दा संस्कृत मिसिएर एउटा नयाँ भाषा बन्न गएको थियो । त्यही भाषालाई नेपाल भाषा भनियो र त्यो भाषा बोल्ने सबैलाई नेवार भनियो । त्यतिबेला यो भाषा बोल्नेहरुमा लिच्छविहरु, मल्लहरु, खसहरु, ब्राम्हणहरु, मैथिलहरु, धोवीहरुआदि थिए । उनीहरु अहिले पनि काठमाण्डौ उपत्यकामा छन् । त्यसैले नेवार भनेको भाषिक समुदायमात्र हो । अझ यो भाषा नेपाल सम्बत् चलिसकेपछि मात्र विकसित भएको भाषा हो । नेपाल सम्वत् नेवारहरु बन्नुभन्दा पहिला नै चलिसकेको सम्बत् हो । त्यसैले, नेवारहरु बन्नुभन्दा पहिला नै चलिसकेको नेपाल सम्बतलाई कसरी नेवारको मात्र सम्बत् भन्ने ?

(Visited 1,120 times, 1 visits today)

टिप्पणी

comments